काठमाडौं: हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार आज अपराह्नसम्म काठमाडौं उपत्यकामा आंशिक बदली हुने सम्भावना छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस कायम रह्यो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस रहने पूर्वानुमान गरिएको उहाँले जानकारी दिनुभयो । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भोगमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । साथै कोशी,वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्नेछ । विभागले बिहीबार बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाईउड्डनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
काठमाडौं: प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । माघ १६ गते बुधबार सहिद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरि कार्यक्रम आयोजना गरिएको जनाइएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरि सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सहिदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकमा कार्यक्रमको तयारी भएको जनाइएको छ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम गर्न लागेको अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिनुभयो । विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिद गेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । सहिद गेटमा पनि विभिन्न सङ्घ संस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् । पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा सहिदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ । स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थले शपथ लिएपछि सहिदलाई श्रद्धाञ्जलि अर्पण गर्ने गरी तयारी गरिएको छ । विदेशी पाहुना आउँदा स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने सहिदको सम्झना स्वरुप पुष्पगुच्छा अर्पण गर्ने स्थल बनाइने जनाइएको छ ।
पोखरा महानगरपालिका–११ रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा ‘नेपाल नर्सिङ दिवस’ मनाइएको छ । मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको आयोजनामा आज हस्पिटलमा कार्यरत नर्सहरुले दिवस मनाएका हुन् । मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा आयोजित कार्यक्रममा हस्पिटलमा कार्यरत ममता थापा, सुस्मिता विश्वकर्मा र सविना माकाजुले नेपाल नर्सिङ दिवसको शुभकामना दिदैं उनीहरुले नागरिकको जिवन समर्पण गर्ने पेशामा आवद्ध हुनु आफैमा गौरवको विषय भएको धारणा राखिन् । यस्तै कार्यक्रममा हस्पिटलका मेडिकल डाइरेक्टर डा. सरोज पोखरेलले बिरामीको सेवा गर्ने कर्तव्य रहेको बताए । ‘हस्पिटलमा हाम्रो कर्तव्य भनेको आफ्नो बुवाआमालाई जस्तै बिरामीको सेवा गर्ने हाम्रो कर्तव्य हो, डा. पोखरेलले भने, ‘हामीहरुको भन्दा बिरामीलाई बढी समय तपाईहरुको हुन्छ, बिरामी हस्पिटलमा आउँदा हामीले आफ्नो बुवाआमालाई जस्तै व्यवहार गर्नुपर्छ’ । उनले हस्पिटलको समयमा बिरामी, बिरामीका करुवा, डाक्टर लगायतले केही चर्को बोल्दा झर्को लाग्ने भएपनि आफु कार्यरत रहेको संस्थामा प्रतिवद्ध भएर लाग्दा आफु मात्र नभएर संस्था नै राम्रो हुने उल्लेख गरे । मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका प्रमुख सञ्चालक अधिकृत प्रकाश विकले हस्पिटलमा कार्यरत नर्स, डा तथा कर्मचारीहरुका परिश्रमिकलाई वृद्धि गर्दै जाने बताए । कार्यक्रममा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका कम्पनी सचिव गौतम पौडेलले नर्सहरुको योगदात विगतदेखि वर्तमानसम्म अतुलनीय रहेको बताए । ‘विशेषगरी हेल्थकेयरमा नर्सहरुको योगदान विगतदेखि वर्तमानसम्म अनुलनिय छ, हिजो हस्पिटल स्थापना कालसम्म होस् या कोरोनाको समयमा अन्य अस्पतालका ढोका बन्द हुँदा हाम्रो हस्पिटलमा तपाईहरुले दिनुभएको सेवा, सचिव पौडेलले भने, ‘ हामी छिटै नै बीमासँग जोडिदै छौं, बीमासँग जोडिएपछि तपाईहरुले जुन माग राख्दै आउनुभएको छ त्यो पनि हामी पूरा गर्छौ ।’ नर्सहरुको पेशागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ माघ १५ गते नेपाल नर्सिङ संघको स्थापना भएको थियो । संघकै स्थापना दिनको अवसरमा नेपाल नर्सिङ दिवस मनाउन थालिएको हो ।
पोखरा: एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत भोलि बुधबार लिग चरणका ४ खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी उक्त प्रतियोगिताको पाँचौं दिन भोलि महिला र पुरुषतर्फ दुईदुई खेल हुने तालिका छ । पहिलो र दोस्रो खेल महिलातर्फको हुनेछ । पहिलो खेल प्रतियोगिताबाट बाहिरिसकेका ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्ड र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । प्रतिष्ठाका लागि हुने उक्त खेल बिहान पौने ९ बजेबाट सुरु हुनेछ । दोस्रो खेल बिहान पौने ११ बजे पहिलो क्वालिफायर खेल्ने टुंगो लागेका सशस्त्र प्रहरी बल एपिएफ र आयोजक टाइगर ग्रुप पोखराबिच हुनेछ । यो खेलले ‘जित्ने समूह’ को विजेता र उपविजेताको भने टुंगो लगाउनेछ । उक्त समूहबाट तेस्रो हुँदै पुलिस एलिमिनेटरमा प्रवेश गरिसकेको छ । भोलिको तेस्रो र चौथो खेल पुरुषतर्फको हुनेछ । तेस्रो खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र सशस्त्र प्रहरी बल एपिएफबिच हुनेछ । उक्त खेल पौने १ बजे सुरु हुनेछ । भोलिको चौथो तथा अन्तिम खेल दिउँसो पौने ३ बजे भारतको सुनिल भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । यसअघि आइतबार स्थगित भएको गण्डकी प्रदेश र हेल्प नेपालबिचको खेल बिहीबार हुने आयोजकले जनाएको छ । आज भएको खेलमा पुरुषतर्फ आर्मीले पुलिस र गण्डकी प्रदेशले एपिएफलाई पराजित गरेको थियो । यस्तै महिलातर्फ आयोजक टाइगर ग्रुपले टिपटप न्यू डायमण्ड स्पोटर््स क्लब र पुलिसले आर्मीलाई पराजित गरेको थियो ।
पोखरा: एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटले पराजित गरेको हो । पहिलो सेटमा २५–१३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २१–२५ ले पुलिसलाई सुम्पिएको थियो । तेस्रो सेट र चौथो सेटमा पुनरागमन गर्दै आर्मीले खेल आफ्नो पोल्टामा पा¥यो । आर्मीले तेस्रो सेट २५–१५ र चौथो सेट २५–२२ ले जित हासिल ग¥यो । ‘जित्ने समूह’ अब आर्मीले भोलि भारतको सुनिल भलिबल क्लबसँग प्रतिष्पर्धा गर्नेछ । यो समूहबाट शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ । महिलातर्फ भने पहिलो क्वालिफायर खेल्ने टोलीको टुंगो लागेको छ । एक खेलअगावै आयोजक टोली र एपिएफले पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो । पुलिस र न्यू डायमण्डले एलिमिनेटर खेल्नेछन् । पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजयी हुने टोलीले फाइलन प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
पोखरा: टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई हराउँदै आयोजक टोली एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ क्वालिफायरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएको खेलमा आयोजक टोलीले न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित हो । योसँगै महिला टोलीतर्फ ‘जित्ने समूह’ बाट आयोजक टोली र सशस्त्र प्रहरी बल एपिएफ शीर्ष दुई स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको छ । पहिलो र दोस्रो स्थानको टुंगो भने लिगको अन्तिम खेलबाट लाग्नेछ । लिग चरणको एक खेल अगावै आयोजक टोलीले ३–३ अंक जोड्दै पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो । उक्त समूहबाट दुवै खेलमा पराजित भएको न्यू डायमण्डले ‘हार्ने समूह’ बाट शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लबसँग एलिमिनेटरमा प्रतिष्पर्धा गर्नेछ । आजै भएको पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटले पराजित गरेको थियो । अहिले पुरुषतर्फको गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपिएफबिच खेल जारी छ । त्यसपछि पुरुषतर्फ नै नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।
काठमाडौं: स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ९०० सय रुपैयाँले घटेको हो । आज एक तोला छापावाल सुनको मूल्य एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घका जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, सोमबार एक हजार ८५० रुपैयाँ कायम भएको एक तोला चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
पोखरा: मुस्ताङ फेमेलीले स्वर्गीय भिमप्रसाद गौचनको स्मृतिमा पहिलो संस्करणको ‘मुस्ताङ कप खुला फाइभ ए साइड फुटसल’ प्रतियोगिताको आयोजना गर्ने भएको छ । पोखराका ११ स्थित रानीपौवा स्पोटस् सेन्टरमा आगामी ३ गते स्वर्गीय भिमप्रसादको सम्झनामा फुटसल प्रतियोगिता अयोजना गर्ने संयोजक टाँसी गुरुङले जानकारी दिए । उनका अनुसार उक्त प्रतियोगितामा मुस्ताङ भित्रका स्थायी बासिन्दाले मात्र खेल्न पाउनेछन् । संयोजक गुरुङले आपसी भाइचारको सम्बन्धलाई सुमधुर बनाउने र स्थानीय खेलाडीलाई प्रोत्सहान गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको बताए । उनले आगामी वर्षपनि उक्त प्रतियोगितालाई निरन्तरता दिने जानकारी दिए । सो प्रतियोगिताको विजेताले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई नगदसहित आकर्षक पुरस्कारको व्यवस्था रहेको छ । सो प्रतियोगिताको मुख्य प्रायोजन स्व. भिमप्रसाद गौचनको जापानमा कार्यरत छोरा बुद्धि गौचन र जित गौचनले गरेका छन् । प्रतियोगिता सहभागिता जनाउनका लागि टिम दर्ता शुल्क ४ हजार रुपैयाँ निर्धारण गरिएको छ । टिम दर्ता फोनमार्फत (९८१६१९३४५३, ९८६७६४४४६०, ९८०२८५०७७८) पनि गर्न सकिने अयोजकले जनाएको छ ।
पोखरा: त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ इलिमिनेटरमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार बिहान भएको खेलमा आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस महिलातर्फको इलिमिनेटरमा प्रवेश गरेको हो । पुलिसले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पो¥यो । दोस्रो सेटमा १६–१० को आर्मीको अग्रतालाई उल्टाउँदै पुलिसले जित निकालेको थियो । अन्य सेटमा भने पुलिसले सहज जित निकाल्यो । ‘हार्ने समूह’ बाट ६ अंक जोडेर शीर्ष स्थानमा रहँदै पुलिस इलिमिनेटरमा प्रवेश गरेका हुन् । पुुलिसले यसअघि ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–१ को सेटले हराएको थियो । आर्मी र ट्राभल इन्क्वारी एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएका छन् । ‘हार्ने समूह’बाट अंकविहीन रहेका आर्मी र ट्राभल इन्क्वारीले खेल्नेछन् । पुलिसले अब ‘जित्ने समूह’ बाट तेस्रो स्थानमा रहने टोलीसँग इलिमिनेटर खेल्नेछ । ‘जित्ने समूह’ मा आयोजक टाइगर ग्रुप, सशस्त्र प्रहरी बल एपिएफ र टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लब छन् । अहिले ‘जित्ने समूह’ बाट महिलातर्फ टिपटप न्यू डायमण्ड स्पोर्टस क्लब र आयोजक टाइगर ग्रुपबिच प्रतिस्पर्धा भइरहेको छ । त्यसपछि पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपिएफबिच पौने १ बजेबाट सुरु हुनेछ । पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।

