लमजुङ:  लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।  क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका&...

काठमाडौँ:   सङ्घीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ  ।   बजेट अधिवेशन अन्त्य भएको झन्डै पाँच महिनापछि हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो ।    अधिवेशन प्रारम्भको पहिलो दिन प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।   विधेयक अधिवेशनका रूपमा समेत चिनिने अधिवेशनमा विधायिकी कार्यलाई प्रभावकारी बनाउन विचाराधीन विधेयकको छलफललाई महत्व दिने तयारी छ ।   सङ्घीय संसद्का दुवै सदनमा गरी अहिले दुई दर्जन विधेयक विचाराधीन छन् । अधिकांश विधेयक समितिमा दफावार छलफलका क्रममा छन् ।    संसद् सचिवालयका अनुसार शुक्रबार अधिवेशन प्रारम्भको राष्ट्रपति कार्यालयको पत्र वाचन गरिने छ ।   यस्तै प्रतिनिधि सभा नियमावली–२०७९ को नियम १० अनुसार सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि अध्यक्ष मण्डलको मनोनयन हुने छ । दलीय परामर्शमा अधिवेशनैपिच्छे अध्यक्ष मण्डलमा नाम मनोनयन गर्ने अभ्यास छ ।    यस्तै बैठकमा अधिवेशन चालु नरहेको बेला सरकारको सिफारिसमा जारी भएका अध्यादेश पेस हुने छन् । यसबिचमा छ वटा अध्यादेश जारी भएका छन् ।   सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश सभामा पेस हुने छन् ।    यस्तै भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि सभामा पेस हुने छ । सहकारीबाहेकका पाँच अध्यादेश सरकारले एकैपटक सिफारिस गरेको थियो । सिफारिस अनुसारै राष्ट्रपतिबाट अध्यादेश जारी भएका थिए ।    बैठकमा दुई शोक प्रस्ताव पनि पेस हुने छन् । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा सभामा शोक प्रस्ताव पेस र पारित हुने छ ।   यस्तै संविधान सभा सदस्य रामजी शर्माको निधनमा पनि शोक प्रस्ताव पारित हुने छ । २०४८ मा सभामुख रहनुभएका ढुङ्गानाको मङ्सिर २ गते निधन भएको थियो । २०६४ मा संविधान सभा सदस्य रहनुभएका शर्माको माघ ७ गते निधन भएको थियो ।    पहिलो दिनमै अध्यादेश पेस हुने    यसै गरी सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा एकै दिन छ वटा अध्यादेश पेस हुने गरी कार्यसूची तय भएको छ । राष्ट्रिय सभाको १६औँ अधिवेशन गत भदौ १६ गते अन्त्य भएको थियो । सदन सञ्चालन नभएको अवस्थामा ल्याइएको अध्यादेश सरकारले संसद् अधिवेशन सुरु हुनासाथ पेस गर्ने गरी कार्यसूची तय भएको हो ।    अधिवेशनको पहिलो बैठक सुरु हुनासाथ अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउनुहुने छ । बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नुहुने छ ।    मङ्गलबार सम्पन्न कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यहरूको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराइने छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले दुई वटा विधेयकको प्रतिवेदन तयार गरेकाले समितिका सभापति तुलसाकुमारी दाहालले दुवै प्रतिवेदन शुक्रबारकै बैठकमा सभामा पेस गर्नुहुने छ ।    समितिले मिडिया काउन्सिल विधेयक–२०८० र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक–२०८१ को प्रतिवेदन सभासमक्ष पेस गर्ने छ । संसद् सचिवालयका अनुसार शुव्रmबारकै बैठकमा सरकारले छ वटा अध्यादेश सभामा पेस गर्ने छ । अधिवेशन नचलेको अवस्थामा सरकारले छ वटा अध्यादेश ल्याएको थियो ।    सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१” सभासमक्ष पेस गर्नुहुने छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले वित्तीय उत्तरदायित्व  (पहिलो संशोधन) अध्यादेश–२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश–२०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ सभासमक्ष पेस गर्नुहुने कार्यसूची छ ।    त्यसै गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पेस गर्नुहुने छ । शुक्रबारको बैठकमा चार वटा शोक प्रस्ताव पेस हुने छ । 

काठमाडौं:  फ्रेन्चाइजको अवधारणमा पहिलोपल्ट आयोजित नेपाल कबड्डी लिग (एनकेएल) को फाइनलमा शुक्रबार जनकपुर नाइट्स र काठमाडौं माभरिक्सबीच प्रतिस्पर्धा हुँदैछ ।    एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजनामा भएको एनकेएलमा ६ टिमले प्रतिस्पर्धा गरेका थिए । त्यसमा जनकपुर र काठमाडौं उत्कृष्ट प्रदर्शन गर्दै उपाधि नजिक छन् ।    फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा साँझ ६:३० बजे सुरु हुनेछ । त्यसअघि गायिका डाक्टर त्रिशला गुरुङले आफ्नो प्रस्तुति दिनेछिन् ।   अब कुरा गरौं दुई फाइनलिस्ट टिमको । नेपाली राष्ट्रिय महिला टिमकी मुख्य प्रशिक्षक पार्वती राईले हाँकिरहेको जनकपुर नाइट्स पूरा प्रतियोगिताकै एक मात्र अपराजित टिम हो र उत्कृष्ट लयमा रहेको छ ।   लिग चरणमा जनकपुरले ४ खेल जित्दा १ बराबरी खेलेको थियो । त्यो बराबरी पनि काठमाडौंसँग नै थियो ।    लिग चरणमा शीर्षस्थानमा रहेको जनकपुरले क्वालिफायर १ मा विराटनगर ब्यान्डिट्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । काठमाडौंले पनि क्वालिफायर २ मा विराटनगरलाई नै हरायो ।    लिग चरणमा तेस्रो भएपनि एलिमनेटर र क्वालिफायर जित्दै फाइनल पुगेको काठमाडौं पनि उपाधि होडमा बलियो बनेर आएको छ ।   यो टिमले लिगमा तीन जित, एक बराबरी र एक हारको नतिजा निकालेको थियो । लिगमा पराजित भएको विराटनगरसँग काठमाडौंले क्वालिफायरमा बदला लिइसकेको छ ।   अर्कोतर्फ काठमाडौंको मार्की तथा कप्तानमा नेपाली पुरुष राष्ट्रिय टिमका कप्तान घनश्याम रोका मगर छन् । उनकै सानदार प्रदर्शनले काठमाडौंले फाइनलसम्म यात्रा तय गरेको छ ।   भारतको प्रो कबड्डी लिग च्याम्पियन कप्तान घनश्याम रोका मगरको उत्कृष्ट प्रदर्शनसँगै काठमाडौं अब त्यही लय जनकपुरविरूद्ध पनि कायम राख्दै आकर्षक ट्रफीलाई राजधानीमै सजाउन चाहन्छ । जनकपुर घनश्यामलाई रोक्ने रणनीतिमा हुनेछ । अर्कोतिर, जनकपुरका लागि सानदार प्रदर्शन गरिरहेका थाइल्यान्डका चाहपोन कामुनीको आक्रमणलाई रोक्न काठमाडौंको रणनिति हुनेछ ।   यी दुई टिमबीच लिग चरणमा भएको रोमाञ्चक खेल ३९-३९ को बराबरीमा सकिएको थियो । यो एनकेएलको एकमात्र बराबरी हो र जनकपुरले जित्न नसकेको खेल पनि यही एउटा हो । त्यसैले काठमाडौंलाई पनि हराएर जनकपुर आफ्नो प्रभुत्व देखाउने लक्ष्यमा छ ।   राष्ट्रिय खेलकुद परिषदअन्तर्गत् कबड्डीका मुख्य प्रशिक्षक रहेकी पार्वती राईकै नेतृत्वमा नेपाली महिला टिमले १९ औं एसियाली खेलकुद २०२२ मा ऐतिहासिक कांस्यपदक जितेको थियो ।

पोखरा:    ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फ गार्डेन एफसी र झम्सीखेल सेमिफाइनलमा प्रवेश गरेको छ ।  बगर भाइखलकको आयोजनामा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा फ्रिडम फाइटर काठमाडौंलाई पेनाल्टी सुटआउटमा ७–६ गोल अन्तरले पराजित गर्दै गार्डेन सेमिफाइनलमा प्रवेश गरेको हो ।   उक्त खेलबाट गार्डेनका सन्तोष कार्की म्यान अफ द म्याच घोषित भए ।   यस्तै दोस्रो क्वाटरफाइनल खेलमा बगर भाइखलकलाई १–० गोल अन्तरले हराउँदै झम्सीखेल भेट्रान्स अन्तिम चारमा प्रवेश गरेको आयोजक संस्थाका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए ।    उनका अनुसार झम्सीखेलको जीतमा विभोर गुरुङले निर्णायक गोल गरे ।   सो खेलबाट उनै विभोर म्यान अफ द म्याच बने ।      बाँकी २ वटा क्वाटरफाइनलमा ताकामी र संगम भेट्रान्स शुक्रबार भिड्नेछन्  । भने, अर्काे क्वाटरफाइनल खेल नागसोती र ब्रदर्शहुड काठमाडौंबीचको प्रतिस्पर्धा हुनेछ ।   यस्तै ५० वर्ष उमेर समुहको पहिलो चरणका ६ खेलपनि शुक्रबारनै हुने क्लबका महासचिव मनकाजी गुरुङले जानकारी दिए ।   गुरुङका अनुसार प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीले नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।    यस्तै ५० वर्ष उमेर समूहतर्फको  विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहेको छ ।  

पोखरा:   प्रेस चौतारी नेपाल, कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ यस वर्ष ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको छ ।   यस्तै, ‘प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गर्ने पनि प्रेस चौतारी कास्कीले जनाएको छ ।   प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसर पारी कास्की शाखाले माघ २२ गते पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो । पुरस्कारको राशी २२ हजार २ सय २२ रहेको छ ।   प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार शान्ति गुरूङ संयोजक, पूर्व पुरस्कृत व्यक्तित्व केशव पाठक र अग्रज केशवशरण लामिछाने सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले पौडेललाई पुरस्कृत र गुरूङलाई सम्मान गर्ने निर्णय गरेको हो ।   सम्मानित व्यक्तित्व गणेशमान गुरूङ २६ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् ।   स्याङ्जा सिरूबारी जन्मस्थान रही पोखरा १५ मा स्थायी बसोबास गर्दै आएका गुरूङले २०५५ सालमा पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका थिए । हिमचुली एफएम, गोल्डेन आई टेलिभिजन हुँदै २०६४ देखि सगरमाथा टेलिभिजनमा आबद्ध रही १३ वर्षदेखि समाचार सम्पादक पदमा कार्यरत छन् ।   बिएलसम्म अध्ययन गरेका गुरूङ २०७७ मा ‘प्रबल जनसेवा श्री चतुर्थ’ पदकबाट विभूषित भइसकेका छन् ।   पुरस्कृत पत्रकार इन्द्रप्रसाद पौडेल २१ वर्षदेखि पत्रकारितामा निरन्तर सक्रिय छन् । २०६० सालमा समाधान र पोखरा हटलाइन दैनिकमा संवाददाता र फोटो पत्रकारिता गरेका पौडेल २०६२ सालदेखि कान्तिपुर टेलिभिजनमा आबद्ध छन् । यस्तै, मैदानन्यूज डटकमको संस्थापक सञ्चालक हुन् ।   प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटी अध्यक्ष पौडेल नेपाल पत्रकार महासंघ गण्डकीको संस्थापक सचिव, पत्रकार महासंघका पूर्व केन्द्रीय पार्षद् पनि हुन् ।   नेपाल फोटो पत्रकार महासंघको कास्की शाखा अध्यक्षदेखि केन्द्रीय सदस्यसमेत भइसकेका पौडेल सामाजिक संस्था सिर्जना विकास केन्द्र, पोखराको पूर्व अध्यक्ष पनि बने । कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित समाज सेवा युवा परिवारका संस्थापक अध्यक्ष, जनप्रिय बहुमुखी क्याम्पसका सञ्चालक समिति सदस्य पनि हुन् ।   पौडेलले प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार २०७२, सहारा क्लब पोखरा, फोटोग्राफर संघ पोखबाट सम्मान प्राप्त गरेका छन् । पोखरा ७ निवासी पौडेलले बिए अध्ययन र २ वर्षे सीएमए पनि गरेका छन् ।   प्रेस चौतारी कास्कीले राजु भण्डारी, सावित्री खनाल, हुम गुरूङ र मीना गुरूङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिसकेको छ ।   प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकारहरु संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल र शान्ति गुरुङ पुरस्कृत भइसकेका छन् । यसैगरी, रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल र माधव बराल पुरस्कृत भएका छन् ।   यसैबीच, सम्मान तथा पुरस्कार अर्पण समारोहलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको छ ।   सोहि दिन स्थानीय तहसँगको समन्वयमा अन्तर्क्रिया र प्रेस चौतारी कास्कीको नवौं अधिवेशनमार्फत् नयाँ नेतृत्व पनि चयन गर्ने कार्यक्रम रहेको सचिव अधिकारीले जानकारी दिए ।

पोखरा:   टिपटप हेल्प नेपाल स्पोटर््स क्लबलाई हराउँदै गण्डकी प्रदेश पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ एलिमिनेटरमा प्रवेश गरेको छ ।   पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा हेल्प नेपाललाई ३–१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटरमा प्रवेश गरेको हो ।   पहिलो सेट २१–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै जित हासिल गर्याे । गण्डकीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२२ र चौथो सेट २६–२४ ले आफ्नो पक्षमा पार्याे ।   यो जितसँगै गण्डकी ‘हार्ने समूह’बाट ६ अंक प्राप्त गरेर शीर्ष स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेको छ ।   हेल्प नेपाल २ र एपिएफ एक अंक प्राप्त गर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।   गण्डकीले अब शुक्रबार ‘जित्ने समूह’बाट तेस्रो स्थानमा रहेको भारतको सुनिल भलिबल क्लबसँग एलिमिनेटर खेल्नेछ ।   यसअघि भएको खेलमा ‘जित्ने समूह’ मा भारतको सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको थियो ।   पहिलो क्वालिफायरमा आर्मीले पुलिससँग खेल्नेछ ।   यस्तै आज बिहान भएको खेलमा महिलातर्फ नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लब दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो ।   न्यू डायमण्डले अब फाइनल प्रवेशका लागि सशस्त्र प्रहरी बल एपिएफ र आयोजक टाइगर ग्रुपबिचको खेलमा पराजित हुने टोलीसँग प्रतिष्पर्धा गर्नेछ ।   टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ ।

पोखरा:   इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वस्तरीय अन्तर्राष्ट्रिय स्तरको दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ घोषणा गरिसकेको छ ।    सिजन घोषणासँगै गण्डकी प्रदेशलाई नै समेट्ने गरि आउँदो फागुन १६ र १७ गते हुने पोखरा अडिसनको बारेमा बिहीबार पोखरामा मिट एण्ड ग्रीट आयोजना गरि जानकारी दिइएको छ । पोखरामा हुने अडिसन पोखरा बहुमुखी क्याम्पसमा हुने आयोजकले जनाएको छ ।   विश्वभर रहेका नेपालीहरुको गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि यी दुवै रियालिटी शो सञ्चालन हुँदैछ ।    फाउण्डेसनका अनुसार दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्ड, हङकङ र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा, अष्ट्रेलियाका लागि सिड्नीमा, भारतको लागि सिलिगुरी र मुम्बईमा, र नेपालका विर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसनहरु आयोजना गरिनेछ ।   अडिसनका बारेमा जानकारी दिन आयोजित पोखरामा भएको मिट एण्ड ग्रीट कार्यक्रममा फाउण्डेसनका कार्यकारी निर्देशक सिएम भट्टराईले अमेरिकाबाट भर्चुवल माध्यमबाट सम्वोधन गर्दै नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्नका लागि र नेपालीभाषी प्रतिभाहरुलाई चिनाउन यस्तो खालको रियालिटी शो आयोजना गरिएको बताए । ‘हाम्रो कला, संस्कृति, संस्कारजस्ता कुरालाई नयाँ पुस्तालाई पुस्तान्तरण गर्न पनि यो रियालिटी शोले महत्वपूर्ण भूमिका खेल्नेछ ।’ –उनले भने ।   कार्यक्रममा बोल्दै फाण्डेसनका गण्डकी प्रदेश प्रमुख तथा गाएक राजेश बर्देवाले नेपाली संस्कृति र साँस्कृतिक पहिचानलाई संरक्षण, सम्वद्र्धन र उत्थान गर्नु फाउण्डेशनको मूलभूत उद्देश्य रहेको जानकारी दिए । साथै फागुन १६ र १७ गते हुने पोखरा अडिसनमा भाग लिन समेत उनले आग्रह गरे ।   सहभागी हुन चाहने प्रतिष्पर्धीहरुले फाउण्डेसनको वेभसाइट इन्ट्रा फाउण्डेसन डट ओआरजी () बाट आवेदन दिन सक्ने छन् ।   विश्वभरिबाट स्थलगत अडिसनमा छनौट भएका भ्वाइसका लागि एकसय बीस र डान्सका लागि एकसय बीस गरी दुई सय चालीस जनालाई प्रतिस्पर्धाका लागि काठमाडौं लगिने आयोजकले जनाएको छ ।   साउनको अन्तिम साता काठमाडौंमा हुने फिनालेमा दुबै शोका विजेताहरुलाई १ करोड नेपाली रुपैंया पुरस्कार स्वरुप प्रदान गरिने छ भने, दोस्रो हुनेलाई २५ लाख रुपैया र तेस्रो हुनेलाई १० लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।   पोखरामा भएको मिट एण्ड ग्रीट कार्यक्रमको अध्यक्षता गरेका फाउण्डेसनका कास्की जिल्ला प्रमुख तथा कलाकार किसान सेवाले स्वागत मन्तव्य राखेका थिएभने हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञान बहादुर थापा, कलाकार तथा समाजसेवी लक्ष्मण श्री लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।   सन् २०२३ मा यी दुवै रियालिटी शोको पहिलो सिजन सफलतापूर्वक सम्पन्न भइसकेको छ । मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि बरिष्ठ गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरु शिव परियार र पुष्पन प्रधान, गायिका अञ्जु पन्त र तृष्णा गुरुंग निर्णायक (जज) को भूमिकामा छन् ।    यसैगरी मेरो डान्स युनिभर्स सिजन २ को जजहरुमा बरिष्ठ कलाकार मिथिला शर्मा, नायक दीलिप रायमाझी, चर्चित अभिनेत् शिल्पा मास्के, चर्चित कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा छन् ।    त्यस्तै दुवै शोहरुका लागि चर्चित कार्यक्रम प्रस्तोताहरु रिमा विश्वकर्मा, नरेश भट्टराई, राजा राजेन्द्र पोखरेल र नम्रता श्रेष्ठ अनुबन्धित भैसकेका छन् ।  

पोखरा:   ‘द कोरस ब्याण्डले अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा आफ्नो २ वटा म्युजिक भिडियो गीत विमोचन गर्ने भएको छ ।   आगामी फागुन ११ गते आइतबार विविध सांगीतिक कार्यक्रमको आयोजना गर्दै विमोचन गर्ने तयारी रहेको ब्याण्डका भोकलिस्ट छुतमान गुरुङले बताए ।    उनका अनुसार उक्त दिन ‘जाली रुमाल र असारे महिना’ बोलको गीत सार्वजनिक गरिनेछ ।    भोकलिस्ट गुरुङले आफ्नो गाउँठाउँको सिर्जनालाई संगीतको माध्यमबाट प्रस्तुत गरिएकाले घान्द्रुकबाटै विमोचन गर्न लागिएको बताए ।    लब्सन गुरुङको निर्देशनमा बनेको ‘जाली रुपमाल’मा सरुन गुरुङले स्वर भरेका छन् ।   कोरस ब्याण्डको रचना तथा संगीत, म्युजिक एरेनजमेन्ट गोपाल रसाइलीले गरेका छन् भने, नविन थापाको छायांकन, ड्रोन विशाल तामाङ) र एकिन गुरुङ र दिनल पाइजा पुनको अभिनय रहेको छ ।   यस्तै ‘असारे महिना’मा छुतमानले आवाज दिएका छन् । यस्तै अमृत गुरुङ, जुना गुरुङ, सुरज गुरुङ र इशु गुरुङको अभिनय रहेको छ ।   ब्याण्डका सदस्यहरुमा सरुन गुरुङ (भोकल तथा मादल) छुतमान गुरुङ (भोकल), विनोद गुरुङ (लिड गितार), सुवास गुरुङ (बेस गितार), मनिष गायक (किबोर्ड), गुप्त गुरुङ (ड्रम) र एकिन गुरुङ ब्याण्ड व्यवस्थापक रहेका छन् ।

वैदेशिक रोजगारीका लागि अमेरिका र क्यानडा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–६ बस्ने २५ वर्षीय भुवन कार्की र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–३ बस्ने ४२ वर्षीय नितेश पोखरेल रहेका छन् ।       पक्राउ पर्नेमध्ये भुवनले अमेरिका पठाइदिने भनदै ३ जना पीडितहरूबाट १ करोड रूपैयाँ र नितेशले क्यानडा पठाइदिने भन्दै ४ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए ।   त्यसपछि पीडितहरूले दिएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भुवनलाई काठमाडौं महानगरपालिका–१२ बाट सोमबार र नितेशलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–३ बाट मंगलबार पक्राउ गरेको हो ।     भुवनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र नितेशलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।  

ओखलढुंगा:   बिरामी बोकेको गाडी ओखलढुंगामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।   मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ४ स्थित सडकबाट गाडी १०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।   ना १ ज ६४२१ नम्बरको गाडी खोला किनार खसेको हो।   गाडी खोटाङबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको थियो ।   चालकको अवस्थाबारे पनि बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले गाडीबाट शव निकाल्ने प्रयास गरिरहेको छ।   मृतकहरूको सनाखत हुन बाँकी छ ।