पोखरा:  पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे युवा समिति र आधिखोला न्यु दिल्ली उपाधिका लागि भिड्ने भएका छन् ।  पोखरा–३ नदिप...

काठमाडौं:  गृह मन्त्रालयले बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्ने कार्ययोजनाका साथ काम भइरहेको स्पष्ट पारेको छ ।  मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रामचन्द्र तिवारीले नीतिगत र कानुनी सुधार, शान्तिसुरक्षा, अपराध नियन्त्रण र दण्डहीनता अन्त्यलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो ।            बढ्दो सडक दुर्घटना, आत्महत्या, लागुऔषध दुव्र्यसन, राजस्व चुहावट र साइबर अपराध सुरक्षा चुनौतीका रुपमा देखापरेका जनाउँदै प्रवक्ता तिवारीले त्यस्ता चुनौती सामना गर्न मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।  नीतिगत तथा कानुनी सुधारलाई प्राथमिकता दिई प्रहरी ऐन, २०१२ र सशस्त्र प्रहरी ऐन, २०५८ लाई प्रतिस्थापन गरी परिवर्तित सन्दर्भमा नयाँ ऐन तर्जुमा गर्ने विधेयक र नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक गत माघ १५ गते सङ्घीय संसद्मा दर्ता भएको बताउनुभयो ।       विपद्जन्य घटनामा प्रभावितलाई राहतलगायत पुनःनिर्माण एवं पुनःस्थापनासँग सम्बन्धित कार्यलाई थप प्रभावकारी बनाउन विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१, विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८१ (प्रथम संशोधन) र विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान मापदण्ड, २०८१ स्वीकृत भई कार्यान्वयनमा आएको मन्त्रालयले जनाएको छ ।       मन्त्रालयले सीमा तथा अध्यागमन प्रशासनलाई चुस्त बनाउन दार्चुलाको टिङ्कर र मुस्ताङको कोरोला नाकामा अध्यागमन कार्यालय स्थापना, अध्यागमन कार्यालय बेलहियामा सुविधासम्पन्न भवनबाट सेवा प्रवाह, चीनसँग सीमा जोडिएका जिल्लाका नेपाली नागरिकलाई चीन आवागमन अनमुतिपत्र उपलब्ध गराउने कार्यविधि कार्यान्वयनमा आएको जनाएको छ ।       एक हजार ३७० जना क्षमताको नुवाकोटस्थित कारागार सञ्चालनमा आएको तथा मोरङमा २६८ र मुगुमा ३० जना क्षमताको कारागार सञ्चालनको तयारी पूरा भएको प्रवक्ता तिवारीले जानकारी दिनुभयो ।  केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीसम्बन्धी सेवा विस्तार गरी २५ जिल्लाका एक हजार ९२२ वडाबाट अनलाइन नागरिकता सिफारिस गर्ने व्यवस्था गरिएको छ ।       राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीसँग विभिन्न सार्वजनिक सेवा प्रदायक १२ वटा प्रणालीको अन्तरआबद्धता गरिएको र सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुको बायोमेट्रिक भेरिफिकेसनलाई क्रमशः विस्तार गर्दै लगिएको मान्त्रालयले जनाएको छ ।     

रुपन्देही: भारतको प्रयागराजमा लागेको महाकुम्भमा सहभागी हुन गएका नेपाली नागरिक सवार कार भारतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–९ भलुहीका ४५ वर्षीय गणेश खनाल, उहाँकी श्रीमती ४० वर्षीया दीपा खनाल र सोही ठाउँकी ४५ वर्षीया गीता शर्मा रहेका छन् ।  महाकुम्भबाट स्नान गरेर फर्किने क्रममा भारतको आजमगढ नजिकै उनीहरु सवार कार सडक छेउको डिभाइडरमा ठोक्किएको हो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।  घाइतेको भारतकै आजमगढ र गोरखपुरमा उपचार भइरहेको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । देवदह नगरपालिका–९ का ३५ जनाको टोली कुम्भ मेलामा स्नान गर्न गएको थियो ।  पाँच कारमा सवार उक्त  टोली फर्किने क्रममा बनारस–आजमगढ राजमार्गमा दुर्घटनामा परेको हो । शव स्थानीय अस्पतालमा परीक्षणका लागि राखिएको र नियमितरुपमा  भारतीय प्रहरीसँग सम्पर्क भइरहेको उहाँले बताउनुभयो । 

काठमाडौं:  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक टिकटमार्फत लोपोन्मुख, रैथाने र परम्परागत कला संस्कृतिको जगेर्ना गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।       हुलाक सेवा विभागले सप्ताहव्यापी रुपमा आयोजना गरेको राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा हुलाक टिकट प्रदर्शनी कार्यक्रममा मन्त्री गुरुङले विभागले आवश्यक परेको खण्डमा ऐतिहासिक विषयवस्तु खोजेर टिकट प्रकाशन गर्नुपर्ने बताउनुभयो ।       नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले हुलाक टिकट एउटा कागजको टुक्रा मात्र नभई यसले देशको पहिचान र इतिहासलाई सधँै जगेर्ना गर्ने दस्तावेज रहेको बताउनुभयो । मन्त्री गुरुङले समाजका रैथाने मूल्यमान्यता, जीवनशैली, पर्यटनलाई प्रवद्र्धन गर्ने खालका विषयवस्तु समेत हुलाक सेवाले आफैले पहिचान गरी छाप्नुपर्ने बताउनुभयो ।       उहाँले हुलाक सेवालाई समयसापेक्ष आधुनिकीकरण गर्न मन्त्रालय सधैँ तत्पर रहेको उल्लेख गर्दै जनसेवामुखी भएर हुलाक सेवामा काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । साथै उहाँले हुलाक कार्यालयलाई आवश्यक बजेट व्यवस्थापन गर्न मन्त्रालय तयार रहेको समेत बताउनुभयो ।       कार्यक्रममा मन्त्री गुरुङले नयाँ हुलाक टिकट ‘पञ्चमार्क मुद्रा’ र ‘भित्रीकोट दरबार’ टिकटको आवरणमा टाँचा प्रदान गर्नुभयो । भगवान् गौतम बुद्धको राजप्रसाद रहेको प्राचीन कपिलवस्तु तिलौराकोटको खोज–अनुसन्धान गरी जमिनबाट उत्खनन गरिएको ऐतिहासिक ‘पञ्चमार्क मुद्रा’ हो ।  साथै प्यूठान जिल्लास्थित ‘भित्रीकोट दरबार’ नेपाल बाइसे र चौबिसे राज्यमा विभाजित रहेको समयमा चौबिसे राज्यअन्तर्गतको शक्तिशाली राज्य थियो ।       हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीले हुलाक टिकटको ऐतिहासिक महत्व दर्शाउँदै विभागले पुरातात्विक महत्व राख्ने विषयवस्तु खोजेर टिकट बनाउनेतर्फ कार्ययोजना बनाउँदै गरेको बताउनुभयो ।  “यस्ता कैयौँ रोचक र ऐतिहासिक खोजमूलक विषयवस्तु छन्, जुन टिकटमा समावेश गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “विभाग आफैँ पनि अनुसन्धान गर्ने तयारीमा छ ।”

काठमाडौं:   गएको माघमा अत्यधिक सवारी साधन दुर्घटना भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार माघमा मात्रै चार हजार ५३५ सवारी साधन दुर्घटनामा परेका छन् । कुल दुई हजार ९०६ दुर्घटनामा यती धेरै सवारी साधन परेका हुन् । ती दुर्घटनामा १९९ जनाको मृत्यु भएको छ ।       दुर्घटनामा परेकामध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशरकुमार आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार एक महिनामा कुल दुर्घटनामा परेका सवारी साधनमा मोटरसाइकल मात्रै दुई हजार ४७४ रहेका छन् । यो कुल दुर्घटनाको ५४ दशमलव ५५ प्रतिशत हो ।      त्यसपछि जिप कार र भ्यान, माइक्रो २१ दशमलव २१ प्रतिशत दुर्घटना भएको छ । अन्यमा बस पाँच दशमल ५३, ट्रक, ट्याङ्कर छ दशमलव दुई, ट्याक्टर दुई दशमलव ३६ प्रतिशत र टेम्पो पाँच दशमलव १८ प्रतिशत दुर्घटना भएका छन् । अन्य डोजर, लोडरलगायतका सवारी साधन पनि दुर्घटनामा परेको पाइएको छ ।        दुर्घटनाका कारण       सबैभन्दा बढी दुर्घटना तीव्र गतिका कारण भएको पनि प्रहरी प्रधान कार्यालयको विश्लेषणले निष्कर्ष निकालेको छ ।  चालकको लापरबाहीले एक हजार १७९ दुर्घटना भएका छन् । त्यसपछि चालकको लापरबाही, मादक पदार्थ सेवनले बढी दुर्घटना भएका छन् । बटुवाले बाटो काट्दा पनि दुर्घटना भएका छन् । चालकको लापरबाहीले ८६४, मापसे गरेर २०४ लगायत दुर्घटना भएका छन् ।       १९९ को मृत्यु       ती दुर्घटनामा १९९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १४७ पुरुष, ३९ महिला, ११ बालक र दुई बालिका रहेका छन् । त्यस्तै, ती दुर्घटनामा ५६० जना गम्भीर घाइते र तीन हजार ३५१ जना सामान्य घाइते भएका प्रहरीले जानकारी दिएको छ । 

गोरखा:  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभएको छ ।      गोरखा नगरपालिका–१० स्थित तारानगर स्वास्थ चौकीमा आधारभूत स्वास्थ्य सेवाका लागि चिकित्सकीय सेवाको आज शुभारम्भ गर्दै उहाँले कुल बजेटको कम्तीमा १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रका लागि विनियोजन गर्नुपर्नेमा सरकार प्रयत्नशील रहेको बताउनुभयो ।        “स्वस्थ्य नागरिक, स्वस्थ्य जनशक्ति भएन भने भौतिक पूर्वाधारको उपयोग कोरा कल्पना मात्रै हुन्छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “त्यसैले पहिलो प्राथामिकता स्वास्थ्य क्षेत्रलाई दिनुपर्छ भनेर प्रदेश सरकारले विशेष कार्यक्रम ल्याएको छ ।”      उहाँले जनताको स्वास्थ्यसँग सरकार संवेदनशील रहेको उल्लेख गर्दै किड्नीका बिरामीले डायलासिसका लागि पालो पर्खनुपर्ने बाध्यताको अन्त्य गरिएको बताउनुभयो ।  प्रदेश सरकारले नसर्ने रोगका बिरामीको स्क्रिनिङ सेवा गाउँगाउँमा पु¥याएको बताउदँै मुख्यमन्त्री पाण्डेले रोगको जोखिम पहिचान गरेर समयमै अस्पतालसम्म पठाउने गरिएको उल्लेख गर्नुभयो ।      “कम्तीमा पनि आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि नागरिक वञ्चित हुनु हुँदैन, स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकार संविधान प्रदत्त अधिकारी पनि हो”, उहाँले भन्नुभयो । जनताले विकासको माग गर्दा स्वास्थ्यमा भन्दा सडक पूर्वाधारमा बढी हुने गरेको उहाँको भनाइ छ ।      “धेरै जसोको विकासका माग गर्दा बाटो र सडकको माग गरेर आउने गर्दछन्”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “तर स्वास्थ्य सेवाको गुणस्तर बढाइदिनुस्, स्वास्थ्य चौकीका लागि बजेट विनियोजन गरिदिनुस् भनेर बजेट कमैले मात्र माग्ने गरेका छन्, स्वास्थ्य क्षेत्रको विकासका लागि जनता आफैँपनि जागरुक हुनु पनि आवश्यक छ ।”

दाङ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले देशका लागि योगदान दिने मानिसलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।       दाङको तुलसीपुर उपमहानगरपालिका–११ मालेडाँडामा आज श्रीमणि आचार्य स्मृति पार्क शिलान्यास कार्यक्रममा उहाँले श्रीमणि आचार्यले देश र जनताका लागि योगदान दिएको बताउनुभयो । उहाँले कुनै पनि ठाउँमा खर्च गर्दा त्यसको उपलब्धि हुने गरी खर्च गर्नुपर्ने बताउनुभयो ।       भौतिक पूर्वाधार निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन पोखरेलले आग्रह गर्नुभयो । यस्ता काममा तीनवटै तहका सरकारको सहकार्य आवश्यक रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।  विकासका हरेक काममा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने भएकाले बनेका संरचना कस्तो हिसाबले सदुपयोग गर्ने भन्ने कुरा स्थानीय समुदायकै भूमिकामा भर पर्ने पोखरेलको भनाइ थियो ।       स्थानीय समुदायले उचित प्रयोग र सदुपयोग गरेन भने सरकारले जति खर्च गरे पनि त्यो प्रभाकारी नहुने पोखरेलले बताउनुभयो ।  श्रीमणि आचार्यको नाम आफ्नै कामले जीवन्त रहेको पोखरेलले धारणा राख्नुभयो । उहाँको सम्मानमा स्मृति पार्क बन्नु खुसीको कुरा भएको उहाँले बताउनुभयो । दाङको कम्युनिष्ट आन्दोलनमा श्रीमणि आचार्यले दिनरात खटेर पार्टीको नेतृत्व गर्नुभएको थियो । उहाँको २०६४ पुस ३ गते मृत्यु भएको थियोे । 

काठमाडौं:  परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री अब्बास अराघ्चीबीच आज ओमनको मस्कटमा भेटवार्ता भएको छ ।   आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहनुभएका परराष्ट्रमन्त्री डा देउवा र इरानी विदेशमन्त्रीबीच भेटावर्ता भएको हो । सो वार्ताका क्रममा नेपाल इरान सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो । साथै त्यस अवसरमा मन्त्री डा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहल गरिदिन इरानी विदेशमन्त्रीसँग आग्रह गर्नुभएको थियो ।   हमासको नियन्त्रणमा रहेका युवा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री डा देउवाले केही दिनअघि पनि इरानी विदेशमन्त्री अराघ्चीसँग फोनमा कुराकानी गर्नुभएको थियो ।  आज भएको भेटका क्रममा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीसँग आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिनुभएको थियो । नेपाली युवा विपिनलाई हमासबाट मुक्त गर्न आफूले सक्दो पहल गर्ने आस्वासन उहाँले दिनुभएको थियो ।    सन् २०२३ को अक्टोबरमा हमासको अपहरणमा परेका विपिनलाई मुक्त गर्न नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको छ । यसक्रममा मन्त्री डा देउवाले हिजोमात्र पनि कतारका विदेश राज्यमन्त्रीसँग सो अपिल गर्नुभएको थियो ।   यसका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठकहरूमार्फत विपिनको रिहाइका लागि कूटनीतिक पहल गरिरहनुभएको छ । 

दाङ:  प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।  लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले आफ्नो देश आफैले बनाउनुपर्ने बताउनुभयो ।  “४० वर्ष अगाडि छिमेकी चीन गरिबमुलुक थियो, अहिले आफ्नै मेहिनतले सम्पन्न भइसकेको छ । हामीले प्रविधि प्रयोगको ल्याकत बढाएर आफैँले देशको विकास गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठूलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ । त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नुपर्छ । उद्योग स्थापनाका लगानी विस्तार गर्नुपर्छ ।  त्यसका लागि सरकारका तर्फबाट सहजीकरण गर्नुपर्छ । तीन वटै तहका सरकार यसमा सहकार्यका साथ अगाडि बढ्नुपर्छ । केन्द्र सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको छ । कोही कसैले अरू कारणले विरोध गर्नु बेग्लै कुरा हो । आमरूपमा अध्यादेशप्रति उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको छ । यसले स्वागत पाएको छ ।’’      प्रधानमन्त्री ओलीको विशेष सम्बोधन जारी रहेको छ ।

काठमाडौं:  नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी (साम्बा) आज स्वदेश फर्किएकी छिन् ।      फ्रान्समा व्यवसायी फुटबल खेलिरहेकी साम्बा नेपालले आयोजना गरेको चार देश सम्मिलित अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न स्वदेश फर्केकी हुन् ।  उनलाई अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का प्रवक्ता सुरेश शाहलगायतले अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको थियो । नेपालले आज साँझ ६ बजे कीर्गिस्तानसँग खेल्दैछ ।       यसअघि उक्त प्रतियोगिताका लागि सयुक्त अरब इमिरेट्स (युएइ)को लिग खेलिरहेकी रेखा पौडेल र ग्रिसमा व्यावसायिक फुटबल खेलिरहेकी नेपाली टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा नेपाल फर्किएकी थिइन् । प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहेको छ ।       प्रतियोगिताका खेलहरू राउन्ड रोबिनका आधारमा खेलिने छभने शीर्ष स्थान हासिल गर्ने दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । प्रतियोगितामा नेपालले आजसँगै यही फागुन ८ गते लेबनानसँग खेल्ने छभने ११ गते म्यान्मासँग खेल्नेछ ।       नेपाली टोलीको ‘गोलकिपर’मा कप्तान एञ्जिला तुम्बापो सुब्बासँगै अञ्जना राना मगर र उषा नाथ छन् । त्यसैगरी, ‘डिफेन्डर’मा निशा थोकर, समीक्षा घिमिरे, अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, बिमला चौधरी र मनमाया दमाईं छन् । त्यसैगरी, ‘मिडफिल्डर’मा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरू लिम्बु, सविता राना मगर, रेनुका हमाल र सुष्मा तामाङ छन् ।       फरवार्डमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।