पोखरा:  पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे युवा समिति र आधिखोला न्यु दिल्ली उपाधिका लागि भिड्ने भएका छन् ।  पोखरा–३ नदिप...

काठमाडौं: हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।  सुदूरपश्चिम र  कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।       साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ ।       उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिमा उल्लेख  छ ।       साथै आज बिहानीपख तराईका थोरै भू–भागहरुमा हुस्सु÷कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

लमजुङ:    हरियो सालको पातको टपरी । त्यसमा बाफ उड्दै गरेको तातो सेल रोटी । अचार, आलु अनि गेडागुडी । हेर्दै खाउँखाउँ लाग्ने । मुखले चाख्नुअघि आँखैले लोभ्याउने (होमस्टे) घरबासको परिकार । लमजुङको बेँसीसहर नगरपालिका–२ नरुवाल मगर घरबासकी सावित्री आलेमगरका आँगनमा आउने जो कोही पाहुनाले यसरी नै मौलिक स्वाद चाख्न पाउँछन् ।       “पहुँनालाई मीठो गरी सत्कारले खुवाउनुपर्छ”, उहाँले अनुभव सुनाउँदै भन्नुभयो, “बोली वचन मीठो भए, खाना झनै स्वादिलो हुन्छ ।” सावित्रीले घरबासमा व्यापार मात्रै गर्नुहुन्न । त्यससँगै आफ्नो समुदायको कला, संस्कृति र संस्कारको समेत प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा पहिचान झल्काउनुहुन्छ ।                          “सेल रोटी पेटभरि              खाउँ है !             रैथाने चामलले बनाएको ।             केही हानि गर्दैन ।”      सावित्रीले हरेक परिकारको फाइदा र स्वादका बारेमा प्रष्ट पार्नुहुन्छ । नरुवाल मगर घरबासमा केही साताअघिमात्रै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पुग्नुभएको थियो । पुग्नुको प्रसङ्ग बेग्लै थियो । तर, त्यहाँ मन्त्री गुरुङलाई गरिएको सत्कार र आत्मीयता अन्य अतिथिलाई जस्तै समान थियो ।       उही सालको पातका टपरीमा सेल, अचारलगायत परिकार खुवाएर मन्त्रीलाई स्वागत गरिएको थियो । सावित्रीले भन्नुभयो, “घरबास जति मौलिक हुनसक्यो उति राम्रो हो ।” सञ्चारमन्त्री गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा उद्घाटन गरिएको नरुवाल मगर घरबास लमजुङ जिल्लाकै मगर समुदायले सञ्चालन गरेको पहिलो घरबास हो ।       लमजुङ बहुजाति, भाषाभाषी, संस्कृति र संस्कारले भरिएको जिल्ला हो । यहाँका थुप्रै समुदायले आआफ्नो कला र सभ्यता प्रदर्शन गरे पनि पर्यटन प्रवर्द्धनको मूल आधार बन्नसक्ने भन्दै मन्त्री गुरुङले मुख्यमन्त्री हुँदा घरबास सञ्चालन र प्रवर्द्धनमा जोड दिनुभएको थियो । मन्त्री गुरुङका अनुसार गण्डकी प्रदेशमा तीन सय १० र लमजुङ जिल्लाभर १२ वटा घरबास सञ्चालनमा छन् ।       “लमजुङ घरबासले धानेको जिल्ला हो । यहाँका अधिकांशले कृषिसँगै घरबास सञ्चालन गर्दछन्”, मन्त्री गुरुङले भन्नुभयो, “घरबासले एकातिर स्थानीय व्यवसायमा टेवा पु¥याउँछ भने अर्कोतिर यहाँको कला, संस्कृति र सभ्यताको संरक्षण गर्छ ।”       मगरद्वारा सञ्चालित जिल्लाकै पहिलो घरबासका अध्यक्ष हेमबहादुर आलेले यो व्यासायले स्थानीयको आर्थिकस्तर सुधार गर्नुका साथै रोजगारीको अवसर पनि सिर्जना गरो बताउनुभयो । सुरुमा १० घरले घरबास सञ्चालन गरेका भन्दै अहिले आयआर्जनको सम्भावना देखेर थप दुई घरमा पनि होमस्टे सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो ।      आफ्नै गाउँघरमा बसेर खेतीपाती गर्दै दुई चार पैसा आम्दानी गर्न सकिने हुँदा घरबास व्यवसाय लाभदायिक रहेको हेमबहादुरले अनुभव सुनाउनुभयो । मगर घरबासमा पर्यटक आउनुको अर्को कारण यहाँबाट देखिने हिमशृङ्खलाका दृश्यहरू हुन् । पछिल्लो समय हिमालको हिउँ घट्दै गएको र कालापत्थर देखिँदैन थालेको पर्यटन आकर्षण घट्ने हो कि भन्ने चिन्ताले सताउन थालेको घरबास सञ्चालक बताउँछन् ।       घरबासका अध्यक्ष हेमबहादुरले भन्नुभयो, “यो वर्ष हिउँ हराउँदै गएर टुप्पामा मात्रै थोरै देखिन थालेको छ ।” बाल्यकालमा माथिसम्म हिउँ देखिने गरेको सम्झदै उहाँले अब ती सबै दृश्य लोप हुने चिन्ता मनमा गढेको बताउनुभयो ।       हेमबहादुरका अनुसार नरुवाल घरबासबाट अन्नपूर्ण, लमजुङ हिमाल, मनास्लु, गणेशलगायत पाँच वटा हिमालका दृश्य नियाल्न सकिन्छ । “अहिले जलवायु परिवर्तनको असरले बाक्लो हिमाल पग्लिँदै कालापत्थरमा परिवर्तन हुन थालेको छ । यसले गर्दा घरबास सञ्चालकमा त्यसको प्रत्यक्ष असरमा भोग्नुपर्ने चुनौती थपिएको छ”, उहाँले भन्नुभयो ।       नरुवाल मगर घरबास यहाँका स्थानीय महिलाले धानेका छन् । घरबास सञ्चालक फूलमाया राना, सुनिता राना, सविना राना, पार्वती राना, मिना राना, दिलमाया राना, राममाया आले, सङ्गीता आलेलगायत महिलाले संस्कृति संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा योगदान पु¥याउँदै आएका छन् ।      फूलमाया उमेरले पाकी हुनुहुन्छ । उहाँले घरबासमा पाहुनाको सत्कार गर्दा परम्परागत संस्कार र संस्कृतिमा जोड दिन रुचाउनुहुन्छ । बारीमा फल्ने कोदो, मकै, चामल, यिनै परिकारले बनेका मगरका परम्परागत खानपान पस्किन उहाँ निकै सिपालु हुनुहुन्छ । मिना रानाको घरबासमा आउने पाहुना प्रायः लोकल कुखुरा र ढिँडो खाने हुन्छ ।       बेँसीसहर नगरपालिका–२ का वडाध्यक्ष मदनबहादुर रानाका अनुसार वडामा मगर समुदायको अर्गानिक खानपान र कलासंस्कृति मुख्य आकर्षण हो । “लमजुङमा केही पर्यटकीय स्थान छन् । यहाँ ऐतिहासिक पाथीभरा मन्दिर छ । ढुङ्गैढुङ्गाको परम्परागत ढुङ्गे डाँडो छ । ऐतिहासिक ढुङ्गे धाराहरू छन् । एक किलोमिटरजति लामो चिप्लेटे ढुङ्गाले बनेको परम्परागत चिप्लेटे खोला पनि पर्यटकलाई हेर्न आकर्षित गर्छ”, उहाँले भन्नुभयो ।       वडाध्यक्ष रानाका अनुसार लोप हुँदै गएको मगर समुदायको भेजा प्रथा यहाँ अझै पनि संरक्षित छ । साथै मगर समुदायको कौटा, झाम्रे नाच र वेषभूषा मुख्य आकर्षण रहेका उहाँले जानकारी दिनुभयो ।  

ढोरपाटन:   आप्रवासी स्रोत केन्द्र बागलुङले वैदेशिक रोजगारमा गएर समस्यामा परेका सात जनाको उद्धार गरेको छ । चालु आर्थिक वर्षको सात महिनामा ११ को उद्धारका लागि उजुरी परेकामा हालसम्म सात जनाको उद्धार भएको हो ।       खासगरी साउदी, दुबई, कतार, कुवेतलगायत गाडी मुलकमा पुगेर समस्यामा परेकाहरूको उद्धार गरिएको आप्रवासी स्रोत केन्द्र बागलुङकी सूचना अधिकारी तथा परामर्शकर्ता गङ्गा शर्मा रिजालले जानकारी दिनुभयो ।  वैदेशिक रोजगारमा गएका कामदारले समयमा तलब नपाउने, बिदामा नेपाल फर्किन नपाउनेलगायत समस्यालाई विभिन्न निकायसँग सहकार्य गरी उद्धार गरिएको उहाँको भनाइ छ ।      रिजालका अनुसार ठगी, मृत्युलगायत ९० उजुरी परेकामा हालसम्म ४१ वटा समाधान भइसकेका छन् । ठगीको उजुरी ५४ जनाले दिएकामा हालसम्म १७ वटा समाधान भइसकेका उहाँले जानकारी दिनुभयो ।  वैदेशिक रोजगारका लागि प्रलोभनमा पारेर लाखौँ रकम ठगी गरेकामा हालसम्म स्रोत केन्द्रले रु ४३ लाख पाँच हजार पाँच सय ठगिएको रकम फिर्ता गरेको छ ।      “धेरैजसो ठगी मेनपावरलेभन्दा व्यक्तिले ठगेको पाइएको छ । साउन महिनायता मृत्यु उजुरी आठ वटा परेकामा आठवटै समाधान भएका छन्”, परामर्शकर्ता रिजालले भन्नुभयो । सबैभन्दा बढी साउदी र कतारमा पुगेका कामदारको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।       आफूहरुले जिल्ला प्रशासन कार्यालय, सम्बन्धित पालिका, सम्बन्धित देशको राजदूतावास, वैदेशिक रोजगार बोर्ड र कन्सुल सेवा विभाग काठमाडौँसँग सहकार्य गरेर वैदेशिक रोजगारमा गएका नागरिकहरूको समस्या समाधान गरिरहेको परामर्शकर्ता रिजालले बताउनुभयो । उहाँका अनुसार विदेशमा सम्पर्कविहीन भएका पाँच वटा उजुरी परेकामा हालसम्म एक जनालाई परिवारको सम्पर्कमा ल्याएको छ ।      रिजालले मेसियामा सम्पर्कविहीन भएका जैमिनीका एकजनालाई परिवारको सम्पर्कमा ल्याइएको बताउँदै स्रोत केन्द्रले ठगिएकोसहित मृत्यु भएका र कम्पनीमा तलब पाउन बाँकी रहेको रु ९७ लाख आठ हजार आठ सय ३१ फिर्ता गरेको उल्लेख गर्नुभयो ।       प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले गैरकानुनी रूपमा विदेश जानेहरू बढी समस्यामा परेका बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले राहदानी लिन आउने हरेक नागरिकलाई रोजगारी तथा अध्ययनका लागि विदेश जाँदा बढी सचेत हुन आग्रह गर्दै आएको उहाँको भनाइ छ ।      उहाँले भन्नुभयो, “विदेशमा गएर मृत्यु हुने र समस्यामा पर्ने बढीजसो न्यूनवर्ग र कम शिक्षित व्यक्तिहरू हुनुुहुन्छ, विदेशमा कतिले आत्महत्या गरेको र कतिको काम गर्दा गर्दै मृत्यु भएको पाइन्छ, धेरै कुरा सचेतनासँग जोडिएको हुँदा विदेश पलायन हुँदा कानुनी कुरा बुझ्न र कहाँ जाँदैछु, के काम गर्ने हो रु, कस्तो कम्पनीमा जाँदैछु भनि प्रष्ट भएर गइयो भने धेरै समस्या समाधान हुने देखिन्छ ।”

म्याग्दी:  मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित कैह्योलोङ गुफा ओझेलमा परेको छ । जोमसोमको प्रवेशद्वारमा रहेको स्याङ खोलाको किनारमा पर्ने कैह्योलोङ गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा सुनसान बनेको हो ।       स्याङखोलाको पुल भएर वार्षिक तीन लाखभन्दा बढी पर्यटक आवतजावत गर्ने मुस्ताङको कैह्योलोङ गुफा पुग्नेको सङ्ख्या नगन्यमात्रामा रहेको स्याङका बासिन्दा देवेन्द्र थकालीले बताउनुभयो ।  “जोमसोमको प्रवेशद्वारमा भए पनि कैह्योलोङ गुफाको महत्व र विशेषताका बारेमा प्रचारप्रसारका साथै यहाँसम्म पुग्ने व्यवस्थित पदमार्ग नहुँदा ओझेलमा परेको हो”, उहाँले भन्नुभयो, “कैह्योलोङ गुफासम्म पुग्ने व्यवस्थित पदमार्ग र पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्नसकेमा मुस्ताङमा आउने पर्यटकको बसाई लम्बाउन सकिने थियो ।” थकाली भाषामा कैह्योलोको अर्थ बिहे नगरेको र ङलाई ओडार भन्ने गरिन्छ । बिहे नगरेका लामा ध्यान र तपस्या बस्ने ठाउँ भएकाले कैह्योलोङ गुफा नामकरण गरिएको थकालीले बताउनुभयो ।       गुफाभित्र तीन वटा कोठा छन् । परापूर्वकालमा लामाहरूले खाना पकाउन र ध्यान बस्नका लागि प्रयोग गरेका सामग्रीहरू गुफामा अवलोकन गर्न पाइन्छ । स्याङखोलाको किनारमा रहेको पहाडको भित्तामा गुफा रहेको छ । स्याङखोलाको मोटरेबल पुलदेखि १० मिनेट पैदलयात्रा गरेपछि गुफामा पुगिन्छ ।       स्याङका पूर्ववडासचिव किरन सापकोटाले कैह्योलोङ गुफा मानव सभ्यताको विकाससम्बन्धी अध्ययन गर्नेका लागि खोजीको विषय बन्नसक्ने बताउनुभयो । गुफाको बनोट र अवस्थिति देखेर अनौठो लागेको उहाँले अनुभव सुनाउनुभयो । बाहिरबाट पहाडको बीचमा सानो प्वाल देखिए पनि भित्र पस्दा घरमै बसेको जस्तो महसुस हुने सापकोटाले प्रतिक्रिया दिनुभयो ।       जनकल्याण युवा क्लबले स्याङ खोलाको किनारबाट गुफासम्म पुग्ने करिब २० मिटर रेलिङसहितको पदमार्ग बनाइएको छ । स्याङखोलाको मोटरेबल पुलबाट गुफाको फेदीसम्म करिब पाँच सय मिटर पदमार्ग बनाउन आवश्यक छ । हाल खोलाको किनारै किनार हिडेर गुफामा पुग्नुपर्छ ।       घरपझोङ गाउँपालिका–३ का वडा सदस्य वीरप्रसाद थकालीले जोमसोमको पुथाङ विमानस्थल, शिन्तामणि होटल, कैह्योलोङ गुफा, किचिथाङ झोलुङ पुल हुँदै स्याङ गाउँ जोड्ने छोटो दूरीको पदमार्गको परिकल्पना गरिएको  जानकारी दिनुभयो ।  उक्त परिकल्पनाअनुसार गाउँपालिकाले किचिथाङमा एक सय २० मिटर लामो झोलुङ्गे पुल, स्याङमा मनशान्ती पार्क निर्माण र स्याङखोलामा साउना बाथ सञ्चालन गरिएको उहाँले बताउनुभयो ।       जोमसोमबाट शिन्तामणि होटल, किचिथाङको झोलुङ्गे पुल हुँदै स्याङ जोड्ने छोटो दूरीको पदमार्गले पर्यटकको बसाई लम्ब्याउने र पर्यटकलाई प्रकृतिमा रमाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

काठमाडौं:  अन्तरर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा घरेलु टोली नेपालले सुखद् सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।  नेपालको जितमा विमला चौधरीले गोल गरिन् । उनले खेलको ११औँ मिनेटमा गोल गरिन् । यो जितसँगै नेपालले तीन अङ्क जोडेको छ ।  अब नेपालले यही फागुन ८ गते लेबनानसँग खेल्नेछ । 

पोखरा:  मिस मगर लोक दोहोरी गायिका निरा थापा मगरको दोश्रो प्रस्तुति ऋषिङ्गे भेना सार्वजनिक गरिएको छ ।  आफ्नै स्वर, अभिनय र लगानीमा थापा मगरले आफ्नै ऋषिङ र घिरिङ गाउँको मौलिक कौरालाई समावेस गरी ऋषिङ्गे भेना बजारमा ल्याएकी हुन ।  मिस मगर २०२३ तनहुँ जिल्ला घिरिङ गाउँपालिका डाँडाथोककी नीरा थापाले आफ्नो स्वर्गीय बुवा यम बहादुर थापा र स्वर्गीय दाइहरु तुल बहादुर थापा र प्रेम थापा प्रति समर्पित गरेर उक्त सांगीतिक कोसेली बजारमा ल्याएकी हुन ।  उक्त गीत आफ्नै युटुब च्यानल नीरा थापा मगरबाट सोमबार सार्वजनिक गरिएको छ । थापाले आफ्नो कोसेलीलाई माया गरिदिन आग्रह गर्दै गीतको माध्यामबाट लोक भाकाको संरक्षण र आफ्नो गाउँठाउँलाई विश्व सामु चिनाउने उद्देश्यले रहेको बताएकी छिन ।  उक्त गीतमा लिड भोकल दुर्गा गुरुङ र नीरा थापा मगरको रहेको छ भने कोरस भोकल रुपी सिंजाली मगर र रिया गुरुङको रहेको छ ।  रेशम गुरुङको लय तथा शब्द रहेको गीतमा तेजेन्द्र दुराले एरेन्जर गरेका छनभने खैंजडीमा मनाङ गुरुङले साथ दिएका छन । गीतमा पर्सन गुरुङले रेकर्डिङ संयोजन गरेका छनभने सुर साधना स्टुडियोमा उक्त गीत रेकर्ड गरिएको हो ।  उक्त गितको डाइरेक्सन कोरियोग्राफी पर्सन गुरुङले गरेका छन् भने गायिका स्वयं र आनन्द गुरुङको मोडलिङ रहेको छ ।   

दाङ:   प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने बताउनुभएको छ ।      यहाँको घोराहीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटीद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नमा आफ्नो नेतृत्वको सरकार केन्द्रित रहेको स्पष्ट पार्नुभयो ।       नेपाल सुरुङमार्ग र पानी जहाजको युगमा प्रवेश गरिसकेको बताउँदै उहाँले दाङको देउखुरीमा पनि सुरुङमार्ग बनाउने योजना रहेको जानकारी दिनुभयो ।  “अहिले पुष्पलाल मार्ग, मदन भण्डारी मार्गजस्त आयोजना निर्माण भइरहेका छन्”, उहाँले भन्नुभयो, “हामी अलमल नगरी मिसन २०८४ तर्फ लाग्नुपर्छ, तपाईँहरूको साथ चाहिन्छ, देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा मेरो हो, कसैले पनि यो अभियानलाई रोक्न सक्दैन ।”      प्रधानमन्त्री ओलीले एमालेको नेतृत्वले मात्र देश विकास गर्न सक्ने बताउनुभयो । उहाँले दाङ कृषिमा उर्वर भूमि भएको र हिजो विकासमा पछाडि परेको भए पनि अब अगाडि बढ्ने बताउनुभयो ।            सोही कार्यक्रममा नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले साना दलले गलत भाष्य निर्माण गरी प्रचार गरेकाले देश अस्थिरतामा गएको बताउनुभयो । मुलुकको निराशालाई चिर्न एमाले सरकारमा आएर समृद्धिको पाइला अगाडि बढेको बताउनुभयो ।      लुम्बिनी प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव पद्मा अर्यालले विकासका लागि जनताको साथ चाहिने बताउनुभयो । 

काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन आचारसहिंता जारी गरेको छ ।      विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि कार्यकारी परिषद्ले जारी गरेको ‘स्ववियु निर्वाचसम्बन्धी निर्देशिका’  अनुसार आचारसंहिता तोकिएको बताउनुभयो ।      उहाँका अनुसार आचारसंहितामा क्याम्पस हाताभित्र स्ववियु निर्वाचनलाई प्रभाव पार्ने गरी सरकारी कोषबाट तलबभत्ता लिने कुनै पनि व्यक्ति वा संस्थाका कार्यक्रम गर्न नपाइने उल्लेख छ ।      यस्तै, आचारसंहितामा क्याम्पसको पर्खालको बाहिर, भित्रपट्टि र क्याम्पस परिसरमा निर्वाचनसम्बन्धी भित्तेलेखन, तुल, फ्लेक्स तथा कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने, विश्वविद्यालय र यसअन्तर्गतका क्याम्पसलाई हानी–नोक्सानी हुने कुनै प्रकारको प्रचारप्रसार र अन्य गतिविधि गर्न नपाइनेसमेत उल्लेख छ ।      यस्तै, क्याम्पसको निर्वाचन समितिमा दर्ता भएका सङ्घ, सङ्गठन, समूह वा स्वतन्त्र उम्मेदवारलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम निर्वाचन समितिले सञ्चालन गर्न सक्ने र उक्त कार्यक्रममा एकअर्काप्रति आक्षेप वा आरोप लगाउने वाक्य बोल्न नपाइने उल्लेख छ ।      आचारसंहितामा प्रत्येक सङ्घ, सङ्गठन, समूह र स्वतन्त्र उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली भएको पर्चामात्र प्रचारप्रसार गर्न पाइने उल्लेख छ ।  निर्वाचनका बेला क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार, विभिन्न माग राखी वा निर्वाचनको विषयलाई लिएर बन्द, हडताल र मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचनको प्रसारप्रसार गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।      निर्वाचनमा विसं २०५३ फागुन २८ गतेपछि जन्मिएका विद्यार्थी उम्मेदवार हुन नपाउने निर्देशनालयका निर्देशक अधिकारीले बताउनुभयो । देशभरिका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा एकैदिन मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरी निर्वाचन हुने व्यवस्था गरिएको छ । 

काठमाडौं:   परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताउनुभएको छ ।      सो विश्वविद्यालयको छात्राबासमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका सन्दर्भमा आफूले आज बिहानदेखि नै सम्पर्कमा रहेर आवश्यक कूटनीतिक पहल थालेको उहाँले बताउनुभएको हो ।      एक औपचारिक कार्यक्रमका लागि हाल ओमनमा रहनुभएकी मन्त्री डा देउवाले यससम्बन्धी समाचार आएपछि विषयलाई गम्भीर रूपमा लिएर आज बिहानदेखि नै कूटनीतिक पहल सुरु गरेको उहाँको सचिवालयले राससलाई जानकारी दिएको हो ।      मन्त्री डा देउवाले सम्बद्ध पक्षसँग सम्पर्कमा रहनुका साथै आफूले भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मालाई घटनाको वास्तविकता बुझेर नेपाली विद्यार्थीको समस्याबारे आवश्यक तत्परता लिइ काम गर्न निर्देशन दिएकोसमेत जानकारी दिइएको छ ।      सोहीबमोजिम राजदूत डा शर्माले काम गरिरहनुभएको र केहीबेरअघि नेपाली दूतावास नयाँ दिल्लीले विज्ञप्ति पनि प्रकाशन गरिसकेको उहाँले बताउनुभयो । “यसका साथै आज अपराह्न नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग नेपाली विद्यार्थीको सुरक्षाको वातावरणका लागि फोनमा कुरा गरेको छु । उहाँले पनि यसका लागि आवश्यक पहल र समन्वय गरिरहेको जानकारी दिनुभएको छ ।      यस विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक तत्परताका साथ काम गरिरहेको छ र मन्त्रालयले पछिल्लो अवस्थाबारे जानकारी पनि गराउने छ”, मन्त्री डा देउवालाई उद्धृत गर्दै उहाँको सचिवालले भनेको छ ।