काठमाडौं: मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वट विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्रणालीमा उडान अनुमति दिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार चार सयभन्दा बढी उडान रद्द भएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एक सय ५० देखि एक सय ६० उडान हुने गरेका छन् । सुर्खेत विमानस्थलबाहेक सबै विमानस्थलबाट उडान भइरहेको छ । यसअघि प्राधिकरणले प्रतिकूल मौसमका कारण शुक्रबार साँझ ७ः०० बजेदेखि शनिबार दिउँसोसम्म सबै आन्तरिक उडान स्थगन गरेको थियो ।
सुनसरी: बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा थुनिएका २५ जनाको उद्धार गरिएको छ । बराहक्षेत्र–६ ठाकुरवारीस्थित कोशीको बीच टापुमा भैंँसीपालन गरी बस्दै आएकाहरु शुक्रबारदेखि सप्तकोशी नदीमा आएको बाढीले अलपत्र परेका थिए । अलपत्र परेका २५ जनालाई आज प्रहरीको सहयोगमा डुङ्गामार्फत उद्धार गरिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । शनिबार बिहानदेखि उहाँहरुको उद्धारका लागि प्रहरी परिचालन गरिए पनि निरन्तर वर्षा भइरहेकाले तत्काल उद्धार सम्भव नभएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीेसहितको टोलीले हेलिकप्टरमार्फत उद्धार गर्न सङ्घीय सरकारसँग समन्वय गरेको थियो । प्रतिकूल मौसका कारण शनिबार उहाँहरुको उद्धार गर्न नसकिएको नगरप्रमुख कार्कीले बताउनुभयो । नगरप्रमुख कार्कीले भन्नुभयो, “शुक्रबारदेखि कोशी नदीमा जलसतह बढेर बाढी आएपछि उहाँहरु निस्कन नसकेर श्रीलङ्का टापु ठाकुरवारी क्षेत्रमा अलपत्र पर्नुभएको थियो ।” आज कोशीमा पानीको बहाव घटेसँगै बिहान नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा डुङ्गामार्फत २५ जनाको सकुसल उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा कायम छ । युरोपियन यूरो एकको खरिददर एक सय ४९ रुपैयाँ १४ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ७४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ९९ पैसा कायम गरिएको छ । यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ १६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय चार रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८३ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १८ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा, स्विडीस क्रोनर एकको खरिददर १३ रुपैयाँ २२ पैसा र बिक्रीदर १३ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ र बिक्रीदर २० रुपैयाँ ०९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ०७ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
सुनसरी: सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । आज बिहान ३ः०० बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । यसअघि कोशी ब्यारेज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड सात लाख ८८ हजार दुई सय क्युसेक मापन गरिएको थियो । शनिबार बेलुका १०ः२५ बजे सप्तकोशीको पानीको बहाव प्रतिसेकेण्ड ६ लाख २० हजार क्युसेक मापन गरिएको थियो । कोशी ब्यारेज कन्ट्रोल रुमले गए राति ११ बजे दिएको जानकारीअनुसार जलसतह खतरा तहभन्दा ११ दशमलव २६ मिटरमाथि पुगिसकेको र अझ बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको जनाएको छ । पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजको सबै ५६ ढोका खोलिएका छन् । सप्तकोशी नदी जलसतह खतरा तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तरीका बाढीबाट कटान हुनसक्ने क्षेत्र तथा डुबान हुने होचा भूभागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ । लगातार पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेज भएर मानिस र सवारीसाधनलाई अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि आवागमन बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो । शनिबार बिहान ६ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले प्रतिसेकेन्ड तीन लाख ३६ हजार १० क्युसेक पानीको बहाव मापन गरेको थियो । नदीमा पानीको बहाव बढेर शनिबार साँझ ८ः०० बजे प्रतिसेकेन्ड चार लाख १८ हजार दुई सय ८५ क्युसेक, शनिबार राति १२ः०० बजे प्रतिसेकेन्ड पाँच लाख सात हजार ६ सय ९० क्युसेक तथा आज बिहान २ः०० बजे प्रतिसेकेन्ड ६ लाख ३२ हजार २८५ क्युसेक पानीको बहाव मापन गरिएको थियो ।
काठमाडौं: बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय जना जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक ६ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उहाँले बताउनुभयो ।
धादिङ: काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु१ज ४५७८ नम्बरको माइक्रोबसबाट तथा नम्बर नखुलेको बसबाट ती शवहरु निकालिएका हुन् । “कुन सवारीसाधनबाट कति जनाको शव निकालेको भन्ने यकिन जानकारी हुन सकेको छैन”, उहाँले भन्नुभयो, “पहिरोबाट तीनवटा सवारीसाधन पुरिएका छन् ।” पहिरोमा फसेका यात्रु र सवारीसाधनको उद्धार कार्य जारी रहेको प्रजिअ पाण्डेले राससलाई जानकारी दिनुभयो ।
पोखरा: पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबका निरोज भट्ट क्षत्रीले जितेका छन् । पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना भएको उक्त प्रतियोगितामा क्षत्रीले निर्धारित ८ किलोमिटरको दुरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दुरी ४१ मिनेट २२ सेकेण्डमा पूरा गरी दोस्रो भए । पोखरा–१७ का प्रकाश थिँक ४२ मिनेट ४२ सेकेण्डम पूरा गरी तेस्रो भए । विजेतालाई २५ हजार, उपविजेतालाई १५ हजार र तेश्रो हुनेलाई ७ हजार साथमा ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । विश्व शान्ति स्तुपदेखि सुरु पर्वतीय दौड, पुम्दीकोट विशाल महादेवको मूर्ति, पोखरा २२ को वडा कार्यालय हँुदै बुद्ध पार्कमा पुगेर टुंगिएको थियो । महिलातर्फ काभ्रे चौताराकी नितु तामाङले उपाधि जितिन् । उनले निर्धारित दूरी ५५ मिनेट २१ सेकेण्डमा पार गरेकी हुन् । यु १६ प्रतिष्पर्धामा पोखरा–२२ का सागर देवकोटा प्रथम भए । पोखरा–२२ स्तरीय दौडमा सुजिल परियार प्रथम भए । उनले ५३ मिनेट ६ सेकेण्डमा दौड पूरा गरेका हुन् । विजेतालाई जनही ७ हजारको साथमा ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगिता सफल पार्न सिंगो पुम्दीभुम्दीवासीले टोल तथा चोकचोकमा फूलमाला तथा गुच्छा एवं पानीले स्वागत गरेका थिए । सो अवसरमा पर्यटन, उद्यम र समाजसेवा क्षेत्रबाट विशेष योगदान गर्ने समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराल र मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक कुसान गुरुङलाई विशेष सम्मान गरियो । दौडमार्फत पुम्दीभुम्दीको थप प्रवद्र्धन गर्ने खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता गरिएको कार्यक्रम संयोजक दीननाथ बरालले बताए । आफ्नो गाउँठाउँको खेल पर्यटन प्रबद्र्धन उक्त कार्यक्रम कोषेढुंगा सावित हुने उनले जनाए । पूर्व अर्थ मन्त्री बरालले पोखरा २२, पर्यटन र खेलकुदको अथाह सम्भावना भएकोले यस्ता खेलकुदका गतिविधिले खेल पर्यटन प्रबद्र्धन हुने विश्वास व्यक्त गरे । पोखरा २२ का अध्यक्ष बरालले उक्त कार्यक्रम आगामी दिनमा परिस्कृत पार्न सहयोग गर्ने बताए । प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने विभिन्न संघसंस्थाहरुलाई प्रतियोगिताका टेक्निकल डाइरेक्टर ओम लामाले धन्यवाद दिए । अनलाइन फारम भर्ने ३ देशका १ सय ४ जना मध्य शनिबारको पर्वतीय दौडमा भने ७९ जनाले मात्र सहभागि जनाएको प्रालिका व्यबस्थापक सागर सुनारले जनाए । दौडमा नर्वेका २ महिला सहित ७९ जना, प्रतियोगितामा ९ बर्ष देखि ५५ बर्ष उमेर समूहका धावकहरु सहभागी भएको पोखरा क्लिक डटकमका वरिष्ठ संवाददाता असफल गौतमले बताए । प्रतियोगितामा ज्येष्ठ धावक ५५ वर्षका शिवराज बस्ताकोटी शिवदाइलाई मेडल प्रदान गरियो । कार्यक्रम संचालन संचारकर्मी दीपेन्द्र पहारीले गरे । नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन रहेको कार्यक्रममा पोखरा २२ वडा कार्यालय, पोखरा पर्यटन परिषद्, प्रदेश खेलकुद परिषद लगायतको सहयोग थियो ।
काठमाडौं: पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ । यसअघि साँझ ५ बजेसम्म ६६ जनाको मृत्यु भएकोमा पछिल्ला विवरण अनुसार थप २१ जनाको मृत्यु पुष्टि भएसँगै मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको हो । सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले ८७ जनाको मृत्यु पुष्टि गर्दै अरु ७२ जना बेपत्ता रहेको राससलाई जानकारी दिनुभयो । अरु ३६ जना घाइते भएका छन् । उहाँका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । यस्तै कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको हो । बेपत्ता हुनेमा कोशीमा नौ, मधेश प्रदेशमा एक , काठमाडौँ उपत्यकामा २१, बागमतीमा ३९ र लुम्बिनी प्रदेशमा २ जना बेपत्ता छन् । उपत्यकापछि सबैभन्दा बढी काभ्रेमा १४ जनाको मृत्यु भएको छ । त्यसपछि मकवानपुरमा सात, पाँचथरमा पाँच, सिन्धुपाल्चोकमा चार, दोलखामा तीन जनासहित विभिन्न जिल्लामा गरेर कूल ८७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै उपत्यकापछि सबैभन्दा बढी काभ्रेमै २६ जना बेपत्ता छन् । यस्तै पाँचथरमा पाँच, झापामा चार, सिन्धुपाल्चोकमा पाँचसहित अन्य जिल्लामा गरेर ७२ जना बेपत्ता भएका छन् ।
मकवानपुर: मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा पुरिएर बेपत्ता भएका ६ जना विद्यार्थीको शव फेला परेको छ । पहिरोमा बेपत्ता भएका सबैजनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँस्थित शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ । इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीका अनुसार ४० जना विद्यार्थी एन्फा एकेडेमीको क्याम्पमा प्रशिक्षण लिने र स्थानीय बत्सलादेवी माविमा अध्ययन गरिरहेका थिए । आज बिहान कुलेखानी जलाशय भरिएर बाँध फुट्ने सम्भावना बढेपछि नेपाल विद्युत् प्राधिकरणले बाँधको दुईवटा ढोका खोलेर पानी बाहिर पठाएको थियो । कुलेखानीको बाँधको ढोका खोल्दा सिस्नेरी खोलामा एक्कासि बाढी आएका कारण बत्सलादेवी माविको छात्रवासमा बसिरहेका विद्यार्थीलाई सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेर ६ जना विद्यार्थीको मृत्यु भएको स्थानीय प्रहरीले बताएको छ । चौतीस जना विद्यार्थी पनि हेलिकप्टरमै काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । सिस्नेरी खोलामा जलसतह बढेसँगै विद्यार्थीलाई सुरक्षित स्थानमा लैजाने क्रममा पहिरोमा परी एन्फा एकेडेमीका ६ जना विद्यार्थी बेपत्ता भएका थिए । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले भने प्रेस विज्ञप्तिमार्फ बेपत्ता विद्यार्थी भन्दै नाम सार्वजनिक गरेको छ । एन्फाको विज्ञप्तिअनुसार मकवानपुरका हेटौँडाका अनुपम घलान, साइमन योञ्जन, सिस्नेरीका दिवस बानियाँ, बारा निजगढका बिकल रेग्मी, काठमाडौँका रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकी रहेका छन् । अनुपम घलान जिल्ला समन्वय समिति मकवानपुरका संयोजक ललितकुमार घलानका छोरा हुन् । जिल्ला संयोजक घलानले सामाजिक सञ्जालमा छोरालाई बचाउन नसकेको बताएका छन् । सिस्नेरीखोलामा आएको बाढीले स्थानीयको ३० वटा घर बगाएको सिस्नेरी प्रहरीले जानकारी दिएको छ । स्थानीयलाई सुरक्षित स्थानमा सारिएको र अहिले आफन्तकामा शरण लिएर बसिरहेको सिस्नेरी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरीप्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार मकवानपुरको बागमती गाउँपालिका–३ फापरबारीस्थित रहरसिंह थिङको छोरी २० वर्षीया फूलमाया थिङलाई आफ्नै घर भत्किँदा घरले चेपिएर निधन भएको छ । हेटौँडाबाट बागमती हुँदै सिन्धुली जाने धरानचतरा मार्गको बागमती पुलमा बाढीले क्षति पु¥याएको प्रहरीले जनाएको छ । बागमती पुलको छेउमा करिब सय मिटर सडक खोलाले बगाएको बताइएको छ । हेटौँडा–भीमफेदी–सिस्नेरी–काठमाडौँ, भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ सडक पहिरोका कारण अबरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरीप्रवक्ता प्रहरी निरीक्षक सापकोटाका अनुसार त्रिभुवन राजपथ, कान्तिराजपथमा पनि पहिरो आएपछि यातायात अवरुद्ध बनेको छ ।