पोखरा: आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संंरक्षणप्रति सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले शुक्रबार पोखरामा आयोजना गरेको ‘आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ बिषयक कार्याशाला गोष्ठीमा बोल्दै उनिहरूले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रोशन गाहा मगरले प्रदेश सरकारले बनाएका कानूनलाई कार्यान्वयन गर्दा के कस्ता अप्ठ्यारा आउँछन् त्यसलाई दृष्टिगत गरी थप कानून निर्माण सँगसँगै आवश्यक संशोधनका बारेमा सबै सँग छलफल गरी कानून निर्माणमा पहल गर्ने बताए । गण्डकी प्रदेश सभा सदस्द नन्कदला परियारले अधिकारका धेरै बिषयहरू कानूनमा लिपिबद्ध भएपनि कार्यान्वयनको पाटो फितलो भएको बताइन् । आर्थिक समस्याले समाजमा आत्महत्याको दर बढेकाले यसलाई न्यूनिकरण गर्नतर्फ लाग्नुपर्नेमा जोड दिइन् । प्रदेश सभा सदस्य सरस्वती गुरुङले गण्डकी प्रदेशमा कृषि, पर्यटन र उर्जाको प्रचुर सम्भावना भएकाले त्यसका लागि प्रभावकारी नीति नियमको खाँचो औंल्याइन् । बढ्दो ब्याजदरलाई घटाउन पहल गर्ने पनि उनले बताइन् । अर्का प्रदेश सभा सदस्य कुशुम बुढामगरले आफूले विगतदेखि नै मानव अधिकार, विभेद र मुक्तिका पक्षमा आवाज उठाउँदै आएको भन्दै आर्थिक, सामाजिक र सांस्कृतिक विभेद अन्त्यका लागि कागजी रूपमा भन्दापनि कार्यान्वयको पक्ष सबल हुनुपर्नेमा जोड दिइन् । सभासद कल्पना तिवारीले तीन तहको सरकारबीच समन्वय नहुँदा नागरिकले परिवर्तनको प्रत्याभूति गर्न नपाएको बताइन् । नागरिकले अधिकार प्राप्त गर्न नसके सम्म सरकारी लक्ष्य र उद्देश्यको कुनै अर्थ नरहने उनको भनाइ छ । सभासद भक्त कुँबरले कानून अभावका कारण नागरिकहरू अधिकारबाट बञ्चित हुन नहुने बताए । कुन तहको सरकारले कुन काम गर्ने भन्ने कुरा कानूनमा स्पष्ट हुनुपर्ने उनको भनाइ छ । इन्सेकले नागरिकका अधिकारलाई स्थापित गराउन महत्वपूर्ण काम गर्दै आएको उनले बताए । सभासद सुधीर पौडेलले कार्यान्वयनको पाटो कमजोर हुँदा नागरिकलाई अधिकारको प्रत्याभूति दिलाउन नसकेको स्वीकार गरे । संघीयताका पक्षमा धेरै काम भएपनि संघ र स्थानीय सरकारको चेपुवामा प्रदेश सरकार रहेको उनले बताए । कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता गिरधारी सुवेदीले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको कार्यान्वयनमा सरकारी नीति कमजोर रहेको उल्लेख गरे । मानवअधिकार सम्बन्धी पाँचौ राष्ट्रिय कार्यायोजनाले यी बिषयलाई समेटने कुरा उल्लेख गरी संघ, प्रदेश र स्थानीय तहलाई जिम्मेवारी दिएपनि कार्यान्वयन नभएको बताए । पूँजी निर्माण प्रदेश सरकारको मुख्य चुनौती भएकाले उल्लेख गदै उनले जनशक्ति परिचालन र व्यवस्थापन, दृढ राजनीतिक इच्छाशक्तिको अभाव, महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा वृद्धि जस्ता बिषय प्रदेश सरकारका लागि चुनौती भएको सुनाए । प्राकृतिक स्रोत साधनको उपलब्धता, पर्यटकीय क्षेत्रको प्रचुरता, विविध सांस्कृतिक युक्त समाज प्रदेश सरकारका लागि अवसर भएको पनि उनको भनाइ छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको संरक्षणका लागि थप नयाँ ऐनहरूको निर्माण, नागरिकका लागि प्रभावकारी सेवा प्रवाह तथा भाषा, धर्म र संस्कृतिको जगेर्ना जस्ता बिषयमहरूमा प्रदेश सरकारले पहल गर्नुपर्ने उनले बताए । इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले संस्थाले आफ्नो स्थापनाकालदेखि नै नागरिक अधिकारका क्षेत्रमा आवाज उठाउँदै आएको बताए । समाजमा जातीय विभेदका घटना अझैँपनि कमि आउन नसकेको, महिला तथा बालबालिकामाथि हुने हिंसाका घटना बढ्दै गएको, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूले पूर्ण रूपले अधिकार उपभोग गर्न नपाएको, निशुल्क शिक्षाका नाममा जथाभावी शुल्क असुल्ने प्रवृत्ति विद्यमान रहेको बताए । मानव अधिकार उल्लंघनका घटना सबैभन्दा बढी स्थानीय तहमा हुने गरेकाले यसप्रति स्थानीय सरकार सजग हुनुपर्ने उनले बताए । सरकारले ५ बर्षमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका क्षेत्रमा कार्य गर्नुपर्ने भन्दै उनले भौतिक र मानवीय विकासलाई सँगसँगै लैजानुपर्ने उनको भनाई थियो । राज्यलाई जवाफदेही बनाउन संस्थाले निरन्तर खबरदारी र साझेदारी गर्ने संयोजक खकुरेलले बताए । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव हेमराज सुवेदीले फोरममा उठेका बिषयलाई मन्त्रालयले सम्बोधन गर्ने प्रतिबद्धता जनाए । राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत मोहन काफ्ले, महिला मानव अधिकार रक्षक सञ्जालका सदस्य केशु भुजेल, इन्सेक कार्यक्रम अधिकृत सवनम शर्मा र प्रलेख अधिकृत रेनुका बि.क.ले कानूनको अभावमा कुनैपनि नागरिक अधिकारबाट बञ्चित हुन नहुनेमा जोड दिए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको महिना बितिसक्दा पनि आन्तरीक उडानमात्रै भएपछि पोखरेलीबीच कहिलेदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ ? भन्ने चासो बढेको छ । र, चासोसँगै उब्जिएका छन् आशंका पनि । यही चासो र आशंका चिर्ने दिन यही महिनाको २३ तारिख हुनेछ । सामान्यतयः कुनैपनि अन्तर्राष्ट्रिय उडानकालागि विमानस्थल सुरु भएको ४२ दिन कुर्नुपर्ने नियम पालना गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रबन्धक एवं सूचना अधिकृत ज्ञानेन्द्र भुल बताउँछन् । भुल भन्छन्, ‘विमानस्थल उद्घाटन हुनेबित्तिकै अन्तर्राष्ट्रिय उडान सुरु गर्न ४२ दिनको समयसीमा तोकिएको हुन्छ, त्यसपछि बल्ल उडान अनुमति पाइन्छ ।’ उक्त जानकारीसँगै भुलले सोही कारण पोखरा विमानस्थलको उद्घाटन गर्दा आन्तरीक उडानबाट सुरु गरिएको बताए । अन्तर्राष्ट्रिय नियमअनुसार फेब्रुअरी २२ तारिखमा समयसीमा सकिने र २३ देखि पोखरामा अन्तर्राष्ट्रिय विमान उत्रनेछ । पोखरा विमानस्थलमा हाल ‘भिज्युअल फ्लाइट रुल्स् (भिएफआर)’ पद्दति छ । तर अन्तर्राष्ट्रिय उडान भर्न ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स् (आइएफआर)’को व्यवस्था गर्नुपर्नेछ । यही पद्दति जडानकालागि समेत ४२ दिनको समय राखिने गरेको सूचना अधिकृत भुल बताउँछन् । यद्यपि, २३ तारिखमा कुन कम्पनीको हवाइजहाज पोखरा आउछ भनेर अहिले नै किटान गर्न नसकिए पनि यस दिन उडान निश्चित हुने भुलले ठोकुवा गरे । ‘प्राधिकरणको सम्पर्कमा आएका भुटान एयरलाइन्स र ड्रुक उडान गर्न आतुर छन्‘ भुलले भने ‘त्यस्तै, एयरबसमार्फत सेवा दिइरहेका वायुसेवाहरु पनि उडानका अनुमति मागिरहेका छन् ।’ निर्धारित दिनमा अन्तर्राष्ट्रियय उडान सुरु भएपनि निश्चित उडान तालिका अनुसार अर्थात् सेड्युल फ्लाइट भने हुनेछैन । सुरुवाति चरणमा चार्टर फ्लाइट हुने प्राधिकरणले सुनगाभा न्यूजलाई बताएको छ । चार्टर फ्लाइटले अन्तर्राष्ट्रियस्तरमा दिने सन्देश र बजारीकरण (मार्केटिङ्)ले पोखरा विमानस्थलमा नियमित तालिका अनुसार उडान हुन सघाउ पुग्ने भुलको विश्वास छ ।
पोखरा: पोखरा महानगरपालिकाले २३ गतेदेखि लागू गर्ने पार्किङ प्रति पोखरा उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ । पोखरा महानगरपालिकाले माघ २३ गतेदेखि पृथ्वीचोक, सभागृहचोक, न्यूरोड चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजारको सडकमा सवारी पार्किङ निषेध गर्ने निर्णय गरेपछि पोखरा उद्योग वाणिज्य संघले आज (बुधबार) ध्यानाकर्षणपत्र जारी गर्दै आपत्ति जनाएको हो । संघका अध्यक्ष पवन प्रजापतिले हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रका भनिएको छ, ‘पोखराको अव्यस्थित ट्राफिक समस्याको व्यवस्थान हाम्रो चासो र सरोकार हो । संघ, महानगरबाट असल नियतले अगाडि सारिएको यो अभियान सह्राना गर्छ तर यस्तो निर्णयले गम्भीर र दीर्घकालिन महत्वको निर्णय लिदा सरोकारवाला सहयात्री पोखरा उद्योग वाणिज्य संघको परामर्श नगरिनुले दुखित तुल्याएको छ । ’ पोखरा महानगरपालिकाले व्यवस्थापन गरेका पार्किङ स्थलले अहिलेको सवारी चाप धान्न सक्छ ? के हतारमा निषेधित क्षेत्र घोषणाअभि विकल्पबारे सोच्न सकिदैनथ्यो ? के अहिले गरिएको निर्णयमा अभ्यस्त हुन व्यवसायी र सर्वसाधारणलाई पर्याप्त समय प्रदान गरिएको छ ? प्रश्नले हामीले झस्काएको छ प्रजापतिले हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रमा भनिएको छ । पोखरा उद्योग वाणिज्य संघले महानगरले गरेको पार्किङ निषेधित गर्ने निर्णय संसोधन गर्न माग समेत गरेको छ । संघले पार्किङको दीर्घकालिन समाधान खोजिनुपर्छ र सरकारबाट गरिने निर्णयबाट उपभोक्ता तथा व्यवसायी प्रतावित बन्नु हुँदैन भन्दै व्यवसायिक तथा सार्वजनिक सरोकार विषयमा निजी क्षेत्रसँग विस्तृत छलफल गरेर मात्र लागू गर्न माग गरेको छ । संघले कोभिड १९ को महामारी, बैंक तथा वित्तिय संस्थाको चर्को व्याजदरबाट थला परेको व्यवसायीहरुलाई महानगरको निर्णयले असर पु¥याउने तर्फ ध्यान नदिएको पत्रमा उल्लेख गरिएको छ । यस्त महानगरको पार्किङ व्यवस्थापनमा उद्योग वाणिज्य संघको आपत्ति जनाउँदै सदस्यहरुलाई छलफलमा बोलाएको छ । संघले बैंक तथा वित्तिय संस्था सम्बन्धी समस्या एवं आर्थिक अन्यौलता र पोखरा महानगरपालिकाद्धारा लागू गर्न लागिएको मूख्य सहरी क्षेत्रको सडकमा पार्किङ्ग निषेधको विषयमा छलफल गर्न सदस्यहरुलाई आह्वान गरेको छ ।
आगामी २३ गतेदेखि पोखरा महानगरपालिकाले नगर क्षेत्रमा पाकिङ् गर्न नपाइने सूचना जारी गरिसकेको छ । सूचना जारी भएपछि नगरवासीले मिश्रित प्रतिक्रिया जनाएका छन् । महानगरले पार्किङ् व्यवस्थापन गर्न वडा १६ का अध्यक्ष अमृत तिमिल्सिनाको संयोजकत्वमा पोखरा महाागर यातायात व्यवस्थापन समिति गठन गरेको छ । उनै संयोजक तिमिल्सिनाका अनुसार यतिबेला महानगर नयाँबजारस्थित प्रदर्शनी केन्द्र, न्यूरोडको पोखरा सभागृह, शहरी स्वास्थ्य केन्द्रमा पार्किङ् व्यवस्थापनको तयारी हुँदैछ । यस्तै, निजीतर्फ सेल्वेज टावर, मोबाइल टावर र व्यावसायिक भवनको अन्डरग्राउण्ड पार्किङलाई प्रयोगमा ल्याउने तिमिल्सिना बताउँछन् । तर महानगरले पार्किङ् व्यवस्थापन समिति गठन गरेपनि यसको जिम्मा नलिएको इन्जिनियर सुरेन्द्र पौडेल बताउँछन् । महानगरले पायक पर्ने नुरकुमार श्रेष्ठ (खोप्लाङे)को १० रोपनी जमिनमा पार्किङ् व्यवस्थापन गर्न सम्याएर राखेको छ । यद्यपि त्यहाँ पार्किङ व्यवस्थापनको जिम्मा भने देवेन्द्र केसीको हुने बताइन्छ । सुरुमा महानगरले व्यवस्थापन गर्ने भनिएपनि अहिले त्यो सत्य नभएको इन्जिनियर पौडेल बताउँछन् । ‘हामीले कहिँकतै व्यवस्था गर्दैनौ’ पौडेल भन्छन् ‘खोप्लाङे्को जग्गा सम्याइयो तर त्यहाँ पार्किङ् हुन्छ हुँदैन देवेन्द्र केसीलाई सोध्नुहोस् ।’ पौडेलको अनुसार सरकारी जग्गामा पार्र्किङको व्यवस्थापन महानगरले गर्नेछ तर धेरैको पायक पर्ने खोप्लाङेको जमिनमा भने पाकिङ् हुने वा नहुनेमा कुरा बाँझिएको छ । खोप्लाङेको ७ रोपनी जग्गा भाडामा लिएका केसीले भने पार्किङ व्यवस्थापन गर्ने विषयमा महानगरसँग कुनैपनि औपचारिक छलफल नभएको बताए । ‘मेयरसा’बले भेट हुँदा कुरा निकाल्नु भएको हो, महानगरले जमिन सम्याउनु भएको छ’ केसीले भने ‘तर व्यावसायिक प्रयोजनार्थ लिएको जमिनमा पार्किङ् उठाएर बस्न गाह्रो हुन्छ ।’ ‘हामीले व्यवस्थापन गर्दैनौ, निजी क्षेत्रलाई दिने हो’ पौडेलले स्पष्ट पारे । पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी भएकाले व्यावसायिक हित पहिलो प्राथमिकता भएको भन्दै उनले नगरलाई सुन्दर र व्यवस्थित गर्ने दायित्व भने रहेको उनको धारणा छ । कुटी रिसोर्टका सञ्चालकसमेत रहेका केसीले यस विषयमा संघसँग छलफल गरेर अघि बढ्ने बताएपनि पाकिङ् व्यवस्थापनको जिम्मा आफ्नो नभई महानगरपालिकाको भएको स्पष्ट पारे । त्यस्तै, लामो समय स्वामित्व विवादमा मुद्धा लडेर हारेका राजेन्द्रनिधि कोइरालाको न्यूरोडस्थित जग्गामा पनि महानगरले पार्किङ गर्न छुट्याएको छ । यता, पृथ्वीचोकस्थित साल्ट ट्रेडिङको क्षेत्र पनि प्रयोग गरिने महानगरले जनाएको छ । महानगरले प्रतिघण्टा दुईपाङ्ग्रे सवारी साधनलाई १०, साना ४ पाङ्ग्रेलाई ५०, मझौलालाई ७० र ठूला गाडीलाई १ सय रुपैयाँ तोकेको छ ।
पोखरा: पोखरा महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय कास्कीको पुरानो भवन (गोलघर) मा डोजर चलाएको छ । पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित गोलघरलाई पोखरा महानगरपालिकाको कार्यपालिकाको बैठकको निर्णयानुसार आजदेखि भत्काउन सुरु गरिएको हो । पोखराको सुन्दरतालाई मध्यनजर गर्दै जिर्ण अवस्थामा रहेको गोलघर भत्काउन थालिएको पोखरा ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले बताए । उनले जिर्ण अवस्थामा रहेको पोखरा गोल घरलाई भत्काएर पोखराको आर्कषण पोखरा घर बनाउने योजनामा रहेको सुनाए । ‘पोखरामा आउने पर्यटकलाई लक्षित गरेर पोखरेली घर बनाउने योजनासहित अगाडी बढेका छौं, मर्सानीले भने, ‘जिर्ण अवस्थामा रहेको पोखरा गोल घरमा रहेको ट्राफिक कार्यालयलाई सुविधा सम्पन्न भवनमा सारेका छौं । यस ठाउँमा अब पोखरालाई आर्कषण गर्ने गरि पोखरा घर निर्माण गर्ने योजनामा छौं । वडाध्यक्ष मर्सानीले पर्यटकीय क्षेत्रको सूचनापार्टीसहित ‘पोखरा आर्ट ग्यालरी’ यसै भवनमा निर्माण हुने बताए । ‘पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित सहित पर्यटकीय क्षेत्रको सूचनापाटी, पोखरा आर्ट ग्यालरी, पुस्तकालय, घन्टाघरसहितको भवन निर्माण गर्न बजेट विनियोजन गरेका छौं, करिब २ रोपनी जग्गामा योजना तयार हुनेछ ।’ उनले भने । विज्ञ टोलीले तत्काल डिपियार तयार गर्ने बताउदै २ वर्ष भित्र योजना पुरा गर्ने लक्ष्य रहेको जानकारी दिए । मर्सानीका अनुसार पोखरा घर निर्माण गर्न पोखरा महानगरपालिकाले यो आर्थिक वर्ष २ करोड बजेट विनियोजन गरेको छ ।
पोखरा: पोखराका मुख्य बजारका सडक छेउमा सवारी साधन पार्किङ निषेध गरिने भएको छ। पोखरा महानगरपालिकाले सोमबार जारी गरेको सूचनामा बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय भएको उल्लेख छ। मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक सडकखण्डमा यही माघ २३ गते सोमबारदेखि पूर्णरूपमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो। ‘मुख्य सहरी क्षेत्रको सडकमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर हुनुका साथै सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको हुँदा उल्लेखित स्थानको सडक क्षेत्रमा पूर्णरूपमा पार्किङ निषेध गरिएको छ’, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भने। महानगरले ‘अन्डरग्राउण्ड’ पार्किङ तथा मुख्य सडकका आसपासमा पार्किङ प्रयोजनका लागि सम्याइएका खाली जग्गामा पार्किङ गर्न सकिने र ती स्थानमा पार्किङ गरेवापत महानगरले तोकेको शुल्कभन्दा बढी लिन नपाइने पनि सूचनामा उल्लेख छ। तोकिएको क्षेत्रहरूमा मात्र ‘पार्किङ’ व्यवस्थापन गर्न सम्पूर्ण सरोकारवालामा महानगरले आग्रहसमेत गरेको छ।
पोखरा: पोखरा-बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर सडक स्तरोन्नतिको काम गरिने भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाले सो सडक खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको हो । आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि १५ सम्म र बेलुका २१ देखि बिहान १ बजेसम्म सवारी साधनलाई रोकेर आयोजनाको कामलाई तीव्रता दिइनेछ । रोकिएका सवारी साधनलाई आधा घण्टाको फरकमा सञ्चालनको व्यवस्था मिलाइएको छ । पोखरा-बाग्लुङ राजमार्गअन्तर्गत हाल पोखराको हरिचोकदेखि याम्दीपुलसम्मको सडक स्तरोन्नतिको काम भइरहेको हो । सो खण्डको निर्माणका लागि मोतिदान कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको छ । चौवारीबाट ५० मिटर अगाडि हेम्जातर्फ भिरको उचाइ धेरै भएकाले भिर कटान कार्य भइरहेकाले सडक सुरक्षालाई ध्यानमा राखेर यातायात सञ्चालनमा रोक लगाइएको र आधारआधा घण्टामा रोकिएका सवारी साधन छुट्ने व्यवस्था मिलाइएको मध्यपहाडी ९पुष्पलाल० राजमार्ग योजना कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “आयोजनाको कामलाई तीव्रता दिन यातायातका साधन रोकेर काम गर्नेछौँ । सवारी साधनहरूलाई वैकल्पिक बाटो प्रयोग गर्नसमेत आग्रह गरेका छौँ ।” जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले रोकिने सवारी साधनहरूले साधन रोक्दा र चलाउँदा कडाइका साथ आफ्नो लेन अनुसाशन कायम राख्न र सवारी साधन लामबद्ध भएको अवस्थामा ओभरटेक नगर्न आग्रह गरेको छ । जौवारीतर्फबाट जाने सवारी साधनलाई सिमपानीचोक-बगर-शिक्षा कार्यालय-केआइसिँह पुल–दीप हाउजिङ हुँदै नयाँपुल र हलुका सवारी साधनलाई बिन्ध्यवासिनीचोक-सराङकोट-कास्कीकोट हुँदै नौडाँडाको बाटो प्रयोग गर्ने व्यवस्था गरिएको छ । यसैगरी हेम्जातर्फबाट आउने सवारी साधनहरू जौवारीपुल–दीप हुँदै सिमपानी र दोस्रो विकल्पमा नौँडाँडा–कास्कीकोट–सराङकोट हुँदै बिन्ध्यवासिनीचोकको सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।
पोखराः पहिलो संस्करणमा नाटक समूह खोज्नु परेको नाटक महोत्सवमा तेस्रो नाटक महोत्सवमा भने अपेक्षा भन्दा नाटक समूहले सहभागिता जनाएको आयोजकले जनाएको छ । पोखरा थिएटरमा जारी तेस्रो नाटक महोत्सवमा गण्डकी प्रदेशका २९ विद्यालयम मध्ये १९ छनोट हुँदै नाटक महोत्सवमा नाटक मञ्चन गरिरहेका छन् । ‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बालसहभागिताको आधार’ भन्ने नारासहित माघ १४ देखि पोखरामा गण्डकी प्रदेश, विद्यालय स्तरीय तेस्रो नाटक महोत्सव पोखरा थिएटरमा सञ्चालन भईरहेको छ । नाटक महोत्सवमा छनोट भएका १९ विद्यालयले प्रत्येक दिन तीन विद्यालयले पोखरा थिएटरमा नाटक मञ्चन गरेका छन् । महोत्सवका पहिलो दिन प्रगति माध्यमिक विद्यालयले ‘करेसा कन्सर्ट’, व्यास दिव्यज्योति बोर्डिङ स्कुलले ‘गुलेली मास्टर’ नाटक मञ्चन गरेका थिए । यस्तै माघ १५ गते विन्ध्यवासिनी माविले ‘तुलसी’, बेनी सामुदायिक माविले ‘जल्न नसकेको लास’, नवदिप इ.बोर्डिङ स्कुलले ‘दूर देशको भिर गाथा’ नाटक मञ्चन गरे भने माघ १६ गते आज बाल मन्दिर माविले ‘आमाको माया’, विद्याज्योति माविले ‘मुक्ति’ र छोरेपाटन माविले ‘कन्यादान नाटक’ मञ्चन गरेको महोत्सव निर्देशक परिवर्तनले जानकारी दिए । भोलि माघ १७ गते १० बजे नेपाल नमुना माविले विदेश मोह, १ बजे रुद्रेपिपल माविले ‘जिम्मेवार’ र ३ः३० बजे हिल पोइन्ट स्कुलले ‘छुने नजर’ नाटक मञ्चन गर्ने निर्देशक परिवर्तनले बताए । नाटक महोत्सव माघ २१ गते सञ्चालन हुने भएपनि २३ गतेसम्म नाटक मञ्चन हुनेछ । नाटक महोत्सवका निर्देशक परिवर्तनले विद्यालय भनेको रङ्गमञ्चको मुख्य आधार भएको बताए । ‘अबको १० वर्षपछिको रङ्गमञ्च भनेको अहिलेको पुस्ता हुन जो अहिले विद्यालयमा अध्ययनरत छन्, परिवर्तनले भने, ‘रङ्गमञ्च धान्ने जनशक्ति उत्पादन गर्न सकेनौं भने यो उर्जाले काम गर्न सकिदैन, त्यसैले विद्यालय स्तरीय नाटक महोत्सव आयोजना गरेका छौं ।’ पाठ्यक्रममा समावेश नाटक विद्यार्थीले पठनीय विषयको रुपमा लिइरहेको उनले बताए ।‘पाठ्यक्रममा समावेश गरिएको विषय विद्यार्थीले पठनीयको रुपमा लिएका छन्, उनले भने, ‘विद्यालयमा नाटक मञ्चन अध्ययन भइरहेको छ, उनीहरुलाई अध्ययनसँगै नाटक अभिनय गर्ने वातावरण प्रदान गर्ने उद्धेश्यले महोत्सव आयोजना गरेका हौं ।’ महोत्सवका निर्देशक परिवर्तनका अनुसार पहिलो संस्करणमा महानगरस्तरीय १० वटा नाटक मञ्चन गर्ने उद्धेश्य भएपनि ८ विद्यालयले मात्र सहभागिता रहेको जानकारी दिए । ‘पहिलो संस्करणको महानगरस्तरीय नाटक महोत्सवमा १० विद्यालयलाई छनोट गर्ने निर्णयका साथ अगाडी बढ्यौ तर ८ विद्यालयले मात्र सहभागिता जनायो, केही विद्यालयमा कक्षा नै सञ्चालन गरेर सहभागिता गराइयो भने, एक विद्यालयले स्वतः सहभागिता जनाएको थियो ।’ उनले भने । दोस्रो संस्करणमा भने महोत्सव गर्न विश्वभर फैलिएको कोरोना भाइरसका कारण थिएटरमा कार्यक्रम गर्न नमिले पनि भर्चुवल नाटकमा ४० विद्यालयले सहभागिता जनाएका थिए । तेस्रो संस्करणमा १२ वटा नाटक मञ्चन गर्ने उद्धेश्य लिएपनि २४ विद्यालयको सहभागिता भएपछि १२ विद्यालय छनोट गरेर नाटक मञ्चन गरेको उनले बताए । तेस्रो संस्करणमा गण्डकी प्रदेश, विद्यालय स्तरीय नाटक महोत्सवमा २९ नाटकबाट छनोट चरण पार्दै १९ विद्यालयको नाटक मञ्चन भइरहेको निर्देशक परिवर्तनले बताए । एक नाटक प्रोत्साहन स्वरुप र एक नाटक अतिथि नाटकको रुपमा महोत्सवमा मञ्चन हुनेछ । वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा बनेको छनोट समितिले २९ बाट १९ नाटक छनोट गरेको हो । छनोट समितिको सदस्यमा कलाकार तथा निर्देशक माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहेका थिए । नाटक महोत्सवमा छनोट भएका १९ विद्यालयले १० हजार पुरस्कारसहित नाटक मञ्चनको प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पोखराः कास्कीको मादी गाउँपालिकामा निर्माणधिन सुपर मादी हाइड्रोपावरको शाखा कार्यालयमा प्रभावित स्थानीयले लगाएको ताला चार दिनपछि खुलेको छ । ११ बुँदे सम्झौता कार्यान्वयन नगरेको भन्दै हाइड्रोपावरबाट प्रभावित स्थानीयले सुपर मादी हाइड्रोपावर ताङतिङ शाखा कार्यालयमा लगाएको ताला सम्झौता कार्यान्वय गर्ने सहमति पछि मादी नदी सरोकार समिति, ताङतिङ युवा क्लब, प्रभावित स्थानीयले सयुक्त रुपमा शाखा कार्यालयमा लगाएको ताला खुलाएका हुन् । ताङतिङ युवा क्लबका अध्यक्ष भोजबहादुर गुरुङले सम्झौता कार्यान्वयन गर्ने सहमतिपछि हाइड्रोपावरको शाखा कार्यालयमा लगाएको ताला खुलेको जानकारी दिए । ‘हाइड्रोपावर सञ्चालन पूर्व प्रभावित स्थानीयसँग भएको सम्झौता कार्यान्वयन हुन सकेको छैन्, हाइड्रोपावर निर्माणपछि गाउँमा गर्ने भनेको पूर्वाधारदेखि विभिन्न सम्झौता कार्यान्वयन भएन, गुरुङले भने, ‘सम्झौता कार्यान्वयन गर्न दवाव स्वरुप ताला लगाएका हौ, एक हप्ताभित्र सम्झौता कार्यान्वयन हुने सहमति छ, भएन भने पुनः आन्दोलनमा जान्छौं ।’ शनिबार सुुपर मादी हाइड्रोपावर, मादी नदी सरोकार समिति, ताङतिङ युवा क्लब, प्रभावित स्थानीय र जनप्रतिनिधिहरुको सर्वपक्षीय भेलाले ताला खोल्ने र सम्झौता कार्यान्वयन गर्ने सहमति भएको गुरुङले जानकारी दिए । सम्झौतामा प्रभावित स्थानीयलाई मुआब्जा दिने, सिकलेस ताङतिङको बीचमा मोटरेबल पुल खेलमैदान लगायतका पूर्वाधारका कामहरु अगाडी बढाउने सहमति भएको हो । सुपर मादी हाइड्रोपावर ताङतिङ शाखा कार्यालयमा नदी सरोकार समिति, ताङतिङ युवा क्लब र प्रभावित स्थानीयले माघ ११ गते ११ बुँदे सहमति कार्यान्वयन गर्न ताला लगाएका थिए ।

