पोखरा: इन्द्रेणी थिएटरको प्रस्तुति र केदार नाथ पौडेलद्धारा लिखित नाटक आतुरकालको फस्ट लुक्स सार्वजनिक भएको छ । नाटकको निर्देशन कपिल शर्माले गर्नुभएको छ । आतुरकालको पोष्टर सार्वजनिक गर्दै निर्देशक कपिल शर्माले फरक फरक अनुभूति गर्ने रहरले यो बनेको बताउदैं विशेषगरि नेपाली समाजको जरैसम्म पुगेर नाटक लेख्न सिपालु केदार नाथ पौडेलको यो अर्को उदाहरण भएको जनाउनुभयो । विशेषतस् गण्डक क्षेत्रलाई केन्द्र बनाएर लेखिएको नाटक हो ‘आतुरकाल’ र यसलाई निर्देशन गर्ने जिम्मा पनि मेरै हातमा परेको र यसलाई कति न्याय गर्न सकें त्यो दर्शकले मूल्याङ्कन गर्नुहुनेमा विश्वस्त रहेको बताउनुभयो । शर्माले केदार नाथ पौडेल पछिल्लो पुस्ताका चर्चित नाटककार हुन् । उनको पहिलो चर्चित नाटक घेरो र धनिरामको गोरु मैले नै निर्देशन गर्ने मौका पाएका पनि जनाउदै पोखरेली दर्शकले माया गर्नेमा विश्वस्त रहेको बताउनुभयो । शर्माले नेपाल र नेपाली समाज भित्र भिन्नभिन्न रितिरिवाज, धर्म, संस्कार, संस्कृति, चालचलन र आ९आफ्नै सभ्यताहरू छन् । एउटा मान्छे जन्मेपछि उसले मृत्युवरण गर्ने बेलासम्म अनेकन अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुपर्ने आफ्ना संस्कार, चालचलनले कसरी पिरोल्ने एउटा सन्तान, एउटा बाबु र एउटी आमाले आफ्नो कर्तव्य निर्वाह गर्नका लागि कयौं त्याग गर्नुपर्ने समग्र रूपमा भन्नुपर्दा ‘आतुरकाल’ एउटा मान्छेको जीवन चक्र भएको बताउनुभयो । लेखक केदारनाथ पौडेलले नाटक लेख्दा थुप्रै पटक म भावविह्वल भएको र देशमा परिवर्तनका नारा थुप्रै पटक घन्किए पनि थुप्रै व्यवस्था बदलिए तर आत्मा र शरिरले सुखको अनुभुती गर्न नपाएको बताउदै जीवन ठक्करै ठक्करको मरुभूमि बन्न पुगेकोहरुका पिडा, दुख र सङ्घर्षको पहाड ‘आतुरकाल’ जनाउनुभयो । कलाकार राजेन्द्र अधिकारीले नाटक धनिरामको गोरुको रिहर्शल गर्दै गर्दा एकदिन केदार भाइ नयाँ नाटक लिएर आउनुभयो र नाटक सर्सर्ति अध्ययन गर्दै आँखा रसाएको बताउनुभयो । उहाँले धनिरामको गोरुको अन्तिम चरणमा पुग्दै गर्दा त्यसलाई बीचैमा थाँति राखेर नाटक ‘आतुरकाल’ गर्ने निर्णय गरेको जानकारी दिदै आँफु एक रुखो मान्छे भएको तर आतुरकालको रिहर्शलमा म आफै धेरैपटक भावविहल भएको बताउनुभयो । अधिकारीले कलाकारको हैसियतले यो नाटक प्रति कत्तिको न्याय गर्न सके त्यो पछि दर्शकको हातमा छोडेको बताउदै नाटक चुनौतिपुर्ण रहेको कन्टेन्टको हिसाबले यो नाटकले पक्कै पनि दर्शकहरुको मन छुने विश्वास व्यक्त गर्नुभयो । नाटक फागुन ५ देखि ११ गतेसम्म पोखरा थिएटरमा प्रस्तुत हुने इन्द्रेणी थिएटरका व्यवस्थापक दिपेन्द्र पौडेलले जानकारी दिनुभयो । नाटकको सह निर्देशक लक्ष्मण डुम्रे हुनुहुन्छ भने कलाकारमा राजेन्द्र अधिकारी, प्राञ्जल, ज्योती हमाल, रिमा शाही ठकुरी, उत्तमजङ्ग राणा, शिवहरी अर्याल र बिनोद पौडेल रहेका छन् ।
पोखरा: पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (मंगलबार) पहिलो चरणका खेल सम्पन्न भएका छन् । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (मंगलबार) भएको पहिलो खेलमा गार्डेन एफसीले दिव्यज्योती क्लबलाई २ –१ गोल अन्तरले पराजित गर्याे । गार्डेनको जितमा सागर गुरुङ र प्रनिश गुरुङले समान १/१ गोलको योगदान दिए । भने दिव्यज्योतीको लागि राजन थापाले सान्त्वना १ गोल फर्काए । यस्तै खेल संयोजक विनोद गुरुङका अनुसार दोस्रो खेलमा युडिटीसिएल एफसीलाई एनएमसिवाईले १–० गोल अन्तरले हरायो । एनएमसिवाईको जितमा सुजन गुरुङले निर्णायक १ गोल गरे । तेस्रो खेलमा सुनगाभा क्लबको अनुपस्थितिमा काउवेज ग्याङले वाकओभरमार्फत विजयी हासिल गर्याे । चौथो खेलमा घाचोकक्लबलाई सागर एफसीले १–० गोल अन्तरले हराउँदै प्रिक्वाटरफाइनलमा सागर एफसी प्रवेश गर्याे । सागर एफसीको जितमा महेन्द्र गुरुङले निर्णायक गोल गरे । पाँचौ खेलमा नयाँगल्ली एफसीलाई लाँलीगुँरास क्लब धम्पुले ४–१ गोल अन्तरले सहजै जित निकाल्यो । धम्पुसको जीतमा साजन मगरले २ गोल र दिपेश क्षेत्री र समिर परियारले समान १/१ गोलको योगदाद दिए भने नयाँगल्लीको लागि निश्चल गुरुङले सान्त्वना १ गोल फर्काए । छैटौं खेलमा उद्धब एफसीले टुडिखेल एफसीलाई २–० गोल अन्तरले पाखा लगायो र उद्धबको जितमा सन्देश भुजेल र सबिन मगरले समान १/१ गोलको योगदान दिए । सातौ खेलमा हरिचोक युनाइटेड क्लबले पोखरा म्युजिकल हाउसलाई १–० गोल अन्तरले पराजित गर्याे । हरिचोक युनाइटेको जितमा छबिन्द्र गुरुङले निर्णायक गोल गरे । आज भएको अन्तिम खेलमा लामागाँउ एफसीले पिएन क्याम्पसमाथी ५–० गोल अन्तरले जित निकाल्यो । खेल संयोजक गुरुङका अनुसार बुधबारदेखि प्रिक्वाटरका ८ खेल हुनेछन् । आगामी फागुन १ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्रदान गरिने क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । उनका अनुसार उपविजेताले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफि सहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ । अध्यक्ष थापाले उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६÷६ हजार रुपैयाँ र ट्रफि प्रदान गरिने बताए । यस्तै अनुशासित एक टिमलाई ९ हजार र ट्रफि प्रदान गरिने छ । प्रतियोगितामा क्वाटरफाइनलका खेलबाट एक जना खेलाडीलाई म्यान अफ द म्याचको ट्रफी र नगदले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहामगरले प्रस्तावित सूचना प्रविधि (आइटी) पार्कको स्थलगत अवलोकन गरेका छन् । पोखरा महानगरपालिका १८ स्थित जामुखेबोटमा मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, शाखा अधिकृत खुबीराम पोख्रेल लगायतका टोलीको साथमा स्थलगत अवलोकन गरेका हुन् । अवलोकन पश्चात बोल्दै मन्त्री गाहामगरले प्रस्तावित आइटी पार्क निर्माणमा आफ्नो ध्यान केन्द्रीत भएको बताए । उनले उक्त पार्क निर्माणका लागि आफ्नो विशेष योजनामै समेटेर अघि बढ्ने बताएका थिए । तयार हुदै ‘डिपिआर’ आइटी पार्क निर्माणका लागि रत्न आधारभूत प्राथमिक विद्यालयको नाममा रहेको ९६ रोपनी जग्गाको भोगाधिकार प्रदेश सरकारले प्राप्त गरिसकेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सुचना अधिकारी खुबीराम पोख्रेलका अनुसार संभाव्यता अध्ययनसँगै जग्गा संरक्षणका लागि पर्खाल (कम्पाउण्डिङ) निर्माण भइसकेको छ । उनले हाल आइटी पार्कको डिपीआर (गुरुयोजना) तयार भइरहेको बताए । ‘अहिले एउटा कम्पनीले आइटी पार्कको डिपिआर बनाइरहेको छ, सुचना अधिकारी पोख्रेलले भने, ‘जेठ मसान्तसम्म डिपिआरको प्रतिवेदन प्राप्त हुन्छ ।’ पोख्रेलले १ करोड १० लाखको (भ्याटबाहेक) लागतमा इआरएमसी मल्ल स्लेट जेभीले डिपिआर तयार गरिरहेको बताए । ‘सुरुमा इबिडमार्फत इओआई माग गरेका थियौं । त्यसमध्ये १४ वटा कम्पनी दर्ता भए र त्यसबाट ६ वटा छनोट भएका थिए, शाखा अधिकृतसमेत रहेका पोख्रेलले भने, ‘त्यसपछि छनोट भएका ६ वटा कम्पनीलाई आरएफपी माग गर्दा ५ वटाको मात्र प्राप्त भयो र त्यसमध्यै सबैभन्दा बढी अंक इआरएमसी मल्ल स्लेट जेभीले प्राप्त गरेको थियो । अहिले त्यही कम्पनीले डिपिआर बनाइरहेको छ ।’ उनले गत मंसिर २७ गते उक्त कम्पनीसँग सम्झौता भएको बताउदै पहिलो चरणको प्रतिवेदन मन्त्रालयलाई प्राप्त भइसकेको जानकारी दिए । पोख्रेलका अनुसार इआरएमसी मल्ल जेभीले जेठ मसान्तभित्र डिपीआरको काम सक्नुपर्नेछ । त्यसपछि मात्रै पार्क निर्माणको प्रक्रिया अघि बढ्नेछ । इन्भेन्सनदेखि डाटा सेन्टरसम्मको योजना सो पार्कमा आइटीसँग सम्बन्धित नयाँनयाँ प्रविधिको उत्पादन गर्ने, प्रदेश सरकारले आफ्नो तथ्यांक भण्डारण एवं सुरक्षित गर्नेसँगै प्रदेशअन्तर्गत आइटीसँग सम्बन्धित सबै संस्थाहरुको कार्यालय राख्ने गरि पार्क निर्माणको योजना अगाडी बनाएको हो । सूचना प्रविधि पार्कमा डाटा सेन्टर, आइटीसँग सम्बन्धित नवप्रवर्तन (इन्नोभेसन) र नयाँनयाँ प्रविधि पत्ता लगाउने (इन्भेन्सन) जस्ता काम गरिने प्रदेश सरकारको योजना छ । यस्तै प्रदेश सरकार, स्थानीय सरकारलगायतका सरकारी कार्यालयले इन्टरनेटबाट चलाउने सबै तथ्यांकसमेत रहनेछन् । संघीय सरकारले तथ्यांकको सुरक्षित भण्डारका लागि हेटौँडामा राखेको रिकभरी सेन्टरजस्तै पोखरामा पनि डाटा सेन्टर हुने बताइएको छ । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्यकालमा २०७६ असोज ९ गते बसेको मन्त्रिपरिषद्को निर्णयले पोखरामा आइटी पार्क बनाउने निर्णय गरेको थियो ।
पोखरा: पोखरा महानगरपालिका २३ मा तेस्रो संस्करणको चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव मंगलबारदेखि सुरु हुने भएको छ । चापाकोट पर्यटन प्रवद्र्धन समितिले पोखरामा पत्रकार सम्मेलन गर्दै मंगलबार (भोलि) देखि महोत्सव सुरु हुने जानकारी दिएको हो । फेवातालको सिरानमा रहेको वडा २३ को स्थानीय उत्पादनसँगै पर्यटन र होमस्टेलाई प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको समितिको अध्यक्ष भीम पराजुलीले बताए । ‘महानगरपालिकाको पनि कर्णाली क्षेत्र रहेको उक्त वडामा महोत्सवकै कारण पछिल्लो समय कालोपत्रे सडक निमार्ण कार्य थालिएको छ,उनले भने, ‘हामीले यहाँको विकासका लागि नै यो महोत्सव आयोजना गरेर नेतृत्व तहमा पुगेका नेताहरुलाई ल्याउने जमर्को गरेका छौँ ।’ पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा नौमती बाजा प्रतियोगिता, भजन प्रतियोगिता र रत्यौली प्रतियोगिता मुख्य आकर्षण रहेको चापाकोट पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष पराजुलीले जानकारी दिए । उनका अनुसार तिनै प्रतियोगिताको पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः ३३ हजार ३३३, २२ हजार २२२, ११ हजार १११ र ५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् । महोत्सवमा यो वर्ष लप्सी, मह र दमौराको प्रदर्शनीसँगै बिक्री गर्ने गरिनेछ । महोत्सवमा महिला तथा पुरुष दौड प्रतियोगिता समेत आयोजना गरेको छ । प्रतियोगिताको विजेताले पाँच हजार रुपैयाँ दोस्रोले तीन हजार, तेस्रोले दुई र सान्त्वनाले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । भने प्रतियोगितामा सहभागिता जनाउन पुरुष तर्फ ५ र महिलातर्फ ३ सय शुल्क कायम गरेको कार्यक्रम संयोजक चेतनाथ देवकोटाले बताए । उनका अनुसार बाल नृत्यतर्फको विजेताले २ हजार ५ सय, दोस्रोले २ हजार, तेस्रोले १ हजार पाँच सय र सान्त्वनाले ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै दुना टपरी बुन्ने प्रतियोगितामा विजेताले २ हजार, दोस्रोले १५ सय, तेस्रोले १ हजार सान्त्वनाले ५ सय र सहभागि हुन् २ सय शुल्क कायम गरेको छ । झाकी प्रदर्शनी तर्फको विजताले ५ हजार, दोस्रोले ३ हजार, सान्त्वनाले १ हजार पुरस्कार पाउनेछन् । महोत्सवमा २५ लाख खर्च हुने आयोजकले जनाएको छ भने २५ हजारले दर्शकले महोत्सव अवलोकन गर्ने बताइएको छ । सचिव घनश्याम पराजुलीले महोत्सव स्थलसम्म जानका लागि पोखराको हल्लनचोकदेखि गाडीको व्यवस्था गरिएको जानकारी दिए ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आज न्यूरोडस्थित महंगो शूल्क तिर्नपर्ने पार्किङ्स्थलको उद्घाटन गरेका छन् । निर्धारित समयभन्दा १ घण्टा ढिलो पुगेका मेयर आचार्यले उद्घाटनका दौरान पोखरामा थप २७ स्थानमा पार्किङ्स्थलको व्यवस्थापन हुने जनाउँदै एक महिनाभित्र तयारी सकिने बताएका छन् । आज शुभारम्भ भएका सशूल्क पार्किङस्थल न्यूरोडस्थित पुरानो पुर्णिमा चलचिल हल पछाडी रहेको छ । जहाँ करिब ४० चारपाङ्ग्रे र सयको हाराहारीमा २ पाङ्ग्रे सवारीसाधन अट्नेछन् । उक्त स्थलमा लिइने पार्किङ् शूल्क २ पाङ्ग्रेका प्रतिघण्टा १० रुपैयाँ रहेको छ । त्यस्तै, चारपाङ्ग्रको हकमा प्रतिघण्टा ५० र ७० रुपैयाँ रहेको छ । महानगरले निर्धारित गरिदिएको शूल्कको दर भने यसअघि पोखरेलीले तिर्दै आएको भन्दै अत्यधिक हो । मोटरसाइकल वा स्कुटर पार्किङ् गर्ने कुनैपनि जागिरे वा व्यवसायी एवं गाडी भएकाले दैनिक ६ घण्टा सेवा लिँदा तिर्नुपर्ने मूल्य निकै बढी हुन आउँछ । महानगरले पार्किङ् व्यवस्था गर्ने बताएपनि उसले शूल्कमात्रै निर्धारण गरेर सञ्चालनको जिम्मा निजी क्षेत्रलाई छाडिदिएको हो । पार्किङ्स्थलको उद्घाटन गर्दै मेयर आचार्यले सुन्दर र व्यवस्थित पोखरा निर्माणमा जुटेको भन्दै स्थानीयलाई पार्किङ् नियमको पालना गर्न अनुरोध गरेका छन् ।
पोखरा: नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले आफ्नो चौथो वार्षिक साधारणसभा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ । हनिमुन लेकका रुपमा चासो र चर्चा कमाएको दीपाङ तालको किनारामा आयोजित साधारणसभामा व्यवसायीहरूले पर्यटन व्यवसाय जोगाउन राज्यको ध्यान पुग्नु जरुरी रहेकोमा जोड दिए । कोरोना कहर लगायतका कारण पर्यटन व्यवसाय जोगाउन नै धौधौ परेको भन्दै कार्यक्रमका वक्ताले यसका लागि राज्यको व्यवसायमैत्री नीति एवम् व्यवहार आवश्यक भएको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोना कहरले तहसनहस बनेको पर्यटन क्षेत्रमा पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदर लगायतले थप समस्यामा पारेको बताउनुभयो । चर्को व्याजदरले व्यवसायीहरू मारमा परिरहेको बताउँदै उहाँले व्यजाजदर घटाउनुका साथै बैंक किस्ताको समयावधि बढाइदिने कुरामा सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । नेपाल पर्यटक यातायात व्यवसायी संघका केन्द्रीय अध्यक्ष सन्तोष न्यौपानेले कोभिड प्रभावित व्यवसायलाई जोगाउनका लागि सहुलियतका कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपाल पर्यटक यातायात व्यवसयी संघ गण्डकी प्रदेशका अध्यक्ष बाबुराम पाण्डेले पुराना गाडीका सम्बन्धमा सरकारको २० वर्षे नीति २७ वर्ष पुगेको बताउनुभयो । पुराना सवारी साधनलाई इलेक्ट्रीक मोडलमा रुपान्तरण गर्न उहाँले् सरकारको ध्यानाकर्षण गराउनुभयो । एनटिभिए गण्डकीका निवर्तमान अध्यष बोबरजंग गुरुङले पर्यटक यातायातको दररेट अत्यन्त बैज्ञानिक ढंगले तयार गरिएको बताउँदै व्यवसायीलाई त्यसै अनुरुप एकरुपता कायम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा एनटिभिए गण्डकीका उपाध्यष एवम् कार्यक्रम संयोजक दुर्गादत्त दहाल, सल्लाहकार एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष केदारनाथ शर्मा, विकास कंगेल, जनक कार्की लगायतले बोल्नुभएको थियो । साधारणसभाले संस्थाको रिक्त महासचिवमा प्रकाश कुमार श्रेष्ठ, सचिवमा विकास कंडेल र सदस्यद्वयमा सुमन कुँवर र आनन्दराज अधिकारीलाई जिम्मेवारी दिएको छ ।
पोखरा: पोखरा महानगरपालिकाले गत हप्ताको सोमबार निकालेको पार्किङ निषेधको सूचनाबाट पछि हटेको छ । महानगरपालिकाले भोलिदेखि पोखराको पृथ्वीचोक, सभागृहचोक, न्युरोड, बीपीचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजारका सडकमा पार्किङ गर्न नपाइने निर्णयबाट पछि हट्दै अर्को व्यवस्था नभएसम्म लागि पूर्ववत अनुसार नै पार्किङ क्षेत्र कायम रहेको उल्लेख गरेको छ । महानगरले जारी गरिएको सूचनामा भनिएको छ, ‘भोलि देखि पोखराको विभिन्न क्षेत्रमा खाली गर्ने भनिएको पार्किङ क्षेत्रको विषयमा पोखरा उद्योग वाणिज्य संघ, यातायात क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाहरु तथा अन्य सरोकारवाला निकायहरुसँग छलफल पश्चात् लागु गर्न सुझाव प्राप्त भएको छ ।’
वि. सं. १८७७ ताका लोकले पुजेका पण्डित थिए रत्नाखर पराजुली । त्यसबखत कास्की (कास्कीकोट)का शाह वंशीय राजाको मुलपुरोहित रहेका रत्नाखरलाई दिइएको बिर्तामध्येको एउटा हिस्सा हो, पृथ्वीनारायण क्याम्पसको पूर्वी भागमा रहेको कित्ता नम्बर ८३३ । करिब २ सय २२ रोपनी क्षेत्रफल चर्चेको जमिनमा समेटिने गरी संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टरले वडा नम्बर १ र ११ जोड्न पुल बनाउने कार्य अघि बढाउन लाग्दा विवादित बनेको छ । क्याम्पसले पुल शिलान्यास गर्ने खबर सुनेपछि उक्त कार्य रोकेको छ । र, सँगै पत्रकार सम्मेलन गरी ‘भू–माफिया’को चलखेल भनेपछि उनै रत्नाखरका खलकले चित्त दुखाएका छन् । पोखरामा ‘साठीघरे पराजुली’का नामले चिनिने खलकलाई समेट्ने पराजुली समाज पोखराका अध्यक्ष विश्वगोपाल पराजुली भन्छन् ‘पृथ्वीनारायण क्याम्पसले हामी साठीघरेलाई सम्मान गर्नुपर्ने हो, तर उल्टो बदनाम पो ग¥यो ।’ क्याम्पसलाई पनि आफ्नो जग्गा होइन भन्ने थाहा हुँदाहुँदै पत्रकार सम्मेलन गरेर पराजुली परिवारलाई उल्टो भू–माफिया भनेकोमा साठिघरेको चित्त दुखाई छ । ‘शायद, संघीय सरकारले पोखराको पूर्वी र उत्तरी भागलाई बजारमा जोड्न सजिलो हुने ठानेर त्यहाँ पुल बनाउन खोजेको होला’ विश्वगोपाल भन्छन् ‘तर हामीले पुल बनाउन लागेझैं गरेर क्याम्पस हामीमाथि खनियो ।’ उक्त कित्तामा छोएर निर्माण हुन लागेको पुलले पक्कै आवागमनमा सघाउ पुग्ला तर यसमा साठीघरेलाई दोष देखाएर क्याम्पस प्रमुखले दायित्व पुरा गरेको आभाष भएको छ साठीघरेलाई । जिजुबाजेले पाएको बिर्तामै अहिलेको क्याम्पस रहेको र हालको कित्तामा साठीघरेको कूल पूजा हुने मन्दिरसमेत रहेको विश्वगोपालले जनाए । त्यहाँ वर्षेनी कूलायन पूजा गरिँदै आइएको खबर क्याम्पसलाई थाहा हुँदाहुँदै पनि पछिल्लो रवैया स्वीकार्न असहज भएको पराजुली समाजको धारणा छ । ‘हामीले उक्त भू–भाग हाम्रै हुनुपर्छ, हामी नै भोगचलन गर्छाै पनि भनेका छैनौं’ उनी भन्छन् ‘यद्यपि, हामीहरु सोह्रै आना मर्कामा पर्न पनि चाहँदैनौ ।’ रत्नाखरका खलक विभिन्न पेशा, व्यवसायमा रहेका र कमाएर खान सक्ने हैसियतमै रहेपनि केही परिवारको स्थिति अत्यन्त नाजुक रहेको र बस्ने थलोसमेत नभएको जनाउँदै उनले त्यस्ता परिवारलाई भने व्यवस्थापन गर्ने समाजको दायित्व भएको उल्लेख गरे । ‘जे भएपनि, हामीमाथि शंका, उपशंका गर्दै आक्षेप लगाउने काम भयो, पराजुली परिवारले कसैको केही बिगार गरेको छैन, हामीलाई मिडियाबाजी मन पर्दैन’ विश्वगोपालको सटिक भनाई छ ।
पोखरा महानगरपालिका, मासबार निवासी ४४ वर्षीया गिता गिरी शनिबार बिहानदेखि सम्पर्कविहीन भएको परिवारजनले जनाएका छन् । हिजो अन्दाजी पौने ८ बजे कुस्मास्थित माइत जान हिँडेकी गिताकोसाथमा १२ वर्षीय छोरा युनिससमेत रहेका छन् । कुस्मा जान हिँडेपनि उनको मोबाइलको अन्तीम लोकेशन तनहुँको आँबुखैरेनी देखिएको बताइएको छ । गिता सम्पर्कविहीन भएकोबारे जिल्ला प्रहरी कार्यालय कास्कीमा जानकारी दिइएको छ भने कसैले कहीँ, कतै देखेमा सम्पर्क गरिदिन परिवार एवं आफन्तजनले सम्पर्क नम्बर उपलब्ध गराएका छन् । आफन्तजनको सम्पर्क नम्बर यस प्रकार छः 9846468772 (khobananda) 9856012495 (mukta) 9856018180 (raju)

