पोखरा:   तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा पोखरा थन्डर्स धनगढीसँग भिड्ने भएको छ ।   दशरथ रंगशालामा आज (आइतबार) भएको खेलमा एफसी चितवनलाई ३–० को गोल अन्तरले पर...

तनहुँको व्यास नगरपालिकाले पाँच वर्षमा एक सय एक कानून निर्माण गरेको छ । विसं २०७४ सालमा निर्वाचित भएर आएका जनप्रतिनिधिले पाँच वर्षमा सो कानून निर्माण गरेका हुन् । यसक्रममा २९ ऐन, नौ नियमावली, ५० कार्यविधि, आठ निर्देशिका र अन्य ५ गरी सो सङ्ख्यामा कानून निर्माण गरिएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।   ऐनतर्फ आर्थिक ऐन २०७४, विनियोजन ऐन २०७४, व्यास नगरपालिका न्यायिक समिति (कार्यविधि सम्बन्धी ऐन २०७४), सहकारी ऐन २०७४, आर्थिक कार्यविधि ऐन २०७४, स्थानीय कृषि व्यवसाय प्रवद्र्धन ऐन २०७४, फोहरमैला व्यवस्थापन सम्बन्धी ऐन २०७४, आर्थिक ऐन २०७५, तथा विनियोजन ऐन २०७५ छन् । त्यस्तै अनाथ तथा जोखिमयुक्त बालबालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम (सञ्चालन कार्यविधि) ऐन २०७५, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५, नगर शिक्षा ऐन २०७५, प्रशासकीय (कार्यविधि नियमित) गर्ने ऐन २०७५, आर्थिक ऐन २०७६, विनियोजन ऐन २०७६, आर्थिक ऐन २०७७, विनियोजन ऐन २०७७, वातावरणीय परीक्षण ऐन २०७७ तथा सार्वजनिक निजी साझेदारी सम्बन्धी ऐन २०७७ छन् ।   त्यस्तै विनियोजन ऐन २०७८, आर्थिक ऐन २०७८, नगर प्रज्ञा प्रतिष्ठान ऐन २०७८, पुरातत्व, प्राचिन स्मारक र सङ्ग्रहालय संरक्षण सम्बद्र्धन ऐन २०७८, कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७८ कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको ऐन २०७८, कर्मचारी कल्याणकारी कोष सञ्चालन (कार्यविधि) ऐन २०७८, स्थानीय बजार व्यवस्थापन ऐन २०७८, सुशासन ऐन २०७८ र खेलकुद विकास ऐन २०७८ निर्माण गरिएको छ । नियमावलीतर्फ कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणिकरण (कार्यविधि), नगर कार्यपालिका (कार्य सम्पादन), नगर कार्यपालिका (कार्य विभाजन), सभा सञ्चालन तथा व्यवस्थापन (कार्यविधि), व्यास नगरपालिका शिक्षा, नगर प्रहरी, युवा परिषद्, सार्वजनिक निजी साझेदारी सम्बन्धी र आय ठेक्का बन्दोबस्त गर्ने सम्बन्धी नियमावली २०७८ निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।   निर्देशिकातर्फ लैङ्गिक हिंसा सेवा केन्द्र सञ्चालन सम्बन्धी, स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नवीकरण सम्बन्धी, कृषि विकास कार्यक्रम कार्यान्वयन, सहकारीमार्फत् मासु उत्पादन र विक्रीमा आधारित अनुदान कार्यक्रम, दूध उत्पादन र बजारीकरणका आधारमा अनुदान कार्यक्रम, व्यास नगरपालिका विद्यार्थी सिकाई सहजीकरण, बधस्थल सञ्चालन तथा व्यवस्थापन सम्बन्धी र स्थानीय कृषि बजार व्यवस्थापन निर्देशिका २०७८ निर्माण गरिएको छ । अन्यतर्फ पदाधिकारीहरुको आचारसंहिता, योजना तथा बजेट तर्जुमा दिग्दर्शन, व्यास नगरपालिका कर्मचारी विशेष सुविधा सम्बन्धी मापदण्ड, स्नातक उत्तीर्ण बेरोजगार महिला अनुदान वितरण मापदण्ड, वैदेशिक रोजगारीबाट फर्किएका उद्यमशील युवाहरुलाई प्रदान गरिने स्वरोजगार कार्यक्रमको अनुदान सम्बन्धी मापदण्ड २०७८ निर्माण गरिएको छ ।   कार्यविधितर्फ कार्यपालिका बैठक सञ्चालन सम्बन्धी, स्थानीय राजपत्र सम्बन्धी, एफएम रेडियो (व्यवस्थापन तथा सञ्चालन), सार्वजनिक समारोह सञ्चालन, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण, लेखा समिति गठन र सञ्चालन, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन, संस्था दर्ता तथा नवीकरण, बजार अनुगमन, बहाल कर व्यवस्थापन कार्यविधि २०७६ लगायत निर्माण गरिएको छ । १५ वर्ष जनप्रतिनिधि विहिन अवस्थामा कर्मचारीको नेतृत्वमा चलेको नगरपालिका र नगरपालिका पुर्नसंरचना पछि यसको आकार प्रकारमा आएको परिवर्तन, विकासका चुनौति, साधन र स्रोतको अभावमा नगरवासीका सबै अपेक्षा पूरा गर्न नसकिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।   “नगरपालिकाप्रति नगरवासीको भरोसामा वृद्धि हुँदै गएको र नगरवासीका हरेक पक्षसँग नगरपालिका सकभर अपनत्व विकसित गर्दै आएको महशुस गरेका छौ”, नगर प्रमुख न्यौपानेले भन्नुभयो । पाँच वर्षमा धेरैजसो वडा कार्यालयमा भवन निर्माण, पुराना भवनलाई आधुनिक भवन निर्माणको प्रक्रियाको थालनी, स्वास्थ्य केन्द्रका भवन निर्माण गरिएको नगरप्रमुख न्यौपाने बताउनुहुन्छ । “पाँच वर्षमा नगरवासीको हितमा भए गरेका कामहरुको समिक्षा गर्ने दायित्व नगरवासीमा सुम्पिएका छौ”, उहाँले भन्नुभयो ।

स्याङ्जाको वालिङ–१२ डाँडाँखर्क फिरफिरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–१२ डाँडाँखर्कबाट बायटारी आउँदै गरेको ग१ज ७३९९ नम्बरको जीप आज फिरफिरेमा दुर्घटना भएको हो । जीप दुर्घटनामा परी वालिङ–१२ डाँडाँखर्क बस्ने ६५ वर्षीय वीरबहादुर डाला, सोही ठाउँकी ४५ वर्षीया हीरा डाला, २५ वर्षीया शर्मिला सारु, शर्मिला सारुका छ महिनाका छोरा र वालिङ–१४ बस्ने ६१ वर्षीय कूलकुमारी कनौजेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पदमराज थापाले जानकारी दिनुभयो । जीपमा सवार रहेका ११ जनामध्ये अन्य छ जना घाइते भएका छन् । घाइते हुनेमा वालिङ–१२ डाँडाँखर्कका ५० वर्षीय अङ्गबहादुर डाला, सोही ठाउँकी ५५ वर्षीया मायाकुमारी सारु, ३५ वर्षीया योगेन्द्र थापा, १८ वर्षीया नवीना सारु, १९ वर्षीया लक्ष्मी डाला र जीप चालक ६० वर्षीय दलबहादुर थापा रहेका छन् । घाइतेको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । जीप सडकबाट झण्डै २०० मिटर तल खसेको हो । मृत्यु भएका र घाइते भएका सबै एउटै गाउँका भएकाले अहिले गाउँ शोकमा डुबेको छ ।

तनहुँ: वर्षौँदेखि लालपुर्जाविहीन अवस्थामा रहेका भूमिहीनलाई तनहुँका पालिकाले निस्सा वितरण गर्न थालेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यहाँका दुई पालिकाले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेका हुन् । शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकाले सबै वडाका भूमिहीनलाई निस्सा वितरण सुरु गरेका छन् । शुक्लागण्डकी नगरपालिकाले राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा शुक्लागण्डकी–७ शान्तिनगरबाट निस्सा वितरण सुरुआत गरेको हो । शुक्लागण्डकी–७ का ९३० भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीले लालपुर्जा प्राप्त गर्नका लागि निवेदन दिएका थिए । तीमध्ये ८६६ भूमिहीनको विवरण प्रविष्ट गरिएकामा पहिलो चरणमा २४७ लाई निस्सा वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत लीलाबल्लभ न्यौपानेले जानकारी दिनुभयो । निस्सा वितरणसँगै लालपुर्जाको प्रक्रिया सुरु भएको उहाँले बताउनुभयो । नगरपालिकाका १२ वटै वडाबाट चार हजार ४०३ भूमिहीनको निवेदन सङ्कलन भएको छ । यहाँका भूमिहीन विगत लामो समयदेखि लालपुर्जा पाउने आशामा बसिरहेका छन् । पटक–पटक बनेको भूमि आयोगले लालपुर्जाका लागि निवेदन सङ्कलन गरे पनि सरकार परिवर्तनसँगै आयोगका पदाधिकारी फेरबदल हुँदा उनीहरुले लालपुर्जा पाउन सकेका छैनन् । बन्दीपुरले पनि भूमिही सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेको छ । वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाले निस्सा वितरण सुरु गरेको हो । राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौताबमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दीपुर–१ बाट निस्सा वितरण थालिएको छ । उक्त वडाका ७४ जनालाई निस्सा वितरण गरिएको र सबै वडामा निस्सा वितरण गरिने उहाँले बताउनुभयो । यसैगरी बन्दीपुर–४ र ५ का १३० भूमिहीनलाई निस्सा वितरण गरिएको छ । अध्यक्ष थापाका अनुसार गाउँपालिकाका छवटै वडामा करिब ३२५ भूमिहीनलाई निस्सा वितरण गरिनेछ । “भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्नका लागि निस्सा वितरण गरेका हाँै, निस्सा दिएपछि अब लालपुर्जा पनि पाइन्छ भन्ने स्थानीयवासीलाई हौसला दिएका छौँ”, उहाँले भन्नुभयो । निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडि बढ्ने भएकाले उनीहरुले लालपुर्जा पाउने पक्का भएको अध्यक्ष थापाले बताउनुभयो ।