मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

काठमाडौं:    यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले  जानकारी दिनुभयो ।   सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । उम्मेदवारको मनोनय दर्ताको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ । उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यलय स्थापन भएका छन् ।  उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।   उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।  मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।   मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।   विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।   निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष तथा दोलखाको गौरीशङ्कर गाउँपालिका, रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।   ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३, झापाको कन्काइ नगरपालिका वडा नं ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपलिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहटको ईशनाथ नगरपालिका वडा नं ७, राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।   काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ र ४, काठमाडौँ महानगरपालिका वडा नं १६, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४, रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ र कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष पदमा निर्वाचन हुने आयोगका सूचना अधिकृत सुमन घिमिरेले राससलाई जानकारी दिनुभयो ।   दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, रुकुम ९पश्चिम० सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।   स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ ।     पुरुषले कार्यभार सम्हालेका स्थानीय तहमा महिला उम्मेदवार आयोगले २०७९ सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेका स्थानीय तहको रिक्त पदमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिएको छ ।   आयोगको निर्देशनअनुसार जिल्ला समन्वय समिति कैलाली, जाजरकोटको नलगाढ नगरपालिका उपप्रमुख, दोलखाको गौरीशङ्कर, हुम्लाको सर्केगाड, बाजुराको स्वामीकार्तिक खापर र रुकुम पूर्वका पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष पदमा महिलाको मात्र उम्मेदवारी दर्ता हुनेछ ।            आसन्न स्थानीय तह उपनिर्वाचनमा मनोनयन हुने उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी प्रावधानको पालना गर्न राजनीतिक दल र निर्वाचन अधिकृतको कार्यालयलाई आयोगले निर्देशन दिइसकेको छ ।  आयोगले २१ वर्ष उमेर पूरा भएको, उपनिर्वाचन हुने गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको तथा कुनै कानूनले अयोग्य नभएको उम्मेदवारको मात्र मनोयन दर्ता गर्न निर्देशन दिएको हो ।           आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १२ बमोजिम अयोग्य भएको व्यक्ति, गैरनेपाली नागरिक वा नेपालको नागरिक नभएको व्यक्ति र नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्तिलाई स्थानीय तह उपनिर्वाचनमा उम्मेदवार मनोनयन नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।            यसैगरी कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति, निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको व्यक्ति उम्मेदवार बन्न नपाउने आयोगले जनाएको छ ।          भ्रष्टाचार, जबरर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य  फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्मकैद वा बीस वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्तिको मनोनयत दर्ता हुने छैन ।            सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको व्यक्ति, जातीय भेदभाव तथा छुवाछूत, बोक्सी वा बहुविवाहसम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति पनि उम्मेदवार बन्न नपाउने व्यवस्था छ ।            कानुनबमोजिम कालोसूचीमा रहेको व्यक्ति कालोसूचीमा रहेको अवधिभर, कुनै कसूरमा कैदमा बसेको व्यक्ति कैद बसेको अवधिभर, मानसिक सन्तुलन ठीक नभएको र प्रचलित कानूनले अयोग्य भएको व्यक्तिको मनोयन दर्ता नहुने आयोगले स्पष्ट पारेको छ । जिल्ला समन्वय समितिको उपनिर्वाचनको हकमा प्रचलित कानून बमोजिम निलम्बनमा रहेका पदाधिकारी उक्त अवधिभर उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको आयोगले जनाएको छ ।   कुन उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?   निर्वाचन आयोगले उम्मेदवारको मनोयनपत्र दर्ता भएको मितिदेखि निर्वाचन परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले गर्न पाउने खर्चको हद तोकेको छ ।  नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले रु चार लाख ५० हजार, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले रु तीन लाख ५० हजार, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारले रु ५० हजारसम्म खर्च गर्न सक्नेछ ।   महानगरपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले रु तीन लाख, नगरपालिका वडाध्यक्ष पदका उम्मेदवारले रु दुई लाख र गाउँपालिकाका वडाध्यक्षले रु एक लाख ५० हजार खर्च गर्न सक्नेछ । उपनिर्वाचनका लागि आयोगमा २५ राजनीतिक दल दर्ता भएका छन् ।

काठमाडौं:    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा इमान्दारी पूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।   ‘राष्ट्रिय कर दिवस, २०८१’ का अवसरमा आज यहाँ  आयोजित कार्यक्रममा उहाँले आन्तरिक राजस्व विभाग र मातहत कार्यालयमा कार्यरत कर्मचारीले कार्य सम्पादन कमजोर बनाउनु हुँदैन भन्नुभयो  ।         उहाँले भन्नुभयो, “विभाग र मातहतका कार्यालयको कार्यसम्पादन सूचक सन्तोषजनक छैनन् । गत आर्थिक वर्षको तुलनामा अहिले प्रगति कमजोर देखिएको छ । तोकिएको कार्य सम्पादनमा थप गम्भीर भएर लाग्नुहोस् ।”   असामान्य अवस्थामा सामान्य तरिकाको काम गराइले लक्षित राजस्व सङ्कलन हुन नसक्ने जनाउनुहुँदै अर्थमन्त्री पौडेलले कर प्रशासनलाई आधुनिकीकरण गर्ने, लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, करको दायरा विस्तार गर्ने, कर प्रशासनसँग जोडिएका काममा समय र लागत घटाउने गरी काम गर्नुपर्ने बताउनुभयो ।  अनिवार्य प्रकृतिका दायित्व बढ्दै गएको, सार्वजनिक ऋणको आकार ठूलो हुँदै गएको र साँवा ब्याज भुक्तानीमा ठूलो रकम खर्च भइरहेको अवस्थामा आन्तरिक राजश्वको दायरा बढाएर लक्ष्यअनुसार उपलब्धी हासिल गर्नसक्नुपर्ने अर्थमन्त्री पौडेलको भनाइ छ । राज्यलाई कर तिर्नु भनेको हरेक नागरिकको कर्तव्य मात्र नभई गौरवको विषय रहेको उहाँको भनाइ छ । “करदाता र कर प्रशासनबीच सोहार्दपूर्ण वातावरण बनाउन आवश्यक छ । कर प्रशासनले करदातालाई अनुचित ढङ्गले दुःख दिनु हुँदैन”, उहाँले भन्नुभयो । कार्यक्रममा अर्थसचिव डा रामप्रसाद घिमिरेले मुलुकको समग्र अर्थतन्त्र चलायमान बनाउने र सहज लगानीको वातावरण तयार पार्न सके करको दायरा आफै बढ्ने बताउनुभयो ।  राजस्व प्रशासनलाई कसरी सुधार गर्ने भनेर सरकारले काम गरिरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “हाम्रो जिम्मेवारी कर सङ्कलनसँगै आर्थिक क्रियाकलापसमेत चलायमान बनाउनु हो । मुलुकभित्र लगानीको वातावरण बनाउन सके कर आफै बढ्छ ।”        अहिले नेपालको अर्थतन्त्रमा केहि सुस्तता देखिए पनि खराब अवस्थामा भने नरहेको दाबी अर्थसचिव घिमिरेको छ ।  “हामीले अर्थतन्त्र खराब छ भन्ने भाष्य बनाउन हुन्न । हाम्रो रफ्तार पर्याप्त छैन तर, हिनताबोध गर्नुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “तरलता सहज अवस्थामा भएपनि लगानी र आर्थिक क्रियाकलाप विस्तार हुन सकेका छैनन् । निजी क्षेत्रको लगानी विस्तार हुन सकेन भने सरकारको लगानी मात्रले अर्थतन्त्र सुधार हुन सक्दैन ।”  निजी क्षेत्र कसरी चलायमान हुन्छ र लगानी बढ्छ भन्ने कुरामा पर्याप्त छलफल भएको अर्थसचिव घिमिरेले बताउनुभयो । राजस्व सचिव दिनेश कुमार घिमिरेले निजी क्षेत्रका समस्या सुन्न कर प्रशासन तयार रहेको बताउनुभयो । अहिले बजारमा समग्र मागमा सङ्कुचन आएकोमा त्यसलाई सुधार गर्ने प्रतिद्धता उहाँले जनाउनुभयो । त्यस्तै, राजस्व क्षेत्र सुधारका लागि नीतिगत र संरचनागत सुधारका लागि काम गर्ने राजस्व सचिव घिमिरेको भनाई छ । व्यक्तिगत आयकरतर्फ गत आर्थिक वर्ष सबैभन्दा बढी कर तिरेका व्यवसायी राजबहादुर शाहले राजनीतिक अस्थिरताका कारण मुलुकमा लगानीका लागि उचित वातावरण तयार हुन नसकेको बताउनुभयो । हरेक वर्ष देशभित्र नयाँ उद्योग खुल्नु पर्नेमा पछिल्ला वर्षहरुमा क्रमशः उद्योगहरु बन्द हुँदै गएको पनि उहाँको भनाइ छ ।

म्याग्दी:    अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरिएको छ ।  अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यू कान्छी बाराही युवा क्लबका नौ जना र वडा नम्बर–४ गाडपारको जनगारण युवा क्लबका १२ जनाको टोलीले आधार शिविर र नारच्याङको हुमखोलादेखि त्यहाँसम्म पुग्ने पदमार्गमा पर्यटकले फालेको फोहर व्यवस्थापन गरेका हुन् ।  कुहिने फोहरलाई खाडल खनेर गाड्ने र नकुहिने फोहरलाई सङ्कलन गरी केही तल ल्याएर व्यवस्थापन गरिएको कार्यक्रमको अगुवाइ गर्नुभएका एसई प्रोडक्सनका सञ्चालक सुरेन गुरुङले जानकारी दिनुभयो ।  गत कात्तिक २७ गते आधार शिविर पुगेको टोलीले सङ्कलन गरेर ल्याएको तीन बोरा सिसाजन्य फोहर शुक्रबार गाउँपालिकामा बुझाएको थियो । मौरिस हर्जोग पदमार्गको हुमखोला, फुतफुते झरना र आधार शिविरमा जानकारी दिने सूचना बोर्ड राखिएको छ । सरसफाइ र सूचना बोर्ड राख्न अन्नपूर्ण गाउँपालिका–७ घराम्दी घर भई हाल बेलायतमा रहनुभएका धनकुमार पाइजाले रु एक लाखभन्दा बढी सहयोग गर्नुभएको छ ।  “पदमार्ग र आधार शिविरमा प्लास्टिक, कागज, कपडा, स्टिल र सिसाले फोहर भएको थियो”, उहाँले भन्नुभयो, “यहाँको सुन्दरतालाई असर पर्न नदिन कुहिने फोहरलाई खाडलमा गाड्ने र नकुहिनेलाई बोकेर तल झारेका छौँ ।” रेखा मेमोरियल ट्रष्टको सहयोगमा फुतफुते झरना र आधार शिविरमा दुई थान डस्टबिन पनि राखिएको गुरुङले जानकारी दिनुभयो ।  यसअघि पाइजाको सहयोगमा घराम्दीको पेरीभारानी युवा क्लबको १९ जनाको टोलीले गत असोजको तेस्रो साता र अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडासदस्य श्याम पुर्जाको अगुवाइमा कात्तिक पहिलो हप्ता सरसफाइ गरिएको थियो ।  अष्टे«लियामा रहेकी रघुगङ्गा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाको अगुवाइमा हालै फुतफुते झरना नजिकैको आश्रयस्थलमा सार्वजनिक शौचालय निर्माण भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।  अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार यस शरदयाममा करिब पाँच हजार जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका छन् ।  मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । तीन दिनको छोटो अवधिमा साहासिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको हो ।  होटल तथा लजको सुविधा नभएको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आरोहण शिविरमा जानेहरुले खाना, खाजा, भाँडाकुँडा, ग्यास, लत्ताकपडाको आफैँ जोहो गर्नुपर्छ ।

नवलपरासी:    कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।  बुलिङटार गाउँपालिका–२ भाङबारीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापाको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।   कालीगण्डकी कोरिडोरअन्तर्गत बुलिङटारबाट गैँडाकोटतर्फ जाँदै गरेको ना२७प २४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका थापाको मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक जेशी शाहले बताउनुभयो ।   घटनाबारे अनुसन्धान भइरहेको उहाँको भनाइ छ । 

हुम्ला:    हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ ।  चिसो बढेको र हिउँदको समयमा आउजाउ गर्न कठीन हुने भएकाले उत्तरी नाम्खा गाउँपालिका–६ सुनखानी लिमीस्थित प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् ।      कात्तिक पहिलो हप्तादेखि लिमीमा चिसो अत्यधिक बढ्नुका साथै हिउँद यामका महिनामा खाद्यान्नको समेत समस्या हुने हुँदा बर्सेनि लिमी प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण हुने गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताउनुभयो ।            सदरमुकाम सिमकोटबाट ५४ कोस दूरीमा रहेको उक्त प्रहरी चौकीमा जाडोका कारण सुरक्षाकर्मी बस्न कठिन हुने भएकाले जिल्ला प्रहरी कार्यालय हुम्लामा बर्सेनि स्थानान्तरण गर्नुपर्ने प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । यो वर्ष गत जेठमा लिमी पुगेका प्रहरी हाल सिमकोट झरेका छन् ।      गत वर्षको कात्तिक १४ गते सिमकोट झरे पनि यो वर्ष कात्तिक २१ गते सदरमुकाम झरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।  नाम्खा गाउँपालिका–६ लिमीमा रहेका तीन गाउँ तिल, हल्जी र जाँगको सुरक्षा र लिमीमा रहेका गाउँसँगै लाप्चा नाकाबाट हुने आपराधिक गतिविधि रोक्न प्रहरी चौकीको स्थापना गरिएको हो ।  उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक चोकबहादुर खत्री केसीको नेतृत्वमा खटिँदै आएको सुरक्षाकर्मीको टोली सिमकोट आइपुगेको प्रहरीले जनाएको छ । 

पोखरा:     गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर आज श्रद्धाञ्जली व्यक्त गरिएको छ ।       गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले पोखराको नदीपुरस्थित प्रदेशसभा प्राङ्गणमा गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो । आज बिहान ७:३० बजेदेखि ९ बजेसम्म श्रद्धाञ्जलीका लागि गौचनको पार्थिव शरीर प्रदेशसभाको प्राङ्गणमा राखिएको थियो ।       त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको झण्डा ओढाउनुभयो । थकाली सेवा समितिले आफ्नो परम्पराअनुसार श्रद्धाञ्जली व्यक्त गरेको थियो ।      गौचनप्रति श्रद्धाञ्जलीका लागि गण्डकी प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, थकाली समुदायका अगुवा, आफन्तजन र शुभेच्छुकहरुको उपस्थिति थियो ।      मुस्ताङको कोबाङमा वि.सं २०१८ असार १८ गते जन्मिनुभएका गौचनको परिवार हाल म्याग्दीमा बसोबास गर्दै आएको छ । गौचनको गत कात्तिक २८ गते राति काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो ।         उहाँ नेपाली कांग्रेसका तर्फबाट विसं २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित हुनुभएको थियो । उहाँ प्रदेशसभा अर्थ तथा विकास समितिको सदस्य हुनुहुन्थ्यो ।       गौचन राजनीतिसँगै विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो । गौचनको म्याग्दीमा लगेर दाहसंस्कार गरिने परिवारजनले जनाएको छ । गौचनका एक छोरा र एक छोरी हुनुहुन्छ ।   तस्बिर: बि.बि रोका मगर                    

तनहुँ:  निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ ।  व्यास नगरपालिका ४ र ५ जोड्ने मादी नदीमा निर्माणलाई तीव्रता दिइएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले जानकारी दिएको छ ।       आयोजनाका पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार उक्त पुलको छ वटा ‘स्पान’ हुनेछ । तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीलज्ञे सन् २०२२ अगष्ट ११ मा रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । उक्त पुलको ठेक्का जेडआइष्ट अन्नक जेभीले पाएको छ । पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।      निर्माण कम्पनीका प्रतिनिधि दिनेश श्रेष्ठले अहिलेकै गतिमा काम अगाडि बढे समयभन्दा अगाडि नै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । पुल निर्माणका लागि राति र दिउँसो दुई ‘सिफ्ट’मा काम भइरहेको छ ।  मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । ठूला पुलमध्ये दमौलीको मादी नदी, बुल्दी खोला, बन्दीपुरको नाला र आँबुखैरेनीको खानी खोलामा पुल निर्माण जारी छ ।  पूर्वी खण्डअन्तर्गत सडकको काम भने ६८ प्रतिशत सकिएको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।  विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

काठमाडौं:    नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।       युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ८७ र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।       अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक एक रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।  जापानी येन १० को खरिददर आठ रुपैयाँ ६७ पैसा र बिक्रीदर आठ रुपैयाँ ७१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।       केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा र बिक्रीदर तीन रुपैयाँ ८८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ २७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३० पैसा र बिक्रीदर १२ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ  ११ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा तोकिएको छ ।       राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ०६ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।  राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

हुम्ला:    हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाबाट २० दिनकी एक सुत्केरीको उद्धार गरिएको छ ।  शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उहाँको उद्धार गरिएको हो ।      अदानचुली–५ करगै गाउँकी २० वर्षीया झुपा छत्याललाई अचानक बिहीबार बेहोस भएपछि उपचारका लागि श्रीनगर स्वास्थ्य चौकी पुर्याएको र उपचार सम्भव हुन नसकेपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर प्रतीक्षा भारतीले बताउनुभयो ।       गाउँमै रहेको स्वास्थ्यचौकीमा सुत्केरी हुनुभएकी छत्याललाई अचानक रक्तस्राव भएपछि पालिका केन्द्र श्रीनगर स्वास्थ्यचौकीमा पुर्‍याएको र उपचार सम्भव नभएपछि सम्बन्धित निकायमा खबर गरेर थप उपचारका लागि कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत अस्पतालमा उद्धार गरिएको प्रमुख डाक्टर भारतीले बताउनुभयो ।       राष्ट्रपति महिला उत्थान कार्यक्रमले हुम्लासहित कर्णाली प्रदेशका दुर्गम जिल्लाका गर्भवती, सुत्केरी व्यथामा समस्याग्रस्त महिलाको उद्धार गर्दै आएको छ ।