काठमाडौं: संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मङ्गलबार दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । दक्षिण कोरियाका विदेशमन्त्री चो ताय‐युलसँग भएको भेटमा नेपाल– कोरिया सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोबारे छलफल भएको परराष्ट्रमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध पारस्पारिक सम्मान र समझदारीमा आधारित रहेको तथा त्यसलाई आगामी दिनमा थप प्रगाढ बनाउने विषयमा पनि कुराकानी भएको थियो । त्यसैगरी उहाँहरूबीच यस वर्ष दुवै देशले मनाइरहेको नेपाल– कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवका बारेमा पनि कुराकानी भएको थियो । नेपाल र कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । परराष्ट्रमन्त्री डा देउवाले कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्तीका अवसरमा उच्चस्तरीय भ्रमणबाट दुई देशको सम्बन्ध थप बलियो र विस्तारित हुने भन्दै विदेशमन्त्रीमार्फत कोरियाली राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आमन्त्रण पनि गर्नुभयो । भेटका क्रममा पछिल्लो समय रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपालीलाई दिइरहेको रोजगारी एवं नेपाली विद्यार्थी र राष्ट्रसेवकहरूलाई दक्षिण कोरिया सरकारले प्रदान गरिरहेको छात्रवृत्तिका लागि परराष्ट्रमन्त्रीले सरकारका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । साथै विगत लामो समयदेखि नेपालको सामाजिक, आर्थिकलगायत क्षेत्रमा दक्षिण कोरिया सरकारले पुर्याउँदै आएको सहयोगको पनि उहाँले सराहना गर्नुभएको थियो । मन्त्री डा राणाले कोरियालाई नेपालमा थप लगानीका लागि पनि आग्रह गर्नुभएको थियो । नेपालमा प्रत्यक्ष लगानी गर्ने राष्ट्रमध्येको दक्षिण कोरिया प्रमुख देश हो । अघिल्लो आर्थिक वर्षमा नेपालमा दक्षिण कोरियाको करिब रु १२ अर्ब लगानी आएको थियो । नेपालले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्, सुरक्षा परिषद्मा उम्मेदवारी दिएकाले कोरियाली सहयोगका लागि परराष्ट्रमन्त्रीले आग्रह गर्नुभएको थियो । त्यसैगरी, मन्त्री देउवाले मङ्गलबार नै फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मानालोसँग पनि भेटवार्ता गर्नुभयो । त्यस क्रममा उहाँहरूबीच आपसी हित र साझा चासोका साथै भावी सहकार्यबारेमा कुराकानी भएको थियो । साथै परराष्ट्रमन्त्रीले संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्, र सुरक्षा परिषद्मा नेपाललाई सघाउन फिलिपिन्ससँग अनुरोध गर्नुभयो ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तलनामा बुधबार युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घटेको छ । अघिल्लो दिन युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेकामा आज खदिर दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा कायम भएको छ । साथै मङ्गलबार मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८८ पैसा कायम भएकामा आजका लागि भने खरिददर ३२ रुपैयाँ १६ पैसा र बिक्री दर ३२ रुपैयाँ ३० पैसा निर्धारण भएको छ । केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ १८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिद दर एक सय ४८ रुपैयाँ ६१ पैसा र बिक्री दर एक सय ४९ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर एक सय ७८ रुपैयाँ ५२ पैसा र बिक्री दर एक सय ७९ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर एक सय ५७ रुपैयाँ ४९ पैसा र बिक्री दर एक सय ५८ रुपैयाँ १९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ४४ पैसा र बिक्री दर ९१ रुपैयाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ८८ पैसा र बिक्री दर ९९ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय तीन रुपैयाँ ६६ पैसा र बिक्री दर एक सय चार रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिद दर नौ रुपैयाँ २८ पैसा र बिक्री दर नौ रुपैयाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९९ पैसा र बिक्री दर १९ रुपैयाँ ०८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ६१ पैसा र बिक्री दर ३५ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ६५ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ०७ पैसा र बिक्री दर चार रुपैयाँ ०९ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर १० रुपैयाँ र बिक्री दर १० रुपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रुपैयाँ १६ पैसा र बिक्री दर १३ रुपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ९३ पैसा र बिक्री दर २० रुपैयाँ ०२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिद दर १७ रुपैयाँ १६ पैसा र बिक्री दर १७ रुपैयाँ २३ पैसा, कुवेती दिनार एकको खरिद दर चार सय ३७ रुपैयाँ ६७ पैसा र बिक्री दर चार सय ३९ रुपैयाँ ६३ पैसा, बहराइन दिनार एकको खरिद दर तीन सय ५४ रुपैयाँ ३९ पैसा र बिक्री दर तीन सय ५५ रुपैयाँ ९९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र बिक्री दर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौं: मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले देशका अधिकांश भागमा बदली भएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छभने कोशी, मधेश,बाग्मती, गण्डकी ,लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ । यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बाग्मती , गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा हुरीबतासको चल्ने सम्भावना छ । आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी , बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रका सर्वसाधारणलाई सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।
काठमाडौं: बडा दसैँ सुरु हुन ठ्याक्कै एक साता बाँकी छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दसैँमा मात्रै १५ लाखदेखि १८ लाख मानिसले काठमाडौँ छाड्ने अनुमान गरेको छ । यसका लागि पाँच हजारदेखि छ हजार सार्वजनिक सवारीसाधन तयारी अवस्थामा राखिएको छ । सरकारले दसैँमा काठमाडौँ छाड्नेका लागि लक्षितगरी यही असोज १२ गते शनिबारदेखि अग्रिम टिकट काट्न पाइने निर्णय गरिसकेको छ । दसैँका अवसरमा सार्वजनिक सवारीसाधनबाहेक पनि दुईपाङ्ग्रे र चारपाङ्ग्रे निजी सवारीमा काठमाडौँ छाड्ने र भित्रनेको सङ्ख्या पनि लाखौँमा हुने गरेको छ । तर के लाखौँ मानिस सवार हुने हजारौँ सवारीसाधनलाई थेग्नेगरी सडक संरचना निर्माण गरिएको छ त ? जानकारहरु सडकको अवस्था राम्र्रो नभएको बताउँछन् । कतिपय स्थानमा सडक निर्माण भइरहेको छ भने कतिपय स्थानमा मर्मतसम्भारको काम चलिरहेको छ । तर दसैँसम्म ती काम पूरा हुनेमा उनीहरुको शङ्का छ । विशेषगरी काठमाडौँ भित्रने प्रमुख नाका नागढुङ्गादेखि धादिङतर्फको सडकमा अहिले धमाधम स्तरोन्नति भइरहेको छ । सडक बिग्रेको अवस्थामा छ । अहिले पनि सो खण्डमा स्तरोन्नति धमाधम भइरहेको छ । तर पनि दसैँसम्म पूरा हुने अवस्था भने देखिन्न । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक मर्मतलाई तीव्रता दिँदै घटस्थापनाअघि नै खाल्डाखुल्डी पुर्न र सडक सुरक्षा बढाउन मातहतका निकायलाई निर्देशन दिइसक्नुभएको छ । मन्त्री दाहालकै निर्देशनअनुसार अहिले धामाधम सडक मर्मतको काम अघि बढेको र काम सम्पन्न हुने सडक विभागले जिकिर गरेको छ । विभागका प्रवक्ता उमेशविन्दु श्रेष्ठले सडक विभाग मातहतपर्ने भत्किएका तथा खाल्डाखुल्डी भएका ठाउँमा मर्मत भइरहेको बताउनुभयो । “खानेपानी तथा विद्युत्का कारण पनि कतिपय स्थानमा सडक भत्काउँदा खाल्डाखुल्डी छन्, त्यस्ता स्थानमा मर्मतको जिम्मेवारी उहाँहरुकै हो”, उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाको हकमा लक्ष्यभन्दा बढी प्रगति हासिल भइसकेको छ भने बाँकी काम दसैँसम्म सम्पन्न भइसक्नेगरी काम गरिरहेका छौँ ।” भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले चाडपर्वको छेकोमा यात्राका अवधिमा हुनसक्ने सम्भावित दुर्घटना रोक्न र यात्रुलाई आवतजावतमा सहज व्यवस्था गर्नका लागि सडक सुधारको योजना प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो । “मन्त्री दाहालको संयोजकत्वमा सातै प्रदेशका सरकारका सम्बन्धित मन्त्रीसहितको समिति बनेको छ, समितिको छलफल पनि भइरहेको छ”, उहाँले भन्नुभयो, “सरकार सडक सुरक्षालाई लिएर गम्भीरताका साथ काम गरिरहेको छ ।” उहाँका अनुसार दसैँसम्म तीन हजार आठ सय ५६ दशमलव ४१ किलोमिटर सडकलाई खाल्डोसहित बनाउने लक्ष्य लिइएको छ । जसमध्ये सोमबारसम्म सात सय ७२ दशमलव ८५ किलोमिटर सडकमा काम भइसकेको छ । ढकालले सडक सुरक्षाको नीति कार्यान्वयन गर्न सम्बन्धित सरोकारवालासँग छलफल भइरहेको जानकारी दिनुभयो । “यात्रुको सुरक्षित र सहज यात्राका लागि यातायात व्यवसायीहरु, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, स्थानीय तह र नेपाल प्रहरीलगायतसँग छलफल भइसकेको छ”, उहाँले भन्नुभयो, “चाडपर्व लक्षित सडक सुरक्षा व्यवस्थापन गर्न अनुगमन कार्य चुस्त बनाउने हाम्रो योजना छ ।” चाडपर्वका बेलामा आवतजावत बढी हुने, गाडीको गति असीमित हुनसक्ने र दुर्घटनाको जोखिम बढ्नसक्ने उल्लेख गर्दै ढकालले उक्त समयमा निगरानी र अनुगमनलाई थप प्रभावकारी बनाइने बताउनुभयो । “सडक सुरक्षामा मानवीय पक्ष पनि जिम्मेवार हुन्छ । मानिसले आफ्नो दायित्व पूरा गरेमात्रै दुर्घटना न्यूनीकरण गर्न सकिन्छ, त्यसैले नागरिकका तहबाट पनि सहयोगको अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो । सरकारले चालु आर्थिक वर्षका लागि भत्किएका तथा बिग्रिएका सडक मर्मतसम्भारका लागि रु छ अर्ब बजेट विनियोजन गरेको जनाइएको छ । सडक विभागका अनुसार विभाग मातहत मुलुकभर १८ हजार ९७ किलोमिटर सडक रहेको छ । जसमध्ये सात हजार २६ किलोमिटर सडक मर्मतसम्भार हुने विभागका सूचना अधिकृत अमित शर्मा भुसालले जानकारी दिनुभयो । पटके मर्मतसम्भार हुने (तत्काल मर्मत गर्ने) सडक पाँच हजार सात सय ४६ किलोमिटर रहेको र आवधिक र पुनर्वासबाहेक मर्मत गर्नुपर्ने सडक छ हजार किलोमिटर रहेको उहाँको भनाइ छ । “दसैँअघि तीन हजार आठ सय ५६ किमी सडकलाई खल्डारहित बनाउने योजना छ । जसमध्ये सोमबारसम्म सात सय ७२ किमीमा काम भइसकेको छ ।” उहाँका अनुसार सडकमा भएका खाल्डाखुल्डी पुर्नका लागि एक सय ११ वटा ठेक्का लगाइएकामा हालसम्म जम्मा चार वटा ठेक्का सम्पन्न भइसकेका छन् । उहाँका अनुसार काठमाडौँ भित्रने प्रमुख मार्गमा नागढुङ्गा सुरुङमार्ग निर्माणका कारण भत्किएका सडक निर्माणको काम भने दसैँ अगाडि पूरा हुने अवस्था छैन । “नागढुङ्गा सडकखण्ड ममर्त नभइ स्तरोन्नति गरिने भएकाले दसैँ अगाडि यो आयोजना पूरा हुने अवस्था छैन”, उहाँले भन्नुभयो, “मुग्लिङ–पोखरा सडकखण्डको पनि काम सकिने अवस्था नभएकाले यात्रामा केही असहजता भने हुने अनुमान छ ।” पूर्वाधारविद् राजेन्द्रराज शर्माले सडक निर्माणमा गुणस्तरमा ध्यान नदिने, क्षमताभन्दा बढी लोडको सवारीसाधन गुडाउने तथा अन्तरसरकारी निकायबीच प्रभावकारी समन्वयको अभावमा बर्सेनि यात्रुले दुःख पाउने गरेको बताउनुभयो । “दिगो सडक निर्माणका लागि गुणस्तरमा विशेष ध्यान दिनुपर्छ, त्यसबाहेक भौगोलिक अवस्थाबारे पनि राम्रो अध्ययन तथा अनुसन्धान आवश्यक हुन्छ”, उहाँले भन्नुभयो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले दसैँमा आवतजावत गर्नेको सङ्ख्या बढ्ने हुँदा सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै व्यवस्थापन प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको बताउनुभयो । “सडक राम्रो नहुनु, सवारीसाधनको चाप बढी हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारगरी यात्रु ओसारपसार गर्नु, बिग्रिएका सवारीसाधन सञ्चालन गर्नुलगायतका कारण दसैँमा दुर्घटनाको जोखिम बढी हुने गरेको छ”, उहाँले भन्नुभयो, “दुर्घटना रोक्नका उपत्यका तीनै जिल्लाको सहकार्यमा एकीकृत सुरक्षा योजना तर्जुमा भइरहेको छ । दसैँमा सजकताका साथ जाँचमा कडाइ गर्ने योजना छ ।”
काठमाडौं: यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यो सङ्ख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष १३ लाखको सङ्ख्यामा सर्वसाधराणहरू उपत्यकाबाट बाहिरिएका थिए । प्रवक्ता खड्काले भन्नुभयो, “यो वर्षको दशैंमा वर्षा भएन भने गत वर्षको तुलनामा पाँच लाख बढी सर्वसाधारणहरूले उपत्यका छाड्ने अनुमान गरिएको छ ।” चाडपर्वका बेलामा आवतजावत गर्नेको चाप बढ्दा दुर्घटना पनि बढ्नसक्ने भएकाले सो विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको उहाँले बताउनुभयो । प्रवक्ता खड्काले भन्नुभयो, “सडक राम्रो नहुनु, सावारी साधनको बढी चाप हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारहतार गरेर यात्रु ओसारपोसार गर्नु, बिग्रिएका सवारी साधनहरू पनि सञ्चालन गर्नुलगायतका कारण चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ । त्यसलाई न्यूनीकरण गर्ने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ ।” खड्काकाअनुसार सम्भावित दुर्घटनाका विषयमा उपत्यकाका तीनै जिल्लाको सहकार्यमा एकीकृत सुरक्षा योजना तर्जुमा भइरहेको छ । दशैंमा सजकतापूर्वक जाँच गरेर कडाइका साथ नियम पालना गराउन आफूहरू लागिपर्ने उहाँले बताउनुभयो । प्रवक्ता खड्काले चाडवाडका बेलामा सवारी चालक एवं सहचालकलाई अझ बढी होसीयारी पुर्याउन र यात्रुलाई पनि सजगरहन आग्रहसमेत गर्नुभयो ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिविवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको छ । त्रिविवि परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राडा खड्क केसीको अध्यक्षतामा सोमबार भएको बैठककाले सो निर्णय गरेको हो । त्रिविविका शिक्षाध्यक्ष केसी प्रविधिको भर पर्दा विद्यार्थीमा पठन संस्कृति कमजोर हुने तथा चोर्ने प्रवृत्ति देखिएकाले परीक्षामा त्यस्ता प्रविधिको प्रयोगमा निरुत्साहित गर्ने उद्देश्यका साथ विद्यार्थीलाई सूचित गरिएको बताउनुहुन्छ । एआईका कारण विद्यार्थीको मौलिकता र सिर्जनाशीलता कमजोर हुँदै गएको तथा पढ्ने संस्कृतिलाई निरुत्साहित गरेको त्रिविको बुझाइ छ । “विद्यार्थीमा पढ्ने संस्कृति कमजोर भयो, परीक्षामा पढ्ने नभई चोर्ने प्रवृत्ति बढेको, पठनपाठन गर्ने विषयलाई प्रोत्साहित तथा प्रविधिको दुरुपयोगलाई दुरुत्साहित गर्ने उद्देश्यले विद्यार्थीलाई सचेत गराउने ढङ्गबाट सूचना जारी गरिएको हो”, उहाँले भन्नुभयो । त्रिविविका परीक्षा मोबाइल, स्मार्टवाचलगायत विद्युतीय सामग्रीको प्रयोगमा पूर्णतः रोक लगाइएको भए पनि कतिपय परीक्षा केन्द्रमा परीक्षार्थीले प्रविधिको प्रयोग गरी चोरी गर्ने गरेको सूचना पाइएकाले विद्यार्थीलाई सचेत गराइएको शिक्षाध्यक्ष केसीले राससलाई बताउनुभयो । यसैबीच, विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र, शिक्षा, व्यवस्थापन, कानुन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका विद्यार्थीका हकमा वार्षिक प्रणालीअन्तर्गत २०५८ देखि र सेमेस्टर प्रणालीअन्तर्गत २०६९ देखिका समयसीमा पार गरेका परीक्षार्थीलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिइएको जनाएको छ ।
काठमाडौं: संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिवादी समूह हमासको नियन्त्रणमा रहेका विपीन जोशीको सकुशल रिहाइका लागि प्रयास गर्न विश्व समुदायसँग आग्रह गर्नुभएको छ । सोमबार भएको असंलग्न आन्दोलन ९नाम०को मन्त्रिस्तरीय बैठकमा उहाँले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको हो । नेपाल विपीन जोशीको रिहाइको प्रतिक्षामा रहेको बताउँदै उहाँले त्यसका लागि सहयोग गर्न विश्व समुदायसँग आग्रह गर्नुभयो । गत अक्टोबरमा ७ मा हमास समूहद्वारा इजरायलमा भएको आतङ्ककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो । आक्रमणपछि हमासले जोशीलाई नियन्त्रणमा लिएको थियो । सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको परराष्ट्रमन्त्रीले बताउनुभयो । विश्वशान्ति स्थापनाका लागि सामूहिक प्रयास आवश्यक भएको बताउँदै उहाँले भन्नुभयो “दोश्रो विश्वयुद्धपछि विश्वका धेरै स्थानमा द्वन्द्व बढेको छ । हामी इतिहासको जटिल मोडमा उभिएका छौँ, सशस्त्र द्वन्द्वबाट आफ्ना नागरिकहरुको रक्षाको लागि उच्च प्राथमिकताका साथ काम गर्नुपरेको छ । जेनेभा अभिसन्धिमा हस्ताक्षर भएको ७५ औँ वर्षमा हामी छौँ तर पनि नागरिकहरुको रक्षाका लागि यसले आत्मसात् गरेका सिद्धान्तहरुलाई बेवास्ता गरिरहेका छौँ । यस्तो अवस्थाको चाँडै अन्त्य हुनुपर्छ र हामीहरु सबै शान्तिपूर्ण सहअस्तित्वको सम्मानका साथ अघि बढ्नुपर्छ ।” परराष्ट्रमन्त्रीले गाजा, रुस र युक्रेनमा जारी द्वन्द्व तत्काल रोकेर समस्याको शान्तिपूर्ण निकास खोज्न आग्रह गर्नुभयो । उहाँले गाजामा नागरिक, पत्रकार, राष्ट्रसङ्घीय कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको हत्या, पूर्वाधारहरुमाथिको आक्रमणको निन्दा गर्नुभयो । मन्त्री राणाले इजरायल र प्यालेष्टिन, रुस युक्रेन होस् या अन्य यस्ता प्रकारका द्वन्द्वहरुको समाधान रचनात्मक तरिकाबाट खोज्न र हिंसा अन्त्यका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल असंलग्न आन्दोलनको प्रतिबद्ध सदस्य भएकाले सबै देशसँग शान्ति, मैत्री र सहअस्तित्वका आधारमा सम्बन्ध विस्तार गर्न चाहन्छ भन्नुभयो ।
बैतडी: बैतडीको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त भट्टले सञ्चालन गर्नुभएको महारुद्र फेन्सी पसल एन्ड आटा चक्कीमा आगलागी हुँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ । सोमबार राति ११ः२० बजेको समयमा भएको आगलागीबाट खाद्यान्न, फेन्सी, ‘डेकोरेसन’, खुद्रालगायत सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धानमा विद्युत् ‘सर्ट’ भएर आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।
महोत्तरी: विगत एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय तथा क्याम्पस बन्द गरिएका छन् । बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि जिल्लाका चार स्थानीय तहहरुले आजदेखि चार दिनका लागि विद्यालय बन्द गरेका छन् । अन्य स्थानीय तहले पनि बन्द गर्ने तयारी गरेका छन् । ४० देखि ४४ डिग्रीसम्म तापक्रम पुगेपछि सदरमुकाम जलेश्वर नगरपालिकाले नगरक्षेत्रका सबै २९ वटा सामुदायिक एवं धार्मिक विद्यालयहरु आजदेखि लागू हुनेगरी चार दिनका लागि बिदा दिएको नगर प्रमुख सुरेश साह सोनारले बताउनुभयो । मनरासिस्वा नगरपालिकाले पनि आउँदो शनिबारसम्मका लागि सबै २३ वटा सामुदायिक, धार्मिक तथा मदर्सामा बिदा दिएको नगरप्रमुख मोहन पाण्डेले जानकारी दिनुभयो । महोत्तरी गाउँपालिकाले आजदेखि सबै सामुदायिक विद्यालयहरुमा शनिबारसम्मका लागि बिदा दिएको छ । बर्दिबास नगरपालिकाले गर्मीलाई दृष्टिगत गरी आजदेखि चार दिनका लागि नगरभित्रका विद्यालयहरुमा पठनपाठन बन्द गरेको नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताउनुभयो । जलेश्वरस्थित रामनन्दन विशेश्वर महेन्द्र क्याम्पसमा पनि बिदा दिइएको क्याम्पस प्रमुख अजयकुमार झाले बताउनुभयो । गर्मीकै कारण सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा ज्वरो, रुघाखोकी, झाडापखाला र टाइफाइडजस्ता बिरामीहरुको चाप बढेको छ ।