काठमाडौं:   सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीहरूबीच वार्तापछि ६ बुँदे सहमति भएको छ। बिहीबार अर्थ मन्त्रालयमा सम्पन्न छलफलमा सहमति जुटेसँगै व्यवसायीहरूले जारी आन्दोलन स्थगित गरेका छन्। सुनचाँदी व्यवस...

काठमाडौं:   सर्वोच्च अदालतले एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ ।  सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) ले उक्त निर्णय गरेको हो ।      प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरुको आज बसेको पूर्ण बैठकबाट एकसय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय भएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिनुभयो ।      वरिष्ठ अधिवक्ताको उपाधि पाउने अधिवक्ताहरुमा पूर्वमहान्यायाधिवक्ता डा दीनमणि पोखरेल, नेपाल बारका पूर्वमहासचिव खम्मबहादुर खाती, डा भीमार्जुन आचार्य, बाबुराम दाहाल, ज्योति बानियाँ, पूर्णिमा रिमाल गुरागाईं, शान्तिराम खतिवडा, ललितबहदुर बस्नेत, विष्णुमाया भुसाल, राजुप्रसाद चापागाईं, पद्मबहादुर श्रेष्ठ, रामप्रसाद भण्डारी, राजु खड्का, सरिता शर्मा, राजु खड्कासहित एक सय ५९ हुनुहुन्छ ।

सुनसरी:    कोशी ब्यारेजको ३४ र ३५ नम्बर ढोका छेउमा यात्रुबहक बस नदीमा खसेको छ । घटनामा २० जना यात्रुको उद्धार गरिएको छ । उनीहरुलाई सुनसरीको विभिन्न अस्पतालमा लगिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभएको छ । विराटनगरबाट मधेश प्रदेशतर्फ गइरहेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स बस दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । बसमा कतिजना यात्रु थिए भन्नेसमेत स्पष्ट हुन सकेको छैन् ।

काठमाडौं:    राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार दिन भारी वर्षाको सम्भावना रहेकाले उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लामा यही असोज ११ र १२ गते रात्रिकालीन बस नचालाउन आग्रह गरेको छ ।  जल तथा मौसम विज्ञान विभागले देशभर अतिभारी र भारी वर्षाको पूर्वानुमान गरेको जानकारी दिँदै प्राधिकरणले यस अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरेको हो ।       विभागले कोसी प्रदेशको  झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम, पाँचथर र मोरङ मधेसको सिरहा, सप्तरी र पर्सा तथा बागमतीको मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप जिल्लामा भारी एवं अतिभारी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ ।       यस्तै गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ, लुम्बिनीको रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया, कर्णालीको जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुदूरपश्चिमको डोटी, कैलाली र अछाममा पनि वर्षा हुने अनुमान गरेको छ ।        प्राधिकरणले धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन तथा तराई तथा मधेस क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न अनुरोध गरेको छ । पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन तथा दाउरा निकाल्न, माछा मार्न नदी किनारमा नजान सबैमा अनुरोध गरेको छ ।       मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको बैठकले खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय एवं स्वयंसेवकहरु तयारी अवस्थामा रहन निर्देशन दिएको प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिनुभयो ।  प्राधिकरणले पूर्वतयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही सतर्क रहन तथा विपद्को जोखिममा रहेका नागरिकलाई सम्बन्धित निकायले सुरक्षित आश्रयस्थलमा सार्नसमेत निर्देशन दिएको छ । 

काठमाडौं:   परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू ९एलडिसी० का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गर्नुभएको छ ।  संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहनुभएकी जी‐२० का विदेशमन्त्रीहरूको बुधबार भएको बैठकमा एलडिसीको अध्यक्षका हैसियतले उहाँले अल्पविकसित देशहरुलाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।  पछिल्लो समय विश्वका अतिकम विकसित देशहरु विविध समस्याबाट पिरोलिएका दृष्टान्त प्रस्तुत गर्दै मन्त्री देउवाले कोभिड–१९ महामारी, जलवायु परिवर्तनको असर, भूराजनैतिक तनावका कारण ती देश पीडित भएका बताउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।  “पछिल्लो दुई दशकमा अतिकम विकसित देशहरु चरम गरिबीतर्फ धकेलिएका छन् । एलडिसीहरुमा समावेशी आर्थिक वृद्धि, दिगो विकासका लक्ष्य हासिल गर्न तथा स्वास्थ्य सुरक्षालाई विश्वव्यापी रुपमा प्रवद्र्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन, ‘डिजिटल डिभाइड’कम गर्न र हामीले सामना गरिरहेका बहुआयामिक समस्या घटाउन जि‐२० को सहयोग महत्वपूर्ण हुनेछ”,  परराष्ट्रमन्त्रीलाई उद्धृत गर्दै उहाँको निजी सचिवालयले जनाएको छ ।  जी‐२० को अध्यक्ष  ब्राजिलले सामाजिक समावेशीकरण, गरिबी निवारण र दिगो विकासमा केन्द्रित रहेर बैठकको आयोजना गरेकामा परराष्ट्रमन्त्रीले धन्यवाद ज्ञापन गर्नुभयो । ब्राजिलले भोकमरी र गरिबी घटाउन विश्वव्यापी अभियान सुरु गर्न लागेकामा त्यसको उहाँले स्वागत गर्नुभयो ।  जी ‐२० मा एलडिसीका तर्फबाट प्रतिनिधित्व गर्ने औपचारिक संयन्त्र निर्माणको आग्रह परराष्ट्रमन्त्रीले गर्नुभयो ।   उहाँले हाल एलडिसीमा जलवायु परिवर्तनका  कारण उत्पन्न समस्यालाई कम गर्न जी‐२० कै नेतृत्वमा ‘क्लाइमेट चेञ्ज फण्ड’ स्थापना गर्न, एलडिसीका उत्पादनलाई कोटा निर्धारण गरी भन्सार छुटको व्यवस्थाका साथै ऋण मिनाहाका कार्यक्रम ल्याउन  आग्रह गर्नुभयो । 

पोखरा:    गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।  शिक्षा विकास निर्देशनालय पोखराले आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संसोधन र शैक्षिक तथ्याङ्क सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षालाई जोड गर्नुपर्ने बताएका हुन् । “मन्त्रालयले राखेको अभिभावकमुखी शिक्षा नयाँ कार्यक्रम हो । यसलाई प्रभावकारी बनाउन आवश्यक छ । शैक्षिक क्षेत्रलाई सुदृढिकरण गर्न यस्ता कार्यक्रमले मदत पुग्छ ।”, उनले भने । मन्त्री थापाले तथ्याङ्कको विश्वसनियतामा शंका नआउने गरी यथार्थपरक तथ्याङ्क उपलब्ध गराउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । उनले तीनै तहको सरकार मिलेर नै शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने उल्लेख गरे । घोकन्ते विद्या भन्दा पनि संस्कारमुखी शिक्षा आजको आवश्यकता रहेको भनाई उनको छ । फलस्वरुप मन्त्रालयले यसपालीको बजेटमा समेत व्यवसायिक र नैतिकवान शिक्षालाई जोड दिएको उनले बताए । फ्राइडे फर फ्युचर, सिक्दै कमाउँदै, अभिभावक शिक्षा लगायतका कार्यक्रम महत्वपूर्ण रहेको र यसको प्रभावकारी कार्यान्वयनका लागि मन्त्री थापाले सम्बन्धित सबैलाई निर्देशन दिएका छन् । गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रघुराम विष्टले कक्षा १० का विद्यार्थीको सर्टिफिकेटमा नामथर, जन्ममितिका बारेमा ध्यान दिन आवश्यक रहेको बताए । जसका लागि अभिभावकमुखी शिक्षा प्रभावकारी हुने भनाई उनको छ । सही तथ्याङ्कको आवश्यकतालाई उनले जोड दिएका छन् । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव तोयानाथ लम्सालले प्रदेश स्तरमा शैक्षिक तथ्याङ्कको विश्वसनियता बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी गराए ।  उनले मन्त्रालयले बिग्रदो, हराउँदो संस्कारलाई परिवर्तन गरि समाज र व्यक्तिलाई सुधार गर्न शिक्षाको क्षेत्रमा नयाँ कार्यक्रम ल्याएको उल्लेख गरे ।  मन्त्रालय अन्तर्गत प्रदेशका ११ वटै जिल्लाका विभिन्न कार्यालयहरुलाई प्रभावकारी बनाउन साझेदारी मोडलमा बजेट विनियोजन गरेको जानकारी उनले गराएका छन् । शिक्षा निर्देशनालय पोखराका प्रमुख अम्बिका आचार्यले मुस्कान सहितको गण्डकी प्रदेश बनाउन शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन विविध कार्यक्रमको आयोजना गर्दै आएको उल्लेख गरे । कार्यक्रम असोज १० र ११ गते दुई दिन सम्म चल्ने उनले बताए ।  कार्यक्रममा ११ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुुखहरु र ८५ वटै पालिकाका शिक्षा, युुवा तथा खेलकुद शाखाका प्रमुखहरुको सहभागिता रहेको छ ।  

लमजुङ:   लमजुङको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले चिलेर चारजना विद्यार्थी घाइते भएका छन् ।  आज बिहान विद्यालय जाने क्रममा डमफुहाउस नजिककै अरिङ्गालले टोकेर उनीहरु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।       प्रहरी कार्यालयका प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठका अनुसार बेँसीसहर–५ बाख्रेगजतका १३ वर्षीय रीना गुरुङ, १२ वर्षीय अर्जना तामाङ, १३ वर्षीय सङ्गीता तामाङ र १० वर्षीय करुणा गुरुङ घाइते भएका छन् ।  घरबाट विद्यालय जाँदै गर्दा बाटोमा अचानक आएको अरिङ्गालले उनीहरुको टाउको, छातीलगायत शरीरका विभिन्न भागमा चिलेको उनले बताए ।        घाइते सबैको उद्धार गरी लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । घरबाट विद्यालयसम्म आउँदा जङ्गलको बाटो पर्ने प्रहरीले जनाएको छ ।

तनहुँ:    तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएका घरलाई क्षतिपूर्ति वितरण गरिने भएको छ ।       निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको चरण–१ अन्तर्गत संरचना निर्माणका लागि विस्फोट गर्दा सो आसपासका घर तथा भौतिक संरचनामा पुगेको क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्ति वितरण गर्न लागिएको हो ।       क्षतिको असर र मूल्याङ्कन गरी क्षतिपूर्ति रकम सिफारिस गर्न तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको संयोजकत्वमा गठित उपसमितिको बैठक सम्पन्न भएसँगै सङ्कलन भएका विवरणअनुसार मूल्याङ्कन थालिएको जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।       बैठकमा निर्माणका कारण ऋषिङ गाउँपालिका–१ का ९८ परिवार र व्यास नगरपालिका–५ बेतेनीका २० गरी ११८ परिवारका घर तथा संरचनाको मूल्याङ्कन गरी तयार गरिएको प्रतिवेदनमाथि छलफल गरिएको भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “मूल्याङ्कन प्रतिवेदनलाई अन्तिम रुप दिई क्षतिपूर्ति निर्धारण समितिसमक्ष पेस गर्ने निर्णय भएको छ ।”      यसैबीच, आयोजनाको बाँध निर्माणस्थल भन्दा माथिल्लो तटीय क्षेत्रमा पर्ने ऋषिङ–१ लोक्माका बासिन्दासँग परामर्श बैठक गरिएको छ । लोक्मावासीलाई दमौली क्षेत्रमा आवतजावत गर्न सहजीकरण गर्ने उद्देश्यले गरिएको परामर्श बैठकमा बाँध निर्माणस्थल क्षेत्रबाट सुरक्षित रुपमा आवतजावत गर्न विभिन्न विकल्पमा छलफल गरिएको भण्डारीले जानकारी दिनुभयो ।       उहाँले भन्नुभयो, “दैनिक रुपमा आवतजावतका लागि स्थानीयवासीले बाँध निर्माणस्थलको बायाँतर्फ व्यवस्था गरिएको सटल ट्रकको प्रयोग गर्ने सहमति भएको छ । निर्माण व्यवसायी सोङ्दा कालिकाले सटल ट्रकको व्यवस्था गरेर सुरक्षा मापदण्डहरु पूर्ण रुपमा पालना गरी स्थानीयलाई समूहगत रुपमा हरेक दिन बिहान ८ बजे, ११ बजे, दिउँसो १ः३० बजे, ३ बजे, साँझ ५ बजे र साँझ ७ बजे आवतजावत गराउने सहमति भएको छ ।”

चितवन:    राष्ट्रपति रामचन्द्र पौडेलले गरिब, असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ अस्पताल तथा स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने बताउनुभएको छ ।      बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २५औँ वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले गरिब तथा असहाय वर्गलाई प्राथकितामा राखेर सेवा उपलब्ध गराउन अस्पताल तथा स्वास्थर्कीसँग अनुरोध गर्नुभयो ।        “स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको  विदितै छ । यसलाई कार्यान्वयन गर्न गरिब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व हो”, राष्ट्रपति पौडेलले भन्नुभयो,  “दक्ष जनशक्ति, अत्याधुनिक उपकरण, सहज एवं प्रभावकारी नवीनतम् प्रविधिका माध्यमबाट बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ सरकार र निजी क्षेत्रले ध्यान दिने मैले विश्वास लिएको छु ।”        आवश्यक पूर्वाधार र अत्याधुनिक प्रविधिसँगै चितवन स्वास्थ्य सेवाको केन्द्र (हब)का रुपमा विकास हुन लागेकामा खुसी व्यक्त गर्दै उहाँले अब उपचारका लागि यसअघिजस्तो राजधानी काठमाडौँ नै धाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।        “क्यान्सर रोगको उपचार, रोकथाम तथा नियन्त्रण र अध्ययन अनुसन्धानमा आवश्यक जनशक्ति उत्पादन गर्न तथा अस्पतालको सेवालाई चुस्तदुरुस्त र अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न नेपाल सरकारलाई विशेष ध्यान पु¥याउनु आग्रह गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।         क्यान्सर रोगबाट ग्रसित प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले विदेशमा गएर उपचार गर्नुपरेकाले  स्वदेशमै यससम्बन्धी रोगको उपचार गर्ने सुविधा सम्पन्न क्यान्सर अस्पतालको परिकल्पना गर्नुभएको स्मरण गर्दै उहाँले २०४९ सालमा तत्कालीन सरकारले लिएको विकेन्द्रीकरणको नीतिलाई कार्यान्वयन गर्ने एक उत्कृष्ट उदाहरणका रुपमा यो अस्पताल निर्माण भएको बताउनुभयो ।        राष्ट्रपति पौडेलले भरतपुरस्तिथ राष्ट्रियस्तरको अस्पताल क्यान्सर रोगका बिरामीको सेवामा मात्र सीमित नभई अध्ययन, अनुसन्धान र प्रशिक्षणका क्षेत्रमा पनि अगाडि बढेकामा खुसी व्यक्त गर्दै क्यान्सरको उपचारमा नयाँ प्रविधि भित्र्याएर विशिष्टता अभिवृद्धि हासिल गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो ।        चीन सरकारको सहयोगमा निर्माण भएको अस्पताल २०५७ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको हो ।  महामानव बिपी कोइरालाको स्मृतिमा  २०४८ सालमा तत्कालीन प्रधानमन्त्री जिरिजाप्रसाद कोइराला र चिनियाँ प्रधानमन्त्री ली फङबीच सम्झौता भई यो अस्पताल स्थापना भएको हो । स्थापनाकालमा  १०० शय्या क्षमतासहितको क्यान्सर अस्पताल अहिले ५०० शय्यामा विस्तार भएको छ ।        सो अस्पतालले गत आव २०८०/८१ मा  छ हजार ७९५ क्यान्सरका बिरामीसहित एक लाख ८८ हजार ५१४ जनाको उपचार गरेको जनाएको छ ।

खोटाङ:    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा ६ वर्षअघि निर्माण सुरु गरिएको ‘ला ज्यालो वाङ थोप’ गुम्बा ६० फिट अग्लो हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ ।  पाँच वर्षभित्र सम्पन्न गर्नेगरी तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७४ माघ १९ गते शिलान्यास गर्नुभएको गुम्बा निर्माणको काम अहिले अलपत्र अवस्थामा छ ।       कोशी प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा निर्माण सुरु गरिएको गुम्बाको काम उपभोक्ता समितिमार्फत थालिएको थियो । करिब रु २१ करोड लगानीमा निर्माण सुरु गरिएको गुम्बाको अहिलेसम्म जगमात्र ठडिएको छ ।  वर्ष दिनअघि (विसं २०८० भित्र) नै निर्माण सम्पन्न भएर सञ्चालनमा आउनुपर्ने नुनथलाको पर्यटकीयस्थल संसारीडाँडामा निर्माणाधीन गुम्बाको जगमा प्रयोग गरिएको फलामे रड अहिले खिया लागेर बाङ्गिन थालेको छ । निर्माणाधीन अवस्थामै अलपत्र परेको गुम्बाको काम पुनः अगाडि बढ्ने कुनै छाँटकाँट छैन ।       आर्थिक वर्ष २०७५÷७६ मा नगरपालिकाले उपलब्ध गराएको रु १५ लाख बजेटमा फाउन्डेसनको काम भएको र आर्थिक वर्ष २०७६÷७७ मा प्रदेशको रु ९९ लाख बजेटबाट ग्राउन्ड फ्लोर र पिलरको डन्डी ठड्याइएको थियो ।  प्रदेश सरकारले रु एक करोड ५० लाख बजेट विनियोजन गरे पनि उपभोक्ता समितिमार्फत रु एक करोडभन्दा कमको मात्र योजना सञ्चालन गर्न पाइने भएकाले रु ९९ लाखको सम्झौता गरिएको स्थानीय बासिन्दाको गुनासो छ ।      प्रदेशबाट विनियोजित बजेटबाट काम सम्पन्न गरेको भनी उपभोक्ता समितिले फरफारक गरे पनि विनियोजित बजेटमा अनियमितता भएको भन्दै स्थानीय बासिन्दाले प्रदेशमा गुनासो गरेका थिए । गुम्बा निर्माणको काम सम्पन्न गर्नका लागि विसं २०७४ वैशाख ५ गते प्रदेश सरकार र उपभोक्ता समितिबीच सम्झौता भएको थियो ।       नुनथलामा निर्माणाधीन गुम्बा योजनाका काममा अनियमितता भएपछि अलपत्र परेको वडाध्यक्ष भगेश्वर राईले बताउनुभयो ।  “प्रदेश र स्थानीय सरकारको सहकार्यमा गुम्बा निर्माण योजनाको काम सुरु भएको गरिएको थियो, निर्माण उपभोक्ता समितिमार्फत काम थालिएको योजनामा हिसाब गडबडी भएको थाहा पाएपछि प्रदेशले बजेट बन्द ग¥यो”, उहाँले भन्नुभयो, “जगमात्र ठड्याइएको योजनाको काम अहिले पूर्णरुपमा बन्द छ, अलपत्र यो योजना पूरा गर्नका लागि पहल गर्न वडामा आएको बजेटले सम्भावना छैन, थप बजेट माग्नका लागि पनि अनियमितता भएको विषयले बाटो बन्द भएको छ ।”      गुम्बा निर्माण योजनाका लागि पहिलो चरणमा प्रदेश सरकारबाट आएको रकम पूरा काम नगरी फरफारक गरेर हिँडेपछि निर्माण उपभोक्ता समितिका अध्यक्ष महेश तामाङ सम्पर्कविहीन बनेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । गुम्बा निर्माणमा आएको राज्यकोषको काम नै नगरी फरफारक गरेर योजना नै अलपत्र पार्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरुको माग छ ।       उपभोक्ता समितिका अध्यक्ष तामाङले भने प्रदेश सरकारबाट खटिएका इन्जिनियरले गरेको लागत अनुमानअनुसार नै आफूहरुले गुम्बा निर्माणको काम गरेको दाबी गर्नुभएको छ ।  “तोकिएको काम हामीले सम्पन्न गरेका छौँ, कसले के भन्छ, त्यो हामीलाई सरोकार भएन”, उहाँले भन्नुभयो, “पछिल्लो समय रकम अभावका कारण निर्माणाधीन गुम्बाको काम रोकिएको छ, सरकारबाट बजेट प्राप्त नभएको खण्डमा चन्दा सङ्कलन गरेर भए पनि निर्माण सम्पन्न गर्ने योजनामा छौँ ।”      निर्माणको चरणमै उपभोक्ता समितिका कारण गुम्बा अलपत्र बनेपछि स्थानीय बासिन्दासमेत आक्रोशित बनेका छन् । निर्माणाधीन गुम्बा अलपत्र पार्ने व्यक्तिलाई सम्बन्धित निकायले समेत कारबाहीको दायरामा ल्याउन चासो नदिएको उनीहरुको आरोप छ ।  बौद्ध धर्मावलम्बीको जन्म तथा मृत्यु संस्कार गर्न, विवाह गर्न र बौद्ध शिक्षा दिने प्रयोजनका लागि गुम्बा निर्माण सुरु गरिएको उपभोक्ता समितिले जनाएको थियो । गुम्बा निर्माणका लागि गुम्बा व्यवस्थापन समितिका अध्यक्ष मेनुका तामाङ (राई)ले एक रोपनी सात आना एक पैसा तीन दाम जग्गा निःशुल्क उपलव्ध गराउनुभएको छ ।       बहुउद्देश्यसहित निर्माण सुरु गरिएको सुविधा सम्पन्न गुम्बामा बौद्ध धर्मसँग सम्बन्धित १०८ मूर्ति राख्ने योजना बनाइएको थियो । यस्तै, बौद्ध धर्ममा माटोको मूर्ति पवित्र हुने धार्मिक मान्यताअनुसार गुम्बामा माटोका १०० तथा पित्तल र ढलौटका अन्य मूर्ति राखिने बताइएको थियो ।  पर्यटकीयस्थल नुनथलास्थित संसारीडाँडामा निर्माण हुने गुम्बाबाट सर्वोच्च शिखर सगरमाथासहितका उच्च हिमशृङ्खलाका साथै तराईका समथर भू–भागको दृश्यसमेत अवलोकन गर्न सकिन्छ । नुनथलामा गुम्बा बनेपछि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको थियो ।