काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हुने चीन भ्रमणलाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को ब...

मनाङ:    जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ ।  प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामे आसपासका क्षेत्रमा माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । तापक्रम मापन गर्दा अत्यन्त कम देखाउँदै गएको उनले बताए । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उनले बताए ।  प्रजिअ लामिछानेले भने, “चिसोले धारामा पानी जमेको छ भने खोलानालामा पनि पानी जम्दै गएको छ । बाटोमा हिउँ छ । सवारीसाधनको आवतजावत न्यून मात्रामा छ । पिउने पानी जोहो गर्नै मुस्किल हुन थालेको छ ।” चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माणका काम ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिए ।  चामे गाउँपालिकाले सूचना जारी गरी विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम नगर्न आग्रह गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत नमनारायण मल्लले चिसोका कारण सिमेन्टसँग सम्बन्धित निर्माण कार्यमा समस्या हुने भएकाले काम बन्द गर्न भनिएको बताए ।  पूर्वाधार कार्यालय मनाङका प्रमुख जय विष्टले भने, “चिसो अत्यधिक छ । त्यसैले सिमेन्टजडित कार्य ठप्प भएको छ । योजनाको नापजाँच, परीक्षणको काम गरिरहेका छौँ ।”  पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्लाबाहिर गएका छन् । यहाँका स्थानीय लमजुङ, काठमाडौँ, पोखरातर्फ झर्ने क्रम जारी रहेको छ ।  चिसोका कारण स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको प्रजिअ लामिछानेले जानकारी दिए । उनका अनुसार नार्पाभूमिका अत्यावश्यक कामकाजका लागि सदरमुकामस्थित चामे गाउँपालिका–३ कोतोमा अस्थायी कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इकाई कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले चिसो बढिरहेको अवस्थामा पनि पर्यटकको आगमन भइरहेको बताए । ‘सिजन’मा भन्दा पर्यटकको आगमन कम भए पनि आउने क्रममा जारी रहेको उनले जानकारी दिए । उनले भने, “चिसोमा पनि दैनिक १५ देखि २० पर्यटक आएका छन् । बाटोमा केही मात्रामा हिउँ छ । हिउँ खेल्दै रमाउँदै पर्यटक थोराङ्ला भञ्ज्याङ, तिलिचो तालतर्फ जाने आउने भइरहेको छ ।” माथिल्लो क्षेत्रमा रहेका होटल व्यवसायी पूर्ण रुपमा बन्द नभएको भुजेलले जानकारी दिए ।       पर्यटकलाई मौसमसम्बन्धी जानकारीका साथै बाटोमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी यात्रा गर्न सुझाव दिँदै आएको उनले बताए । मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका किसान सोनाम लामाले धेरैजसो गाउँले तल झरेका बताउछन् । आफूहरु घर कुर्ने र याकचौँरी हेर्न घरमै बसेको उनले बताए । उनले भने, “चिसोमा माउ चौँरी र युवा अवस्थाका याकलाई खुवाउन र बचाउन सजिलै हुन्छ । तर, चिसोमा बच्चालाई जोगाउन भने  मुस्किल हुन्छ । ठूला पशुचौपायले पानी, घाँस आफैँ खोज्न सक्छन् ।” “लामो समयसम्म हिमपात भयो भने अलिअलि जम्मा गरेर राखेको घाँस सकिन्छ र खान नपाई दुब्लाएर मर्ने गर्छन् । जाडो मौसममा बच्चालाई गोठ बनाएर राखिन्छ भने हिउँ बढी परे पनि ठूला पशुचौपायलाई हिउँमै छाड्नुपर्छ । जाडोमा घाँस कम हुने भएकाले दूध पनि कम हुने हुँदा बच्चालाई मात्र पुग्छ । हामीले यो समयमा दूध दुहुँदैनौ”, उनले भने, “लेकका खर्कबाट गाउँघर नजिक याकचौँरी ल्याइन्छ । नावर पनि याकचौँरीसँगै अलि तल नै झर्छन् । जसले गर्दा हिउँ चितुवा पनि पशुचौपाया नजिकै आहाराका लागि आउने गर्दछन् । यसबाट जोगाउन पनि हामी यहाँ बस्नुपर्ने हुन्छ ।” यहाँ फागुनको पहिलो सातादेखि खेतीपातीको समय सुरु हुन्छ । त्यसबेला बेँसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ । हाल जिल्लाभर चार हजार तीन सय ९७ याकचौँरी रहेका भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले जानकारी दिए । जाडो कम हुँदै गएपछि यहाँका स्थानीय पनि घर फर्कन थाल्छन् । 

पोखरा:   पोखरा रंगशाला सञ्चालन र व्यवस्थापनका लागि प्रदेश खेलकुद परिषद गण्डकीले पहल सुरु गरेको छ । परिषदको निर्देशनमा जिल्ला खेलकुद विकास समिति कास्कीलाई सञ्चालन र व्यवस्थापनका लागि जिम्मेवारी दिएको हो । परिषदका सदस्य सचिव श्रीधर शर्माको समेत् उपस्थितीमा सोमबार सम्पन्न जिल्ला खेलकुद विकास समिति कास्कीको बैठकले प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङको अध्यक्षतामा पोखरा रंगशाला सञ्चालन तथा व्यवस्थापनका लागि कार्यदल गठन गरेको छ । सो कार्यदलको सदस्यमा परिषदका सदस्य केशव पाठक, परिषदका सदस्य खगेन्द्र क्षेत्री, परिषदका सदस्य विनय थापा, जिल्ला खेलकुद कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ, जिल्ला खेलकुदकी सचिव कन्चन थापा रहेका छन् भने सदस्य सचिवमा जिल्ला खेलकुदका कार्यालय प्रमुख सुन बहादुर लामा रहेका छन् । त्यसै गरि कार्यदलको सल्लाहकारमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रदेश खेलकुदका पूर्व सदस्य सचिव तेज बहादुर गुरुङ र भलिबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी हरिप्रसाद पराजुली खेल विज्ञको रुपमा रहेका छन् भने पोखरा महानगरको तर्फबाट एक जना प्रतिनिधी राखिएको छ । गत भदौ २८ गते काठमाण्डौमा संघिय सरकारका यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्वुको अध्यक्षतामा सम्पन्न राखेपको ११७ औं वोर्ड बैठकले राखेप अन्तर्गत सातै प्रदेशमा रहेका खेल पूर्वाधारहरु प्रदेश खेलकुद परिषद अन्तर्गत व्यवस्थापन गर्न निर्णय गरे बमोजिम प्रदेश खेलकुद परिषद गण्डकीले पोखरा रंगशाला व्यवस्थापन र सञ्चालनका लागि पहल सुरु गरेको सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् । उनले भने–“माननिय मन्त्रीज्यूले पोखरा नै आएर कानुनको पालना गर्न र वोर्ड तत्काल हटाउन कडा निर्देशन दिनुभएको थियो । जुन विषय ११७ औं वोर्ड बैठकले पारित गरेको छ । हामी मन्त्रीज्यूको निर्देशन संगै वोर्ड बैठकको निर्णयको कार्यान्वयनका लागि अघि बढेका छौं । म परिषद र समग्र खेलकर्मीहरुका तर्फबाट उहाँप्रति आभार व्यक्त गर्न चाहन्छु ।” राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास ऐन २०७७ लागु भइसक्दा समेत पोखरा रंगशालामा लामो समय सम्म क्षेत्रिय खेलकुद विकास समितिको कार्यालयको बोर्ड हटेको थिएन । तर राखेपको बोर्ड बैठकको निर्णय र मन्त्री लिम्वुको कडा निर्देशन पछि क्षेत्रिय कार्यालयको बोर्ड हटाइएको थियो । सोमबार सम्पन्न बैठकले पोखरा रंगशाला व्यवस्थापनका लागि कार्यविधि निर्माण गर्ने निर्णय गर्नुका साथै कर्मचारीहरुको व्यवस्थापन, शुरक्षा व्यवस्था, सरसफाई, शौचालयहरुको व्यवस्थापन, पानी, विद्युतलगायतका विषयलाई कार्यान्वयन गर्ने गरि अघि बढ्ने निर्णय समेत गरेको छ । 

तनहुँ:    जिल्ला कारागार तनहुँमा पानीको अभाव भएको छ । कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ ।  पानी अभावमा कैदीबन्दीलाई समस्या भएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दैनिक आवश्यकताभन्दा १५ हजार लिटर कम पानी आपूर्ति हुँदा कैदीबन्दीलाई समस्या परिरहेको छ ।” मादी नदीको किनारमा इनार खनेर पानीको व्यवस्थापन गरिँदै आएकामा केही महिनायता नदीको गहिराइ बढेर इनारमा पानी कम भएपछि पानीको आपूर्तिमा कमी आएको उहाँ भनाइ छ । उहाँले भन्नुभयो, “अब पानीको आपूर्ति बढाउन नयाँ इनार खन्नुपर्ने मात्र विकल्प छ । अहिले जाडोको समयमा पानी अभावले धेरै असर नगरे पनि गर्मीयाम सुरु भएपछि समस्या हुन्छ ।” जाडोयाममै पानीको आपूर्ति बढाउने विकल्प तयार गर्नुपर्ने अवस्था रहेको उहाँ बताउनुभयो । कारागार निरीक्षणका लागि सोमबार पुग्नुभएका तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीसमक्ष कारागार प्रमुख अधिकारीले पानीको व्यवस्थाका लागि अहिलेबाटै काम गर्नुपर्ने विषय अवगत गराउनुभएको छ । निमित्त प्रजिअ भण्डारीले पानीको समस्याका बारेमा कारागार व्यवस्थापन विभाग र गृह मन्त्रालयमा लेखी पठाउने जानकारी दिनुभयो । मादी नदीबाट ल्याइएको पानी नुहाउन, लुगा धुन, सरसफाइ तथा शौचालयका लागि उपयोग गरिन्छ । पिउनका लागि भने कारागारभित्र दमौली खानेपानी तथा उपभोक्ता संस्थामार्फत चारवटा धारा जडान गरिएको छ । कारागारमा महिला र पुरुष गरी तीन सय दुई कैदीबन्दी छन् । महिलातर्फ २० र पुरुषतर्फ एक सय १४ जनाको क्षमता रहेकामा महिलातर्फ २२ र पुरुषतर्फ दुई सय ८० कैदीबन्दी छन् । करागारका निमित्त प्रमुख अधिकारीका अनुसार महिला कारागारमा आमासँग तीन बालिका पनि छन् । कारागारमा जबर्जस्ती करणी मुद्दाका ८६, लागुऔषध मुद्दाका ५६, कर्तव्य ज्यान मुद्दाका ५३, चोरीका २७, सवारी ज्यानका १९ जना कैदीबन्दी छन् ।

पोखरा: पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमालमा परिरहेको असरबारे पोखरामा बहस भएको छ । पोखरामा जारी आठौं पर्वतीय महोत्सवका अवसरमा सोमबार ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ ?’ विषयमा बहस भएको थियो ।  बहसमा डब्लुडब्लुएफका नेपाल प्रतिनिधि डा घनश्याम गुरुङ, इसिमोडकी डा अमिना महर्जन र पत्रकार कुन्द दिक्षितसँगै जलवायुसम्बन्धी अध्येता जगन्नाथ अधिकारी वक्ता थिए । बहसमा सहभागी वक्ताहरुले पछिल्लो समय तीव्र रुपमा भइरहेको जलवायु परिवर्तनले तापक्रम उच्च हुँदा हिमालमा हिउँ कम पर्ने र छिटो पग्लिने समस्या देखिन थालेको सुनाए । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)का नेपाल प्रतिनिधि डा घनश्याम गुरुङले पछिल्लो समय जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा हिमाल कालो हुँदै गएको बताए । ‘अहिले हामीले तलबाट माथि धुवाधुलो पठाउँदैछौं । यसले पनि हिउँ पग्लिने क्रम एकदमै बढेको देखिन्छ,’ उनले भने, ‘त्यसमाथि माथिल्लो भेगसम्म पानी पर्न थालेको छ । पानी परेपछि हिउँ झनै छिटो पग्लिन्छ ।’ पत्रकार कुन्द दिक्षितले पछिल्लो समय जलवायु परिवर्तनका नाममा हिउँँ र बरफमा मात्रै विषय केन्द्रित भएको बताए । उनले हिउँ र बरफ पग्लिँदै जाँदा निकट भविष्यमै पानीको ठूलो संकट देखिन सक्ने सुनाए । ‘यसलाई जलवायु परिवर्तन नभनौं, संकट भनौं । यो संकट पानीको हो,’ दिक्षितले भने, ‘पानीमै हाम्रो मानव जीवन र सभ्यता आश्रित छ । हिमालमा हिउँ पग्लिनेबित्तिकै तल्तिरका भेगमा ठूलो असर पार्छ ।’ उनले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न नवीकरणीय ऊर्जाको प्रयोग बढाउँदै लैजानुपर्ने सुनाए । डा जगन्नाथ अधिकारीले जलवायु परिवर्तनका कारण पछिल्लो समय मौसम पूर्वानुमान गर्नै मुस्किल रहेको सुनाए । उनले जलवायु परिवर्तनले गर्दा जनजीवन नै असर गरिरहेको बताए ।  अर्की वक्ता डा अमिना महर्जनले जलवायु परिवर्तनले गर्दा हिमाली जनजीवनमात्रै नभएर कृषि उत्पादनै समस्या पार्न थालेको बताइन् । पछिल्लो समय बाली भित्राउनेबेला पर्ने बेमौसमी पानीले किसानलाई ठूलो मर्कामा पारिरहेको सुनाइन् । ‘जलवायु परिवर्तनले कृषि, पर्यटन र स्वास्थ्यमा ठूलो च्यालेन्ज छ । नेपालका हिमाल हेर्न आएका विदेशी पर्यटकहरु मौसममा पनि हिमाल देख्न पाउँदैनन्,’ डा महर्जनले भनिन्, ‘यो प्रभाव बढ्नेबाहेक घट्नेवाला छैन । सरकारले यो विषयमा आवाज उठाएकै छैन ।’ वक्ता डा घनश्याम गुरुङले भने पानीका स्रोत नबचाई हाइड्रो ऊर्जालाई मात्रै महत्व दिन नसकिने बताए । पानीको अत्याधिक प्रयोग गर्ने तर, पुनःसिञ्चित नगर्दा केही दशकपछि नै पानीको हाहाकार हुन सक्ने दाबी गरे । कार्यक्रममा सहभागी वक्ताहरुले पछिल्लो समय घटिरहेका घटनालाई जलवायु परिवर्तनलाई देखाएर राज्य उम्किन नमिल्ने भनाइ राखे । जलवायु परिवर्तन अहिले विश्वभरकै प्रमुख समस्या भएकाले अब जलवायुअनुकूल जीवनशैलीबारे बहस हुनुपर्ने सुझाव राखे ।  आयोजक नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले हिमाली भेगसँग पर्वतीय पर्यटनको जीवन पनि जोडिएकाले वातावरण संरक्षणमा अब अरुको मुख ताकेर बस्ने अवस्था नरहेको बताए । उनले पर्वतीय क्षेत्रमा फोहोर हुन नदिन संस्थाका तर्फबाट अभियान र तालिमहरु सञ्चालन गरिरहेको जानकारी दिए ।  शुक्रबारबाट सुरु भएको महोत्सव मंगलबार सकिँदैछ । महोत्सवमा पर्वतीय जनजीवन र कीर्तिमानी आरोहीबारे डकुमेन्ट्री देखाइएको महोत्सवकी सदस्य सचिव निर्मला न्यौपानेले जानकारी दिइन् । महोत्सवका अवसरमा ३ दिनसम्म आर्चरी, जिपलाइन खेलसमेत समावेश गरिएको थियो । महोत्सवमै नेपाल पंक्षी  संरक्षण संघसँगको सहकार्यमा ‘साइलेन्ट बर्डस’ नामक गिद्ध संरक्षणबारे जनचेतनामूलक नाटक पनि देखाएको छ । 

पोखरा:   नेपाल–जापान मैत्री संघले पोखरामा पुषको पहिलो साताबाट निशुल्क जापनिज भाषा कक्षा सञ्चालन गर्ने भएको छ ।  पोखरामा नेपाल–जापान मैत्री संघले जापनिज भाषा तथा संस्कृति सिक्ने इच्छुक विद्यार्थी तथा व्यवसायीहरुलाई मध्यनजर गर्दै निशुल्क जापनिज भाषा कक्षा सञ्चालन गर्न लागेको हो ।  पोखरा महानगरपालिका–९ पृथ्वीचोक (पोखरा मल)मा कार्यालय रहेको नेपाल–जापान मैत्री संघले (एन फाइभ) निशुल्क जापनिज भाषा कक्षा सञ्चालन गर्न लागेको संघले जनाएको छ । नेपाल–जापान मैत्री संघले विशेष गरी विद्यार्थी भिषा तथा रोजगारीमा जापान जाने र नेपालमा व्यवसाय गर्नेहरुको लागि जापनिज भाषा कक्षा सम्बन्धी छात्रवृत्ति प्रदान गर्न लागेको हो । जापनिज भाषा अध्ययन गर्न इच्छुक विद्यार्थी तथा व्यक्तिले संघको कार्यालयमा गएर आवेदन दिन सक्नेछन् ।  नेपाल र जापानको भाषा, कलासंस्कृति आदानप्रदानसँगै सामाजिक क्षेत्रमा क्रियाशिल रहेको संघले पोखरामा पहिलो पटक निशुल्क जापनिज भाषा कक्षा सञ्चालन गर्न लागेको बताइएको छ । संघले थप जानकारीका लागि ०६१५८८८६० मा सम्पर्क गर्न सकिने जनाएको छ ।  

काठमाडौं:      उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य नहुने बताएकी  छन् । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ नाराका साथ ‘नीति तथा संस्थागत संरचनाको विश्लेषण’ विषयमा आधारित लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनमा उपसभामुख रानामगरले महिला हिंसासम्बन्धी कानुन बनेका भए पनि प्रभावकारीरुपमा कार्यान्वयनमा आउन नसकेका बताइन्। हिंसा अन्त्यका लागि सोच,व्यवहार र मानसिकतामा परिवर्तन आउनुपर्ने उनको भनाइ छ। “सोच, व्यवहार र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन । बनेका र भएका महिला हिंसासम्बन्धी कानुन पनि प्रभावकारीरुपमा कार्यान्वयनमा आउन सकेका छैनन् । समाज हिंसामुक्त हुन सकेको छैन । बालबालिकासम्बन्धी पनि पर्याप्त कानुन बनेका छैनन् । हरेक समस्यामा महिलाले लड्नु भिड्नुपर्ने अवस्था छ । हरेक पल काम गरेर प्रमाणित गर्नुपर्छ”, उपसभामुख रानामगरले भनिन् । महिला नेतृत्वमा नपुगेसम्म हिंसा अन्त्य हुँदैन भन्दै घरबाट नै महिला हिंसा अन्त्य हुनुपर्नेमा उनले जोड दिइन्। उपसभामुख रानामगरले भवन र टावर बन्दैमा विकास भयो भन्न नमिल्ने उल्लेख गर्दै  महिलाको डिजिटल प्रविधिमा पहुँच पुर्‍याउन सबैको साथ चाहिने बताइन्। महिलाले उत्पादन गरेका सामग्रीको उचित मूल्य पाउने व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनले महिलाको क्षमता अभिवृद्धिका लागि सरकारले लगानी गर्नुपर्नेमा जोड दिइन्।

काठमाडौं:    सरकारले विभिन्न १२ वटा निर्माण तथा आपूर्ति कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । एउटा कम्पनी तीन वर्षसम्मका लागि, दुई कम्पनी दुई वर्षसम्मका लागि तीन, पाँच कम्पनी साढे १ वर्षसम्मका लागि र तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका छन् । यी कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

पोखरा:   पोखरा सेती नदीमा सडेको अवस्थामा एक शव फेला परेको छ । पोखरा महानगरपालिका–७ घारीपाटन स्थित सेतीनदीको खोँचमा शनिबार सडेको अवस्थामा शव फेला परेकोे  वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । ‘पोखरा महानगर–७ घारीपाटनस्थित सेती खोँचमा शनिबार शव फेला परेको खवर आएको थियो’, डिएसपी श्रेष्ठले भने, ‘सेती खोँचमा महिला÷पुरुष छुट्याउन नसकिने अवस्थामा सडेको अवस्थामा शव फेला परेको हो ।’ उनका अनुसार सेती खोँचमा भेटिएको शवलाई पोष्तमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।       

चितवन:    चितवनको माडीमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको बालेरो गाडीले बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माविका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो । सोही विद्यालयका अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते भएका छन् । मृतक लेखापाल अधिकारी चितवनको माडी नगरपालिका–१ निवासी र शिक्षक खत्री सुर्खेतको सिन्ता गाउँपालिका–३ आग्रीगाउँ निवासी हुन् । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको भरतपुरमा उपचारको क्रममा शनिबार बिहान र खत्रीको बगौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिए । ठक्कर दिने बोलेरो गाडी र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ ।