नवलपुर: नवलपुरको देवचुली नगरपालिका –८ मुण्डेमा जीप दुर्घटना हुँदा मृत्यु भएका ६ मध्ये चार जनाको पहिचान खुलेको छ । बिहान बुलिङटारबाट कावासोतीका लागि छुटेको ग १ ज ३२७० नम्बरको जीप एसमोडको एउटा घरमा ठोक्किएर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा बौदीकाली गाउँपालिका –६ का जिपचालक २९ वर्षीय छनबहादुर आले, सोही ठाउँका ५२ वर्षीया कुमारी राना, ५५ वर्षीया टेकमान वानटक्की, बुलिङटार गाउँपालिका ४ का १२ वर्षीया करिश्मा ठाडा रहेको नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । अन्य दुई जनाको अझै पहिचान खुलेको छैन । मध्यविन्दु नगरपालिका –२ मदनपुरका १८ वर्षीय चिरन अर्यालको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीपमा ७ जना सवार रहेकोमा एक जना गम्भीर घाइते भएको पौडेलले बताए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डण्डा लगिएको छ ।
गोरखा: गोरखामा आगलागीमा परेर दुई जनाको मृत्यु भएको छ । धार्चे गाउँपालिका वडा नम्बर १ केरौंजास्थित हुल्चुकमा आगलागीमा परेर आमा छोराको मृत्यु भएको हो। ७८ वर्षीया कान्छी गुरूङ र उनका छोरा ५३ वर्षीय चनारसिंङ गुरूङको आगलागीमा परेर मृत्यु भएको वडाध्यक्ष राम सिंङ गुरूङले सेतोपाटीलाई बताए। शनिबार बेलुकी करिब १० बजेतिर कान्छीको घर आगलागी भएको थियो। ‘अगेनामा आगो बालेर सुतेका कारण घर जलेको हुन सक्ने अनुमान गरिएको छ,’ उनले भने, ‘दुवैको शव घरभित्रै फेला परेको छ।’ घटनास्थलमा प्रहरीहरू पुगिसकेको उनले बताए। आगलागीले घर पूर्ण रूपमा क्षति भएको छ।
नवलपुर: नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ८ मुण्डेमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बिहान बुलिङटारबाट कावासोती आउँदै गरेको जीप गोरे घुम्तीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । मृतकमध्ये तीन महिला तीन पुरुष छन् । जीपमा ७ जना सवार रहेकोमा एक जना गम्भीर घाइते भएको पौडेलले बताए । मृतकको पहिचान खुलेको छैन । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डण्डा पठाइएको छ ।
मुगु: एउटै परिवारका ४ जनाको हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिका–७ पिना घर भई हाल बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय काले भन्ने गोर्ख राज शाही र छायाँनाथ रारा नगरपालिका–६ मन्दु बस्ने ३१ वर्षीय गोपाल बहादुर बोहोरा रहेका छन् । छायाँनाथ रारा नगरपालिका–६ मन्दु बस्ने श्रीदेवी बोहोरा, उनकै छोराहरू ११ वर्षीय मनोज बोहोरा, ५ महिनाको रहर बोहोरा र उनकै छोरी ७ वर्षीया अप्सरा बोहोराको कात्तिक ८ गते राति आफ्नै घरमा हत्या भएको थियो । केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंज काठमाडौं, कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेत र जिल्ला प्रहरी कार्यालय मुगुबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले गोर्ख राज शाहीलाई लुकीछिपी बसेको अवस्थामा सोमबार दिउँसो सुर्खेत वीरेन्द्रनगर नगरपालिका–५ पञ्चकोशी टोल र गोपाल बोहरालाई गत शुक्रबार उनकै घरबाट पक्राउ गरेको हो । गोपाल बोहोरा बैदेशिक रोजगारीको लागि कतार गएकोमा राम्रो काम नपाई २ वर्ष बसेर नेपाल फर्किएको र श्रीदेवी बोहोराको श्रीमान दीपक बोहोराले कतारमा राम्रो कम्पनीमा काम गरेको उक्त कम्पनीमा काम गर्ने गरी आफूलाई समेत भिषा पठाइदिन आग्रह गरेको तर दीपकले सो कुरा अस्वीकार गरेकोले रिसइबीका कारण दीपकको परिवारको हत्या गर्ने योजना बनाएको खुल्न आएको छ । प्रहरीका अनुसार गोपालले गोर्ख शाहीलाई भेटी श्रीदेवी बोहोरासँग भएको सुन तथा नगद लुटपाट गर्ने सल्लाह गरी श्रीदेवी आफ्नो छोराछोरीसहित माइतीघरबाट फर्केर घरमा आई खाना खाई बसेकोका थिए । त्यसपछि गोपाल र गोर्खले घरबाहिरबाट ढोका खोल्न लगाई घरभित्र प्रवेश गरी धारिलो हतियार खुकुरीले टाउको र घाँटीमा प्रहारी गरी उनीहरूको हत्या गरी श्रीदेवीले कानमा लगाएको २.५ तोलाको सुनको रिङ, २५ लालको सुनको तिलहरी र मोबाइल १ थान लुटेर भागेका थिए । पक्राउ परेका दवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उहाँले बताउनुभयो । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराउनुभयो । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु भएको हो । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।
काठमाडौं: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ । कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको हो । “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो”–उहाँले भन्नुभयो । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनत्रयोदशी (धनतेरस) पर्व भने शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ । तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताउनुभयो । आइतबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ । गाईपूजा कात्तिक २७ गते सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २८ गते मङ्गलबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ । भाइटीका कात्तिक २९ गते १०:५१ बजे उत्तम कात्तिक २९ गते बुधबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान १०ः५१ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले सुनाउनुभयो । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २९ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । परम्परा अनुसार नेवार समुदायका केही मानिसले भने कात्तिक २८ र ३० गतेसमेत किजापूजाका नाममा यो पर्व मनाउने घोषणा गरेका छन् । झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानी लगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् । यस अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ । नेपाल प्रहरीले पटाका नपट्काई सभ्य रुपमा पर्व मनाउन आह्वान गरेको छ । तिहारअघि ठूलो सङ्ख्यामा पटाका बरामद हुने गरेपनि पडक्न भने छोडेको छैन ।
पोखरा: भूकम्प प्रभावितको नाममा व्यक्ति तथा संस्थाले राहत संकलन गरे जिल्ला प्रशासन कार्यालय कास्कीले कारवाही गर्ने भएको छ । प्रशासन कास्कीले आज (बिहीबार) विज्ञप्ती जारी गर्दै कुनै पनि संघ वा व्यक्तिले नगद तथा अन्य सामग्री संकलन गरेमा कारवाही गर्ने भएको हो । । प्रशासनले जारी गरेको विज्ञप्ती अनुसार भूकम्प प्रभावितहरुलाई सहयो गर्न चाहेमा प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गर्न समेत अनुरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘भूकम्पको यस दुखद् घडीमा भूकम्प प्रभावितहरुलाई सहयोग गर्ने, राहत वितरण गर्ने नाममा कास्की जिल्लामा व्यत्तिगत वा संस्थागत रुपमा कोही सकैले पनि नगदरवस्तुगतर जिन्सी साम्री संकलन नगर्न नगराउनुहुन अनुरोध छ । यस सूचनाको अवज्ञा हुने गरी कुनैपनि गतिविधिहरु गरे गराइएको पाइएमा कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सुचित गरिन्छ ।’
पोखरा: पोखरामा घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका अभिनेता प्रकाश घिमिरे डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएपछि उनलाई बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको मणिपाल शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका अनुसार एक साताको अन्तरमा फलोअपमा आउने गरेर डिस्चार्ज गरिएको हो । घिमिरेको स्वास्थ्यमा सुधार आएको र टाउकोमा लागेको चोटमा पनि सुधार आएको अस्पतालले जनाएको छ । करङ भाँचिएर फोक्सोमा लागेको चोट र मेरुदण्डमा लागेको चोट पनि निको हुँदै गएको णिपाल शिक्षण अस्पतालका निर्देशक अभिषेक मास्केले बताए । आफ्नो स्वास्थ्यमा चाँडो सुधार आएपछि घिमिरेले शुभचिन्तक सबैलाई धन्यवादसमेत दिएका छन् ।
सर्लाही: सर्लाहीको धनकौल गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पूर्पक्षका लागि कारागार चलान गर्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ । अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले वडाध्यक्ष महतोलाई ज्यान मार्ने उद्योगमा पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । उनका अनुसार केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा वडाध्यक्ष महतोसमेत संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान उद्योगमा वडाध्यक्ष महतोविरुद्ध मुद्दा दायर भएको थियो । मुद्दा दायर भएदेखि फरार रहेका महतो अदालतमा आफैं उपस्थित भएपछि अदालतको इजलासले उनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।मुद्दाको अन्तिम फैसला नहुँदासम्म महतोलाई पूर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो । स्थानीय तहको निर्वाचन २०७९ मा नेकपा(माओवादी केन्द्र)बाट महतो वडाध्यक्षमा निर्वाचित भएका थिए । अदालतको आदेश अनुसार वडाध्यक्ष महतोलाई गौर कारागार, रौतहट चलान गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए । उनका अनुसार यस मुद्दामा अन्य केही व्यक्तिलाईसमेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । ती व्यक्ति फरार रहेका र उनीहरुको खोजी जारी रहेको उनले बताए ।