काठमाडौं: साँझ ढल्किँदै जाँदा मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलस्थित दिगु भैरव अगाडि मानिसहरुको भीड थपिँदै गयो । मध्यपुरथिमिका साथै भक्तपुर, ललितपुर, काठमाडौँ, काभ्रे, कीर्तिपुरदेखि जिब्रो छेड्ने जात्रा हेर्न आएकाको हजारौँको भीड दुई पोखरीसम्मै बाक्लिँदै गयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे जिब्रो छड्ने जात्रा प्रत्यक्ष रुपमा हेर्न नजिकैको घरको झ्यालबाट टाउको बाहिर निकालेर निकै उत्सुकताका साथ जिब्रो छेडेको हेर्न प्रतीक्षा गरिरहनुभएको देखिन्थ्यो । राति ८ बजे बाँसको चिम्टी बजाउँदै एक हूल मानिस हातेसाङ्लो बनाएर दिगु भैरब अगाडिको मञ्चमा आइपुगे । जात्रालु सबैको ध्यान त्यतै केन्द्रित भयो । एकछिनपछि कर्मी नाइकेलाई लिएर एक समूह आइपुग्यो । त्यसको केही क्षणमै अर्को समूहसँग थिमि लाय्कुको पमानायो ७१ वर्षीय श्यामकाजी पमा श्रेष्ठ परम्परागत पोसाकमा हनुमानढोका दरबारबाट ल्याएको राज खड्ग लिएर डबलीमा आउनुभयो । त्यसपछि द्विगुभैरव मन्दिरमा गुरुको उपस्थितिमा भैरवको पूजा गरेपछि ‘येंयाँ पुन्ही म्ये प्वा खनेगु’ जात्रालाई जिब्रो छेडेर निरन्तरता दिन मध्यपुरथिमि नगरपालिका–५ बालकुमारी निवासी वीरेन्द्रभक्त श्रेष्ठलाई परम्परागत पोसाक लगाएर डबलीमा ल्याइयो । यहाँका बासिन्दाले जयजयकार गरे । जिब्रो छेड्न तयार भएका वीरेन्द्रभक्तलाई छोएर कर्मी नायले वरिपरि अक्षता फूल छर्किएर देवीदेवता पुकारे । एक महिना अगाडि बनाएको १० इन्च लामो तीन मुख भएको सुइरो कर्मिनायले गए रातिको ८ बजे बालकरामको जिब्रो छेडिदिए । टाउकामा बाँधेको कपडामा सियो अड्काएर जिब्रो छेडेको सुइरोको तीनवटा टुप्पोलाई जिब्रोमै घुमाएपछि द्विगुभैरव अगाडिको डबलीमा हजारौँको जयजयकार गुञ्जियो । त्यसपछि सबैलाई नमस्कार गर्दै चन्द्राकारकोे भ्वाय् अर्थात् ४० किलो तौलको १७ वटा दीप रहेको महादीप बोकेर निस्किनुभयो वीरेन्द्रभक्त । उहाँलाई स्थानीय जात्रा व्यवस्थापन समिति, परिवार एवं टोलवासीले साथ दिइरहे । महादीप बोकेर उहाँले सुरु गर्नुभएको थिमिदेखि पशुपतिनाथसम्मको अविचलित यात्रा सफल पारेर इतिहासलाई निरन्तरता दिनुभयो । जात्रालाई विश्वव्यापी रुपमा ‘ब्रान्डिङ’ गर्न सकिन्छ ःमन्त्री पाण्डे पहिलोपटक प्रत्यक्षरुपमा जिब्रो छेडेको हेर्न मध्यपुरथिमिको द्विगुली पुग्नुभएका मन्त्री बद्रिप्रसाद पाण्डेले यो जात्रालाई विश्वव्यापी रुपमा ‘ब्रान्डिङ’ गरेर लाखौँ पर्यटक भित्र्याउन सकिने बताउनुभयो । मन्त्री पाण्डेले स्थानीय जात्रा व्यवस्थापन समिति र नगरपालिकासँग भन्नुभयो, “नेपालको संस्कृतिमा पर्यटन मिसाउनु लैजानसके विकास सहज हुन्छ । यो जात्रालाई विश्वव्यापी रुपमा ‘ब्रान्डिङ’ गरेर लाखौँ पर्यटक भित्र्याउन सकिन्छ । संस्कृति र पहिचानलाई जीवन्त बनाएर संरक्षण गर्नु आवश्यक छ ।” मन्त्री पाण्डे, प्रतिनिधिसभाका सांसद दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, भुवनकेशरी श्रेष्ठ, पशुपति विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जात्रास्थलमै पुगेर जिब्रो छेडेको प्रत्यक्ष अवलोकन गर्नुभएको थियो । वीरेन्द्रभक्तले दिए इतिहासलाई निरन्तरता वीरेन्द्रभक्तले दिगु भैरव मन्दिर अगाडि जिब्रो छेडेर महादीप बोकेर चोडे टोलको कामदेव, महालक्ष्मी, नीलवर्ण गणेश, सिद्धिकाली मन्दिर पुग्नुभयो । निगु पुखुः, लाय्कू हुँदै क्वालाखु (बालकुमारी) स्थित थास्मा गणेशको दर्शन गरी तछु टोल, सुँगा टोल (विष्णुवीर), इन्द्रायणी, नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल, सिद्धिकाली मन्दिर, सिद्धिकाली चोक, सानोथिमि, मनोहरा खोला पुल, पुरानो सिनामङ्गल, खहरेचोक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछाडिको सडक, गुह्येश्वरी मन्दिर हुँदै पशुपतिनाथ मन्दिर प्रवेश गरी पशुपतिनाथको परिक्रमा गर्दै दर्शन गर्नुभयो । मध्यराति पशुपति मन्दिरमा वीरेन्द्रभक्तको जिब्रोमा मन्त्री पाण्डेले चाँदीको कचौरामा रहेको तेल सुनको चम्चाले झिकेर हालिदिनुभयो । पशुपतिनाथको दर्शनपछि सोही मार्ग भएर फर्कर्दै सानोथिमिस्थित तीनधारा ब्यारेक चोकबाट भित्र हुँदै नगदेश, गार्चा चोक, बहाखाबजार भीमसेन मन्दिर, चपाचो, दिगुटोल, निगुपुखुः, लाय्कू हुँदै क्वालाखु हुँदै सयौँ स्थानीयलाई अगाडि पछाडि लगाएर जय जयकार गर्दै १७ किलोमिटरको यात्रा पार गर्दै थिमि आएर बालकुमारी मन्दिरमा सियो झिकेर नित्यनाथको माटोे जिब्रोमा राखेपछि मध्यराति करिब २ः३० बजे जात्रा सम्पन्न गर्दै वीरेन्द्रभक्तले थिमिको इतिहासलाई निरन्तरता दिनुभयो । उहाँको खाली खुट्टाको पैदल यात्रालाई जात्रा व्यवस्थापन समिति, परिवार तथा आफन्त, टोलवासी र मध्यपुरथिमिका सयौँले पशुपति मन्दिरसम्म जय जयकार गर्दै पैदल यात्रालाई साथ दिए । जात्रामा हौसला प्रदान गर्न मध्यपुरथिमि प्रमुख सुरेन्द्र श्रेष्ठदेखि उपप्रमुख विजयकृष्ण श्रेष्ठले समेत थिमिदेखि पशुपतिसम्म नै पुगेर साथ दिनुभयोे । लोप भइसकेको जात्रालाई थिमिवासीले दिए पुनर्जीवन यसअघि २०७५ मा जिब्रो छेडाएर आफ्नो टोल घुम्नु भएका बालकरामले गत वर्ष दोस्रोपटक जिब्रो छेडाएर इतिहास रच्न सफल हुनुभयो । यस वर्ष वीरेन्द्रभक्तले भन्नुभयो, “थिमीको ऐतिहासिक यो जात्रालाई जीवन्त दिने अठोट गरे थिमिको इतिहासलाई निरन्तरता दिने लक्ष्यका साथ जिब्रो छेडाएर पशुपतिसम्म जाने अठोट गरेको थिएँ, त्यो अठोट पूरा गरेँ । मेरो आँटलाई सबैको सहयोग साथ र पशुपतिनाथ तथा बालकुमारीकोे शक्तिले मेरो यात्रा पूरा भयो ।” देशमा आउन सक्ने कुनै पनि सङ्कट, प्राकृतिक प्रकोप, डर, त्रास, भय रोक्दै पुर्खाले सिर्जेको संस्कृतिलाई बचाउन आफूले जिब्रो छेडेर पशुपतिसम्मको यात्रा पूरा गरेको उहाँले बताउनुभयो । पुर्खाले पूर्वमा काभ्रे पनौतीसम्म, उत्तरमा चाँगुनारायण मन्दिरसम्म र पश्चिममा पशुपतिनाथ मन्दिरसम्म जिब्रो छेडेर महादीप बोकेर गएको भन्ने सुन्दै आएको भए पनि यसपटक आफूले पशुपतिसम्मको यात्रा पूरा गरेर पुर्खाले गरेका कठिन यात्रा सम्भव थियो भन्ने सन्देश दिन पनि सफल भएको उहाँको भनाइ छ । दुई दशक रोकिएर लोपोन्मुख अबस्थामा पुगेकोे यो जात्रालाई २०७४ सालमा उहाँ वीरेन्द्रभक्तले नै जिब्रो छेडाएर पुनर्जीवन दिनुभयो र तर त्यो वर्ष जिब्रो छेडेर पशुपतिनाथसम्मको यात्रा नगरी थिमि परिक्रमा गरिएको थियो । त्यसपछि २०७५ सालमा बालकरामले जिब्रो छेडाउनुभयोे । विसं २०७६ देखि कोरोना महामारीका कारण रोकिएको जात्रा २०७९ साल पुनः वीरेन्द्रभक्तले दोस्रो पटक जिब्रो छेडाएर पुनः निरन्तरता दिनुभयो । यसवर्ष तेस्रो पटक उहाँले जिब्रो छेडेर मध्यपुरथिमिदेखि पशुपतिसम्म र पशुपतिदेखि मध्यपुरथिमिसम्मको यात्रा पनि पुरा गर्नुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बीरेन्द्रभक्तले कठिन यात्रा पुरा गरेको बताउदै भन्नुभयो, “त्यति ठूलो सियोले जिब्रो छेडाएर काठ र बाँसबाट बनेको लहरै बलेको १७ वटा दीपसहितको करिब ४० किलोको महादीप बोकेर पशुपतिसम्म पुगेर फर्किनु कम चुनौती र कठिन काम होइन, यसलाई गतवर्ष बालकराम र यसवर्ष बीरेन्द्रभक्तले पूरा गरेर थिमिको शान उच्च राख्न सफल हुनुभयो । उहाँको यो साहसले भावी पुस्तालाई जात्राप्रति प्रेरित गर्ने र नयाँ पुस्तामा जात्रालाई निरन्तरता दिन आँट प्रदान गर्ने विश्वास लिएको छु, नगरपालिकाले यस्ता मूर्त–अमूर्त कला, संस्कृतिको संरक्षणमा नियमित सहयोग गर्नेछ ।” नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुरथिमिको ऐतिहासिक पहिचानलाई यो जात्राले विश्वभर फैलाउने सफल भएको बताउनुभयो । उहाँले नेपालमा मात्रै नभएर विश्वमै अनौठो मानिने यो जात्रालाई यहाँको ठूलो विशेषता हो भन्दै उपप्रमुख श्रेष्ठले ३५० वर्ष भन्दा अगाडिदेखि यो जात्रालाई निरन्रता दिन नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । उपप्रमुख श्रेष्ठले भन्नुभयो, “जिब्रो छेडेर महादीप बोकेर थिमि घुम्नु निकै थाकिन्छ, त्यसमाथि खाली खुट्टाले पशुपतिसम्म महादीप बोकेर परिक्रमा गरेर फर्किन सफल हुनु आफैँमा अब एउटा इतिहास बन्यो, यसले युवा र नयाँ पुस्ताका लागि सकारात्मक सन्देश दिएको छ ।” यस्तो छ पौराणिक कथन: परापूर्वकालमा मध्यपुरथिमिका बासिन्दामा विभिन्न रोग, डर र भयले त्रसित बनाई बस्ती आसपासमा भूत, प्रेत र पिचासले दुःख दिए । यस्तो भयलाई पार लाउन एक तान्त्रिकले आराध्येदेवी श्री बालकुमारी माईको साधना गरी उहाँको दिव्य उपदेशअनुसार भाद्र शुक्ल पूर्णिमाका दिन एक साहसिक व्यक्तिलाई फलामको सियोले जिब्रो छेडेर नगर परिक्रमा गराइयो । ती साहसिक व्यक्तिले आफ्नो बस्तीबाट भूत, प्रेत, पिचास भगाउन र बस्ती नजिकका अर्को बस्तीहरु चाँगुनारायण, गुह्येश्वरी, पशुपतिसम्म रहेका भूत, प्रेतले पनि दुःख नदिऊन् भनेर जिब्रो छेडेर थिमिबाट चाँगुनारायण, पशुपतिसम्मका बस्तीहरुमा महादीप बोकेर जाने गरेको पौराणिक कथन रहेको जात्राका नाय पमा श्यामकाजी पमा श्रेष्ठ बताउनुहुन्छ । यो ऐतिहासिक जात्रा २०२६ सालदेखि लोप भइसके पनि २०५० सालदेखि मध्यपुरथिमि चोडेटोल निवासी कृष्णनानी श्रेष्ठले तीनपटक जिब्रो छेडेर जात्रालाई जीवन्तता प्रदान गर्नु भएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ बताउनुहुन्छ । जिब्रो छेड्ने जात्रामा थुप्रै व्यक्तिलाई आफैँले भोज खुवाउनुपर्ने सबै खर्च व्यवस्थापन आफैँले गर्नुपर्दा हुने आर्थिक अभावले जात्रा लोपोन्मुख अवस्थामा पुगेको उहाँको भनाइ छ । विसं २०७४ देखि स्थानीय युवाहरु, संस्कृतिप्रेमी अग्रजहरु तथा जननिर्वाचित प्रमुखहरु सक्रिय भई जात्राको सम्पादन र व्यवस्थापन गर्न येँया पुन्हिया मेंय् प्वाः खनेगु जात्रा व्यवस्थापन समिति गठन गरेर जात्रालाई व्यवस्थित गर्ने क्रममा मध्यपुरथिमि–४ बालकुमारी निवासी वीरेन्द्रभक्त गजु श्रेष्ठले २०७४ र २०७९ सालमा जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभएको उहाँले जानकारी दिनुभयो । जात्राका लागि एक महिनाअगाडि नै नातु (सुइरो) बनाउन पूजा लिएर नकर्मीको घरमा खबर गर्ने परम्परा छ । नकर्मीले तीन तिर भएको नातु बनाई एक महिना शुद्ध तोरीको तेलमा डुबाएर राखिन्छ । त्यसपछि जिब्रो छेड्नुभन्दा आठ दिन अगाडि द्यः दुसालेगु भनी बालकुमारी मन्दिरमा ११ वटा किसली ९माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग० दिइन्छ । जिब्रो छेड्ने जात्राको चार दिनअघि थिमिको लाय्कूका पःमाहरुले हनुमानढोका दरबारमा गएर ल्याएको राज खड्गलाई जात्रामा डबलीमा राखिन्छ । इन्द्रजात्राको दिनमा बालकुमारीमा रातो भालेको बलि दिएर पूजा गरी भोज खाइन्छ । येँया पुन्हीको दिनमा दुतानं (जामा) लगाएर बालकुमारीमा पूजा गरिन्छ । यो दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नुपर्दछ । जिब्रो छेड्ने दिन साँझ बालकुमारीदेखि दिगुभैरवसम्मको स्थानमा बत्ती दिनु पर्छ । त्यसपछि दिगुभैरव मन्दिरमा गुरुको उपस्थितिमा भैरवको पूजा गरेसँगै जिब्रो छेड्ने व्यक्तिमा दैवी शक्ति प्राप्त हुने जनविश्वास रहेको छ । जात्राको दिन सयौँ जनमानससामु जामनः गुरु, नायःपमा, नकर्मी नाइकेको उपस्थितिमा नकर्मीले बनाएको १० इन्च लामो सुइरो कर्मी नायाले जिब्रो छेडेर महादीप बोक्न लगाई उहाँको इच्छाअनुसार नगरपरिक्रमा गराउने प्रचलन छ । सुइरो निकालिसकेपछि जिब्रोमा भएको प्वालमा नासः द्यः ९नित्यनाथ० देवता परिसरको माटो राखिन्छ । मन्दिर परिसरमा ठोकेको सुइरोलाई हेर्दा यो जात्रा करिब ३५० वर्षभन्दा पुरानो हो भन्ने यकिन गर्न सकिने नाय पमा श्यामकाजी बताउनुहुन्छ । वर्षांै पहिले एकै पटक १७ जना व्यक्तिले, एकै परिवारको छ जनालेसम्म जिब्रो छेडेको पाइएको उहाँ बताउनुहुन्छ । बालकुमारी मन्दिर परिसरमा सुइरो निकालिसकेपछि घर गई मान्यजनबाट सगुन लिने, त्यसपछि जात्रामा सहभागी व्यक्तिहरुलाई भोज खुवाउने, भोलिपल्टको बिहान नातु पूजा भनी जिब्रो छेडेको सुइरोलाई बालकुमारी मन्दिरभित्र ठोक्ने र द्यः लित तवनेगु भनी विसर्जन पूजा गर्न गरिन्छ । जिब्रो छेड्ने व्यक्ति मध्यपुरथिमिको श्रेष्ठ थरकै हुनुपर्ने, आकाशदीप बोक्ने मानन्धरहरु नै हुनुपर्ने प्रचलन छ । यस्तै, नातु बनाउने नकर्मी थरका व्यक्ति, राजखड्ग लिन जाँदा खड्गीहरुले नाखी बाजा बजाउने र कुस्ले (कपाली) ले मुहाली बजाउने परम्परा रहेको छ । मध्यपुर थिमिको बोडेमा प्रत्येक वर्ष वैशाख २ गते हुने जिब्रो छेड्ने जात्रासँग यो जात्रा मिल्दोजुल्दो जात्रा भए पनि यसको बाटो भने फरक रहेको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबाट राजनीतिक तहमा देखिएका अस्थिरताको सम्बोधन गर्न सकिने बताउनुभएको छ । संविधान दिवस, २०८१ तथा राष्ट्रिय दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले संसद्मा रहेको सबै राजनीतिक दलको सहमतिबाट संविधान संशोधन अघि बढाइने विश्वास दिलाउनुभयो । “संशोधन प्रक्रियामा संसद्को गणितीय सङ्ख्या मात्रै हेर्ने छैनौँ, सरकारमा रहेका पार्टीहरुको मात्र होइन, सकेसम्म सबै दलको सहमति प्राप्त गर्ने अधिकतम प्रयास गरिनेछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “संविधानलाई समयानुकूल बनाउनुपर्छ, समयानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो, ‘लिखत र मर्म’ अनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु हो ।” प्रधानमन्त्री ओलीले प्राप्त अधिकारको रक्षा र कार्यान्वयन अबको लडाईं भएको उल्लेख गर्दै राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिका लागि सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । “एउटा युवाले देशभित्रै रोजगारी पाउँछु भनेर ढुक्क हुन पाओस्, श्रमिकले मर्यादित काम पाउँछु भनेर विश्वास गर्न सकोस्, नागरिकलाई स्वास्थ्योपचारमा समान पहुँच होस्, कसैको भोको शरीरले ओछ्यान छुन नपरोस् । बालबालिका सडकमा होइन, विद्यालयमा भेटिउन्, किसानले कृषि उपजको बजार र मूल्य पाऊन्” भन्ने वातावरण बनाउनेतर्फ वर्तमान सरकार सचेततापूर्वक अघि बढिरहेको स्पष्ट पार्नुभयो । सो वातावरण बनाउन सरकारले प्रथमतः मौलिक हक कार्यानवनयका लागि आवश्यक कार्यायोजना तयार पार्ने काम गरिरहेको प्रधानमन्त्रीले जानकारी दिनुभयो । उहाँले नीतिगतले रुपमा अहिले मौलिक हक कार्यान्वयनका लागि बनेका कानुनको प्रभावकारी कार्यान्वय गर्न आवश्यक कार्ययोजना बनाउने कामले तीव्रता पाएको स्पष्ट पार्नुभयो । मौलिक हक कार्यानवयनका लागि आर्थिक स्रोत जुटाउनेतर्फ सरकारको ध्यान केन्द्रित भएको जनाउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “संविधानमा किटान गरिएको मौलिक हकको कार्यान्वयन गर्न लाग्ने आवश्यक आर्थिक स्रोत तत्काल उपलब्ध छैन, स्रोतसाधनको व्यवस्था गरी जनतालाई राहत दिन सरकार क्रियाशील छ ।” अझै पनि २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेको जनाउँदै उहाँले वर्तमान सरकार सबै नागरिकलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न लागि परेको बताउनुभयो । “यो अवस्था अन्त्य गरेर मात्र समाजलाई समतामुलक बनाउन सक्छौँ, समतामुलक समाजबाट मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा हुन सक्छ”, प्रधानमन्त्रीले भन्नुभयो, “राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रो विकासको ढाँचालाई समावेशी बनाउनुपर्दछ ।” संविधानले सबैलाई प्रतिस्पर्धाका लागि समान आधार तयार गरेको जनाउँदै प्रधानमन्त्री ओलीले सर्वकालिक सामाजिक सुरक्षाबाट ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्यसेवासहित संरक्षण थालनी गरिएको स्पष्ट पार्नुभयो । उहाँले ज्यालामा आधारित रोजगारीलाई मर्यादित एवं सुरक्षित बनाउने र योगदानमा आधारित सामाजिक सुरक्षामार्फत सेवा निवृत्तपछि नागरिकको जीवन सहज र सुखी बनाउनेमा सरकार दृढ रहेको बताउनुभयो । स्टार्टअप, स्वरोजगारी एवं उद्यमशीलतामा लगानी गर्ने र त्यसमा धेरैभन्दा धेरै युवालाई संलग्न गर्ने सरकारको नीति रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भविश्यका लागि अहिले युवा र बालबालिकामा धेरै लगानी गर्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताउनुभयो । विकासका लागि स्थायित्व अनिवार्य सर्त भएको उल्लेख गर्दै उहाँले नीति र राजनीतिक दुवै क्षेत्रमा स्थायित्व आवश्यक भएको बताउनुभयो । मुलुकले अपनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्वस्थ प्रतिस्पर्धासहितको व्यवस्था भएको जनाउँदै प्रधानमन्त्री ओलीले ‘सबैलाई अधिकार, अवसरमा समान पहुँच, समानता, सामाजिक न्याय, सुरक्षा र मर्यादा’ सहितको लोकतन्त्र नै असली लोकतन्त्र भएको बताउनुभयो । उहाँले कानुनी राज, पारदर्शीता र उत्तरदायित्व नेपाली लोकतन्त्रको अभिन्न सर्त भएको स्पष्ट पार्नुभयो । “हाम्रो राज्यव्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो, यो कुनै वंशको निरङ्कुश शासनको निरन्तरता होइन, जनताले आफ्ना शासक आफैँले छान्ने विधिद्वारा परिचालित प्रगतिशील प्रणाली हो”, प्रधानमन्त्रीले भन्नुभयो, “अब यो प्रणालीबाट पछाडि फर्किँदैन, जनता आफैँले सिर्जना गरेको विद्यमान राजनीतिक शासन व्यवस्था हो, यसलाई बलियो बनाउनु र यसका पक्षमा उभिनु हामी सबैको कर्तव्य र दायित्व हो ।” ‘संविधानमा हाम्रा सामूहिक इच्छा र साझा दृष्टिकोण प्रतिविम्बित छन्’ नेपाल र नेपालीका लागि आज विशेष दिन भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले वर्षौं लामो सङ्घर्ष, हजारौँको बदिलान र अथक मेहिनेतबाट आजैका दिन देशको मुलुक कानुन बनेको स्मरण गर्नुभयो । प्रधानमन्त्रीले ‘जनताद्वारा जनताका लागि’ लिपिबद्ध गरिएको यस ऐतिहासिक दस्तावेज बनाउने संविधानसभाले आधा दशकभन्दा बढी समय लगानी गरेको बताउनुभयो । “आज विसं १९९३ देखि अधिकार प्राप्तिका लागि नेपाली जनताले सुरु गरेको सङ्गठित आन्दोलनलाई संस्थागत गर्ने र २००७ सालदेखि ‘आफूद्वारा आफैँलाई शासन गर्ने, संविधान आफँैले लेख्ने’ जनताका चाहना पूरा भएको दिन पनि हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो । विगतको सङ्घर्षसँगै तय भएका गन्तव्य, सँगै हिँडेको यात्रा र हासिल गरेका साझा उपलब्धिलाई संविधान दिवसले सम्झाउने उल्लेख गर्दै प्रधानमन्त्रीले अनेक जालझेल र घेराबन्दी छिचोल्दै बनेको संविधानको रक्षा, संवद्र्धन र विकासका लागि प्रण गर्ने तथा यसको प्रभावकारी कार्यान्वयनका लागि उत्प्रेरित गरिरहेको अनुभूति प्रकट गर्नुभयो । उहाँले संविधानसभाबाट जारी संविधानबाट हाम्रा सामूहिक इच्छा र साझा दृष्टिकोण प्रतिविम्बित भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “संविधानमा मजदुर, किसान, शिक्षक, विद्यार्थी, युवा तथा पाका सबैको आवाज गुञ्जिएको छ, महिला, दलित, आदिवासी÷जनतजाति, थारू, मुसलमान, मधेसी–पहाडी, हिमाली, अल्पसङ्ख्यक÷उत्पीडित र सम्पूर्ण पिछडिएका वर्ग तथा क्षेत्रका नेपालीको सपना र आकाङ्क्षा उल्लेख भएको छ ।” संविधानले प्रत्येक नागरिकलाई अधिकार दिलाएको, आफ्नो कर्तव्य र मर्यादा सिकाएको तथा सबै नेपालीको सुन्दर भविष्यका लागि प्रतिबद्धता व्यक्त गरेको उहाँको भनाइ छ । “अपवादलाई छाडेर यस संविधानले सबै नेपालीको भावनालाई समेटेको छ, यदि सबैको भावना नसमेटिएको हुन्थ्यो भने ९ वर्षअघि संविधान जारी हुँदाको ‘असहमति’ त्यत्तिकै शान्त हुने थिएन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “‘असहमति’को आडमा हामीबीचको सद्भाव खल्बल्याउन खोज्ने शक्तिका विरुद्ध एक हुने आमनेपाली जनताको सुझबुझपूर्ण सहयोगको स्मरण गर्दै विशेष धन्यवाद भन्न चाहन्छु ।” समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत नागरिक समाजका तर्फबाट विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । समारोहस्थलमा नेपाली सेनाको हेलिकप्टरमार्फत ‘संविधान तथा राष्ट्रिय दिवस २०८१’ अङ्कित ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । सो क्रममा शान्तिको प्रतीक सेतो परेवासमेत उडाइएको थियो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगण, सङ्घीय सांसद, जनप्रतिनिधि, संवैधानिक निकाय तथा सुरक्षा अङ्गका प्रमुख, विदेशी मित्रराष्ट्र तथा कूटनीतिक नियोगका प्रमुख, सामाजिक जीवनमा लब्ध–प्रतिष्ठित विशिष्ट महानुभाव र राष्ट्रसेवक कर्मचारीलगायत सहभागी हुनुहुन्थ्यो ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन विसं २०८२ वैशाख अन्तिममा हुने भएको छ । रास्वपाको काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलाले वैशाख २५, २६ र २७ गतेका लागि महाधिवेशनको मिति घोषणा गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी सभापति लामिछानेले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा परिवर्तन गर्नुभएको छ । रास्वपाको गत साउनको १८ र १९ गते बसेको बन्द कार्यशाला बैठकले आगामी वैशाखको तेस्रो साता महाधिवेशन गर्न सुझाव दिएको थियो ।
दाङ: दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको छ । लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका–१८ का २२ वर्षीय श्रवनकुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही–४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान लमही नगरपालिका–६ बेलदमारमा दुर्घटना हुँदा गम्भीर घाइते भएका दुवै जनाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मुस्ताङ: चारै तिर नाङ्गो र सुख्खा पहाड, पहाडको भित्तामा प्वालहरू । फेदीको प्वालबाट छिरेपछि तला चढ्दै पहाडको टुप्पोमा पुगिने । तलापिच्छे धुँवाले कालो भएका कोठा । कोठामा बक्ति बाल्ने, सामग्री भण्डारण गर्ने ठाउँ तथा विभिन्न कलाकृति । यहाँ आउँदा जोकोही मोहित हुन्छन् । यस्तो अनौठो तर आकर्षक गुफा हो, मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ मा रहेको ‘जोङ्ग’ गुफा । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङकानुसार परापूर्वकालमा यस गुफामा मानव बस्ति थियो, त्यसैले प्राचिन मानव सभ्यता झल्काउने सङ्केत अहिले पनि देख्न सकिन्छ । उहाँ भन्नुहुन्छ, “गुफाभित्र रहेका सामग्री र अग्रजको भनाइअनुसार दुई हजार वर्ष पहिले बस्ती विकास हुनुअघि यस गुफामा मानिस बसेका थिए । प्राचिन मानव सभ्यताको झल्को दिने यो गुफा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।” समुन्द्रि सतहदेखि तीन हजार सात सय ८५ मिटर उचाइमा अवस्थित जोङ्ग गुफाका नामले चिनिने यस गुफालाई स्थानीयले ‘सिजा जोङ्ग’ भन्दछन् । भुइँसहित छ तला रहेको यस गुफामा करिब ५० वटा कोठा छन् । हरेक तलाको बीच भागमा बाटो र दायाँबायाँ कोठा छन् । एउटा तलादेखि अर्को तलामा उक्लने झ¥याङ छ । गुफाका हेरालु छिरिङ गुरुङले पर्यटकीय याममा दैनिक ५० जनाभन्दा बढीले गुफा अवलोकन गर्ने गरेको बताउनुभयो । असोज, कात्तिक, चैत, वैशाख र जेठ महिनामा यहाँ पर्यटकको चहलपहल हुन्छ । “यो गुफामा कहिले मानिस बसे भन्ने आधिकारिक तथ्य र प्रमाण हामीसँग छैन”, उहाँले भन्नुभयो, “परापूर्वकालमा दुस्मनबाट बच्नका लागि पनि एकैठाउँमा गाउँभरिका सबै परिवार बस्नका लागि यो गुफा प्रयोग गरेको बाबु बाजेले सुनाउनुहुन्थ्यो ।” किंवदन्तीअनुसार परापूर्वकालमा तिब्बती समूहले छोसेरमा आक्रमण गर्दा त्यहाँका बासिन्दा गुफामा गएर लुकेर बसेका थिए । आक्रमणकारी समूहले पानीको मुहान थुनिदिए छन् तर गाउँलेले विवेक प्रयोग गरी सो समूहलाई त्यहाँबाट लखेटेपछि त्यसको प्रतिकारमा आतङ्ककारी समूहले गुफाभरि तेल पोखिदिएको थियो । त्यसैकारण अचेल पनि गुफाभित्रको भागमा तेल पोखिएजस्तो देखिन्छ । गाउँलेले आतङ्ककारी समूहलाई भगाएपछि त्यसको सुरक्षाका लागि चट्टानमा ससाना गुफा बनाइ त्यसैमा लुकेर सुरक्षा दिन थालेका र त्यसको अवशेष अहिलेसम्म पनि रहेको भन्ने गरिएको स्थानीय सोनु टसीले बताउनुभयो । मुस्ताङमा रहेका अन्य गुफाभन्दा सिंजा जोङ्ग ठूलो र फरक पहिचान भएको गुफा मानिने गरेको उहाँको भनाइ छ । यहाँस्थित व्यवस्थापन समितिले गुफासहित निफु र गर्फु गुम्बाको अवलोकनका लागि विदेशी पर्यटकसँग रु एक हजार तथा स्वदेशी पर्यटकसँग रु एक सय शुल्क लिने गरेको छ । गुफामा रहेका सामग्रीलाई संरक्षण गरेर राखिएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलैगौडाबाट आएका सन्देश भट्टराईले गुफा अवलोकन गर्दा ढुङ्गे युगको जस्तो कल्पना भएको प्रतिक्रिया दिनुभयो । “बाहिरबाट हेर्दा सामान्य लागे पनि भित्र पस्दा अनौठो र आश्चार्य लाग्यो”, उहाँले भन्नुभयो,“परापूर्वकालमा मानिसको बसाइँ कस्तो थियो भन्ने झल्को यो गुफाले दिन्छ ।” लोमान्थाङ गाउँपालिकाले यहाँ आउने पर्यटकको सहजताका लागि अत्यावश्यक पूर्वाधार बनाएको छ । गुफा परिसरमा सार्वजनिक शौचालय र प्रतिक्षालय भवन निर्माण गरेको अध्यक्ष टसी नर्बु गुरुङले बताउनुभयो । “जोङ्ग गुफाको संरक्षण र आम्दानीलाई व्यवस्थित गरी सोही ठाउँको प्रवर्द्धनमा परिचालन गर्न स्थानीयसँग छलफल भए पनि निष्कर्षमा पुग्न सकिएको छैन,” उहाँले भन्नुभयो “जमिनदेखि पहाडको भित्तामा रहेका गुफामा पुग्ने पक्की र तला उक्लने काठको भ¥याङ पनि गाउँपालिकाले नै बनाएको छ ।” बेनी–जोमसोम–कोरला सडकको लोमन्थाङ नेचुङ खण्डदेखि जोङ्ग गुफाको परिसरसम्म गाडीमा पुग्न सकिन्छ । चीन र नेपालको सिमानामा रहेको कोराला नाका जाने अधिकांश पर्यटकले यो गुफा अवलोकन गर्छन् । यसरी अवलोकनका लागि आउनेहरूले यहाँ राखिएको पुस्तिकामा अवलोकनपश्चात अर्कै संसारमा पुगेको अनुभूति हुने गरेको विचार व्यक्त गरेका छन् । कतिपयले ‘आश्चर्यजनक प्राकृतिक सम्पदा’ भनेर आफ्ना विचार व्यक्त गरेका छन् । यस गुफाबारे अनुसन्धान गरी ऐतिहासिक महत्व र तथ्यको पहिचान तथा तिनको संरक्षण गरिनुपर्ने स्थानीयको माग छ । यसो गर्नसकेमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आम्दानीमा समेत हुने सम्भावना छ । हाल भइरहेको आम्दानीलाई पनि गाउँपालिकाले सङ्कलन र परिचालन गरी सोहीअनुसार गुफाको संरक्षण, विकास र प्रवर्द्धनमा लाग्नुपर्नेमा धेरैको जोड छ ।
तुलसीपुर: कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल नै स्थानीयका लागि आवतजावतको विकल्प थियो । यही पुलले नै राप्ती नदीमा डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नबाट छुट्कारा दिएको थियो । अचेल त्यही पुल प्रयोगविहीन बनेको छ । करिब एकसय मिटर नजिकै पक्की मोटरेवल पुल बनेपछि झोलुङ्गे पुल प्रयोगविहीन हुन पुगेको स्थानीय शान्तकुमार बुढाले बताउनुभयो । “पहिले यही पुल नै हाम्रो लागि नदी वारपार गर्ने माध्यम थियो । त्यसताका बरदानजस्तै बनेको थियो झोलुङ्गे पुल”, उहाँले भन्नुभयो, “तर अचेल नजिकै मोटरेवल पुल बनेपछि प्रयोगविहीन हुन पुगेको छ ।” विगतमा राजपुर गाउँपालिकासँग राजमार्ग नजोडिएकाले यही पुलले सम्बन्ध जोडेको थियो । हाल प्रयोगविहीन भएकाले त्यसलाई अन्य आवश्कता भएको ठाउँमा लैजान सकिएमा त्यसको उपयोगिता हुने स्थानीको भनाइ छ । “धेरै ठाउँमा पुल छैनन्, तर यहाँ एकै ठाउँमा दुईवटा पुल भए । त्यसैले झोलुङ्गे पुल नभएको ठाउँमा लैजान सकिए नागरिकलाई सहज हुन्थ्यो”, बुढाले भन्नुभयो । यहाँ चार वर्षअघि रु ३५ करोडको लागतमा दुई सय ८० मिटर लामो मोटरेवल पुल बनेको छ । उक्त पुल बनेपछि सवारीसाधन सञ्चालन र स्थानीयलाई आवतजावत गर्न सहज भएको छ । यही पुल तरेर हुलाकी राजमार्ग जान सकिन्छ । यहाँ पुल निर्माण भए पनि सडक स्तरवृद्धि भने हुन सकेको छैन ।
पर्वत: वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा मात्र पाइने शालिग्राम नासिएको जनाउँदै सर्वोच्च अदालतले उत्खननमा रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको भएपनि दैनिकजसो नदीमा डोजरले बालुवा निकालिरहेका छन् । अनुगमन समिति निष्क्रिय रहँदा प्राकृतिक स्रोत संरक्षणमा चुनौती थपिएको छ । कुश्मा नगरपालिकाको मालढुङ्गा आसपास, दमुवाखोला, जलजला गाउँपालिकाको लस्ती, मिलनचोक, खनियाघाट, केरावारी, बगरफाँट र मोदीखोलाको दोबिल्लालगायत स्थानमा नदीको धार नै परिवर्तन गरेर उत्खनन गरिएको पाइएको छ । नदीबाट निकालिएको बालुवा, ढुङ्गा, गिट्टी मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, दोबिल्ला–फलेवास सडक किनारमा उरुङ लगाइएको छ । कालीगण्डकी किनारमा मापदण्ड विपरीत सञ्चालन भएका क्रसर उद्योगले लुकिछिपी बालुवाका झिकेर अनधिकृत दोहन गरेका स्थानीय हरेमबहादुर खत्रीले बताउनुभयो । कहिलेकाँही प्रहरीले एकदुई जनालाई पक्राउ गरेर सम्बन्धित पालिकामा बुझाएपनि कारबाही नगर्दा उनीहरू हतोत्साही नभएका उहाँले बताउनुभयो । सर्वोच्च अदालतले कालीगण्डकी धार्मिक आस्थासँग जोडिएकाले यसको दोहन अवैध भएको भन्दै नदीजन्य पदार्थ मेसिन प्रयोग गरेर निकाल्न निषेध गरेको छ । अदालतको आदेशपछि कुश्मा नगरपालिका र जलजला गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन गर्न पाएका छैनन् । गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी मापदण्ड कार्यविधि, २०७५ तयार गरे पनि त्यो पालना भएको छैन । कार्यविधिअनुसार राष्ट्रिय वन, आरक्षण क्षेत्र, संवेदनशील क्षेत्रबाट ढुङ्गा, गिट्टी, बालुवा, माटो, चट्टान, उत्खनन गर्दा ‘डोजर, स्काभेटर, लोडर’जस्ता भारी उपकरण प्रयोग गर्न पाइदैन । कुश्मा नगरपालिकाकी राजश्व शाखा प्रमु डिलकुमारी शर्माले नदी तथा खोलाबाट निर्माण सामाग्री उत्खनन गरेर सडक किनारमा थुपारिएको गुनासोको अनुसन्धान जारी रहेको बताउनुभयो ।
काठमाडौं: उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी व्यवस्थाको अक्षरश: कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ । संविधान दिवस–२०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले संविधानले अङ्गीकार गरेको समावेशी सिद्धान्तको मर्मलाई कहीँकतै र कसैबाट अवहेलना गर्न नहुने बताउनुभयो । उपराष्ट्रपति यादवले संविधानको अक्षर र भावनाले निर्दिष्ट गरेका समाजवाद उन्मुख आर्थिक–सामाजिक प्रणाली तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समानुपातिक समावेशीतालगायत प्रावधानलाई सबैले पालना गर्न सक्नुपर्नेमा जोड दिनुभयमे । “सङ्घ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँड गर्न अझै पनि विलम्ब हुनुले सङ्घीयताप्रति नै वितृष्णा बढेको जस्तो देखिएकाले आगामी दिनमा सङ्घीय प्रणालीलाई संस्थागत गर्दै प्रदेशलाई संविधानसम्मत अधिकारसम्पन्न गराउन अतिआवश्यक र अपरिहार्य छ,” उपराष्ट्रपतिले शुभकामना सन्देशमा भन्नुभएको छ । उहाँले संविधानको मर्म र भावनाअनुसार प्रत्येक नेपाली नागरिकलाई स्वदेशमै रोजगारका अवसर प्राप्त हुनेगरी काम गर्न सबैलाई संविधान दिवसले उत्प्रेरित गर्न सकोस् भनी कामनासमेत गर्नुभएको छ । उपराष्ट्रपति यादवले संविधानको प्रस्तावनामै ‘सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य’ उल्लेख हुनु र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहीत हुनुले संविधानको गरिमा र जनताको सर्वोच्चतालाई पुष्टि गरेको उल्लेख गर्नुभएको छ । संविधानले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा पनि परिभाषित गरेको जनाउनुहुँदै उहाँले नेपाली नागरिकलाई न्याय, समानता र स्वतन्त्रताको प्रत्याभूति गर्दै एकता र बन्धुत्व भावलाई बढावा दिने प्रयास संविधानले गरेको उल्लेख गर्नुभएको छ । “सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, समानता र न्यायसम्बन्धी हक तथा शिक्षा, स्वास्थ्य, खाद्य, रोजगार, स्वच्छ वातावरण र सामाजिक न्यायलगायत अधिकार ‘मौलिक हक र कर्तव्य’ मै समावेश गरिनु सकारात्मक त छँदैछ, यसले संवैधानिक उच्चता र गरिमालाई पनि दर्शाउँदछ”, उपराष्ट्रपति यादवले सन्देशमा भन्नुभएको छ । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ पटक–पटक भएका जनआन्दोलन, विद्रोह र अधिकार प्राप्तिका सङ्घर्षका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुभएका सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली, घाइते र अङ्गभङ्ग भएकाप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति यादवले लोकतन्त्र, समावेशीता एवं अग्रगामी परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका सम्पूर्ण अग्रजप्रति सम्मानका साथ संविधानको कार्यान्वयनमार्फत् नेपाली नागरिक र राष्ट्रहित तथा मुलुकको समृद्धि एवं दिगो विकासको शुभकामना व्यक्त गर्नुभएको छ ।
काठमाडौं: सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको आकाङ्क्षाको प्रतिबिम्ब रहेको नेपालको संविधानको इमान्दारितापूर्वक पालना गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । सभामुख घिमिरेले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभयो । “नेपालको संविधानले सबै नागरिकलाई अधिकार प्रदान गरेको छ, हाम्रो संविधान अधिकारको वास्तविक स्रोत हो, संविधान कार्यान्वयनका लागि तत् तत् निकायले आफ्नो कर्तव्य निर्वाह गरेको अवस्थामा अधिकार खोज्न टाढा जानु पर्दैन” शुभकामना सन्देशमा भनिएको छ,“तसर्थ नेपालको संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज हो ।” सभामुख घिमिरेले संविधान बमोजिमका बाँकी कतिपय कार्यभार पूरा गरे पनि केही कानुन निर्माणको चरणमा रहेको र सङ्घीय संसद्ले संविधानको एक तिहाईभन्दा बढी धाराहरू कार्यान्वयनका लागि विभिन्न कानुन निर्माण गरिसकेको उल्लेख गर्नुभयो । सन्देशमा संविधान कार्यान्वयनका लागि प्रदेश तथा स्थानीय तहबाट समेत कानुन बनाइएको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभएको छ, “संविधान दिवसका दिन सम्पूर्ण राजनीतिक शक्तिलाई साझा विन्दुमा उभिएर बाँकी कानुन निर्माणमा समझदारी पहिल्याउन अपिल गर्दछु । संविधान जारी भएको १० वर्ष प्रवेश गरेसँगै संविधान कार्यान्वयनसँग सम्बन्धित अभ्यासहरू भइसकेका छन् । नयाँ संविधान बमोजिम तीनवटै तहका निर्वाचन सम्पन्न भएका छन् । लोकतान्त्रिक मूल्य र सङ्घीयतामा आधारित शासन प्रणालीलाई स्थापित गरेको नेपालको संविधान कार्यान्वयनको चुनौतीपूर्ण अवस्था समेत पार भएको छ ।” सभामुख घिमिरले नेपाललाई लोकतान्त्रिक शासन व्यवस्थासम्म ल्याउन भएका आन्दोलन तथा सङ्घर्षहरूमा आफ्नो जीवनको उत्सर्ग गर्नुहुने सम्पूर्ण शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुभएको छ ।