पोखरा:   फेवातालस्थित फुटट्र्याकमा फोटोग्राफी काम गर्नेसँग रकम उठाई ठगी गरेको प्रकरणमा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पोखरा महानगरपालिका ६ बैदाम बस्ने वर्ष ४० का मिलन पह...

पोखराः आफ्नो थातथलोबाट नेपालीभाषी लखेटिएपछि उनीहरुकै ताँतीमा मिसिएर झापाको बेलडाँगी आइपुगेका भुटानी डाक्टर भम्पा राईको आज बिहान पौने ३ बजे विराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको छ ।    डाक्टर भम्पा ३० वर्षयता दमकमा बस्दै आएका थिए । नेपाल आएपछि भम्पा शरणार्थीहरुलाई देश फर्काउने आन्दोलनमा निरन्तर सक्रिय थिए ।    दुई वर्षअघि श्रीमती उर्मिलाको निधन भएपछि उनी दमकस्थित डेरामा एक्लै बस्दै आएका थिए।   भुटानको साम्चीमा जन्मे–हुर्केका र भुटानी राजपरिवारमा निकटको सम्बन्ध रहेका ७२ वर्षीय राईले सन् १९९१ को मेदेखि झापा जिल्लामा बसोबास थालेका हुन् ।   नेपाल फिर्तीको आन्दोलनका २ खम्बामध्ये एक टेकनाथ रिजालपछि अर्का यिनै भम्पा थिए ।    राई पेटसम्बन्धी रोगबाट पीडित थिए। तीन वर्षअघि आन्द्रा फुटेर रगत बग्दा उनी लामो समय थलिएका थिए। उनी पछिल्लो एक वर्षदेखि हर्नियाबाट पनि पीडित थिए।  

कास्कीः जिल्ला समन्वय समिति कास्किका नवनिर्बाचित प्रमुख लिलाधर पौडेलले श्रमजिवी कृषकको मुद्धालाई सम्बोधन गर्ने जनाएका छन् । कृषकको समस्यालाई समाधान गर्न हालसम्म कुनैपनि सरकारले चासो नदिएको भन्दै प्रमुख पौडेलले अब आफु त्यसको लागि अघि बढ्ने बताए ।    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी सुपरजोन संचालन समन्वय समिति पोखराको तेश्रो साधारणमा बोल्दै उनले चुनाब अगाडि आफू र आफ्नो दलले गरेका प्रतिबद्धता पूरा गर्न  हरेक तहका सरकारहरु बिच परिणामुखी समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्दै कृषकहरूको जिबनस्तर उकास्ने गरि योजना र कार्यक्रम ल्याउन लागि पर्ने बताए ।     उनले श्रमप्रतिको कदर र सम्मान नै देश बिकासको पहिलो पुर्बाधार भएको जिकिर गरे। कृषकहरुलाई पुर्ण व्यावसायिक बन्न आग्रह गर्दै समयमा मल ,बीउ नपाउने समस्याको सदाका लागि अन्त्य गर्न पहल गर्ने उल्लेख गरे।     काम  र श्रमको कदर हुने अबस्था निर्माण गर्ने बताएका छन् । पौडेलले देशमा अनेकन परिबर्तनहरु भए पनि कृषकहरुका समस्या पूर्णरुपमा सम्बोधन हुन नसकेकोतर्फ इङ्गित गर्दै कास्किमा आफुहरुको टिम आएपछि श्रमजिबी कृषकको मुद्धालाई आफ्नो ठाँउबाट प्रभाबकारी ढंगले अघि बढाउन योजनासहित काम गर्ने उल्लेख गरे ।  कार्यक्रममा गण्डकी प्रदेशका  कृषि बिकास निर्देशक बासुदेब रेग्मी, पूर्ब निर्देशक बेनीबहादुर बस्नेत, कृषिविज्ञ बिरेन्द्र हमाल, पोखरा महानगर कृषि तथा महाशाखा प्रमुख मनोहर कडरीयालगायतले बोलेका थिए।   

काठमाडौँ :      नयाँ शैक्षिकसत्र लागेदेखि हालसम्म पनि पाठ्ययपुस्तक अभावका गुनासो अन्त्य भएको छैन । नेपाल सरकारको जिम्मेवार निकाय भने कुन जिल्लाका कुन विद्यालयमा कति पाठ्यपुस्तक अपुग भएको भन्ने सूचना मागिरहेको छ ।   विद्यालय तहका पाठ्यपुस्तक निःशुल्क उपलब्ध हुने व्यवस्थाबमोजिम कक्षा १ देखि ३ सम्म निजी क्षेत्रका मुद्रण व्यावसायी र कक्षा ४ देखि १० सम्म सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले उत्पादन र वितरणको जिम्मेवारी पाएका छन् ।    निजी क्षेत्रले माथिल्लो तहका पाठ्यपुस्तक पनि छपाइ गरिरहेका छन् । विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाएको विषय सङ्घीय संसद् र सञ्चारमाध्यममा दैनिकजसो उठिरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्र भने आफूले छाप्न बाँकी रहेकाबाहेक छापिइसकेका पुुस्तक पनि सम्बन्धित विद्यालयमा नपुगेको जनाइरहेका छन् ।    मन्त्रालयका सचिव एवं केन्द्रको सञ्चालक समितिका यादवप्रसाद कोइरालाले आज केन्द्रका अधिकारीलाई अपुग भएका क्षेत्रबाट तथ्याङ्क लिएर छिटोछरितोरुपमा बिक्रीवितरण गर्न निर्देशन दिनुभएको छ । चालू शैक्षिकसत्रका लागि कक्षा ४ देखि १० सम्म कूल एक करोड ९८ लाख थान पाठ्यपुस्तक छपाइको लक्ष्य लिइएकामा आजसम्म १ करोड ८० लाख थान (करिब ९० प्रतिशत) उत्पादन भइकेको केन्द्रको भनाइ छ । छपाइ भइसकेकामध्ये कतिपय पुस्तक ढुवानीका क्रममा रहेको र विद्यालयमा पुग्न बाँकी रहेकाले नपुग भएको गुनासो आएको केन्द्रका प्रवक्ता चित्र आचार्यले बताउनुभयो ।    दैनिक एक लाख पाठ्यपुस्तक उत्पादन गर्दै आएको केन्द्रबाट आज मात्रै सुर्खेत र चितवनका लागि पाठ्यपुस्तक ढुवानी भएको छ । आचार्यले अबको १५ दिन (असार १० गतेभित्र)  बाँकी सबै (करिब १५ लाख थान) पुस्तक छपाइ सम्पन्न गरिने जनाउँदै बजारमा समानुपातिक वितरण नहुँदा यो समस्या आएको बताउनुभयो । हाल कक्षा ६ र ८ का सामाजिक, अङ्ग्रेजी र नेपाली विषयका पुस्तक बढी अभाव देखिएको छ । ती पुस्तक निजी क्षेत्रले पनि उत्पादन गरेकाले केन्द्र र निजी क्षेत्रबीचको समन्वय नहुँदा कहाँ कति विद्यार्थीका लागि कसले कति उत्पादन र वितरण गर्ने भन्ने तथ्याङ्कको अभाव पनि देखिएको छ ।    कक्षा ५, ८ र १० का पाठ्यपुस्तक आगामी शैक्षिकसत्रमा परिवर्तन (कोर्स आउट) हुने भएकाले पनि केन्द्रले भण्डारमा नरहने गरी यस वर्षका लागि आवश्यक सङ्ख्यामा मात्रै उत्पादन गरिरहेको छ । यस्तै पाठ्यक्रम विकास केन्द्रबाट कक्षा ४, ७ र ९ का अनुदित (अंग्रेजी माध्यम) का पाठ्यपुस्तकको मुद्रणीयप्रति (सिआरसी) प्राप्त नभएकाले पनि माग भए पनि आफूहरुले अनुदित पुस्तक दिन नसकिएको केन्द्रको भनाइ छ । सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पनि पढाइ हुन थालेको र कति विद्यालयमा अनुदित पुस्तक चाहिने भन्ने तथ्याङ्क पनि सरकारी नियकासँग उपलब्ध छैन ।   कतिपय सन्दर्भमा स्थानीय बिक्रेताले केन्द्रका प्रादेशिक कार्यालयबाट समयमा नलैजाने, बिक्रेतासँग उपलब्ध हुँदाहुँदै पनि विद्यालयले समयमा खरिद नगर्नेजस्ता कारणले विगतमा पनि विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाएको देखिन्छ ।   केन्द्रले सार्वजनिक सूचना जारी गरी स्थानीय बिक्रेताकोमा पाठ्यपुस्तक उपलब्ध नभए कक्षा र विषय खुलाइ स्थानीय बिक्रेतामार्फत् केन्द्रका प्रादेशिक कार्यालयका साथै सम्बन्धित तह, शिक्षा विकास तथा समन्वय इकाइ र जनक शिक्षाको केन्द्रीय कार्यालय सानोठिमीमा जानकारी गराउन आग्रह गरेको छ ।    केन्द्रले स्थानीय बिक्रेतामार्फत ७७ वटै जिल्लामा कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक ढुवानी गरी यही जेठ ५ गतेदेखि बिक्री वितरण गर्दै आएको छ । पाठ्यपुस्तक छपाइ र वितरणमा निजी क्षेत्रबाट संलग्न मुद्रण व्यावसायी दीपक भण्डारीले आफूहरुलाई प्राप्त भएको अभावको सूचनाका आधारमा प्रदेशगतरुपमा पनि समन्वय गरी उपलब्ध गराउने गरिएको बताउनुभयो ।    उहाँले हालै आफूले हुम्ला, डोल्पा र विराटनगरमा समन्वय गरी अभावको समस्या समाधान गरेको जनाउनुभयो ।  

म्याग्दी- मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९:५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ ।   विमानमा सवार सबै जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार १० जनाको शव हिजै काठमाडौँ पठाइसकिएको छ भने बाँकी शवलाई समेत घटनास्थलबाट कोवाङमा झारिएको छ ।   दुर्घटनास्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।   कोबाङमा ल्याइएका १२ जनाको शवलाई समेत नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको छ । तारा एयरको जहाज हराएको १९ घण्टापछि हिजो बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।   भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव सङ्कलन र उद्धार गरेका थिए ।   हिजो बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गर्नुभएको थियो । उहाँले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाइदिनुभएको थियो ।

काठमाडौँ, स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि देशभरका ७५३ पालिकाका सबै मतदान केन्द्रमा मतदान सामग्री पुगेको छ । निर्वाचन कार्यक्रमबमोजिम वैशाख ३० गते हुने मतदानभन्दा तीन दिनअघि पुग्नुपर्ने भएकाले ७५३ पालिकाका १० हजार ७५६ मतदान स्थलमा मतदान अधिकृतसहितको सामग्री पुगेको निर्वाचन आयोगले जनाएको छ ।   आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले “मतदान अधिकृत र सामग्री नपुगेको कतैबाट जानकारी नआएकाले निर्वाचन कार्यक्रमबमोजिम मङ्गलबार नै मतदान केन्द्रसँग सम्बन्धित काम अगाडि बढेको” जानकारी दिनुभयो । आयोगको कार्यक्रमबमोजिम वैशाख २७ गते २१ हजार ९५५ वटै मतदान केन्द्रमा मतदान अधिकृत पुगिसक्नु पर्नेछ । देशभरका मतदान केन्द्रमा एक लाख नौ हजार ८८ कर्मचारी र ६५ हजार ८६५ स्वयंसेवक परिचालन हुनेछन् ।   मौन अवधि मङ्गलबार मध्यरातिबाट सुरु भएको छ । त्यसअघि मतदान अधिकृतले सोही दिन मतदान केन्द्र तोकिएको सूचना प्रकाशित गर्नेसहित पाँचवटा अनुसूचीबमोजिमको गतिविधिलाई पूर्णता दिएका छन् । निर्देशिका अनुसार मतदान केन्द्र÷मतगणना स्थल रहेको ठाउँको वरिपरि हातहतियार लिएर हिँड्न निषेध गरेको, प्रचारप्रसार गर्न निषेध गरेको, मतदान केन्द्र रहेको ठाउँको वरिपरि शान्ति भङ्ग  नगर्ने   तथा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशित गरेका छन् । बूढानीलकण्ठ नगरपालिकाका सहायक निर्वाचन अधिकृत गणेश पौडेलले पालिकाअन्तर्गतका सबै मतदान केन्द्रमा पाँचवटै सूचना जारी गरी बुधबार सर्वपक्षीय बैठकको तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले बुधबार र बिहीबार मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा कार्यक्रम गरिने बताउनुभयो ।    काठमाडौँसहित सुगम मतदान स्थलमा भने निर्वाचनको पूर्वसन्ध्यामा बिहीबार मात्रै मतपत्र पु-याइनेछ । आयोगका प्रवक्ता पौडेलले भन्नुभयो, “काठमाडौँसहित अन्य सुगम मतदान केन्द्रमा समेत बिहीबार मात्रै मतपत्र लगिनेछ ।”   छाङ्रु, तिङ्कर र दुम्लिङ पुगे मतदान अधिकृत मतदान केन्द्र पुग्न सबैभन्दा कठिन मानिएको दार्चुलाको व्यास गाउँपालिका अन्तर्गत सबै मतदान केन्द्रमा मतदान अधिकृत मतदान सामग्री लिएर पुगेका छन् । व्यास गाउँपालिकाका निर्वाचन अधिकृत कौशल ज्ञवालीले छाङ्रु र तिङ्करस्थित मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरबाट सोमबार नै मतदान अधिकृत र सामग्री पु¥याइएको जानकारी दिनुभयो ।    “पैदल हिँडेर पुग्नुपर्ने दुम्लिङ केन्द्रमा समेत मङ्गलबार राति ९ बजे मतदान अधिकृत सामग्री लिएर पुगेका छन्,” उहाँले थप्नुभयो । व्यास गाउँपालिकाको केन्द्रबाट छ घण्टा पैदल हिँडेर मतदान अधिकृतसहितको टोली दुम्लिङसम्मको यात्रा तय गरेको निर्वाचन अधिकृत ज्ञवालीले बताउनुभयो । सात हजार ८०४ मतदाता रहेको व्यास गाउँपालिका अन्तर्गत ११ मतदान स्थलमा १३ वटा केन्द्र तोकिएका छन् ।    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता रहेका सबै मतदान केन्द्रमा मतदान हुने प्रस्ट्याउनुभएको छ । कालापानी र लिम्पियाधुरामा मतदान हुन्छ त ? भन्ने जिज्ञासामा प्रमुख आयुक्त थपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका छ हजार ७४३ वडाको मतदाता नामावलीमा नाम हुने सबै केन्द्रमा आयोगले मतदान हुने गरी व्यवस्था गरेको जानकारी दिनुभयो । निर्वाचन अधिकृत ज्ञवालीले सबै मतदान केन्द्रमा मतदान अधिकृत, मतपत्र र मतपेटिकासहित ५७ प्रकारका सामग्री पुगेको प्रस्ट्याउनुभयो ।  

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।   निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधि हो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको जनाएको छ । मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आयोगले निर्वाचनका लागि जारी गरेको निर्वाचन आचारसंहितामा उल्लेख छ ।   आचारसंहितामा मौनअवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रात सङ्गठन वा सम्बन्धित व्यक्तिले आचरणपालना गर्नुपर्ने विषयबारे उल्लेख छ । यसैगरी मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । साथै यस अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन ।   सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख छ । मौन अवधिमा प्रचारप्रसारका सबै गतिविधि बन्द हुने र यसको निगरानीका लागि आयोग आफैँ, सुरक्षा निकाय र मुलुकका विभिन्न मुख्य स्थानमा १८ सहसचिवको नेतृत्वमा टोली खटिएको उहाँले बताउनुभयो । यसबाहेक निगरानीका लागि जिल्लामा मुख्य अधिकृतको नेतृत्वमा संयन्त्र र पालिकामा निर्वाचन अधिकृतको नेतृत्वमा संयन्त्र छ ।   मौन अवधि उल्लङ्घन गर्नेलाई आयोगले रु एक लाखसम्म जरिवाना तथा उम्मेदवारी रद्द गर्न सक्नेसम्मको सजायको निर्णय गर्न सक्ने अधिकार रहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

एजेन्सी: कञ्चनजंघा हिमाल आरोहणकाक्रममा भारतीय नागरिक नारायण अयरको बिहीबार साँझ मृत्यु भएको बताइएको छ ।    ८ हजार २०० मिटर अग्लो विश्वको तेस्रो हिमालको चुचुरो नजिक पुगेका अयरको साँझ मृत्यु भएको पायोनियर एडभेञ्चरका अध्यक्ष पासाङ शेर्पाले जनाएका छन् ।   आरोहणकाक्रममा स्वास्थ्यवस्था बिग्रिएपछि तल झर्न गरेको आग्रहलाई अटेर गर्दा उनको मृत्यु भएको एडभेञ्चरले जनाएको छ ।    ५२ वर्षीय अयर महाराष्ट्र निवासी हुन् । 

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिजो काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा लगातारजस्तो मेघगर्जन र चट्याङसहित पानी परेको थियो ।   वर्षाका कारण हिजो धैरेजसो खोला नालामा बाढी आएको थियो । मौसमविद्का अनुसार हिजो सबैभन्दा धेरै लुम्बिनी प्रदेशको दाङमा पानी परेको छ ।   आज पनि स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ।   मौसम पूर्वानुमान महाशाखाका अनुसार मेघगर्जनसहित पानी पर्ने अनुमान छ । राति भने पहाडीसहित तराईका जिल्लामा समेत वर्षा हुने मौसमविद्ले बताएका छन् ।

बाराः जिल्ला प्रहरी कार्यालय बाराको टोलीले बिहीबार डेढ सय किलो गाँजासहित २ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।    बाराको मटिअर्वा चौकीबाट खटिएको गस्तीले निलकण्ठवा नजिक नेपाल भारत सिमाना वरपर करिब दर्जन व्यक्ति गाँजा ओसारपसार गरेको देखेपछि नियन्त्रणमा लिन सुरु गरेको थियो ।   सोही क्रममा समूहले गाँजा फालि भाग्ने प्रयास गर्दा प्रहरीले २ जनालाई पक्रन सफल भएको छ ।    प्रहरीले उनीहरुबाट प्रति बोरा १५ किलोको दरले १० बोरा गाँजा नियन्त्रणमा लिएको हो ।   जिप्रका बाराका अनुसार पक्राउ पर्नेमा भारत बिहारको मोतिाहारीस्थित संग्रामपुर निवासी ६० वर्षीय रामदर्शन महतो र सोही ठेगानाका ३५ वर्षीय अजित पासवान रहेका छन् ।    पक्राउ परेको दुबैलाई प्रहरीले बारा जिल्ला अदालतबाट बिहीबारै लागुऔषध मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।