काठमाडौं:  गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।  आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु। ९०० र चाँदीे रु। ६५ ले बढेको हो ।  नेपाल सुनच...

गण्डकी: गण्डकी प्रदेश सरकारले आगामी १ गते आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दैछ । तर सरकारकै घटक जनता समाजवादी पार्टी (जसपा)ले भने त्यसको विरोध गरिरहेको छ ।    उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री रहेका जसपाका नेता हरिशरण आचार्यले आज संसदीय कार्यालयको कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै आगामी बजेट ढोकाबाट नभई झ्यालबाट आउन लागेको कटाक्ष गरेका छन् ।    अघिल्लो वर्ष अर्थात् चालू बजेटमा १२ दशमलब ६ प्रतिशत छुट्याइएपनि आगामी बजेटमा मन्त्रालयलाई ६ दशमलब ३ प्रतिशतमात्रै बजेट छुट्याउन लागेको सूचना पाएको भन्दै उनले विरोध गरेका हुन् । मन्त्री आचार्यले भने ‘यो बजेट गैरकानूनी तवरमा आउँदैछ, ढोकाबाट आउनुपर्ने बजेट झ्यालबाट आउन लागेकोमा हाम्रो आपत्ति हो ।    सरकारले बजेट विनियोजन गर्ने छलफलमा एकाधिकार जमाएको प्रति उनले रोष प्रकट गरेको छ । त्यसो त बजेटको नीति तथा कार्यक्रमबारे आयोजित कार्यक्रमलाई जसपाले बहिष्कार गरेको थियो । उक्त बहिष्कारलाई जसपाले ‘भद्र अवज्ञा’को नाम दिएको छ ।    मन्त्री आचार्यले गण्डकीको चालू बजेट ३० अर्ब रुपैयाँ रहेको र अब अनुमानित ३६ अर्ब रुपैयाँको बजेट आउन लागेको जानकारी दिँदै रकम बढेपनि मन्त्रालयलाई झन् कम बजेट दिन लागिएको जनाए ।    उनका अनुसार हाल आउने बजेटमा झण्डै आधा प्रतिशत कममात्र मन्त्रालयले पाउनेछ । ‘पहिले भन्दा अहिले योजनाहरु बढेका छन्’ आचार्यले भने ‘अबको कार्यक्रममा करिब १ हजार ८६० योजना छन्, जसलाई २० लाख रुपैयाँकादरले बजेट विनियोजन गर्दा पनि ३ अर्ब ७२ करोड रुपैयाँ छुट्याउनुपर्ने हुन्छ ।’   तर आगामी बजेटमा मन्त्रालयलाई बढीमा २ अर्ब रुपैयाँमात्र विनियोजन हुने सूचना पाएको आचार्यको दाबी छ ।    यससँगै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले २ अर्ब रुपैयाँ आफैसँग राख्ने हिसाबले बजेटको बाँडफाँड गर्न लागेको भन्दै यस बजेटलाई उनले 'लाजमर्दाे र नौटंकी'को संज्ञा दिएका छन् ।    ‘प्रदेश सरकारले आगामी बजेटलाई गलत ढंगले प्रस्तुत गर्न लागेको छ, मुख्यमन्त्रीले बजेटको खिल्ली उडाउँदैछन्’ आचार्यले भने ।    यसैबीच, सरकारमा रहेर सरकारकै विरोध गरिएकोबारे प्रश्न सोध्दा उनले जसपा जनताको पार्टी भएको र जनताको आवाज सँधै उठाइरहने जवाफ फर्काए । उनले जबर्जस्ती बजेट ल्याए कार्यान्वयन तहमा अवरोध गर्ने समेत स्पष्ट पारेका छन् ।   मुख्यमन्त्री र अर्थमन्त्रीको हालिमुहालीविरुद्ध केही सांसदले राजीनामा दिएको दाबी गर्दै आचार्यले जसपा पनि सरकारमा बसिरहन नचाहेको उल्लेख गरे ।    उनले भनेका छन् ‘नीति तथा कार्यक्रममा मुख्यमन्त्रीले बिरालो बाँधेर श्राद्ध गरेका छन् ।’  

काठमाडौँ :       एउटा कोठाबाट सुरु भएको संस्थाले वार्षिक करिब रु एक खर्बभन्दा बढीको विप्रेषण भित्र्याउँछ, भन्दा सामान्य मानिसले पत्याउँदैन । आइएमई लिमिटेडले पछिल्ला दिनमा वार्षिक रुपमा रु एक खर्ब वा सोभन्दा बढी विप्रेषण भित्र्याएर मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्याएको छ ।       पछिल्ला दिनमा विप्रेषण भित्रनेक्रम पनि उत्तिकै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको १० महिनामा मात्रै कूल रु आठ खर्ब ११ अर्ब ७९ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ ।       देशभित्र भित्रिएको विप्रेषण अनुत्पादक क्षेत्रमा मात्रै खर्च भइरहेको र त्यसले आर्थिक विकासमा ध्यान दिन नसकेको टिप्पणी भइरहेका बेला आइएमई लिमिटेडका अध्यक्षसमेत रहनुभएका नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भन्नुभयो, “यसलाई उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, रोजगारीको विकास र विस्तारका लागि प्रयोग गर्नुपर्छ ।” अध्यक्ष ढकालले आफ्नो कम्पनीले प्रत्यक्षरुपमा ४० हजारलाई रोजगारी दिएकोसमेत जानकारी दिनुभयो ।       आफूहरुले संस्था सुरु गर्ने बेला विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले गरेको नीतिगत प्रावधानले सहज भएको उहाँले जानकारी दिनुभयो । अनौपचारिकरुपमा भित्रिँदै आएको विप्रेषण सुरुआती चरणमा आफूहरुकै पहलमार्फत औपचारिकरुपमा आउन थालेको तथ्य पेश गर्दै उहाँले सरकारले लिने सही नीतिले मुलुकको समृद्धि तथा आर्थिक विकासमा महत्वपूर्ण प्रभाव पर्ने बताउनुभयो ।       आइएमई लिमिटेडको २२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले आर्थिक विकासका लागि सरकारसँग मिलेर आफूहरु काम गरिरहेको उल्लेख गर्नुभयो ।    वैधानिक माध्यमबाट विप्रेषण भित्र्याउन यस्ता संस्था सबल बन्नुपर्छ :  अर्थमन्त्री       अर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको बजेट कार्यान्वयनमा प्रश्न उठेको भन्दै हरेक क्षेत्रले आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउनुभयो ।       उहाँले आर्थिक अस्थिरताबाट स्थिरतातर्फ लाने र मुलुक तथा नागरिकको आवश्यकताका आधारमा बजेट निमार्ण भएकाले यसको कार्यान्वयमा सबैले एकताबद्ध भएर लाग्नुपर्ने उल्लेख गर्नुभयो ।      विप्रेषण वैधानिक प्रणालीमार्फत भित्र्याउन सरकार लागिपरेको सन्दर्भ जोड्दै उहाँले अवैधानिक गतिविधिलाई नियन्त्रण गर्न आइएमई जस्ता संस्थाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । मुलुुकको अर्थतन्त्रको ठूलो हिस्सा समेटेको विप्रेषणलाई व्यवस्थित बनाउन आइएमईले महत्वपूर्ण योेगदान दिएको अर्थमन्त्री शर्माको भनाइ छ ।       उहाँले भन्नुभयो, “हुन्डी कारोबारलाई हतोत्साही बनाउँदै यस्ता संस्थाले विदेशमा श्रम बेचेर कमाएको पैसा स्वदेशमा पठाउन महत्वपूर्ण भूमिका खेलेको छ, आइएमई जस्ता संस्था अझ सशक्त हुनुपर्छ ।”      अझै पनि विदेशबाट अनौपचारिक माध्यमबाट पैसा आइरहेकोे अवस्थामा त्यसको रोकथाममा यस्ता संस्थाले आफ्ना सेवा विस्तारका साथै प्रविधिको उच्चतम् प्रयोग गरी औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउन पहल गर्नुपर्नेमा मन्त्री शर्माको भनाइ छ ।       अर्थमन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तिमा रेमिट कम्पनीको भूमिका उल्लेखनीय भएको बताउनुभयो । “विप्रेषणले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ, यसले गरिबी निवारण गर्ने सरकारको पहलकदमीमा पनि धेरै मद्दत मिलेको छ”, उहाँले भन्नुभयो, “विदेशमा रहेका नेपालीको कमाई सुरक्षित रुपमा नेपाल पठाउने माध्यम रेमिट कम्पनी बनिरहेका छन् ।”     विप्रेषणको ठूलो रकम उपभोगमा खर्च भइरहेको र आउँदा दिनमा ठूला पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्ने खाँचो रहेको उहाँले बताउनुभयो । आर्थिक वर्ष ०७९/८० को बजेटले पनि रेमिट्यान्सका माध्यमबाट वैदेशिक मुद्रा भित्र्याउने धेरै विषयलाई सम्बोधन गरेको उहाँले जानकारी दिनुभयो ।       “बजेटले रेमिट्यान्सबाट आएको पैसा मात्रै ल्याउने उद्देश्य राखेको छैन, अहिले सामान्य प्रणालीमा आइरहेको वैदेशिक मुद्रालाई एक कदम अघि बढेर विशेषरुपमा विदेशी मुद्रा भित्र्याउने भनिएको छ”, उहाँले भन्नुभयो, “यो भनेको हामीसँग भएको स्रोत, साधनको उत्पादन वृद्धि र प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने र विदेशी मुद्राको आर्जन गर्ने भन्ने हो ।”      श्रम बेचेर पैसा कमाइरहेको परिस्थितिलाई परिवर्तन गर्ने गरी आगामी आबको बजेटले उत्पादन बेचेर विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य राखेको उहाँले बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्रमा हाल देखिएको तरलता व्यवस्थापनको समस्या समाधान गर्न आगामी मौद्रिक नीतिले नीतिगत सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।      उहाँले विभिन्न क्षेत्रमा लगानी भित्र्याइ देशभित्र उपलब्ध पूँजीको परिचालन गरी तरलता सहज बनाउने दृढता व्यक्त गर्नुभयो । मन्त्री शर्माले कृषि, उद्योग तथा सेवा क्षेत्रको प्रवद्धन गरी स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्नसक्ने नीति सरकारले राखेको जनाउँदै यस्ता क्षेत्रको विकासमा सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले मुलुकको आर्थिक विकास तथा समृद्धिमा उत्पादनका साधनको प्रयोग महत्वपूर्ण हुनेहुँदा यस्ता साधनको उच्चतम प्रयोगमा जोड दिनुभयो ।      मुलुक बाहिरको कमाई औपचारिक माध्यमबाट भित्र्याउन सरकारले नीतिगत क्षेत्रमा समयसापेक्ष सुधार गर्ने जनाउँदै उहाँले मुलुकमा लगानी भित्र्याउनका साथै विदेशमा श्रम गरिरहेकाका लागि प्राथमिक शेयर निश्कासनमा कोटा छुट्याउनेदेखि विदेशमा बस्ने नेपालीलाई डलर खाता खोल्ने नीति कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।     कार्यक्रममा मुख्य सचिव शङ्करदास बैरागीले औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउन आइएमई जस्ता संस्थाको महत्वपूर्ण भूमिका रहेको जनाउँदै यसले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको बताउनुभयो ।       कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले आइएमई लिमिटेडले विदेशी मुद्रा भित्र्याउने संस्कृतिमा रुपान्तरण गरेको बताउनुभयो । उहाँले गास, बास र कपासका लागि रेमिट्यान्सको रकम बढी खपत भइरहेकामा आउँदा दिनमा पूँजी निर्माणमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।      “रेमिट्यान्सको पैसा व्यक्तिगत खपतमा बढी प्रयोग हुने गरेको देखिन्छ, पहिले त गास, बास र कपासको व्यवस्थापन नै गर्ने हो”, उहाँले भन्नुभयो, “आउँदा दिनमा भने रेमिट्यान्सको पैसा राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता छ ।” 

काठमाण्डौँः      चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म विप्रेषण आप्रवाहमा सामान्य सुधार भएको छ । पछिल्ला दिनमा विदेशीको मुद्राको सञ्चितिमा दबाव परिरहेको बेला विप्रेषण आप्रवाहमा भएको वृद्धिले सकारात्मक सन्देश प्रवाह भएको छ ।   नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको १० महिनाको आर्थिक विवरणअनुसार विप्रेषण आप्रवाहमा ०.२ प्रतिशतले वृद्धि भएको छ । बैंकका अनुसार वैशाख मसान्तसम्म रु आठ खर्ब ११ अर्ब ७९ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ ।   सरकारले विप्रेषण पठाउनेलाई विशेष सुविधाका कार्यक्रम सार्वजनिक गरेपछि सकारात्मक प्रभाव पर्न थालेको हो । सरकारले विप्रेषण पठाउनेलाई साधारण शेयरमा कोटा लागू गर्नेलगायतका केही नीतिगत निर्णय गरेको छ ।   अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भई दुई लाख ७८ हजार २९८ पुगेको छ ।   अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६८.४ प्रतिशतले घटेको थियो । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १८५.५ प्रतिशतले वृद्धि भई दुई लाख ३० हजार ४६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५४ प्रतिशतले घटेको थियो ।   सो अवधिमा खुद ट्रान्सफर ०.०१ प्रतिशतले वृद्धि भई रु नौ खर्ब तीन अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो ।   

काठमाण्डौँ :      धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि एक दिनमात्रै उकालो लागेको नेप्से परिसूचक पुनः लगातार ओरालो लागिरहेको छ ।   सोही क्रममा शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक १४ दशमलव ६४ अङ्कले ओरालो लागेर दुई हजार ४८ दशमलव १६ अङ्कमा झरेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ११ अङ्कले ओरालो लागेर ३९२ दशमलव २५ मा सीमित भएको छ । आजको कारोबार रकम हेर्दा त अर्ब पनि पुग्न सकेको छैन ।   बजार पूर्णरूपमा ‘वियरिङ टे«ण्ड’मा गएको देखिन्छ । सरकारले धितोपत्र बजारको समस्या समाधानका लागि लगातार प्रयास गरे पनि बजारले भने त्यसलाई आत्मसात् गर्न नसकेको कारोबारको विवरणले देखाउँछ ।   शुक्रबार कूल २२९ कम्पनीको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर रु ८९ करोड ४१ लाख २४ हजार ११४ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा गिरावट आएको छ । नेप्सेका अनुसार बैंकिङ ४ दशमलव ४३, व्यापार २१ दशमलव ९१, होटल तथा पर्यटन ३४ दशमलव ३२, विकास बैंक ३९ दशमलव १२, जलविद्युत् ७ दशमलव ३७, वित्त १८ दशमलव २८, निर्जीवन बीमा ७९ दशमलव ५७, उत्पादन १०० दशमलव ८७, अन्य २७ दशमलव ९, लघुवित्त २४ दशमलव ७७, जीवन बीमा ७८ दशमलव ९४, सामूहिक लगानी कोष ० दशमलव ०५ र लगानी ० दशमलव ५७ अङ्कले ओरालो लागेको छ ।   कारोबारका आधारमा कुमारी बैंक शीर्षस्थानमा छ । सो बैंकको रु पाँच करोड पाँच लाख ४५ हजार १६८ बराबरको कारोबार भयो । नेपाल इन्भेस्टमेन्ट बैंक रु चार करोड २४ लाख १४ हजार ५९३, मेगा बैंक रु तीन करोड १८ लाख ४४ हजार २७८, शिवम् सिमेन्ट रु तीन करोड १२ लाख ४७ हजार ८९२, एनआइसी एशिया बैंक रु तीन करोड दुई लाख ४१ हजार ७७३  बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।   नेप्सेका अनुसार उपकार लघुवित्त र ग्रीन भेञ्चर्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । बलेफी हाइड्रोपावर ९ दशमलव ९८, लक्ष्मी लघुवित्त वित्तीय संस्था ३ दशमलव ६२ र सनराइज फस्ट म्युचुअल फण्डका लगानीकर्ताले ३ दशमलव १० प्रतिशतले कमाए । त्यस्तै सामुदायिक लघुवित्त ५ दशमलव ७५, युनिलिभर नेपाल ५ दशमलव २५, युनाइटेड इदी मर्दी हाइड्रोपावर ४ दशमलव ९४, नारायणी डेभलपमेन्ट बैंक ४ दशमलव ३४ र मानुषी लघुवित्तका लगानीकर्ताले ३ दशमलव ९५ प्रतिशतले गुमाएका छन् ।

काठमाडौँ :      चालू आर्थिक वर्ष २०७८ ७९ को १० महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.५ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आवको वैशाखसम्मको अवधिमा नेपालको कूल वैदेशिक व्यापार रु १७ खर्ब ७८ अर्ब पुगेको छ ।        कूल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ९.७ र ९०.३ प्रतिशत छ । समीक्षा अवधिमा नेपालको कूल निकासी ५९.८ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७३ अर्ब ३५ करोड तथा कूल पैठारी २८ प्रतिशतले वृद्धि भई रु १६ खर्ब चार अर्ब ६५ करोड पुगेको छ ।       अघिल्लो आवको प्रथम १० महिनाको अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ः११.६ रहेकामा चालू आवको सोही अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ः९.३ रहन आएको छ ।       उक्त अवधिमा नेपालबाट भटमासको तेल, पाम आयल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैँचा, जुट तथा जुटका सामान, तयारी पोशाक, जुस, सूर्यमुखी तेल, अलैँची, ऊनी फेल्टका उत्पादन, कपडा, चिया, पश्मिना शल, कुकुर र बिरालोको आहार (डग च्यू), फलाम तथा फलामका उत्पादन, चाउचाउ, नेपाली हाते कागज, रोजिन र रेजिन एसिड तथा जडीबुटी निकासी भएका छन् ।        भटमासको तेलको निर्यातमा २६.८५ प्रतिशतले वृद्धि भएको छ । रु ४५ अर्ब ३५ करोडको भटमासको तेल निर्यात हुँदा समीक्षा अवधिमा रु ३७ अर्ब ९५ करोडको पाम आयल निर्यात भएको केन्द्रले जनाएको छ ।      समीक्षा अवधिमा यार्न (पोलिष्टर, सूर्ती तथा अन्य) को निर्यातमा ५९.१२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा ऊनी गलैँचा निर्यातमा २८.५६, जुट तथा जुटका उत्पादन निर्यातमा १६.२१ प्रतिशतले वृद्धि भएको छ ।      सोही अवधिमा कुकुर र बिरालोको आहार (डगच्यू)को निर्यातमा ४१.१३ प्रतिशतले वृद्धि भई रु दुई अर्ब ३१ करोड पुगेको केन्द्रले जनाएको छ ।        चालू आवको १० महिनाको अवधिमा प्रशोधित खाद्य तेल (भटमासको तेल, पाम आयल, सूर्यमुखी तेल) को निर्यात कूल निर्यातमा ५०.५३ प्रतिशतको हिस्सा ओगट्दै प्रमुख निर्यातजन्य वस्तुका रुपमा देखापरेको छ । यस अवधिमा प्रशोधित खाद्य तेलको कूल निर्यात रु ८७ अर्ब ६० करोड पुगेको छ । प्रशोधित खाद्य तेलको निर्यातमध्ये भटमासको तेल, पाम आयल तथा सूर्यमुखी तेलको निर्यातको हिस्सा नेपालको कुल निर्यातमा क्रमशः २६.१६, २१.८९ र २.४८ प्रतिशत छ ।        कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अलैँची र चियाको निर्यातमा भने ह्रास आएको छ । समीक्षा अवधिमा अलैँचीको निर्यातमा २९.५३ प्रतिशतले ह्रास आई रु चार अर्ब २२ करोड र चियाको  निर्यातमा १८.२३ प्रतिशतले ह्रास आई रु दुई अर्ब ७६ करोडमा सीमित भएको छ ।      नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा ७२.९ प्रतिशतले वृद्धि भई रु एक खर्ब ३७ अर्ब १८ करोड पुगेको छ । नेपालको कूल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ७३.१२ प्रतिशत रहेकामा चालू आर्थिक वर्षमा सो हिस्सा बढेर ७९.१३ प्रतिशत पुगेको छ ।       नेपालको निर्यातमा ५०.५३ प्रतिशत योगदान राख्ने भटमास, पाम आयल र सूर्यमुखी तेलको निर्यात भारतमा नै भइरहेकाले नेपालको कूल निकासीमा भारततर्फको हिस्सामा यस्तो बढोत्तरी देखिएको हो । संयुक्तराज्य अमेरिका, जर्मनी, टर्की, युके, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, इटाली, जापान, चीन, नेदरलेण्डस्, डेनमार्क, बङ्गलादेशलगायत मुलुकमा नेपाली उत्पादन निर्यात हुँदै आएका छन् ।        चालू आवको प्रथम १० महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयातमा ८१.१ प्रतिशतले वृद्धि भएको छ ।      सो अवधिमा रु दुई खर्ब ५२ अर्ब ९४ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ । समीक्षा अवधिमा फलाम तथा स्टिल र तिनका उत्पादनको आयातमा १३.८, मेशिनरी तथा पार्टस्को आयातमा २२.१, यातायातका साधन र तिनका पार्टपुर्जाको आयातमा ५.३, कच्चा भटमास तेलको आयातमा २५.२ प्रतिशतले वृद्धि भएको छ ।            समीक्षा अवधिमा औषधीको आयातमा १३४.९ प्रतिशतले वृद्धि भएको छ । खोपको आयात भारीमात्रामा हुन गई औषधिको आयातमा यस्तो वृद्धि देखिएको हो । भारत, चीन, इण्डोनेशिया, संयुक्तराज्य अमेरिका, युएई, अर्जेन्टिना,  अष्ट्रेलिया, युक्रेन, मलेशिया, ब्राजिल, बङ्गलादेश, थाइल्याण्ड, क्यानडा तथा  टर्कीबाट प्रमुख रुपमा वस्तु आयात हुने गरेको छ ।        चालू आवको समीक्षा अवधिमा समग्र निकासीमा उल्लेख्य रुपमा सुधार भए पनि पैठारीमा देखिएको वृद्धिका कारण व्यापार घाटामा २४.९ प्रतिशतले वृद्धि भई कूल व्यापार घाटा रु १४ खर्ब ३१ अर्ब ३० करोड पुगेको छ ।

काठमाडौँ:  भारत सरकारले अनुमति दिएकै परिमाणमा विद्युत् निर्यात हुन थालेको छ । अघिल्ला वर्षमा वर्षाको समयमा जडित क्षमताअनुसार नै बिजुली उत्पादन हुँदा खेर जाने गरेको थियो ।   गत मनसुनमा मात्रै ५०० मेगावाट बराबरको बिजुली खेर गएको थियो । त्यसको बजार मूल्यमा हिसाब गर्दा रु पाँच अर्ब बराबर थियो । यस वर्ष भने प्राधिकरणले त्यो समस्या भोग्नुपरेको छैन । सरकारको सार्थक प्रयासका कारण यस वर्ष प्राधिकरणले बिजुली जगेडामा राख्नुपरेको छैन ।   आफ्ना विद्युत् उत्पादनगृह बन्द गरेर निजी क्षेत्रको बिजुली खरिद गर्नुपर्ने बाध्यतासमेत हटेको छ ।   गत वर्ष प्राधिकरणले अर्धजलाशय प्रकृतिका आयोजनाको उत्पादन बन्द गरेर निजी क्षेत्रका आयोजनाबाट बिजुली खरिद गर्नैपर्ने बाध्यताका कारण समस्या भोग्नुपरेको थियो । यसपटक प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नियमित पहल र प्राधिकरणको प्राविधिक तथा अन्य तयारीका कारण सार्थक सफलता प्राप्त भएको छ ।   निर्यातका लागि प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात ३६४ मेगावाट बराबरको बिजुली आजदेखि भारत निर्यात सुरु भएको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् यही जेठ १९ गतेदेखि भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री सुरु गरेको हो ।   भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत् आइएक्स मार्केटमा बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको थियो । गत चैतमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएको थियो ।   त्यसलगत्तै प्राधिकरणले थप चार जलविद्युत्गृहबाट उत्पादित विद्युत् भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो । आजदेखि निजी क्षेत्रको ग्रिन भेन्चर्सकोे लिखु–४ बाट उत्पादित विद्युत् निर्यात भएसँगै स्वीकृति पाएजति विद्युत् भारतीय बजारमा बिक्री सुरु भएको हो ।   प्राधिकरणको स्वामित्वका त्रिशूली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी ‘ए’को १४० मेगावाट, मध्यमस्र्याङ्दीको ६८ मेगावाट, मस्र्याङ्दीको ६७ मेगावाट र निजी क्षेत्रको लिखु–४ बाट उत्पादित ५१ मेगावाट विद्युत् दैनिकरूपमा भारतीय बजारमा निर्यात भइरहेको छ ।   पानी परेसँगै नदीनालामा पानीको बहाव बढेर विद्युत्गृह पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिकरूपमा खपत गरी अतिरिक्त भएको विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत दैनिकरूपमा भारतीय बजारमा निर्यात भइरहेको छ ।   प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्यातका लागि स्वीकृति पाएका सबै आयोजनाको विद्युत् भारतीय बजारमा बिक्री हुन थाल्नु दुई मुलुकबीचको विद्युत् व्यापारका लागि कोशेढुङ्गा भएको जानकारी दिनुभयो । “स्वीकृत क्षमताअनुसारकै विद्युत् निर्यात सुरु भएसँगै दुई मुलुकका प्रधानमन्त्रीले संयुक्तरूपमा जारी गरेको ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र कार्यान्वयनको नयाँ चरणमा प्रवेश गरेको छ, यो दुई मुलुकबीचको विद्युत् व्यापारका लागि एउटा कोशेढुङ्गा हो, यसले दुई मुलुकबीचको व्यापार घाटालाई समेत कम गर्ने छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । आन्तरिकरूपमा खपत गरी अतिरिक्त भएको सबै विद्युत् निर्यात गरिरहेको उहाँले बताउनुभयो ।   यसबाट मुलुकभित्र उत्पादित विद्युत् बिक्री गर्न नसकी खेर फाल्नुपर्ने अवस्था तत्कालका लागि अन्त्य भएको छ ।   आगामी दिनमा थप विद्युत् निर्यातका लागि स्वीकृतिका लागि भारतीय पक्षसँग निरन्तर छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । यसको नतिजा छिट्टै देखिनेमा आशावादी रहेको उहाँको भनाइ छ । उहाँले दुई मुलुकबीचको विद्युत् व्यापारलाई यो चरणसम्म ल्याउन पहल तथा सहयोग गर्ने सम्बद्ध सबै व्यक्ति र निकायलाई धन्यवाद दिनुभयो । आइएक्समा २४ घण्टालाई १५–१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ ।   त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले शुक्रबारका लागि विद्युत्को अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमश: १९.२ रुपैयाँ (१२ भारु) र ३.९९८४ रुपैयाँ (२.४९९ भारु) पाएको छ । औसत मूल्य प्रतियुनिट ११.४२ रुपैयाँ (७.१४ भारु) रहेको छ । भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट)मा विद्युत् बिक्री गरिन्छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युत्को परिमाणसहित बिडमा प्रतिस्पर्धा छ ।   विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युत्को प्रतियुनिट बिक्रीदर तय हुन्छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् निर्यात गरिन्छ ।   प्राधिकरणकातर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभीएन)ले गर्छ । एनभिभीएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ । मुलुकको प्रणालीमा कूल दुई हजार ३०० मेगावाट बराबरको जडित क्षमता पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार हाल कूल आन्तरिक माग एक हजार ६३३ मेगावाट बराबर छ । प्रणालीमा लगातार बिजुली थप भइरहेको छ ।   चालु आवमा कूल ६२१ मेगावाट बिजुली थप भएको छ । केही आयोजनाबाट बिजुली थपिने क्रममा नै छ । आगामी आवमा कूल ७०० मेगावाट बढी बिजुली थप हुने सरकारले प्रक्षेपण गरिएको छ । हाल प्रणालीमा प्राधिकरणको १० हजार ६७७ मेगावाट घण्टा, प्राधिकरणका सहायक कम्पनीबाट ११ हजार २५१ मेगावाट घण्टा, निजी क्षेत्रका आयोजनाबाट १४ हजार ९२२ मेगावाट घण्टा बिजुली उपलब्ध छ । भारततर्फ बिजुली निर्यातको मात्रा बढेपछि टनकपुर बिन्दुबाट भने दुई हजार ८६ मेगावाट घण्टा बराबरको बिजुली आयात भइरहेको छ । पूर्वको बिजुली पश्चिम पठाउने प्रसारण लाइनको क्षमता नभएका कारणले गर्दा टनकपुरबाट बिजुली आयात गर्नु परिरहेको छ ।   पश्चिम क्षेत्रमा ठूला जलविद्युत् आयोजना नभएकाले त्यहाँको आन्तरिक माग धान्नका लागि पनि बिजुली आयात गर्नु परिरहेको छ । प्राधिकरणले कूल ८७ मेगावाट बिजुली आयात गरिरहेको छ । त्यसलाई वर्षाको समयमा रोक्नका लागि पनि पूर्वको बिजुली पश्चिम पठाउने प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध हट्नु पर्छ ।   नवलपरासीको दुम्कीबासमा दुईवटा टावर निर्माणमा स्थानीयवासीले अवरोध गरेका कारण विगत १२ वर्षदेखि निर्माण सम्पन्न हुनसकेको छैन । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लगातार प्रयास गरे पनि सर्वाेच्च अदालतले आवश्यक फैसला नगरिदिँदा प्रसारण लाइन निर्माण हुन नसक्दा नेपालले बिजुली निर्यात गरेको खबर सुनेका पश्चिम नेपालका नागरिक भने खुसी हुनसकेका छैनन् ।

काठमाण्डौँ :        धितोपत्र बजारमा बुधबार भएको हरियाली एक दिन पनि टिक्न सकेन । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से परिसूचक बुधबार भने उच्च अङ्कले उकालो लागेको थियो । तर, आज भने नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ ।     नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६४ अङ्कले ओरालो लागेर दुई हजार ६२.८० मा ओर्लेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०१ अङ्कले घटेर ३९६.३६ मा ओर्लेको छ ।      कूल २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर रु एक अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ३८ अर्ब ४४ करोड ७८ लाख ७० हजार बराबर भएको छ ।     कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने बाँकी रहेको १२ उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । व्यापार २.०६ अङ्कले उकालो लाग्दा बैंकिङ ५.७३, होटल तथा पर्यटन ३९.७१, विकास बैंक ७३.५४, जलविद्युत् ४०.५४, वित्त ३५.९८, निर्जीवन बीमा ६८.२, उत्पादन ४२.६१, अन्य २४.६४, जीवन बीमा २१.३, सामूहिक लगानी कोष ०.०६ र लगानी ०.५ अङ्कले ओरालो लाग्यो ।     नेप्सेका अनुसार कारोबारका आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु छ करोड ७४ लाख ६९ हजार ३०१ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु चार करोड ३२ लाख २२ हजार, अरुण काबेली पावर कम्पनी रु तीन करोड ९८ लाख ९२ हजार ११०, एशियन लाइफ इन्स्योरेन्स रु तनि करोड ९८ लाख ८० हजार ८९३ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु तीन करोड ९५ लाख ७२ हजार ९६२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।      नेप्सेका अनुसार उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै, एनएमबी ५० को ५.२९, मिथिला लघुवित्त ३.९५ र आरबीबी म्युचुअल फण्ड एकका लगानीकर्ताले ३.९२ प्रतिशतले कमाएका छन् ।      नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर ६.६१, सिंगटी हाइड्रो ५.३४, समिट लघुवित्त ५.०३, इमर्जिङ नेपाल ४.३४ र लुम्बिनी विकास बैंकका लगानीकर्ताले ४.३० प्रतिशतले गुमाएका छन् । 

काठमाडौं:  सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।   कम्पनीले आगामी असार २ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु तीन करोड मूल्य बराबरको तीन लाख कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो ।   आयोजनाले प्रभाव पार्ने बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने स्थानीयवासीले आगामी असार १६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार ३१ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ । कम्पनीले बाग्लुङको ताराखोला गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा २.५ मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादनसमेत गरिहेको छ ।   लगानीकर्ताले प्रभु बैंकको ताराखोला तथा गल्कोट शाखा, ग्लोबल आईएई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआइबिएल एस क्यापिटल लिमिटेडको काठमाडौँँबाट शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी इस्युयर’ ग्रेडिङ प्रदान गरेको छ ।

काठमाडौं:  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार १०० तोकिएको छ ।   अघिल्लो दिन प्रतितोला रु ९७ हजार ९०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु २०० ले बढेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ६०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ४०० थियो ।   त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २९० तोकिएको महासङ्घले जनाएको छ ।   अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५४ डलर आसपास कारोबार भइरहेको छ ।