काठमाडौं : छापावाल सुनको मूल्य १ लाख ९ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार २ सयमा कारोबार भएको सुन आज प्रतितोला २ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय कायम भएको छ। यसको मूल्य अघिल्लो दिन १ लाख ८ हजार ७ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३६० मा आएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
काठमाडौं: आइतबार सेयर बजार परिसूचक नेप्से १८ सयको विन्दुमा झरेको छ । केही दिन यता लगातार ओरालो यात्रामा रहेको नेप्से सूचकमा आइतबार थप २६.८७ अंकले घट्दै १८ सय ८८.२७ अंकको विन्दुमा झरेको हो । यसदिन सेन्सेटिभ इन्डेक्स समेत ५.०१ अंकले घट्दै ३५६ अंकको विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । २६ अङ्कमाथिले घटेको बजारमा आज १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको ३७ लाख ५४ हजार कित्ता सेयर कारोबार भएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । माया खोला हाइड्रोपावर कम्पनी र एसियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशतले र ९.९८ प्रतिशतले बढेको छ भने आज जीवन विकास लघुवित्त वित्तीय संस्था, जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था र यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०–१० प्रतिशतले घट्न पुगेको छ ।
काठमाडौं: साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा आठ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
पोखरा: पोखराको न्युरोडमा स्थापित पाल्पा हाउसको औपचारिक उद्घाटन गरिएको छ । शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले संयुक्तरुपमा पाल्पा हाउसको उद्घाटन गरे । सो अवसरमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले पाल्पालीहरुको हरेक कार्य प्रशंसनीय भएको बताए । उनले पोखरा महानगरले बनाउन लागेको डिजिटल नक्सामा पाल्पा हाउसलाई पनि समेट्ने प्रतिबद्धता जनाए । उनले रानीमहलको झल्को दिने पाल्पा हाउस पोखरा र पाल्पाको समेत प्रेमको प्रतीक भएकोले सधैंभर सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरे । तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले शिक्षा, आर्थिक, सामाजिक लगायतका कार्यमा पाल्पाली समाज पोखराको कार्य प्रशंसनीय भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पाल्पाको गरिमा बढाउने गरी पाल्पालीहरुले गरेको कार्यको सिको अरुले पनि गर्नुपर्ने बताए । उनले पाल्पा हाउसमा सहजताका लागि विभिन्न उत्पादनहरुको सूचना केन्द्र खडा गर्नुपर्ने सुझाव पनि दिए । पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्य, पाल्पाली समाज पोखराका अध्यक्ष रेशम रचक थापा, पाल्पा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पाल्पाली समाजका पूर्व अध्यक्ष नारायणप्रसाद पौडेल, कम्पनी सचिव श्रीधर पराजुली लगायतले पाल्पा र पोखराको पर्यटनसहित आर्थिक गतिविधिमा पाल्पा हाउसले ठूलो महत्व राख्ने बताए । करिब २ करोड लागतमा संचालित पाल्पा हाउसको समुद्घाटनसँगै शुक्रबारदेखि नै यहाँबाट रानीमहल रेष्टुरेन्ट, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था, ढाका तथा करुवा बिक्री कक्ष, काठमाडौं टप टेलर्स, बिस्रोम अप्टिकल, सुविता फेसन कर्नर, एसएम क्लसेट, सरिना फेसन क्रियसन एन्ड बुटिक सप लगायतले पनि कारोबार शुभारम्भ गरेका छन् । मूलतः पाल्पाका उत्पादन पोखरामा एकै थलोमा बिक्री गर्ने उद्देश्यले संचालित पाल्पा हाउसमा १७ सटरमा विभिन्न खालका पसल संचालित छन् । पाल्पाली ढाका, करुवा यही पाइनेछ भने कृषिजन्य उत्पादनहरु एकैथलोमा उपलब्ध गराउनेछ । कम्पनीले रानीमहल रेष्टुरेन्टबाट पाल्पाली परिकार चुकाउनी, बटुक, छोइला लगायत पस्किने छ । नयाँ र नौलोस्वरुपमा पाल्पा हाउस निर्माणका निम्ति पाल्पाली समाज पोखरा र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाले पहल गरेका हुन् । पाल्पा हाउसमा ७० जना शेयर सदस्य छन् । उद्घाटन अवसरमा विभिन्न सेवामा छुट दिइएको कम्पनी अध्यक्ष घिमिरेले बताए ।
काठमाडौं : सुनको मूल्य आझ फेरि उकालो लागेको छ। अघिल्लो कारोबार दिन बिहीबार १२ सय रुपैयाँले बढेको सुन आज ८ सयले बढेको हो। यसअघि चैत्र ५ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८०० पुगेको हो। यस्तै तेजाबी सुन १ लाख ९ हजार ३०० पुगेको छ। आज चाँदीको मूल्य स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो। रूस–युक्रेनको युद्ध सुरु भएसँगै बढ्न थालेको सुनको मूल्य दिनप्रतिदिन महँगो हुँदै गएको सरोकारवालाको भनाइ छ। द्वन्द्व,अस्थिरता र अराजक गतिविधि बढ्दै गएमा मानिसले सम्पत्ति सुरक्षित गर्ने क्रममा सुन किन्ने हुँदा मूल्य बढ्ने प्रवृत्ति छ। अन्तर्राष्ट्रिय स्तरमै सुनको मूल्य अत्यधिक बढ्न थालेकाले तुलनात्मक रूपमा यसको प्रभाव नेपालमा पनि परेको हो।
काठमाडौँ: साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १८ अंकमाथिले घटेको छ । यसदिन नेप्से सूचक १८.१५ अंकले घट्दै १९ सय १५.१४ अंकको विन्दुमा झरेको हो । १८ अंकमाथिले नेप्से घट्दै गर्दा यता १ अर्ब ४१ करोड १३ लाख रुपैयाँ बराबरको ४३ लाख ४० हजार कित्ता सेयर कारोबार भएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । आज माया खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्यमा ७.४६ प्रतिशतले घट्न पुगेको छ ।
काठमाडौं : सुनको मूल्य आज १२ सय रुपैयाँले बढेको छ। अघिल्लो कारोबार दिन बुधबार दुई हजारले घटेर प्रतितोला सुन १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १२ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ९ हजार रूपैयाँ कायम भएको हो। तेजाबी सुनको मूल्य १ लाख ८ हजार ५०० तोकिएको छ। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। यसदिन चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलाको १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।
पोखरा: रुपन्देहीको सालझण्डीबाट पहिलो यात्रा शुरुवात गरेको होटल पौवाले ११ औं शाखा पोखराको लेकसाइडबाट होटल पौवा सञ्चालनमा ल्याएको छ । मिशन १ सयको यात्रामा निरन्तर अगाडि बढेको होटल पौवाले ७ औं वर्षको अन्तरालमा ११ औं शाखा पोखरामा सञ्चालन ल्याएको होटलका निर्देशक विष्णु ज्ञवालीले बताए । ‘७ वर्ष अगाडि रुपन्देहीको सालझण्डीबाट शुरु गरेको १ सय मिशनको यात्रा ११ औ शाखाको रुपमा पोखरामा सञ्चालन गर्न पाउँदा खुशी छौं, भण्डारीले भने, ‘पाँच प्रदेशमा होटलको शाखा पु¥याएको पौवाले कर्णालीको जुम्ला देखि गण्डकीको पोखरामा आइपुगेका छौं ।’ उनका अनुसार १२ औं शाखा काठमाडौंमा खोल्ने तयारी समेत होटल पौवा प्रालिले गरेको छ । करिव १० करोडको लगानिमा पौवा प्रालिले पोखराको लेकसाइड स्ट्रिट नम्बर १ मा होटल पौवा सञ्चालनमा ल्याएको हो । विगत ७ महिना देखि होटल सञ्चालनमा आएपनि औपचारिक रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चैत १० उद्घाटन गर्ने कार्यक्रम तय भएको होटल प्रालिका अध्यक्ष दुर्गाप्रसाद भणडारीले बताए । रुपन्देहीको सालझण्डीबाट होटल प्रारम्भ गरेको पौवा प्रालिले भैरहवा, बुटबल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही, घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा र सुदुरपश्चिम प्रदेशको धनगढी र ११ औं शाखाको रुपमा पोखरामा होटल पौवा सञ्चालनमा आएको हो । पोखरामा औपचारिक रुपमा सञ्चालनमा आउन लागेको होटल पौवामा चैत १०, ११ र १२ गते कर्णाली प्रदेशको जुम्ला शाखाको मार्सी, पाल्पा तानसेनको चुकाउनी लगायतको शाखा होटलको स्वाद पस्कने होटलका निर्देशक ज्ञवालीले बताए । ‘मिशन १ सयको हो, अहिले ११ औं मिशनमा आइपुगेका छौं, जुन ठाउँमा शाखा सञ्चालनमा आउँछ, त्यही स्थानको स्थानीय उत्पादनलाई होटलको परिकारमा प्रयोग गर्दै आएका छौं, उनले भने, नेपालमा उत्पादन हुन नसकेको परिकारलाई मात्र होटलमा प्रयोग गर्ने गरेका छौं ।’ पोखरामा करिव ५० बढीलाई रोजगारीको अवसर दिएको प्रालिले ११ वटै शाखामा गरेर करिव ३ सय बढीलाई रोजगार दिएको छ, भने करिव ५० देखि ६० करोड लगानी भएको प्रालिले जनाएको छ ।
काठमाडौं: नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज पनि प्रतितोला दुई हजार रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।