पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गर्नुभएको छ ।  पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा आज उहाँले सामाजिक सञ्जालमार्फत्  निरङ्कुश राजतन्त्रविरुद्ध कम्युनिष्ट र नेपाली कांग्रेसले मिलेर जनआन्दोलन गर्नुपर्ने पुष्पलालको विचार सही सावित भएको स्मरण गर्नुभयो ।  “उहाँले नै सामान्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यसाथ कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुवाद गर्नुभयो र पार्टी स्थापनाको नेतृत्व गर्नुभयो”, प्रधानमन्त्रीले भन्नुभएको छ । विसं २००६ साल वैशाख १० गते पुष्पलालको नेतृत्वमा नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, मोतिदेवी श्रेष्ठसहितले भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो ।  

काठमाडौं:     साउन महिना बहुत मोहक र मादक हुन्छ ।  यतिखेर बर्सिएको रिमझिम वर्षामा सर्वत्र उल्लास छाइरहेको हुन्छ,  प्रकृतिका जीव, जीवात्मामा आनन्दको बीज फुटिरहेको हुन्छ, झिलिकमिलिक चम्किएको बिजुलीले आकाशको शोभा बढाइरहेको हुन्छ, आकाशमा नीलो चमकदार रङको बादल छाएर सप्तरङ्गी इन्द्रधनुष देखिन थाल्छ, चराचर जगत्मा हरियाली छाइरहेको हुन्छ । धर्तीको यस्तो अपूर्व सौन्दर्य देखेर बादलले प्रेमीको रूप धारण गर्छ । प्रेमरूपी वर्षा गराउन थाल्छ र हाम्रा स्वभावहरू पनि प्रकृतिअनुसार बदलिइरहेका हुन्छन् ।      साउनले हामीभित्रको प्रकृतिलाई पनि झक्झकाइरहेको हुन्छ । पूर्वीय वैदिक सभ्यतामा शिव प्रकृतिसँग जोडिएका छन् । जीवनको मूल तत्त्व भन्नु नै सत्यम्, शिवम्, सुन्दरम् हो । भगवान् शिव प्रकृति स्वरूपा हुन् । चार अक्षरले बनेको भगवान् शब्द आफैँमा प्रकृतिसँग जोडिएको छ जुन ‘भग’ र ‘आन’ मिलेर बनेको छ जसको अर्थ हुन्छः ‘भ’ को अर्थ भूमि, ‘ग’ को अर्थ गगन, ‘व’ को अर्थ वायु, ‘अ’ को अर्थ अग्नि र ‘न’ को अर्थ नीर९जल० ।      मानव शरीर यही पञ्च महाभूतले बनेको छ । यो पञ्च तत्त्व नै रुद्र हो । जन्मबाट मोक्षसम्म हाम्रा साथमा जे जान्छ,  त्यो नै शिव हो जुनबिना प्रकृति छैन, पूजा छैन, जीवन छैन, मृत्यु पनि छैन । देवाधिदेव महादेव हाम्रा आलोक हुन्, भूमण्डल हुन् । अरू देवीदेवताको जन्मकथा प्रचलित छ तर उनी अजन्मा छन् । सृष्टिको रचनापूर्व पनि शिव नै थिए, सृष्टिको समाप्तिमा पनि उनी नै रहनेछन् । उनको अर्धनारीश्वर रूपले प्रस्ट प्रकृति ९महिला० र पुरुष दुवै उनै हुन् । वैदिक मान्यतानुसार उनी अनन्त हुन्, निर्माता हुन्, संहारक हुन्, अँध्यारो हुन्, उज्यालो हुन्, आन्दोलन हुन्, शान्ति हुन् ।      पृथ्वीको सारा शक्ति यहवी पञ्चाक्षरी मन्त्रमा टिकेको छः ॐ नम शिवायः । ॐ शिवजीको एउटै महामन्त्र हो । ॐ शब्द अ, उ र म मिलेर बनेको छ जसको सम्बन्ध पनि प्रकृतिसँगै छ ः अ– आकार अर्थात् मस्तिष्क, उ –उकार अर्थात् उदर र म – मकार अर्थात् मोक्ष ।      हाम्रा सारा क्रियाकलाप त्यही शिवतत्त्वद्वारा निर्धारित हुन्छ । हाम्रा आचरण, व्यवहार, कर्म, भोगाइ सबैमा शिव छन्, लोकका नशानशा प्रवाहित छ्न् । हाम्रा लोकगाथाहरू सुरु गर्दा एकादश रुद्रको आराधना नगरी सम्पन्न हुन सक्दैन भन्ने तथ्य पूर्व अरूण उपत्यकाको सङ्कलनमा रहेको मारूनी नाच्दा बन्धन बाँधिने शशीका यी गेडाहरूले व्यक्त गर्छन्ः      ‘एकै र मुखे रुद्राक्ष माला हो गला है भिराँैला      सखी गला है भिरौंँला      जन्तरै बाँधौँला, मन्तरै बाँधाँला      जुरावन्ती नारी हो सखी शरण ’      वैदिक सभ्यताअनुसार साउन शिवको अति प्रिय महिना हो । शिवत्व भनेको तपस्या, ध्यान र चिन्तनको बाटो हो । जब हामी यस बाटालाई अँगाल्छौँ, तब हामीमा शक्ति र ऊर्जा प्राप्त हुन्छ । यसबाट हामी अभय हुन्छौँ । जब हामीभित्र ऊर्जा प्रवाहित हुन्छ, शिव नृत्य गर्न थाल्छन् । प्रकृति आफ्नो रसरागसहित लीला गर्ने हुनाले पनि शिवलाई साउन प्रिय छ । वर्षको चौथो महिनाले हामीभित्रको प्राकृतिक शक्तिलाई बुझ्ने अवसर पनि प्रदान गरिरहेको हुन्छ । तप, ध्यान र चिन्तनद्वारा साउनमा शिवजीसँग गरिने साक्षात्कारले हामीलाई दिव्य प्रकृति र परम तत्त्व बुझ्ने अवसर प्रदान गर्छ ।      साउनमा महादेवलाई जल चढाइन्छ । पौराणिक कथानुसार समुद्र मन्थन गर्दा कालकूट विष निस्कियो । त्यसले सारा संसारलाई दग्ध गर्न खोजेपछि उनले त्यसलाई आफ्नो गलामा स्थापित गरे । यसरी उनको नाम नीलकण्ठ राखियो । विषको जलन रोक्न सारा देवताले गङ्गाजल चढाए । गङ्गा जलले शङ्करको जलन शान्त भए झैंँ साउनले धर्तीको जलन शान्त पार्छ । यसैले पनि साउन र शिवको गहिरो र सम्बन्ध छ ।      साउन महिना शिवको भक्तिको महिना हो ।  पुराणानुसार यो श्रावण नक्षत्र पूर्णिमामा पर्छ । त्यसैले साउनलाई श्रावण पनि भनिएको हो । हिन्दू पञ्चाङ्गानुसार वर्षको पाँचौँ महिना साउन महिना पर्छ । यसलाई हिन्दू आस्थाको प्रतीक मानिन्छ जुन प्रत्यक्ष रूपमा धार्मिक भावना र आस्थासँग जोडिएको छ । यतिखेर हिन्दू देवीदेवताका मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ । प्रायः यतिखेर शाकाहार भोजन गरिन्छ, व्रत, उपवास गरिन्छ, शिव महिमाको गीत गाइन्छः     ‘उनै शिवजीको उनै शिवजीको       नागको माला, बाघको छाला       उनै शिवजीको’      हिन्दू धर्ममा सोमबारको सधैँ  महत्त्व छ तर साउनको सोमबारको विशेष महत्व छ । यो सोमबार पूर्णतः शिवमा नै समर्पित छ । यतिबेला महिला, पुरुष दुवै व्रत बस्छन्, उपासना गर्छन् । विशेषगरी कुमारीहरू शिव जस्तै वर पाइयोस् भन्ने कामना गर्दै व्रत बस्छन् ।      सोमबारको व्रतबारे लोकमा एक कथा प्रचलित छः कुनै दिन शिव र पार्वती अमरावती नामक सहरको नजिकबाट जाँदै थिए ।  दुवै आराम गर्न एउटा मन्दिरमा रोकिए  र समय बिताउनलाई खेल खेल्न थाले ।  खेलका क्रममा पार्वतीले पुजारीलाई कसले जित्छ भनेर भविष्यवाणी गर्न आग्रह गरिन् । पुजारी शिवको भक्त थियो । उसले सोचविचार नगरी आँखा चिम्लिएर शिवले जित्ने ठोकुवा ग¥यो । पछि पार्वतीले खेल जितिन् । उमाले  उसको लापरबाहीका निम्ति  कोढी हुनु परोस् भन्ने श्राप दिइन् ।   पुजारीलाई धेरै समयसम्म कोढी भएर बस्नु प¥यो । एक दिन स्वर्गबाट आएका परीहरूले उसलाई सोमबारको व्रत लिने सल्लाह दिए । व्रतपश्चात् ऊ पूर्ण रूपमा स्वस्थ भयो । सो घटनाको बेहोरा टाढाटाढासम्म फैलियो । त्यही दिनदेखि सो व्रतलाई प्रभावशाली मान्न थालियो । यसैले पनि साउनको सोमबारको विशेष महत्त्व छ ।      शिवरात्रि भन्ने बित्तिकै हाम्रो मानसपटलमा फागुनको महाशिवराशि आउँछ तर एक वर्षमा बाह्र शिवरात्रि  पर्छ । त्यसमध्ये एउटा साउनको शिवरात्रि हो । यो शिवरात्री श्रावण कृष्ण पक्षको चतुर्दशी तिथिमा पर्छ । यस दिनलाई विशेष महत्त्वको मानिन्छ । यही दिन काँवर यात्रीहरूले बोल बमका नारा घन्काउँदै शिवालयमामा जलले अभिषेक गर्छन् ।       शिव कल्याणकारी हुन् । उनी मात्र एक लोटा जलले पनि प्रसन्न हुन्छन् तर पनि साउनमा महादेवको पूजाको दौरान भक्तजनहरूले बेलपत्रसँगै बेलको फूल पनि चढाउँछन् । भनिन्छ यो फूल शिवको प्रिय फूल हो । यो फूल चढाउनाले पतिपत्नीबीचको सम्बन्ध गाढा हुनाका साथै सन्तान प्राप्तिको आशीर्वाद मिल्छ भन्ने लोकविश्वास छ । यो महिना उनलाई भाङ पनि चढाइन्छ । पुराणको कथानुसार विष पान गरेपछि उनको डाह शान्त पार्ने जडिबुटीमा भाङ पनि सामेल गरिएको थियो । उनको अर्को प्रिय फूल धतुरोको फूल हो । भक्तहरूले प्रायः यो फूल पनि चढाउँछन् ।       महादेवलाई अभिषेक गर्दा काँचो दुध पनि चढाइन्छ । यसलाई शुद्ध र पवित्र मानिन्छ । काँचो दुध चढाउनाले भक्तको मनोकामना पूर्ण हुन्छ भन्ने लोकविश्वास छ । शिवको पूजाका दौरानमा शिवलिङ्गमा मह पनि चढाइन्छ । यसो गर्नाले सबै पाप हट्नाका साथै व्यक्तिलाई मोक्ष प्राप्त हुन्छ भन्ने कथा प्रचलित छ । पूजा गर्दा ज्यादाजसो यस्ता मन्त्र जपिन्छः     ‘ॐ त्रयम्बकं यजामहे सुगन्धित पुष्टि वर्धनमं ।     उर्वारुकमिव बन्धनाम् मृत्योमुक्षीय मामृतत ।     कर्पुर गौरं करुणावतारं, संसार सारं भुजगेन्द्रहारं     सदा वसतं हृदयारविंदे, भवं भवानीसहितं नमामी ।’      शङ्करको प्रिय साउनमा धार्मिक आस्थासँग जोडिएका ऋषितर्पणी (जनैपूर्णिमा), गाईजात्रा, हरिशयनी एकादशी आदि पनि पर्छन् । यो महिना किसानका निम्ति पनि महत्त्वपूर्ण मानिन्छ । यतिखेर बर्सिएको वर्षा बालीनालीका निम्ति अमृत समान हुन्छ । ग्रीष्मको भीषण तापले सुकेका ताल, तलाउ, पानीका मुहानमा पनि यतिखेर नवजीवन सञ्चार भइरहेको हुन्छ । यी सबैका पछाडि  शिरमा गङ्गा बोकेका शिवले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन् भन्ने जनविश्वास छ ।       वास्तवमा साउन प्रकृति, ईश्वरसँग जोडिने र शिवभक्तिका निम्ति उत्तम महिना हो । शिव हाम्रा आदिदेव हुन् । उनको स्मरणले मात्र पनि हाम्रा दुःखहरू टाढा भाग्छन्। ॐ नम शिवाय:  (लेखक नेपाली लोकसाहित्य र संस्कृतिका जानकार हुनुहुन्छ)

काठमाडौं:     शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताउनुभएको छ ।  मिडिया एडभोकेसी ग्रुप ९म्याग० र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त  रूपमा आज यहाँ आयोजित  ‘राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने महिला पत्रकारको क्षमता अभिवृद्धि’  विषयक दुईदिने गोष्ठीमा उहाँले सञ्चारमाध्यममा महिला सहभागिता कम देखिनु चिन्ताको विषय हो भन्नुभयो ।  “शिक्षा र सञ्चारलाई प्रविधिसँग जोडनुपर्छ, विश्व एआइमा पुगिसकेको अवस्थामा हामीले प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ”, मन्त्री भट्टराईले भन्नुभयो, “सञ्चारमाध्यममा राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने पत्रकार महिलालाई प्रोत्साहन गर्न जरुरी छ ।” नेपालका लागि क्यानाडाका राजदूत क्यामेरोन म्याकेले नेपालमा सामाजिक न्यायमा लागि पत्रकार महिलाको उपस्थिति जरुरी छ भन्नुभयो ।  उहाँले क्यानाडामा महिला सहभागिता ५० प्रतिशत र महिला पत्रकार ५२ प्रतिशत रहेको जानकारी गराउनुभयो ।  प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महिला पेसागत रूपमा टिकाउन ध्यान दिनुपर्ने र पत्रकार महिलालाई राजनीतिक विषयमा समाचार लेख्दा सन्तुलित समाचार लेखेको भनेर स्रोतले विश्वास गरेको अध्ययनले देखाएको बताउनुभयो ।  उहाँले पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न काउन्सिलले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले राष्ट्र सबल भएमा मिडिया पनि सबल हुने उल्लेख गर्दै राजनीतिक विषयले अहिले पनि बढी स्थान लिने गरेको बताउनुभयो ।  उहाँले राजनीतिक विषयमा महिलाको उपस्थिति सशक्त हुनुपर्ने र मिडियाहाउसले पनि त्यहीअनुरूप नीति बनाउनुपर्नेमा जोड दिनुभयो । न्यूनतम पारिश्रामिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्काले राजनीतिक विषयमा समाचार लेख्न महिला पत्रकारलाई चुनौती भए पनि अहिले राम्रोसँग लेख्ने महिला पत्रकार भएको बताउनुभयो ।  उहाँले सञ्चारमाध्यमले पनि राजनीतिक बिटमा समाचार लेख्ने महिलालाई प्रोत्साहित गर्नुपर्ने र नीतिगत रूपमा पनि सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । म्यागका अध्यक्ष अनिता विन्दुले राजनीतिक विषयमा काम गर्ने महिला पत्रकारको सङ्ख्या कम भएकाले प्रविधिसहितको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई  दिनको तालिमको आयोजना गरेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घको तथ्याङ्कानुसार १८ प्रतिशत महिला क्रियाशील रहेका छन् ।

काठमाडौं:    स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ ।      नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ४६ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार तीन सय निर्धारण भएको छ ।      त्यस्तै, आइतबार प्रतितोला रु एक लाख ४५ हजार पाँच सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख ४५ हजार छ सय निर्धारण भएको छ ।      चाँदीको मूल्य प्रतितोला रु २० ले घटेको छ । आइतबार प्रतितोला रु एक हजार आठ सय १० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ९० निर्धारण गरिएको छ । 

पोखरास्ग   ण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले स्याङजा जिल्ला अस्पतालको निरीक्षण गरेका छन् ।   आइतबार अस्पतालले आयोजना गरेको बालरोग सम्बन्धि सघन उपचार सेवा पिआइसियु र एनआइसियु को सेवा शुभारम्भ गर्दै उनले निरीक्षण गरेका हुन् ।   मन्त्री थापाले हिजो भन्दा आज अस्पतालको सेवामा विस्तार भएको जानकारी पाउँदा खुशी लागेको बताए ।   ‘हिजो भन्दा आज स्याङजा अस्पतालले प्रवाह गर्दै आइरहेको सेवामा विस्तार भएको रहेछ, खुशी लाग्यो । नागरिकको स्वास्थ्य उपचारमा अस्पतालको काम प्रशंसनिय छ । यसलाई अझै प्रभावकारी र विश्वसिनय बनाउँदै लैजानुहोला ।’, उनले भने ।   अस्पतालमा शुभारम्भ गरिएको पीआइसियु र एनआइसियु जस्तो सेवाले बालबालिकाको उपचारमा सहयोग मिल्ने विश्वास उनको छ । मन्त्री थापाले स्याङजा अस्पतालको विभिन्न विषयलाई प्रभावकारी रुपमा संचालन गर्न ३ करोड ८ लाख २६ हजार रुपैयाँ बजेट प्रदेश सरकारले विनियोजन गरेको जानकारी गराए ।   सिमित स्रोतसाधनका बीच पनि प्रदेश सरकारले स्याङजा अस्पतालको स्तरोन्नतिमा कुनै कसर बाँकी नराखेको भनाई उनको छ ।   मन्त्री थापाले अस्पतालमा देखिएको जनशक्ति अभावको विषयलाई प्राथमिकतामा राखेर काम गर्न स्वास्थ्य सचिवलाई निर्देशन समेत दिएका छन् । ‘स्याङजा अस्पतालमा देखिएको समस्यालाई समाधान गर्न सचिवज्यूलाई मेरो आग्रह छ ।   आवश्यक जनशक्तिको उपलब्धतामा जोड गर्नुहोला । नागरिकको स्वास्थ्य उपचारमा कुनै समस्या सिर्जना नहोस् ।’, उनले भने ।   पूर्वमन्त्री सिता सुन्दासले स्वास्थ्यको क्षेत्रमा सबै संवेदनशील हुन आवश्यक रहेको उल्लेख गरिन् ।   स्याङजा जिल्लामा देखिएको स्वास्थ्य समस्यालाई सुधार गर्न सबै एक हुनुपर्ने भनाई उनको छ । गण्डकी प्रदेशका सांसद सुधिर कुमार पौडेलले स्याङजा अस्पताल पुग्ने सडक संजालको विकासमा समेत ध्यान दिनुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।   उनले अस्पतालमा काम गर्ने कर्मचारी देखि चिकित्सक सम्मका परिवारले सरकारी अस्पतालबाट नै उपचार गर्नुपर्ने र अस्पताल प्रतिको विश्वास बढाउनुपर्ने बताए ।   सांसद महेश भट्टराईले स्याङजा जिल्लाको स्वास्थ्य र शिक्षामा सुधार ल्याउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । स्वास्थ्य मन्त्रालयको सचिव विनोदविन्दु शर्माले गण्डकी प्रदेशको दश वर्ष अगाडिको स्वास्थ्य अवस्था र अहिलेको स्वास्थ्य अवस्थामा आमुल परिवर्तन आएको उल्लेख गरे ।   स्याङजा जिल्ला अस्पतालमा देखिएको जनशक्ति अभावलाई पूर्ति गर्न आफु र मन्त्रालय लागिपर्ने उनले बताए ।   अस्पतालका मेसु सुशिल कुमार मरासिनीले २०५७ सालमा स्थापना भएको स्याङजा अस्पतालबाट ५६ शैयाको सेवा प्रवाह गरिरहेको जानकारी गराए ।   अस्पतालको ८४ जना कर्मचारी कार्यरत रहेकोमा १३ जना मात्रै स्थायी दरबन्दी कर्मचारी रहेको उल्लेख गरे ।   अस्पतालको भौतिक संरचना जीर्ण रहेको र यसको सुधारमा चाँसो दिन प्रदेश सरकारलाई उनको आग्रह छ । कार्यक्रममा स्याङजा जिल्लाकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपाली, बालरोग विशेषज्ञ डा. विनोद गैरे लगायतले बोलेका थिए ।  

सर्लाही:  सर्लाहीको चन्द्रनगर गाउँपालिका रतनपुरका ८० वर्षीय रामचन्द्र राय मृतावस्थामा फेलापरेका छन् ।   टाउकोमा धारिलो हतियार प्रयोग गरिएका अवस्थामा पूर्व भूमिसुधार राज्यमन्त्री रायको शव गएराति चन्द्रनगर–१ रतनपुरमा फेलापरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।   उहाँले प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको बताउनुभयो । “घटनास्थलको प्रकृति हेर्दा उहाँको हत्या भएको आशंका छ”, प्रहरी उपरीक्षक सिंहले भन्नुभयो, “लालगढबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरेका छौँ ।”   घटनास्थलमा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोख्रेलसमेतको टोली उपस्थित रहेको जनाइएको छ ।

काठमाडौँ:  काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएसन) यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्ने भएको छ ।   माल्दिभ्सको मालेमा हुने उक्त प्रतियोगिताको लिग चरणको खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको थियो ।   सोही हारको बदला लिँदै नेपाल फाइनलमा पुग्ने दाउका साथ मैदानमा उत्रनेछ ।   लिगमा कीर्गिस्तान दोस्रो भएको थियो बने नेपाल तेस्रो स्थानमा रहेको थियो । लिगको अन्तिम खेलमा श्रीलङ्काले कीर्गिस्तानलाई ३–२ सेटमा पराजित गरेपछि नेपालले सेमिफाइनलमा कीर्गिस्तान प्रतिद्वन्द्वी पाएको हो ।   लिगमा अपराजित रहेको श्रीलङ्का तीन खेल जित्दै आठ अङ्क जोडेर शीर्षस्थानमा रह्यो ।   दुई जित र एक हारबाट पाँच अङ्क जोडेको कीर्गिस्तान दोस्रो स्थानमा रहँदा एक जित र दुई हारको नतिजा निकालेको नेपाल तीन अङ्कसहित तेस्रो र सबै तीन खेल हारेको घरेलु टोली माल्दिभ्स चौथो स्थानमा रह्यो ।   लिगमा पहिलो श्रीलङ्का र चौथो भएको माल्दिभ्सबीच पहिलो सेमिफाइनल खेल पनि आजै हुनेछ ।

म्याग्दी:   अवरुद्ध बेनी–दरवाङ सडक दश दिनपछि खुलेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।   चौबीस किलोमिटर सो सडक पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिन्छ । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पुर्याउन समस्या भएको थियो ।   प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भन्नुभयो, “सडकखण्डमा जोखिम टरेको छैन, वर्षात् र साँझबिहान आवतजावत गर्दा सतर्कता अपनाउन अनुरोध गरेका छाँै, पहिराले अवरुद्ध हुनेबित्तिकै पन्छाउने प्रयास गरे पनि पहिरो नरोकिएपछि यातायात अवरुद्ध भएका थिए । पहिरो पन्छाएपछि आइतबार साँझदेखि बेनी–दरवाङ सडक खुलेको छ ।”   मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले वैकल्पिक सडकलाई तत्काल बजेटको माग गरिएको र अबदेखि यात्रुलाई सास्ती नहुनेगरी काम गर्न सम्बन्धित निकायमा अनुरोध गरिएको बताउनुभयो ।   सडकदेखि करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको जनाइएको छ । उक्त सडकखण्डमा फापरखेत र बाङ्ग्रेपहिरो मुख्य चुनौती मानिन्छ । पश्चिम म्याग्दीको धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग सो सडकले जोड्छ ।   यसैबीच फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडकको वैकल्पिक मार्ग खोजिने भएको छ ।   सांसद खमबहादुर गर्बुजाले उक्त सडकको वैकल्पिक मार्गको खोजी भइरहेको बताउनुभयो । उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विभिन्न कार्यालय प्रमुखलाई जिल्लाको पहिरोका समस्या समाधान गरिदिन आग्रह गरेको जानकारी दिनुभयो । सडकमार्ग खोल्नुपूर्व नै पहिराको जोखिम थियो ।   पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ ।

काठमाडौं:    परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेका जानकारी दिनुभएको छ । त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूबारे सामाजिक सञ्जालमार्फत आज बिहान उहाँले सो जानकारी गराउनुभएको हो ।   उहाँले भन्नुभएको छ, “ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीहरूसँग उनीहरूलाई सुरक्षित तवरले बस्ने, सुरक्षा दिने र आवश्यक परेको अन्य सहयोग सम्बन्धमा नियमित रूपमा सम्पर्क गरिरहेको छ । बङ्गलादेशमा रहेका सबै नेपाली विद्यार्थी एवं अन्य नेपाली सुरक्षित छन् ।” बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण उत्पन्न परिस्थितिले त्यहाँ रहेका नेपाली विद्यार्थीहरू प्रभावित भएका जनाउँदै त्यहाँबाट विद्यार्थी र यहाँ उनीहरूका आफन्तहरूले समेत चिन्ता व्यक्त गरेपछि उनीहरूलाई त्यहाँ सुरक्षित तवरमा बस्ने र आवश्यक परे नेपाल फर्किने व्यवस्थाका लागि पनि परराष्ट्र मन्त्रालयले उचित प्रबन्ध गरेको उहाँले बताउनुभएको छ । मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गरी आवश्यक समन्वयका लागि अधिकारी तोकिएको तथा ढाकास्थित नेपाली दूतावासलाई पनि त्यहाँ रहेका विद्यार्थीको सुरक्षाका लागि आवश्यक समन्वय गर्न तथा नेपाल फर्कन चाहनेहरूका लागि उनीहरूको यात्रामा सहजीकरण गर्न निर्देशन दिइएअनुसार दूतावासले सो कार्यसम्पादन गरिरहेको मन्त्री डा राणाले बताउनुभयो । आइतबार मात्र हवाईमार्गबाट एक सय १५ र काँकडभिट्टा नाका भएर तीन सय पाँचजना नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए । आइतबार बिहान फर्किएका ५७ जना नेपाली विद्यार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रका अधिकारीले स्वागत गरेका थिए । बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण नेपाली विद्यार्थीहरू समस्यामा पर्न थालेको समाचार आएपछि उनीहरूको सहयोगका लागि मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गरिएको छभने ढाकास्थित नेपाली दूतावासलाई निमियत सम्पर्कमा राखिएको छ । यस विषयमा परराष्ट्रमन्त्री डा राणाले पनि ढाकास्थित नेपाली राजदूतावासलाई निरन्तर सम्पर्क गरी त्यहाँका नेपालीहरूका बारेमा जानकरी लिइरहेको बताउनुभएको छ । आइतबारसम्म बङ्गलादेशबाट एक हजार दुई सय विद्यार्थी स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयले आइतबार जानकारी दिएको छ । बङ्गलादेशमा सरकारले निर्धारण गरेको रोजगारीमा कोटा प्रणालीको विरोधमा विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।