चितवन: नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजीमा भारतीय टोली जुटेको छ । भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले राससलाई बताउनुभयो । असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेएको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–२४९५ख ००१ नम्बरको बस सिमलताल पहिरोमा बगेका थिए । बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिएभने ६२ जना बेपत्ता भएका थिए । आजसम्म २५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ । अझै ३७ यात्री र दुईवटै बसको अवस्था अज्ञात छ । मुलुकमा अत्याधुनिक उपकरणसहितका जनशक्ति नहुँदा सरकारको अनुरोधमा भारतबाट उक्त टोली आएको हो ।
पोखरा: केदारेश्वर महादेवमणि सेवाश्रम समिति, बैदामको आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ । पोखरामा झण्डै साढे दुई दशकदेखि जारी यो कार्यक्रमले यहाँ धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्दै गएको छ । ‘बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ आयोजना हुने यो कार्यक्रम साउनका चार वटै सोमबार बगर शुक्लागण्डकी गाईघाटस्थित १०८ धारामा स्नान गरेर ८ किमी पैदलयात्रासहित बैदामस्थित केदारेश्वरमा १०८ शिवलिंगमा जलार्पण गरिनेछ । शनिबार पत्रकार सम्मेलनमा विश्वहिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका बोलबम संयोजक शंकर खरालले कार्यक्रमको आवश्यक तयारी पूरा भएको बताए । केदारेश्वर महादेवमणि सेवाश्रमका पिठाधीश डा. चिद्घन चैतन्यले पोखरा धार्मिक पर्यटनको प्रशस्त अवसर भएको सहर भएको बताए । प्रचार संयोजक दुर्गा अधिकारीले बोलबम पोखराको चिनारीसमेत भएकोले सञ्चारमाध्यमबाट सहयोग गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रम सफल पार्न विभिन्न उपसमिति गठन गरिएको समिति सचिव ओमनाथ अधिकारीले बताए । बोलबम जलयात्रामा नौमती बाजा, भजनकीर्तन, झाँकी प्रस्तुत गरिने छ । मध्याह्न षोडस उपचारसहित विशेष पूजा आराधनादेखि भजन कीर्तन गरिने छ भने सन्ध्याकालीन समयमा विशेष पूजासहित महाआरतीसँगै शिवसाधना हुनेछ । राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान, विश्व हिन्दू महासंघ सांस्कृतिक समूह र विभिन्न भजन समूहद्वारा भजन प्रस्तुति गरिने आयोजकले जनायो । बोलबम प्रचारका लागि शनिबार मोटरसाइकल ¥यालीसमेत भयो ।
पोखरा: पोखरा महानगरपालिका ६ स्थित हल्लनचोकमा हाइलक्स र मोटरसाइकल एक आपसमा ठोक्दिा मोटरसाइकल चालकको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका ८ बस्ने २६ वर्षीय इश्वर परियार रहेका छन् । ठक्करपछि घाइते भएका परियारलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएपपनि पौने ७ बजे डाक्टरले मृत घोषणा गरेका थिए । आज बिहान पौने ६ बजे हल्लनचोकमा ग ३ च ३४५७ नम्बरको हाइलक्स र ग ११ प ९१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो । अहिले हाइलक्स चालक बर्दियाको ठाकुर बाबा नगरपालिका ८ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा १७ ड्यामसाइड बस्ने ३० वर्षीय सुशिल दहितलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछिको कारण र गल्तीबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा देवमणि भट्टराईले बताए। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ– गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।। माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरुपूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन्।
काठमाडौँ: एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयानुसार बेलुका ७: १५ बजे सुरु हुनेछ । प्रतियोगितामा लगातर दोस्रो जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो । पाकिस्तान पनि पहिलो जित निकाल्ने उद्देश्यका साथ खेल्नेछ । यसअघि भएको पहिलो खेलमा पाकिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो । सन् २०१६ मा भएको एसिया कपमा यी दुई टोलीको भेट भएको थियो । पाकिस्तानले नेपाललाई नौ विकेटले पराजित गरेको थियो ।
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागलगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेशका धेरै स्थान, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराबाट बच्न विभागले अनुरोध गरेको छ । विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा भारी वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बागलुङ: बागलुङ बजारमा खानेपानीको अभाव भएको छ । भूदीखोलाले पानीको पाइप बगाएपछि एक सातादेखि नगरवासी खानेपानीको समस्याबाट पिरोलिएका हुन् । बागलुङ नगरपालिकाले काठेखोला गाउँपालिकाको भूदीखोला मुहान, रेशखोला मुहान र रिठेखोला मुहानबाट खानेपानी आपूर्ति गर्दै आएको मुख्य मुहानको पाइप बगाउँदा समस्या भएको हो । भूदिखोलाको मुहानको पाइप बगाउँदा खानेपानीको अभाव भइरहेको बताउँदै बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव जीवन आचार्यले पाइप मर्मत थालिएकाले शीघ्र समस्या समाधान हुने आश्वासन दिनुभयो ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौँ ल्याइने बताउनुभएको छ । प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले शनिबार राति सामाजिक सञ्जालमा जारी गर्नुभएको सन्देशमा भनिएको छ, “बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् । ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यसपछि काठमाडौ फर्काउने प्रबन्ध गरिएको छ ।” प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गर्नुभएको छ । बङ्गलादेशमा सरकारी सेवा प्रवेशमा निर्धारित गरिएको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । करिब तीन हजार नेपाली विद्यार्थी बङ्गलादेशमा रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।
काठमाडौँ: यो वर्षको मनसुन अवधिमा विपत्तिमा परेर आजसम्म एक सय २८ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन सुरु भएको दिन गत जेठ २८ गतेदेखि आजसम्म ४२ दिनको अवधिमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्परी आज दिउँसोसम्म एक सय २८ जनाको मृत्यु र एक सय ४३ जना घाइते भएका छन् । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ । बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका तथा दुई सय २८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, एक विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्मा परी पाँच सय ८९ वटा पशुचौपाया मारिएका छन् । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय ७९ घरपरिवार विस्थापित भएका छन् ।

