काठमाडौं: मनसुनी विपद्मा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्ड अनुरुप रु दुई लाखका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म मृत्यु भएका ६९ जनाका परिवारका लागि एक करोड ३८ लाख निकासा भएको र उक्त रकमबाट कतिपय जिल्लाले प्रक्रिया पु¥याएर पीडितपरिवारलाई राहत वितरण पनि गरिसकेका छन् । मनसुनको अवधिमा सबै प्रकृतिका विपद्मा परेर अहिलेसम्म एक सय २५ भन्दा बढीको मृत्यु भइसकेको छ । त्यसमा सबैभन्दा बढी बाढीपहिरो र चट्याङका कारण मानवीय क्षति भएको छ ।मनसुनका समयमा यही देशभर परेको भारी वर्षाका कारण विपद्का घटना बढेपछि उच्च जोखिममा रहेका एक सय २५ जनालाई सुरक्षा निकायद्वारा जीवित्तै उद्धार गर्न सफल भएको पनि प्राधिकरणले जानकारी गराएको छ । प्राधिकरणका प्रवक्ता उपसचिव डा डिजन भट्टराईले ओखलढुङ्गा, ताप्लेजुङ, कालीकोट र बझाङलगायत जिल्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएको पनि जानकारी दिनुभयो । शुक्रबार मात्रै गएको एक महिनामा भएको मनसुनी विपद्को अवस्था प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रसलगायत सङ्घ संस्थाद्वारा प्रभावित परिवारलाई खाद्यान्न तथा गैरखाद्यान वस्तु वितरण गरिएको जानकारी दिएको छ । प्रतिवेद अनुसार मनसुनबाट प्रभावित परिवारलाई तत्काल राहतस्वरुप रु १५ हजारदेखि २० हजारसम्म वितरण गरिएको जनाइएको छ । प्रवक्ता भट्टराईका अनुसार रेडक्रसबाट हालसम्म सात सय ४५ थान तारजाली, दुई सय ९५ थान ब्ल्याङ्केट, दुई सय पाँच थान म्याट्रेस, एक सय २५ थान भाँडाकुँडा, एक सय थान झुल, दुई सय २५ थान सरसफाइ किट, एक हजार एक सय ३८ मिटर कपडा उपलब्ध गराइएको र गृह मन्त्रालयमातहत निकायबाट पाँच सय २० थान त्रिपाल, ५० थान टेन्ट, तीन सय थान ब्ल्याङ्केट, उक सय थान म्याट्रेस र ५० थान स्लिपिङ ब्याग उपलब्ध गराइएको छ । उहाँले समन्वयात्मक रुपमा विपद् व्यवस्थापनको काम जारी रहेको पनि जानकारी दिनुभयो । यसपाली बढी वर्षा हुने आँकलन रहेको थियो । मनसुनको सुरुआत महिनामै भारी वर्षाले जनधनको क्षति गराएको छ ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायसँग सम्बन्धित कानुनलाई समयक्रमसँगै संशोधन गर्न आवश्यक भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकको शुक्रबार निरीक्षण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बलको सुदृढीकरण र वृत्तिविकास गर्न मन्त्रालय सधैँ साथमा रहेको बताउनुभयो । “राजस्व चुहावट रोक्न सशस्त्र प्रहरी बलको ठूलो योग्दान छ । प्राकृतिक प्रकोपका बेला पनि सशस्त्र प्रहरीको काम प्रशंसा गर्न लायक छ”, उहाँले भन्नुभयो । सुरक्षा निकायलाई स्रोतसाधन सम्पन्न बनाउन लागिपरेको उहाँको भनाइ थियो । तेइस वर्षअघि सशस्त्र प्रहरी बलको स्थापना अध्यादेशबाट भएको स्मरण गर्दै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल स्थापनाबारे अध्ययन गर्न स्व सुवासचन्द्र नेम्वाङको नेतृत्वमा बनेको समितिमा कांग्रेसका तर्फबाट सदस्यका रुपमा सहभागी भएर काम गरेको बताउनुभयो । “सशस्त्र द्वन्द्वका समयमा सशस्त्र प्रहरी बलको भूमिका मुख्य रह्यो । देशमा शान्तिसुरक्षा कायम गर्नमा सबैभन्दा पछि स्थापना गरिएको सुरक्षा सङ्गठनको धेरै योगदान छ”, उहाँले भन्नुभयो । निरीक्षणका क्रममा गृहसचिव एकनारायण अर्यालले मन्त्रालय सशस्त्र प्रहरी बल नेपालको साथमा रहेको बताउनुभयो । “सशस्त्र प्रहरी बल नेपालको कानुन छिट्टै संसद्मा पेस हुन्छ”, उहाँले भन्नुभयो । सीमित साधन स्रोतका बीचमा सशस्त्र प्रहरी बलले सीमासुरक्षामा तदारुकता देखाएको उहाँले बताउनुभयो । उच्च मनोबलका साथ काम गर्न गृहसचिव अर्यालले निर्देशन दिनुभयो । विपद्का समयमा अहोरात्र खट्न उहाँले आग्रह गर्नुभयो । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल आफ्नो काममार्फत जनताको मनमा बस्न सफल भएको बताउनुभयो । सरकारले सशस्त्र प्रहरी बलप्रति राखेको विश्वासलाई कायमै राखेर काम गर्ने उहाँले उल्लेख गर्नुभयो । सीमासुरक्षा बलसँगसम्बन्धी कानुनमा सुधारको आवश्यकता रहेको महानिरीक्षक अर्यालको भनाइ थियो ।
काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते दिउँसो १ बजे संसदमा विश्वासको मत लिन लागेसँगै कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक दिनको १२ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ । गत असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाएसँगै गत असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
काठमाडौं: नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोली नेपाल आइपुगेको छ । भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार गएराति सुनौली नाका हुँदै नेपाल भित्रिएको टोली भैरहवामा बसेर आज बिहानै घटनास्थलतर्फ आइरहेको छ । टोलीले आजैदेखि काम थाल्ने प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो । पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरु आएका हुन् । उनीहरुले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएका बताइएको छ । उनीहरु सशस्त्र प्रहरीको एक टोलीका साथ घटनास्थल पुग्दै छन् । कार्यकारी प्रमुख पोखरेलका अनुसार नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो । गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो । गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा भीष्मकुमार भुसालका अनुसार गएको असार ३१ गते भारतबाट विज्ञसहतिको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको थियो । सोही आधारमा भारतीय खोज तथा उद्धार टोली नेपाल आएको हो । यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए । उक्त बसमा सवार ६५ जनामध्ये ३ जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । आजसम्म २३ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ । अझै ३९ यात्रुको दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन । उक्त घटनाको अध्ययन गर्न गृहमन्त्रालयले गठन गरेको कार्यदलले अहिले काम गरिरहेको छ ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र अमेरिकाबीच रहिआएको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा गृहमन्त्री लेखकले नेपाल र अमेरिकाबीच विगत ७० वर्षदेखि रहिआएको द्विपक्षीय सम्बन्ध सौहाद्र्रपूर्ण रहेको उल्लेख गर्दै लोकतन्त्र, मानव अधिकार, कानुनी शासनजस्ता विषयमा दुवै देशको साझा धारणा रहेको बताउनुभयो । नेपालको सामाजिक–आर्थिक विकास तथा गृह मन्त्रालयका विभागीय सुरक्षा निकायहरूको क्षमता अभिवृद्धिमा अमेरिकाले उल्लेख्य सहयोग गर्दै आएको बताउँदै गृहमन्त्री लेखकले अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । जलवायु परिवर्तनको असरका कारण नेपाल उच्च जोखिममा रहेको र यस विषयमा नेपालको उच्च चासो र चिन्ता रहेको उल्लेख गर्दै उहाँले यस विषयमा समर्थन गर्न आग्रह गर्नुभयो । राजदूत थम्पसनले गृहमन्त्री पदमा नियुक्त हुनुभएकामा लेखकलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । नेपालको सामाजिक–आर्थिक विकासका विविध क्षेत्रमा सहयोग गर्न अमेरिका सधैँ इच्छुक रहेको उल्लेख गर्दै उहाँले नेपालको आर्थिक विकासमा एमसिसी परियोजना महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । राजदूत थम्पसनले एससिसी परियोजना कार्यान्वयनमा नेपाल सरकारका तर्फबाट सधैँ सहयोग रहने आफूहरूको अपेक्षा रहेको उल्लेख गर्नुभयो । उहाँले अपराध नियन्त्रण तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा सहकार्य र समन्वय गर्न अमेरिकी सरकार तत्पर रहेको बताउनुभयो ।
मनाङ: हिमाली जिल्ला मनाङको एक मात्र स्थलमार्ग डुम्रे–बेँसीसहर–चामे सञ्चालनमा आएको छ । अविरल वर्षापछि असार १८ मा आएको बाढीले हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाले काठेपुल बगाएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको हो । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानले तिमाङ खोलामाथि २४ दिनपछि शुक्रबार नयाँ काठेपुल राखेपछि डुम्रे–बेँसीसहर–चामे सडक सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँका अनुसार काठेपुल निर्माण भएपछि सवारीसाधन सञ्चालनमा अएको हो । उहाँले भन्नुभयो, “तिमाङ खोलामा पानीको सतह कम हुनासाथ पर्खाल लगाएर काठेपुल निर्माण गरिएको छ । डुम्रे–बेँसीसहर–चामे सडक योजनाले यातायात सञ्चालनका लागि पूर्ण रुपमा सहयोग गरेको छ । मनाङको मेरुदण्डको सडक निर्माणका काम पनि यस योजनाले नै गरिरहेको छ । जसले गर्दा पनि योजनाले काम समयमा गरेको हुनसक्छ ।” प्रजिअ लामिछानेले तिमाङ झरनाको मोटरेबल पुलमा पनि कल्भर्ट राखेर यातायात सञ्चालन भएको बताउनुभयो । तिमाङ छहरा पनि गत असार १८ गते ग्रेग्यान तथा ढुङ्गा खसेर पुलमा क्षति पुर्याउँदा सञ्चालन आउन सकेको थिएन । यहाँ योजनाले नयाँ पुलका लागि पनि काम गर्ने जिम्मा पाइसकेको डुम्रे–बेँसीसहर–चामे योजनाका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार सदरमुकाम जानुपर्ने काममा पनि सकस भएकाले चाँडो यहाँको यातायात तथा पैदलयात्रा गर्ने वातावरण बनाउने लक्ष्य पूरा भएको छ । पर्यटकीय क्षेत्र भएकाले जोखिम मोलेर पनि केही पर्यटक आवतजावत हुने भएकाले चाँडो पुल निर्माण गर्नुपर्ने र तल्लो मनाङ तथा माथिल्लो मनाङबीचको विच्छेद भएकामा सहज बनाउन २४ दिन लागेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा मनाङमा एक सय १६ पुल बनाउने तयारी भइरहेको पनि उहाँले जनाकारी दिनुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज दिएको सुझावपत्रमा नेपाल सरकारले तत्काल चाल्नुपर्ने कदम र आगामी तीन वर्षभित्र गर्नुपर्ने कामको सूचीसहित विस्तृत विषय समावेश गरिएको छ । एमालेका महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले आज एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीलाई सिंहदरबारमा भेटी आज सुझावपत्र बुझाएको हो । सुझावपत्रमा सुशासन, विकास निर्माणका काममा तीव्रता, रोजगारी सिर्जना, आर्थिक शिथिलताकोे अन्त्य, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धि हासिल गर्ने विषय, सेवाप्रवाहमा सहजता र झण्झटिलो प्रशासनिक प्रक्रियालाई अन्त्य गर्ने विषय तथा सामाजिक न्याय र सुरक्षाका विषयहरू विषय रहेका छन् । यस्तै झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्राका क्रममा प्राप्त भएका सुझावदेखि जनतामा कायम रहेको निरासा चिर्न तथा आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले गर्नुपर्ने कामलाई समेटिएको छ । नेपाली कांग्रेससँग गत असार १७ गते भएको सहमतिपछि अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभन्दा डेढ साता अगावै एमालेले गत असार २१ गते ओली नेतृत्वको सरकारले आगामी तीन वर्षभित्र गर्नुपर्ने कामका विषयमा सुझाव दिन उपमहासचिप प्रदीप ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले पार्टीका विभिन्न २८ विभागसँग सरकारले गर्नुपर्ने कामका विषयमा सुझावसहित प्रतिवेदन मागेको थियो । सोही प्रतिवेदनको आधारमा एमालेले सरकारलाई सुझावपत्र दिएको हो । उपमहासचिव ज्ञवालीका अनुसार असार २१ गते बसेको पार्टी केन्द्रीय विभागहरूको बैठकले दिएको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० ठोस कार्यक्रमसहित ३१ बुँदे सुझाव बुझाइएको छ । उक्त बैठकले सात दिनको समय सीमा तोकेर प्रधानमन्त्रीलाई सुझाव दिन विभागहरूलाई निर्देशन दिएको थियो । एमालेले यसै वर्षको बजेटको दायराभित्र सञ्चालन गर्न सकिने कार्यक्रमहरू, सम्बन्धित मन्त्रालयमा गर्नुपर्ने नीतिगत र कानुनी सुधारहरू, हाल संसद्मा विचाराधीन सम्बद्ध मन्त्रालयसँग सम्बन्धित विधेयकको अवस्था र त्यससम्बन्धी दृष्टिकोण, निर्वाचन घोषणापत्र २०७९ मा त्यस क्षेत्रसँग सम्बन्धित पार्टीका मुख्य प्रतिबद्धताहरू, सम्बन्धित मन्त्रालयबाट हुने सेवा प्रवाह र विकास निर्माणमा देखा परेका मुख्य अवरोध र समाधानका उपाय तथा महिला, युवा, सहरी जनमत, प्रवासी नेपाली र भूमिहीन लगायतलाई आकर्षित गर्न सकिने नयाँ र सिर्जनशील कार्यक्रमलगायत विषय सुझावमा समावेश गरिएका छन् ।
मुस्ताङ: मुस्ताङको घरपझोङ गाउँपालिका–५ ढुम्बामा ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु भएको छ । ढुम्बाको कुछपतेरङ्गा गुुम्बाको नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गडवा गाउँपालिका–१ का २३ वर्षीय रवि दर्लामी मगरको मृत्यु भएको हो । नेपाल प्रहरी, स्थानीयवासीलगायतको सहयोगमा मजदुरको शव माटोबाट बाहिर निकालिएको हो ।
काठमाडौं: नेपालले एसिसी महिला एसिया कप क्रिकेट २०२४ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको छ । श्रीलङकाको दम्बुल्ला अन्तर्राष्ट्रिय रङ्गशाला भर्खरै सम्पन्न खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । जितका लागि एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ दशमलव एक ओभरमा चार विकेट गुमाउदै पूरा गर्यो । नेपाललको लागि सम्झना खड्काले सर्वाधिक ७२ रनको योगदान दिइन । उनले ४५ बल खेल्ने क्रममा ११ चौका प्रहार गरिन् । त्यस्तै रुबिना क्षेत्रीले १० रन बनाइन भने सीता रानामगर र पुजा महतोले समान सात÷सात रनको योगदान गरे । बलिङतर्फ युएईकी कभिशा इगोडागेले तीन विकेट लिइन भने लभन्या केनीले एक विकेट लिइन । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय १५ रनको योगफल बनाएको थियो । युएईका लागि खुसी शर्माले ३९ बल दुई चौका प्रहार गर्दै ३६ रन बनाइन । त्यस्तै कविशा इगोडागो २२, समाइरा धरनिधर्कले १३ तथा कप्तान इशा रोहित ओजाले १० रन बनाइन । रिथिका राजित छ तथा लावन्या केनी दुई रनमा अविजित रहे । नेपालको लागि इन्दु बर्माले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै कृतिका मरासिनी, सबनम राई र कविता जोशीले समान एक÷एक विकेट लिए । नेपालले अब आफनो दोस्रो खेल यही साउन ६ गते पाकिस्तानसँग खेल्नेछ ।

