काठमाडौं: बङ्गलादेशको राजधानी ढाकामा आरक्षण विरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित ५०० जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले सोमबार पुष्टि गरेको छ । प्रदर्शनमा कम्तीमा ५३२ जनालाई पक्राउ गरिएको ढाका मेट्रोपोलिटन प्रहरी प्रवक्ता फारुक हुसेनले बताउनुभयो । पक्राउ परेकामध्ये केही बङ्गलादेश नेशनल पार्टी (बीएनपी) नेताहरू रहेको उहाँले जनाउनुभएको छ । पक्राउ पर्नेमा बिएनपीका नेता अमिर खुसरो, महमुद चौधरी र प्रवक्ता रुहुल कबिर रिजवी अहमदसहित पूर्व राष्ट्रिय फुटबल कप्तान तथा नेता अमिनुल हकलाई पनि पक्राउ गरिएको उहाँले बताउनुभएको छ । इस्लामवादी पार्टी जमात–ए–इस्लामीकी महासचिव मिया गुलाम परवरलाई पनि पक्राउ गरिएको हुसेनले जानकारी दिनुभयो । उहाँले राजधानीमा अशान्तिका क्रममा कम्तीमा तीन जना प्रहरीले ज्यान गुमाएको बताउँदै करिब एक हजार घाइते भएको र घाइतेमध्ये ६० जनाको अवस्था गम्भीर रहेको उल्लेख गर्नुभएको छ । बिएनपीका प्रवक्ता एके वाहिदुज्जमानले राष्ट्रव्यापी रूपमा ‘विगत केही दिनमा सयौं बिपिएनका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएको बताउनुभएको छ ।
भिमाद: तनहुँमा ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमाद नगरपालिका–६ शान्तनगर माझटार बस्ने ३५ वर्षीय पिताम्बर नेपाली रहेका छन् । नेपालीले ती महिलालाई आफ्नै घरमा लगि डर धम्की देखाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो । सो विषयमा थप अनुसन्धान गरिरहेको तनहुँ प्रहरीले जनाएको छ ।
काठमाडौं: मुलुकमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढिरहेका छन् । प्रहरीको तथ्याङ्क अनुसार प्रविधिको विकाससँगै आपराधिक क्रियाकलाप बढिरहेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय साइबर तथा बैङ्किङ अपराधहरु बढ्दो क्रममा रहेका जानकारी दिनुभयो । परम्परागत रुपमा हुने अपराध पनि भइरहेका देखिन्छन् । प्रहरीको तथ्याङ्कमा गत आर्थिक वर्षमा ५९ हजार बढी अपराधका घटना भएका छन् । आर्थिक वर्ष २०७९/८० मा ५६ हजार अपराधका घटना दर्ता भएका थिए । अपराध बढेसँगै चुनौती पनि बढेको नेपाल प्रहरीले जनाएको छ । प्रहरी नायब महानिरीक्षक कार्कीले साइबर तथा बैङ्किङ अपराध बढेसँगै प्रहरीले आफ्नो अनुसन्धान पद्धतिलाई पनि विकास गरिरहेको बताउनुभयो । कतिपय अनुसन्धानमा सफलता नपाए पनि धेरै अनुसन्धान सफल भएका उहाँको दाबी छ । “निर्मला पन्तको बलात्कारपछि हत्यालगायत घटनाको अनुसन्धानमा प्रहरीले निरन्तर खोजी गरे पनि सफलता पाएका छौनौँ, तर त्यस्तै प्रकृतिका र अन्य ठूला अपराधमा भने सफलता पाइरहेका छौँ”, उहाँले भन्नुभयो । गएको एक वर्षमा प्रहरीले केही ठूला आपराधिक घटनाको अनुसन्धानमा सफलता प्राप्त गरेको छ । यी नौ घटना, जसमा प्रहरीलाई सफलता प्राप्त गरेको छ । तीनकुने सामूहिक हत्या प्रकरण विसं २०८० भदौ २९ गते तीनकुने सामूहिक हत्या प्रकरण भएको थियो । काठमाडौँको तीनकुनेस्थित दिव्य स–मिलमा रातिको समयमा धारिलो हतियार प्रहार गरी चारजनाको हत्या भएको घटनाको प्रहरीले छोटो समयमा नै सफल अनुसन्धान गरेको थियो । दोलखा कालिन्चोक गाउँपालिका–८ घर भई सोही स–मिलमा काम गर्ने कुमार भुजेल भन्ने पूर्णबहादुर भुजेल, उहाँकी श्रीमती अम्बिका भुजेल, पूर्णबहादुर भुजेलकी आमा सुभद्रा भुजेल र सोही मिलमा बस्ने नवीन भन्ने विशाल राईको हत्या भएको थियो । अनुसन्धानका क्रममा उक्त घटना सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भई हाल काठमाडौँको काँडाघारी बस्ने २३ वर्षीय सञ्जय भण्डारीले गराएको खुल्यो । मोटरसाइकलले ठक्कर दिएको र त्यस विषयमा उत्पन्न विवादको रिसइबीले घटना भएको पाइएको प्रहरीले जनाएको छ । सञ्जय भण्डारीले मोटरसाइकल ठोक्किएको विवादमा मोरङका विशाल राईको हत्या गरेको र उक्त घटना देखेपछि घटना बाहिर जाने डरले अरूको पनि हत्या गरेको स्वीकारेका प्रहरीको अनुसन्धान टोलीद्वारा अनुसन्धानका क्रममा सार्वजनिक गरिएको प्रहरी नायब महानिरीक्षक कार्कीले जानकारी दिनुभयो । किशोरी हत्या गरी शिवपुरी जङ्गलमा गाडेको घटना विसं २०८० माघ २२ गतेको हो । उक्त दिन अन्दाजी ५ बजेको समयमा तारेभिरस्थितमा सुष्मा लामाको शव गाडेको अवस्थामा भेटियो । उक्त घटनाको अनुसन्धानमा प्रहरी टोली खटियो । अनुसन्धानका क्रममा उनलाई आफ्नै प्रेमीले प्रेम प्रस्ताव अस्वीकार गर्दा पूर्वयोजनाअनुसार नै हत्या गरेर खाल्डो खनी गाडेको खुल्यो । प्रहरी प्रवक्ता कार्कीले प्रतिवादी रूपेन्द्र लामाले मन पराई प्रेम प्रस्ताव राख्दा अस्वीकार गरेकाले उनले पूर्वयोजना बनाई हत्या गरेर घर नजिकै शिवपुरी राष्ट्रिय निकुञ्जमा लगि खाल्टो खनी गाडेको पत्ता लागेको जानकारी दिनुभयो । निजलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । महोत्तरी बैङ्क लुटपाट विसं २०८० जेठ १६ गते अन्दाजी १२ः२५ बजेको समयमा महोत्तरीमा रहेको एनएमबी बैङ्कमा अपरिचित नकाबधारी चाररपाँचजनाको हतियारधारी समूहले बैङ्क लुटपाट गर्यो । उनीहरु बैङ्कमा प्रवेश गरी बैङ्कका कर्मचारी तथा सेवाग्राही समेतलाई पेस्तोल देखाई बैङ्कबाट तत्काल रु १५ लाखभन्दा बढी लुटेर लगे । उनीहरुले बैङ्कका कर्मचारीको मोबाइलसमेत लुटी डाँका गरी नम्बर नखुलेको दुईवटा मोटरसाइकलमा चढेर भागेका थिए । घटनाको अनुसन्धानका क्रममा उक्त घटनामा भारतीय नागरिक अजय कुमार, धनुषा मुजर्निया मुखियापट्टी–२ बस्ने वर्ष २२ को अनर्जित राम र अर्का एकजना संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ । आमाछोरीको आगो लगाएर हत्या सल्ल्यानमा विसं २०८० भदौ ५ गते ६ः५० बजेको समयमा एउटा घरमा मानिस सुतिरहेका बेला जलेको अवस्थामा आमाछोरी भेटिए । टिनले छाएको एकतले कच्ची घरमा पीडितहरु बिहानसम्म पनि नउठेपछि स्थानीय छिमेकीले ढोका खोली हेर्दा कोठाभित्र आगलागी भई जली मृत अवस्थामा फेला परेका थिए । सल्ल्यानको त्रिवेणी गाउँपालिका–२ झालेढुङ्गा बस्ने २९ वर्षकी रेवती थापा र उनकी नौ महिनाकी छोरी ऋतु थापाको आगो लगाएर हत्या गरिएको थियो । उक्त घटनाको अनुसन्धानका क्रममा प्रतिवादीले प्रेम सम्बन्धका कारण आगो लगाई आमाछोरीको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा सल्ल्यानको सिद्धकुमाख गाउँपालिका–२ खानीगाउँ बस्ने २८ वर्षका कर्णबहादुर बस्नेत र वर्ष २८ की गीता कार्कीलाई पक्राउ गरिएको प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । परिवारको सामूहिक हत्या मुगुमा विसं २०८० कात्तिकमा आफ्नै घरमा धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारेको अवस्थामा परिवारका सबै सदस्या शव फेला परेको थियो । प्रहरीका अनुसार मुगु छायाँनाथ रारा नगरपालिका–६ का मुन्दुगाउँ बस्ने श्रीदेवी बोहोरा, उनका नाबालक छोराहरू मनोज बोहोरा र रहर बोहोरा तथा नाबालिका छोरी अप्सरा बोहोराको हत्या भएको थियो । त्यस घटनामा छायाँनाथ रारा–६ कोटिला बस्ने वर्ष ३० का गोपाल बोहोरा र वडा नं ७ पिना बस्ने वर्ष ३० का गोर्खराज शाही संलग्न रहेको पाइएको प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले खनुसन्धानका क्रममा खुलेको बताउनुभयो । उक्त घटनाको पनि प्रहरीबाट सफल अनुसन्धान गरी अपराधीलाई पक्राउपश्चात् कानुनी कारबाही भइरहेको छ । पैसा र सम्पत्तिका कारण हत्या गरेको खुल्न आएको उहाँको भनाइ छ । हत्या गर्ने एकजना आफन्त नै रहेका प्रहरीले जनाएको छ । दम्पती हत्या प्रकरण पर्वतमा २०८० साल चैत २० गते जलजला गाउँपालिका–२ राममन्दिर बस्ने श्रीमान् र श्रीमती ढुङ्गा माटोले बनेको आफ्नै घरमा बसिरहेका बेला हत्या भएको थियो । जलजला–२ राममन्दिर बस्ने वर्ष ६९ को सूर्यबहादुर घर्ती र श्रीमती वर्ष ६७ की कमला घर्ती मृत भेटिएका हुन् । दुईतले पक्की घरको भुइँ तलाको आफू सुत्ने कोठाभित्र रगताम्मे अवस्थामा दम्पतीको शव भेटिएको थियो । उक्त घटनाको पनि सफल अनुसन्धान गरी प्रहरीले प्रतिवादी पक्राउ गरेको छ । घटनामा जलजला–२ बस्ने वर्ष ३२ का कृष्णबहादुर विश्वकर्मा र कुश्मा नगरपालिका–२ खुर्कोट स्थायी घर भई कास्की बस्ने दीपक दर्जी संलग्न रहेका प्रहरीले जनाएको छ । उनीहरुले सम्पत्ति लुट्ने उद्देश्यले निज दम्पतीको हत्या गरेका पाइएको प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । बोरामा दुईजनाको शव फेला विसं २०८० मङ्सिर ६ गते १२ः५० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा दुई शव बोरामा बाँधेर फ्याँकिएको अवस्थामा फेला पर्यो । सडक कल्भर्टमुनि दुईवटा जुटको बोरामा एक पुरुष र एक महिलाको शव फेला परेको थियो । भारत मोतिहारीका १९ वर्षीय ऋषभकुमार कुशवाहा र सोही ठाउँका अस्मिता भन्ने सञ्जु देवीको शव भएको प्रहरीले पुष्टि गर्यो । उनीहरूको हत्या अस्मिताका पति ३३ वर्षीय अखिलेश भगतले गरेको सिआइबीको अनुसन्धानले पत्ता लागेको थियो । अखिलेष भगत हाल भारतस्थित कारागारमा अपहरण मुद्दामा सजाय काटिरहेका छन् । विवाहपछि भतिजसँगको सम्बन्धका कारण उनले आफ्नै श्रीमती र भतिजको हत्या गरेका थिए । विनोद सुनचाँदी पसल चोरी प्रकरण चितवनको कालिका नगरपालिका खोलेसिममा रहेको विनोद सुनचाँदी पसलमा गत असार १ गते चोरी भएको थियो । सिसी टिभी फुटेजमा दुईजनाले झोला भरी राखेर मोटरसाइकलमा सुन लगेको देखिन्थ्यो । उक्त घटनापछि प्रहरीले अनुसन्धान थाल्यो । घटनामा पसल सञ्चालक विनोद सुनुवार आफैँले योजना बनाएर बीमा दाबीका लागि सुन चोरी गर्न लगाएको पाइएको केन्द्रीय प्रहरी प्रवक्ता कार्कीले बताउनुभयो । उक्त घटनापछि निजले रु दुई करोड ५५ लाखको बीमा दाबी गरेका थिए । उनले आफ्ना चिनेजानेका र काम गर्ने कर्मचारी प्रयोग गरेर चोरी गर्न लगाएको पाइएको कार्कीले बताउनुभयो । उहाँका अनुसार प्रहरीले सञ्चालकसहित पाँचजनालाई पक्राउ गरी कारबाही अघि बढेको छ । बलात्कारपछि हत्या गत मङ्सिरमा धनुषामा भएको बालिकामाथिको बलात्कारपछि हत्याको घटनामा पनि प्रहरीले सफल अनुसन्धान गरेको छ । अनुसन्धानमा अपराधीले बलात्कार गरी घाँटी थिचेर हत्या गरेर पोखरीमा शव फालेको स्वीकारेका प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । उक्त अनुसन्धानका क्रममा प्रहरीले धनुषा सबैला नगरपालिकाका ३१ वर्षीय विनोदकुमार राय र कमला नगरपालिका–६ बस्ने २४ वर्षीय रोशनकुमार मुखियालाई पक्राउ गरी कारबाही गरेको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्रका रूपमा रहेको बताउनुभएको छ । अध्यक्ष नेपालले ४६औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि पुष्पलालले सुरु गरेको यात्रा अहिले विभिन्न किसिमले विस्तारित भइरहेको बताउनुभयो । क्रान्तिले एकपछि अर्को उपलब्धि हासिल गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “यस अर्थमा हामी उहाँलाई कहिल्यै बिर्सन सक्दैनौँ, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि सुरु गरेको कम्युनिष्ट आन्दोलनमा उहाँले निर्वाह गरेको भूमिका आज पनि उत्तिकै महत्वपूर्ण छ ।” विसं १९९७ मा दाजु सहिद गङ्गालाल, अरू सहिद र २००७ सालको क्रान्तिका योद्धाहरूबाट प्रेरणा पाउनुभएका पुष्पलाल निरङ्कुश तानाशाही पञ्चायती कालमा अनेकौँ जोखिमपूर्ण अवस्थामा पनि जीवनको अन्तिम घडीसम्म आफ्नो आस्थाप्रति अटल र अविचलित रही सङ्घर्षको यात्रामा अविराम क्रियाशील रहेको अध्यक्ष नेपालले उल्लेख गर्नुभयो । पूर्व प्रधानमन्त्री नेपालले पुष्पलालले नेपाली समाजको वस्तुनिष्ठ विश्लेषण गर्दै निरूपण गर्नुभएको नेपाली क्रान्तिको सिद्धान्तमा आफ्नो पार्टी उभिएर समाजवादी व्यवस्था कार्यान्वयनका निम्ति लागि रहेको बताउनुभयो । पुष्पलालको सिङ्गो जीवनयात्रा, सैद्धान्तिक–वैचारिक रचना र कार्यक्रमहरूमा सर्वहारावादी दृष्टिकोण पाइने बताउँदै उहाँले नेपाली समाजको ऐतिहासिक भौतिकवादी ढङ्गले व्याख्या गर्नुभयो र समाजमा विद्यमान वर्ग विश्लेषण, त्यसको विकासक्रम, वर्गीय अन्तर्विरोधको पहिचान तथा समाधानका उपायहरूलाई माक्सवादी ढङ्गले व्याख्या गर्ने कामको अगुवाइ गर्नुभएको उल्लेख गर्नुभयो । संयुक्त जनआन्दोलनको सिद्धान्त प्रतिपादन गर्नुभएको बताउँदै उहाँले भन्नुभयो, “पुष्पलालले आफ्नो पुस्तालाई मात्र नभएर पछिसम्मका लागि पनि दिएको सबैभन्दा ठूलो योगदान भनेको नेपाल कम्युनिष्ट पार्टीको स्थापना नै हो ।” कम्युनिष्ट पार्टीको संस्थापकका रूपमा पार्टीलाई अगाडि बढाउन उहाँले कुशल सङ्गठकको भूमिका निर्वाह गर्नुभएको स्मरण गर्दै अध्यक्ष नेपालले पुष्पलालले प्रतिक्रियावादी सत्तालाई उन्मूलन गर्नका लागि समाजका सबै क्रान्तिकारी, परिवर्तनकामी समूह र राजनीतिक शक्तिहरूलाई एकताबद्ध भएर जानुपर्ने दृष्टिकोण राखेको बताउनुभयो । नेपाली क्रान्ति सम्पन्न गर्न नेपाली विशेषताको समाजवाद तथा वैज्ञानिक समाजवादको लक्ष्य प्राप्तिको घोषणाका साथ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) क्रियाशील रहेको भन्दै उहाँले हाम्रो रणनीतिक उद्देश्य लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गरी समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरण रहेको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले राष्ट्र र जनताको, श्रमजीवी वर्गको हित र समृद्धिलाई अवलम्बन गर्दै आत्मनिर्भर स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने अठोट आफ्नो पार्टीले गरेको बताउनुभयो ।
सुर्खेत: कर्णाली प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सहभागी चारजना मन्त्रीले राजीनामा दिएका छन् । आज मुख्यमन्त्री यामलाल कँडेललाई चार मन्त्रीले राजीनामा पत्र बुझाएका हुन् । राजीनामा दिने मन्त्रीहरुमा सामाजिक विकासमन्त्री वीरबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, उद्योग पर्यटन वन तथा वातारणमन्त्री दीर्घ रावत, जलस्रोत तथा ऊर्जा विकासमन्त्री रणसिंह परियार छन् ।
बागलुङ: बागलुङको काठेखोला गाउँपालिकाले खेर गइरहेका वनक्षेत्र लगायतका झाडी फाँडेर चियाखेती सुरु गरेको छ । यसैवर्षमात्र थामानेटामा तीन रोपनी क्षेत्रफलमा चियाका बेर्ना रोपिएको छ । थामानेटासहित पालिकाले रेश र धम्जामा ५५ रोपनी क्षेत्रफलमा यो वर्ष चियाखेती विस्तार गरेको हो । थामानेटाको जौछरे सामुदायिक वनको झाडी फाँडेर गाउँपालिकाले वन उपभोक्ताको सक्रियतामा चियाको बर्ना लगाएको छ । लोकमार्ग नजिकै रहेको थामानेटा एक प्रसिद्ध वनभोज स्थलका रुपमा परिचित छ । थामानेटामा अहिले ‘भ्यू टावर’ र आश्रयस्थललगायत संरचनासमेत निर्माण भइसकेका छन् । लोकमार्गका यात्रुहरुको विश्रामस्थलका रुपमा रहेको थामानेटामा चिया बगान निर्माण भएपछि पर्यटक बढ्ने अपेक्षा गाउँपालिकाको छ । थामानेटा आएका पर्यटकलाई थप आकर्षित गर्न र उपभोक्ताको आयआर्जन वृद्धि गर्न यस क्षेत्रमा पहिलोपटक चियाखेती गरिएको काठेखोला गाउँपालिका–५ का वडाअध्यक्ष ज्ञामनाथ कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडामा पहिलोपटक चियाखेती थाले पनि गाउँपालिकामा भने पहिलो होइन । यसअघि काठेखोला गाउँपालिका–७ रेशमा पाँच वर्ष अघिदेखि चियाखेती भइरहेको छ । रेशको चियाखेती सफल भएपछि गाउँपालिकाले सम्भावित क्षेत्रमा चियाखेती विस्तार गर्न थालेको हो । रेशमा चियाखेती सफल भएपछि गाउँपालिकाले चियाखेती विस्तार गर्ने योजनाअनुसार विभिन्न वडाको ५५ रोपनी क्षेत्रफलमा चियाखेती लगाएको छ । वडाअध्यक्ष कँडेलका अनुसार थामानेटामा एक हजार पाँच सय चियाका बिरुवा पहिलोपटक रोपिएको छ । कँडेलले भन्नुभयो, “सामुदायिक वनमा आगामी वर्षसम्म १० रोपनी क्षेत्रफलमा चियाखेती लगाउने योजना छ, वडा कार्यालयले चियाखेती विस्तारमा सघाउने लक्ष्य छ ।” काठेखोला गाउँपालिका–७ रेशमा निजी, विद्यालय र सार्वजनिक जग्गामा गरी एक सय ४० रोपनी क्षेत्रफलमा चियाखेती विस्तार भइसकेको छ । रेशमा पाँच वर्षअघि लगाइएका एक हजार पाँच सय चियाका बिरुवाले उत्पादन दिन थालिसकेको छ । चियाखेती गाउँपालिकाभर विस्तार गर्ने लक्ष्य रहेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । उहाँले आर्थिक वर्ष २०८०÷८१ मा रेशसहित थामानेटा र धम्जामा चियाखेती विस्तार गरिएको बताउनुभयो । गाउँपालिकाले चियाखेती विस्तारका लागि रु ११ लाख बजेट विनियोजन गरेको थियो । बिहुँको थामानेटामा झाडी फाँडेर चियाखेती थालिएको छभने रेश र धम्जाका सामुदायिक विद्यालयको बाँझो जग्गालाई चिया बगैँचा बनाउन थालिएको थापाको भनाइ छ । रेशमा उत्पादित चियाले बजार पाउन थालेपछि अन्यत्रको बाँझो तथा खाली जग्गामा चियाखेतीमा गाउँपालिकाले अग्रसरता देखाएको काठेखोला गाउँपालिका–७ रेशका वडाअध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।
चितवन: जिल्लाको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिकै माइक्रो बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोतीबाट काठमाडौँतर्फ जादैँ गरेको ग१ख ९१५५ नं को माइक्रो आज बिहान नारायणगढ–मुग्लिन खण्डअन्तर्गत इच्छाकामना–६ जलबिरेस्थित सडकको डिभाइडरमा ठोकिँदा बसमा सवार तीनजना घाइते भएका हुन् । घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये माइक्रोका सहचालक नवलपुरको कावासोती नगरपालिका–८ बस्ने ३६ वर्षीय को धनश्याम न्यौपानेको अवस्था गम्भीर छ । बस आफैँ अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको बताउँदै प्रवक्ता रिजालले माइक्रो चालक चितवनको माडी नगरपालिका–१ का नन्दलाल महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उक्त माइक्रोमा १७ यात्री सवार थिए ।
गण्डकी: नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठका युगजयी विचारको अध्ययन–अनुसन्धान गर्ने सोचका साथ निर्माण गरिएको पोखराको फेदीपाटनस्थित पुष्पलाल अध्ययन केन्द्र भवन ओझेलमा परेको छ । नेपालमा कम्युनिष्ट आन्दोलनको जग बसाल्ने प्रमुख नेता पुष्पलालले अघि सार्नुभएका दर्शन र सिद्धान्तलाई जीवन्त राखी भावी पुस्तालाई हस्तान्तरण लक्ष्यका साथ निर्माण गरिएको भवन पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा ओझेलमा परेको हो । पोखरा महानगरपालिका–२१ फेदीपाटन, पोटेरामा पाँच वर्षअघि निर्माण गरिएको सुविधासम्पन्न भवन अत्यावश्यक संरचनाको अभावमा पूर्णरुपमा सञ्चालन गर्न नसकिएको पुष्पलाल अध्ययन केन्द्रका अध्यक्ष एवम् नेकपा एमाले स्थायी कमिटीका सदस्य खगराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालीन जहानियाँ राणा शासनका विरुद्धमा आवाज उठाउँदै नेपाली जनताको स्वतन्त्रताका पक्षमा कम्युनिष्ट विचारधारालाई अघि बढाएका आदर्श पुरुष पुष्पलालको विचारलाई जीवन्त राख्ने उद्देश्यका साथ केन्द्र स्थापना गरिएको हो । करिब रु १० लाखमा खरिद गरेको आठ आना जग्गामा सङ्घ र स्थानीय सरकार, विभिन्न सङ्घसंस्था एवं व्यक्तिबाट सङ्कलन गरिएको रु एक करोड ५० लाख बराबरको आर्थिक सहयोगबाट भवन निर्माण गरिएको अध्ययन केन्द्रले जनाएको छ । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता अधिकारीले भन्नुभयो, “तीनतले पक्की भवनमा पुस्तकालय, तालिम कक्ष, पुष्पलालसम्बन्धी अध्ययन–अनुसन्धान गर्न इच्छुक सङ्घसंस्था एवं व्यक्तिका लागि नवीनतम् प्रविधिसहित आवश्यक वातावरण तयार गरिए पनि अपेक्षा गरिएअनुसार भवनको सदुपयोग हुन सकेको छैन, त्यसतर्फ हामी सबैको ध्यान जान आवश्यक छ ।” पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा नेकपा (एमाले) पोखरा महानगरपालिकाद्वारा सोही भवनमा आज आयोजित प्रवचन गोष्ठीलाई सम्बोधन गर्दै एमाले नेता अधिकारीले यसै क्षेत्र आसपासका करिब एक सय रोपनी सार्वजनिक जग्गाको पहिचान एवं संरक्षण गरी जननेता मदन भण्डारी र कम्युनिष्ट आन्दोलनका शीर्षस्थ नेताहरुको सालिकसहित पुष्पलाल स्मृति वाटिका निर्माण गर्न केन्द्र जुटिरहेको जानकारी दिनुभयो । पोखरा महानगरपालिका–१७ र २१ जोडने फुस्रेखोलामाथिको पक्की पुल निर्माण प्रक्रियाअन्तर्गत रु ४९ करोड लागतसहितको डिपिआर तयार भएको जानकारी दिँदै पूर्वमुख्यमन्त्री अधिकारीले पुल निर्माणपछि अध्ययन केन्द्रसहित स्थानीय बासिन्दाका लागि यातायातको पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभयो । एमाले केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिका इन्चार्ज कृष्ण थापाले नेपाल कम्युनिष्ट पार्टीमार्पmत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ पुष्पलालले २००६ साल वैशाख १० गते नेकपाको स्थापना गर्नुभएको बताउनुभयो । यसैगरी, केन्द्रीय सदस्य एवम् अध्ययन केन्द्रका महासचिव भीमबहादुर कार्कीले पुष्पलालले विश्व कम्युनिष्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरी प्रकाशन गर्नुभएपछि नेपालमा कम्युनिष्ट आन्दोलनको बीजारोपण भएको धारणा व्यक्त गर्नुभयो । एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला कमिटी अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलगायतले नेपाल कम्युनिष्ट पार्टी स्थापनामा पुष्पलालको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । सो अवसरमा अध्ययन केन्द्र भवनको अग्रभागमा पुष्पलाल र पोखरा–१६ बाटुलेचौर जन्मस्थान भएका पुष्पलालका सहपाठी कम्युनिष्ट नेता बलराम उपाध्याय तिमल्सिनाको अर्धकदको सालिकमा माल्यार्पण गरिएको थियो । विसं १९८१ साल असार १५ गते रामेछाप जिल्लाको भङ्गेरीमा बाबु भक्तलाल र आमा तुलसीमाया श्रेष्ठका कोखबाट माइलो सन्तानका रुपमा जन्मनुभएका पुष्पलालको नयाँ दिल्लीस्थित गोविन्दवल्लभ पन्त अस्पतालमा २०३५ साल साउन ७ गते उपचारका क्रममा निधन भएको थियो ।
म्याग्दी: मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीबाट करिब २३ किलोमिटर पदमार्ग निर्माण र स्तरोन्नति गरिएको हो । गाउँपालिकाको दुईवटा शीर्षकको र एक्यापको बजेटबाट फरक–फरक ठाउँमा पदमार्ग निर्माण भएको हो । आर्थिक वर्ष २०८०/८१ मा घरपझोङ गाउँपालिकाले दुईवटा शीर्षकमा रु ५० लाख बजेट बिनियोजन गरेको तिलिचो ताल जोड्ने पदमार्ग मर्मत तथा स्तरोन्नति योजनाका लागि एक्यापले पनि रु १० लाख खर्च गरेको छ । घरपझोङ गाउँपालिकाका रोजगार संयोजक शर्मिला श्रीसले प्रधानमन्त्री रोजगार कार्यक्रमको रु २१ लाख ४९ हजार र गाउँपालिकाको थप रु २८ लाख ५८ हजार बजेटबाट वडा नं ४ र ५ को विभिन्न ठाउँमा २२ किलोमिटर पदमार्ग बनाएको जानकारी दिनुभयो । “दुईवटा वडाका १४–१४ जना बेरोजगार युवालाई पदमार्ग निर्माणमा परिचालन गरिएको थियो”, उहाँले भन्नुभयो, “साँघुरो र जोखिमयुक्त ठाउँमा चार फिट फराकिलो पदमार्ग बनाएर सहज रूपमा आवतजावत गर्न सकिने बनाइएको छ ।” झोरखोलाबाठ–नमखुलेक खर्क–निलगिरि आइसफल–छमा ताल पहुँच मार्गको सोचिलेकसम्म पदमार्ग निर्माण तथा स्तरोन्नति गरिएको रोजगार संयोजक श्रीसले बताउनुभयो । एक्यापमार्फत पाँच हजार एक सय २० मिटर उचाइमा रहेको मेरोकोन्दो पास क्षेत्रमा नौ सय ५० मिटर पुरानो पदमार्ग मर्मत र छ सय मिटर नयाँ पदमार्ग निर्माण गरिएको रेञ्जर सञ्जोक थकालीले जानकारी दिनुभयो । जोमसोम–ठनी हुँदै बढीमा तीन दिनमा तिलिचो पुगेर फर्कन सकिने यो पदमार्ग समुद्री सतहबाट चार हजार नौ सय १९ मिटर उचाइमा अवस्थित संसारकै अग्लो स्थानमा रहेको मानिएको यो ताल पुग्ने छोटो पदमार्ग भएको रेञ्जर थकालीले बताउनुभयो । प्राकृतिक सौन्दर्ययुक्त तिलिचो ताल, नीलगिरि हिमाल, नमखु लेक, हिमचितुवाको बासस्थान, धुम्बा ताल, ह्यारझु भ्यू प्वाइन्ट, ठिनीगाउँ, ऐतिहासिक घरफझोङ किल्ला, कैश्याङ क्याम्प, थकाली कला र संस्कृति, भेडाच्याङग्रा तथा चौँरीको गोठ यो पदमार्गका आकर्षण हुन् । यसैगरी मुस्ताङमा यस वर्ष एक्यापको रु २७ लाख ३२ हजार पाँच सय नौ बजेटमा तिलिचो ताल जोड्नेसहित छ ठाउँमा पदमार्ग निर्माण र स्तरोन्नति गरिएको छ । उपभोक्ताले रु एक लाख ३२ हजार बराबरको श्रमदान गरेका छन् । रु पाँच–पाँच लाख बजेटमा थासाङ गाउँपालिकाको घैकु–मिसी– लेते–कालोपानी पदमार्गमा चार सय ५० मिटर मर्मत र चोखोपानी क्षेत्रमा ६५ मिटर पदमार्ग निर्माणका साथै ५५ थान ग्यावियन पर्खाल निर्माण भएको छ । रु एक लाख बजेटमा सौरु सिरकुङ–ताग्मी–फुरतमी क्षेत्रमा दुईवटा सल्याब, १२ थान ग्यावियन बक्स राखेर पदमार्ग मर्मत गरिएको छ । जोमसोम–कागबेनी–मुक्तिनाथ सडक बनेपछि पहिचान भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथ–लुप्राखोला पदमार्गमा दुई हजार एक सय ७९ मिटर र मनाङ हुँदै पाँच हजार चार सय मिटर उचाइको थोराङ्ला झञ्ज्याङ पार गरेर मुस्ताङ आउने बाटोमा सात सय १९ मिटर पदमार्ग निर्माण भएको छ ।

