पोखरा ।    गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले संघीयता सबलीकरणमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको भूमिका विषयक नीति संवाद कार्यक्रम सम्पन्न गरेको छ ।   प्रतिष्ठानको सातौं स्थापना दिवस...

पर्वत:   पैयुँ गाउँपालिका–५ को बानीडाँडा प्राथमिक विद्यालयमा बाढी पसेको छ ।   विद्यालय नजिकको टिउरीखोलाको लेदोसहितको बाढीले विद्यालयका कोठा गेग्रानले पुरिएका छन्भने अन्य भौतिक संरचनामा क्षति भएको छ ।   पैंयुँ गाउँपालिका–५ का वडाअध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार विद्यालय स्थानान्तरण गर्नुपर्ने अवस्था छ । “खोला नियन्त्रणका लागि तत्काल पूर्वाधार निर्माण नगरे विद्यालय नै स्थानान्तरण गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो ।   भारी वर्षा हुँदा बाढीको जोखिम बढ्ने उहाँले बताउनुभयो । बाढीबाट भएको क्षतिको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल, उपाध्यक्ष यामकुमारी रानासहितका जनप्रतिनिधिले स्थलगत अवलोकन गर्नुभएको छ ।   यसैबीच, बाढीका कारण पैयुँ –५ को पियाखेतका दर्जनौँ परिवारको घरगोठमा पनि क्षति पुर्याएको छ भने सयौँ रोपनी खेतबारी बगरमा परिणत भएको छ । पैंयुँ गाउँपालिका–६ सरौँखोलामा रहेको लक्ष्मीभवन प्राविमा पनि क्षति भएको छ ।

पोखरा:     पोखरा महानगरपालिका–२१ कृष्ती क्षेत्रका सुन्तलामा कत्ले कीराको प्रकोप देखिएको छ ।  यहाँको काफलबोटेलगायतका स्थानमा झण्डै एक सय रोपनी क्षेत्रफलमा लगाइएको सुन्तला खेतीमा कत्ले कीराको प्रकोप देखिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो ।      कत्ले कीराको प्रकोप बढ्दै गएको कृषकहरूबाट जानकारी आएपछि प्राविधिकसहितको टोली पुुगेर सुुन्तला बगैँचाको स्थलगत अवलोकन गरिएको उहाँले बताउनुुभयो ।  उक्त कीराको प्रकोपबाट सुन्तलालाई बचाउनका लागि कृषकहरूलाई आवश्यक प्राविधिक सल्लाह दिइएको र त्यसअनुसार उनीहरू लागिसकेको उहाँले जानकारी दिनुभयो ।      उहाँका अनुुसार कत्ले कीराको शरीरको रङ्ग रुखको पात तथा बोक्रसँग मिल्दोजुल्दो हुने हुँदा सजिलै चिन्न सकिदैन । मसिना, गोला तथा चेप्टा राता खैरा रङ्गका यी कीराहरु मैनाको ढकनीले ढाकिएर रहने र बोटको हाँगा, मुना, फल सबै भागमा चुसी नोक्सान गर्छन् । यो कीरा लागेको ठाउँमा कमिला देखिन्छ ।       यसले विरुवाको पात, डाँठ, मुना र फलबाट रस चुस्दछन जसको फलस्वरुप बिरुवा बढ्न सक्दैनन् । साना बिरुवामा यी कीराले धेरै क्षति पु¥याउँछन् । नरम शरीर भएका कत्लेकीराले आफ्नो शरीरबाट मह जस्तो गुलियो पदार्थ निकाल्छन् ।  यस्तो गुलियो पदार्थमा कालोढुसीको अत्यधिक वृद्धि भइ पातलाई ध्वासो जस्तो पदार्थले ढाक्दछ । ध्वाँसोले प्रकाश लिने कार्यमा अवरोध उत्पन्न गरी पातमा खाना बन्ने प्रक्रियामा अवरोध पु¥याउछ । ध्वाँसो लागेका फलको गुणस्तर राम्रो हुँदैन । कतिपय कत्ले कीराले कलिला फलमा पनि आक्रमण गर्ने उहाँले जानकारी दिनुुभयो ।      कृष्ती क्षेत्रमा सुन्तलाको उत्पादन राम्रै हुने गरे पनि समय समयमा विभिन्न कीरा एवं रोगको प्रकोपका साथै फूल फूल्ने तथा बतिला लाग्ने समयमा आउने असिना गम्भीर समस्याका रुपमा रहेको यहाँका स्थानीयवासी बताउँछन् । 

काठमाडौं:    एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ ।  श्रीलङ्काको दाम्बुलामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको हो ।  यो जीतसँगै भारत प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ भने हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि दुई खेल खेलेको नेपालले एक खेलमा हार तथा एक खेलमा जीत हासिल गरेको थियो । नेपालले युएईलाई ६ विकेटले हराउँदा पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो ।  आजको खेलमा भारतले नेपाललाई जीतका लागि एक सय ७९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रनमा समेटियो ।  नेपालका लागि सीता रानामगरले सर्वाधिक १८ रनको योगदान दिइन् । त्यस्तै विन्दु रावलले १७ रन जोड्दा रुविना क्षेत्रीले १५ तथा कप्तान इन्दु वर्माले १४ रन जोडिन् । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।  भारतका लागि दिप्ती शर्माले ३ विकेट लिइन भने अरुणदति रेडि र राधा यादवले समान दुई दुई विकेट लिए । यस्तै रेनुका सिंहले एक विकेट लिइन् ।  त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रनको योगफल बनाएको थियो । भारतका लागि ओपनर शफाली वर्माले सर्वाधिक ८१ रनको योगदान दिइन् । उनले ४८ बलमा १२ चौका र १ छक्कासहित ८१ रन बनाएकी हुन् । त्यस्तै अर्की ओपनर दयालन हेमालथाले ४२ बलमा ५ चौका र १ छक्कासहित ४७ रन जोडिन् । जेमिमाह रोड्रिगेजले २८ रन बनाउँदा सजीवन सजनाले १० तथा ऋचा घोषले ६ रन जोडिन् । नेपालका लागि सीता रानामगरले दुई विकेट लिइन् भने कविता जोशीले एक विकेट लिइन् । 

गोरखा:   बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।   सबै वडामा गाउँपालिका, वडा र बैङ्कका कर्मचारीसहितको टोली पुगेर भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।   गाउँपालिकाले समय तालिका बनाएर गाउँमै बैङ्किङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको उहाँले बताउनुभयो ।   “बारपाक सुलिकोट भौगोलिक हिसाबले जटिलता भएको पालिका हो,” अध्यक्ष भट्टले भन्नुभयो, “सामाजिक सुरक्षा भत्ताका लागि असहाय, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिक बैङ्कसम्म पुग्न कठिनाइ हुने भएकाले टोलटोलमै पुगेर वितरण गर्दै आएका छौँ ।”   सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गर्नुपर्ने भएकाले गाउँपालिकाले बैङ्कसँग आवश्यक समन्वय गरी टोलटोलमा लाभग्राहीलाई बैङ्किङ प्रक्रिया पूरा गरी भत्ता उपलब्ध गराउने गरेको उहाँको भनाइ छ ।   टोलटोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि लाभग्राही खुसी भएका छन् ।   भौगोलिक अवस्थितिअनुसार गाउँपालिकाले प्रत्येक वडामा सामाजिक सुरक्षा भत्ता वितरण टोली परिचालन गरेको छ । हालै गाउँपालिका–४ स्थित सौरपानीबाट भत्ता वितरणको काम सुरु गरिएको छ ।   “बैङ्कसम्म सुरक्षा भत्ताका लागि धाउनुपर्दा एकतर्फ हैरानी खेप्नुपर्ने र अर्कोतर्फ अशक्त र असहाय व्यक्तिले गाडी ‘रिजर्भ’ गरेर आउजाउ गर्नुपर्दा खर्चिलोसमेत हुने गरेको थियो,” अध्यक्ष भट्टले भन्नुभयो ।

तनहुँ:   यहाँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माणले गति लिएको छ ।   हालसम्म आयोजनाको भौतिक प्रगति ५९ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।   बर्खायामको समयमा सेतीनदीमा आउने बाढीका कारण थोरै निर्माण प्रभावित भएको आयोजनाले जनाएको छ ।   आयोजनाको प्याकेज–१ अन्तर्गत बाँध निर्माणका लागि क्रङ्क्रिटको काम नदी किनारमा बसेर गर्दा डाँडाबाट ढुङ्गा खस्ने हुँदा निर्माण प्रभावित भएको आयोजनाका प्रबन्ध निर्देशक किरण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयोजनाको प्याकेज–१ मा ३५, प्याकेज–२ मा ७३ र प्याकेज–३ मा ७३ प्रतिशत कार्य प्रगति भएको छ, “वर्षा रोकिएपछि निर्माणले गति लिने छ ।”   आयोजनाको प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीसँग विसं २०७८ भदौ १४ गते ठेक्का सम्झौता भइ काम भइरहेको छ ।   आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ निर्माण गर्न सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गते खरिद सम्झौता भएको थियो ।   त्यसैगरी, प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका लागि केइसी इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते खरिद सम्झौता भइ विसं २०७५ फागुन १० देखि कार्यान्वयनमा आइसकेको छ ।   आयोजना निर्माणका लागि एसियाली विकास बैङ् (एडिबी)ले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर गरी ५० करोड ५० लाख अमेरिकी डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ । 

चितवन:    डेङ्गु सङ्क्रमण बढेसँगै यहाँको इच्छाकामना गाउँपालिकाले लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गरेको छ ।  गाउँपालिकाले केही दिनअघि मात्रै मुग्लिन र शान्ति बजार क्षेत्रमा डेङ्गु रोगसम्बन्धी सचेतनासँगै ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिबहादुर देवकोटाले जानकारी दिनुभयो । गाउँपालिकाको सबै वडामा कार्यक्रम सञ्चालन गरिने उहाँले  बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख देवकोटाले भन्नुभयो, “गाउँपालिकाको सबै वडा र टोलहरुमा लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गर्ने  छौँ ।” गाउँपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार साउनको एक हप्तामा मात्रै २४ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । सोमबार मात्रै सात जनामा डेङ्गुु सङ्क्रमण देखिएको छ ।  इच्छाकामना गाउँपालिकामा जेठदेखि डेङ्गु सङ्क्रमण देखिन थालेको र अहिलेसम्म ५८ जनामा देखिएको स्वास्थ्य शाखा प्रमुख देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित बिरामीमध्ये वडा नं ५ को मात्रै ५५ जना छन् । बाँकी वडा नं ३ र ४ का तीन जनामा डेङ्गु सङ्क्रमण भएको छ ।  सङ्क्रमितमध्य अधिकांश मुग्लिन बजारमा बसोबास गर्नेहरु छन् । उहाँका अनुसार गाउँपालिकाको बजार क्षेत्रमा सङ्क्रमणको बढी जोखिम छ ।  सङ्क्रमितहरुको इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको अस्पतालका जनस्वास्थ्य निरीक्षक नवराज अधिकारीले बताउनुभयो । अस्पतालमा डेङ्गुको निःशुल्क परीक्षणको व्यवस्था गरिएको छ । 

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनः नवीकरण गर्नुपर्ने बताउनुभएको छ ।       प्रधानमन्त्री निवास बालुवाटारमा आज रुसको महिला भलिबल टोलीसँग भएको भेटमा प्रधानमन्त्री ओलीले दुई देशबीच सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायातलगायत क्षेत्रमा सहयोग प्राप्त गरेको बताउनुभयो ।  उहाँले खेलकुदको क्षेत्रमा रुस अग्रपङ्क्तिमा रहेको बताउनुभयो । दुई देशको भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुनु सकारात्मक भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले  खेलका माध्यमबाट पनि आपसी सम्बन्ध विस्तारमा योगदान पुग्ने बताउनुभयो ।   प्रधानमन्त्रीले रुसको प्रसिद्ध ‘ ग्रेट मस्को सर्कस’ र नेपालको मौलिक नृत्य, ‘अर्केष्ट्रा’ संस्कृतिको आदानप्रदानमा निरन्तरता हुनुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

काठमाडौं:    नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा(तामाङ)ले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ ।       नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित नेता लामाले प्रदेशप्रमुख यादवचन्द्र शर्मासमक्ष दाबी पेस गर्नुभएको हो ।  कांग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाका साथ उहाँले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो । नेता लामालाई आजै प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्ने सम्भावना छ ।       मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै प्रदेशप्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सरकार गठनका लागि दलहरुलाई आज साँझ ५ बजेसम्ममा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।      यसैबीच कांग्रेसले मुख्यमन्त्रीसहित सात र एमालेले छ मन्त्रालय लिने सहमति भएको जनाइएको छ । 

काठमाडौं:    बागमती सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच मन्त्रालय बाँडफाँट भएको छ ।       कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको नेपाली कांग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले जानकारी दिनुभयो ।   नेकपा एमालेले भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय लिने सहमति भएको उहाँले बताउनुभयो ।