मुस्ताङ: घरपझोङ गाउँपालिका—३ स्याङमा सम्पन्न खिल्हा मेला खुल्ला पर्वतीय ‘हाइअल्टिच्युड’ भलिबल प्रतियोगिता २०८१ मा ब्रदर युनाइटेड च्याम्पियन बनेको छ । स्याङको खेलमैदानमा भएको फाइनल खेलमा ब्रदर युनाइटेडले मुस्ताङ टाइगर समूलाई ३–० सहित सोझो सेटमा पराजित गर्दै ब्रदर युनाइटेड च्याम्पियन बनेको हो । च्याम्पियन बनेको युनाइटेडले नगद रु १ लाख ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । उक्त टोलीमा विभागीय टोलीका खेलाडीसमेत सम्मिलित थिए । यस्तै उपविजेता बनेको मुस्ताङ टाइगरले नगद रु ८५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र हात पार्याे । कुल ९ वटा टिमको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउट चरणमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगिताबाट ब्रदर युनाइटेडका हिमाल सुनारीमगर सर्वोउत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु १० हजार र ट्रफीसहित पुरस्कृत भए । सनारीमगर गण्डकी प्रदेशको क्विक स्पाइकर हुन् ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सिमित स्रोत साधनको उच्चतम प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह गरेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको बुधबार बसेको बैठकमा मन्त्री थापाले उक्त कुरा व्यक्त गरेका हुन् । परिषदका अध्यक्षसमेत रहेका मन्त्री थापाले प्रदेशलाई गौरवको प्रदेशको रुपमा स्थापित गर्न खेलकुद महत्वपूर्ण रहेको जनाउँदै भने–“सबै क्षेत्रमा बजेट घटेको छ । हामी बजेट घट्यो भनेर चिन्ता गर्नु भन्दा सिमित स्रोत साधनको उच्चतम उपयोग गर्दै त्यसबाट अधिकतम फाइदा लिनु शसक्त रुपमा अघि बढौं ।” बैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री थापाले प्रदेशको गौरब बढाउने विषयमा प्रदेश सरकार र मन्त्रालय गम्भीर रहेको धारणा अघि सार्दै कुनै पनि विकासका कार्यमा प्रतिकुल असर नपर्ने गरी सहयोग गर्न तयार रहेको बताए । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गर्न र आवश्यक खेल मैदान मर्मत सम्भारका कार्यहरु गर्न समेत निर्देशन दिंदै चालु आर्थिक वर्षमा बजेटमा सम्बाेधन हुन नसकेका कार्यक्रमहरुलाईसमेत मन्त्रालयको तर्फबाट पहल गर्न आफूले सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । सो अवसरमा परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले दशौं राष्ट्रिय खेलकुदमा नवौंको जस्तै गरी नतिजा ल्याउन परिषद गम्भिर रुपमा अघि बढ्नु पर्ने सुझाव राख्दै प्रशिक्षण अभियानलाई तिव्रता दिनुपर्ने कुरामा जोड दिए । उनले सबै प्रदेशहरुले आफ्नै रंगशाला निर्माण कार्य अघि बढाइरहेकोले गण्डकी प्रदेशले समेत् आफ्नै व्यवस्थित रंगशाला निर्माण कार्यका लागि पहल सुरु गर्नुपर्ने जनाए । उनले भने–“सबै प्रदेशमा आफ्नै रंगशाला निर्माणका प्रक्रिया अघि बढेका छन् । अब गण्डकी प्रदेशले त्यसको सुरुवात गर्नुछ । दक्ष खेलाडी उत्पादनका लागि समेत रंगशाला निर्माण कार्य महत्वपूर्ण छ ।” बैठकमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले जिल्लाहरुमा रहेका खेलकुद मैदानहरुको निर्माण खेलाडी उत्पादनका लागि महत्वपूर्ण रहेको जनाउँदै चालु बजेटले विगतमा जस्तै गरी सम्बोधन गरेको बताए । उपलब्ध बजेटको समुचित प्रयोग गरी खेलकुद विकासका लागि अघि बढ्न आग्रह गर्दै त्यसबाट लाभान्वित हुने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई थियो । बैठकमा परिषदका सदस्य सचिव श्रीधर शर्माले गत आर्थिक वर्ष सम्पन्न कार्यक्रमहरु र चालु आर्थिक वर्षका बजेट तथा कार्यक्रमहरुका बारेमा जानकारी दिएका थिए । बैठकमा गत वर्ष २०८०/०८१ को प्रगती समिक्षा र चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम र तयारी बारे संगै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रणनितिक तयारी थाल्ने गरी छलफल भएको परिषदका महाशाखा प्रमुख राम प्रसाद आचार्यले जानकारी दिए । बैठकमा परिषद आर्थिक प्रशासन विभागका अधिकृत निलकण्ठ ढकालले समेत आफ्ना भनाई राखेका थिए ।
म्याग्दी: राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिरो पन्छाएर थप खस्न नदिन ‘रक एङ्करिङ’ प्रविधि प्रयोग गरेर रोकथामको काम थालिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजना सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडक माथिको पहाडमा ड्रिलिङ गरेर रड राखी, ढलानसहितको बेस बनाएर पहिरो रोकथामको काम थालिएको हो । रक एङ्करिङ गर्न ३० मिटर ‘ड्रिलिङ’ गरेर धमाधम रड राखिदैछ । पहाडमाथि पर्खाल बनाएर पहिरो रोक्ने संरचना बनाउन लागिएको सबइन्जिनियर कार्कीले बताउनुभयो । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी खण्डको ५० भन्दा बढी ठाउँमा पहिरो खस्ने, सहायक खोलाबाट आएको बाढीले बगाउने र कालीगण्डकीले कटान गर्ने समस्या छ । बैसरीलगायतका ठाउँको पहिराले स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको छ ।
काठमाडौं: विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्सन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ । छायाङ्कनको क्रममा ‘राजागञ्ज’ नाम राखिएको चलचित्रको नाम परिवर्तन गर्दै निर्देशक दीपक रौनियारले ‘पूजा, सर’ राख्नुभएको छ । निर्देशक रौनियारले चलचित्रको छनोटको खबर पाएसँगै यसलाई सुखद् यात्राको आरम्भको रूपमा व्याख्या गर्नुभएको छ । “अघिल्ला चलचित्र झै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवबाट प्रदर्शनी (वल्र्ड प्रिमियर) प्ररम्भ हुँदैछ । यसपटक नेपाली निर्मातासँग सहकार्य गरेर बनाएको चलचित्रले विश्व चलचित्र मञ्चमा कस्तो यात्रा गर्ला ? यसको प्रतीक्षा मलाई पनि उत्तिकै छ”, उहाँले भन्नुभयो । यसअघि सन् २०१६ मा उहाँकै ‘ह्वाइट सन’ ले यही विधामा छनोट हुने पहिलो नेपाली चलचित्रको इतिहास रचेको थियो । गत वर्ष भने फिडेल देवकोटाले निर्देशन गर्नुभएको ‘द रेड सुटकेस’ छनोट भएको थियो । विश्व बजारमा प्रदर्शन गरिसकेपछि मात्रै नेपालमा प्रदर्शन गर्ने तयारी गरिएको चलचित्र ‘पूजा, सर’ लाई ‘थ्रिलर’ विधामा तयार गरिएको छ । जनकपुरमा छायाङ्कन गरिएको चलचित्रमा महिला प्रहरीको कथा समेटिएको छ । यसमा अभिनेत्री आशा मगराती, अभिनेता दयाहाङ राई, पूर्वमिस नेपाल निकिता चण्डक, आरती मण्डल, रिचा शर्मा, विजय बराल, गौमाया गुरूङ, नीरज श्रेष्ठ, पशुपति राईलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी , कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी ,बागमती प्रदेश,गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न अनुरोध गरेको छ । साथै विभागले ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि सम्बद्ध सबैमा आग्रह गरेको छ ।
रसुवा: गैरकानुनी ढङ्गले विदेशी मुद्रा चीनको स्वशासित क्षेत्र तिब्बततर्फ लैजान लागेको अवस्थामा रसुवागढी नाकाबाट एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ पाजुङ निवासी २२ वर्षीय नुर्पु तामाङलाई दुई सय डलरसहित पक्राउ गरिएको हो । भन्सार कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले निजलाई पक्राउ गरेको हो ।
काठमाडौं: बुधबार बिहान झण्डै सवा ११ बजेतिर त्रिभुवन अनर्राष्ट्रिय विमानस्थलमा एक्कासी ठूलो आवाज सुनियो । त्यो आवाजसँगै विमानस्थलको पूर्वी छेउमा धुवाँको मुस्लोसहित आगोको ज्वाला दन्किएको देखियो । त्यतिबेला विमानस्थल वरपरको जमिन पनि थर्किएको थियो । यो भयानक दृश्यको साथी बनेका रामकुमार केसीले सौर्य एयरलाइन्स दुर्घटनाको घटना विवरण सुनाउनुभयो । बानेश्वर निवासी केसी नियमित झै पसल खोलेर साथीभाइसँग गफिरहनुभएको थियो । “सुरुमा डङ्ग आवाज सुनियो, के भएछ भनेर यसो अगाडि हेर्दा त धुँवाको मुस्लोसहित आगोको ज्वाला अगाडि नै आइसक्यो”, केसीले भन्नुभयो, “आगोको रापले पसल छोडेर भाग्नुपर्यो, साथीभाइबीच कोलाहल मच्चियो, डरले हातखुट्टा लगलग काँपे, पाइला चाल्न सकिएन, आवाज पनि निस्किएन । विस्तारै समालिएँ । नजिकै गएर हेर्दा त विमान दुर्घटना भएर घाइतेहरू घटपटाइरहेको दृश्यले झनै मन क्षत विक्षत भयो ।” विमान दुर्घटनास्थलसँगै पेप्सिकोला खहरेस्थित जे.जे मोटर पार्टस एण्ड ट्रेडिङ कम्पनीका सञ्चालक केसीले उक्त स्थानमा विगत छ वर्षदेखि सवारीसाधनको मोटर पार्टस तथा मर्मत पसल सञ्चालन गर्दै आउनुभएको रहेछ । केसीले त्यो क्षण सम्झँदै भन्नुभयो – आँखै अगाडि कहाली लाग्दो विमान दुर्घटनाको दृश्यले केसीको मनमा छटपटी बढ्यो । मुखबाट शब्द निस्केन । एक छिन त हात–खुट्टाले पनि काम गरेन । भाग्यवस आफूहरू बाच्न सफल भएको उहाँले बताउनुभयो । “धावनमार्ग नजिकको कन्टेनर र सँगैको झाडीसहितको कान्लामा नठोक्किएको भए उक्त जहाज सिधै बस्तीमा पस्ने थियो र हामीलगायत अरु धेरैको ज्यान जाने खतरा हुन्थ्यो धन्न बाँचियो”, केसीले भन्नुभयो । विमानले धावनमार्गसँगैको कन्टेनरमा ठक्कर दियो र भित्तामा बजारियो । आगोको मुस्लो र धुँवाले नजिक केही देखिएन । आगो लागेको करिब पाँच मिनेटमा दमकल आइपुग्यो । “जहाज माथिबाट जल्दै झरेको देखियो । आगो दन्कियो, आवास र गन्ध आइरहेको थियो”, केसीले भन्नुभयो । करिब २५ मिनेटमा आगो नियन्त्रणमा आयो र उद्धार गर्न सुरु भयो । घाइतेको उद्धार र शव निकालेर एम्बुलेन्समा हालियो । एम्बुलेन्सको आवास, मानिसको कोलाहलले दुर्घटनास्थलको माहोल भावविहोल थियो । समयमै दमकल पुगेको भए केहीलाई बचाउन सकिन्थ्यो की भन्ने प्रत्यक्षदर्शीको अनुमान छ । सोही स्थानमा विगत डेढ वर्षदेखि थानापति वर्कसप सञ्चालन गर्दै आउनुभएका सुनिल साहीलाई चाही भुँइचालो गएजस्तो लाग्यो । यसो हेर्दा त विमानमो दुर्घटना भएको रहेछ । “पसलमा बसिरहेको थिएँ, भुँइचालोले जस्तो हल्लायो, जुरुक उठेर हेर्दा त आगोको मुस्लो देखे, आगोको रापले उभिन सकिएन पर गएर दुर्घटनास्थल नियाले”, उहाँले भन्नुभयो, “दृश्य हेर्दा कोही पनि बाँचेन भन्ने लाग्यो, उद्धार टोली डिलोगरी पुगे । डाँडाबाट पानी हालेर दुर्घटनास्थलमा पानी पुग्न सकेन । मुख्य आगो लागेको ठाउँ थोरै टाढा थियो ।” सिन्धुपाल्चोक घर भएका सवारीचालक सन्तोष खड्काले पनि विमान दुर्घटनाको साक्षी बन्नुभयो । उहाँले भन्नुभयो, “गाडीमा रङगरोघन गरिरहेका थियौँ, एक्कासी धुँवाको आगोको तापसँगै मुस्लो आयो, मुटु ढुकढुक भयो, जिउ काम्यो, हेर्दा खेरी डरमर्दो थियो । आगोको ताप सुरुमा दुई चार जना मानिस छटपटाइ रहेको देखियो, कोहीको आधा, जीउ कसैको हात घुट्टा छैन, केहीको टाउको थिएन । उद्धारमा ढिलाइ भएकाले धेरैको ज्यान बचाउन सकिएन ।” सुमित कार्कीले पनि वर्कसपबाटै प्रत्यक्ष विमान दुर्घटनाको विभत्स दृश्यको साक्षी बन्नुभयो । “स्कुल बसमा कलर गर्दै थिए । एक्कासी ठूलो आवाजसहित आगो बलेको देखियो । दौडेर सुरक्षित ठाउँतिर गइयो, विमान जलिरहेको भिडियो पनि मोबाइलमा कैद गरियो । केही समयपछि दमकल र उद्धारकर्मी आए । सायद चाँडै आएको भए केहीको ज्यान बचाउन सकिन्थ्यो की !”, उहाँले भन्नुभयो । सप्तरीका सुरज पासवान पनि विमान दुर्घटना हुँदा नजिकैको धारामा हातखुट्टा धुँदै हुनुहुन्थ्यो । जहाज आवासहित ठोक्किएर आगो लागेको दृश्यले धेरैबेरसम्म बोल्न पनि सक्नुभएन । आगोको रापले भागाभाग भयो । “एउटा पाइलटले हात हल्लाएको देखे अरु जलेर चिन्न नसक्ने अवस्थामा थिए । हातखुट्टा लरबराए, धेरै डर लागेको छ ।” विमान दुर्घटनास्थल नजिकको न्यू संयुक्त अटो वर्कसपमा कार्यरत मजदुर विमान दुर्घटनाका साक्षी बने । त्यहाँको सम्पूर्ण घटनाक्रम नियाले । अनि मोबाइलमा तस्बीर र भिडियो कैद पनि गरे । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सौर्य एयरलाइन्सको सिआरजे ७ (९एन–एएमइ) कलसाइन विमान आज स्थानीय समयअनुसार बिहान ११ बजेर ११ मिनेटमा पोखरा उडानको क्रममा उड्ने वित्तिकै दुर्घटनाग्रस्त भएको थियो । चालकदलसहित १९ जना सवार उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको धावनमार्ग ०२ बाट उडान गर्ने वित्तिकै दाहिने मोडिन गई धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त भई १८ जनाको मृत्यु हुनका साथै एक जना घाइते हुनुभएको छ । घाइतेको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे प्राधिकरण के भन्छ ? अन्तर्राष्ट्रिय विमानस्थलमा टावर नजिकै भएको दुर्घटनाले विभिन्न संशय उब्जाएको छ । मिडिया र सामाजिक सञ्जालमा विमान दुर्घटनाबारे विभिन्न विषयहरु आइरहेका छन् । यता नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाका कारणबारे अहिले नै केही भन्न नसकिने बताएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले विमान दुर्घटना के कसरी भयो भन्ने कुरा अत्यन्त प्राविधिक विषय भएकाले अहिले अनुमानका आधारमा भन्न नसकिने बताउनुभयो । हल्ला भए जस्तो विमान पुरानो वा समयमै मर्मत नभएको भन्नेकुरामा सत्यता नरहेको उहाँले स्पष्ट पार्नुभयो । “विमानको धेरै प्रकारको चेक हुन्छ, निश्चित घण्टा, निश्चित साइकल, ल्याण्डिङपछि गरिने चेक हुन्छ”, सूचना अधिकारी भूलले भन्नुभयो, “विमानको छुट्टै आयु हुँदैन, विभिन्न पार्टको आयु हुन्छ, कुन पार्टस कति सयम अवधिपछि परिवर्तन गर्ने भन्ने हुन्छ ।” दुर्घटनाग्रस्त विमान ‘एयर ओर्दिनेस’ २०२५ सम्म ‘भ्यालिड’ भएको विमान हो । अहिले पनि एक सय १९ घण्टा ‘फ्लाईङ आवर’ बाँकी छदैँ समयमै मर्मतका लागि पोखरा पठाउन लागिएको थियो । इञ्जिनियरले २० देखि २५ दिनको विमानको सम्पूर्ण पार्टसको मर्मत (सी–चेक) गर्नका लागि विमान लगिँदै थियो । सूचना अधिकारी भूलका अनुसार दुर्घटनाको प्राविधि होकी मानवीय कारण भनेर अध्ययन नगरी भिन्न सकिँदैन । एक सय आठ दुर्घटनामा नौ सय ५९ को मृत्यु प्राधिकरणका अनुसार नेपालको हवाई उडानको इतिहासमा हालसमम सबै प्रकारका वायुयानगरी एक सय आठ दुर्घटना भएका छन् । ती दुर्घटनामा परी नौ सय ५९ जनाको मृत्युभएको छ । दुर्घटनामध्ये विदेशी दर्ता विमान १० दुर्घटनमा तीन सय ७९, हेलिकोप्टरतर्फ ३९ दुर्घटनामा ९२ जनाको मृत्यु, सिङ्गल इन्जिन विमानको आठ वटा दुर्घटना हुँदा २५ जना र ‘फिक्स विङ्ग’ विमान ५० वटा दुर्घटना हुँदा चार सय ५१ जनाको मृत्यु भएको छ । के हो (सी–चेक) सौर्य एयरलाईन्सको सीआरजे ७०० ९ एन–एएमई विमान ‘विमानको सम्पूर्ण चेक पार्टसको चेक’ (सी–चेक) का लागि इञ्जिनियरसहितको टोली लिएर पोखरा जाँदै थियो । उक्त विमान धावनमार्गबाट उड्ने वित्तिकै दुर्घटनाग्रस्त भयो । हरेक दुई वर्षमा सी–चेक गरिन्छ । कम्पनीसँग यही सिरिजका तीन विमान थिए । एक दुर्घटना र एक जहाज ग्राउन्डेड रहेकाले अब एक मात्रै उडानमा हुनेछ । हाल भद्रपुर र विराटनगरमा दैनिक समान तीन उडान गरिरहेको थियो । सी–चेकका लागि इञ्जिनियरहरुसहितको टोली विमान दुर्घटनामा परेको हो । उक्त वायुयान दुर्घटनाको सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन पेस गर्न सरकारले आजै पाँच सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ । प्राधिकरणका अनुसार वायुयानलाई दुरुस्त राख्न तोकिएको समयमा तोकिएको परीक्षण नियमित हुने गरे–नगरेको बारे अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० ले हरेक मुलुकका नियामक निकायलाई सचेत गराइरहेको हुन्छ । नियामक निकायले यसको पनि विवरण राखी त्यस्तो परीक्षण सुनिश्चित गरिरहेको हुन्छ । दुर्घटनाको कारण प्राविधिक अध्ययनपछि मात्रै थाहा हुन्छः पर्यटनमन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दुःखद् विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाईतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले मृतकका परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । उहाँले विमान दुर्घटना नितान्त प्राविधिक विषय भएकाले के कारणले दुर्घटना भएको दुर्घटना जाँच आयोगको अध्ययन पछि नै बाहिर आउने स्पष्ट पार्नुभयो । “प्राविधिक विषयमा चाडो प्रतिक्रिया दिन मिल्दैन, प्राविधिक अध्ययनपछि मात्रै भन्न सकिन्छ, तथ्य, घटनाक्रम र प्राविधिक त्रुटि भएमा अध्ययनपछि पुष्टि हुन्छ”, पर्यटनमन्त्री पाण्डेले भन्नुभयो । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले दुःखद् दुर्घटनाले मर्माहत बनाएको भन्दै आगामी दिनमा यस किसिमका घटना हुन नदिन सबै जिम्मेवार निकाय गम्भीर बन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दुःखद् दुर्घटना भयो, कन्टेनरमा नठोकिएको भए अझ धेरै क्षति हुने रहेछ, यस्तो दुःखद् दुर्घटनाबाट पाठ सिकेर आगाी दिनमा सबै संयन्त्रलाई चुस्त र प्रभावकारी बनाउन जरुरी छ ।”
तनहुँ: स्रोत नखुलेको रु १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ गरिएको होे । काठमाडौँबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा उक्त नगद बरामद भएको हो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिका जन्मिएका सिद्धार्थ गौतमको ध्यानबाट सिर्जित बुद्धदर्शन वैज्ञानिकतामा आधारित भएकाले यसलाई कमजोर हुन नदिइने बताउनुभएको छ । नेपाल मण्डल लिटरेचर कल्चर टष्टद्वारा आज आयोजित बौद्ध विद्वान डा अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन प्रधानमन्त्री ओलीले आफू आज कार्यक्रममा आउँदा प्रशन्न चिन्तन लिएर आउने सोचमा रहे पनि अकल्पनीय रुपमा आजै भएको सौर्य एयरको विमान दुर्घटनास्थलमा पुगेर आउनुपरेकाले भारी मन लिएर आउन विवश भएको सुनाउनुभयो । प्रधानमन्त्री ओलीले मृतकप्रति हार्दिक श्रद्धाञ्जली र मृतकका परिवारमा समवेदना व्यक्त गर्दै घाइते क्याप्टेनको स्वास्थ्यलाभको कामना गर्नुभयो । उहाँले नेपाली सामाजिक, धार्मिक र प्राकृतिक रुपमा विविधतायुक्त मुलुक भएकाले कसले कुन धर्म मान्छ, मान्दैन भन्ने कुरा बेग्लै भए पनि सरकारले नेपाल सबै नेपालीको साझा हो भन्ने कुरालाई आत्मसात् गर्ने स्पष्ट गर्नुभयो । “नेपाल विश्वमा मानवतावादको चेतना फैलाउने र बुद्ध दर्शन दिने बुद्ध जन्मेको देश हो । सबै मानव र प्राणी जातिको भलो र करुणाको दर्शन दिने देश हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “बुद्धका शिक्षालाई प्राप्त गरेर विस्तार गर्नुपर्छ भन्ने सोचका साथमै प्रधानमन्त्री हुँदा सरकारले लुम्बिनीमा अन्तर्राष्ट्रिय ध्यान केन्द्र बनाएको थियो । राणाकालमा भिक्षुभिक्षुणी हुनुलाई अपराध मानिन्थ्यो । बुद्ध दर्शनलाई जटि बनाइनु हुँदैन । यो वैज्ञानिकतामा आधारित छ । हामी बुद्धका ज्ञान र शिक्षालाई विस्तार गराउने पक्षमा छौँ ।” धानमन्त्री ओलीले ज्ञानलाई थुपारेर राखेर नबढ्ने भएकाले डा शाक्यले आफूमा भएको ज्ञानलाई वितरण गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले ‘पुस्तकका लेखक एवं बौद्ध विद्वान डा शाक्यले आफ्ना बौद्ध धर्म–दर्शनअनुसार जीवन भनेको के–हो ? हामी किन जन्मिन्छौँ ? किन मर्छौं ? मानिस भनेको के–हो ? यो भवचक्र किन चलिरहेको छ ? यी सबै प्राणीहरु भनेका के हुन् ? यो ब्रम्हाण्ड भनेको के–हो ? स्वर्ग नर्क आदि लोक भनेको के–हो ? पूर्व जन्म भनेको के हो ? कर्म भनेको के हो ? अनित्य, दुःख र अनात्म भनेका के–हुन् ? कर्म विपाक हुन्छ कि हुँदैन ? लोभ, मोह, तृष्णा आदि भनेका के हुन् ? चित्र चेतना भनेका के हुन् ?’ जस्ता यावत् प्रश्नहरू बौद्ध दर्शनका पाठकसमक्ष स्पष्ट पार्न पुस्तक सहयोगी बन्ने अपेक्षा लिएको बताउनुभयो ।

