पोखरा: स्कुल बस दुर्घटना हुँदा घाइते भएकामध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । कास्कीको छोरेपाटन भन्दा ३ किमि माथि पोखरा महानगरपालिका २१ मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहचालकसहित २७ जना घाइते भएका थिए । उनीहरुको अहिले पोखराको गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपालमा उपचार भइरहेको छ । बस चालकलाई गण्डकी मेडिकल कलेजबाट मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ । घाइते मध्ये गण्डकी मेडिकल कलेजमा उपचाररत ४२ वर्षीय आरती बिकको अवस्था गम्भीर रहेको एक प्रहरी अधिकारीले जानकारी दिए । ‘अरुको अवस्था त्यस्तो जटिल छैन तर, एक जना महिलाको भने अवस्था चिन्ताजनक नै छ । उहाँको बारेमा भन्न सकिने स्थिति छैन’, सुनगाभा न्यूजसँग ति प्रहरी अधिकारीले भने । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटास्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस बिहान दुर्घटनामा परेको थियो ।
पोखराः पोखरामा स्कुल बस दुर्घटना भएको छ । एलपी देवकोटा मेमोरियल इङ्लीस बोर्डिङ स्कुलको बस आज बिहान दुर्घटना भएको हो । पोखरा महानगरपालिका–२१ फुर्सेखोला नजिक स्कुल बस दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । बस दुर्घटनामा घाइते भएका विद्यार्थीहरुलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याउँदै गरेको ट्राफिक प्रहरीले जनाएको छ । थप विवरण आउँदै
गोरखा: उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि आज बिहानैदेखि खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी जुटेको उहाँले बताउनुभयो । “पहिरोले घर तथा कृषि फार्म धेरै पुरिएकाले बेपत्ता भएकाको अवस्था पत्ता लगाउन कठिन भइरहेको छ”, उहाँले भन्नुभयो, “हिजो दिनभर खोजी गर्दा केही पत्ता लागेन, आज फेरि बिहानैबाट खोजीकार्य थालेका छौँ ।” बेपत्ताको खोजीका लागि ‘जेसिवी मेसिन’को प्रयोग गरिएको उहाँले बताउनुभयो । आइतबार राति डाँडाबाट खसेको लेदोसहितको पहिरोले स्थानीय जीतबहादुर गुरुङको कृषि फार्म र एक घर बगाउँदा उहाँसहित ३५ वर्षीया कान्छी गुरुङ, ६० वर्षीय सुलाल कान्छा गुरुङ, ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार बेपत्ता भएका थिए । डाँडाबाट खसेको पहिरो बुढीगण्डकी नदीसम्म पुगेकाले बेपत्ता भएकाहरूलाई नदीको बगाएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले आजदेखि बुढीगण्डकी नदी किनार आसपासका क्षेत्रमा पनि बेपत्ताको खोजी थालेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
पोखरा: सामुदायिक वनको संरक्षण गरेसँगै अन्य गतिविधि सञ्चालनतर्पm उपभोक्ता समूहले चासो देखाउन थालेका छन् । वन पैदावारको विकल्पका रूपमा समूहले आम्दानीका अन्य स्रोतको पहिचान गरी उपयोग गर्न सुरु गरेका हुन् । पोखरा महानगरपालिका–२१ स्थित वनपाले सामुदायिक वन समूहले पर्यापर्यटक प्रवर्द्धन गर्ने उद्देश्यका साथ रु २६ लाख लागतमा सुविधासम्पन्न मनकामना उद्यान (पार्क) निर्माण गरेको छ । गण्डकी प्रदेश वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय कास्कीमार्फत रु १५ लाख र एक लाख ६५ हजार सात सय ७४ बराबरको जनश्रम परिचालन गरी उद्यान निर्माण गरिएको वन उपभोक्ता समूहका अध्यक्ष कमल भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि डिभिजन वन कार्यालय कास्कीको रु पाँच लाख लागतमा जग्गा सम्याउने र पोखरा–२१ द्वारा रु चार लाखको खर्चमा आवश्यक ट्रष्ट भवन र शौचालय निर्माण गरिएको हो । “पार्कबाट आरोहणको पहिलो हिमाल अन्नपूर्ण, कुमारी हिमाल माछापुच्छ्रेसहित हिमशृङ्खला एवं पोखरा बजारको एकैसाथ मनोरम दृश्य देख्न सकिन्छ”, उहाँले भन्नुभयो, “पार्कमा दुईवटा चौतारासहित हरियाली प्रवर्द्धन गर्दैे राष्ट्रिय झण्डा राख्ने तयारी गरिएको छ ।” सात सयजना क्षमताको सो पार्कमा सुरक्षाका लागि फलामे पोलसहितको तारजाली लगाउनुका साथै हरियाली प्रवर्द्धन गर्न धुपीका बिरुवा रोपिएको छ भने फलामका कुर्चीसमेत राखिएको अध्यक्ष भुजेलले बताउनुभयो । थप भौतिक संरचना निर्माणका लागि आर्थिक वर्ष २०८१। ८२ का लागि प्रदेश सरकारबाट रु १५ लाख विनियोजन भएको छ । पोखरा महानगरपालिका–१७ स्थित पर्यटकीयस्थल छोरेपाटन हुँदै जाने सो पार्कसम्म पुग्नका लागि पक्की सडक निर्माण भएको छ भने खानेपानी, शौचालयलगायत आवश्यक संरचना निर्माण गरिएको छ । विशेषगरी पोखरा बजारबाट वनभोज खानका लागि सबैभन्दा नजिक र सुविधासम्पन्न एवं मनोरम दृश्यावलोकन गर्न सकिने उक्त पार्कमा प्रति समूहलाई रु तीन हजार पाँच सय शुल्क तोकिएको छ । प्राप्त रकमबाट रु पाँच सय सरसफाइका लागि छुट्याउने र रु तीन हजार वन समूहको खातामा जम्मा गरिँदै आएको भुजेलले जानकारी दिनुभयो । यसअघि वन समूहले रु १० लाख लागतमा वनपाले पार्क निर्माण गरी सञ्चालन गर्दै आएको वन समूहका सचिव प्रकाश सुवेदीले जानकारी दिनुभयो । विसं २०६८ मा हस्तान्तरण गरिएको ४७ दशमलव चार हेक्टर क्षेत्रफलमा पैmलिएको सो वनमा एक सय १४ घरपरिवार आबद्ध छन् । समूहले वनको संरक्षण, संवर्द्धन, उपयोग गर्दै आयआर्जनका लागि वैकल्पिक आधार तयारमा जोड दिँदै आएको सुवेदी बताउनुहुन्छ । मनकामना पार्कमा वृक्षारोपण नवनिर्मित मनकामना पार्कलाई वातावरणमैत्री बनाउने उद्देश्यका साथ चेरी, अशोका र गुलमोहरका बिरुवा रोपिएको हो । पोखरा महानगरपालिका वडा नं २१ का वडाअध्यक्ष दीपक सुवेदीले रोपिएका बिरुवाको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । वृक्षारोपण कार्यक्रममा लायन्स क्लब अफ पोखरा अन्नपूर्ण अध्यक्ष गणेश छवीसहित सदस्यहरू, सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमल भुजेल, स्थानीय लक्ष्मीप्रसाद पोखरेललगायतकाको सहभागिता रहेको कार्यक्रम संयोजक प्रकाश सुवेदीले जानकारी दिनुभयो ।
पर्सा: वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारबाहीस्वरुप ती उद्योगको मुख्यद्वारमा फोहरमैला थुपारिदिएको छ । नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालीको मुख्यद्वार प्राङ्गणमा फोहोर थुपारिदिएको हो । वीरगञ्ज महानगरका नगरप्रहरी प्रमुख हरि भुसालले ती उद्योगको परिसरमा प्रतिकात्मक कारबाहीस्वरुप आज फोहरमैला खसाली दिएको बताउनुभयो । “उद्योगबाट निस्कने फोहरमैला सिर्सिया नदीमा नमिसाउन बारम्बार अनुरोध गरेका थियौँ । तर उहाँहरूले मान्नुभएन, त्यसैले निर्देशनानुसार फोहरमैला थुपारिदिएको हो”, उहाँले भन्नुभयो । महानगरले यसअघि सिर्सिया नदीमा फोहरमैला नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएका थिए । महानगरले गत वैशाख ९ गते नदीमा फोहरमैला गर्ने उद्योगलाई १५ दिनभित्रै फोहरमैला व्यवस्थित नगरे कारबाही गर्ने चेतावनी समेत दिएको थियो । तर उद्योगले फोहरमैला व्यवस्थित गर्न आलटाल गर्दै आएका थिए । नगर प्रहरी प्रमुख भुसालले भोलि पनि नदी फोहरमैला गर्ने उद्योगमा फोहर फ्याँक्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
म्याग्दीः गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षमा दुई सय ३३ किलोमिटर पक्की सडक निर्माण गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न भएका क्रमागत बहुवर्षीय र सालबसाली आयोजनामार्फत सडक कालोपत्र र ढलान भएको जनाएको छ । मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रामकुमार श्रेष्ठले गण्डकी प्रदेशका ११ जिल्लामा गत आवमा सञ्चालन भएका आयोजनामार्फत दुई सय ३३ किलोमिटर सडक कालोपत्र र ९७ किलोमिटर सडक ग्राभेल भएको जानकारी दिनुभयो । उहाँका अनुसार ५५ किलोमिटर कच्ची सडक निर्माण, एक सय ४६ दशमलव ६३ किलोमिटर सडक फराकिलो बनाउने, दुई सय २७ दशमलव १३ किलोमिटर नाली, एक सय ७८ वटा कजवे र कल्भर्ट निर्माण भएका छन् । सडकको सुरक्षाका लागि प्रदेशभर दुई लाख १९ हजार एक सय ४९ दशमलव ५४ घनमिटर टेवा पर्खाल, ४७ किलोमिटर सडकको नियमित मर्मत भएको छ । गत आवमा गण्डकी प्रदेश सरकारले २१ मोटरेबल पुल, १९ झोलुङ्गे पुल र २५ भवन निर्माण गरेको सिनियर डिभिजनल इन्जिनियर श्रेष्ठले बताउनुभयो । रु १२ अर्ब १८ करोड २३ लाख पाँच हजार पुँजीगत बजेट रहेको मन्त्रालयले ७१ दशमलव ७४ प्रतिशत अथवा रु आठ अर्ब ७३ करोड ९५ लाख २९ हजार खर्च गरेको छ । आव २०७९/८० मा ५७ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले सो अवधिमा एक सय ७४ किलोमिटर सडक कालोपत्र, १५ सडक पुल, १२ झोलुङ्गे र चारवटा भवन निर्माण गरेको थियो । गत आवमा रु ३० लाखभन्दा कम बजेटका टुक्रे योजना कटौती गरेर ठूला र रणनीतिक महत्वका आयोजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको, कार्ययोजनाअनुसार अघि बढेकाले बजेट तथा योजना कार्यान्वयनमा सुधार भएका मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले बताउनुभयो । प्रदेश सरकार स्थापना भएको सात वर्षको अवधिमा नौ सय एक किलोमिटर कालोपत्र, छ सय ९६ किलोमिटर ग्राभेल, एक सय छवटा मोटरेबल पुल र ८४ वटा झोलुङ्गे पुल निर्माण भएको मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका निमित्त निर्देशक डा महेन्द्र बानियाँले ग्रामीण क्षेत्रमा आवतजावत सहज बनाउन, यात्रा अवधि छोट्याउन, कृषि उपजको निकासी, खाद्यान्न, दैनिक उपभोग्य वस्तुु र निर्माण सामग्रीको भाडादर घटाउन, दुुर्घटना कम गर्न, प्रत्यक्ष रोजगारी सिर्जना, बसाइँसराइ घटाउँदै सहरबाट गाउँ फर्काउन, आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनका लागि सडक आयोजना प्रभावकारी बनेका बताउनुभयो । उहाँका अनुसार गत आवमा एक सय २७ प्रादेशिक सडक, पाँचवटा सङ्घीय समपूरक सडक, ३० पक्की पुल र चार झोलुङ्गे पुल आयोजना बहुुवर्षीय ठेक्कामार्फत कार्यान्वयनमा लगिएको छ । बहुवर्षीयका लागि छनोट भएका सडक, मोटरेबल र झोलुुङ्गे पुल योजनाका लागि रु १२ अर्ब ७३ करोड ९८ लाख बजेटको स्रोत सुनिश्चित भएको छ । अधिकांश तीन वर्ष र केही योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । राष्ट्रिय राजमार्गका वैकल्पिक सडकको मार्ग खोल्ने र स्तरोन्नति गर्ने योजनालाई प्राथमिकता दिएको भौतिक मन्त्रालयमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’, स्थानीय तहको केन्द्र जोड्ने, अन्तरजिल्ला, अन्तरपालिका जोड्ने रणनीतिक महत्वका सडक गौरवका आयोजनाका रूपमा कार्यान्वयनमा छन् ।
एजेन्सी: साविक विजेता भारतलाई पराजित गर्दै श्रीलंका पहिलो पटक एसिसी एसिया कपको च्याम्पियन बनेको छ । श्रीलंकाको रंगगिरी क्रिकेट स्डेडियममा आइतबार भएको फाइनलमा भारतलाई श्रीलंकाले ८ विकेटले पराजित गरेको हो । भारतले दिएको १ सय ६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाका लागि हर्शिता समराविक्रमाले सर्वाधिक अविजित ६९ रन बनाइन् । उनले ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरिन् । ओपनर तथा कप्तान चमिरा अथापाथ्थुले ६१ रन बनाइन् । उनले ४३ बलमा ९ चौका र २ छक्का प्रहार गरिन् । कप्तान अथापाथ्थु र समराविक्रमाले दोस्रो विकेटका लागि ६३ बलमा ८७ रनको साझेदारी गर्दै टोलीलाई च्याम्पियन बनाउने आधार तयार गरे । कबिसा दिलहारीले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित ३० रन बनाइन् । तेस्रो विकेटका लागि समराविक्रमा र दिलहारीले ४० बलमा अविजित ६३ रनको विजयी साझेदारी गरेका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । भारतका लागि ओपनर स्मृती मन्धनाले सर्वाधिक ६० रन बनाइन् । स्मृतीले ४७ बलमा १० चौका प्रहार गरेकी थिइन् । रिचा घोषले ३० रन बनाइन् । उनले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । जेमिमा रोड्रिगेजले १६ बलमा १८, अर्की ओपनर शेफाली बर्माले १६ रन बनाईन् । कप्तान हरमन प्रित कौरले ११, उमा क्षेत्रीले ९ रन बनाइन् । श्रीलंकाका लागि केबिसा दिलारीले २, सचिनी निसानसाला, उदेशिका प्रबोधनी र कप्तान चमिरा अथापाथ्थुले समान १ विकेट लिइन् । भारतलाई पराजित गर्दै श्रीलंका पहिलो पटक च्याम्पियन बनेको हो । पराजित भारत सात पटकको च्याम्पियन बनिसकेकाे छ । महिला एसिया कपको इतिहासमा भारत दोस्रो पटक फाइनलमा पराजित भएको हो । यसअघि सन् २०१८ को एसिया कपको फाइनलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।
पाेखरा: गण्डकी प्रदेश सरकार र आन्दोलनरत यातायात व्यवसायीहरूबीच सहमति भएको छ । यससँगै व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । प्रदेश सरकारले राइड सेयरिङलाई वैधता दिने गरी कार्यविधि बनाएपछि यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए । उनीहरुले आइतबार सार्वजनिक यातायात सेवा नै ठप्प पारेका थिए । दिउँसो भएको वार्तामा व्यवसायीहरूको मागबारे अध्ययन गर्न प्राविधिक समिति गठन गर्ने सहमति भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मीको नेतृत्वमा बसेको समितिमा यातायात व्यवसायी र राइडर्स प्रतिनिधि समेत छन् । समितिले १५ दिनभित्र मुख्यमन्त्रीलाई सुझाव दिनेछ ।
काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा जाँचबुझ आयोगले काम सुरु गरिसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले दुर्घटना जाँच आयोगले दुर्घटनास्थलको स्थलगत अनुगमनगरी आवश्यक विवरण लिएको बताउनुभयो । आयोगले ककपीट भ्वाइस रेकर्डर (सिभिआर) र फ्लाइट डाटा रेकर्डर (एफडीआर) सङ्कलनगरी डाटा विश्लेषणको तयारी गरिएको उहाँले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एनएक्स १३ को प्रावधान तथा गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली– २०७१ अनुरुप जाँचबुझ आयोग गठन गरिएको हो । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समय र शून्य समयमा सांसदहरुले विमान दुर्घटनाको बारेमा प्रश्न गर्नुभएको थियो । पर्यटनमन्त्री पाण्डेले विमान दुर्घटनाबारे जाँच गर्न समिति बनिसकेको र सरोकारवाला विभिन्न निकायसँग परामर्श गरिएको भन्दै दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन मन्त्रालय प्रतिबद्धताका साथ लाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विमान दुर्घटनाको भोलिपल्टै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा छलफल गरिएको बताउनुभयो । पर्यटनमन्त्रीका अनुसार यमनी नागरिकबाहेक मृतक सबैको शव आफन्तले बुझिसकेका छन् । यमनी नागरिकको हकमा शव व्यवस्थापनका लागि नेपालमा यमनको दूतावास नभएकाले यमनको दूतावास रहेको नजिकको मुलुकसँग सम्पर्क र समन्वय भइरहेको तथा शव व्यवस्थापनको खर्च सौर्य एयरलाइन्सले बेहोरेको छ । पर्यटनमन्त्री पाण्डेले दुर्घटनामा परी मृत्युभएका सबैप्रति मन्त्रालय र व्यक्तिगततर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइते चालकदलका सदस्य क्याप्टेन मनिषरत्न शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । विमान दुर्घटनामा मृत्यु भएकालाई बीमा नीतिअनुसार सरल र सहज रुपमा उपलब्ध गराउन कम्पनीले प्रतिबद्धता जनाएको छ । बीमा नीति अतिरिक्त एयरलाइन्सबाट रु सात लाखको सामाजिक सुरक्षा कोषसमेत रहेको छ । यस्तै मृतकमध्ये सौर्य एयरलाइन्सका आइटी इञ्जिनियर मनुराज शर्माको श्रीमती पृजा खतिवडा ऊर्जा मन्त्रालयको कम्प्युटर अपरेटरका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले एयरलाइन्समा पनि पार्टटाइमका रुपमा सोही पदमा काम गर्दै आउनुभएको एयरलाइन्सले जनाएको छ । बालक अधिराज शर्माको सम्बन्धमा काठमाडौँमा हेरचाह गर्ने व्यक्ति नभएपछि सँगै लगिएको जानकारी एयरलाइन्सले दिएको पर्यटनमन्त्रीले संसद्मा जानकारी दिनुभयो । हवाई नीति–२०६३ का अनुसार प्रेसराइज वायुयान १५ वर्षभन्दा पुरानो आयात गर्न प्रतिबन्ध लगाइएको अवस्थामा सौर्य एयरलाइन्सको विमान सो अवधिभन्दा मुनिको रहेको कम्पनीले जनाएको छ । नेपालले सन् २०१८ मा यात्रु बीमासम्बन्धी मन्ट्रियल सन्धि अनुमोदन गरिसकेको र उक्त व्यवस्था अन्तर्राष्ट्रिय हवाई यात्रुमा मात्रै लागू हुने भएकाले आन्तरिक उडानका लागि यात्रुको बीमा कम भएकाले आन्तरिक उडानका लागि बीमा विधेयक तर्जुमाको काम अगाडि बढिसकेको पर्यटनमन्त्रीले जानकारी दिनुभयो । हाल आन्तरिकमा यात्रु उडानका लागि रु २० हजार अमेरिकी डलर बीमा व्यवस्था गरिएको छ । एयरलाइन्सकातर्फबाट मृतकका परिवारलाई थप सुविधा उपलब्ध गराउन एयरलाइन्सका पदाधिकारीसँग छलफल गरिएको र कम्पनीकातर्फबाट सम्भव भएसम्म योग्यताका आधारमा रोजगारीको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्री पाण्डेले बीमा रकम सहज तवरले यथाशीघ्र उपलब्ध गराउन सौर्य एयरलाइन्सलाई निर्देशन दिइसकिएको बताउनुभयो । सौर्य एयरलाइन्सको सिआरजे ७ (९एन–एएमइ) कलसाइन विमान यही साउन ९ गते स्थानीय समयअनुसार बिहान ११ बजेर ११ मिनेटमा पोखरा उडानका क्रममा उड्नेबित्तिकै दुर्घटना भएको थियो । चालकदलसहित १९ जना सवार उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ०२ बाट उडान गर्नेबित्तिकै दाहिने मोडिन गई धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटना हुँदा १८ जनाको मृत्यु हुनुका साथै एक जना घाइते हुनुभएको छ । विमान दुर्घटनामा घाइते हुनुभएका क्याप्टेन मनिषरत्न शाक्यको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । हाल उहाँको स्वास्थ्यावस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

