कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

काठमाडौं:     नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको सम्झौता थप नगरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षक मोन्टीलाई बिदाइ गरेको जनाएको छ । उनको २ वर्षे सम्झौता यही फेब्रुअरीबाट सकिएपछि सम्झौता नविकरण नगरिएको क्यानले जनाएको छ । क्यानले उनलाई आगामी यात्राको लागि सफलताको शुभकामना पनि दिएको छ । मोन्टीको कार्यकालमा नेपाल ओडिआई मान्यता जोगाउनुका साथै ओडिआई विश्व कपको छनोट समेत खेलेको थियो । उनकै कार्यकालमा नेपालले पहिलो पटक एसिया कप समेत खेलेको थियो । मोन्टिकै प्रशिक्षणमा नेपालले दोस्रो पटक टि ट्वान्टी विश्व कप समेत खेलेको थियो ।

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सांस्कृतिक विविधताको संरक्षण र विकास गर्नु सबैको दायित्व रहेको उल्लेख गर्नुभएको छ । तामाङहरूको महान पर्व २८६१ औं सोनाम ल्होसारको अवसर पारी तामाङ बौद्ध सेवा समिति पोखराले आयोजना गरेको ल्होसार विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै प्रदेश प्रमुख भट्टले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभयोे । नेपालीबीच आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा लिइने यस पर्वले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा योगदान पु¥याएको उहाँले बताउनुभयो ।   प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘हाम्रो विविधता र सांस्कृतिक परम्परा नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी हो । भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ हुन् । यस्ता विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व पनि हो ।’ बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास पनि उहाँले लिनुभयो । आफ्नो धर्म र जातिय सांस्कृतिक मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको भन्दै उहाँले यी महत्वपूर्ण पर्वहरूलाई जोगाउने अबको मुख्य जिम्मेवारी युवाहरूको काँधमा रहेको बताउनुभयो ।    ‘नयाँ पुस्तालाई आफ्नो संस्कृति र धर्म पुस्तान्तरण गर्नु हाम्रो मुख्य जिम्मेवारी हो । किनभने भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्ना जातीय चिनारी र मौलिक सभ्यताका आधार स्तम्भ हुन्। यस्ता विविधताको संरक्षण र विकास गर्नु हामी सबैकोको दायित्व हो।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो । विशेष अतिथि प्रतिनिधिसभा सांसद मनबहादुर गुरूङ, तामाङ घेदङुका संघीय उपाध्यक्ष दीपक तामाङ, तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त योञ्जनलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रम समितिका अध्यक्ष विष्णु योञ्जन तामाङको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन सचिव शान्ति तामाङ र स्वागत बोसबहादुर तामाङले गर्नुभएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार तामाङ जाति जनसंख्याको हिसाबले पाँचौ नम्बरमा रहेको छ । कुल जनसंख्याको ५ दशमलव ६ प्रतिशत अर्थात् १६ लाख ३९ हजार ८ सय ६६ जना तामाङ जाति नेपालमा बसोबास गर्दछन्। ५.५ प्रतिशतले तामाङ भाषा बोल्दछन् । धर्म अनुसार बौद्ध धर्मावलम्बी दोस्रो नम्बरमा छन् । २३ लाख ९३ हजार ५ सय ४९ अर्थात् ८ दशमलव २ प्रतिशत जनसंख्या बौद्ध धर्म मान्दछन् ।   

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले हालै जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयकमार्फत परिमार्जन गर्न सुझाएको छ । प्रधानमन्त्री निवासमा एमालेको केन्द्रीय सहकारी विभागका प्रमुख खगराज अधिकारी र महासङ्का अध्यक्ष ओमदेवी मल्लले आज बेग्लाबेग्लै सुझावपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरी अर्थतन्त्रको सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका रहेको सहकारी क्षेत्रलाई व्यवस्थित गर्न अध्यादेशमार्फत लिइएको कदम सकारात्मक भए पनि कतिपय व्यवस्था परिवर्तनयोग्य विषयहरूबारे ध्यानाकर्षण गराउनुभएको हो ।  कुनै व्यक्ति बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालकमा दुई कार्यकाल भन्दा बढी अवधिका लागि निर्वाचित हुन नपाउने र बहाल रहन नसक्ने अध्यादेशको व्यवस्थालाई संशोधन गरी एकै पदमा लगातार दुई कार्यकालभन्दा बढी अवधिका लागि निर्वाचित हुन नपाउने व्यवस्था गर्न माग गरिएको छ ।  सुझावपत्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले प्रतिस्थापन विधेयकमार्फत प्रस्तुत विषयमा छलफल गरिने र सत्तासाझेदार दलसँग पनि सरकारको ध्यानाकर्षण गराइएका विषयमा परामर्श गर्नुपर्ने बताउनुभयो । 

काठमाडौं:    त्रिकोणात्मक अन्तर्राष्ट्रिय महिला टी–ट्वान्टी सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डले नेपाललाई चार विकेटले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय लिइन् । नेपाली महिला टोलीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय एक रन बनायो ।  नेपालका लागि कविता कुँवरले २५ रन बनाइन् । उनले ३२ बल खेल्ने क्रममा दुई चौकासमेत प्रहार गरिन् । यस्तै बिन्दुले २५ बलमा तीन चौका हानिन् । यस्तै कप्तान इन्दु बर्माले १५ रन बनाइन् । बलिङतर्फ थाइल्याण्डका लागि थिपचा पुत्थावोङ्गले तीन, फन्निता माया र नाट्टाया बुचाथमले दुई दुई तथा चानिदा सुत्थीरुआङ्गले एक विकेट लिइन् । एक सय दुई रनको विजयी लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । थाइल्याण्डका लागि नान्नापत खोन्चरोएन्कले अविजित ६० रनको योगदान दिइन् । उनले ५८ बल खेल्दै ६ चौका प्रहार गरिन् । यस्तै सुवानान खियाओतोले १४ तथा कप्तान नारुइमोल चाइवाईले १३ रन बनाइन् । बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले दुई तथा कविता कुँवर, रुविना क्षेत्री र कविता जोशीले एक एक विकेट लिइन् । यसअघि नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । थाइल्याण्डले भने आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई आठ विकेटले पराजित गरेको थियो ।

चितवन:     नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको बताउनुभएको छ ।  नेकपा (माओवादी केन्द्र) चितवनले आज यहाँ आयोजना गरेको पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले देशभरि जनताको तहमा, वामपन्थी तहमा र समग्र राजनीतिक तहमा नयाँ चेतनाको विकास भएको पाइएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “माओवादी केन्द्रप्रति जनतामा ठुलो भरोसा बढेको छ ।” अहिले पार्टीका वर्गीय सङ्गठनलाई बलियो बनाउनतर्फ आफू लागेको अध्यक्ष दाहालले बताउनुभयो ।  सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला उपाध्यक्ष गङ्गा लामा, केन्द्रीय सल्लाहकार अरुणपीडित भण्डारी, केन्द्रीय लेखा आयोगका सदस्य कृष्णराज न्यौपानेसहितका नेता कार्यक्रकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए ।  कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य घनश्याम दाहाल, माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

नवलपरासी:    पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कीवास जंगलमा बस र इभि हाइस एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य नौ जना घाइते भएका छन् ।  विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासस्थित डिभिजन वन कार्यालय नजिकै यात्रु बस र इभि हाइस एकापसमा ठोक्किँदा भारतको पश्चिम बङ्गाल राज्यको मिधिनिपुरका ४० वर्षीय शंकरको मृत्यु भएको हो ।  हाइसमा सवार अन्य नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले बताए ।  काठमाडौंबाट दाङ जाँदै गरेको रा१ख ३३६१ नम्बरको बस र बुटवलबाट काठमाडौंँ जाँदै गरेको प्र ०१–००६ ख ७८०८ नम्बरको इभि हाइस एकापसमा ठोक्किएका हुन् । हाइसमा सवार सबै यात्रु भारतको मिधिनिपुरका रहेका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा:    त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।  पोखरा रंगशालामा आज भएको दोस्रो क्वालिफायरमा आर्मी ३–१ को सेटले पराजित गर्दै गण्डकीले फाइनल स्थान सुरक्षित गरेको हो । पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो । तर, तेस्रो र चौथोमा पुनः उत्कृष्ट प्रदर्शन गर्दै साविक उपविजेता गण्डकी फाइनलमा पुगेको हो । गण्डकीले तेस्रो सेट २५–१५ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पा¥यो । अब गण्डकीले उपाधिका लागि आइतबार नेपाल पुलिस क्लबसँग प्रतिष्पर्धा गर्नेछ । गण्डकीसँग पराजित भएको आर्मीले तेस्रो स्थानमा चित्त बुझाएको छ । तेस्रो बनेको आर्मीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछ । यसअघि आजै भएको महिलातर्फको दोस्रो क्वालिफायरमा टिपटप न्यू डायमण्ड स्पोर्ट्सलाई ३–१ को सेटले पराजित गर्दै आयोजक टोली फाइलनमा पुगेको थियो । आयोजक टोलीले अब उपाधिका भोलि सशस्त्र प्रहरी बल ९एपीएफ० क्लबसँग खेल्नेछ ।    

पोखरा:    टिपटप न्यू डायमण्ड स्पोटर््स क्लबलाई हराउँदै आयोजक टोली पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा आज भएको दोस्रो क्वालिफायरमा न्यू डायमण्डलाई ३–१ सेटले पराजित गर्दै आयोजक टोलीले फाइलन यात्रा तय गरेको हो । पहिलो सेट १६–२५ ले गुमाएको आयोजक टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै फायलन यात्रा सुरक्षित ग¥यो ।  टाइगर ग्रुपले दोस्रो सेट २५–१९, तेस्रो २५–१५ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पा¥यो । आयोजक टोलीले अब उपाधिका भोलि सशस्त्र प्रहरी बल एपीएफसँग खेल्नेछ । पराजित भएको न्यू डायमण्ड तेस्रो बनेको छ ।  तेस्रो बनेको न्यू डायमण्डले १ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त ग¥यो । अब पुरुषतर्फ दोस्रो क्वालिफायरमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबिच प्रतिष्पर्धा हुनेछ । उक्त खे साढे १ बजेबाट सुरु हुने तालिका छ । यो खेलको विजेताले उपाधिका लागि नेपाल पुलिस क्लबसँग भिड्नेछ ।

पोखरा:   गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन विधेयकको मस्यौदा माथि सरोकारवालासँग छलफल गरेको छ ।  भाषा आयोगको सिफारिस अनुसार प्रदेशभर मगर भाषा र गुरुङ भाषा बोल्ने संख्या बढी भएकाले यी भाषालाई सरकारी कामकाजमा समावेश गर्ने तयारी गरिएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लाका भाषा अभियन्ता, संघ–संस्था प्रतिनिधि, प्रदेश सभा सदस्य, सामाजिक अभियन्ता तथा सरकारी अधिकारीहरुको उपस्थितिमा पोखरामा सम्पन्न कार्यक्रममा सहभागीहरूले विधेयकलाई प्रभावकारी बनाउन विभिन्न सुझाव राखेका छन् । नेपाल मगर संघका उपमहासचिव खम बहादुर पुन मगरले मगर भाषाका विभिन्न रूप—ढुड, खाम, काइकेलाई विधेयकमा समेट्नुपर्ने बताए । उनले विद्यालय स्तरमा पनि भाषाको पठनपाठन सुनिश्चित गरिनुपर्ने माग गरे । तमु धिं नेपालका भाषा विभाग प्रमुख कृष्ण कुमार गुरुङले प्रदेशका कुन जिल्लामा मातृभाषाको प्रभाव छ भन्ने स्पष्ट तथ्याङ्क संकलन गर्नुपर्ने धारणा राखे । तमु धिं नेपालका अध्यक्ष हुम गुरुङले विधेयकको मस्यौदा तयार गर्दा सरोकारवाला समुदायसँग छलफल आवश्यक रहेको बताए । उनले प्रदेश सरकारलाई भाषा प्रतिष्ठान गठन गर्ने अधिकार संविधानले नै प्रद्धत गरेको भन्दै विधेयकमा यसको व्यवस्था हुनुपर्ने उल्लेख गरे । राष्ट्रिय न्यायिक अधिकार मञ्चका संयोजक अमृत गुरुङले सरकारी कामकाजमा भाषाको प्रयोग नै हुन आवश्यक रहेको बताए । विधेयकमा गरिनेछ भन्दा पनि गर्नेछ जस्ता शब्द प्रयोग गरिनुपर्ने धारणा उनको छ । तमु ह्युला छोज धिं कास्कीको अध्यक्ष सीता गुरुङले जातीलाई संरक्षण गर्न आवश्यक रहेको उल्लेख गरिन् । उत्पादनका विषयहरुलाई समेत समावेश गरि प्रोत्साहन गर्ने बाटोमा समेत विधेयक अग्रसर हुनुपर्ने भनाई उनको छ । गण्डकी प्रदेश सभा सदस्य सुनिता थापाले अपाङ्गता भएका व्यक्तिहरूका लागि सांकेतिक भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिइन् । प्रदेश सभा सदस्य लिल बहादुर थापा मगरले विधेयकका विषयमा सामाजिक विकास समितिमा दफाबार छलफल गरिने र मात्रै सदनमा प्रस्तुत हुने बताए । प्रदेश सभा सदस्य पंचराम गुरुङले विधेयक प्रशंसनीय भए पनि हतारमा पारित नगरि व्यापक छलफलका आधारमा अगाडि बढिने उल्लेख गरे । सबैका विचारलाई सुन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विधेयकलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । उनले भाषा कार्यान्वयनका लागि कार्यविधि निर्माण गरिने र उठेका सुझावहरू औचित्यका आधारमा विधेयकमा समावेश गरिने जानकारी दिए ।  प्रदेश सरकारले अब विधेयकलाई संसदमा छलफलका लागि पेश गर्ने तयारी गरिरहेको छ। विभिन्न सरोकारवालाहरूको सुझावलाई विधेयकमा समेटेर भाषा संरक्षण र प्रवद्र्धन गर्ने योजनासहित सरकार अघि बढ्ने मुख्यमन्त्रीको धारणा छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले हिउँदे अधिवेशनमा नै उक्त विधेयक पास गर्ने गरि मन्त्रालय लागिरहेको उल्लेख गरे ।  उनले कास्की अघि स्याङजा, तनहुँ, लमजुङ र बाग्लुङमा समेत विधेयकको मस्यौदा माथि व्यापक छलफल गरिएको जानकारी गराए । प्राप्त सुझावलाई अनुसरण गर्दै विधेयकलाई अन्तिम स्वरुप दिइने भनाई उनको छ । सचिव नवराज ढकालले स्वागत गरेको कार्यक्रममा गण्डकी प्रदेशका सांसद, मगर र गुरुङ समुदायका सरोकारवालहरुले आफ्नो धारणा राखेका थिए ।