पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

काभ्रेपलाञ्चोक:   यत्रतत्र छरिएका ढुंगा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको छ। बेथानचोकका किसान ती जरा ९झ्यास० र ढुंगा पन्छाउँदै बारी सफा गरेर अब आलु रोप्ने तयारीमा छन्। गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण यहाँको पाट्ने खोलामा आएको बाढीले बारी सबै पुरिएपछि समस्यामा रहेका बेथानचोक गाउँपालिका–२ गेल्ढुङ बजार आसपास क्षेत्रका किसान यतिबेला बारी सफा गरेर आलु रोप्ने तरखरमा छन्।  बजारमूल्य राम्रो पाउने भएका कारण किसानले हिउँदमा आलुखेती गरेर आम्दानी गर्दै आएका थिए। तर यसपटक भने बाढीले बारी सबै पुरिएका कारण खेती गर्न समस्या भएको उनीहरूको गुनासो छ। बर्खामा बाढी आएर बगाउलाझैं हुने र हिउँद लागेपछि खानेपानीको समस्या खेप्नुपरेको यहाँका नागरिक बताउँछन्। बाढीपहिरोबाट क्षति पुगेको बेथानचोकमा बत्ती विस्तार भए पनि खानेपानीको भने समस्या खेपिरहेको स्थानीय विनोद तिमल्सिनाले बताए।  आफैले श्रम गरेर क्षतिग्रस्त बारी बनाइरहेको भए पनि बाढी नियन्त्रण र खानेपानीको व्यवस्थापन गरिदिए धेरै सहज हुने उनको भनाइ छ। बाढीले त्यतिखेर लगाएको मकै बाली सबै बगाएर सखाप बनाएको थियो। विशेषगरी नगदे बालीका रूपमा आलुखेती गरेर आम्दानी गर्दै आएका बेथानचोकका किसानका लागि यसपटकको बाढीले धेरै नोक्सान पुर्‍याएको अर्का स्थानीय अर्जुनप्रसाद तिमल्सिनाले बताए।  माघमा लगाएको आलु जेठमा खनेर बेच्ने गरेका यहाँका किसानलाई अहिले आलु रोप्न बारी सफा गर्दैमा दिन बित्ने गरेको छ। डोजर लगाएर पनि सफा गर्न नसक्ने अवस्थामा रहेका बारीलाई मलिलो बनाएर जीवन गुजार्नुपरेको उनले पीडा सुनाए। बारीमा भरिएका ढुङ्गा खोलामा लगेर फाल्दै पुनः खेतीयोग्य बारी बनाउन किसानलाई सकस परेको छ। कतिपय त गाडीको सहायताले अरू ठाउँमा लगेर थुपार्ने गरिरहेका छन्।  स्थानीय रुपा भण्डारीले खेतीपाती र तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्नुपर्ने बारीमा बाढीले क्षति पुर्याएपछि झन् समस्यामा परेको बताए। जस्तोसुकै कष्ट र पीडा खेप्नुपरे पनि जीवन निर्वाहका लागि बारी बनाउनुको विकल्प नभएको उनले सुनाए। भएको सम्पत्तिका नाममा रहेको बारी र घर बाढीले पुरेर बगर बनाएपछि समस्या झेल्दै आउनुभएका अर्का किसान सीता तिमल्सिनाले छाडेर जाने ठाउँ अन्त कतै नभएपछि डोजर लगाएरै भए पनि बारी सम्याएर खेती गर्ने तरखर गरेको बताए।  ‘जीवन निर्वाहका लागि भएको सम्पत्ति संरक्षण गरेर खेती कमाइ त गर्नैपर्‍यो। उनले पीडा सुनाउँदै भने, ‘अहिलेसम्म राहत कतैबाट पाएकी छैन।’ बाढीपहिरो गएको चार महिना बितिसक्दा पनि यहाँका नागरिकले सरकारबाट पाउनुपर्ने सहयोग पाउन नसकेको गुनासो गरेका छन्। सो वडामा मात्रै बाढीले ४९ घरमा पूर्ण क्षति गरेको थियो। बाढीपहिरोबाट समस्या झेल्दै आएका यहाँका नागरिकले समय बितेसँगै आफ्नै बलबुतामा भएको पाखोबारी खनजोत गर्दै जीवन गुजारा गर्ने तरखर गरेका छन्। रोशी खोलाको नौ किलोमिटर सिमांकन सकियो यसैबीच असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौती खोलाको सिमांकन तथा व्यक्तिको जमिन एकीनकार्यअन्तर्गत रोशी खोलाको सिमांकनकार्य सकिएको छ। दुई हप्ताको अवधिमा जिल्लास्थित विभिन्न कार्यालयका प्राविधिकमार्फत नौ किलोमिटर खोलाको सिमांकन सकिएको हो। बाढीपहिरोले खोलाको सिमांकनसँगै व्यक्तिको घर तथा जमिनको स्थितिसमेत तहसनहस पारेपछि जमिनको अवस्था साविकमा ल्याउन पनौती नगरपालिका तथा जिल्ला नापी कार्यालयले संयुक्त रूपमा कार्य सुरु गरेका थिए।  बाढीपहिरोबाट भएको क्षतिको मूल्यांकनसँगै सबै किसिमका जग्गाको अवस्था साविकमा ल्याउन नगरको वडा नं १२ रोशीस्थित भुमेडाँडा क्षेत्रबाट उक्त कार्य सुरु गरिएको हो। भुमेडाँडाबाट पनौतीको त्रिवेणीघाटसम्मको नौ किलोमिटर खोलाको सिमांकन सकिएको नापी कार्यालयका प्रमुख नापी अधिकृत अशोककुमार भुसालले बताए। अधिकृत भुुसालका अनुसार खोलाको सिमांकन सकेर स्थानीयलाई आह्वान गरिएको निवेदनका आधारमा व्यक्तिका जग्गाका कित्ता पुनःस्थापनाकार्य भइरहेको छ। पनौती नगर कार्यालय, नापी कार्यालय तथा भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रबाट कर्मचारी खटाई रोशी क्षेत्रमा रोशी खोलाको ‘लेआउट’ सहितको कार्य प्रारम्भ गरिएको हो।  तीन कार्यालयका टोलीले डिजीपिएस, ड्रोन, टोटल स्टेशन आदिको प्रयोग गरी अध्ययन गरिरहेको अधिकृत भुसालले बताए। उनका अनुसार टोलीले डिजीपिएस प्रविधिबाट साविकको खोला, कित्ता र खानी क्षेत्रको जमिन देखाउने छ। उक्त क्षेत्रको जमिनको एकीन गर्न तीन महिना लाग्ने अनुमान गरिएको छ। व्यक्तिले भोगचलन गरिरहेका जग्गाको अवस्था एकीन गर्न चुनौती भइरहेको अधिकृत भुसालले बताए।  उनका अनुसार हाल ६० कित्ताको पहिचान गरिसकिएको छ। आवश्यक परे डिजिटल नापी कार्यालय बनेपाबाट समन्वय र सहयोग लिइने बताइएको छ। स्थानीयले भने खोला क्षेत्र र व्यक्तिगत कित्ताको पुनःस्थापना गरेर मात्र पुनर्निर्माणको काम सुरु हुनुपर्ने माग गर्दै आएका छन्। पनौतीमा बाढीपहिरोका कारण १८ जनाको मृत्यु भएको थियो। पाँच सय ८६ घर पूर्ण तथा नौ सय ४४ घरमा आंशिक क्षति पुगेको थियो। उक्त क्षेत्रमा ११ हजार छ सय ३७ रोपनी व्यक्तिगत खेतबारीमा क्षति पुगेको नगरले जनाएको छ।  यसैबीच पनौती नगरले बाढीपहिरो प्रभावित क्षेत्रमा नागरिकको सम्पत्ति करमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ। नगरको १६औँ सभाले उक्त निर्णय गर्दै केही क्षेत्र तोकेर सम्पत्ति करमा सय प्रतिशत नै छुट दिने निर्णय गरेको हो। सम्बन्धित वडाबाट अनुगमन गरी बाढीपहिरोपीडित क्षेत्रको कटानी सिफारिस भएपछि मात्र राजस्व छुटको निर्णय कार्यान्वयन गरिने नगरप्रमुख रामशरण भण्डारीले भने। कर छुट निर्णय गरिएका बाढीप्रभावित क्षेत्रमा वडा नं १ को मानेदोभान र न्यूरेखोला, वडा नं २ को कुशादेवी, वडा नं ५ र ६ का सबै क्षेत्र, वडा नं ८ स्थित बगर क्षेत्र, १० नं वडाको सलान्दु र रोशी खोला किनार क्षेत्र, वडा नं ११ को ख्याकुथुम्की, डाँडागाउँ र नेपाने क्षेत्र, १२ नं वडाको पूरै क्षेत्र छन्। चालु आवमा तिर्नुपर्ने अन्य कर राजस्व भुक्तान गरेका बाढीपहिरोपीडितलाई उक्त सुविधा दिइने भएको हो। यस्तै नगरसभामा साधारण निर्माणमुखी रोडा–ढुंगा उद्योगले प्रयोग गरेको जग्गामा चालु आवको सम्पत्ति करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ। चालु आवमा बाढीपहिरो प्रभावित क्षेत्रका स्थानीयले सम्पत्तिकर बुझाइसकेकाको हकमा प्रमाणका आधारमा आगामी आवको सम्पत्ति करमा मिलान गरिने जनाइएको छ। 

धनगढी:    कैलालीमा भाइले कैँची प्रहार गरी सहोदर दाजुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका –१७ दीपनगरका ३० वर्षीय प्रकाश बोहराले शनिबार राति आफ्नो दाजु ३५ वर्षीय लालबहादुरको हत्या गरेका हुन् । घरायसी विवादमा प्रकाशले आफ्नो दाइलाई कुटपिट गर्नुका साथै घाँटीमा कैँची प्रहार गरेको जनाइएको छ । कैँची प्रहारबाट गम्भीर घाइते लालबहादुरलाई उपचारका लागि राति नै धनगढीस्थित निसर्ग अस्पतालमा लगिए पनि उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।  दाइको हत्या गर्ने भाइलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । 

ताप्लेजुङ:     पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् । आन्दोलनकारीतर्फ दुई व्यक्ति घाइते भएको बताइएको छ । आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हानेपछि स्थिति तनाबपूर्ण बनेको थियो । प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनका अनुसार आन्दोलनकारीसँग लुकाइएको हतार रहेको सूचना पाएपछि खोजतलास गर्ने क्रममा विभिन्न सामान बरामद गरिएको हो । हिमालयन कन्सट्रक्सनले १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी केवलकार निर्माण योजना अघि बढाएको हो । गत मङ्गलबारदेखि जमिन सम्याउने काम सुरु भएको हो । अहिले अवस्था सामान्य रहेको प्रशासन कार्यालयले जनाएको छ ।

पोखरा:   एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार बिहान भएको खेलमा आयोजक टोलीले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । आयोजक टोलीले आर्मीले पहिलो सेट २५–१४, दोस्रो सेट २५–११ र तेस्रो सेट २५–२१ ले पराजित ग¥यो । यसअघि शनिबार खराब प्रकाशका कारण खेल स्थगित भएपछि आइतबार पुनः गराइएको थियो । आयोजक टोलीको नेतृत्व राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले गरेकी छन् । टोलीमा ३ थाइल्यान्डका खेलाडी समावेश गरिएको छ ।  प्रतियोगितामा अब पुरुषतर्फका खेल सुरु हुनेछन् । पुरुषतर्फ पहिलो खेल डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब र भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिमबिच खेल जारी छ ।  दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच हुनेछ । तेस्रो खेल शसस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लबबिच हुने आयोजकले जनाएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । 

पोखरा:   पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बरभोटेनीस्थित चण्डी माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव एवम् ६३ औं अभिभावक दिवश विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।      कार्यक्रमको एक समारोहका बीच पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गर्नुभयो ।      कार्यक्रममा वडा अध्यक्ष अधिकारीले शैक्षिक गुणस्तरीयतासँगै विद्यार्थीलाई नैतिकवान बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।      विद्यालयका आवश्यक भौतिक पूर्वाधारका लागि वडाका तर्फबाट सहयोग गर्ने विश्वास व्यक्त गर्दै उहाँले सबैको साथ र सहयोगमा यस क्षेत्रको समग्र विकास गर्न सकिने बताउनुभयो ।      भरतपोखरी आँफैंमा धेरै सम्भावना बोकेको क्षेत्र भएको बताउँदै उहाँले यहाँ हुने हरेका विकास निर्माण योजनालाई सफल बनाउनका लागि सबैले आ आफ्ना तर्फबाट सहयोग गर्नुपर्ने धारणा राख्नुुभयो ।      विद्यालयका पूर्व विद्यार्थी एवम् राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेलले धेरै आरोह अवरोह पार गर्दै विद्यालयले यस क्षेत्रको शैक्षिक जागरणमा विशिष्ट भूमिका खेलेको बताउनुभयो ।      शैक्षिक गुणस्तरीयतासँगै विद्यार्थीलाई नैतिकवान बनाउने गरी विद्यालय परिवार लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।      शिक्षासेवी एवम् अक्षयकोषदाता पिताम्बर पौडेलले स्थापनाकालदेखि बर्तमानसम्म यहाँका स्थानीय समाजसेवी, बुद्धिजीविको अथक प्रयासकै कारण विद्यालय यस अवस्थासम्म आइपुुगेको बताउनुुभयो ।      विद्यालयको वार्षिक प्रतिवेदन पेश गर्दै विद्यालयका प्रधानाध्यापक खिमबहादुर महतले विद्यालयको समग्र आर्थिक, शैक्षिक एवम् भौतिक प्रगति र भावी योजनाबारे जानकारी गराउनुुभयो ।      विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुमबहादुर क्षेत्रीले सबैको साथ र सहयोगमा विद्यालयको सर्वाङ्गिण विकास गर्न सकिने बताउँदै सबैको सहयोगको अपेक्षा गर्नुुभयो ।      अध्यक्ष क्षेत्रीको सभापतित्व एवम् शिक्षकद्वय कमलप्रसाद पौडेल र सन्तोष लामिछानेले सञ्चालन गर्नुुभएको कार्यक्रममा पूर्व शिक्षिका सरस्वती खत्री, अक्षयकोष दाताहरूको सम्मान सँगै कक्षागत रुपमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।      कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवम् सल्लाहकार चेतबहादुर महत, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष कमलप्रसाद पौडेल, नेकपा एमाले पोखरा महानगपालिका वडा नं ३३ का अध्यक्ष टुकराज भण्डारी, विद्यालयकी छात्रा लक्ष्मी केसी,  लगायतले बोल्नुुभएको थियो । उक्त अवसरमा अभिभावक खेलसँगै विद्यार्थीहरूले भजन, गीत, नृत्य लगायतका विभिन्न प्रस्तुती देखाएका थिए ।   

पोखरा:   पोखरामा पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा भोलि ४ खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालका आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा दोस्रो दिन महिलातर्फ एक र पुरुषतर्फ ३ खेल हुनेछन् ।  महिलातर्फ आयोजक र त्रिभुवन आर्मी क्लबबिच पहिलो खेल हुनेछ । शनिबार भएको खेल खराब प्रकाशका कारण स्थगित भएपछि उक्त खेल आइतबार हुन लागेको हो । उक्त खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।  त्यसपछि पुरुषतर्फका खेलहरु हुनेछन् । पुरुषतर्फ पहिलो खेल डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब र भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिमबिच हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।    दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच हुनेछ । तेस्रो खेल शसस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लबबिच हुने आयोजकले जनाएको छ । यी खेलपछि लिग हुनेछ । जित्ने टोली र हार्ने टोलीको छुट्टाछुट्टै लिग सञ्चालन हुनेछ । जित्ने टोलीको समूहबाट शीर्ष दुई टोली पहिलो क्वालिफायर खेल्नेछ । तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ । हार्ने टोलीको समूहबाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिने छन् । एलिमिनेटरको विजेताले फाइलन प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग प्रतिष्पर्धा गर्नेछ । खेल हेर्न चाहने दर्शकले इसेवामार्फत पनि अनलाइन टिकट काट्न सकिने आयोजकले जनाएको छ । 

काठमाडौं:    साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले यही माघ १६ र १७ गते ‘नेपाल स्टार्ट अप साना तथा मझौला सम्मेलन’ गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यवसायीहरूका लागि सम्मेलन परिचयात्मक कार्यक्रम हुने जानकारी दिँदै युवाहरूलाई उमशीलतामा प्रोत्साहन गर्न सम्मेलन फलदायी हुने विश्वाास व्यक्त गर्नुभयो । नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक रुपान्तरण, स्टार्टअपमा लगानीका अवसर र चुनौतीको विश्लेषण गर्न तथा महिलाहरु र युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्न नीति सुधारको पैरवी गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको विभागले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।  सानेपास्थित पार्टी कार्यालयमा हुने सम्मेलनमा ८० भन्दा बढी स्टल रहने र छ हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।

विराटनगर:   उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकको समृद्धि र सामाजिक न्याय हासिलका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।  उद्योग सङ्गठन मोरङद्वारा यहाँ आयोजित ‘विराट एक्स्पो(२०२५’ को आज उद्घाटन गर्दै उहाँले सरकार आर्थिक, सामाजिक, शैक्षिक तथा औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न गम्भीर रहेको उल्लेख गर्नुभयो । मुलुक अप्ठ्यारो अवस्थामा रहेका बेलामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा सरकार गठन भएको र यो सरकार सबै समस्या समाधान गर्न तीव्र गतिमा काम गरिरहेको उहाँको भनाइ थियो । उपप्रधान पौडेलले वर्तमान सरकार गठन भएपछि अर्थतन्त्रमा सुधार देखिएको समेत उल्लेख गर्नुभयो । हाल बैंकमा तरलता पर्याप्त रहेको र ब्याजदर पनि एकल अङ्कमा आएको उल्लेख गर्दै यसबाट उद्योगीहरुले लाभ लिइरहेको बताउनुभयो ।  “मुलुकमा राजनीतिक स्थायित्व हुँदा अर्थतन्त्रमा देखिएका समस्यमा समाधानमा सहज हुन्छ”, उहाँले भन्नुभयो, “अहिलेको सरकारका लागि सहज अवस्था छैन, नागरिकका निराशालाई आशामा बदल्ने गरी सरकारले द्रुत गतिमा काम गरिरहेको छ ।” उहाँले ‘निराशा चिर्ने र आशा सञ्चार गर्ने’ दायित्व सरकारकै भएकाले अध्यादेशमार्फत विभिन्न कानुन संशोधनपछि निजी क्षेत्रपनि उत्साहित भएको बताउनुभयो । त्यस अवसरमा उहाँले सरकार प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र निर्माणका लागि काम गरिरहेको समेत जानकारी दिनुभयो ।  “विराटनगर विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, औद्योगिक ग्राम तथा औद्योगिक प्रदर्शनी केन्द्र निर्माण गर्ने र किमाथाङ्का बाटोको विषयमा सरकारले आवश्यक सहयोग गर्नेछ”, उहाँले भन्नुभयो । त्यस अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको आर्थिक विकासका निम्ति विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको धारणा राख्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले निजी क्षेत्रले इमान्दारीपूर्वक राज्यको काममा सहयोग गरिरहेको उल्लेख गर्दै एक्स्पोले निजी क्षेत्रलाई फाइदा पुग्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले मुुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन एक्स्पो सहयोगी हुनेमा विश्वास व्यक्त गर्नुभयो । एक्स्पो यही माघ २० गतेसम्म सञ्चालन हुने छ ।

पोखरा:    एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको खेलमा त्रिभुवन आर्मी क्लब र आयोजक टोलीबिचको खेल स्थगित भएको छ ।  पहिलो दिनको अन्तिम खेलमा आर्मी र आयोजक टोलीबिचको खेलको तेस्रो सेटको खेल सकिँदा भिजिबिलिटी कम हुँदा स्थगित भएको हो ।  पहिलो सेटमा २२–२० को अग्रता जोगाउन नसक्दा आयोजक टोली २३–२५ ले गुमाउन पुग्यो । दोस्रो सेटमा आर्मीले २५–२२ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेटमा भने उत्कृष्ट प्रदर्शन गर्दै आयोजक टोलीले २५–२१ ले जित हासिल ग¥यो ।  त्यसपछि रेफ्रि टहलसिंह थापाले दुई टोलीका कप्तानसँग छलफल गरी खेल स्थगित गरे । खराब प्रकाशका लागि खेल स्थगित गरिएको हो ।  अब उक्त देल आइतबार गर्ने रेफ्रि थापाले बताए । ‘पर्सिदेखि लिग सुरु हुन्छ । भ्याएसम्म भोलि नै गर्ने हो । सुरुमा गर्ने कि कतिबेला गर्ने छलफल भइराखेको छ,’ उनले भने ।  यसअघि भएको खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–२ ले पराजित गरेको थियो । यस्तै आजै भएको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई ३–२ सेटले पराजित गरेको हो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आजबाट सुरु भएको पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ । प्रतियोगिताको पुरुषतर्फका खेल भने आइतबार हुनेछन् ।