कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

काठमाडौं:    करिब रु एक अर्ब बराबरको कार्बन व्यापार गर्ने लक्ष्यका साथ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र (आइरिक्स) लिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।  मुलुकभित्र निजी क्षेत्रको ऊर्जा उत्पादनको हिस्सा क्रमशः बढिरहेको सन्दर्भमा यो सम्झौतालाई महत्वका साथ हेरिएको छ । इप्पानका अध्यक्ष गणेश कार्की र प्रोक्लाइमका प्रमुख कार्यकारी अधिकृत कविनकुमार कंडासामीले यहाँ आयोजित एक कार्यक्रमका बीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको इप्पानले जनाएको छ । इप्पानले प्रोक्लाइमसँग गरेको सम्झौताले नेपालमा निजी क्षेत्रले उत्पादन गरेको दुई हजार सात सय मेगावाट विद्युत्‌मध्ये पहिलो चरणमा दुई हजार मेगावाट विद्युत् कार्बन व्यापारका लागि योग्य हुनेछ । यस सम्झौतासँगै नेपालको निजी क्षेत्रले बर्सेनि करिब रु एक अर्ब बराबरको कार्बन व्यापार गर्न सक्ने इप्पानका अध्यक्ष कार्कीले जानकारी दिनुभयो । प्रोक्लाइमका प्रमुख कार्यकारी अधिकृत कंडासामीले भारत, भुटान र श्रीलङ्काले कार्बन व्यापारबाट फाइदा लिइरहेकाले नेपालले पनि अब यो अवसर सदुपयोग गर्न गइरहेको बताउनुभयो । अन्तर्राष्ट्रिय हाइड्रोपावर एशोसिएसन (आइएचए)का उपाध्यक्ष सुशील पोखरेलले नेपालमा निर्माण भइरहेका जलविद्युत् आयोजनाहरू दिगो विकासका मापदण्ड पूरा गरेको उल्लेख गर्दै नेपाली आयोजनाले पनि अब छिट्टै कार्बन व्यापारबाट पैसा पाउने बताउनुभयो । विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले नेपालका लागि डिजाइन गरिएको आइरिक्स क्याल्कुलेटरको शुभारम्भ गर्नुभयो । यो क्याल्कुलेटरले कति मेगावाट विद्युत् उत्पादन हुँदा त्यसले वार्षिक कति रुपैयाँ बराबरको कार्बन व्यापारका लागि योग्य छ भन्ने कुरा देखाउनेछ । नेपाली निजी क्षेत्रले उत्पादन गरेको दुई हजार सात सय मेगावाट विद्युत्‌लाई कार्बन व्यापारसँग जोड्दा यसले वार्षिक करिब रु एक अर्ब बराबरको लाभ पाउनुपर्छ । विश्वबजारमा कार्बन ट्रेड भइरहे पनि नेपालले लाभ लिन नसकेको भन्दै अध्यक्ष डा धितालले जलविद्युत्‌को प्रचुर सम्भावना रहेको र तीन हजार मेगावाटभन्दा बढी जलविद्युत् मात्र उत्पादन भइरहेको नेपालले अब कार्बन व्यापाराट पनि लाभ लिन सक्नुपर्नेमा जोड दिनुभयो । वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले नेपालले वनजङ्गलबाट सानो ‘स्केल’मा कार्बन विसर्जनवापतको रकम लिए पनि जलविद्युत् आयोजनाले त्यो अहिलेसम्म लाभ लिन नसकेको बताउनुभयो । ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीले क्षेत्रीय बजारमा विद्युत् निर्यात गरिरहेको नेपालले अब छिट्टै कार्बन ट्रेडबाट पनि राम्रो आम्दानी गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । ग्लोबल कार्बन काउन्सिलका प्रबन्धक अशोक के चन्देल र ग्लोबल रिन्वेल अलाइन्सका इरिक सोल्हिमले पनि कार्यक्रमलाई सम्बोधन गर्दै चीन र भारतजस्ता शक्ति राष्ट्रको बीचमा रहेको नेपालले कार्बन व्यापारबाट लाभ लिनुपर्ने बताउनुभएको थियो ।

लमजुङ:    बजेट अभावले लमजुङ दरबार पुनर्निर्माण अझै सम्पन्न हुन सकेको छैन । समुद्री सतहबाट एक हजार चार सय ४५ मिटर उचाइमा रहेको सो दरबार १६औँ शताब्दीमा बनेको बताइएको छ ।  पुरातत्व विभागले शाहवंशीय राजाको उद्गमस्थल मानिएको लमजुङ बेँसीसहर नगरपालिका– ३ गाउँसहरस्थित सो दरबार तीन वर्षदेखि पुनर्निर्माण थालेको थियो । विभागका इञ्जिनियर गोविन्द अधिकारीका अनुसार निर्माण थालनी गरेको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि सरकारले आवश्यक बजेट उपलब्ध नगराउँदा निर्माण सम्पन्न हुन नसकेको हो । दरबारको केही पर्खाल लगाउने, कालिका मन्दिरको पर्खाल लगाउने, छाना हाल्ने काम, छानामा हाल्ने काठ राख्न, गजुर राख्न, दरबारभित्र प्लाष्टर, झ्यालढोकाका खापा, रङरोगन, भुइँमा गर्नुपर्ने काम अझै बाँकी रहेको उनले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा एक करोड ३३ लाख बजेटबाट पुनर्निर्माण सुरु गरिएकामा गत आर्थिक वर्षमा सरकारले जम्मा ५० लाख बजेट छुट्याएको थियो । पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण भइरहेको छ ।  दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा ९छाने शैली०को बन्नेछ । दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याएर प्रयोग गरिएको छ । गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहराले भने, ‘दुई वर्षभित्र सक्नेगरी पुरातत्व विभागका कर्मचारीसँग मौखिक रूपमा सम्झौता भए पनि तेस्रो वर्षमा पनि काम सम्पन्न भएन ।  अझै काम अधुरै रहँदा स्थानीय चिन्तित छन्, यहाँ विभिन्न चाडपर्वमा आउने दर्शनार्थी तथा पर्यटकलाई अलपत्र रहेका ढुङ्गा काठले असहज बनाउने गरेको छ ।’   साथै स्थानीयले पित्तल वा तामाको छाना राख्न आग्रह गरेको उनको भनाइ छ । वडा नम्बर ३ का अध्यक्ष चित्रबहादुर दनाइले भने, ‘यतिका वर्षमा पनि निर्माण सम्पन्न भएन, यस वर्ष सम्पन्न हुनुपर्ने हो तर भएन । हामीले सम्बन्धित निकायसमक्ष चाँडो निर्माण सम्पन्न गर्न पहल गर्दै आएका छौँ तर सुनुवाइ नहुँदा यस वर्ष पनि कम बजेटले गर्दा निर्माण पूरा भएन ।’ स्थानीय सुरेश श्रेष्ठले सरकारले यस्ता ऐतिहासिक दरबारको निर्माणका लागि एकै पटक आवश्यक बजेट उपलब्ध गराएर निर्माण गर्नुपर्ने थियो, पटकपटक थोरै बजेट आएकाले निर्माण बर्सेनि निर्माण अधुरै रहँदै आएको बताए । व्यवस्थापन समितिका अनुसार दरबार १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । शाहवंशीय राज्यकालको उद्गमथलो लमजुङ हो भने त्यसैको विरासत हो लमजुङ दरबार । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई विसं १५४० मा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे र लक्ष्मण दुराले लमजुङको पहिलो चौबिसे राज्यको राजा बनाएका थिए । त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घले राजाका सेनाले कालु शाहको हत्या गरिदिएको इतिहासमा उल्लेख छ । सो घटनापछि उनीहरूले नै कुलमण्डलका कान्छा छोरा यशोबह्म शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढाएका थिए । यशोबह्मलाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगद्दीमा बसाइएको शिलालेखमा उल्लेख छ ।

ताप्लेजुङ:   समुद्री सतहबाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरिएको छ । गत बुधबार चन्द्र माबोले पहिलोपटक टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गरेका हुन् । राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरले नेपाललाई भारत र चीनसँग जोडेको छ । भारतको जोगबनीबाट सुरु हुने यो करिडोर चीनको तिब्बतसँग जोडिन्छ । हालै चीनको सिमावर्ती क्षेत्र ओलाङचुङगोला पुग्ने बोलेरो गाडी सञ्चालनमा आएपछि थप २४ किलोमिटर कठिन हिमाली सडक पार गर्दै टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल पुगेको हो । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका स्थानीय तथा कार्यपालिका सदस्य टासी शेर्पाले टिप्तालासम्म गाडी पहिल्यै पुगे पनि मोटरसाइकलले पहिलोपटक यात्रा पूरा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ओलाङचुङगोलासम्म मोटरसाइकल आइपुगेका थिए, तर टिप्ताला भञ्ज्याङ पुग्न सकेका थिएनन् ।” मोटरसाइकल यात्री माबोका अनुसार सुकेपानीबाट ओलाङचुङगोला खण्डसम्म मोटरसाइकल चलाउन निकै कठिन छ । अझ ओलाङचुङगोलाबाट माथि थप जटिलता रहन्छ । उच्च हिमाली क्षेत्र भएकाले अक्सिजन कम हुने, चिसो अत्यधिक हुने र मोटरसाइकलको शक्ति घट्ने हुँदा चुनौतीपूर्ण यात्रा हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म टिप्ताला भञ्ज्याङमा सर्वसाधरणले मोटरसाइकलमार्फत यात्रा गरेको छैन भन्ने सुनेको छु, यदि हो भने म नै पहिलोपटक पाँच हजार एक सय मिटर उचाइमा रहेको टिप्ताला भञ्ज्याङसम्म मोटरसाइकल यात्रा गर्ने व्यक्तिमा पर्छु ।” पाँच हजार उचाइमा रहेको टिप्ताला भञ्ज्याङमा मोटरसाइकाल यात्रा सफल भएसँगै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा विकास हुने फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । उहाँका अनुसार टिप्ताला क्षेत्र एक व्यापारिक केन्द्रसँगै पर्यटकीय गन्तव्य हो । यस क्षेत्रमा पहिलोपटक मोटरसाइकल पुग्नुलाई साहसिक पर्यटकको समेत नयाँ गन्तव्य बन्ने लिम्बूको भनाइ छ । टिप्ताला भञ्याङ जाने क्रममा मोवाटार (चार हजार दुई सय मिटर) हुँदै उकालो यात्रा गर्नुपर्छ । सो क्षेत्रको सडक अप्ठ्यारो भएकाले गाडी तथा मोटरसाइकल चलाउन कठिन हुने चालक आइतराज थेबेले बताउनुभयो । सडकमा हिउँ जमेर रहेकाले गाडी चिप्लिने जोखिम हुने गरेकाले सावधानीपूर्वक यात्रा गर्नुपर्ने थेबेले बताउनुभयो । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने टिप्तालासम्म नेपाली गाडी र मोटरसाइकल पुगेपछि स्थानीय हर्षित भएका छन् । उत्तर–दक्षिण लोकमार्गअन्तर्गत ट्रयाक निर्माणपछि पहिलोपटक अघिल्लो बुधबार नेपाली मोटरसाइकल टिप्ताला भञ्ज्याङ पुगेको स्थानीय तथा पूर्ववडाध्यक्ष छेतेन शेर्पाले बताउनुभयो । टिप्तालासम्म मोटरसाइकल तथा गाडी पुगेपछि जिल्लावासी उत्साहित भएका छन् । विशेषगरी ओलाङचुङगोला, याङ्मा र घुन्साका स्थानीयले सडक विस्तारले यातायात सहज बनाउने आशा राखेका छन् । यस सडकको विस्तारले भारत, नेपाल र चीनलाई जोड्ने सम्भावना बढाएको छ । विराटनगर रानीबाट तमोर करिडोर हुँदै उत्तर–दक्षिण लोकमार्गमार्फत तिब्बतसँगको सिमाना टिप्ताला जोडिएको छ । दुई सय ९२ किलोमिटर लामो यो सडक भारत, नेपाल र चीन जोड्ने छोटो मार्गका रूपमा लिइन्छ ।

काठमाडौं:    जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको दोस्रो दिनको बैठकमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेण्डामाथि छलफल हुने भएको छ । आइतबारको बैठकमा बाँकी केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुले अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेण्डामाथि आफ्नो धारणा राख्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।  बैठकमा जसपा नेपालले गत भदौ महिनादेखि सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षालाई मुख्य एजेण्डा बनाएको छ । त्यस्तै सरकारले ल्याएको अध्याधेश, मधेश केन्द्रित दलहरु बिचको मोर्चा, नो केबलकार आन्दोलनलगायतका वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा बैठक केन्द्रित रहेको बस्नेतले बताए । 

तनहुँ:    पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलवारीमा शनिबार साँझ भएको ग्यास बुलेट दुर्घटनामा चालकको मृत्यु भएको छ । मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको भारतीय एचआर ५५ क्यु ४७११ नम्बरको ग्यास बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा भारत विहार राज्य मिर्जापुर पठाही जिल्ला पूर्वी चम्पारण बस्ने ३६ वर्षीय भारतीय नागरिक श्रीकान्त कुमार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।  ग्यास बुलेटले च्यापिएर गम्भीर घाइते उनलाई उद्धार गरी दमौली अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिए । 

काठमाडौं:    ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ ।  तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२१ अगष्ट ३० मा प्रत्येक वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार दिवस मनाउने निर्णय गरेको थियो । सन् १९७१ मा क्यास्पियन समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्राष्ट्रिय महत्त्वको सिमसारसम्बन्धी महासन्धिको अङ्गीकार गरिएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो । संरक्षित क्षेत्रहरूको घोषणा, प्रभावकारी नीतिको कार्यान्वयन र ज्ञान आदानप्रदानमार्फत उक्त महासन्धिले राष्ट्रहरूलाई आफ्ना जलाधार क्षेत्रहरूको संरक्षण र दिगो उपयोगका लागि आवश्यक कदम उठाउन सक्षम बनाउने उद्देश्यले दिवस मनाइने गरिएको छ ।  कुल एक सय ७२ राष्ट्रले अङ्गीकार गरेको यस महासन्धिमा सहभागी हुने देशले अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्रको सूची (रामसार क्षेत्र)मा कम्तीमा एउटा जलाधार समावेश गर्नैपर्ने नियम छ । हाल नेपालको कोशी टप्पु वन्यजन्तु आरक्ष, राराताल, माईपोखरी, फोक्सुण्डो ताल, बिसहजारी ताल, घोडाघोडी ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल, जगदीशपुर जलासय र पोखरा उपत्यका तथा त्यस क्षेत्रका नौवटा तालको समूह रामसार सूचीमा समावेश छन् । सिमसार क्षेत्र भन्नाले प्राकृतिक अथवा कृत्रिम रुपले सृजना भई स्थायी वा अस्थायी रूपमा पानीले ढाकेको, पानी बग्ने वा झरनाका रूपमा खसेर बनेको दलदल, धाप, जरुवा क्षेत्र वा नुनिलो तथा क्षारयुक्त पानी रहेको ठाउँ वा भूभोगलाई बुझिन्छ ।  नेपालको राष्ट्रिय सिमसार नीति, २०६९ अनुसार सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रूपमा बनेको दलदल क्षेत्र हो । नेपाल एक पर्वतीय देश भएको र यहाँ जल, जमिन, जङ्गल, वनस्पति एवम् खनिज पदार्थजस्ता प्राकृतिक स्रोतहरूको अपार भण्डार रहेको छ ।  नेपालको कुल क्षेत्रफलमध्ये आठ लाख १९ हजार दुई सय ७७ हेक्टर (करिब पाँच प्रतिशत) सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रहरूमा अन्तर्राष्ट्रिय महत्त्व बोकेका सिमसार क्षेत्र रहेका छन् ।

पोखरा:    एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको फाइलन खेल आज हुँदैछन् ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १२ गतेदेखि सुरु भएको च्याम्पियनसिपको महिला र पुरुषतर्फका दुवै फाइनल खेल आज हुन लागेको हो । आज हुने पहिलो फाइलन खेल महिलातर्फको हुनेछ । बिहान ११ बजे सुरु हुने उक्त खेलमा आयोजक टाइगर ग्रुप र सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले प्रतिस्पर्धा गर्नेछन् ।  एपिएफले पहिलो क्वालिफायरमा आयोजक टोली र आयोजक टोलीले दोस्रो क्वालिफायरमा टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई पराजित गर्दै फाइलन यात्रा सुनिश्चित गरेका थिए । दोस्रो फाइलन खेल पुरुषतर्फको हुनेछ । दिउँसो एक बजेबाट सुरु हुने उक्त फाइलन खेलमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने छन् ।  पुलिसले पहिलो क्वालिफायर र गण्डकीले दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा पुगेका थिए ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको उक्त प्रतियोगिको विजेताले समान ५ लाख ८५ हजार ५५५ र उपविजेताले २ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् ।  प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् भने विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

पोखरा:    भीमकाली क्लब पोखराको पाँचौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशनले मदनलाल श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । शनिबार पोखरा–१ बगरमा क्रियाशिल क्लबको पाँचौं वार्षिकोत्सव तथा तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको उपाध्यक्षमा अनिस गुरुङ, सचिवमा चाइनिज गुरुङ, कोषाध्यक्षमा किरण अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरुमा अन्जन देवकोटा, युनिका तामाङ, आयुषा सुनार, निश्चल गुरुङ र स्नेहा साई चयन भएका हुन् ।   निर्वाचन समिति संयोजकमा अधिवक्ता विष्णु प्रसाद आधिकारी त्यसैगरी सदस्यहरु कल्पना पराजुली (रोजि) र शोभा गुरुङ थिए । यसअघि कार्यक्रमको पोखरा महानगरपालिका वडा नम्वर १ वडाध्यक्ष शाहारा प्रधानले उद्घाटन गरे । उनले क्लबले समाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै निर्वाचित नयाँ कार्यसमितिलाई क्लबलाई सामाजिक दायित्वमा गर्ने गतिविधीमा वडामा साथ रहने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा क्लवका संस्थापक अध्यक्ष विम्ब कवि प्रज्ञा रमेश श्रेष्ठ र संस्थापक कोषाध्यक्ष युसफ श्रेष्ठलाई सम्मान गरिएको थियो । उनीहरुलाई क्लवका विभिन्न गतिविधिमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको अध्यक्ष कृष्ण बहादुर गुरुङले जानकारी दिए । कार्यक्रममा सम्मानित व्यक्तित्व विम्ब कवि प्राज्ञ रमेश श्रेष्ठ, दिप युनाइटेड क्लबका अध्यक्षका बिष्णु गुरुङ, भीमकाली टोल विकास समिति अध्यक्ष कल्पना पराजुली ’रोजी’, लागु पदार्थ नियन्त्रण तथा समाज सुधार समिति अध्यक्ष कल्पना आचार्य बास्तोला, क्लवका सल्लाहकार दिल प्रसाद गुरुङ, राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा लगायतले क्लवले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको बारेमा बोलेका थिए ।

पोखरा:   विश्व सिमसार दिवस २०२५ को अवसरमा फेवाताल किनार क्याम्पिङचोकमा  आइतबार सिमसार संरक्षण फोटो प्रदर्शनी हुने भएको छ ।  पत्रकार कृष्णमणि बरालले विगत २० वर्ष भन्दा पहिले देखि खिचेका फेवाताल र पोखराका ९ वटै तालको विभिन्न अवस्था झल्कने फोटो प्रदर्शनी हुनलागेको हो ।  राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल र सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा हुने फोटो प्रदर्शनीमा फेवाताल कसरी मुहानबाट पुरिदै छ भन्ने देखिने २० वर्ष अघि र अहिलेको तस्बिर पनि समावेश हुने छ ।  ताल कसरी पुरिदै छ र कसरी प्रदूषणको चपेटामा पर्दै गएको छ भन्ने जानकारी गराउदै संरक्षणमा लाग्न सचेत गराउने उद्देश्यले फोटो प्रदर्शनीको आयोजना गरिएको आयोजक राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल र सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुर प्रसाद बरालले बताए ।  हाम्रा बानीले ताल कसरी प्रदूषणको चपेटामा पर्दै गएको भन्ने दृश्य पनि फोटो प्रदर्शनीमा समेटिने आयोजकले बताएका छन् ।  पत्रकार कृष्णमणि बरालले विगत १६ वर्ष अघि देखि गिद्ध र सिमसार संरक्षणकाागि संरक्षण  फोटो प्रदर्शनी गर्दे आएका छन् । यही निरन्तरताको क्रममा विश्व सिमसार दिवसको अवसरमा मानवीय व्यवहारका कारण पोखराका तालहरु कसरी प्रदूषणको चपेटामा परेका छन् भन्ने सचेत गराउन फोटो प्रदर्शनीको आयोजना गरिएको पत्रकार बरालले बताए ।  यस वर्षको नारा हाम्रो साझा भविश्वकालागि सिमसार संरक्षण रहेको छ । सबै सजिव प्राणीकालागि नभैनहुने पानीका स्रोतहरु सुक्दै र प्रदूषणको चपेटामा पर्दै गएका छन् ।  भोलि पानीको अभावमा काकाकुल हुने अवस्था आउन नदिन अहिले देखि पानीका स्रोतहरु, खोला, नदी, ताल, तलैया सुक्न र प्रदूषणको चपेटामा पर्न नदिन संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन फोटो प्रदर्शनीको आयोजना गरिएको पनि उनले बताए ।  पोखराका ९ तालहरु २०७२ माघ २० गते अन्तर्राष्ट्रिय महत्वको रामसार सूचीमा सूचीकृत भएका छन् । पोखराका तालहरु अन्तर्राष्ट्रिय करण गरिएपनि संरक्षणमा नागरिक र तीन तहकै सरकारले चासो नदिदा प्रदूषणको चपेटामा परेका छन् । देशकै दोस्रो ठूलो ताल फेवा प्रत्येक वर्ष साँगुरिदै पनि गएको छ ।