पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

काठमाडौं:   काठमाडौंउपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले अभिनेत्री समेत रहनुभएकी एनी कुँवरलाई पक्राउ गरेको छ ।       यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनबारे अनुसन्धानका क्रममा कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुँवरलाई ललितपुरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो ।      उहाँले भन्नुभयो, “पत्रकार सुरेश रजक जलेको घरमा निज कुँवर देखा परेको र त्यस घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो, बिना अनुमति कसैको घरमा पस्नु गलत हो । ”, 

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिन भनिनु इमानदारिताको खडेरीपन हुने बताउनुभएको छ ।      फोरियन अफेयर्स मिडियाद्वारा आज आयोजित ‘हिमालयन डायलड’को पहिलो शृङ्खलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामन्ती शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको र राजनीतिक परिवर्तनपछि जनताले गरेका व्यापक अपेक्षाका बीच आफूहरुले विकास र सुशासनका यात्रालाई अगाडि बढाउने भरमग्दुर प्रयास गरिरहेको बताउनुभयो ।      “पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भन्न छाडेको छैन । मलाई साथ देऊ भनिराखेका छन्”, राजतन्त्रवादीतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, “संविधानकै व्यवस्थाअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी हो ।”  यसबाट सङ्क्रमणकाल अझै लम्बिने देखिएको उहाँको भनाइ थियो । “जता हावा ढल्केको छ, त्यतै बग्ने प्रवृत्ति पनि हुन्छ । जायज माग लिएर आउँदा हामी सुन्छौँ । सडकमा कसैले दुःख पाइरहनु पर्दैन । शिक्षकहरुले सडकमा बसिरहनु पर्दैन । हामी संवादबाट उहाँहरुका मागलाई यथोचित सम्बोधन गर्नेछौँ”, उहाँले थप्नुभयो ।      प्रधानमन्त्री ओलीले नेपाल आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तरराष्ट्रिय सम्बन्धबा त्यसका केही दायित्वहरु निर्वाह गर्न लागेको बताउनुभयो । उहाँले बङ्गालको खाडीको तातो हावालाई छेक्ने काम नेपालकै हिमालले गर्ने तथा समुद्रलाई धेरै तातो हुन नदिन र मरुभूमिकरणबाट यस भूभाग र बाँकी विश्वलाई जोगाउने काम हिमालले गरिरहेको उल्लेख गर्नुभयो ।      “हाम्रो मुलुक भौगोलिक, प्राकृतिक र संस्कृतिक रुपमा विविधतायुक्त छ । विविधताका बीचमा एकता आवश्यक छ । बिना एकता हामीले चाहेका उपलब्धि हासिल हुन सक्दैनन्,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “विविधता अभिशाप होइन, सम्पत्ति हुनुपर्छ । राष्ट्रिय र अन्तरराष्ट्रिय समस्या आउँदा नेपाल एकजुट भएर समाधान गर्न लाग्नुपर्छ ।”       उहाँले आदर्श कमजोर र स्वार्थ हाबी हुँदै गएको विश्वमा राष्ट्रिय हितलाई ध्यान दिँदै विश्वकै सुरक्षा र मानवीय हितमा हामीले आफ्नो तर्फबाट योगदान दिन सक्नुपर्नेमा जोड दिनुभयो ।  भूराजनीतिका नाममा आफ्नो कमजोरी ढाक्ने काम गर्न नहुने उल्लेख गर्दै उहाँले भूराजनीतिक सचेतनाका साथ राष्ट्रिय हितलाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । “अन्तरराष्ट्रिय जवाफदेहीतासहितको न्यायोचित राष्ट्रिय हित र विचारलाई छोड्नु भन्ने होइन । कुनै छिमेकीसँग बढी मित्रता भन्ने खालको कोल्टिने राजनीति गर्नु हुँदैन । हामी कसैको सामरिक गठबन्धनमा लाग्दैनौँ । हामी शान्तिका पक्षमा छौँ”, उहाँले भन्नुभयो ।      हिमालयन संवादको पहिलो शृङ्खलामा विभिन्न राजनीतिक दलका नेता र कूटनीतिक क्षेत्रका विज्ञहरुले नेपालको परराष्ट्र नीतिका विषयमा दुई सत्रमा छलफल गर्नुहुने फोरियन अफेयर्स मिडियाका अध्यक्ष गोपाल खनालले जानकारी दिनुभयो ।

काठमाडौं: सगरमाथा आरोहण दलका सदस्य प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई शुभकामनासहित नेपाल प्रहरीको ब्यानर हस्तान्तरण गरिएको छ ।       नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापाले शेर्पालाई लैंगिक हिंसाविरूद्धको नारा सहितको ब्यानर हस्तान्तरण गर्नुभएको हो ।  प्रहरी महानिरीक्षक थापाले शेर्पालाई आरोहणको सफलताको शुभकामना व्यक्त गर्र्दै आरोहणमा सहयोग र सहजीकरण गर्ने विभिन्न सरकारी निकाय, सङ्घसंस्था तथा ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।       कार्यक्रममा अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक रञ्जु सिग्देलले लैंगिक हिंसासम्बन्धी अभियान र आरोहण कार्यक्रमबारे संक्षिप्त जानकारी दिनुभएको थियो ।       त्यसअवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, प्रहरी नायब महानिरीक्षकहरू, ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिका प्रबन्ध निर्देशक एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो । 

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विगतमा नेपाल शिक्षक महासङ्घसँग भएको सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सरकारसँग माग गरेको छ ।        माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आज विज्ञप्ति जारी गर्दै संसद्को विशेष अधिवेशन वा अन्य उपायबाट सो ऐन जारी गरी आन्दोलनरत शिक्षकलाई शैक्षिक जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको हो ।        शिक्षा क्षेत्रमा गुणात्मक सुधार आजको आवश्यकता भएको औँल्याउँदै माओवादी केन्द्रले विद्यालयस्तरमा लामो समयदेखि कार्यरत शिक्षकका लागि उत्प्रेणामुखी वातावरण सिर्जना गर्दै उनीहरूको पेसागत सुरक्षा अनिवार्य सर्त भएको जनाएको छ ।        माओवादीले संविधानतः आमनागरिकले शिक्षा प्राप्त गर्न पाउने अधिकार सुनिश्चित भए पनि आवश्यक कानुनी र नीतिगत संरचना निर्माण नहुँदासम्म सङ्घीयताको मर्मअनुरूप शैक्षिक क्षेत्रको पुनर्संरचना हुन नसक्ने उल्लेख गरेको छ । माओवादीले निजामती, शिक्षा, स्वास्थ्य, प्रहरीलगायत ऐन जारी गरी कार्यान्वयनमा जोड दिन सरकारको ध्यानाकर्षण गराएको छ ।        आफ्नो पार्टी नेतृत्वको सरकारले जटिलताबीच विद्यालय शिक्षा विधेयक तर्जुमा गरी संसद्मा दर्ता गरेको जनाउँदै माओवादी केन्द्रले सो विधेयकलाई यथाशीघ्र पारित नगरेर सरकारले शिक्षक र विद्यार्थीको पेसा र भविष्यमाथि खेलबाड गरेको आरोप लगाएको छ ।        “सरकार गठन भएको दश महिनासम्म आन्दोलनरत शिक्षकको जायज मागलाई बेवास्ता गरिनु तथा शिक्षकको आन्दोलन चर्किएपछि बजेट अधिवेशनमा विधेयक पारित गर्ने तर्क दिनु विरोधाभाष छ,” प्रवक्ता सापकोटाले भन्नुभयो । शिक्षकका मागप्रति ऐक्यबद्धता व्यक्त गर्दै माओवादीले आमजनसमुदायमा समेत शिक्षकका पक्षमा उभिन आह्वान गरेको छ ।

रुपन्देही: विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक लगायो । नगरपालिकाले एक समारोहबीच गुट्खाजन्य पदार्थ निषेध क्षेत्र भनेर घोषणा नै गरिसकेको छ ।      नगरपालिकाले गुट्खाजन्य पदार्थ बिक्रीवितरण नियन्त्रण गर्नेसम्बन्धी कार्यविधि, २०७९ भनी कार्यविधि पनि बनायो । सो कार्यविधिमा गुट्खाजन्य पदार्थको प्रयोगले मानव स्वास्थ्य र सहरी सौन्दर्यमा समेत गम्भीर असर पर्ने देखिएको उल्लेख गरिएको छ ।      गुट्खाजन्य पदार्थको बिक्रीवितरण कार्यको अनुगमनका लागि सो कार्यविधिको दफा ६ को उपदफा १ मा नगरस्तरीय अनुगमन समितिमा नगर उपप्रमुख संयोजक रहने गरी आर्थिक विकास समिति संयोजक, वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक, राजस्व शाखा संयोजक, नेपाल प्रहरीका स्थानीय प्रमुख, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, चेम्बर अफ कमर्सका प्रतिनिधि, उद्योग व्यापार सङ्गठनका प्रतिनिधि र नगर प्रहरी इन्चार्ज सदस्य रहेको अनुगमन समिति रहने भनी उल्लेख छ ।      यसैगरी, दफा ७ को उपदफा १ मा टोलस्तरीय अनुगमन समिति वडाध्यक्ष संयोजक रहने गरी वडाध्यक्षले तोकेको वडा सदस्यमध्येबाट एक वडा सदस्य, टोल विकास सञ्जालका अध्यक्ष, वडा बाल सञ्जाल प्रतिनिधि, क्लब, सङ्घसंस्था, आमा समूहमध्येबाट तीन, स्वास्थ्य संस्थाबाट दुईजना, नेपाल प्रहरीका स्थानीय प्रमुख प्रतिनिधि र वडा सचिव रहने भनी उल्लेख गरिएको छ ।      सो कार्यविधिको दफा ४ को उपदफा १ मा जरिवानासमेत तोकिएको छ । पहिलो पटक गुट्खाजन्य पदार्थको बिक्रीवितरण गरेको भेटिएमा थोक बिक्रेताका लागि रु १० हजार र अन्य व्यवसायीका लागि रु एक हजार ५०० जरिवाना तोकिएको छ ।  त्यस्तै दोस्रो पटक थोक बिक्रेताका लागि रु २० हजार र अन्य व्यवसायीका लागि रु दुई हजार रकम जरिवाना तोकिएको छभने तेस्रो पटक पनि भेटिएमा थोक बिक्रेताका लागि रु ५० हजार र अन्य व्यवसायीका लागि रु पाँच हजार रकम जरिवाना तोकिएको सो कार्यविधिमा उल्लेख छ ।      पछिल्लो समय नगरपालिकामा गुट्खाजन्य पदार्थको बिक्रीवितरण खुल्ला रुपमा हुँदै आएको स्थानीय बताउँछन् । सो बिक्रीवितरण गर्नेलाई जरिवाना पनि कार्यविधिमा मात्र सीमित भएको उनीहरूको गुनासो छ ।  जरिवानाभन्दा पनि सचेत गराउने कार्यले व्यवसायीमा अटेरिपन रहेको छ । शरीरलाई दीर्घकालीन रुपमा असर गर्ने यस्ता चीज विशेषगरी किराना पसलमा लुकाएर राखेको अवस्थामा प्रशस्तै भेटिन्छन् ।      तिलोत्तमा–१ शिवचोक टोल विकास संस्थाका अध्यक्ष तुलसी न्यौपानेले अन्य पालिकामा सजिलै पाइने भएकाले गुट्खा खाने, जथाभावी फाल्ने र जथाभावी थुक्ने क्रममा कमी आउन नसकेको उहाँले बताउनुभयो ।  टोल विकास अध्यक्ष न्यौपानेले सफा र स्वच्छ तिलोत्तमा गुट्खाको प्रयोग तथा जथाभावी थुक्दा त्यसको औचित्यमाथि प्रश्न उठेको र यसले सबैलाई लज्जित बनाएको बताउनुभयो ।      कार्यविधिको दफा ७ को उपदफा १ मा टोलस्तरीय अनुगमन समितिमा वडाध्यक्ष संयोजक रहनेगरी व्यवस्था गरेको छ । वडा नं १ का वार्ड सञ्जाल अध्यक्ष डिल्लीराम कँडेलले भव्य कार्यक्रमबीच घोषणा गरे पनि अनुगमनमा एक पटक पनि सहभागी नगराएको गुनासो गर्नुभयो ।      नगरले घोषणा गरे पनि बिक्रीवितरण र सेवनमा कमी नआएको वडा नं १ का वडाध्यक्ष फर्सुराम गिरीको भनाइ छ । घोषणाताका अनुगमन अलि भए पनि पछिल्ला दिनमा भने अनुगमन एकदमै पातलो रुपमा भएको वडाध्यक्ष गिरी स्वीकार्नु हुन्छ । गिरीले पछिल्लो समय वडा नं १ को ड्राइभर टोल बजार क्षेत्र र हाटबजार क्षेत्रमा अनुगमन गर्दा सो पदार्थ नगण्य रुपमा बिक्रीवितरण गरेको भेटिएको बताउनुभयो ।      यसैगरी, वडा नं १७ का वडाध्यक्ष दानबहादुर चौधरीले विभिन्न क्षेत्रका व्यक्तिको व्यस्ततालाई बुझ्दै अनुगमन पातलो गरिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अनुगमन गर्ने टोलीमा बाल सञ्जालका विद्यार्थी पनि राख्नुपर्ने हुनाले भनेजस्तो छिटो अनुगमन गर्न सकिएको छैन् ।” सो क्रममा व्यवसायीलाई कारबाही नगरी सचेत मात्र गराएर छाडिएको अध्यक्ष चौधरी बताउनुहुन्छ ।      विसं २०८० वैशाख २ गतेदेखि हालसम्म गुट्खाजन्य पदार्थको बिक्रीवितरण नियन्त्रणमा हालसम्म नगरका १३ भन्दा बढी पसललाई सचेत गराई जफत गरिएको नगर प्रहरीका इन्चार्ज नरप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले हालसम्म ४१ पसललाई जरिवानासहित जफत गरिएको बताउनुभयो । हालसम्म गुट्खाजन्य पदार्थ जरिवानाबाट रु ८६ हजार ५०० राजस्व सङ्कलन भएको र त्यसैगरी, गुट्खाजन्य पदार्थ २०१ पोका तथा एक हजार ३५६ जफत गरिएको प्रहरी इन्चार्ज श्रेष्ठले जानकारी दिनुभयो ।      पछिल्लो समय नगरपालिकामा नगर प्रहरी थपिएसँगै गुट्खाजन्य पदार्थ बिक्रीवितरणमा नियन्त्रण गर्न निरन्तर खटिने र अझ प्रभावकारी रुपमा अनुगमन गरिने नगर प्रहरी इन्चार्ज श्रेष्ठको भनाइ छ । नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाए पनि नगरभित्र बेचबिखनमा कमी आउन नसकेको नगरप्रमुख रामकृष्ण खाँण स्वीकार्नुहुन्छ ।       नगर प्रमुख खाँण भन्नुहुन्छ, “यसलाई पूर्ण रूपमा रोक्नका लागि टोल विकास समितिकै व्यक्तिलाई र विद्यार्थीलाई रसिद काट्न लगाउँछौँ, यसो गर्दा यो अवस्थामा धेरै सुधार आउने छ ।” पछिल्लो समय नगरपालिकामा १५ जना नगर प्रहरी थप गरिएसँगै २१ जना नगर प्रहरी भएको र अब भने अनुगमनमा कडाइ गर्ने नगरपालिकाले जनाएको छ ।

काठमाडौं:   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कारागार चलान हुनुभएको छ ।  दुई दिन जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिनुभएका लामिछाने आज जिल्ला कारागार चलान हुनुभएको हो ।       आज बिहान जिल्ला अदालत पेस गरेर आवश्यक प्रक्रिया पूरा गरिएपछि उहाँलाई कारागार चलान गरिएको हो । अदालत पेस गरेपछि उहाँलाई थुनुवा पुर्जी दिइएको थियो ।      जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीको नेतृत्वको टोलीले लामिछानेलाई अदालत पेस गरेलगत्तै थुनुवा पुर्जी प्रदान गर्ने प्रक्रिया पूरा गरेर कारागार लगिएको थियो ।  जिल्ला प्रहरीको टोलीले सोमबार बिहान कार्यालय समय भएपछि बुटवल पुगेर उच्च अदालतको आदेशको मिसिल बुझेको थियो । मिसिल बुझेर भैरहवा ल्याएपछि जिल्ला प्रहरीको हिरासतबाट लामिछानेलाई अदालत पेस गरिएको थियो ।      जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार करिब एक घण्टासम्म कारागारमा लामिछानेको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसपछि लामिछानेलाई कारागारको ब्लक नं ४ मा राखिएको छ । उक्त कारागारमा अहिले लामिछाने मात्रै रहेको प्रशासक भण्डारीले बताउनुभयो ।       लामिछानेलाई राखिएको कक्ष अन्य कैदीबन्दीलाई राखिएका भवनभन्दा बाहिर रहेको छ । शुक्रबार राति काठमाडौँमा पक्राउ गरेर लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो । दुई दिन बिदा भएपछि उहाँलाई शनिबार र आइतबार जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको थियो ।      आज बिहान अदालत लैजानुअघि सदरमुकाम भैरहवाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । जिल्ला प्रहरीबाट अदालत जाने बाटो र अदालत परिसर आसपास नेपाल र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।       त्यस्तै, जिल्ला कारागार परिसर र आसपास पनि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । बुटवलको सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।      जिल्ला अदालत रूपन्देहीले दिएको रु एक करोड धरौटी लिएर छाड्ने आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो । गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेलाई एक करोड धरौटी रकम माग गरेको थियो भने छविलाल जोशीलाई माघ २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।      समान प्रकृतिको मुद्दामा एकजनालाई धरौटी र अर्कालाई थुना भएपछि सरकारी वकिल कार्यालयले लामिछानेलाई पनि थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पुगेको थियो ।

काठमाडौं: नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोकिएको छ ।  गभर्नर नियुक्तका लागि गठित सिफारिस समितिले नाम सिफारिस गर्न ढिलाई गरेपछि अर्थ मन्त्रालयले तिम्सिनालाई उक्त जिम्मेवारी दिएको हो ।       नेपाल राष्ट्र बैङ्क ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी तोक्नुभएको उहाँको सचिवालयले जनाएको छ ।      गभर्नर नियुक्ति सिफारिस गर्नका लागि अर्थमन्त्री पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सम्मिलित तीन सदस्यीय समिति गठन गरिएको छ । 

भक्तपुर:  भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वको नवदुर्गा देवगणको ‘ङालाकेग’ (माछा मार्ने)जात्रा मल्लकालीन परिवारलाई दर्शाउने जात्रा हो । तान्त्रिक विधियुक्त जात्राले मल्लकालीन समयमा नेवार जनजीवनमा सबैसँग मिलेर बस्ने, संयुक्त परिवारमा बसी काम गर्ने, ठूलालाई आदर सत्कार, सानालाई मायाप्रेम, सामाजिक मर्यादा, रीतिरिवाज, वेशभूषा, रहनसहन, खानपिन आदिलाई चरितार्थ गरिएको छ ।      तान्त्रिक विधिको माध्यमबाट मानव शरीरमा देवत्व प्रतिष्ठापित गरी बोलेरभन्दा निश्चित भाव सङ्केतद्वारा संवाद प्रस्तुत गरी मनाइने जात्राले मल्लकालीन समयको संयुक्त परिवारलाई इङ्गित गर्ने नाचका रुपमा ङालाकेगु जात्रालाई लिन मिल्ने इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।       “नेवार समुदायमा झल्किने शक्तिशाली पारिवारिक अनुसरणको सङ्केत नाचमा प्रस्तुत गरिएको छ, सबै देवगणलाई देवगृहमा भित्र्याउने, निष्कासित गर्ने दायित्वसँगै नेवार समुदायमा मानिसको जन्मदेखि मृत्युसम्मको संस्कारमा नंकी (घरमूली)ले संस्कार निभाउने भावप्रधानयुक्त नाच हो”, उहाँले भन्नुभयो, “जात्राले मल्लकालीन समयमा नेवार समुदाय र संस्कारमा नंकी प्रधान भन्ने मूल सन्देश जात्रामा देखाएको छ ।”       नगदुर्गा देवगणमा पित्तलको सानो मन्दिरलाई सिफोद्यः (महालक्ष्मी)को प्रतीकका रुपमा लिइन्छ । नाचमा भैरव, महाकाली, बाराही, ब्रह्मयणी, महेश्वरी, कुमारी, भद्रकाली, इन्द्रायणी, गणेश, महादेव, श्वेतभैरव, सिम्हदुम्ह (नन्दीभृंगी) गरी १३ मुकुण्डो प्रयोग गरी नाच प्रदर्शन गरिन्छ ।  त्यसबाहेक खिं बाजा, तः बाजा, कायँःबाजा, महापात्र र नकींगरी १९ जनाको समूह हुन्छ । नाचमा सबै दैत्यहरुको संहार गरी रगत थाप्ने विशेष खालको महापात्र (खप्पर)लाई त्रिपुरासुन्दरीको प्रतीक मानिन्छ ।      नाचमा मुबाहा (सुँगुरबली)को रगतमा चिउरा मिसाएर बनाएको (धौबजी)लाई प्रसादका रुपमा देवगणले ग्रहण गर्छन् । यो विधि भैरव महाकालीले गर्छ । जात्रामा उनीहरुलाई गणका आमाबुबाका रुपमा लिइन्छ । महाकालीले धौबजी वितरण गर्दा महेश्वरीले लिइँदैन । महेश्वरीलाई बर्खी बाँडेकी देवीका रुपमा पुजिन्छ ।      माघे सङ्क्रान्तिको भोलिपल्ट सुजमारीबाट सुरु गर्ने जात्रा नगरका २१ स्थानलगायत काठमाडौँको जयबागेश्वरी, थिमी, बनेपा, पनौती, साँखु, चाँगुनारायण, साँगा, श्रीखण्डपुर, टोखा, नालामा प्रदर्शन गरिन्छ । जात्रा सुरु गर्नु एक दिनअगाडि वापी पाछाकिगु जात्रा भनी सुजमारी टोल परिक्रमा गरेर राति खःप्याखं प्रदर्शन गरी मुःवाहा जात्रा गर्ने परम्परा छ ।      जात्रामा प्रदर्शन गर्ने नाच      भैरवनाथको नाचबाट जात्रा सुरु गरिन्छ । गीतको बोल, बाजाको तालसँगै पारिवारिक रहनसहन, अभिभावकको भूमिका, चेलीबेटीको दुःख, शाकाहारी, मांसाहारी जस्ता विषयवस्तुहरुमा नाच प्रदर्शन गरिन्छ ।  भैरवको बाहुलीबाट पूजा गर्ने, बलि दिने, समयबजीका साथ मुबाहालाई लखेटेर मुबाहा ल्यगु (लखट्ने) नाच सुरु गरिन्छ । नाच सुरु गर्न मुबाहा अगाडि खुल्ला ठाउँमा छोडी, लियो लियो पायो पायो भन्दै लखट्दै समातेर सिफोद्यः अगाडि लगी बलि दिन्छ । त्यसपछि क्रमिक रुपमा महेश्वरीले बाहेक सबै गणले रगत खाएपछि भैरव, काली र गणेशको नाच प्रदर्शन गरिन्छ ।      धान रोपाइँ नाच      ब्रह्मायणी, महेश्वरी, कुमारी र भद्रकालीले धान रोपाइँ नाच देखाइन्छ । सृष्टिकर्ताका रुपमा रहेका बह्मायणीबाट नाचबाट सुरु गरिन्छ । कुमारीले  परिवारमा चेलीबेटीले गरिने व्यवहारको नाच प्रदर्शन गर्छ ।  सरसफाइ गर्ने, शृङ्गारहरु गर्ने, खाना पकाउने र बाँडेर खुवाउने कार्य कुमारीले देखाउँछ । नाचमा अरूलाई बाँडेर खुशी हुने कुमारीलाई भैरवले खाली पात्र दियो भनी चित्त दुःखाइ कुमारी तुलेगु (कुमारी विलाप गर्ने) नाच प्रदर्शन गरिन्छ । नाचमा कुमारीलाई लक्ष्मी र सरस्वतीका रुपमा समेत पूजा गरिन्छ ।       त्यसपछि भद्रकालीले कृषि कार्यको प्रतीकको नाच देखाइन्छ । कुनै प्राणी बाँच्नका लागि खानपान आवश्यक पर्छ भन्ने भाव नाचमा प्रस्तुत गरिन्छ । गणमा महेश्वरीलाई शाकाहारी देवीका रुपमा पुजिन्छ । शान्तिको प्रतीकका स्वरुप यिनलाई गङ्गाजस्तो पवित्र मानी छुट्टै पहिचान भएकी देवीका रुपमा पुजी नाच देखाइन्छ ।       बाराही नाच      बाराहीले घरको महिलाको नाच प्रदर्शन गरिन्छ । बेलविवाह, सूर्यविवाह, बुहारीमा हुनुपर्ने व्यावहारिक ज्ञान, घरपरिवारमा नारीले निभाउनुपर्ने व्यवहार, आदर, सम्मान, शिष्टतालगायत नाच प्रदर्शन गरिन्छ ।        सिम्हदुम्हको ङालाकेगु जात्रा       जात्रामा सिम्हदुम्हलाई भीमसेन र द्रौपदीका रुपमा पुजिन्छ । दुम्हले बालबालिकाहरुका गतिविधिका साथै भीमसेनको भूमिका निभाउँछ भने सिम्हले द्रौपदीको भूमिका निभाउँछ ।  जात्रामा सिम्हदुम्ह दुवैले ङालाकगु गर्ने टोलमा पैसा माग्न जान्छ । पैसा माग्ने कार्य सकेपछि श्रीमान् श्रीमतीबीच हुने दाम्पत्य जीवनमा हुनुपर्ने सदाचारयुक्त सिम्हदुम्हको ङालाकेगु जात्रामा गरिन्छ । जात्रा गर्दा स्थानीय टोलटोलमा तीन पटकसम्म ङालाकेगु गर्छ ।      महाकाली नाच      सिम्हदुम्हको ङालाकेगु जात्रापछि युद्धको भूमिका, नारी र तीन नेत्रको क्रोधयुक्त नाच महाकालीले देखाइन्छ । गणमा महाकालीलाई सबैभन्दा क्रोधी देवीका रुपमा प्रस्तुत गरिन्छ । नाचमा देवीहरुको क्रोधबाट महिषासुरलाई स्वर्ग र पातालबाट खोजेर आफ्नो हतियारबाट वध गरेको प्रदर्शन गरिन्छ । नाचमा आफूले बलि नपाउँदा रिसाइ फर्कने क्रोधी देवीका रुपमा देखाइन्छ ।       श्वेतभैरवको खास्टो लुट्ने फिर्ता गर्ने नाच       यो नाच महिषासुरको वध गरेपछि रगताम्य महाकालीले वस्त्र सफा गरी रहेको बेला श्वेतभैरवले सुन्दर नारीको नग्न शरीर हेर्दै जिस्किरहेको देखाइन्छ । आफूलाई लुकीछिपी हेरेर जिस्काए भन्दै क्रोधित महाकालीले श्वेतभैरवसँग खास्टो लुटेर लिने नाच देखाइन्छ । त्यसपछि खास्टो फर्काउन श्वेतभैरवले महाकालीलाई मायाले फकाए पनि मान्दैन ।       जति मायाले फकाए नि महाकाली नमानेपछि स्वेतभैरवले बाटोमा पैसा मागेर महाकालीलाई चढाएर मनाउन खोज्छ । क्रोधित महाकालीले भाले कुखुरा खाने इच्छा प्रकट गर्छ । श्वेतभैरवले त्यही पैसाले भाले किनेर महाकालीलाई चढाउँछ । महाकालीले खुसी भई मुखबाट भालेको टाउको छुट्याइ बलि लिन्छ र भैरवलाई खास्तो फिर्ता गर्छ । यस कथालाई जीवन्त दिँदै नाच प्रदर्शन गरिन्छ ।       श्वेतभैरवको ङालाकेगु जात्रा      खास्तो फिर्ता गरेपछि सिम्हदुम्ह, बालकुमारी, श्वेतभैरव र महाकालीबीच विशेष पूजा गरी गरिन्छ । त्यसपछि श्वेतभैरवले बोक्ने पुलुको सबै कुनामा माछा राखेर श्वेतभैरवको नाच देखाइन्छ । माछा राख्न सकेपछि पुलुले श्वेतभैरवलाई हावा हम्काई ङालाकेगु जात्रा गरिन्छ । यो जात्रा टोलटोलमा तीन पटकसम्म गरिन्छ ।      श्वेतभैरवको पेट दुख्ने नाच      माछा मार्ने जात्रा सकेपछि श्वेतभैरवलाई पेट दुखेर छटपटिरहेको नाच देखाइन्छ । सिम्हदुम्हलाई भनेर इन्द्रायणीलाई बोलाउन पठाई अक्षता छरेर निको पारिन्छ । यसपछि श्वेतभैरव र इन्द्रायणीको नाच प्रदर्शन गरिन्छ । नाचमा स्वेतभैरवले सिम्हदुम्हको सहयोग लिई लुगा धुन लगाउँदा लुगा फालिदिन्छ । फालिदिएपछि सिम्हदुम्हलाई गाली गरी आफैँले लुगा धुने नाच देखाइन्छ ।      समापन नाच      समापन नाच राति देखाइन्छ । यस नाचमा श्वेतभैरवको नाच देखाइन्छ । लगत्तै सम्पूर्ण देवगणहरुले सामूहिक नाच प्रदर्शन गरिन्छ । त्यसपछि स्थानीयवासीका हर्षोल्लासका साथ बाजागाजा अगाडि राखेर जयजयकारका साथ धूप, अगरबत्ती बाली देवगृह पु¥याई जात्रा सम्पन्न गरिन्छ ।      प्रत्येक वर्ष नवदुर्गाको जन्मसँगै नेवार समुदायमा सुखद क्षण, उत्साह उमङ्ग छाएको हुन्छ । यसको अन्त्यसँगै भक्तपुरमा मात्र नभएर देशकै लागि विभिन्न कठिनाइको सामना गर्नुपर्छ । नेवार समुदायमा वर्षदिनको चाड घण्टाकर्णदेखि सुरु भई सिथी नखाःमा समापन हुन्छ ।  घण्टाकर्णसँगै नवदुर्गा उत्पत्ति भई सिन्हाज्या सुरु गरिन्छ । भगस्थीमा देवगण जलमा समावेश भएपछि देशमा बाढीपहिरोको प्रकोप सुरु हुने, मानिसहरु आलस्य भई विभिन्न रोगबाट ग्रसित हुने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार नारायण वनमालाले जानकारी दिनुभयो ।       नवदुर्गागणको नाचबारे प्रचलित किंवदन्तीअनुसार भक्तपुर नगरको पूर्वमा अवस्थित नालागाउँमा एउटा ब्रह्मायणी जोल भन्ने जङ्गल थियो । सो जङ्गलको खोँचमा एउटा मन्दिर छ ।  उक्त मन्दिरबाट नवदुर्गागण प्रकट भई नाच्ने, जङ्गलको बाटो भई आवतजावत गर्ने जोसुकै मानिसहरुको भोगबलि लिने कारण जनजीवन भयावह अवस्था आयो ।  एकपल्ट नालाकै एक सिद्ध तान्त्रिक आचाजु सोही बाटो हुँदै जाँदा नवदुर्गाले भोगबलि लिन खोज्दा आचाजु चलाख भएर पहिले सबै गणको दर्शनपूजन गर्न पाउँ भनी बिन्तीभाव गर्दा गणले मानेपछि आचाजुले सबै देवगणलाई तान्त्रिक मन्त्रशक्तिबाट तानेर कलाली (नेवार समुदायान पूजा राख्ने विशेष खालको थाली) मा विराजमान गराई नालास्थित आफ्नै घरमा लगेछ ।       आचाजु जीवत भएसम्म नित्य पूजा भयो तर मृत्युपछि पूजा गर्ने कोही नभएपछि देवगणहरु तान्त्रिक मन्त्रशक्तिबाट बाहिर आएर पुनः सोही स्थानमा आएर मानिसको भोगबलि लिन थाले । भोगबलिकै लागि नवदुर्गाले मनुष्यको रुपधारण गरी नालाका मानिसहरुलाई जङ्गलमा लाने र भोगबलि लिन थाले । यस्तो भएपछि नालामा पुरुष नहुने स्थिति आयो ।       एक दिन नालामा नवदुर्गाले भोगबलि लिएका मानिसको कर्मकाण्ड गर्न सोमराज नाम गरेका एकजना ब्राह्मण गएछन् । कारणवश ब्राह्मण आचाजुको घरमा पुगेछन् । घरको अवस्था देखेर उहाँले आचाजुको घरमा खोजीनिति गर्दा एउटा कोठामा कलाली भेटाएछ । ब्राह्मणले तान्त्रिक मन्त्रद्वारा सबै देवगणलाई आह्वान गरी पुनः त्यही कलालीमा राखेर आफ्नो बासस्थान सोमला गल्लीमा लगेछ । कसैले नदेख्ने गोप्य ठाउँमा राखी नियमित नित्यकर्म पूजापाठ गर्न थाले ।       एक दिन ब्राह्मण स्नान गर्न गएका बेला उहाँको श्रीमतीले देवगण भएको कोठामा ढोका खोली हेर्दा देवगणले चाल पाएर कोप भई त्यहाँबाट पूर्वदिशातर्फ लागे ।  त्यहाँबाट कोप भई गएपछि इनाचोस्थित स्वंग ल्हमा पुग्दा देवगणहरुले सुँगुरको भोगबलि लिई रहेको ब्राह्मणले थाहा पाए । त्यो देखेर ब्राह्मणले देवगणलाई पुनः फर्कन आग्रह गर्छन् ।  मन्त्रले काम नगरेपछि नवदुर्गालाई देशवासीको अगाडि ल्याउनुपर्छ भनी सबै गण समावेश भएको गणखा (वनमाला समुदाय)लाई नृत्य सिकाई मुकुण्डो खर्पनमा राखी पठाएको किंवदन्ती रहेको छ । किंवदन्तीअनुसार देवगण सिद्ध हुनलाई मोहनी (कालो टीका) धारण गरेपछि देव प्रतिनिधि हुन पाउनेछन् । यसकारण नवदुर्गाको मुबाहाका रुपमा सुँगुरलाई लिएको मानिन्छ ।       आठ महिना सञ्चालन हुने यो जात्रा नगरको तुलाछेस्थित त्रिपुरासुन्दरी, तुछिमला, इच्छुबाहेक बाहिर जिल्लाका पनौती र बनेपा गरी पाँच ठाउँमा बाँकी रहेको छ ।  खाली पेटमा जाँड र रक्सीको भरमा नाङ्गो खुट्टाले नाच्नुपर्ने कठोर नाचको नियम पालना गर्दै जात्रालाई जीवन्त राख्दै आएका वनमाला समुदायको संरक्षण र संवद्र्धनका लागि गुठी संस्थान, भक्तपुर नगरपालिकालगायत राज्यले विशेष बन्दोबस्त गरिदिनुपर्ने जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका पूर्वसचिव रत्नमान वनमालाले बताउनुभयो ।

पोखरा​: पोखरा महानगरपालिकाले कृषकलाई चैते धानको बीउ अनुदानमा उपलब्ध गराएको छ ।      महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको महानगरपालिकाका कृषि महाशाखा प्रम्ुख मनहर कडरियाले जानकारी दिनुभयो ।       चैते धानखेतीतर्फ कृषकहरूको आकर्षण बढाउने उद्देश्यका साथ विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिँदै आइएको बताउँदै उहाँले यस वर्ष पनि प्रतिरोपनी रु ५०० का दरले प्रोत्साहन रकम उपलब्ध गराइने जानकारी दिनुभयो ।      महानगरपालिकाअन्तर्गत वडा नं २६, २७, १४, १५ लगायतका वडामा कृषकले चैते धानखेती गर्दै आएका छन् ।