पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको पूजा, आराधना एवं दर्शन गर्नुभएको छ ।  चैत्र शुक्ल अष्टमीका अवसरमा शनिबार बेलुकी सेतो मच्छेन्द्रनाथको रथ तानेर असन पुगेपछि मध्यराति राष्ट्राध्यक्षले पूजा, आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ ।  सोही परम्पराअनुसार राष्ट्रपति पौडेलले गएराति असन पुगेर सेतो मच्छेन्द्रनाथको पूजा, आराधना एवं दर्शन गर्नुभएको हो ।  शनिबारदेखि सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा मच्छिन्द्रबहालबाट तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याइएको थियो । 

काठमाडौं: चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा  श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।  भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गर्नुभएको थियो ।  धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम रामनवमी पर्व मनाउनुको महत्व रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गर्नुभएको बताउनुहुन्छ । “जसलाई अहिले पनि रामराज्य भनिन्छ, रामको राज्यबाट जसरी सारा मानिस खुसी थिए, अहिलेका शासकले त्यस्तै बन्न सक्नुपर्छ, त्यसबेला जनता पनि अनुशासित, मर्यादित र नियन्त्रित थिए, यसैले रामलाई मर्यादा पुरुषोत्तम भनिन्छ, हामीले यसलाई अनुसरण गर्नसके मात्र यो पर्व मनाउनुको अर्थ हुन्छ”, उहाँले भन्नुभयो । रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ । यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजा, पाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ ।  परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दसैँ मानिने गरेकामा धेरै गर्मीका कारण असोजमा मनाउन थालिएको भनाइ छ । चैत र असोजको नवरात्रलाई जाग्रत दसैँका रूपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दसैँ भनिन्छ ।  यसैगरी व्रतार्क नामक ग्रन्थको अगस्त्य संहितामा चैत्र शुक्ल नवमीमा व्रत उपवास बसी श्रद्धा भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भई वैकुण्ठ बास प्राप्त हुने उल्लेख छ ।  असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।  अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गर्नुभएको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

गलकोट:   बागलुङको दोस्रो व्यापारिक केन्द्र हो बुर्तिबाङ बजार ।  व्यापारिक सटर खाली हुँदै बजार क्षेत्रको व्यवसाय धरासायी बन्दै गइरहेको सन्दर्भमा यहाँको बुर्तिबाङ बजार भने पर्यटकीय र व्यापारिक दुवै हिसाब चलायमान देखिएको छ । यहाँको पर्यटन व्यवसाय पछिल्लो समय फस्टाउँदो छ ।  नयाँ सहरका रूपमा विकसित भइरहेको बुर्तिबाङ बजार देशकै १० नमूना सहर बनाउनेगरी सरकारले सूचीकृत गरेको बजार हो । यहाँको व्यापारसमेत फस्टाउँदो छ । ढोपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाको प्रमुख सहरका रूपमा रहेको छ । चार पालिकाको स्वास्थ्योपचार, किनमेल तथा प्रशासनिक काम पनि बुर्तिबाङ बजारबाटै हुने गरेको छ । इलाका प्रशासन कार्यालय, नापी र मालपोतजस्ता कार्यालय यही बजारमा छन् ।  नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन पुग्ने पर्यटकका कारण बुर्तिबाङ बजार ‘गुल्जार’ भइरहेको स्थानीय बताउँछन् । पछिल्लो समय आन्तरिक पर्यटकका कारण यहाँ होटल व्यवसाय पनि राम्रो चलेका छन् ।  ढोरपाटन सिकार आरक्ष, ढोरबराही जाने आन्तरिक तथा बाह्य पर्यटक बास बस्नका लागि यहीँ आउने गरेका छन्भने मध्यपहाडी पुष्पलाल लोकमार्गले जोडिएपछि रुकुमतर्फबाट पनि पर्यटक आउने गरेका छन् । बागलुङबाट रुकुमतर्फ जाने पर्यटक तथा यात्री यहाँ आउने गरेको बुर्तिबाङका होटल व्यवसायी जीतबहादुर भट्टचनले जानकारी दिनुभयो । उहाँले आन्तरिक पर्यटकको चापका कारण पछिल्लो समय होटल व्यवसायमा लगानी थपिएको बताउनुभयो ।  “निसीखोला, तमानखोला, बडिगाड र ढोरपाटनका पर्यटकीयस्थल घुम्न आएका पाहुना खानबस्न यही आइपुग्छन्, नेपालकै एकमात्र सिकार आरक्ष क्षेत्र पुग्ने पर्यटकका कारण बुर्तिबाङ बजारको सम्भावना निकै रहेको छ, यहाँ सुविधासम्पन्न ठूला होटल थपिने क्रम जारी छ, पर्यटकीय याममा यहाँको होटल भरिएका हुन्छन्”, भट्टचनले भन्नुभयो, “बुर्तिबाङ बजार जनघनत्व भएको पालिकाको केन्द्रमा पर्दै आएको छभने नयाँ सहरोन्मुख रहेकाले अन्य बजारभन्दा यहाँको बजार चलायमान छ ।” यहाँका स्थानीयको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै प्रदेशस्तरीय ५० शय्याको अस्पताल पनि स्थापना गरिएको छभने सामुदायिक क्याम्पसलगायतको सुविधासमेत छ ।  मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि बुर्तिबाङ बजार चलायमान भएको बताउँदै ढोरपाटन नगरपालिका–६ का स्थानीय हीराबहादुर भण्डारीले बुर्तिवाङ–ढोरपाटन सडक कालोपत्र भए अझै सहज हुने बताउनुभयो । एक हजार २०० घर रहेको बुर्तिबाङमा किनमेल गर्न आउनेको भीड देखिन्छ । बुटवलसँगै राजमार्गले जोडिएको यस बजार पछिल्लो समय पर्यटकका कारण चलायमान भएको स्थानीय बताउँछन् ।  ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र छन्त्यालले मध्यपहाडी लोकमार्ग र ढोरपाटन सिकार आरक्षका कारण बुर्तिबाङ बजार गुल्जार बनेको बताउनुभयो ।  उहाँले लोकमार्ग कालोपत्र भएर रुकुमसँग जोडिएपछि रुकुमपूर्वबाट यातयातका साधन तथा मालबाहक सवारीसाधन बुर्तिबाङ हुँदै चल्ने जानकारी दिनुभयो । ढोरपाटन घुम्न आउने पर्यटकसँगै पछिल्लो समय काठमाडौँबाट रारा जाने पर्यटक पनि यही मार्ग प्रयोग गर्न थालेको छन्त्यालको भनाइ छ । “लोकमार्गले रुकुमका सवारीसाधन यही मार्ग भएर काठमाडौँलगायत अन्य ठूला सहरमा पुग्छन्, राराताल घुम्न जाने पर्यटक छोटो मार्गका रूपमा यही लोकमार्ग हुँदै बुर्तिबाङ बसेर जाने गरेका छन्”, छन्त्यालले भन्नुभयो, “अन्य सहरको तुलनामा बुर्तिबाङ बजार चलायमान देखिन्छ, पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा सुविधासम्पन्न होटल नहुनु र बुर्तिवाङबाट ८५ किलोमिटर टाढा रुकुमपूर्व पर्ने भएकाले अधिकांश पर्यटकले एक रात यही बिताउने गरेका छन्, यहाँको नयाँ सहर निकै सम्भावना बोकेको सहरका रूपमा विकसित भइरहेको छ ।”  राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको ढोरपाटन सालझण्डी सडक कालोपत्र भएमा यहाँको पर्यटन व्यवसाय झनै फस्टाउने अपेक्षा गरिएको छ ।

नवलपरासी:   नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको बैठकले उक्त निर्णय गरेको हो । दाउन्ने क्षेत्रमा यही चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म तथा २०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गर्ने निर्णय गरिएको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । “दाउन्ने खण्डमा आवश्यक मर्मतसम्भार गरी यातायातलाई सहज ढङ्गले सञ्चालन गर्न र सो खण्डमा भित्तातर्फ कटिङ गर्न बाँकी रहेको कामलाई वर्षाअगावै सम्पन्न गर्न दैनिक केही घण्टा आवागमन बन्द गरेर काम गर्ने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो ।  नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, बर्दघाट नगरपालिका प्रमुख, विनयी त्रिवेणी गाउँपालिका प्रमुख, दुवै योजनाका योजना प्रमुख, योजनाको परामर्शदाता, निर्माण व्यवसायी एवं सुरक्षा निकायका प्रमुखसमेतको संयुक्त बैठकले दाउन्ने सडक दैनिक केही घण्टा बन्द गरेर भए पनि निर्माणमा तीव्रता दिने निर्णय गरेको हो ।  नारायणगढ–बुटवल सडकखण्डको अन्य क्षेत्रमा धमाधम कालोपत्र गरिए पनि दाउन्ने क्षेत्रमा भने उबड–खाबड सडक, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले यात्रालाई कष्टकर बनाएको छ । सडक विस्तारका क्रममा भत्काइएका संरचना समयमै पुनर्निर्माण नहुँदा यात्रु दिनहुँ कष्ट भोग्न बाध्य छन् ।  अहिले दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताउनुभयो ।  नारायणगढ–बुटवल सडकको ११४ किलोमिटरअन्तर्गत गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र जोखिम बढिरहेको क्षेत्र मानिने दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम भइरहेको छ ।  रु १७ अर्बको लागतमा सडक निर्माणको काम भइरहेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक २०८२ साउनसम्मका लागि म्याद थप गरिएको छ ।

मुस्ताङ:  उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पाँचवटै वडामा कच्ची सडक विस्तार भइसकेको छ । पालिकाको एउटा वडामा पुल नहुँदा वर्षौँदेखि स्थानीय र पर्यटकलाई समस्या भएको छ । मुख्यराजमार्ग सडकले जोडिएको लोघेकर दामोदरकुण्ड–१ चराङबाट कालीगण्डकी पारिको लोघेकर दामोदरकुण्ड–५ ध्ये र ताङ्ग्या गाउँ जोड्ने कालीगण्डकी नदीको मिश्रण ‘ध्ये’ खोलामा पुल नहुँदा त्यस क्षेत्रका नागरिक र पर्यटकलाई बर्खायाममा आवतजावत गर्न सास्ती खेप्नुपरेको छ ।  मुस्ताङको चराङबाट ‘ध्ये’ खोला कटेर ध्ये र ताङ्ग्या गाउँ हुँदै मनाङको नाफु जोड्ने पर्यटकीय पदमार्ग पर्छ । उपल्लो मुस्ताङबाट ध्ये र त्याङ्ग्या हुँदै मनाङ जाने छोटो दूरीको पर्यटकीय पदमार्ग पर्ने भएकाले त्यहाँ पुलको आवश्यकता महसुस गरिएको थियो । उत्तरी कोरलापास र दामोेदरकुण्डसहित अन्य शाखा नदीको समिश्रण ‘ध्ये’ खोलामा पुल आवश्यकता धेरै अघिदेखि गरिए पनि हालसम्म त्यहाँ पुल बन्न सकेको छैन ।  गाउँपालिका केन्द्र चराङ र कोरला सडकसँग ध्येगाउँ र ताङ्ग्या गाउँ जोड्ने कालीगण्डकी ‘ध्ये’ खोलामा पुल नहुँदा समस्या भएको लोघेकर दामोदरकुण्ड–५ का वडाध्यक्ष पासाङ गुरुङले जानकारी दिनुभयो । ‘ध्ये’ खोलामा पुल नहुँदा ध्ये र ताङ्ग्या गाउँका नागरिकलाई पालिका केन्द्र र सदरमुकाम जोमसोम आवतजावत गर्न समस्या हुने गरेको छ । “बर्खायाममा त कालीगण्डकी ध्येखोलाको बाहव उच्च हुन्छ, खोला तरेर वारिपारि गर्न सकिँदैन”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “बर्खायामको तीन–चार महिना त हाम्रो गाउँमा पूरै नाकाबन्दी लगाएजस्तै हुन्छ, पुल नहुँदा यताउता जान पनि मिल्दैन ।” भौगालिक रुपले विकट ध्ये र ताङ्ग्या गाउँमा उत्पादन हुने कृषि उपज र पशुपालनको बजारीकरण गर्नमा समेत पुल नहुँदा समस्या पर्ने गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो । “बर्खायाममा खोला ठूलो भएर तर्न सकिँदैन”, उहाँले भन्नुभयो, “हिउँदयाममा खोला घटेपछि भने तरेर आवतजावत गर्ने गरेका छाँै ।” मुख्य राजमार्ग सडकअन्तर्गत पालिकाको केन्द्र चराङबाट एक घण्टा ओरालो झरेर ध्येखोला तरेर केही मिनेट उकालो लागेपछि ध्ये र ताङ्ग्या गाउँमा पुग्न सकिन्छ । यद्यपि यी दुई गाउँमा कच्ची सडकको पहुँच जोडिए पनि ध्येखोलामा पुल नहुँदा समस्या परेको हो ।  त्यस क्षेत्रका नागरिकले बर्खायाममा खाद्यान्न तथा दैनिक उपभोग्य सामान हिउँदयाममा खोलाको सतह घटेपछि मात्रै ढुवानी गरेर मौज्दात राख्ने गरेको वडाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो । सङ्घीयतापछि लोघेकर दामोदरकुण्ड–१ र ५ जोड्ने गरी यहाँ पुल बनाउन गाउँपालिकाले पहलकदमी गर्दै आएको थियो । झन्डै ५०० मिटर दूरीमा फैलिएको ध्येखोलामा पुल निर्माणका लागि वैज्ञानिक अध्ययन र सर्भेसमेत भएको थियो ।  दुईवटा सरकारी निकायले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरे पनि सरकारले त्यहाँ पुलका लागि बजेट विनियोजन नगर्दा समस्या भएको हो । कृषि र पशुपालन व्यवसायमा आश्रित त्यहाँका नागरिक सरकारले पुल बनाइदेला भन्ने आशमा छन् ।  ध्ये र ताङ्ग्य गाउँ जोड्ने पुल निर्माणका लागि यसअघि पूर्वाधार विकास निर्देशानालयले डिपिआर तयार गरेको थियो । ध्येखोलामा पुल निर्माणका लागि स्थानीय पूर्वाधार विभाग (डोली)ले पनि सर्भे गरेको थियो ।  लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले ध्येखोलामा पुल निर्माण गर्न पटकपटक प्रयास गरिए पनि बन्न नसकेको बताउनुभयो । आवश्यक बजेट अभावले पुल बन्न नसकेको उहाँको भनाइ छ ।

गण्डकी: कास्कीको रुपा गाउँपालिका–६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा छन् । गत फागुन १४ गते शिवरात्रिको दिनदेखि निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा परेका हुन् ।      “रूखको ठुटोबाट निरन्तर पानीका धारा छुटेका छन्, पछिल्लो समयमा ठाउँठाउँबाट यो दृश्य हेर्न आउनेको घुइँचो लाग्ने गरेको छ । यो कुरा सुन्दा अनौठो लागे पनि तालबेँसीमा यसले चर्चा पाइरहेको छ”, स्थानीय विश्क गुरुङले भन्नुभयो । तलको पानी माथि तिर बग्दैन भन्ने परम्परागत उक्ति र सत्यतालाई पनि यो दृश्यले चुनौती दिएको उहाँको भनाइ छ ।      रुपातालको बाँध निर्माण गरी तालको क्षेत्रफललाई विस्तार गर्ने क्रममा माटो निकाल्ने क्रममा अचानक डोजरको वकेट अड्किएको बताउँदै अर्को डोजर प्रयोग गर्दा पनि उक्त वस्तु ननिस्किएर वकेटको दाँत भाँचिएको गुरुङले जानकारी दिनुभयो ।  उहाँका अनुसार दुईवटा डोजरको सहायताले पनि जमिनमुनी लुकेको वस्तु निकाल्न नसकेपछि आसपासको माटो निकाल्दै जाँदा रूखको ठुटो भेटिएको थियो ।       उक्त ठुटोबाट पानीका धारा झरिरहेको दृश्यले सबैलाई अचम्म पारेको गुरुङको भनाइ छ । सो स्थानमा अन्य रूखका ठुटोसमेत रहेकाले भुकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपद्का कारण यहाँका वन, जङ्गल पुरिएको हुनसक्ने उहाँले अनुमान गर्नुभयो ।       “उभिएको रूखको ठुटोको माथिल्लो भागको उत्तर र दक्षिणतर्फबाट पानीका धारा छुटेको दृश्य सामाजिक सञ्जालमा देखिन थालेपछि धार्मिक विश्वासका कारण दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ”, धार्मिक क्षेत्र संरक्षण समितिका अध्यक्षसमेत रहनुभएका गुरुङले भन्नुभयो, “अहिले नेपालका अधिकांश जिल्लाका मानिसका साथै विदेशी पर्यटकसमेत अनौठो दृश्यावलोकन र धाराको पानीले स्नान गर्न आउने गरेका छन् ।”      सो स्थानमा यही चैत १९ गतेका दिन रुद्री पूजासहित विभिन्न क्षेत्रका धामी झाँक्री राखिएको बताउँदै माता काम्दा उहाँहरूले शिव भगवान्, नागदेवता र जलदेवीको बासस्थान बताउने गरेको उहाँले जानकारी दिनुभयो । दर्शक गर्न आउनेको घुइँचो बढ्न थालेपछि ठुटोको माथिल्लो धारामा पानी केही कम हुँदै गएको उहाँका भनाइ छ ।      यहाँ विभिन्न क्षेत्रका १५ जना भूगर्भविद् र संस्कृतिविज्ञ आएर स्थलगत अध्ययन गर्दा ठुटोबाट पानी आउनुको कारण रूखको प्रजाति र कति वर्ष पुरानो भन्ने तथ्यमा स्पष्ट हुने बताउनुभएको गुरुङले उल्लेख गर्नुभयो ।       स्थानीय ७६ वर्षीया सुनमाया परियारका अनुसार यस स्थानमा पहिला पानीको मूल थियो । “आसपासका बासिन्दा तथा गाईवस्तु चराउन आउँदा यहाँ पानी खाने गर्दथे । खेतको गरामा तलबाट भूलभूल गरेर पानी निस्कने गरेकाले कुवालाई गाउँरी मूल भन्ने गरिन्थ्यो”, उहाँले थप्नुभयो, “बाह्रै महिना पानी आउने सो कुवाको वरपर प्रशस्त नाग देखिने गर्दथ्ये । ती नागले कसैलाई पनि टोकेको जानकारी छैन ।”      ठुटोबाट निस्किएका पानीका धारामा प्रत्येक दश मिनेटको अन्तरालमा पानीको बहाव घट्ने र बढ्ने गरेको बताउँदै यसले ढोरवाराही लहरीको जस्तै झल्को दिने गरेको संरक्षण समितिका सचिव महेश थापाले राससलाई जानकारी दिनुभयो ।       आफूले ठुटोको माथिल्लो भागमा टेकेर झण्डा राख्दा दाहिने खुट्टा दुखेर रातभरि सुत्न नसकेको बताउँदै उहाँले भोलिपल्ट बिहान उक्त स्थानमा पुगेर क्षमा पूजा गरेपछि आराम भएकाले यस क्षेत्रमा दैविकशक्ति रहेको विश्वास गरिएको उहाँले अनुभव सुनाउनुभयो ।      थापाका अनुसार गत फागुन १४ गते शिवरात्रिका दिनेदेखि आजको दिनसम्म दर्शक आउने क्रम जारी छ । पछिल्लो समय दैनिक सात सयदेखि एक हजारसम्मले पानीको धाराको दर्शन गर्ने र ठुटोबाट निस्केको पानीले स्नान गर्ने गरेका उहाँले जानकारी दिनुभयो । “यहाँ आउने दर्शकमध्ये आजसम्म एक सयभन्दा बढीले आफूलाई देवदेवी चढेको भन्दै वर्षौँदेखि खोजेको स्थान पत्ता लागेको बताउने गरेका छन्”, उहाँले भन्नुभयो ।       यस क्षेत्रको संरक्षणका लागि रुपा गाउँपािलका र पोखरा–३१ ले चासो देखाएर उक्त ठुटोलाई तारवारले घेरिएको छ । दर्शनार्थीलाई जुत्ताचप्पल बाहिर राखेर भित्र प्रवेश गर्ने व्यवस्था मिलाइएको सचिव थापाले बताउनुभयो । उहाँका अनुसार यहाँ दानपेटीका राखिएको छभने दर्शकले चढाएको दानबाट हालसम्म रु ८५ हजार सङ्कलन भएको छ ।        यस क्षेत्रको स्थलगत अध्ययन गरेका भूगर्भविद् र संस्कृतविज्ञको भनाइअनुसार उक्त रूख लगभग दुई सय वर्ष पुरानो जामुनको भएको अनुमान गरिएको छ । ठुटोबाट आएको धाराको पानी सिधैँ पिउन सकिने प्रयोगशालाको रिपोर्टले देखाएको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले राससलाई जानकारी दिनुभयो ।      आगामी वैशाखसम्म पानीको अवस्था हेरेर यसलाई ऐतिहासिक एवं धार्मिक क्षेत्रका रूपमा विकास गरिने बताउँदै उहाँले चिसापानी देवी, कोटकालीका, वेगनासकोट, हङ्सपुरकोट, हात्तिमैतालगायत धार्मिक क्षेत्रको सङ्गममा रहेको यो क्षेत्रलाई पूर्णमोक्ष जलदेवीको रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।      अध्यक्ष ओझाले गुरुयोजना बनाएर ऐतिहासिक, प्राचीन एवं धार्मिक क्षेत्रका रूपमा विकास गरेमा पर्यटकीय राजधानी पोखराको पर्यटन प्रवर्द्धनमा समेत यसले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।  “तालमा पानीको सतह बढ्दा पनि रूखको ठुटो र यहाँबाट आउने पानीलाई सुरक्षित राख्नेगरी व्यवस्था मिलाउनु अपरिहार्य छ । यस्तै धार्मिक क्षेत्र भारतको हरिद्धारमा समेत देख्न सकिने भएको यसको विस्तृत अध्ययन गरी संरक्षण र प्रवर्द्धन गर्ने योजनामा छौँ”, उहाँले भननुभयो ।      रूखको ठुटोेमा भूमिगत पानीको मूल जोडिएको हुनसक्ने भएपनि ठुटोेको टुप्पाबाट पानीको धारा आउनु अनौठो भएको भूगोलविद् प्राडा कृष्ण केसीले धारणा राख्नुभयो । “यसको वास्तविकता पत्ता लगाउन थप स्थलगत अध्ययन तथा अनुसन्धान आवश्यक छ”, उहाँले भन्नुभयो ।

अछाम: घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका५ नवाठाना निवासी ४२ वर्षीय डम्मर कुँवरको मृत्यु भएको हो ।      चैतेदसैँको अवसरमा गाँउमा काटेको खसीको मासु पकाएर खाने क्रममा कुँवरको घाँटीमा अड्किँदा बेहोस भएका उहाँको उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा पुर्‍याइएको थियो ।  उपचारका क्रममा आज दिउँसो कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारीले जानकारी दिनुभयो ।      उक्त घटनाका बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली उक्त स्थानतर्फ गएको उहाँले बताउनुभयो ।

पोखरा:  पोखरामा आजबाट केपि ओलि कप टि–२० राष्ट्रिय खुल्ला पुरुष क्रीकेट प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा पहिलो दिन दुई खेल सम्पन्न भएका छन ।  प्रतियोगिताको पहिलो खेलमा स्याङ्जा र दोस्रो खेलमा काठमाडौं विजयी भएका छन् । पहिलो खेलमा स्याङ्जा क्रिकेट क्लबले पोखरा महानगर क्रिकेट क्लबलाई २३ रनले हराएको छ ।  १६२ रनको विजयी दिएको पोखरा महानगरपालिकालाई १३८ रनमा रोक्दै स्याङ्जाले विजयी सुरुवात गरेको हो । पोखराले २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रनमात्रै जोड्न सक्यो ।  ओपनर आशिष न्यौपाने ५ रनमै आउट भएको पोखराका लागि सुमित श्रेष्ठले ५३ रनको योगदान दिएपनि जितका लागि पर्याप्त रहेन । उनले ४७ बलमा ८ चौका प्रहार गरे । प्रमोद बास्तोला २७ रनमा आउट भए । उनले २० बलमा २ चौका र २ छक्का प्रहार गरे ।  अभिनव शाह ३, धिरज अधिकारी ९, विष्णु प्रसाद शर्मा २८, हरि शंकर १, अन्जन केसी ४ रनमा आउट भए । स्याङजाका लागि लक्ष्मण डुम्रेले ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै तुल्सिराम न्यौपानेले २ तथा मिलन लुटेल र किरण भट्टराईले १÷१ विकेट लिए ।  त्यस अघि टस जितेर ब्याटिङ रोजेको स्याङ्जाले २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । स्याङजा कालागि अस्विन रानाले अविजित रहँदै सर्वाधिक ४६ जोडे । उनले ३० बलमा ५ चौका र २ छक्का प्रहार गरे ।  किरण भट्टराई २३ रनमा अविजित रहे । उनले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ओपनर करण पगेनी २० रनमा आउट भए । उनले १७ बलमा १ चौका र १ छक्का प्रहार गरे । इशवर क्षेत्रीले १६ बलमा २ चौका र २ छक्काको मद्धतमा २४ रन बनाउँदै आउट भए ।  विशाल कोइराला शुन्य, सुजन गौतम १४, मिलन क्षेत्री ६, सन्दिम खत्री क्षेत्री २३ रनमा आउट भए । पोखराका लागि समिर भुजेल र अन्जन केसीले समान २÷२ विकेट लिए भने सुवाष वास्तोला र मार्सल बरालले १÷१ विकेट लिए ।   दोस्रो खेलमा काठमाडौंले हेटौडालाई ११ रनले हरायो । १५२ रनको विजयी लक्ष्य पाएको हेटौडा १८.५ ओभरमा १४० रनमै अलआउट भयो । हेटौडाका लागि सुभ कंशाकरले ५४ रनको अर्धशतकीय इनिङ खेलेपनि जितका लागि पर्याप्त भएन । उनले २४ बलमा ९ चौका र २ छक्का प्रहार गरे । ओपनर गौरभ खड्का ८ रनमै आउट भए ।  सुमन सुनार ३८ रनमा आउट भए । उनले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । युविन बुढाथोकी १२, अकिलेश ठाकुर १, सक्षम वस्ताकोटी १३, रामनरेश गिरि ४, विशाल फुयाल १, अशिम श्रेष्ठ शुन्य र समिर चौलागाईँ १ रनमा आउट भए । काठमाडौका लागि सुर्य तामाङ र युशिन विक्रम सिंह ठकुरीले समान ३÷३ विकेट लिए भने मनोज यादवले २ विकेट लिए ।  टस जितेर ब्याटिङ थालेको सिइसी काठमाडौंले २० ओभरमा ३ विकेट गुमाउँदै १५१ रन बनायो । काठमाडौंका लागि पृथु बास्कोटाले अविजित ५७ रनको अर्धशतकीय पारी खेले । उनले ३३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।  यस्तै शिवम तिवारी १८ रनमा नटआउट रहे । उनले ८ बलमा २ चौका र १ छकका प्रहार गरे । ओपनर सुशान्त सिंह थापा १५ रनमा आउट भए । रित गौतम २९ रनमा र सचिन लेखक २२ रनमा आउट भए । हेटौडाका लागि समिर चौलागाईँ, सांसद अलि मन्सुरी र रामनरेश गिरिले समान १÷१ विकेट लिए ।   

पोखरा: पोखरा कलेज अफ म्यानेजमेन्टले ‘शिक्षण र सिकाइ: चुनौती र रणनीति’ विषयमा एक दिवसीय कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ ।  पोखरा इभेन्ट सेन्टरमा आयोजित उक्त कार्यशालामा कूल ४० जना शिक्षक तथा कर्मचारीहरूले सहभागिता जनाएका थिए ।  कार्यशालाको उद्घाटन गर्दै कलेजकी प्रिन्सिपल लीना नेगी श्रेष्ठले यस्तो कार्यक्रमले शिक्षकहरूलाई सशक्त बनाउने र विद्यार्थी केन्द्रित शिक्षण विधिबाट गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिन् । कार्यशालामा प्रशिक्षक दीपेन्द्र पहारीले सहजीकरण गरे । उनले विविध सिकाइ शैली र विद्यार्थी संलग्नता, प्रविधि समायोजन र डिजिटल उपकरणहरूको प्रयोग, मूल्याङ्कनका कठिनाइहरू तथा शिक्षकको कार्यभार र पेशागत विकास जस्ता समसामयिक शैक्षिक चुनौतीहरूमाथि प्रस्तुती दिएका थिए ।  कार्यक्रमको अन्त्यमा बीसीएसआईटी संयोजक हरि बरालले समापन मन्तव्य व्यक्त गर्दै यस्ता कार्यशालाले शिक्षण विधिमा नवीन सोच र अभ्यासको विकास हुने उल्लेख गर्नुभयो। कार्यक्रमको सञ्चालन बीबीएका संयोजक सरोज कुँवरले गरेका थिए ।  पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त पोखरा कलेज अफ म्यानेजमेन्ट सन् २००२ मा स्थापना भएको हो । कलेजले ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन इन फाइनान्स तथा ब्याचलर इन कम्प्युटर सिस्टम एन्ड इन्फरमेसन टेक्नोलोजी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।