पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

मकवानपुर: करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ ।       उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः सुरु भएको जनाइएको छ । चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले बताउनुभयो ।      उद्योगलाई आवश्यक पर्ने एक हजार ९०० मेट्रिक टन कोइला अहिले जगेडामा राखिएको छ । दोस्रो चरणमा गरी करिब चार हजार मेट्रिक टन कोइला बोलपत्र प्रक्रियामार्फत ल्याउने तयारी भइरहेको कर्णले जानकारी दिनुभयो ।       विसं २०३३  मा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले विसं २०४३ मङ्सिर २६ गते उद्घाटन गरिएको थियो । तत्कालीन समयमा हेटौँडा उद्योगमा रु एक अर्ब ५० करोड लगानी गरिएको थियो ।  हाल उद्योगमा प्रशासन, व्यापार महाशाखा, लेखा,  भण्डारण, प्राविधिक र मजदुर कर्मचारी गरी १९५ जनाले स्थायी रोजगारीको अवसर प्राप्त गरिरहेका छन् । उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादनको क्षमता भए पनि हाल १२ हजार बोरा मात्र उत्पादन भइरहेको जनाएको छ । 

मुस्ताङ:  राष्ट्रिय गौरवको बेनी–जोमसोम कोरला सडक सहजहुँदै जान थालेपछि पोखरा—जोमसोम हवाई उडानको सङ्ख्या दुई तिहाइले घटेको छ ।  पर्यटकीय यामका बेला निकै चहलपहल हुने जोमसोम नागरिक उड्यन कार्यालयको जोमसोम विमानस्थलमा हवाई यात्रुको चहलपहल पहिलेको जस्तो देखिँदैन ।  हिमाली जिल्ला मुस्ताङमा बिहानको समयम मात्रै साना टुईनेटर जहाजहरुले पोखरा—जोमसोम हवाई सेवाको उडान भर्ने गर्दथे । तर बिहानको समयमा जोमसोम विमानस्थल पुग्ने हो भने सीमित हवाई यात्रु बाहेक अन्य कोही हुँदैनन् ।       राष्ट्रिय राजमार्ग सुरु हुनुअघि पोखरा–जोमसाम हवाई यात्रा गर्दै दैनिक तीन सय बढी पर्यटक मुस्ताङ आउने गरेका थिए  । अहिले त्यो सङ्ख्या घटेर आधा पनि पुग्दैन । यसको कारण हो स्तरोन्नति हुँदै गरेको कोरला सडक । म्याग्दीको बेनीदेखि मुस्ताङको मुक्तिनाथसम्म दुई तिहाईभन्दा बढी कच्ची सडक कालोपत्र भइसकेको छ ।  सडक कालोपत्र भएकै कारण हवाई यात्रुको सङ्ख्या विगतका वर्षभन्दा यसपाली हवाई उडान घट्न पुगेको जोमसोम नागरिक उड्यान कार्यालयका प्रमुख केशव लम्सालले जानकारी दिनुभयो ।  “कोरला सडक स्तरोन्नति हुनु अगावै यहाँ १८ वटासम्म हवाई उडान हुने गरेको हाम्रो रेकर्डमा छ ”, उहाँले भन्नुभयो,“अहिले हवाई यात्रा गर्ने कतिपय पर्यटक सडकमार्ग हुँदै मुस्ताङ आउँजाउ गर्छन् ।” हिउँदयामको समाप्ति र वसन्त ऋतुको आगमनसँगै यो समय मुस्ताङ घुम्ने उपयुक्त अनुकूल समय हो । यद्यपि योसमयमा पोखराबाट हवाईमार्ग हुँदै मुस्ताङ आउने पर्यटक सडकमार्गबाट आउँने गर्दा उडान घटेको तारा एअरलाईन्सका जोमसोम व्यवस्थापक सुजन लालचनले उल्लेख गर्नुभयो ।  “पहिला हामीलाई यात्रुवर्गलाई टिकट उपलब्ध गराउनै हम्मेहम्मे पर्ने गथ्र्यो, पोखरा जोमसोम टु वे कै टिकट काटेर आउने हवाई यात्रुले गर्दा नेपाली पर्यटकसहित स्थानीय र कर्मचारीलाई हवाई टिकट छैन भन्नुपथ्र्यो”, उहाँले  भन्नुभयो,“ अहिले पोखराबाट आतेजातेको टिकट लिएर नआएमा यहाँबाट जहाज नै खाली पठाउनु अवस्था भइरहेको छ, पछिल्लो वर्षमा झनै यस्तो समस्य थपिएर उडान क्रमशः घट्ने अवस्था देखिएको छ ।”       पोखराबाट भारतीय पर्यटकले मुक्तिनाथको दर्शन गरी भोलिपल्टै फर्किने गरी दुईतर्फी हवाई टिकट लिने गरेको भए पनि अन्य मुलुकका पर्यटकले भने एकतर्फी टिकट लिएर हवाईयात्रा गर्ने भएकाले जोमसोमबाट प्रायः जहाज खालीखाली पठाउनुपर्ने अवस्था रहेको समिट एअरलाईन्सका जोमसोमका व्यवस्थापक सुमन थकालीको भनाइ छ ।  “पहिला पहिला यहाँबाट स्थानीय र कर्मचारी लगायतमा यात्रु पनि जहाजको यात्रा गर्न खोज्थे’, भन्नुभयो,“अहिले सडक बाटो राम्रो भएकाले यहाँबाट अधिकांश यात्रु सडकमार्गबाटै पोखरा झर्ने गर्छन्  ।” पोखरा जोमसोम हवाई उडान घट्नुको अर्को कारण पछिल्लो समय सुरक्षित हवाई यात्रामा चुनौती पोखरा जोमसोम हवाई मार्गमा आधादर्जन जती हवाई दुर्घटना भइसकेको छ ।  बढ्दो हवाई जोखिमलाई न्यूनीकरण नेपाल नागरिक उड्यान प्राधिकरणले नयाँ नियम र थप निगरानी बढाउन थालेपछि हवाई उडान घट्नु पुगेको विश्लेषण गरिएको छ । यसो त (पोखरा—जोमसोम) हवाई यात्राका लागि सम्बन्धित ट्राभल एजेन्सीहरुले टिकट बुकिङ गर्ने गरे पनि उडान रद्द हुँदा तत्कालै सडकमार्गबाट यात्रुलाई मुस्ताङ पठाउने गर्दा हवाई उडान घटेको व्यवस्थापक थकालीले उल्लेख गर्नुभयो ।  ट्राभल कम्पनीले हवाई टिकट बुकिङ गरे पनि सडकमार्गबाट यात्रा गराउँदा हवाई टिकटको आधा भाडा बचत हुने भएकाले पनि पहिलेको जस्तो जहाज कुरेर बस्ने नगरेको उहाँले जनाउँनुभयो ।  यसरी जहाजको टिकटमा बुकिङ गरेर गाडीमा पठाउँदा ट्राभल कम्पनीलाई  आर्थिक लाभ हुने उहाँले बताउनुभयो । पछिल्लो समय राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक सहज बनेपनि अधिकांश पर्यटक सडकमार्ग हुँदै मुस्ताङ आउने गरेको पाइएको छ । सडकमार्गको सहजता र सस्तो मूल्यमा यात्रा गर्न पाइने र सवारीसाधन पनि भनेको समयमा उपलब्ध हुने भएकाले सडकमार्गबाट यात्रा गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।       मुस्ताङका स्थानीय नागरिक, कर्मचारी, सुरक्षाकर्मी, मजदुर र सामान्य व्यक्तिसमेत सडकमार्गबाट आवतजावत गर्ने गरेका छन् । अहिले दैनिक पोखरा —जोमसोम हवाई उडान दैनिक ५÷६ वटा मात्रै हुने गरेको जोमसोम नागरिक उड्यन कार्यालयको भनाइ छ । यसमा यात्रा गर्ने ८० प्रतिशत भारतीय र २० प्रतिशत अन्य मुलुकका विदेशी पर्यटक रहेको छ ।  निर्माणधीन राष्ट्रिय गौरवको बेनी—जोमसोम सडक आयोजना कार्यान्वयनमा आउन पूर्व अनुकूल मौसममा ९पोखरा–जोमसोम० हवाई उडान दैनिक १८ वटासम्म हुने गथ्र्यो ।   साना जहाजलाई अनुकूल समयमा यात्रु ओसारपोसार गर्न भ्याइनभ्याइ हुने गथ्र्यो । भारतीय र तेस्रो मुलकका विदेशी पर्यटकले मात्रै टिकट पाउँथ्ये । नेपाली आन्तरिक पर्यटकलाई पोखरा–जोमसोम हवाई टिकट पाउन निकै कठिन पथ्र्यो ।       हवाई टिकट मूल्यमा एकरुपता नहुँदा नेपाली पर्यटकका साथै मुस्ताङका स्थानीयवासीलेसमेत हवाईयात्रा गर्न निकै सास्ती खप्नुपर्दथ्योे । स्वदेशी हवाई यात्रु भन्दा विदेश पर्यटकको हवाई यात्रु टिकटमा दोब्बर ÷तेब्बर मूल्यपर्ने भएकाले सम्बन्धित निजी एअरलाईन्स कम्पनीहरुले स्वदेशीलाई हवाई टिकट दिन खोज्दैनथ्ये ।       कुनै दुर्घटना भयो वा सिकिस्त बिरामी परेको बखतमा मात्रै स्वास्थ्यचौकी वा अस्पतालको सिफारिसमा उनीहरुले हवाई टिकट उपलब्ध गराउँथ्ये । पोखरा–जोमसोम हवाईयात्रा गर्नुपर्दा यात्रुलाई निकैनै सङ्घर्ष गर्नुपथ्र्यो । तर, अहिले त्यो समय पूरै फेरिएको छ ।

पोखरा:  राष्ट्रिय खेलाडी सम्मिलित सिइसी काठमाडौंसँग पोखरा महानगर क्रिकेट क्लबले लज्जास्पद पराजय व्यहोरेको छ । पोखरा क्रिकेट खेल मैदानमा मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी दोस्रो केपी ओली कप पुरुष राष्ट्रिय टि२० क्रिकेटमा तेस्रो दिनको पहिलो खेलमा सिइसी काठमाण्डौ ९ विकेटले बिजयी भएको हो ।  जित संगै लिगमा अपराजित रहँदै कुल ६ अंकका साथ उसले सेमीफाइनल यात्रा सुरक्षित गरेको छ । पोखराले आफ्ना लिग चरणका तीन खेलमा नै पराजयको सामना गरेको छ । पोखरा महानगरले टस जितेर व्याटिङको सुरूवात गर्दै १७.२ ओभरमा १० विकेटको क्षतीमा ५३ रन बनायो । पोखराले १० रन अतिरिक्त रनको रुपमा पायो । सुमह ‘ए’को अन्तिम चरणको खेलमा पोखराको पारीलाई ध्वस्ता पार्ने क्रममा म्यान अफ दि म्याच समेत रहेका सिइसी काठमाण्डौका दिपेन्द्र रावतले र युनिश विक्रम सिंह ठकुरीले समान ३÷३ विकेट हात पारे ।  दिपेन्द्रले आफ्नो ४ ओभरको स्पेलमा ८ रन दिएर ३ विकेट लिए भने विक्रमले ३.२ ओभरमा ९ रन दिएर ३ विकेट लिए । पोखराका कविन सापकोटाले १२ रनको दोहोरो रन बनाउनु बाहेक अन्य खेलाडीहरु क्रिजमा टिक्न सकेनन् । पोखराका लागि आशिष न्यौपाने ९, सुमित श्रेष्ठ र अन्जन केसीले समान २र२, प्रमोद बास्तोला, अभिनव शाह, मार्शल बरालले समान ३÷३ रन बनाए । समिर भुजेल र सुवास बास्तोला सुनय रनमा आउट भए । त्यस्तै काठमाण्डौका लागि सूर्य तामाङले ४ ओभरमा १० रन दिएर २ विकेट तथा मनोज यादव र अशोक बोहोराले समान १÷१ विकेट हात पारे । ५४ रनको झिनो लक्ष्य पछ्याएको टिमको कप्तानी सम्हालेका रित गौतमले आक्रमक पारी खेल्दै १५ बलमा ३६ रनको योगदान दिए । उनले आफ्नो पारीमा ३ छक्का र ४ चौका प्रहार गरे । उनी सुभाष बास्तोलाको बलमा अभिनवको हातबाट क्याच आउट भए ।  त्यस्तै दिपेनद्र रावतले ८ बलको सामना गर्दै १ चौका र २ छक्का साथ १९ रन बनाउँदा शिवम तिवारीले २ रन बनाए । समुह एको अन्तिम लिग खेल हेटौडा स्पोर्टस एकेडेमी र स्याङजा क्रिकेट क्लबका बीच हुनेछ । दुबैले लिग चरणमा एक–एक खेल जितेका छन् । 

पोखरा: प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना गरेको छ ।  गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र उपभोक्ता वर्गलाई लक्षित गरी हब स्थापना गरिएको बैंकले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि बैंकका गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले हबको उद्घाटन गरेका हुन् ।   ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’बाट गण्डकी प्रदेशमा लक्षित ग्राहक वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने उनले विश्वास व्यक्त गरे ।  उनले बैंकले प्रस्तुत गरेको यस्तो केन्द्रले उद्यमशीलता प्रवर्द्धनमा सहयोग पु¥याउने र वित्तीय पहुँचमा सहजता ल्याउने कुरामा उनले जोड दिए । ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’मार्फत गण्डकी प्रदेशका व्यवसायी तथा उपभोक्ताहरूले लक्षित, छरितो र प्रभावकारी बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।  हबले विशेष गरी लघु, साना तथा मझौला उद्यमहरूलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापना तथा संचालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा प्रदान गर्ने बताइएको छ ।  उपभोक्ता वर्गका लागि समेत घर निर्माण, सवारीसाधन खरिद, शिक्षा, स्वास्थ्य लगायतका आवश्यकताहरूका लागि विविध ऋण योजना उपलब्ध हुनेछ । कार्यक्रममा वक्ताहरूले यस्तो केन्द्रको स्थापनाले वित्तीय समावेशीकरण, रोजगारी सिर्जना र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरेका छन् । व्यवसाय तथा परियोजना ऋण, उपभोक्ता ऋण (घर, गाडी, शिक्षा, स्वास्थ्य), वित्तीय परामर्श सेवा, द्रुत तथा प्रभावकारी कागजी प्रक्रिया लगायतका सुविधा ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’बाट प्राप्त हुनेछ । 

म्याग्दी:  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ मा रु २१ करोड ५४ लाखको लागतमा आठ वटा योजना कार्यान्वयन भएको छ ।  मन्त्रालय अन्तरगतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कास्कीले म्याग्दी र कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्तीका संरक्षणका लागि आयोजना सञ्चालन गरेको हो ।  आयोजना प्रमुख विदुर श्रेष्ठले तीन सालबसाली योजना निर्माणाधीन र पाँच बहुवर्षीय योजना ठेक्का प्रक्रियामा रहेका जानकारी दिनुभयो ।  बेनी, सिङ्जा, तातोपानी, दरवाङस्थित म्याग्दी, कुश्मा नगरपालिका र जलजला गाउँपालिकास्थित कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्तीमा बाढी नियन्त्रणका लागि योजना सञ्चालन गरिएको हो ।   बेनी नगरपालिका–४ तातोपानी स्थित सरस्वती मावी पछाडी म्याग्दी नदी किनारमा रु एक करोड ५५ लाखको लागतमा ६६ मिटर लामो, चार मिटर चौडाइ र तीन÷तीन मिटर अग्लो पलम र ग्याबिन पर्खाल निर्माण काम भइरहेको आयोजनाका इञ्जिनीयर नरजङ गुरुङले बताउनुभयो ।  निर्माण कम्पनीले यो योजना आगामी जेठ महिनाको २० गतेभित्र सम्पन्न गर्ने लक्ष्य छ । उपभोक्ता समितिमार्फत मालिका गाउँपालिका–६ दरवाङको म्याग्दी नदी किनारमा रु ७० लाखको लागतमा कम्पोजित पर्खाल निर्माण भइरहेको छ ।  रु ७० लाख बजेट विनियोजन भएको बेनी–४ सिङ्गा र सुर्केमेलामा म्याग्दी नदीको कटान रोकथामका लागि ग्याबियन पर्खाल निर्माण गर्ने योजना निर्माणाधीन छ ।       जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, दरवाङ बसपार्कलगायत भौतिक संरचनालाई म्याग्दी नदीको कटानबाट जोगाउन ६५ मिटर लामो कम्पोजित पर्खाल निर्माणका लागि रु छ करोड १८ लाख लागत अनुमान गरिएको योजना ठेक्का प्रक्रियामा छ ।  तातोपानी बजार संरक्षणको दोस्रो प्याकेज अन्तरगत म्याग्दी नदी किनारमा एक सय दुई मिटर कम्पोजिट पर्खाल निर्माणका लागि रु तीन करोड ८१ लाख लागत अनुमान गरिएको ठेक्का मूल्याङ्कनको अन्तिम चरणमा छ ।  कुश्मा नगरपालिका– ४ अर्मादी र जलजला गाउँपालिका कार्यालय रहेको लामाखेतस्थित कालीगण्डकी नदी किनारमा रु पाँच करोड लागत अनुमान गरिएको नदी संरक्षण योजना सञ्चालन गरेको छ । यो योजना पनि मूल्याङ्कनको अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । उक्त योजनामार्फत दुवै स्थानमा ४८/४८ मिटर लम्बाई भएको कम्पोजिट पर्खाल निर्माण गरिने छ । बेनीको कालीपुल पारी जलजला गाउँपालिका– ३ स्थित कालीगण्डकी नदी किनारमा ८० मिटर कम्पोजिट पर्खाल निर्माण गर्नका लागि रु दुई करोड ८० लाख लागत अनुमान गरिएको योजना सञ्चालनको तयारी गरिएको आयोजनाले जनाएको छ ।  आयोजनाले पछिल्लो पाँच वर्षयता बेनी र आसपासको क्षेत्रमा नदी नियन्त्रणको काम गर्दै आएको छ । 

नवलपरासी:  खानेपानीको चरम अभाव झेलिरहेको बस्ती झ्याल्टुङ डाँडामा खानेपानी पुगेपछि बसाइँ सर्ने क्रम रोकिएको छ ।  नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–१० झ्याल्टुङ डाँडामा खानेपानीको समस्या भएपछि केही वर्षदेखि गाउँ छाड्ने क्रम बढ्दै गएकामा अहिले उक्त क्रम रोकिएको झ्याल्टुङडाँडा ,चिसोपानी, पोखरी ताल खानेपानी सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हेमबहादुर थापाले बताउनुभयो ।  “गाउँ छाडेर जाने गइसके, खानेपानी सफल नभएको भए म पनि हिँड्थे, पानी आयो छाडेर जान पनि मन लाएको छैन । जग्गा छ, बस्तु पाल्न मिलेको छ , यही बस्ने हो  अब” हेमबहादुरले भन्नुभयो ।  विसं २०७६ मा सुरु भएको लिफ्टिङ खानेपानी योजना अहिले  आएर पूर्ण भएको संस्थाका अध्यक्ष थापाले बताउनुभयो । निर्माणको काम ढिलो हुँदा खानेपानी गाउँमा आउँदैन कि भनेर निराश बनेका आफूहरू अहिले खुसी भएको उहाँले बताउनुभयो । खानेपानीको अभावकै कारण गाउँ छाडेका केही फर्किन लागेको उहाँले बताउनुभयो ।  खानेपानी लिन डेढ दुई घण्टा लाग्ने गरेकोमा अहिले घर छेउको धारामा पानी आउँदा गाउँ नै रमाइलो भएको नरबहादुर सारू मगरले बताउनुभयो । खानेपानी संस्थाका सचिवसमेत रहनुभएका उहाँ अनुसार अहिले झ्याल्टु ङडाँडासहित वरपरका गाउँ  पोखरी ताल, चिसापानी ,सानो पोखरी, टाडीलगायतका गरी करिब एक सय ९१ घरलाई खानेपानीको सुविधा पुगेको छ ।  अँधेरी खोलाको मुहानबाट लिफ्टिङ गरी खानेपानी वितरण गरिएको उहाँले बताउनुभयो ।  खानेपानीको समस्या भएपछि गाउँ छोड्ने टुङ्गोमा पुगिसकेको अवस्थामा अहिले पानी घरकै धारामा आउँदा स्वर्गै जस्तो लागेको स्थानीय गोमा विकले बताउनुभयो ।  “अहिले त धेरै सुविधा भयो, पहिले एक दुई खेप भन्दा धेरै पानी बोक्न सकिन्थेन, केही समय पानी नआए गाउँ छाडेर  हिँड्नेनै टुङ्गोमा थियौँ,  एक खेप पानी लिन दुई घण्टा लाग्ने, लुगा धुन ,नुहाउन नपाउने” उहाँले भन्नुभयो “अहिले धेरै सुविधा भएको छ । अहिले त स्वर्गै जस्तो भएको छ” पहिले दिनमा तीन चार खेप पानी बोक्नु पर्दा  एक जनाको कामनै पानी बोक्ने हुने गरेको स्थानीय पुनिसरा विकले बताउनुभयो । पानी अड्कलेर खर्च गर्नुपर्नेमा अहिले घरमै  खानेपानीको धारा आएपछि खानेपानीको समस्या टरेको उहाँले बताउनुभयो ।  पानीको समस्या हुँदा डुल्दै कोही पाहुना आएर पानी मागे पनि दिन नपुग्ने अवस्था रहेको इशरा बाकवलले बताउनुभयो । बसाइँको हिसाबले सुन्दर ठाउँ भए पनि खानेपानी नहुँदा झ्याल्टुङडाँडाका स्थानीयले लामो समयदेखि दुःख पाउँदै आएकोमा अहिले खानेपानीको दुःख हटेको उहाँले बताउनुभयो ।  झ्याल्टुङडाँडामा गण्डकी प्रदेश सरकारको लागतमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ, इकाइ कार्यालय नवलपुरमार्फत करिब रु एक करोडको लागतमा लिफ्टिङ प्रविधिबाट खानेपानी योजना सम्पन्न गरिएको इकाइ कार्यालय नवलपुरका प्रमुख महेन्द्र आचार्यले बताउनुभयो ।  कार्यालयले खानेपानी नपुगेका घरमा खानेपानी पु¥याउने लक्ष्यका साथ योजना निर्माण गरी काम गरिरहेको उहाँले बताउनुभयो । झ्याल्टुङडाँडा सहितको क्षेत्रमा खानेपानीको व्यवस्थाका लागि मध्यविन्दु नगरपालिका–१० र नगरपालिका कार्यालयबाट विद्युतीकरणमा सहयोग पु¥याएका नगर प्रवक्ता एवं वडा नं –१०का वडाध्यक्ष रणबहादुर थापा क्षेत्रीले बताउनुभयो ।  मुहान भएको स्थानसम्म विद्युत् पु¥याउने र ट्रान्समिटर जडान गर्ने लगायतका कार्यका लागि रु २० लाख बजेट विनियोजन गरी काम गरिएको उहाँले बताउनुभयो ।

सुर्खेत: कर्णाली प्रदेशका दश जिल्लाका विद्यालयमा शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुग्ने सम्भावना घटेको छ ।  विक्रेताले जनक शिक्षा सामग्री केन्द्रको प्रदेश कार्यालयबाट किताव समयमै खरिद नगर्दा भर्ना अभियानसँगै विद्यार्थीको हातमा किताव पुग्ने सम्भावना घटेको हो ।      कुल २५ हजार सेट किताबमध्ये प्रदेशको गोदाममा १७ हजार किताब थन्किएका छन् । जनक शिक्षाले समयमै किताब छापेर गोदाममा स्टोर गरेपनि किताब लिन बिक्रेता नआउँदा गोदाममै थन्किएको हो ।  निजी क्षेत्रले पुरानो स्टक देखाउँदै कमिसन बढी दिएर किताब बिक्री गर्दा जनक शिक्षामा किताब खरिद गर्न विक्रेता कम आएको आरोप लगाएको छ । सरकारले कक्षा १ र ५ जनक शिक्षालाई छाप्न लगाएको थियो । सोही किताब निजी क्षेत्रले पनि छापेर कमिसन दिइ बिक्री गरेको जनक शिक्षाको आरोप छ ।        जनक शिक्षा सामग्री केन्द्र लिमिटेड कर्णाली प्रदेश कार्यालयमा पाठ्यपुस्तक बिक्री सुरु भएपनि गोदाममै थन्क्याउनु परेको केन्द्रले जनाएको छ । जिल्लास्थित पुस्तक बिक्रेताले पुस्तक खरिद गर्न नआएका कारण लिमिडेटको गोदाममा पुस्तक थन्किएको प्रदेश प्रमुख भैरवबाबु पन्तले बताउनुभयो । उहाँका अनुसार हालसम्म ६६ प्रतिशत पनि पुस्तक बिक्री भएको छैन ।       स्थानीय तहले बिक्रेतालाई रकम दिएर पुस्तक ढुवानी गर्ने गरेको छ । डोल्पामा फागुनमा शैक्षिकसत्र सुरु हुनेगर्दछ । त्यहाँ हालसम्म किताब पुग्न सकेको छैन ।       जनक शिक्षाले पुस्तक विक्रेतालाई जिल्लाअनुसारको कमिसन उपलब्ध गराउँदै आएको छ । मुगु, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट, सुर्खेत र हुम्लाले सुर्खेतबाट पुस्तक खरिद गर्दै आएका छन् । 

गण्डकी:   जब चैतेदसैँ आउँछ अनि सम्झिइन्छ, उही पुरानो गीत ‘आँटेको पु(याइदेउ रेशम बागलुङ कालिका...’, २०५४ सालतिर गायक शुभराम भारी र गायिका बिमाकुमारी दुराले यो गीत गाउनुभएको थियो ।  त्यसयता पनि कालिका भगवतीको महत्व र महिमा उजागर गर्दै कैयन गीत रचिए र गाइए । गीतले भनेझैँ मनले आँटेताकेको पूरा हुने विश्वासमा चैतेदसैँ पारेर यस मन्दिरमा पूजाआजा गर्नेको लर्को लाग्छ ।  गुठी व्यवस्थापन समितिको दाबीअनुसार चैत्राष्टमीका दिन शनिबार मात्रै करिब दुई लाख भक्तजनले बागलुङस्थित प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरको दर्शन गरे ।  आइतबार रामनवमीमा पनि बिहानैदेखि मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्यो । चैतेदसैँको नवरात्रभर विशेष पूजाआज हुने भएकाले टाढाटाढाबाट भक्तजन यस मन्दिरमा आउने गर्छन् । मन्दिर परिसरमा चलिरहेको चैत्राष्टमी मेलाले पनि दर्शकलाई आकर्षित गरिरहेको समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।  उहाँका अनुसार विसं १५९१ मा मन्दिर स्थापना भएपछि चैतेदसैँ मेलाको परम्परा बसेको हो । “चैतेदसैँमा लाग्ने यो देशकै ठूलोमध्येको मेला हो, यो कालिका भगवतीको महिमासँग जोडिएको छ”, अध्यक्ष खड्काले भन्नुभयो, “सदियौँदेखि चल्दै आएको चैतेदसैँ मेलालाई निरन्तरता दिँदै आएका छौँ ।” तत्कालीन पर्वत राज्यका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्ने क्रममा दाइजोस्वरुप ल्याएको माझकी देवीको मूर्तिलाई अहिले कालिका भगवती मन्दिर रहेको ठाउँमा प्रतिस्थापन गरी पूजापाठ सुरु गरिएको किम्वदन्ती छ ।  कालिका भगवतीको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको अध्यक्ष खड्काले बताउनुभयो । स्थानीयवासी भरत खड्काले कालिका भगवती मन्दिर र चैतेदसैँ मेला एकअर्कामा अभिन्न रहेको बताउनुभयो ।  “पाल्पाली राजाले आफूले पूजाआजा गर्दै आएको माझकी देवीको मूर्ति छोरीलाई दाइजो दिएको र सो मूर्तिलाई पर्वत राज्यमा ल्याउने क्रममा यहाँ डोली बिसाएको इतिहासमा उल्लेख छ”, उहाँले भन्नुभयो, “पछि डोली उठाउन खोज्दा कसैले उठाउन नसकेपछि देवीको मूर्तिलाई यहीँ राखेर पूजापाठ सुरु गरिएको किम्वदन्ती छ, तिनै माझकी देवीलाई अहिले कालिका भगवतीका रुपमा पुजिन्छ ।”  सुरुमा खरले छाएको झुप्रोमा मन्दिर रहेको र पछि विभिन्न समयमा पुनःनिर्माण हुँदै मन्दिरले अहिलेको स्वरुप पाएको हो । यहाँ बर्सेनि बडादसैँ र चैतेदसैँमा मन्दिरमा विशेष मेला लाग्ने गरेको छ ।  देशका विभिन्न भूभागदेखि भारतसम्मका धार्मिक पर्यटक कालिका मन्दिर दर्शनका लागि आउने गर्छन् । मन्दिरमा बाह्रै महिना नियमित पूजाआजा हुने समितिका उपाध्यक्ष निशान खड्काले जानकारी दिनुभयो । साउन र पुस महिनामा भने बलि नचढ्ने उहाँको भनाइ छ । “औँशी र एकादशीमा पनि मन्दिरमा बलि चढ्दैन, नियमित पूजाआजा भने दैनिक हुने गर्छ”, उहाँले भन्नुभयो, “मङ्गलबार र शनिबार भक्तजनको बढी भीड हुन्छ ।” मन्दिरमा राँगा, सुँगुर, बोका, कुखुरा, हाँस आदिको बलि दिने चलन छ । इतिहासका अध्येता काजी गाउँले श्रेष्ठले कालिका भगवतीसँग जोडिएको चैतेदसैँ मेलाले लामो इतिहास र परम्परा बोकेको बताउनुभयो । श्रेष्ठले ‘एक पैसा कहिलेलाई बागलुङको चैतेदसैँलाई...’ भन्ने गीत पनि प्राचीनकालीन भएको बताउनुभयो । उहाँका अनुसार पर्वत राज्य नेपाल राज्यमा गाभिएपछि म्याग्दीको बेनीबाट बागलुङ सरेको टक्सारमा धातुका पैसा छापिने गरेको थियो ।   “त्यो बेलामा एक पैसाको पनि ठूलो महत्व थियो, चैतेदसैँ मेलामा किनमेल गर्न जान पैसाको जोहो गर्नुपथ्र्यो”, श्रेष्ठले भन्नुभयो, “गाउँबाट किसानहरु स्थानीय उत्पादन लिएर मेलामा बेच्न आउँथे, भारतीय व्यापारी पनि आउने गर्थे ।”  पहिले भारतदेखि लुगाफाटा, मसला, मिश्री, नरिबललगायतका सामान बेच्न व्यापारी चैतेदसैँ मेलामा आउँथे । स्वतःस्फूर्त रुपमा लाग्ने मेला दुई हप्तासम्म चल्ने गरेको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार माटो, धातु र काठका भाँडाकुँडा बेच्न छुट्टाछुट्टै बिक्रीकक्ष हुन्थे । मेलामा गाउँगाउँबाट झर्ने युवायुवती सात दिन सातरातसम्म दोहोरी (झ्यारे) गाएर बस्ने गर्थे ।  गाउँका व्यापारीले लेकाली भेगमा पाइने निगालाको चोयाबाट बन्ने स्थानीय उत्पादनलाई मेलामा बिक्री गर्दै आएका छन् । मेलामा कला, संस्कृति, खेलकुद, व्यापार र पर्यटन प्रवर्द्धनका विविध गतिविधि समेटिएको समितिका अध्यक्ष एवं मेलाका संयोजक खड्काले बताउनुभयो ।  मेलास्थलमा स्थानीय उत्पादनको बिक्रीकक्षदेखि रमाइलो मेलासम्म राखिएको छ । परम्परागत रुपमा चल्दै आएका लोकदोहोरी, भलिबल, छेलोलगायतका प्रतियोगिताले मेलामा आकर्षण थपेका छन् । 

पोखरामा आगामी २६ गते आइटीको विकसित पाठ्यक्रमबारे छलफल हुँदैछ  ।   बेलायतको एनसिसी एजुकेशनसँगको सहकार्यमा नेपाल भित्रिएको आइटीको विकसित पाठ्यक्रमको बारेमा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग छलफल गरिने गण्डकी प्रदेशका प्र्रतिनिधि किसान सुनारले जानकारी दिए  ।   उनका अनुसार गण्डकी प्रदेशको जिम्मेवारी तेजारथ ग्रुपले लिएको छ । उक्त छलफलमा कक्षा १ देखि १२ सम्म सञ्चालन हुने आइटी करिकुलमबारे अन्तरक्रिया हुनेछ ।    डिजी स्कुलका सिइओ राजु बाँनियाले पछिल्लो सयम सूचना र प्रविधिको युग भएकाले आइटीको क्षेत्रमा परिस्कृत पाठ्यक्रम आवश्यक भएको बताउदै उक्त करिकुलम बेलायतको एनसिसीसँग सहकार्य गरेर नेपाल भित्राइएको जानकारी दिए ।    ‘एक्काइसौं शताब्दी सूचना र प्रविधिको युग भएकाले अहिले नेपालमा भएको भन्दा परिस्कृत र विकसित आइटी करिकुलम यहाँ भित्राएका हौं, उनले भने, ‘आजको समयानुसार विद्यार्थीहरु विश्व बजारमा बिक्न सक्ने खालको यो आइटी करिकुलम छ । यसको विविध पक्षबारे कनेक्ट एण्ड लिडमा छलफल हुनेछ ।’      डिजी स्कुलले भित्राएको आइटी करिकुलम अहिले निजी स्कुलहरुमा भएको कम्प्युटर कोर्स भन्दा नितान्त पृथक र विकसित भएको बानियाँले बताए  ।   सो कार्यक्रममा करिकुलमको फाइदा तथा लागत र विविध पक्षहरुका बारेमा गण्डकी प्रदेश तथा आसपासका विद्यालयका प्रतिनिधिहरुसँग वृहत अन्तरक्रिया हुुने बताइएको छ ।