पोखरा: लेकसाइडस्थित स्ट्रिट नम्बर १७ मा ‘टेम्पल बेल’ बुटिक होटेल एन्ड स्पा सञ्चालनमा आएको छ । पर्यटन व्यवसायी विश्वराज पौडेल र भीष्मराज पौडेल नेतृत्वको चिल्ली ग्रुपले होटल निर्माण गरी सोमबारबाट सेवा प्रारम्भ गरेको हो । नेपाली मौलिकता र अन्तर्राष्ट्रिय स्तरको सुविधा समेट्ने गरी होटल ‘बुटिक’ अवधारणामा निर्माण गरिएको छ । होटलको संरचना नेपाली काष्ठकला, ढुंगा, ढाका, थान्का, झुमर तथा पेन्टिङले सजाइएको होटलका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए । पर्यावरणमैत्री शैलीमा सजाइएको कोठा, करिडोर र खुला क्षेत्रले आगन्तुकलाई आत्मीयता र मौलिकता प्रदान गर्ने विश्वास उनले व्यक्त गरे । सन् २०२१ डिसेम्बरमा सुरु गरिएको होटल निर्माण कोभिड महामारीको चुनौतीबीच साढे ३ वर्षमा सम्पन्न भएको हो । करिब साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको यो होटलको कुल लागत (जग्गासहित) करिब १ अर्ब २५ करोड रुपैयाँ रहेको जानकारी प्रबन्ध निर्देशक भीष्मराज पौडेलले दिए । होटलमा अगाडि र पछाडि गरी दुईवटा इन्टरकनेक्टेड ब्लक छन् । कुल ५५ कोठामध्ये ४७ डिलक्स बुटिक, ५ सुपर डिलक्स, २ जुनियर स्वीट र १ प्रेसिडेन्सियल स्वीट कोठा छन् । होटलमा रिसेप्सन, आकर्षक लबी, दुईवटा ज्याकुजीसहितको स्वीमिङ पुल, ‘बुद्ध सदन’ नामक सम्मेलन हल, स्टीम, साउना, थेरापी रुम सहितको अत्याधुनिक स्पा, ‘यती एन्ड यती’ नामक बार, ‘आंटी’ नामक आलाकार्ट रेस्टुरेन्ट, बेसमेन्ट पार्किङ र दुईवटा आधुनिक लिफ्टको सुविधा उपलब्ध छ । होटलले ‘सफ्ट ओपनिङ’ गरेको छ । वैशाख महिनाभित्र होटलको ‘ग्रान्ड ओपनिङ’ गर्ने योजनासमेत सार्वजनिक गरिएको छ । नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै स्वदेशी तथा विदेशी पाहुनाका लागि विशेष छुट र अफर प्रस्तुत गरिएको पनि प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए । स्वदेशी पाहुनाका लागि सिंगल र डबल रुम क्रमशः ७ हजार ५०० र ८ हजार ५०० रुपैयाँमा, विदेशी पाहुनाका लागि १२ हजार र १४ हजार रुपैयाँमा उपलब्ध छन् । स्वीट रुम स्वदेशी पाहुनाका लागि ३५ हजार रुपैयाँ र विदेशीका लागि ४८ हजार रुपैयाँमा उपलब्ध छन् । प्याकेजमा फ्री एक्सक्लुसिभ ब्रेकफास्ट, स्टीम, साउना, एयरपोर्ट पिकअप र ड्रपको सुविधा र स्पा सर्भिसमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको पौडेलले सुनाए । टेम्पल बेल बुटिक होटेल एन्ड स्पा पोखरामा आउने मिडिल र हाइ–एन्ड सेग्मेन्टका पर्यटकहरूका लागि लक्षित गरिएको हो । पोखराको सांस्कृतिक विविधता, साहसिक गतिविधि र शान्त वातावरणका बीचमा विश्वस्तरीय सेवा दिन सक्ने विश्वास होटल व्यवस्थापनको छ । होटलमा करिब ६० जना दक्ष कर्मचारी कार्यरत रहेको कर्पाेरेट म्यानेजर लेखनाथ पहारीले जानकारी दिए । कर्मचारीलाई सेवा, व्यवस्थापन, खाना पकाउने कला र ग्राहक सेवा सम्बन्धी विशेष तालिम दिइएको उनले जनाए । होटलको निर्माणमा स्थानीय सामग्रीको प्रयोगलाई विशेष प्राथमिकता दिइएको छ । ढुंगा, नेपाली काष्ठकला, ढाका, बाँस, ढुंग्रो, नेपाली पेपरजस्ता परम्परागत सामग्रीहरू प्रयोग गरी भवनको संरचना तयार पारिएको प्रबन्ध निर्देशक पौडेलले बताए । कोठाहरू, करिडोर र खुला क्षेत्रहरू हरियाली प्रवद्र्धन हुने गरी वातावरणमैत्री ढंगले सजाइएका छन् । होटल सञ्चालकद्वय विश्व र भीष्मकी आमा ज्ञानुदेवी पौडेलले आफ्ना सन्तानले गरिरहेको कामको सराहना गर्दै उज्ज्वल भविष्यको शुभकामना प्रकट गरिन् । होटलका आकर्षक सुविधाहरूले पाहुनाहरूलाई आरामदायी र विलासी अनुभव प्रदान गर्ने लक्ष्य राखिएको होटलकी कर्मचारी आशा गुरुङले बताइन् । होटलको नाममा प्रयोग भएको ‘टेम्पल बेल’ अर्थात् मन्दिरको घण्टी, पवित्रता र सकारात्मक ऊर्जाको प्रतीक भएको जनाइएको छ ।
चैते धानखेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । अधिकांश सिञ्चित क्षेत्रका खेतमा चैते धान रोपाइँ जारी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रले चैते धानखेती प्रवर्द्धन कार्यक्रममार्फत किसानलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरी सहज बनाइएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिृकत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिए । 'चैते धानखेती गर्ने किसानले छाड्ने क्रम बढ्दै गएकाले प्रोत्साहन गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो, उर्वरभूमिमा नै खेती गर्न छाड्दै गएको पाइन्छ', उनले भने, 'विशेषगरी खेतीयोग्य जमिन बाँझो राख्ने अवस्थामा पुगेपछि यस कार्यक्रमले किसानलाई सहयोग पुग्नेछ ।' परियारका अनुसार कार्यक्रमअन्तर्गत ढुवानी, बीउ, सिँचाइ, उपकरण खरिदमा अनुदानको व्यवस्था गरिएको छ । धानको बीउमा ७५ प्रतिशत र सिँचाइअन्तर्गत कुलो निर्माण र मर्मतमा ८५ प्रतिशत अनुदानको व्यवस्था छ । दुई हजार ९४० रोपनी खेतमा चैते धानखेती गर्न १३ वटा कृषक समूह तथा सहकारी यस कार्यक्रममा समावेश भएका छन् । कार्यक्रमका लागि ५० लाख बजेट विनियोजन भएको छ । कृषक समूह तथा सहकारीसँग सम्झौतासमेत भइसकेको केन्द्रले जनाएको छ । कार्यक्रमअन्तर्गत धान चुट्ने थ्रेसर, खेत जोत्ने मिनीटिलर तथा ट्रयाक्टरमा अनुदानको व्यवस्था गरिएको छ । सिँचाइ (कुलो) निर्माणका लागि २० लाख बजेट विनियोजन भएको छ । चैते धान विशेषगरी चिउराका लागि प्रयोग गरिने तर खेत बाँझो हुँदा भारतबाट आयात हुने गरेको सूचना अधिकारी परियारको भनाइ छ । किसानबाट माग धेरै आए पनि बजेट कम हुँदा सबैलाई समेट्न समस्या भएको उनले बताए । जिल्लामा करिब ५१ हजार ५५० हेक्टर क्षेत्रफलमा खेतीयोग्य भूमि रहेको छ । त्यसमध्ये ६ हजार ३४७ हेक्टर क्षेत्रफलमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध छ । १३ हजार ५८३ हेक्टर सिञ्चित क्षेत्र र सात हजार २३६ हेक्टर क्षेत्रफलमा बेमौसमी सिँचाइ सुविधा रहेको हुँदा अकासे पानीको भरमा पनि किसानले धानखेती गर्छन् । समयमा पानी नपर्दा यस वर्ष चैते धानखेती कम हुने आकलन केन्द्रले गरेको छ ।
गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको विद्युतीय धरापमा परेर मृत्यु भएको छ । जङ्गली जनावरबाट मकैबाली जोगाउन थापेको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी खातुनको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ । उक्त घटनामा धराप थापेको आरोपमा प्रहरीले गोलबजार–९ गोविन्दपुरका २४ वर्षीय वीरबहादुर सार्कीलाई यही चैत २४ गते पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। उनका अनुसार सार्कीलाई ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालतबाट सात दिनको म्याद लिइ इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर अनुसन्धान भइरहेको छ । गत फागुन २९ गते बिहानदेखि हराइरहेकी स्थानीय बेचन अलीकी छोरी गुलसना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा घुर्मी खोलाको किनारमा फेला परेको थियो । घरबाट घाँस काट्न जान्छु भन्दै हिँडेकी छोरी हराएको भोलिपल्ट आमा जेहदा खातुनले खोजीका लागि मिर्चैया प्रहरीमा निवेदन दिएकी थिइन् । बालिका हराएको १३औँ दिन १२ चैतमा बोरामा बाँधेको शव सडेगलेको अवस्थामा भेटिएको थियो । त्यसलगत्तै मिर्चैया प्रहरीसहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोली, मधेस प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धानका क्रममा २४ चैतमा सार्कीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उक्त घटनामा बरामद दशीका रूपमा बालिकाले घाँस काट्न लगेको हँसिया भेटिएको छ । अनुसन्धानका क्रममा फागुन २९ गते बिहान करिब ९ः०० बजेतिर सार्कीले जङ्गली जनावरबाट आफ्नो मकै जोगाउन विद्युतीय धराप लगाएको र केहीबेरमै बालिका चिच्याएको अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ । घटनापछि शवलाई बोरामा हालेर घुर्मी खोला किनारनजिक खाल्डो खनी पुरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
पोखरा: ग्रिनहिल युवा क्लबको आयोजनमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ ल्वाङमा ‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नारासहित मेला जारी छ । सो मेलामा महिला भलिबलतर्फ हिमशिखर युवा क्लब धम्पुस र बौद्ध सिर्जना युवा क्लब घलेल उपाधिका लागि भिड्ने भएका छन् । आज भएको पहिलो सेमिफाइनल खेलमा धम्पुसले आयोजक ल्वाङलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए । उनका अनुसार दोस्रो सेमिफाइनल खेलमा निश्चल झरना युवा क्लब लुम्रेलाई बौद्ध सिर्जना युवा क्लब धलेलले २–० को सोझो सेटमा हराउँदै फाइनलमा धम्पुससँगको भेट पक्का गर्याे । अब फाइनल खेल आगामी २७ गते बुधबार सम्पन्न हुनेछ । यस्तै सोही दिनदेखि पुरुषतर्फको खेलपनि सञ्चालन हुनेछ । पुरुषतर्फ आजसम्म कुल १८ टिमको दर्ता भएको छ । बेलुन फुटाउने प्रतियोगितमा आयान गुरुङ प्रथम, वानयान पुन द्वित्तिय र कृजल परियार तृतीय बनेको खेल संयोजक अनोद गुरुङले बताए । उनका अनुसार मेच घुमाईतर्फ प्रिया परियार प्रथम र मनिसा विक द्वित्तिय बनिन् । पुरुष भलिबलतर्फको विजेता टिमलाई नगद १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने संयोजक गुरुङले बताए । उनका अनुसार उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ । यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिने छ । २६ गतेका कार्यक्रम पोस्टपोन्ड आयोजक संस्थाका निवर्तमान अध्यक्ष दिपक गुरुङका बुबाको निधन भएपछि २६ गते हुने भनिएको कार्यक्रम २७ गतेका लागि पोस्टपोन्ड गरिएको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए । ‘आज हाम्रो क्लबका निवर्तमान अध्यक्षज्यूको पुजनीय बुबाको निधनले हामी सबै स्तब्ध भएका छौ, उनले भने, ‘त्यसैले हिजोबाट सुरु भएको मेलाका २६ गते हुने भनिएको सबै कार्यक्रम एक दिन पोस्टपोन्ड गरेका छौ । अब हाम्रो मेला पर्सीबाट निरन्तर हुनेछ ।’
पोखरा महानगरपालिका–१, मोहरिया टोलमा ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नारासहित सञ्चालित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा नि:शुल्क आँ आँखा परिक्षण सम्पन्न भएको छ । वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन गर्ने कार्यक्रमको अवसरमा आँखा परीक्षण तथा विविध कार्यक्रम सम्पन्न भएको हो । हिमालय आँखा अस्पतालले प्राविधिक सहयोगमा भएको सो शिविरमा अभिभावक, विद्यार्थी, शिक्षक, शिक्षिका, कर्मचारीका साथै स्थानीयहरुगरी सय बढीले सेवा लिएका थिए । सोही सन्दर्भमा साँस्कृतिक कार्यक्रम, शैक्षिक सत्र २०८१ मा कक्षागत रुपमा उत्कृष्ट हुने विद्याथीहरुलाई पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रममा प्राचार्य कृष्णकुमार श्रेष्ठले विद्यालयको बार्षिक प्रगती प्रतिवेदन तथा शैक्षिक शत्र २०८२ को लागि कार्ययोजना राख्दै विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई अर्वाड वितरण गरेका थिए । विद्यालयका संस्थापक शम्भु कार्कीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन शिक्षिका माया क्षेत्रीले गरेकी थिइन् ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट टे«किङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले बताउनुभयो । आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौँबाट उद्धारको टोलीलाई हेलिकप्टरमार्फत पठाइएको उहाँले जानकारी दिनुभयो । पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् ।
काठमाडौं: वन तथा वातावरण राज्यमन्त्री रुपा विकले नेपालले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवादको उद्देश्य विश्वव्यापी पहल भएको बताउनुभएको छ । इन्टरनेसनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आइआरजिडिडी) ले नेपाल सरकारसँगको सहकार्यमा आज यहाँ आयोजना गरेको प्रि–सगरमाथा संवाद कार्यक्रममा उहाँले सगरमाथा संवाद कार्बन कम उत्सर्जन गर्ने समुदायका मानिसलाई समेत लक्षित भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल जलवायु परिवर्तनका कारणले गर्दा अत्यधिक जोखिमपूर्ण मुलुक हो, त्यसलाई लक्षित गरेर रोकथामका लागि सरकारले काम गरिरहेको छ ।” नेपाल सरकारले पहिलो पटक आगामी जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम गर्न लागेको छ । कार्यक्रममा अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का महानिर्देशक डा पेमा ग्याम्त्सोले हिमाल यस क्षेत्रका जनताका लागि मात्र नभई विश्वका लागि प्राकृतिक सम्पदा र जीवनको आधार भएकाले अब प्रकृतिलाई फिर्ता दिने समय भएको बताउनुभयो । उहाँले सगरमाथा संवाद हामीले प्रकृतिलाई के दिन सक्छौँ भन्ने विषयमा केन्द्रित हुनुपर्ने सुझाव दिँदै भन्नुभयो, “सगरमाथा संवादमा हिमालय क्षेत्रको जलवायुका विषयका बारेमा जोड दिनुपर्छ ।” पूर्वअर्थ सचिव मधु मरासिनीले सगरमाथा संवाद नेपालका लागि महत्वपूर्ण अन्तरराष्ट्रिय छलफल र बहसको थलो हुने उल्लेख गर्दै सङ्घमा छ प्रतिशत बजेट नै जलवायु परिवर्तनका लागि छुट्याइएको जानकारी दिनुभयो । “सोह्रौँ योजनाको अन्त्यसम्म जलवायु परिवर्तनको क्षेत्रमा सङ्घको बजेटमा २० प्रतिशत पु¥याउने लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो । जलवायुविद् डा पपुलर जेन्टलले जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दा अन्तरराष्ट्रिय मञ्चहरुमा नेपालका तर्फबाट संवाद गर्दा स्थायी टोली बताउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रका सबै विज्ञहरुले जलवायु परिवर्तनले मुलुकमा पारेको असरबारे आफ्ना तर्फबाट बोल्नुपर्ने उल्लेख गर्दै यो युवाको ‘एजेन्डा’समेत भएको बताउनुभयो । आइआरजिडिडीका अध्यक्ष तथा पूर्वराजदूत शर्मिला पराजुली ढकालले हिमाल र मानवजातिबीच महत्वपूर्ण सम्बन्धको प्रि–सगरमाथा संवाद आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वको जलवायु क्षेत्रको केन्द्रमा हिमालय सङ्कट बारेमा बहस हुनुपर्छ ।” साथै उहाँले सगरमाथा संवादको प्रि–शृङ्खलाको आगामी दिनमा विभिन्न छलफल र बहस चलाउने योजना रहेको बारेमा जानकारी दिनुभयो । संवादका दौरानमा भएको छलफलबाट आएका सुझावलाई सगरमाथा संवाद सचिवालयलाई हस्तान्तरण गरिने उहाँको भनाइ थियो । सगरमाथाको आरोहण गरिसक्नुभएका आरोही दावा टाँसी शेर्पाले बढी जनसङ्ख्याको कारण नभई हिमालय क्षेत्रमा आनन्ददायी जीवनयापन खोज्दा हिउँ पग्लिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हिमाल जोगाउनका लागि सबैको पहल आवश्यक छ, स्थानीय समुदायका व्यक्तिहरुको पहलले मात्र हिमाल जोगाउन सकिँदैन ।” उद्योग वाणिज्य महासङ्घ नेपालका पूर्वअध्यक्ष चण्डीराज ढकालले आइआरजिडिडीले गरेको प्रि–सगरमाथा संवादले नेपाल सरकारले गर्न लागेको सगरमाथा संवादलाई सघाउन मद्दत पुग्ने बताउनुभयो । ग्रिन हाइड्रोजन ल्याबका टिम लिडर सहायक प्राध्यापक डा विराजसिंह थापाले नेपालको वार्षिक अर्बौं रकम जीवाष्म इन्धनमा खर्च भइरहेको उल्लेख गर्दै आवश्यक नीतिको व्यवस्थापन गरी हाइड्रोजन र नवीकरणीय इन्धनको प्रयोगमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।
झापा: कचनकवल गाउँपालिकामा रेविज लागेको कुकुरको टोकाईबाट १२ जना घाइते भएका छन् । बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवका अनुसार वडा नं.–६ मा तीन दिन यता कुकुरले टोकेर घाइते हुनेको सङ्ख्या १२ पुगेको हो । घाइते हुनेमा चार बर्षीया बालिकासहित चार महिला र आठ जना पुरुष छन् । पशु चौपायाको विवरण भने आउन बाँकी रहेको उहाँले बताउनुभयो । कुकुरको टोकाइबाट घाइते भएकाहरुलाई बनियानी स्वास्थ्य केन्द्रमा आज विहानदेखि रेविजविरुद्धको खोप लगाउन सुरु भएको छ । उहाँले केन्द्रमा रहेको खोपले एक पटक मात्र पुग्ने भएका कारण थप खोप कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग माग गरिसकेको बताउनुभयो । पालिकाका उपाध्यक्ष नवराज भट्टराईले कुकुर नियन्त्रणका लागि आज विहानैदेखि पालिकाले कृषि र पशु शाखाका कर्मचारीसहित प्रहरी परिचालन गरिरहेको बताउनुभयो ।
डोटी: डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज मध्याह्न साढे १२ बजे आसपासमा बडीकेदार गाउँपालिका–३ देउथानमा मिनी ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ । जनजागरण सामुदायिक वनमा सडेगलेका काठ सङ्कलन गरी नजिकै सेलानेको खोलामा घाटमा गद्दी (जम्मा) गर्न लैजाँदै गरेको बा.प्र. ०३००१ ख २५३ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार सवारी अनियन्त्रित भएर सडक किनारामा पल्टिँदा ट्रकमा सवार बडिकेदार गाउँपालिका–३ देवलका २७ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको हो । गुरुङको ट्रकमा रहेका काठले च्यापिएर घटनास्थलमा नै मृत्यु भएको र सोही ट्रकमा सवार रहनुभएका सामुदायिक वनका अध्यक्ष लोकबहादुर पल्ली मगर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको स्थानीय स्वास्थ्यचौकी मूलीचौरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको बडीकेदार गाउँपालिका–३ का वडा सदस्य प्रकाश लामाले जानकारी दिनुभयो । ट्रक चालक बडिकेदार गाउँपालिका–२ बर्छैनका २९ वर्षीय गोपाल बडेलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

