पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

काठमाडौं:  हङकङमा जारी चार देशीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले कुबेतलाई छ विकेटले पराजित गरेको छ ।  कुबेतले दिएको १८६ रनको लक्ष्य नेपालले १८ दशमलव ५ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो ।      नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ५० बल खेल्ने क्रममा छ चौका र छ छक्काको सहयोगमा ८१ रन बनाए भने शेखले ३८ बल खेल्ने क्रममा दुई चौका र चार छक्काको सहयोगमा ५३ रन बनाए । साथै दीपेन्द्र सिंह ऐरीले १२ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकाको सहयोगमा ३१ रनको महत्वपूर्ण योगदान दिए ।       कुबेतका लागि  यासिन पटेलले दुई विकेट लिए भने मोहम्मद सफिक र मोहम्मद आस्लामले एक÷एक विकेट लिए ।       त्यसअघि पहिले ब्याटिङ गरेको कुबेतले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १८५ रन बनाएको थियो । उसका लागि ओपनरद्वय क्लिन्टो एन्टोले ४१ र राभिजा सान्दारुवानले २६ रन बनाए । साथै मिट भाबसारले ३५ र बिताल ताहिरले ३२ रन बनाए ।      नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई र ललित राजवंशी तथा कुशल भुर्तेलले एक÷एक विकेट लिए ।

बाँके:   गए राति आएको हुरीबतासले बाँकेको कोहलपुरमा ३३ केभी प्रसारण लाइनका तीनवटा पोल ढल्दा जिल्लाका केही ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।  राति १०ः०० बजेदेखि अवरुद्ध भएको विद्युत् आपूर्ति व्यवस्था अहिलेसम्म हुन नसकेको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामछिानेले जानकारी दिनुभयो । उहाँले विद्युत् आपूर्ति हुन अझै केही समय लाग्ने उल्लेख गर्दै मुख्य प्रसारण लाइनको काम सकिएपछि अन्य ठाउँको काम सुरु हुने बताउनुभयो । “सबै ठाउँको विवरण सङ्कलन भइरहेको छ र यसका लागि अझै केही समय लाग्छ”, उहाँले भन्नुभयो । खराब मौसमका कारण ३३ केभी प्रसारण लाइनका ‘टावर’मा असर पर्न गएकाले विद्युत् प्रवाहका लागि काम भइरहेको जानकारी दिँदै लामिछानेले कहाँकहाँ के समस्या आएको भन्ने विषयमा पहिचान हुन बाँकी रहेको बताउनुभयो ।   उहाँले कतिपय ठाउँमा विद्युत् पोल परिवर्तन गर्न लागिएको र केही ठाउँमा विद्युतीय तार नयाँ जोड्न थालिएको जानकारी दिनुभयो । नेपालगन्ज–२२ नहरपुरवामा समते हावाबतासले विद्युत्को पोल बाङ्गो बनाउनुका साथै तारमा जस्तापाता अड्किएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र नेपालगन्जले जनाएको छ ।  त्यसैगरी, हुरीले डुडुवास्थित इलाका प्रहरी कार्यालयका वनकट्टीको जस्तापाता उडाइदिएका कारण त्यहाँस्थित प्रहरीहरू अन्य ठाउँमा आश्रय लिएर बसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

नवलपरासी: पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो ।  विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा वर्षाका कारण सडक अवरुद्ध भएको नवलपरासी ९बर्दघाट सुस्तापूर्व० जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन र यात्रु बीच सडकमा अलपत्र परेका छन् ।   दाउन्ने क्षेत्रमा बुधबारदेखि आगामी चैत ३१ गतेसम्मका लागि दिनको ११ः०० देखि ३ः०० बजेसम्म आवागमन बन्द गरेर मर्मत सुरु गरिएको थियो । त्यसैगरी, आगामी वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म आवागमन रोकेर विस्तार गरिने तयारी गरिएको छ ।

गोरखा:  उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दो क्षेत्रमा भारी हिमपात भएको छ । गए रातिदेखि लगातार हिमपात भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । चैतको अन्तिम सातामा परेको हिमपातले चिसो बढेको उहाँले बताउनुभयो ।  “गए रातिदेखि नै साम्दो र आसपासका क्षेत्रमा परेको हिमपातले घरका छानादेखि जमिनसम्म ढाकिएका छन्, हिमपातले यस क्षेत्रमा चिसो एक्कासी बढेको छ”, उहाँले भन्नुभयो । साम्दोगाउँ समुद्री सतहदेखि करिब तीन हजार ८७७ मिटरको उचाइमा पर्छ । हिमपातका कारण लार्केपास गर्न हिँडेका पर्यटक रोकिएका छन् ।  स्थानीयवासीलाई घरबाहिर निस्कन कठिन भएको छ । हिमपातसँगै पर्यटक होटलमा आश्रय लिएर बसेको अध्यक्ष लामाले बताउनुभयो । लार्केपास पदमार्ग पूरै हिउँले ढाकेको छ ।

काठमाडौं:  नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा रु पाँच हजार ७०० ले बढेको हो ।      नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ७५ हजार ४०० मा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला रु एक लाख ८१ हजार १०० कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।       साथै चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला रु एक हजार ८३५ रहेको चाँदीको मूल्य आज प्रतितोला रु एक हजार ९०० पुगेको छ । 

तनहुँ: शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा हर्कपुर मोटरमार्गअन्तर्गत बेसारेगौडा खण्डमा ट्रयाक खुलेको ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ ।  शुक्लागण्डकी नगरपालिकाले रु दुई करोड दुई लाख छुट्याएर सडक कालोपत्र गर्न थालेको हो ।  शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले पहिलो चरणमा आठ सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गरिने जानकारी दिनुभयो ।  नगर क्षेत्रका सडक क्रमशः  स्तरोन्नति गरिने उहाँले बताउनुभयो । 

काठमाडौं:  चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सदस्य सम्मिलित २० सदस्यीय प्रतिनिधिमण्डल चीनको चोङकिङ सहरमा आइपुगेको छ । माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा नेतृत्वको प्रतिनिधिमण्डललाई चोङकिङ नगरमा बुधबार चिनियाँ कम्युनिष्ट पार्टीको चोङकिङ नगरपालिका पार्टी स्कुलका नेता वाङ तियानलियाङले स्वागत गर्नुभयो । प्रतिनिधिमण्डलमा पार्टी केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, रामदीप आचार्य, माओवादी केन्द्रको अन्तरराष्ट्रिय विभाग, स्कुल विभाग, मजदूर तथा बुद्धिजीवी सङ्गठन, अखिल (क्रान्तिकारी)लगायत विभागका सदस्य सहभागी हुनुहुन्छ । चोङकिङ चीनको महत्वपूर्ण आर्थिक र व्यापारिक केन्द्र हो भने चीनमा केन्द्रीय सरकार मातहत रहेका चार सहरमध्ये एक हो । 

डोटी: डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।  हुरी, असिनापानीसँगै परेको चट्याङ लागेर गए राति सायल गाउँपालिका–६ दल्लेखमा एक महिलाको मृत्यु भएको र सात जना घाइते भएका प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार स्थानीय लहरी नागरीको घरमा चट्याङ पर्दा उहाँकी श्रीमती ३३ वर्षीया कमला नागरीको मृत्यु भएको हो । मृतक नागरीकी १० वर्षकी छोरी तारा, ८ वर्षका छोरा अविषेक, ६ वर्षका छोरा अवि, तीनमहिने छोरा शङ्कर नागरी घाइते भएका हुन् ।  यसैगरी, सोही स्थानकी ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाईं र भीम नागरीकी ६ वर्षीया छोरी खुसी नागरी घाइते भएकी प्रहरी उपरीक्षक शर्माले बताउनुभयो ।  

मुस्ताङ: यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस्थित सदार्वत गुठीको ठूलो हिस्सा जमिन रैतानेमा परिणत गरिएको छ ।  म्याग्दीका साबिक छवटा गाविसमा रहेको यस मन्दिरको स्वामित्वमा रहेको जग्गा भोगचलनकर्ताहरूले प्रचलित सरकारी जग्गाको दरभाउअनुसार संस्थानलाई तोकिएको शुल्क बुझाएर आफ्नो बनाइसकेका छन् ।      मुक्तिनाथ विकास समितिका सदस्यसचिव एवं मालपोत कार्यालय मुस्ताङका प्रमुख सूर्यप्रसाद अर्यालले म्याग्दीमा रहेको सदार्वत गुठी संस्थानको ठूलो क्षेत्रफल जग्गा निजी सरह बनाइसकेको जानकारी दिनुभयो ।  म्याग्दीको राखुस्थित भगवती, पिप्ले, मौवाफाँट, कटुवाल, दोवा र दानामा अवस्थित गुठीको कुल २८ हजार ८९३ रोपनी क्षेत्रफल जग्गामध्ये १७ हजार ५४५ रोपनी जग्गा रैताने बनाइएको उहाँले जानकारी दिनुभयो । त्यसबेला म्याग्दीको राहुघाटसम्म मुस्ताङ जिल्ला रहेको सदस्यसचिव अर्यालले बताउनुभयो ।      मुक्तिनाथ मन्दिरमा जाने भक्तजनहरूको सेवासुविधाका लागि तत्कालीन राजाले त्यस क्षेत्रको खेतीयोग्य जमिन र वनजङ्गललगायत जग्गा मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहने गरी सदार्वत गुठी संस्थान स्थापना गरेको भइतिहास छ ।  संस्थानको सो जग्गा नियमानुसार स्थानीयले भोगचलन गर्न पाउने र त्यसबापत आम्दानीको केही हिस्सा मुक्तिनाथ मन्दिरमा बुझाउनुपर्ने प्रावधान तोकिएको थियो ।       जग्गा भोगचलन गर्दै आइरहेकाहरूलाई जग्गा रैतानेमा परिणत गर्न पाउने व्यवस्थाअनुसार तोकिएको शुल्क सदार्वत गुठीलाई बुझाएर जग्गा निजी बनाइएको समितिका सदस्यसचिव अर्यालको भनाइ छ ।  त्यसबापत मालपोत कार्यालय म्याग्दीद्वारा गुठी संस्थानको अक्षय कोषमा रु ११ लाख ७५ हजार ७१३ जम्मा भएको तर त्यसको हिस्सा मुक्तिनाथ मन्दिरलाई प्राप्त नभएको उहाँले जानकारी दिनुभयो ।      अब गुठीका नाममा ११ हजार २४८ रोपनी क्षेत्रफल जग्गा बाँकी छ । त्यो जग्गा गुठीकै नाममा सुरक्षित रहेको छ । यसैगरी, मुक्तिनाथ मन्दिरका नाममा साबिक मुक्तिनाथ गाविस–१÷ङ को कित्ता नं १ देखि ३३ सम्मको क्षेत्रफलमा ४९३ रोपनी १३ आना जग्गा रहेको जनाइएको छ ।  साबिक मुक्तिनाथ गाविस–१÷ग को कित्ता नं ३०० र ३०१ कित्तामा छ रोपनी १२ आना जग्गा मुक्तिनाथ धर्मशालाको नाममा रहेको सदस्यसचिव अर्यालले जानकारी दिनुभयो ।