पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

ताङतिङ युवा क्लबले ३१ औं चैत मेलाको अवसरमा गाउँकै पर्यटकीय गन्तव्य क्रपु डाँडाको नाममा आयोजना गरेको म्याराथनमा  नेपाल आर्मीका नरेन्द्रसिंह रावतले उपाधि जितेका छन् ।   ताङतिङ युवा क्लबको आयोजनामा पोखरा महानगरपालिका-१३ काहुँखोलादेखि मादी गाउँपालिका-२ ताङतिङसम्म शुक्रबार भएको २४ किलोमिटरको म्याराथन रावतले जितेका हुन् ।   उनले निर्धारित दूरी १ घण्टा ४५ मिनेटमा पूरा गरेको क्लबका अध्यक्ष हिमाल गुरुङले जानकारी दिए । रावतले ४० हजार रुपैयाँ र मेडल पुरस्कार प्राप्त गरे ।   म्याराथनको विजेतामा आर्मीकै धावकको वर्चस्व रह्यो । उत्कृष्ट ७ मध्ये ५ धावक आर्मीकै रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।   आर्मीकै श्रीकोश राई १ घण्टा ४६ मिनेट ३० सेकेन्डमा निर्धारित दूरी पार गरेर द्वितीय भए । उनले ३० हजार रुपैयाँ र मेडल पाए ।   जुम्लाका दलबहादुर कुँवर तृतीय र रोल्पाका मनकुमार रोकामगर चौथो भए । कुँवरले १ घण्टा ४८ मिनेट ३५ सेकेन्डमा र मगरले १ घण्टा ५० मिनेट ३० सेकेन्डमा दूरी पूरा गरे । कुँवरले २० हजार रुपैयाँ, मगरले १० हजार रुपैयाँसहित मेडल पाए ।   आर्मीका सुवास कार्की पाँचौँ, गोविन्द कार्की छैटौं र रिकुलाल सिंजाली सातौं भए ।   सुवासले १ घण्टा ५१ मिनेट ३० सेकेन्ड, गोविन्दले १ घण्टा ५३ मिनेट ३० सेकेन्ड र रिकुलालले १ घण्टा ५५ मिनेट १० सेकेन्डमा दूरी पूरा गरेका थिए । उनीहरुले क्रमश: ८ हजार, ६ हजार र ५ हजार रुपैयाँसहित मेडल प्राप्त गरे । म्याराथनमा ८७ जना धावक सहभागी थिए । 

पोखरा:   होटल संघ पोखरा नेपालले आगामी ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म लेकसाइडमा २० औं फेवा नववर्ष महोत्सव आयोजना गर्दैछ ।    त्यसका लागि पत्रकार सम्मेलनमार्फत निम्तो दिन होटल संघको टोली काठमाडौं पुगेको हो ।     सो अवसरमा बोल्दै महोत्सवका संयोजक तथा होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले नेपाली संस्कृतिको जगेर्ना गर्दै पोखराको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यसहित विगत २२ वर्षदेखि नववर्ष महोत्सवको आयोजना हुँदै आएको बताए ।  उनले कोरोना भाइरसको महामारीका कारण दुई वर्ष महोत्सव रोकिएको जानकारी दिदैं फेरि लयमा फर्किएको बताए ।    उनका अनुसार सो महोत्सव खहरेदेखि ड्यामसाइडसम्मको सडकमा आयोजना हुनेछ ।    उक्त महोत्सवमा प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शनी, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता लगायतका कार्यक्रमहरु समावेश गरिने  निवर्तमान अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।    उनका अनुसार महोत्सव अवधिमा पर्यटकलाई २० प्रतिशत छुट दिइने छ ।   सो महोत्सवले पोखरा महानगरपालिकाले घोषणा गरेको भिजिट पोखरा इयर २०२५ अन्तर्गत २० लाख पर्यटक पोखरा भित्र्याउने लक्ष्यलाई टेवा पुर्याउने विश्वास लिइएको छ ।   महोत्सवको मुख्य प्रायोजकका रुपमा गोर्खा ब्रुअरी प्रा.लि, सहप्रायोजकका रुपमा बरुण बेभरेज प्रालिको पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केवलकार प्रालि, फोन पे, अन्नपुर्ण केवलकार प्रालि, टोकला चिया रहेका छन् ।    यस्तै इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी रहेको छ भने, प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, र पोखरा महानगरपालिकका रहेका छन् ।  

जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर गएराति गएको ५.२ म्याग्निच्युड र ५.५ म्याग्निच्युडका दुईवटा भूकम्पमा परी आठजना घाइते भएको छ ।   राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिलेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार भूकम्पमा परी रुकुमपश्चिममा दुई र जाजरकोटमा ६ जना घाइते भएको जनाएको छ ।   प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जाजरकोट, रुकुमपश्चिम र कालीकोट जिल्लाका केही निजी आवास तथा सरकारी भवनहरुमा सामान्य चिरा परेको एवं भवनहरु चर्किएको विवरण जनाएको छ ।   अधिकांश व्यक्तिहरु बसिरहेका भवन संरचना भत्किएरभन्दा पनि भूकम्प आएको बेला आत्तिएर घरको छत वा अग्लो भागबाट हामफाल्दा, असावधानीपूर्वक घरबाहिर अत्तालिएर भाग्न खोज्दा घाइते भएका पनि प्राधिकरणले जनाएको छ ।   प्राधिकरणले आज जारी गरेको सूचनामा भनिएको छ, “भूकम्प गएको बेला वरपरको स्थिति समेत विचार गर्दै सावधानीपूर्वक सुरक्षित स्थानमा जान, अब उप्रान्त भवन संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधी हुने गरी बनाउन एवं भूकम्पीय सुरक्षाको दृष्टिकोणबाट पालना गर्नुपर्ने नियमहरुको अनुशासनपूर्वक पालना गर्न सबैमा प्राधिकरण विशेष अनुरोध गर्दछ ।”

पोखरा:  अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गर्दा देउरालीको हिम पहिरोमा पुरिएर बेपत्ता भएका चिनियाँ नागरिक मृत फेला परेका छन् ।  यही चैत ११ गते अन्नपूर्ण बेस क्याम्पबाट एक्लै फकिैदै गरेका २७ वर्षीय चिनियाँ नागरिक चेङ योङयन देउरालीको हिम पहिरोमा पुरिएर बेपत्ता भएका थिए ।    अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका पर्यटक बेपत्ता भएको सूचनापछि खोजी तथा उद्धारका लागि  सशस्त्र प्रहरी बलको कालिका गणबाट खटिएको टोलीले हिम पहिरोमा बेपत्ता भएका चिनियाँ नागरिक चेङलाई १३ दिनपछि मादी नदीको किनारामा मृत फेला पारेको हो ।   यो पनि पढ्नुहोस   फलोअप: बेपत्ता छोरा खोज्न चीनबाट नेपाल आइपुगे ‘इ जोङ वी’  

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्कनुभएको छ ।        प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा अङ्गका प्रमुखले स्वागत गर्नुभयो ।  प्रधानमन्त्रीको स्वागतमा नेपालस्थित कूटनीतिक समुदायका डीन, नेपालका लागि इजिप्टका राजदूत र नेपालका लागि थाइल्याण्डका कार्यवाहक राजदुत स्वागतका लागि विमानस्थल पुग्नुभएको छ । त्यसअघि नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्रीलाई सम्मान गारत अर्पण गरेको थियो ।        थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्को मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही चैत १९ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।  थाइल्याण्डमा रहँदा प्रधानमन्त्री ओलीले छिमेकी भारतका प्रधानन्त्री नरेन्द्र मोदीलगायत विभिन्न मुलुकका समकक्षीसँग आपसीहित र चासोका विविधि विषयमा छलफल गर्नुभएको थियो ।       प्रधानमन्त्री ओली यही चैत २२ गते बिम्स्टेक शिखर सम्मेलनमा सम्बोधन समेत गर्नुभएको थियो । त्यसअघि प्रधानमन्त्री ओेली चैत २१ गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका सरकार वा राष्ट्रप्रमुखको नेताहरूको सम्मानमा आयोजना हुने रात्रिभोजमा सरिक हुनुभएको थियो । शिखर सम्मेलनका क्रममा सदस्य मुलुकका समकक्षी एवं राष्ट्रप्रमुखहरूसँग भेटवार्ता समेत गर्नुभएको थियो ।         प्रधानमन्त्रीका साथ प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक एवं विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र सचिव अमृत राई समेत स्वदेश फर्कनुभएको छ ।   

ललितपुर: बागमती गाउँपालिका–३ छपेलीबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्ससहित लागुऔषध बरामद गरेको छ ।       मकवानपुरबाट कान्तिलोकपथ हुँदै काठमाडौँ आउँदै गरेको बिआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो ।      रेग्मीका अनुसार भट्टेडाँडामा नियमित जाँचका क्रममा एम्बुलेन्समा ९४ हजार ८० वटा ट्याब्लेट ट्रामाडोल बरामद गरिएको हो । लागुऔषध कारोबारमा संलग्न केही व्यक्तिहरूलाई पनि पक्राउ गरिएको उहाँले जानकारी गराउनुभयो । “बिरामीलाई उपयोग गरेर लागुऔषध ओसारपसार भएको छ, आठ वर्षको बच्चा, १६ वर्षको युवा र बिरामी महिलालाई उपयोग गरेर कारोबारीहरुले आफ्नो योजना बनाएको देखिन्छ, एम्बुलेन्स चालकसहित एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ, उनीहरुको साथबाट तीन थान मोबाइल सेटसमेत बरामद भएको छ”, उहाँले भन्नुभयो । 

काठमाडौं:   चैते दसैँ पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।  उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, श्वेतकाली, रक्तकाली, कलङ्कीमाई, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, नरदेवी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजनको भीड लागेको छ ।    यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ ।  चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ । वर्षभरका चार नवरात्रमध्ये आश्विन र चैत्र शुक्ल पक्षमापर्ने नवरात्रमा दुर्गा भगवतीको विशेष आराधना गरिन्छ ।   नवरात्रभर साधना गर्नेले नौ दिनसम्म दुर्गादेवीको विशेष पूजा आराधना गर्छन् । अरु दिन पूजा नगर्नेले चैत्र शुक्ल अष्टमीका दिन शक्तिपीठमा गई पूजा आराधना गर्ने गरेका छन् ।  चैते दसैँसमेत भनिने चैत्र शुक्ल अष्टमीका अवसरमा आज शनिबार पनि परेकालेसमेत शक्तिपीठमा विशेष भीड देखिएको छ । सामान्य शनिबार पनि गुह्येश्वरीलगायत देशभरका शक्तिपीठमा भक्तजनको विशेष भीड लाग्ने गर्छ । गुह्येश्वरीमा चैते दसैँका अवसरमा आज बिहानैदेखि आउने भक्तजनको भीड बढेको स्थानीयवासीसमेत रहनुभएका ज्योतिष हरिप्रसाद सोडारीले जानकारी दिनुभयो ।

सङ्खुवासभा:  सङ्खुवासभाको सभापोखरी गाउँपालिकाले  करेन्ट लगाएर माछा मारे रु एक लाखसम्म जरिवाना गर्ने निर्णय गरेको छ ।  गाउँपालिकाले निषेधित क्षेत्र तोकेको सभाखोला र लङ्खुवा खोलामा करेन्ट लगाएर माछा मारे रु एक लाखसम्म जरिवाना गर्ने निर्णय गरेको हो ।  सभापोखरी गाउँपालिकाको २१ गते बसेको कार्यपालिका बैठकले सभाखोला र लङ्खुवा खोलाको संरक्षण क्षेत्रमा वा निषेधित क्षेत्रमा करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना गर्ने निर्यण गरिएको सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले जानकारी दिनुभयो ।  त्यस्तैगरी क्षेत्रमा जाल हान्ने, बल्छी, घरुवा, दुवालीको प्रयोग गरी माछा मार्नेलाई रु ५० हजार जरिवाना गर्ने निर्णय गरिएको उपाध्यक्ष चापागाईंले बताउनुभयो । गाउँपालिकाले प्रहरी प्रशासनको सहयोगमा माछा मार्ने व्यक्तिलाई प्रकाउ गरी जरिवाना असुल गर्ने र सो रकमको १५ प्रतिशत सम्बन्धित प्रहरी प्रशासनलाई प्रोत्साहानस्वरुप दिइने प्रमुख प्रशासकिय अधिकृत बुकुप्रसाद आचार्यले बताउनुभयो ।  त्यसैगरी निषेधित क्षेत्रमा मार्ने व्यक्तिको बारेमा गोप्य सूचना दिनेलाई ५ प्रतिशत रकम प्रोत्साहन उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।  जरिवाना असुल गर्न नसकिए नेपाल सरकारको प्रचलित कानुन बमोजिम मुद्दा दर्ताको लागि सिफारिस गर्ने जनाएको छ । 

काठमाडौं: नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदान सुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । निर्वाचनमा ४ बजेसम्म मतदान गर्न सकिन्छ । बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला रहनुभएको छ, भने वरिष्ठ अविधक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको छ । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार नयाँ कार्यसमिति छनोट गर्नका लागि नौ हजार नौ सय ५७ मतदाता रहेका छन् ।  बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको छ । मतदान केन्द्र काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेको छ । काठमाडौँ मतदान केन्द्र सर्वोच्च अदालतको परिसरमा रहेको छ । यो केन्द्रमा करिब ६ हजार मतदाता रहेका छन् ।