पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

मनाङ:  हिमाली जिल्ला मनाङका चार स्थानीय तहलाई सङ्घीय सरकारबाट रु ३७ करोड ३६ लाख बजेट विनियोजन भएको छ ।  जिल्लाका चार पालिकालाई सङ्घ सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो । सबैभन्दा बढी मनाङ प्रवेश पालिका नासों गाउँपालिकालाई रु१९ करोड ७१ लाख बजेट विनियोजन गरिएको छ ।   चामे गाउँपालिकालाई रु१६ करोड ९७ लाख, मनाङ ङिस्याङ गाउँपालिकालाई रु१६ करोड ४४ लाख र नार्पाभूमि गाउँपालिकालाईरु१४ करोड २४ लाख बजेट विनियोजन भएको मनाङ ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीनारायण यादवले जानकारी दिनुभयो ।   सङ्घीय सरकारले सशर्त, विशेष अनुदान, समपूरक अनुदान, राजस्व बाँडफाँटलगायत शीर्षकमा स्थानीय तहलाई अनुदान दिने गरेको छ । सङ्घ सरकारले रणनीतिक (मनाङको मेरुदण्ड) डुम्रे–बेँसीसहर–चामे मनाङ सडक निर्माणका लागि बजेट विनियोजन गरेको छ । बहुवर्षीय योजनाका रूपमा सङ्घ सरकारले रु६१ करोड २८ लाख बजेट विनियोजन गरेको छ ।   प्रदेश सरकारले दिने अनुदान, सङ्घीय अनुदान र स्थानीय स्रोतसमेत समावेश गरेर स्थानीय तहले बजेट निर्धारण गरेको छ । सङ्घीय सरकारको बजेट आएसँगै मनाङका स्थानीय तहले धमाधम नीति तथा कार्यक्रम र बजेट निर्धारणका लागि योजना तर्जुमा भेला गरी सुझाव सङ्कलन गरिरहेका छन् ।

काठमाण्डौँ:   प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी छ । बैठकमा नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा उत्पादन बढाउने कुरा गरे पनि कृषि क्षेत्रको समस्या समाधानमा ध्यान नदिएको बताउनुभएको छ ।     अहिले पनि किसानले मल नपाउने अवस्था रहेकाले त्यो समस्याको समाधान नगरी कृषि उत्पादन बढाउन नसकिने उहाँको तर्क थियो । वर्षे बाली लगाउने समयमा भारतबाट  मल कहिले आउँछ टुङ्गो नभएको अवस्थामा मलमा बजेट आधा छुट्टाएर उत्पादन बढाउन नसकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पैसा भएर त किन्ने अवस्था छैन भने बजेट घटाएर कसरी बढाउन सकिन्छ ।”     खाद्यमा अन्तशुल्क लगाउँदा विदेशी खाद्यान्नको आयात बढ्ने पूर्वअर्थमन्त्री पाण्डेले बताउनुभयो । बिस्कुट, कुकिजलगायत स्वदेशमा नै उत्पादन हुने खाद्यान्नमा अन्तशुल्क बढाउँदा विदेशी खाद्यान्न सस्तो पर्ने उहाँले बताउनुभयो । सेनेटरी प्याडमा ९० प्रतिशतसम्म आयकर छुट दिँदा  देशभित्रका उद्योग सुक्दै जानसक्ने उहाँले बताउनुभयो ।       सरकारले कयौँ योजना थपेको छ कतिपय छाडेको पूर्वमन्त्री पाण्डेले बताउनुभयो । निर्वाचनको वर्ष भएकाले यो वर्ष बजेट कार्यान्वयन जम्मा चार महिनामा गर्न गाहे हुने उहाँले बताउनुभयो । सरकारले चाहेर पनि पेट्रोलियम पदार्थलगायतका बस्तुको आयात रोक्न नसक्ने उहाँको भनाइ छ । 

दार्चुलाः   दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ ।    वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित कोलीको मृत्यु भएको नगरप्रमुख नरसिंह चैसिरले बताउनुभयो ।    पेटसम्बन्धी समस्याका कारण जिल्ला अस्पताल लैजाँदै गर्दा कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुव विष्टले जानकारी दिनुभयो ।  

काठमाण्डौँः   सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ८०० ले घटेको हो ।      नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० थियो ।           त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३१ डलर आसपास कारोबार भइरहेको छ ।

 चितवनः   भूूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूूमिहीनको समस्या अन्त्यका लागि परिणाम निकाल्ने र जनताले महसुुस गर्ने गरी काम गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिनुभएको छ ।       राष्ट्रिय भूमि आयोगले चितवनमा आयोजना गरेको केन्द्र र प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमा उहाँले संविधानले सुनिश्चित गरेका जनताका नैसर्गिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।        जग्गा भएकै नाताले कोही अर्बपति हुने र जग्गा नभएकै कारण कोही सडकपति हुने लोकतन्त्रको कलङ्कलाई सधैँका लागि नामेट पार्न राष्ट्रिय भूमि आयोगको अवधारणा अघि सारिएकाले सोहीअुनसार काम हुनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।        भूमिहीनलाई भूमि दिने विषयलाई उच्च प्राथमिकतामा राखेर सरकारले नीति तथा कार्यक्रममार्फत अबको दुई वर्षभित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएको उहाँको भनाइ थियो ।              राष्ट्रिय भूमि आयोगमार्फत ७७ वटै जिल्लाबाट आवश्यक कार्यप्रारम्भ भइसकेको छ । आयोगमार्फत भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको व्यवस्थापन गर्न ४१९ स्थानीय तहसँग सम्झौता भएको । अठसठ्ठी स्थानीय तहबाट नापनक्साको कार्य प्रारम्भ भएको छ । साथै सिन्धुली, चितवन, मकवानपुरबाट भूमिहीन दलितलाई पूर्जा वितरणको कार्य प्रारम्भ भएको छ ।

रोल्पाः   गृह मन्त्रालयले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कारागारभित्रका बन्दी सुन्दर हरिजनको आत्महत्या गरेको घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ ।      मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईँको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । गृह मन्त्रीस्तरीय निर्णयबाट गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जानकारी दिनुभयो ।      समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहनुभएको छ । यसअघि हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँ नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाइसकेको भट्टराईले जानकारी दिनुभयो ।

काठमाण्डौँ:     प्रतिनिधिसभाको आजको बैठकले सांसद स्व डा डिम्पलकुमारी झाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।   बैठकले सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । बैठकले उहाँको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुका साथै एक मिनेट मौनधारण गरिएको थियो ।   विसं २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य झाको ४४ वर्षको उमेरमा गत वैशाख १० गते क्यान्सर रोगको उपचारको क्रममा निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १८ गते बुधबार बिहान ११ बजे बस्नेछ ।

पोखरा:   वडा प्रहरी कार्यालय बैदामको हिरासतमा रहेका नेकपा एमाले निकट भातृ विद्यार्थी संघ अनेरास्ववियुका ४ विद्यार्थी नेता रिहा भएका छन् ।   सरकारी गाडी नियन्त्रण गर्ने क्रममा बिहान पक्राउ परेका अनेरास्ववियुका केन्द्रीय सदस्य किशोर सुवेदी, जिल्ला सचिवालय सदस्य विवेक ओझा, विजय भुजेल र महानगर कमिटीका कोषाध्यक्ष अमित तिमिल्सिना रिहा भएका हुन् ।    उनीहरुले गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको गाडीलाई नियन्त्रणमा लिन खोजेका थिए । सोही क्रममा ४ जनालाई बैदाम प्रहरीले नियन्त्रणमा लिएको थियो ।   उनीहरुलाई आजै रिहा गरेपनि सरकारी एक महिला कर्मचारीलाई अभद्र व्यवहार गरेको कसुरमा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा कास्की सहइन्चार्ज महेन्द्र उपाध्याय ‘मन्नु’ र अनेरास्ववियु समर्थक माधव पौडेल पक्राउ परेका थिए ।  

पोखरा:     पोखरा–जोमसोम रुटमा उडान भर्दै आएको तारा एयरका विमान सात वर्षमा दुई ठूला दुर्घटनामा परेका छन् । आइतबार पोखराबाट बिहान ९ः५५ बजे उडेको २२ जना सवार तारा एयरकोे ९ एनएइटी ट्वीनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङस्थित सानुसरेमा दुर्घटनामा परेको थियो ।       प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण जहाज दुर्घटनामा परेको एक दिनपछि मात्रै हिमालको फेदीको सानुसरेमा जहाज ठोक्किएर दुर्घटना भएको घटनास्थल पत्ता लागेको थियो । दुर्घटनामा चालक दलसहित २२ जनाको मृत्यु भएको छ ।       जोमसोम विमानस्थल नपुग्दै कोबाङको सानुसरे डाँडोमा ठोक्किएर दुर्घटनामा परेको विमानमा सवार सबैको शव सङ्कलन गरी काठमाडौँ पठाइएको छ । तारा एयरको यसअघि २०७२ फागुन १२ गते तारा यएरको ९–एनएएचएच ट्वीनअटर विमान म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको सोलीघोप्टे भिरमा दुर्घटना भएको थियो ।       उक्त दुर्घटनामा दुई विदेशी नागरिक र चालक दलका तीनसमेत गरी २३ जनाको मृत्यु भएको थियो । सात वर्षको अवधिमा आइतबार भएको दोस्रो दुर्घटना हो । त्यसैगरी २०७३ भदौ ३ गते जोमसोमबाट पोखराका लागि उडान भर्न लागेको तारा यएरकै ९ एमइक्यु ट्वीनअटर विमान धावनमार्गमा पाङ्ग्रा नखुलेपछि कालीगण्डकी नदीमा खसेको थियो ।      पोखरा–जोमसोम रुटमा उडान भर्ने विमानले म्याग्दीको घोरेपानीसम्म पोखराको टावर र लेतेमाथिको आकाशदेखि जोमसोमसम्म जोमसोम विमानस्थलको टावरसँग सम्पर्क हुने भए पनि पहाड र हिमालको अवरोधका कारण घोरेपानीदेखि लेतेको आकाशसम्म विमान दुवैतर्फको सम्पर्कबाट विच्छेद हुन्छन् । योबीचको दूरी पार गर्न विमानलाई पाँचदेखि छ मिनेट लाग्ने गर्छ । दुवैतर्फको टावरबाट विच्छेद हुने ‘बफर जोन’को यही मार्गमा धौलागिरि र अन्नपूर्ण हिमालको बीच भएर विमानले उडान भर्नुपर्छ ।