दाङ: दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । राप्ती गाउँपालिका–४ श्री नारायण चोकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको लुअअजे ७००३ नम्बरको मिनी ट्रकको ठक्करबाट सोही वडा खिनैटा निवासी करिब ५२ वर्षीय बल्लु गिरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिनुभयो । शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको , ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मुस्ताङ: तारा एयरको जहाज दुर्घटना भएको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ । चालक दलका तीन जनासहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतविक्षत अवस्थामा आज बिहान गोठाला र स्थानीयवासीको टोलीले भेटाएका हुन् । कोवाङबाट हेलिकप्टरबाट गएका नेपाली सेना सहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली घटनास्थल पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । “पैदलमार्गबाट गएका करिब १०० को सङ्ख्यामा रहेका सुरक्षाकर्मीको टोली पनि घटनास्थल नजिकै पुगेको छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा घटनास्थलको सुरक्षा, यात्रुको खोजी र पहिचानमा जुटेका छन् ।” यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान सङ्कलन र मुचुल्का तयार पारेपछि हेलिकप्टरबाट कोवाङ ल्याउने योजना बनाइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सेना सहित , फिस्टेल र कैलाश एयरको एक÷एक हेलिकप्टर उद्धारमा परिचालन गरिएको बताउनुभयो । मौसम खुलेको अवस्थामा एक हेलिकप्टरले उडान गरेर उद्धारकर्तालाई घटनास्थलमा छोडेर नाउरीकोट आएको छ । कुहिरो हट्नै बित्तिकै हेलिकप्टरबाट थप उद्धारकर्ता पठाउने तयारी गरिएको छ । थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा भेटिएको छ । कुहिरो लागेको र प्रतिकुल मौसमका कारण आइतबार दिनभर जहाज खोज्ने प्रयास सफल भएको थिएन् । यार्सागुम्बा सङ्कलन गर्न गएका र गोठालाले नजिकैबाट उडेको जहाज पहाडमा ठोक्किएको आवाज सुनेको खबर गरेका थिए । काठमाडाँैबाट सेनाका उद्धारकर्ता आवश्यक सामग्रीसहित हेलिकप्टरबाट आइतबार नै मुस्ताङ पुगेका थिए । पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । स्थानीयका अनुसार कोवाङमाथिको आकाशबाट जहाज जोमसोम नगई पोखरा जान धौलागिरि र मानापाथी हिमालतर्फ मोडिएको जनाइएको छ । जहाजमा चालक दलका तीन र १९ जना यात्रु थिए । तारा एयरका अनुसार १२ नेपाली, चार भारतीय र दुई जर्मनी नागरिक थिए । उनीहरुको अवस्था अहिलेसम्म नखुलेको प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।
काठमाण्डौँ: सांसदहरूले यौनजन्य हिंसाका घटना र प्रकृतिमा फरकपना आई बढ्न थालेकाले कानुनमा बलात्कारकै पुनःपरिभाषा गरिनुपर्नेमा जोड दिनुभएको छ । बलात्कारका घटनामा उजुरी गर्न हदम्याद हुन नहुने बहस चलिरहेका बेला प्रतिनिधिसभा, महिला तथा सामाजिक समिति, महिला, कानुन र विकास मञ्च एवं इक्वालिटी नामको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘यौन हिंसासम्बन्धी कानुन, अन्तर्राष्ट्रिय अभ्यास र आगामी कार्यदिशा’ विषयक छलफल कार्यक्रममा सांसदहरूले विज्ञहरूसँग परामर्श गरेर ठोस कानुन निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । सांसद विमला विकले अपराध गर्नेलाई जेल राखेर मात्र पीडितलाई न्याय नहुने भएकाले पीडितलाई पहिलेकै अवस्थामा पुर्याउनुपर्नेमा जोड दिनुभयो । संसद् जारी रहेकाले बलात्कारका घटनामा हदम्याद हटाएर बलात्कारको पुनःपरिभाषा गरी विधेयक ल्याउनुपर्ने उहाँको भनाइ थियो । सांसद बीना श्रेष्ठले महिलामाथि हुने सबै हिंसालाई एउटै कानुनमा समेटेर ल्याउनुपर्ने विचार राख्नुभयो । बलात्कारका घटनामा हदम्याद हटाउनुर्ने र बलात्कारको पुनःपरिभाषा गरिनुपर्नेमा उहाँको जोड थियो । सांसद नारायणप्रसाद खतिवडाले देशको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थालाई हेरेर कानुन बनाउनुपर्ने बताउनुभयो । एउटा विषय उठेपछि कानुन बनाउनुपर्ने र अर्को घटना बाहिर आएपछि पछुताउन नहुने भएकाले कानुन बनाउँदै यस्ता विषयमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद विन्दा पाण्डेले पछिल्लो समय सौन्दर्य प्रतियोगिताका नाममा यौन शोषण भएको विषय सार्वजनिक भएको घटना जघन्य अपराधको एउटा उदाहरण भएकाले यसलाई अन्य घटनासँग तुलना गर्नु नहुने बताउनुभयो । सांसद लक्ष्मी परियारले चितवनको घटनामा श्रीमान्ले हात हालेर श्रीमतीको पाठेघर निकालेका जस्ता जघन्य अपराधले घटना फरक तरिकाले हुन थालेको उदाहरण रहेको भन्नुहँदै त्यसैअनुसार कानुन निर्माण हुनुपर्ने बताउनुभयो । महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले पछिल्लो घटना सार्वजनिक भएसँगै समितिले सरोकार भएका निकाय राखेर छलफल गरी हदम्यादको कानुनी व्यवस्था सुधार गर्न निर्देशन दिएको बताउनुभयो । एसिडपीडितका विषयमा छलफल गरेपछि त्यस विषयमा यसअघि सरकारले अध्यादेश ल्याएजस्तै बलात्कारका घटनामा हदम्याद हटाउने व्यवस्था पनि छिट्टै कानुनीरूपमा सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सांसदहरू अमृता थापा, थममाया थापा, प्रमिला कुमारी, समिति सचिव एकराम गिरीलगायतले महिला हिंसाका घटना निरन्तर बढिरहेकाले कानुन संशोधन एवं भएका कानुन कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले भारत, बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स र बेलायतमा पनि बलात्कारका घटनामा हदम्याद नभएकाले दोषीमाथि वर्षौँपछि पनि कारबाही हुने गरेको बताउनुभयो । नेपालमा यी अभ्यासलाई हेरेर हदम्याद हटाउनेलगायत कानुन सुधारका काममा पहिलो प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो । –––
काठमाण्डौँ: पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्ने कार्यलाई मानापाथी हिमालको फेदीतर्फ केन्द्रित गरिएको छ । भेडीगोठवाला स्थानीयद्वारा मानपाथी हिमालको फेदीतर्फ जहाज दुर्घटना भएको हुनसक्ने जानकारीका आधारमा खोजी टोली त्यसतर्फ केन्द्रित बनेको नेपाली सेनाका सेनानी प्रेम पौडेलले जानकारी दिनुभयो । स्थानीयद्वारा आशङ्का गरिएको दुर्घटना भएको ठाउँमा पुग्न कोवाङदेखि तीन घण्टा लाग्ने जनाइएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेका अनुसार बाक्लो हुस्सु लागेका कारण पोखराबाट खोजीका लागि गएको नेपाली सेनाको हेलिकोप्टर कोवाङमा अवतरण भएको भने अर्को फिष्टेल एयरको हेलिकोप्टर जोमसोम विमानस्थलमा रहेको छ । उक्त क्षेत्रमा जहाजको खोजीका लागि स्थलमार्ग हुँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली परिचालन भएको छ । पोखराबाट मुस्ताङको जोमसोमका लागि बिहान ९ः५५ बजे उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएसँगै त्यसको खोजीकार्यलाई तीव्र बनाइएको छ ।
काठमाण्डौँ: सरकारले नेपाली उत्पादन वृद्धि, रोजगारी सिर्जनाका रु तीन अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ । सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९र८० को राजस्व र व्यायको वार्षिक अनुमान बजेटमा सरकारी तथा सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगको व्यवस्था मिलाइने उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको बजेटमा पूर्वाधार निर्माण मेसिनरी औजार, नवप्रवर्तन प्रवद्र्धन गर्न प्रोत्साहन गरिने, युवा उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्केकालाई सहुलियतपूर्ण कर्जा प्रदान गरिने र लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि प्राथमिकता दिइने जनाइएको छ । यसैगरी बजेटले प्रदेशस्तरमा जडीबुटी उत्पादन प्रशोधन उद्योग स्थापना गर्ने, बहुमूल्य जडीबुटी उत्पादनमा प्रोत्साहन गर्ने र जडीबुटी खेतीको बिमा व्यवस्था गर्नुका साथै कपासखेती र रबरखेतीलाई प्रोत्साहन गर्नेसमेत व्यवस्था गरेको अर्थमन्त्री शर्माले बताउनुभयो । तुलनात्मक लाभ भएका स्वदेशी कच्चा पदार्थको ब्रान्डिङ गर्ने, नेपालबाट निकासी हुने वस्तुको गुणस्तर मापन गर्ने प्रयोगशालाको स्तरोन्नति गरिनेछ । निजी क्षेत्रमैत्री वातावरण निर्माण गरिनुका साथै उत्पादनमूलक उद्योग प्रवद्र्धन गरिने बजेटमा भनिएको छ ।
सरकारले आर्थिक वर्ष २०७९र८० को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट पेश गरेको छ । आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अवको बजेट पेश गर्नुभएको हो । बजेटले बाँझो जमिनलाई स्थानीय तहको संयोजनमा कृषि सहकारीलाई ‘लिज’मा उपलब्ध गराउने व्यवस्था उल्लेख छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेटले सबै स्थानीय तहमा स्नातक गरेका कृषि प्राविधिक र सबै वडामा प्राविधिकको व्यवस्था गर्ने जनाइएको छ । यसका लागि कृषिमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराइने छ । गुणस्तर बीउबिजनमा आत्मनिर्भर बनाउने कार्यक्रमसमेत बजेटमा उल्लेख छ । कुखुरालगायत पशपक्षीको खोप आयातमा सहजीकरण गर्ने व्यवस्था गरिने अर्थमन्त्री शर्माले बताउनुभयो । कृषि खाद्य प्रविधि र पशुपक्षी रोग प्रयोगशालालाई पूर्वाधारयुक्त, गुणस्तरीय र नगदेबाली खेती गर्न किसानलाई पेरित गरिने बजेटमा उल्लेख छ । आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।
पोखरा: पोखराबाट मुस्ताङका लागि उडेको तारा यएरको नाइन एन एइटी ट्विनअटर विमान आज बिहान औसतभन्दा कम उचाइमा थासाङ पुगेको थियो । हल्का वर्षा भइरहेका समयमा घरभन्दा केही माथि जहाज दुई तीनपटक घुमेको देखेको थासाङ गाउँपालिका–२ बोक्सेखोलाका विकल बागदासले बताउनुभयो । “हामी खाना खाँदै थियौँ, जहाज धेरै पटक घुमेको थियो”, उहाँले भन्नुभयो, “हल्का कुहिरो लागेर पानी परिरहेको थियो” । उहाँले यसअघि मुस्ताङ जाने जहाज यति धेरै तल आएको नदेखेको बताउनुभयो । “घरमै ठोकिन्छ जस्तो गरेर दुई, तीन पटक घुम्यो, हामी गाउँले सबैले बाहिर निस्केर हेरेका थियौँ”, उहाँले भन्नुभयो, “केहीबेरमा अलिमाथि उडेर गयो, पानी परेकाले घुमेको होला भन्ने लागेको थियो ।” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘इमरजेन्सी लोकेसन ट्रान्समिटर सङ्केत’ फेला परेको छ । सङ्केतअनुसार जहाज केही वस्तु वा पहाडमा ठोकिएको देखिन्छ । तर जहाज ठोकिएको आशङ्का गरिएको स्थान मानव बस्तीभन्दा निकै उच्च पहाडमा पर्ने उहाँले बताउनुभयो । “त्यो पहाड निकै टाढा र अप्ठ्यारो ठाउँमा हो, अहिले त जान सकिँदैन”, उहाँले भन्नुभयो, “आकाश खुल्यो भने हेलिकप्टरमा जान सकिएला ।” सम्पर्कविहीन भएको तारा एयरको विमानमा १९ जना यात्रु लिएर बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार म्याग्दी, मुस्ताङ, पर्वत र कास्कीका सम्भावित सबै ठाउँमा खोजी भइरहेको भए पनि जहाज सम्पर्कविहीन नै छ । अहिले मुस्ताङका अधिकांश ठाउँमा बाक्लो बादल लागेर पानी परिरहेको स्थानीयले बताए ।
इलाम: प्रदेश नं १ को नाम सबै समुदायलाई मान्य हुने गरी ‘किरात सगरमाथा’ राख्न आग्रह गरिएको छ । किरात धर्मगुरु माहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ आश्रम माङसेबुङ, इलामद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पाँच हजार वर्ष अगाडि महाभारतकालीन इतिहासमा ‘किरात’ उल्लेख भएको हुनाले यस प्रदेशको नामकरण ‘किरात सगरमाथा’ राख्नुपर्नेमा जोड दिइएको हो । धर्मगुरुका निजी प्रवक्ता डिल्लीराम चाम्लीङले किरात प्राकृतिक,भौगोलिक, सांस्कृतिक सबै दृष्टिकोले उत्कृष्ट रहेकोले सोही नाम राखेमा सम्पूर्ण प्रदेशवासीको अपनत्व हुने विचार व्यक्त गर्नुभयो । किरात राई समाजका दशरथ रुम्दालीले प्रदेशको नामाकारण नहुँदा यस क्षेत्रका जनता समस्यामा परेकाले अविलम्ब उत्कृष्ट सभ्यताको किरात र विश्वको सर्वोच्च शिखरसहितको संयक्त नाम राख्नु उत्तम हुने धारणा व्यक्त गर्नुभयो । समाजसेवी धनराज मेयाङवोले पनि किरात सभ्यता विश्वमा पहिचान र सबै धर्मसंग सम्बन्धित रहेकाले ‘किरात सगरमाथा’ प्रदेश नै नामकरण गर्न सरकारसँग आग्रह गर्नुभयो ।
काठमाडौँ: नेपाल सरकारले शिक्षामा सूचना र प्रविधिको उपयोग बढाइ गुणस्तर सुधार्ने नीति लिएपछि मुलुकका ५१ दशमलव २५ प्रतिशत सामुदायिक विद्यालयमा कम्प्युटर सुविधा पुगेको छ । हाल मुलुकभर २६ हजार ४५४ सामुदायिक विद्यालय रहेकामा १३ हजार ५५९ विद्यालयमा कम्प्युटर उपलब्ध भई आठ हजार ६७६ विद्यालयका शिक्षण क्रियाकलापमा सूचना र प्रविधिको प्रयोग हुन थालेको छ । सूचना प्रविधिको उपयोगबाट शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन तीन हजार १९३ माध्यमिक तहका विद्यालयमा सूचना प्रविधि प्रयोगशाला आइसिटी ल्याब स्थापना गरिएको नेपाल सरकार, अर्थ मन्त्रालयको ‘मन्त्रालयगत प्रगति विवरण’ मा जनाइएको छ । शैक्षिक पूर्वाधार निर्माणमा केन्द्रित ‘राष्ट्रपति शैक्षिक सुधार’ कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा भौतिक सेवा सुविधा सुधार, आइसिटी ल्याब व्यवस्थापन तथा प्राविधिक धार सञ्चालनमा रहेका विद्यालयको प्रयोगशाला सुदृढीकरणका लागि यस आर्थिक वर्षमा विद्यालय छनोट भई सःशर्त अनुदानका रुपमा स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको छ । हालसम्म यस कार्यक्रमबाट चार हजार १७२ सामुदायिक विद्यालयले अनुदान प्राप्त गरेका छन् । सो कार्यक्रमबाट सामुदायिक विद्यालयमा डिजिटल पुस्तकालयमा आइटी ल्याब व्यवस्थापनका लागि यस वर्ष दुई हजार १८१ विद्यालय छनोट भई वित्तीय हस्तान्तरण भएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा आगामी दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा निःशुल्क ब्रोडब्याण्ड इन्टरनेट सेवा पु¥याउने उद्देश्यका साथ मुलुकभरका ६० प्रतिशत विद्यालयमा सेवा विस्तार गर्ने लक्ष्य लिएको थियो । सो लक्ष्य अन्तर्गत सबै माध्यमिक विद्यालय र आधारभूत तह कक्षा ६ देखि ८ सम्मका विद्यालयलाई इन्टरनेट शुल्क उपलब्ध गराउने र थप एक हजार १२ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापनाका लागि स्थानीय तहलाई वित्तीय हस्तान्तरण गरिएको छ । अघिल्लो सरकारले सुरु गरेको सो राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाटै सरकारले चालु आर्थिक वर्षमा प्रदेशस्थित तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना, विकास र सञ्चालन कार्यविधि, २०७८ जारी गरेको छ । कोभिड–१९ को प्रभावका कारण भौतिकरुपमा विद्यालय सञ्चालन नभएका अवस्थामा सरकारले चालू आर्थिक वर्षको बजेटमा वैकल्पिक शिक्षण सिकाइ कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्दै विद्यालय जान नपाएका विद्यार्थीलाई लक्षित गरी सिकाइ पोर्टलको विकास तथा नेपाल टेलिभिजनमार्फत शैक्षिक च्यानल सञ्चालनमा ल्याउने उल्लेख गरेको थियो । सो कार्यक्रम कार्यान्वयनका क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत पाठ्यक्रममा आधारित थप श्रव्य तथा श्रव्यदृष्य पाठ उत्पादन कार्य गराउन विषयको नक्साङ्कन र स्क्रिप्ट विकास कार्य सम्पन्न गरेको छ । कक्षा १ देखि १० सम्ममा ५९० श्रव्यदृष्य पाठ उत्पादन भएको छ । ती पाठहरु एनटिभी प्लस, डिसहोम, माक्स टिभी, मेरो टिभी, नेट टिभी र क्ल्यिर टिभीको स्कुल एजुकेशन च्यानलबाट नियमितरुपमा प्रसारण भइरहेको छ । यसैगरी सरकारले दृष्टिविहीन विद्यार्थीलाई ब्रेल पाठ्यपुस्तक छपाइ गरी निःशुल्क वितरण गर्ने कार्यक्रम राखेको छ । विद्यालयमा कम्प्युटर र सूचना प्रविधि प्रयोगशालाको उपलब्धता बढे पनि उचित प्रयोग भएको छ या छैन भन्नेबारेमा हालसम्म अनुगमन र अध्ययन भने भएको छैन । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका उपमहानिर्देशक डिल्लीराम लुइँटेलले कोभिडको अवधिमा घरघरबाट पनि सूचना प्रविधिको प्रयोगबाट शिक्षण सिकाइ गराइएको तर विद्यालयमा आइसिटी ल्याबको शतप्रतिशत प्रयोग भएको सुनिश्चिता गर्न भने नसकिने बताउनुभयो । आइसिटी ल्याबको उपयोगका सम्बन्धमा अनुगमन गरी प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका केन्द्रीय सचिव देवी खड्काले सरकारले सूचना प्रविधिमा लगानी बढाउनु सकारात्मक भए पनि यसको उपयोगको क्रम पनि बढाउनुपर्ने बताउनुभयो । सिन्धुलीको कमला मावि विद्यालय व्यवस्थापन समितिका सदस्य खड्काले विद्यालयमा प्राप्त सुविधाको प्रयोगका लागि विद्यार्थीलाई पहुँच दिलाइ शिक्षक, अभिभावकलाई प्रशिक्षित गराइनुपर्ने बताउनुभयो । संविधानतः माध्यमिक तहसम्मको विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहको भएकाले स्थानीय तहबाटै अनुगमनलाई प्रभावकारी बनाउन सरोकारवालाको सुझाव छ ।

