पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

काठमाण्डौँः   प्रतिनिधिसभाका सांसदहरुले बजेट पूर्णरुपमा सन्तुलित भए पनि कार्यान्वयन चुनौतीपूर्ण हुने टिप्पणी गरेका छन् । सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसद राजेन्द्रप्रसाद गौतमले घट्दो अर्थतन्त्र वर्तमान अवस्थाको मुख्य समस्या भए पनि समग्र बजेट त्यसतर्फ केन्द्रित हुन नसकेको धारणा राख्नुभयो ।    प्रसार र वितरणमुखी बजेट भएको, बजेटको स्रोतमाथि व्यापक आशङ्का भएका कारणले पनि कार्यान्वयन चुनौतीपूर्ण हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो,“मूल्य वृद्धि ७ प्रतिशत छ, यो बढेर अब १० प्रतिशत पुग्नेवाला छ, मानवीय अर्थमन्त्रीज्यू यसलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ।”         सांसद मानबहादुर विश्वकर्माले यो विज्ञान प्रविधिको युग भएकाले बजेटले प्रविधिको क्षेत्रमा विशेष ध्यान दिएको र त्यसलाई व्यवहारिक रुपमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “बजेटले ऊर्जाको क्षेत्रमा देशको आवश्यकताअनुसार प्राथमिकता दिएको छ, जुन बजेटको मुख्य विशेषता हो, सोलार इनर्जीबाट जनताको जनस्तर उठाउनुपर्नेमा बजेट बोलेको छ, आन्तरिक उत्पादनमा जोड दिएको बजेटले, दलित, महिला, उत्पीडित समुदायको लागि बजेटले समेटेको छ, त्यसैले पनि बजेट उत्कृष्ट छ ।” दलित समुदायका विद्यार्थीले पाउँदै आएको दलित छात्रवृत्ति कार्यक्रमलाई पुनः निरन्तरता दिनुपर्ने उहाँको माग थियो । सांसद गजेन्द्रबहादुर महतले बजेट कार्यान्वयनमा चुनौती हुने टिप्पणी गर्नुभयो ।       सांसद लालप्रसाद साँवा लिम्बूले राष्ट्रिय पूर्वाधारको विषयमा बजेटले प्राथमिकता दिन नसकेको टिप्पणी गर्नुभयो ।  सांसद मोहनप्रसाद पाण्डेले  बजेट पूर्ण रुपमा सन्तुलित छ तर कार्यान्वयन चुनौतीपूर्ण छ भन्नुभयो । सांसद अञ्जना विसङ्खेले बजेट दलित, महिला, तथा सिमान्तकृत समुदायका निम्ति पूर्णरुपमा समावेशी रहेको र उत्पादन, बजार व्यवस्थापनलाई प्राथमिकता दिएको भन्दै कार्यान्वयनमा जोड दिनुभयो । सांसद गणेशकुमार पहाडीले पट्रोलियम पदार्थको मूल्य घटाउने विषयलाई बजेटले प्राथमिकता दिन नसकेको बताउनुभयो । सांसद तेजुलाल चौधरी र हरिराम अधिकारीले बजेट कार्यान्वयनमा जोड दिनुभयो ।

वाग्मती:    वाग्मती प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रयोग नगर्न र नगराउन सबैलाई आग्रह गर्नुभएको छ ।   विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा आज हेटौँडामा प्रभातफेरीपश्चात् आयोजित कोणसभामा उहाँले स्वास्थ्य र शिक्षामा वजेट राखेर सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नुपर्ने र चेतना अभिवृद्धिको कार्यलाई जोड दिनुपर्ने बताउनुभयो ।       साथै मन्त्री लामाले सुर्तीजन्य पदार्थको खरिद बिक्रीमा बालबालिकालाई प्रयोग नगर्न/नगराउनसमेत आग्रह गर्दै त्यस्तो पाइएमा कारबाही गरिने जानकरी दिनुभयो ।   उहाँले सुरुमा आफूबाट सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने प्रण गरौँ र सबैलाई नगरौँ भन्दै यसको प्रयोगबाट स्वास्थ्यमा असर पर्ने गरेको वताउनुभयो । समाजलाई  सुर्तीजन्य पदार्थरहित बनाउन बाग्मती प्रदेश सरकारले कार्यक्रम ल्याउने लामाले बताउनुभयो ।     स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको आयोजनामा बुद्ध चौकदेखि सुरु भएको सो प्रभातफेरी कार्यक्रम हेटाँैडा बजारको परिक्रमा गरी पुनः बुद्ध चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सो कार्यक्रममा हेटौँडाका विभिन्न सङ्घसंस्थाको सहभागिता रहेको थियो । 

काठमाडौं:    तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका थप २२ जनाको शव त्रिव शिक्षण अस्पतालमा लगिएको छ ।   यस अघि १० जनाको शव शोमबार बेलुकी काठमाडौं लगिएको थियो ।   आज  (मंगलबार) बाँकी रहेका १२ जनाको शव दुर्घटनास्थलबाट काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमका लागि लगिएको तारा एयरले जनाएको छ ।    तारा एयरका अनुसार पोस्टमार्टम पश्चात् शव सम्बन्धित परिवारलाई जिम्मा लगाइने छ ।   आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा तारा एयरको ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा  दुर्घटनामा परेको थियो ।  

काठमाडौं:  नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा लामा रिहा भएका छन् ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको आदेशपछि उनी रिहा भएका हुन् ।   आफूमाथि ब्याड टच गरेको भन्दै चलचित्र कबड्डी-४ की अभिनेत्री मिरुनाले लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जिल्ला प्रशासन कार्यालयमा हाजिर गराएको थियो ।   प्रजिअ रिजालको आदेशपछि उनी तीन हजार धरौटीमा रिहा भएका हुन् ।   मिरुनाले आइतबार सुन्धारास्थित सिभिल मलमा आफूमाथि ब्याड टच गरेको आरोप लगाएकी थिइन् । उनको मौखिक उजुरीपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।   उक्त घटनापछि अहिले मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ ।

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले नेकपा एमाले निकट भातृ विद्यार्थी संघ अनेरास्ववियुका ४ विद्यार्थी नेतालाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेको साथीको रिहाइको माग र पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरुद्वमा प्रदर्शन गरेका ४ जनालाई आज (मंगलबार) पोखरा ७ मासबारबाट किमीबाट पक्राउ गरेको हो ।   पक्राउ पर्नेमा अनेरास्ववियुका केन्द्रीय सदस्य किशोर सुवेदी, जिल्ला सचिवालय सदस्य विवेक ओझा, विजय भुजेल र महानगर कमिटीका कोषाध्यक्ष अमित तिमिल्सिना रहेका छन् ।   आफ्ना विद्यार्थी नेताहरुलाई विनाशर्त वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरेको अनेरास्ववियु कास्कीका अध्यक्ष विजय पौडेलले बताए । ‘दैनिक उपभोग्य सामाग्रीको मुल्य वृद्धि गरिराको छ । त्यसैको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहदाँ केन्द्रीय सदस्य महेन्द्र मन्नुलाई सरकार र शक्तिको आडमा गिरफ्तार गर्याे, उनले भने, ‘त्यसैको विरोधमा हामीले सरकारी गाडी चलाउन नदिने भनेर आन्दोलनको घोषणा गरेका थियौं । त्यही अनुसार कार्यक्रम गर्दा हाम्रा ४ जनालाई पक्राउ गरेको छ ।’    उनले आन्दोलनलाई निन्तरता दिने बताउदै राष्ट्रवैंक चोकमा प्रदर्शन गरिरहेको जानकारी दिए ।    अनेरास्ववियुका अन्य कार्यकर्तासँगै पक्राउ परेका उनीहरुले गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको सवारी साधन नियन्त्रणमा लिन खोजेको बताइएको छ ।    यसअघि एक सरकारी महिला कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा कास्की सह-इन्चार्ज महेन्द्र उपाध्याय ‘मन्नु’ र अनेरास्ववियु समर्थक माधव पौडेल पक्राउ परिसकेका छन् ।    सम्बन्धित समाचार मेयरमा पराजित थापाका सहयोगी ‘मन्नु’ पक्राउ

काठमाण्डौँः     प्रधान सेनापति प्रभुराम शर्माले द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यले विभिन्न मुलुकको भ्रमण गर्नुहुने भएको छ ।   उहाँले आगामी असार ४ देखि १० गतेसम्म संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेबनान र सिरियास्थित मिसनको निरीक्षण भ्रमण गर्नुहुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।       भ्रमणको दौरान प्रधान सेनापति शर्मा लगायतको भ्रमण टोलीले उक्त मिसनहरुको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्थालगायत अन्य विविध पक्षहरुका बारेमा जानकारी लिनु भई उक्त राष्ट्र तथा शान्ति मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्नु हुनेछ । निरीक्षण भ्रमणबाट द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ फौजको हौसला अभिवृद्धि हुनाको साथै उच्च पदस्थ अधिकारीहरुसँगको भेटघाटबाट द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्ध थप वृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।        उक्त निरीक्षण भ्रमणपश्चात् प्रधान सेनापति शर्माले मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ देखि १७ गतेसम्म संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नु हुने कार्यक्रमसमेत रहेको निर्देशनालयले जनाएको छ ।   उच्चस्तरीय सैनिक नेतृत्वबाट नियमित रुपमा हुने गरेको यस प्रकारको भ्रमण, विगत लामो समयदेखि स्थापित नेपाली सेना र अमेरिकी सेनालगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्विपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण हुने बताइएको छ ।   

पोखरा:   वरिष्ठ लोक संस्कृतिकर्मी, शिक्षासेवी, समाजसेवी, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको स्मृतिमा स्थापित कोषमा ३५ लाख २६ हजार ३४३ रुपैया संकलन भएको छ । स्मृतिकोष स्थापना समितिले पोखरामा सोमबार पक्रकार सम्मेलनको आयोजना गरि अझै रकम संकलन भैरहेको जानकारी दिइएको हो ।   वरिष्ठ सस्कृतिकर्मी गुरुङको गतवर्ष कोरोना महामारीको समयमा गुमाउनुपरेकाले उनको स्मृतिमा कोष स्थापना गरेको हिमाली साँस्कृतिक परिवारले संस्थाका मानार्थ सदस्य एवम सल्लाहकार को संयोजकत्वमा गठित स्मृतिकोष समितिका संयोजक रुद्रकुमारी गुरुङ मैनाले जानकारी दिइन् ।    उनका अनुसार करिब १५ देखि २० लाख संकलन गर्ने लक्ष्य रहेपनि ३५ लाख बढि रकम जम्मा भएको छ ।   स्वर्गीय गुरुङको योगदानको चिरकाल स्मरणकालागि अक्षयकोष स्थापित गरी वरिष्ठ लोक संस्कृतिकर्मीहरुलाई सम्मान गर्ने, अनुज कलाकारहरुलाई पुरस्कार प्रदान गर्ने र लोक सँस्कृति संरक्षण एवम विकास गर्ने उद्देश्यले कोष स्थापना गरिएको संयोजक गुरुङले दोहोर्याइन् ।   कोषको वार्षिक व्याजबाट आउदो वर्षदेखि कार्यक्रम आयोजना गर्ने बताउदै छोटो अवधिमा स्मृतिकोषका लागि रकम सहयोग गर्नुहुने सम्पुर्ण सहयोगदाता, शुभेच्छुुक, शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरिन् ।   कोषका लागि देश विदेशका विभिन्न स्वर्गीय गुरुङको आफन्तजन, शुभचिन्तक, शुभेच्छुक महानुभावहरु एवम संघ संस्थाले सहयोग गरेको स्मृतिकोष समितिका कोषाध्यक्ष एवम हिमाली सांस्कृतिक परिवारका सचिव श्रीजंग गुरुङले बताए । उनका अनुसार हालसम्म संकलित रकम मध्ये ३५ लाख रुपैयाको अक्षयकोष स्थापना गरिनेछ । भने शुभेच्छुकहरुबाट अझै रकम आउने क्रम जारी छ ।   यसैगरि हिमाली सांस्कृतिक परिवारका सल्लाहकार हुमबहादुर गुरुङले कोषको बार्षिक व्याजबाट वरिष्ठ लोक स्रस्टालाई वार्षिक राष्ट्रियस्तरको पुरस्कार, लोककलाकारहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने र लोक संस्कृति संरक्षण सम्वद्र्धनका लागि कार्यक्रम हुने गरि नियमावली निर्माण गरेको बताए ।    गुरुङका अनुसार वरिष्ठ लोक संस्कृतिकर्मी मेनकाजी गुरुङको स्मृतिमा स्थापित कोषको संचालनको पुर्णाधिकार हिमाली साँस्कृतिक परिवारलाई रहनेछ ।

झापा:  स्थानीय तहको निर्वाचनमा झापा जिल्लामा १७ दशमलव १८ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा मतदाता शिक्षाको कमी र चुनावी गठबन्धन दलका चुनाव चिह्नमा  मतदाता झुक्किँदा मत बदर बढी हुनगएको कार्यालयले जनाएको छ ।    विसं २०७४ को तुलनामा यस निर्वाचनको मत बदर सङ्ख्या दोब्बर हुन पुगेको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा ९ दशमलव ६५ प्रतिशत मात्र मत बदर भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।    निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेम न्यौपानेका अनुसार जिल्लामा सबैभन्दा बढी मत बदर उपप्रमुख, सदस्य र दलित महिला सदस्य पदका उम्मेद्वारको भएको छ । पन्ध्र पालिका रहेको जिल्लामा खसेको कूल मत सङ्ख्या चार लाख ५५ हजार २६८ मध्ये यी तीनै पदको उम्मेदवारको मत बदर सङ्ख्या २० प्रतिशतको दरले रहेको उहाँको भनाइ छ ।    उहाँले प्रमुख पदमा ५७ हजार ९४५, उपप्रमुखमा ९४ हजार ८५६, वडाध्यक्षमा ५२ हजार ४६३, महिला सदस्यमा ७९ हजार १८८, दलित महिला सदस्यमा ९१ हजार १८४ र खुल्ला सदस्यमा एक लाख ८७ हजार ३६१ मत बदर भएको बताउनुभयो ।    कार्यालयका सूचना अधिकारी न्यौपानेका अनुसार कूल खसेको मतको १७ दशमलव १८ प्रतिशतम बदर भएको थियो । जिल्लामा छ लाख ४६ हजार २३४ मतदाता सङ्ख्या रहेकामा ७० दशमलव ४८ प्रतिशत अर्थात चार लाख ५५ हजार ४७६ जनाले मात्र मतदान गरेका थिए ।

मनाङः   मनाङमा गत वर्ष बाढीपहिरोले धेरै क्षति पु¥यायो । बर्षाको पछिल्लो अवस्थाले बाढीपहिरोको असर यस वर्ष अझ बढी विद्यालय र विद्यार्थीमा देखिने भएको छ । विद्यालय क्षेत्र तथा बस्तीमा बाढीपहिरोको जोखिमका कारण यहाँका अभिभावकले बालबालिका अन्यत्र सार्न थालेका छन् ।   जिल्लामा बाढीपहिरोका कारण अभिभावकले विद्यार्थी आफन्तकोमा राखेर अध्यापन गराउन विद्यालय परिवर्तन गर्न थालेको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताउनुभयो । “बाढीपहिरोको जोखिम अझै पनि छ, कतिपय निजी आवास निर्माण हुन सकेका छैनन् । अभिभावकले बाढीपहिरो आए आफू भागांैला तर बालबालिका भाग्न सक्दैनन् भनेर अन्यत्रै आफन्तकोमा राखेर पढाउने भएकाले विद्यार्थी घट्दो अवस्थामा रहेका छन्,” प्रअ कोइरालाले भन्नुभयो । साथै पाठ्यपुस्तक अभावले पठनपाठनमा अझ समस्या थपिएर पठनपाठन सकस भएको उहाँ बताउनुहुन्छ ।    मनाङमा शैक्षिक सत्र आधा सकिन लागेको छ । तर, विद्यार्थीको पठनपाठन राम्रोसँग हुन सकेको छैन । विद्यार्थीहरु विद्यालय आए पनि पुस्तक जिल्लामा आइनपुग्दा पठनपाठनमा सकस भएको कोइरालाले बताउनुभयो । उहाँका अनुसार पुस्तकका ‘टपिक्स डाउनलोड’ गरी सम्भव भएसम्म विद्यार्थीहरुलाई प्रिन्ट गरेर दिँदै पठनपाठन हुँदै आएको छ । “टपिक्स डाउनलोड गर्ने र फोटोकपी गरेर पठनपाठनलाई अगाडि बढाएका छौँ, महाविपत्तिले त्रास नै त्रासमा पठनपाठन गराइरहेको अवस्थामा पाठ्पुस्तकको अभावले समस्या थपिएको छ,” कोइरालाले भन्नुभयो ।    लोकप्रिय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा सरिता गुरुङ पाठ्यपुस्तक नपाउँदा पुस्तक हेरेर गृहकार्य गर्न समस्या भएको बताउनुहुन्छ । शिक्षकले सकेको सहज बनाउन खोजे पनि पुस्तकमा हेरेर पठनपाठन गर्न नपाउँदा अध्ययनमा समस्या थपिएको उहाँ बताउनुहुन्छ । “शिक्षकले दिएका होमवर्क गर्दा पुस्तक हेर्न नपाउँदा समस्या हुन्छ, शिक्षकले पढाएका तर घरमा पुस्तक हेर्न नपाउँदा होमवर्क गर्न समस्या हुन्छ”, उहाँँले भन्नुभयो ।    लोकप्रिय मावि कक्षा १० मा अध्ययनरत छात्र जयराम थापाले नयाँ शैक्षिक सत्र शुरु भए पनि पुस्तक अभावमा शिक्षकले विभिन्न माध्यमबाट पठनपाठन अगाडि बढिरहेको बताउनुभयो । शिक्षकले पुस्तकको ‘हेन्सआउट’ दिने गरेकाले पठनपाठनमा समस्या खासै नभएको उहाँको भनाई छ ।    प्रकाश ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक जगराम विश्वकर्माले गतवर्षको बाढीपहिरोले विद्यालयको क्षतविक्षत भएको र दुई शौचालय, एउटा हल क्षति भएपछि बर्षायाममा त्रास रहेको बताउनुभयो । प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणका लागि लागिरहेको भए पनि अभिभावकले विद्यार्थी अन्यत्र लैजाने क्रम जारी रहेको विश्वकर्माले बताउनुभयो ।    “अभिभावकले बालबालिकालाई जोखिममा पढाउन नसक्ने भन्दै अन्यत्र लैजाने प्रक्रियाका लागि आउने गर्नुभएको छ । जोखिमपूर्ण अवस्थाबाट जोगाउँदै विद्यार्थीलाई सहज बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्छ । तर, बाढीपहिरोको जोखिमले विद्यार्थी घट्दो अवस्थामा रहेको छ,” उहाँले भन्नुभयो ।       विद्यालयका प्रधानाध्यापक श्याम पन्थीले गत वर्षको बाढीले मनाङवासीलाई त्रसित बनाएको बताउनुभयो । “बाढीपहिरोले क्षति पुगेको निजी आवास अभिभावकले बनाउन सकेका छैनन् । यसवर्ष पनि बाढीपहिरोले त्रास हुने हो कि भन्ने अवस्था रहेको छ । अभिभावकहरु बाढीको त्रासले बालबालिकालाई अन्यत्र सार्ने गरेका छन्”, पन्थीले भन्नुभयो ।    विद्यालयमा बालबालिकाको सङ्ख्या घट्दो अवस्था रहेको उहाँ बताउनुहुन्छ । “विद्यालय क्षेत्रमा तटबन्धन गरिएको छैन, विद्यालयका तीन वटा कक्षा यस शैक्षिक सत्रमा खाली भएको छ । अभिभावकले आफ्ना आफन्तको राखेर पढाउनका लागि लैजाने भएकाले विद्यालय नै शून्य हुने अवस्थामा पुगेको छ,” प्रधानाध्यापक पन्थीले भन्नुभयो । बाढीको त्रासलाई न्यूनीकरण गर्नुपर्ने, विद्यालय परिसरको संरक्षण र सुरक्षित बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारले प्राथमिकता दिन सके विद्यालयमा विद्यार्थी फर्काउन सकिने अपेक्षा गरिएको छ ।     शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख मतिलाल चपाईले नयाँ शैक्षिक सत्र सुरु भइसक्दासम्म पनि जिल्लामा आवश्यक पाठ्यपुस्तक आइनपुगेको बताउनुभयो । जनक शिक्षा सामग्री केन्द्रले मनाङका लागि आंशिक पाठ्यपुस्तक पठाएको खबर भने पाएको उहाँ बताउनुहुन्छ । “आंशिक पाठ्यपुस्तकले पनि विद्यार्थीको पठपाठनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो ।    विकट क्षेत्रमा बाढीपहिरोको जोखिम र पाठ्यपुस्तक समयमा पुग्न नसक्नुले शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थीहरु अन्यत्र सर्ने प्रक्रियाले जिल्लामा विद्यार्थी घट्ने क्रममा छ ।