काठमाण्डौँः कान्तिपुर हाफ म्याराथनको दशौँ संस्करणअन्तर्गत पुरुषतर्फको हाफ म्याराथनमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की प्रथम हुनुभएको छ । एक्काइस दशमलव एक किलोमिटरको हाफ म्याराथनमा उहाँ एक घण्टा सात मिनेट ४१ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै पहिलो हनुभएको हो । सोही प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी दोस्रो हुनुभयो । पार्कीभन्दा नौ सेकेन्डले पछि पर्नुभएका उहाँ एक घण्टा सात मिनेट ५० सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै दोस्रो हुनुभएको हो । त्यस्तै त्रिभुवन आर्मी क्लबकै खेलाडी मुकेश पाल तेस्रो हुनुभयो । उहाँ एक घण्टा आठ मिनेट ४७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो हुनुभयो । चौथो, पाँचौँ र छैटौँ पनि त्रिभुवन आर्मी क्लबकै धावक भए । गजेन्द्र राई एक घण्टा नौ मिनेट एक सेकेण्ड समय खर्चर्दै चौथो हुनभयो भने तरेन्द्रसिंह रावलले एक घण्टा नौ मिनेट १० सेकेण्ड समय लगाउँदै पाँचौँ हुनुभयो । त्यसैगरी खगेन्द्र भाट एक घण्टा १० मिनेट १५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै छैठौँ स्थानमा रहनुभयो । त्यसैगरी महिलातर्फको २१दशमलव एक किमिको हाफ म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईं प्रथम हुनुभएको छ । उहाँ निर्धारित दुरी एकघण्टा १९ मिनेट १० सकेण्डमा निर्धारित दुरी पूरा गर्दै पहिलो हुनुभएको हो । सशस्त्र प्रहरी बलकी पुष्पा भण्डारी एक घण्टा २२ मिनेट पाँच सेकेण्ड समय खर्चदै दोस्रो हुनुभयो । नेपाल पुलिस क्लबकी रोवा विष्ट एक घण्टा ३० मिनेट ४२ सकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो हुनुभयो । त्यसैगरी त्रिभुवन आर्मी क्लबकी निर्मला केसी, विन्द्रा श्रेष्ठ र गीता विक क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा रहनुभयो । उक्त म्याराथनको महिला तथा पुरुषमा पहिलो हुने खेलाडीले जनही रु एक लाख प्राप्त गरेका छन् भने दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ हुने खेलाडीले क्रमश ः ५० हजार, ३० हजार, २० हजार, १० हजार र पाँच हजार प्राप्त गरेका छन् । यसैगरी पाँच किलोमिटरको कर्पोरेट दौडमा विकास पोखरेल प्रथम हुनुभयो । उहाँले १७ मिनेट ४८ सेकेण्डमा निर्धारित दुरी पार गर्नुभयो । दौडमा शेरबहादुर थाउ दोस्रो र रितेश ओली तेस्रो स्थानमा रहनुभयो । सोही प्रतिस्पर्धाको महिलातर्फको दौडमा सनी तामाङ प्रथम हनुभयो । उहाँले २६ मिनेट ३२ सेकेण्डमा निर्धारित दुरी पार गर्नुभएको थियो । सोही प्रतिस्पर्धामा सुनिता महर्जन दोस्रो तथा लादेन प्रधान तेस्रो हुनुभयो। कर्पोरेट दौडका पहिलो खेलाडीलाई पोखरा र दोस्रोलाई नगरकोटमा बस्ने–घुम्ने प्याकेज दिइएको छ । तेस्रो हुने खेलाडीलाई माउण्टेन फ्लाइटको टिकट उपलब्ध गराइएको छ । त्यसैगरी तीन किलोमिटरको ह्विलचियर दौडमा रमेश खत्री प्रथम हुनुभयो । उहाँ १२ मिनेट ३२ सेकेण्डमा निर्धारित दुरी पार गर्दै प्रथम हुनुभएको हो । सोही प्रतिस्पर्धामा प्रेमबहादुर विक दोस्रो र धनबहादुर थिङ तेस्रो हुुनुभयो । ह्विलचेयरतर्फकै महिलातर्फ यामी झाँक्री मगर पहिलो र रजनी राई दोस्रो हुनुभयो । यस प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले जनही रु ३० हजार, २० हजार र १० हजार प्राप्त गरेका छन् । उक्त प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री शेरबाहदुर देउवाले गर्नुभएको थियो ।
म्याग्दी: म्याग्दीका एक युवाले संस्कृत साहित्यको ‘उद्यमेन सिद्धयन्ती कार्याणी वा मनोरथै’ अर्थात् उद्यमद्वारा नै आफ्ना सम्पूर्ण कार्य र मनोरथहरु (चाहना) पूरा गर्न सकिन्छ भन्ने उक्तिलाई व्यावहारिकरुपमा नै चरितार्थ गरी दिनुभएको छ । १० वर्ष अरबको खाडीमा पसिना बगाएर गाउँमा फर्किनुभएका म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कका ३८ वर्षीय युवा सुरेश ढुङ्गानाले पेशा, परिश्रम र पैसालाई जीवनसँग जोडेर सम्पन्नता र प्रशन्नताको महक प्राप्त गर्नुकासाथै परिश्रम गर्ने हो भने विदेशमाभन्दा बढी आफ्नो गाउँघरमा नै कमाउन सकिन्छ भन्ने गतिलो सन्देश दिन पनि सफल हुनुभएको छ । “प्रायः नेपाली युवा विदेश जान मरिहत्ते गर्छन् । विदेश जान भएको घरजग्गासमेत धितो राखेर ऋण लिन्छन् । गाउँमै रहेका आयआर्जनका सम्भावनालाई लत्याएर विदेशको रिमझिममा रमाएको कल्पना गरी ‘मनको लड्ड घिउसँग खाएको’ भ्रममा आफ्नो जिन्दगीका उर्बर दिन खेर फालिरहेका हुन्छन्”, ढुङ्गानाले भन्नुभयो, “परिश्रम गर्ने हो भने विदेशमाभन्दा बढी आफ्नै गाउँघरमा नै कमाउन सकिने प्रशस्तै सम्भावना हामीसँग छन्, हामी त्यो कुरा बुझ्दैनौँ ।” स्वदेशमै सम्भावना देखेर गाउँ फकिएका ढुङ्गानालाई गाउँ आएपछि साथीहरुले अमेरिका जान उचाले । उहाँले अमेरिका जाने होइन गाउँमै अमेरिकामाभन्दा बढी कमाउने र गाउँमै रमाउने योजना सुनाउनुभयो । आजभन्दा नौ वर्ष पहिले विसं २०७० मा कृषि तथा पशुपक्षी फार्म स्थापना गरेर व्यवसाय सुरु गर्नुभएका ढुङ्गानाको फर्ममा अहिले २२ मुर्रा जातका भैंँसी र दुई जर्सी गाई दुहुना छन् । ती भैँसी र गाईबाट दैनिक १५० लिटर दूध सदरमुकाम बेनीबजारमा बिक्री गर्ने गरेको ढुङ्गाना बताउनुहुन्छ । दुई भैँसीबाट सुरु गरेको व्यवसायबाट अहिले ढुङ्गानालाई मासिक रु चार लाख आम्दानी हुने गरेको छ । सबै खर्च कटाएर मासिक करिब दुई लाखको हाराहारीमा वचत हुने उहाँको भनाइरहेको छ । फार्ममा अहिले रु पचास लाख लगानी भइसकेको उहाँले बताउनुभयो । उहाँले भैँसीलाई चाहिने घाँसका लागि सार्वजनिक पाखो भाडामा लिनुभएको छ । “बिहान उठेदेखि राति नसुतुन्जेलसम्म भैंँसी गोठ र कुखुराको खोरमा नै व्यस्त हुन्छु । समय गएको पत्तै हुँदैन । साँझपख बजारमा दूध पुर्याउन जान्छु । सदरमुकाम बेनीबजारको न्यूरोडमा रहेको धवलागिरी डेरी उद्योगमा दैनिक १५० लिटर दूध पुर्याएपछि बल्ल शरीरमा फुर्ति आउँछ”, ढुङ्गानाले भन्नुभयो । प्रतिलिटर ९० रुपियाँमा दूध बिक्री हुने गरेको उहाँले बताउनुभयो । ढुङ्गानाले साँझ र बिहान गरी दिनमा दुईपटक मोटरसाइकलबाट बेनीमा दूध पुर्याउनुहुन्छ । उहाँले भन्नुहुन्छ “बजारको अभाव छैन, जति पनि बिक्री हुन्छ तर, गुणस्तरलाई खस्कन दिनुहुँदैन भन्ने मेरो मान्यता छ ।” पशुपालन व्यवसायमा परिश्रम गर्न सके विदेशमाभन्दा राम्रो कमाइ गर्न सकिने अनुभव ढुङ्गानाले सुनाउनुभयो । उहाँले पाँच रोपनी जग्गामा फार्म बनाउनुभएको छ । जहाँ दुईलाई रोजगारीसमेत दिनुभएको छ । भैंसीको स्याहार सुसारदेखि दूध दुहुने काममा आफै खटिने ढुङ्गानाले विदेशमा गएर अरुको अधिनमा रही दुःख गर्नुभन्दा आफ्नै गाउँमा समयानुकूल व्यवसाय गर्ने हो भने मनग्गे कमाइ गर्न सकिने बताउनुहुन्छ । ढुङ्गानाको सफलताको कथा यत्तिकैमा सकिदैन । आफुलार्य फापेको भैंसीपालनसँगै उहाँले कुखुरापालन पनि सुरु गर्नुभएको छ । अहिले ढुङ्गानाको फर्ममा दुई हजार ३०० ब्रोइलर कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन् । दूध र कुखुरा दुवैबाट हुने आम्दानी जोड्ने हो भने मासिक रु आठ लाख पुग्छ । गाईभैँसीलाई घाँस र कुखुरालाई दाना तथा अन्य सबै खर्च कटाएर उहाँको मासिक कमाइ एउटा सामान्य नेपाली कामदारले अमेरिकामा गर्ने कमाइभन्दा बढी हुन्छ । म्याग्दीमा बढ्यो दूधको मूल्य म्याग्दीमा असार महिनादेखि लागू हुने गरी दूधको मुल्य बढाइएको छ । दुई वर्षयता दूधको मूल्य समायोजन नहुदाँ कृषक मर्कामा परेको गुनासोसँगै आइरहेको बेला दूधको मूल्य बढेपछि पशुपालक कृषकहरु खुसी भएका छन् । मूल्य निर्धारणका लागि बसेको बैठकले किसानले प्रतिलिटर रू ११० र ब्यापारीले अधिकतम रू १३२ सम्म बिक्री गर्ने गरी मूल्य निर्धारण गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा म्याग्दीले जनाएको छ । यसअघि कृषकले दूधको मूल्य रु ९० प्रतिलिटर र डेरीले उपभोक्तालाई रू १२० मा बिक्री गर्ने गरेका थिए । गाईको प्रतिलिटर रू ८० कायम गरिएको छ । मूल्यवृद्धि भएसँगै प्रतिलिटरमा कृषकलाई प्रतिलिटर रु २० र डेरी ब्यवसायीले १२ रुपैयाँ बढी पाउने भएका छन् । केन्द्रका प्रमुख जीवन आचार्यका अनुसार डेरी ब्यवसायीले किसानबाट खरिद गरेकोभन्दा २० प्रतिशत बढी लिन नपाउने बताउनुभयो । दूधको मूल्य समायोजनले कृषकलाई राहत मिलेको बेनी नपा–६, बास्बोटका दुर्गाप्रसाद पौडेलले बताउनुभयो । “हरेक वर्ष मूल्यवृद्धिअनुसार समायोजन हुनुपर्छ, कृषकको माग सम्वोधन भएको छ” पौडेलले भन्नुभयो । यता उपभोक्ताले दूध आम उपभोक्तासामु पु¥याउन गुणस्तरमा ध्यान दिँदै मूल्यस्थिर बनाउनुपर्नेमा जोड दिएका छन् । उपभोक्ताले तिर्ने मूल्य अनुसारको गुणस्तरमा सरकारी निकायबाट नियमित अनगुमन हुन नसकेको उपभोक्ताको गुनासो छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा सहित सरोकारवाला निकायले दूध संकलन खर्च, ढुवानी खर्च, प्रशोधन, प्योकजिङ, बजारसम्म ढुवानी, विक्रेता कमिसनसम्म ध्यान दिदाँ दूधमा मिसावटको अवस्थाका बारेमा समेत डेरीवालालाई सचेत बनाउनुपर्नेमा उपभोक्ताको माग छ ।
सिरहा: पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडक लामो समयदेखि मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको भन्दै स्थानीयवासीले आन्दोलन सुरु गरेका छन् । राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपर्दा सवारीसाधन सञ्चालन गर्न असहज भइरहेको र धुलोका कारण व्यापार व्यवसाय सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै स्थानीयवासीले आन्दोलन सुरु गरेका हुन् । हिजो तीन घण्टा राजमार्ग आवरुद्ध पारेका उनीहरुले सडक मर्मत नगरिए अझ सशक्त आन्दोलन गर्ने बताएका छन् । बजार क्षेत्रको करिब तीन किलोमिटर सडक विगत केही वर्षदेखि भत्किएको र सधैँ धूलो, धुँवा र हिलोबाट आफूहरु पीडित बनेको स्थानीय व्यापारी अशोक साहले बताउनुभयो । सडकको खाल्डाखुल्डी पुर्न र मर्मत गर्न पटकपटक जिल्ला प्रशासन कार्यालय, मिर्चैया नगरपालिका, सडक डिभिजन कार्यालयलगायत निकायलाई गुहारे पनि सुनुवाई नभएकाले आन्दोलनमा उत्रिनु परेको उहाँको भनाइ थियो । दैनिक हजारौँ सवारीसाधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप हुदाँ पनि सम्बन्धित सरोकारवाला निकायले मर्मतसम्भार गर्न ध्यान नदिएको उनीहरुको आरोप छ । राजमार्गको ठाउँठाउँमा गरिएको कालोपत्रे अघिल्लो वर्ष अविरल वर्षाका कारण भत्किदा पनि अझैसम्म टालटुल हुन सकेको छैन । मिर्चैयाको थाना चोक, कटारी चोक र पश्चिम बस स्टेसनमा रहेका ठूलाठूला खाल्डाखुल्डीले पैदल यात्रीलाई पनिआवातजावत गर्न समस्या भइरहेको छ । सडकमा रहेका खाल्डाखुल्डी पार गर्न चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढेको र चालकले पनि जोखिम मोलेरै सवार िसाधान चलाइरहेकाले छिटै कालोपत्रे गरेर दिगो समाधान गर्न ध्यान दिनुपर्नेमा उनीहरुको जोड थियो । नगरप्रमुख श्रवणकुमार यादवले सडकको अवस्थाप्रति आफूहरु चिन्तित रहेको उल्लेख गर्दै समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो ।
काठमाण्डौँः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्वपश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ । सो प्रणालीहरुको प्रभावले प्रदेश नं १, मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं १ र मधेस प्रदेश प्रदेशको थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ । देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव ८ डग्री र अधिकतम तापक्रम २९ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १२ दशमलव ८ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ४० दशमलव चार डिग्री सेल्सियस रहेको छ ।
म्याग्दी: तीन दशकदेखि म्याग्दीको बेनी नगरपालिका–२ खबरामा व्यावसायिक तरकारी र फलफूल खेती गर्दै आउनुभएका ५८ वर्षीय चन्द्रबहादुर कार्की आफ्नो खेतीबारीमा फलेका तरकारी र रैथाने जातका खाद्यान्न देखेर दङ्ग पर्नुहुन्थ्यो । कुनै पनि विषादी र भिटामिनको प्रयोग नगरिकन खेतबारीमा लटरम्मै भएर फलेका तरकारी, फलफूल, हिउँदे र बर्खे बाली बिक्री गरेर लभ्लीहिलमा तीनतले पक्कीघर र सदरमुकाम बेनी बजारको मङ्गलाघाट घरघडेरी जोड्न सफल कार्की अहिले भने कृषि पेसाबाट वितृष्णा जागेको बताउनुहुन्छ । जिल्लाकै अगुवा कृषक कार्कीलाई कृषिमा वितृष्णा त्यत्तिकै आएको होइन । प्राङ्गारिक तरकारी मात्रै फलाउने र बिक्री गर्ने कार्कीले ‘इमानदार कृषक’ को पहिचानमा नै विषादीको दाग लाग्न थालेपछि कृषि पेसाप्रति वितृष्णा जागेको हो । जलवायु परिवर्तनका कारण माटोको उर्बरा शक्तिमा ह्रास आउँदै गएपछि प्राङ्गारिक रैथाने कृषि उत्पादन अब तीव्ररुपमा घट्दै गएको र विषादीको प्रयोग गरेर खेती गर्न आफ्नो मनले नमानेको हुँदा वर्षौंदेखि गर्दै आएको ‘खेती गरौँ की छोडौँ’ को स्थितिमा पुगेको उहाँले बताउनुभयो । “मैले सुरुदेखि नै प्राङ्गारिक रैथाने जातका खेतीलाई महत्व दिएँ, यहीँ माटोमा पसिना बगाएर पुग्दो सम्पत्ति पनि जोडेँ”, कार्कीले भन्नुभयो, “विगत पाँच÷छ वर्षयता माटोमा अम्लियपना बढ्दै गयो, रैथाने विऊबाट फसल उत्पादन घट्दै जान थाल्यो, विषादीको प्रयोग नगर्ने हो भने रोग र किराको समस्याले सताउन थाल्यो”, उहाँले भन्नुभयो । “अचेल त विष प्रयोग नगरी तरकारी फल्दैन, बाली पाक्दैन । प्रत्येकको घरको भान्सामा विष मिसिएको तरकारी नपकाइ सुक्खै छैन”, कार्कीले भन्नुभयो । कृषिमा जलवायु परिवर्तनले पारेको असरका कारण यस्तो समस्या उत्पन्न भएको अगुवा कृषक कार्कीको बुझाइ छ । कृषक कार्कीको बुझाइसँग कृषि विज्ञहरु पनि सहमत छन् । उनीहरुका अनुसार कृषिमा निर्भर नेपालको आर्थिक प्रणाली प्रभावित हुने गरी जलवायु परिवर्तनको असर देखिन थालेको छ । फलफूल ढिलो पाक्न थालेका छन्, वातावरणीय सन्तुलन बिग्रँदै जान थालेको र रैथाने जातका बीउ अभाव हुँदा खाद्य सुरक्षामै प्रश्न उठ्न थालेको कृषि विज्ञहरुले बताएका छन् । कृषि वैज्ञानिक टीकाबहादुर कार्कीका अनुसार जलवायु परिवर्तनका कारण यस्ता समस्या म्याग्दीमा मात्रै होइन जताततै देखिन थालेका छन् । कृषि वैज्ञानिक कार्की भन्नुहुन्छ, “जलवायु परिवर्तनका कारण रैथाने जातको उत्पादन कम हुँदै जान थालेका छन् । कतिपय स्थानीय जातका बीउ त लोप पनि भइसकेका छन् ।” जलवायु परिवर्तनले रैथाने जातका बीउ हराउने मात्रै होइन कृषि प्रणालीका हरेक पक्षमा नकारात्मक प्रभाव परिरहेको उहाँको भनाइ छ । परिवर्तित जलवायु सुहाउँदो खेती गर्ने प्रयास नगरिँदा यसले नेपालको खाद्य सुरक्षामा नै दीर्घकालीन प्रभाव पारिरहेको कृषि विज्ञहरुको भनाइ रहेको छ । किसानका अनुसार सुन्तला, आँपलगायतका फलफूलमा कोपिला लाग्ने, फूल फुल्ने र फल पाक्ने समय पनि परिवर्तन भएको छ । सुन्तला मङ्सिरमा पाक्न थालेको छ । पहिला पहिला माघमा कोपिला लागेर फागुनमा आँपको फूल फुल्थ्यो भने अहिले आँपको फूल कि त चैत कि त वैशाखमा फुल्न थालेको कृषकले बताएका छन् । नेपालका प्रायः सबै किसान प्राकृतिक हावापानीमा नै भर पर्ने हुनाले कृषिमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव पर्न थालेको कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । त्यस्तै अनपेक्षितरूपमा कम वा बढी वर्षा हुँदा सिमी, आलु, करेला, भिन्डी, काँक्रो, बोडी र घिरौँलाजस्ता तरकारीको गुणस्तर र रङ र स्वाद पनि बदलिएको कृषकको भनाइ छ । हिउँदमा खेती गर्ने काउली र बन्दाजस्ता तरकारीका फलको आकार पछिल्लो वर्ष सानोभन्दा सानो हुँदै गइरहेको बेनी नगरपालिका–२ सानालेकका कृषक धु्रव थापाले बताउनुभयो । बालीनालीमा मात्रै होइन पशुलाई खुवाउने घाँसमा पनि औषधि हाल्नुपरेको किसानको गुनासो छ । “घाँसमा पनि विषादी नहाल्ने हो भने बोट मर्ने र छिटो ओइलाउने हुन थाल्यो, मैले त घाँसमा पनि विषादीको प्रयोग गर्ने गरेको छु”, कृषक तीर्थ सापकोटाले भन्नुभयो । कृषि प्राविधिकका अनुसार जलवायु परिवर्तनका कारण मान्छेको खाद्यान्नमा झैँ पशुले खाने घाँसको पनि पोषण र गुणस्तरमा प्रभाव पर्नु सामान्य हो । घाँसमा विषादीको प्रयोग गर्दा दूधदेखि मासुसम्मका पशुजन्य उत्पादनमा असर पर्ने कृषि प्राविधिक बताउँछन् ।
काठमाण्डौँः पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा–३ को तीनताप्के भन्ने ठाउँमा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु भएको छ । आज दिउँसो बस्तिपुरबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा हेटौंँडा–६ का ३३ वर्षीय गोपाल दाहालको मृत्यु भएको हो । एकदिन अघि पनि सोही ठाउँनजीक ट्याक्टर दुर्घटना हुँदा चितवनको रत्ननगर–८ का ३१ वर्षीय सन्दिप अर्यालको ज्यान गएको थियो । हेटौंँडाबाट मनहरीतर्फ जाँदै गरेको ना २ च २९५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई खोल्सामा पल्टिदा चालक अर्यालको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएकोे छ
रुकुमपूर्वमा : रुकुमपूर्वमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पठनपाठन प्रभावित बन्न पुगेको छ । जेठ पहिलो साताबाटै नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । जेठ सकिनै लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नै नआएपछि अधिकांश विद्यालयमा विद्यार्थीहरुको पठनपाठन प्रभावित बन्न पुगेको हो । रुकुमपूर्वमा ११६ सामुदायिक विद्यालय छन् । जिल्लामा अहिलेसम्म कक्षा १ देखि ३ सम्मको किताबमा पूर्ण रुपमा रुकुमकोटमा आइपुगेको शिक्षा विकास तथा समन्वय एकाई रुकुमपूर्वका प्रमुख तिलक गौतमले जानकारी दिनुभयो । रुकुमकोट आएका यी सबै किताब अर्को सातासम्ममा सबै विद्यालयमा पुर्याइसक्ने पाठ्यक्रम खरिद डिलरले जानकारी गराएको उहाँले बताउनुभयो । कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक भने अपुरो आएको छ । रुकुमपूर्वमा विद्यार्थी सङ्ख्या २० हजारको हारहारीमा छ । तर, किताब भने न्यून मात्रामा आएको छ । आएको किताब पनि अपुरो आएको सिस्ने गाउँपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख मङ्गलसिंह बुढाले बताउनुभयो । अहिले कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक नै परिवर्तन भएर आएको छ । नयाँ किताब गाउँपालिकाको कुनै पनि विद्यालयमा नपुगेको उहाँले बताउनुभयो । विद्यालयमा अहिले पुराना किताबबाटै पठनपाठन सञ्चालन भइरहेको शिक्षा शाखा प्रमुख बुढाले बताउनुभयो । भूमे गाउँपालिकामा पुरानै किताबाट पठनपाठन भइरहेको शिक्षा शाखा प्राविधिक सहायक टेकबहादुर बुढाले बताउनुभयो । कक्षा ४, ७ र ९ को भने पाठ्यपुस्सतक नै चेन्ज भएको कारण पठनपाठन हुन नसकेको उहाँले बताउनुभयो । विद्यार्थीहरू भने विद्यालयमा आइरहेका छन् । गाउँपालिकामा पनि केहि विद्यालयमा पुरानै किताबबाट पठनपाठन सञ्चालन भइरहेको छ भने कतिपय विद्यालयमा किताब आको छैनन् भनेर शिक्षक घरतिर बसेको गाउँपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काले बताउनुभयो ।
पोखरा: अभिनेत्री मिरुना मगरले अभद्र व्यवहार गरेकाआरोपी फुर्वा लामालाई झापड हानेको विषयमा मगर संघले मिलापत्रपछी आधिकारिक धारणा सार्वजनिक गरेको छ । नेपाल मगर संघका महासचिव टेक बहादुर नाम्जाली मगरद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती जारी गर्दै संघको धारणा सार्वजनिक गरेको हो । ‘कुनै पनि असल नागरिकले एक नारीमाथी हुने दुव्र्यवहार सहन सक्दैन । त्यसको परिणाम यस घटना हुन पुगेको सर्वविदितै छ । यस्तो संवेदनशिल सवालमा नेपाल मगर संघ र मगर समुदाय अत्यन्त गम्भीर हुदाहुदै सामाजिक सञ्जालमा मगर समुदाय र नायिका मिरुना मगरमाथी आँच आउने गरि भईरहेको गतिविधिप्रति यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ । जारी विज्ञप्तीमा लेखिएको छ, ‘मगर समुदायको चेली मिरुना मगरमाथी गरिएको अभद्र व्यवहारमा गल्ती स्वीकार गरि माफी मागेर दुवै पक्षको विचमा सहमति भइसकेको अवस्थामा जातिय सद्भाव र धार्मिक सहिष्णुतालाई खलल पुग्ने खालको कुनै धर्म र जातिको विरुद्धमा नेपाल मगर संघ र मगर संघ संस्थाहरुले कुनै प्रकारको आन्दोलन तथा जुलुसका कार्यक्रम आयोजना नगरिएको जानकारी गराइन्छ । घटना घटेर एक आपसमा सहमति भइसकेको स्थितिमा पनि यस्ता सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल आउने खालको गतिविधिहरु कुनै पनि पक्षले नगर्न नगराउन हार्दिक अपिल र अनुरोध गर्दै गम्भीरतापूवर्क सचेत गराउन चाहान्छौं अन्यथा यसको प्रतिवाद गर्न संघ बाध्य हुने यसै विज्ञप्ती मार्फत जानकारी गरिन्छ ।’ विज्ञप्ती:
काठमाण्डौँः नेपाली सेनाले उडान समयावधि पूरा गरी रहेको एक हेलिकप्टर रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहको प्रयोगात्मक अभ्यासका लागि हस्तान्तरण गरेको छ । मन्त्रिपरिषद्को गत वैशाख २५ गतेको निर्णयअनुसार प्रदेश–१ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले यस आर्थिक वर्ष २०७८/७९ बाट सञ्चालन गरेको उक्त तहका विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि एनए–०३९ चेतक हेलिकप्टर र त्यससँग सम्बन्धित ४७ वटा पार्टपूर्जा आज हस्तान्तरण गरेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित सेनाको एयर वेशमा एक समारोहका बीच सैनिक वायु सेवाका महानिर्देशक पाइलट आशिष नरसिंह राणाले प्रदेश–१ का सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीलाई हेलिकप्टर हस्तान्तरण गर्नु भएको नेपाली सेनाले जनाएको छ । भारतको बैङ्लोरस्थित हिन्दुस्तान एरोनेटिक्स लिमिटेडद्वारा निर्मित उक्त हेलिकप्टर भारतबाट विसं २०५८ मङ्सिर २६ गते सहयोग स्वरुप नेपाली सेनालाई उपलब्ध गराएको थियो । हाल निर्माता कम्पनीले तोकिदिएको उडान समयावधि पूरा गरी हेलिकप्टर ग्राउन्डेड रहेको थियो । मनमोहन प्राविधिक विश्वविद्यालयले उक्त हेलिकप्टर र यसमा प्रयोग हुने केही जगेडा सामग्री प्राप्त गरे पश्चात् अध्ययनरत विद्यार्थीको एरोनटिकल विधामा प्राविधिक ज्ञान अभिवृद्धि गर्नमा सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ । भविष्यमा पनि नेपाली सेनाद्वारा हवाई साधन मरमत तथा उडान सम्बन्धी विषयमा प्राविधिक ज्ञान, सीप तथा यस्ता किसिमका अध्ययन सामग्री हस्तान्तरण गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले उल्लेख गरेको छ । हस्तान्तरण समारोहमा मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवास श्री पोखरेल, रक्षा मन्त्रालयका सहसचिव यज्ञप्रसाद ढुङ्गेललगायतको सहभागिता थियो ।

