पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

काठमाडौं:  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले सङ्घीयताको पूर्ण कार्यान्वयनमा सरकारको ध्यान गएको बताउनुभएको छ ।   राष्ट्रियसभामा दर्ता भएको सङ्घीयता कार्यान्वयसम्बन्धी सङ्कल्प प्रस्तावमाथिको छलफलपछि सरकारका तर्फबाट धारणा राख्दै उहाँले संविधानले परिकल्पना गरेअनुसार नै मुलुक सङ्घीय संरचनामा गइसकेको बताउनुभयो । “गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको व्यवस्था कार्यान्वयनमा आइसकेको छ, सङ्घ, प्रदेश र स्थानीय तहको मूल संरचनाले काम गर्न थालिसकेका छन्”, उहाँले भन्नुभयो, “स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भइसकेको छ, यसले सङ्घीयतालाई कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका खेल्ने छ ।”   सङ्घीयताको कार्यान्वयनसँगै यससम्बन्धी भ्रम हट्दै गएको उहाँको भनाइ छ । “सङ्घीयता हाम्रा लागि नवीन विषय थियो, नवीन हुँदा बुझाइ फरक–फरक थियो होला अब सही मार्गचित्रमा हिँडाउँने सबैको दायित्व हो”, उहाँले भन्नुभयो । सङ्घीयताको कार्यान्वयन, अध्ययन र अनुगमनका लागि संसदीय समिति गठन गर्न सकिने बताउनुभयो । सङ्घीयता कार्यान्वयनमा क्रममा देखिएका अधुरा विषय विस्तारै पूरा हुँदै जाने उल्लेख गर्दै उहाँले सङ्कल्प प्रस्तावमाथिको छलफलबाट निस्केका निष्कर्ष सरकारका लागि मार्गदर्शन हुने बताउनुभयो ।   उहाँले एकात्मक शासन व्यवस्थामा स्रोतको न्यायोचित वितरण नहुने भन्दै उहाँले सङ्घीयताका कारण क्षेत्रीय, वर्गीय विभेद्मा परेका उत्पीडन र पछाडि परेको प्रदेशले बढी बजेट पाउने गरेको जनाउनुभयो ।   सरकारले पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट वक्तव्यमा पनि सङ्घीयतालाई बलियो बनाउने कार्यक्रम समावेश गरिएको र आगामी दिनमा प्रदेश तथा स्थानीय तहलाई दिइने बजेटको उचित विनियोजन गरिने मन्त्री श्रेष्ठले बताउनुभयो ।   उहाँले सङ्घीय निजामती ऐन केही समयभित्रै संसद्मा दर्ता हुने जानकारी गराउँदै त्यसलगत्तै कर्मचारीको अभावका समस्या समाधान हुने विश्वास दिलाउनुभयो ।

काठमाण्डौँः    तारा एयरको ट्वीनअटर जहाज दुर्घटनामा मृत्यु भएकाको शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा मृत्यु भएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ ।    यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाज दुर्घटनामा मृत्यु भएकाको शव त्रिवि शिक्षण अस्पतालमा शव परीक्षणपछि आज परिवारलाई हस्तान्तरण गरिएको छ । बुधबार राति पोष्टमार्टम सकिएका २२ वटै शवको कागजी प्रक्रिया मिलाएर आज १२ बजेभित्रै मृतकका परिवालाई शव हस्तान्तरण गरिएको हो ।    मृतकमध्ये चार भारतीयको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने तथा दुई जर्मन नागरिकको शव त्यस देशतर्फ पठाइने जनाइएको छ ।    आइतबार पोखराबाट उडेको उक्त ट्विनअटर विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।    उक्त जहाज दुर्घटनामा परी चालक दलका तीन सदस्य, १३ नेपाली, चार भारतीय तथा दुई जना जर्मन नागरिकको ज्यान गएको थियो ।

पाल्पा:  पाल्पाको पर्वखोला गाउँपालिकाभित्र अध्ययनरत विद्यार्थीहको मुटु परीक्षण गरिएको छ । वडा नं १, ५ र ६ मा चलेको निःशुल्क मुटु परीक्षण शिविरमा एक हजार ८०० विद्यार्थीको मुटु परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोहन ढकालले बताउनुभयो ।   शिविरमा वडा नं १ मा छात्र ४४३ र छात्रा ३९५ गरी ८३८, वडा नं ५ मा छात्र  २८१ र छात्रा २८८ गरी ५६९ तथा वडा नं ६ मा छात्र १९४ र छात्रा १९६ गरी ३९० विद्यार्थीको मुटु परीक्षण गरिएको हो । त्यसमध्ये एक विद्यार्थीलाई काठमाडौँ र सात विद्यार्थीलाई लुम्बिनी मेडिकल कलेजमा थप परीक्षणका लागि पठाइएको छ ।          हृदयरोग निवारण प्रतिष्ठान केन्द्रिय कार्यालय काठमाडौँको सहयोग र नेपाल हृदयरोग निवारण प्रतिष्ठान एकाइ कार्यालय पूर्वखोलाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । परीक्षण पश्चात् मुटुमा समस्या देखा परेका र आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थीलाई गाउँपालिकाले स्वास्थ्य उपचारमा सहयोग गर्ने जनाइएको छ ।

गलेश्वर:     म्याग्दीका ग्रामीण भेगमा पुख्र्यौदेखि  चलनमा आएका मौलिक सामग्री हिजोआज हराउँदै गएका छन् । बजारमा प्लास्टिकका रेडिमेड सामग्री आउन थालेपछि गाउँमा बनाइएका डाला, नाङ्ला, थुन्से, भकारीजस्ता मौलिक सामग्रीको बिक्री हुन छोडेको छ ।    गाउँघरमासमेत यस्ता सामग्रीको प्रयोग गर्ने चलन घट्दै गएपछि रैथाने सीप र मौलिकता समेत हराउँदै जान थालेको स्थानीय जेठोपुस्ताका व्यक्तिले बताएका छन् । “केही वर्ष अगाडिसम्म ग्रामीण क्षेत्रमा डालो, नाङ्लोको प्रयोग निकै गरिन्थ्यो तर मौलिकतासँग जोडिएका यस्ता सामग्री अहिले प्रयोग कम हुँदै गएका छन्” बेनी नगरपालिका–२ का ८९ वर्षीय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।   वर्षौँदेखि डालो, नाङ्लो बुन्ने र बिक्री गरी परिवार पाल्दै आएका पनि समस्यामा पर्न थालेका छन् । जेठो पुस्ताको सीप र ग्रामीण सौन्दर्यसमेत हराउँदै जान थालेकोमा स्थानीय बुढापाका चिन्तित देखिन्छन् । प्लास्टिकजन्य सामग्रीको बढ्दो प्रयोगले एकातिर वातावरणीय सन्तुलन समेत खल्बलिएको छ, भने अर्कोतर्फ रैथाने सीप पनि प्रयोगमा आउन नसक्दा सीपभएका स्थानीय पनि बेरोजगार बनेका मालिका गाउँपालिका– ३ का भीमबहादुर बुढाले बताउनुभयो । बुढाले वर्षौँदेखि डालो, नाङ्लो बुन्ने र बिक्री गरी घरपरिवार चलाउँदै आउनुभएको थियो । अहिले आफूले बनाएका सामग्रीले बजार पाउन छाडेपछि घरपरिवार चलाउन समस्या हुन थालेको उहाँले दुःखेसो पोख्नुभयो ।   केही वर्ष अगाडिसम्म निकै बिक्री हुने डाला, नाङ्ला, थुन्से र भकारीलगायतका सामग्रीको पछिल्लो समयमा लोकप्रियता कम हुँदै गएको उहाँको भनाइ छ । बजारमा नयाँ–नयाँ प्रविधिका नापतौलका सामग्रीहरु आएपछि आफूले बुनेका डाला, नाङ्लाले बजार पाउन छाडेको बुढा बताउनुहुन्छ ।    परम्परागत नापतौल गर्ने तुलोको रुपमा प्रयोग हुने मानापाथि आजकल किलो र लिटरमा परिवर्तन भएको उहाँको भनाइ छ । “दुई दशक अघिसम्म गाउँघरमा मात्रै होइन सहर बजारमा पनि अन्नपात किन्दा मानापाथीबाट तौलिने गर्थे, अहिले त सबै किलोको हिसाब हुन थाल्यो, यसले गर्दा पनि होला गाउँ घरमा उत्पादन हुने परम्परागत मानापाथिको प्रयोग हराउँदै गए” बेनी नगरपालिका ३ भकिम्लीका तीर्थबहादुर विकले भन्नुभयो, “अब त गाउँघरमा नाङला, डाला बुन्ने मानिस पाइन छोडे, डोकोको प्रयोग हुँदै आएको छ, यही हिसाबले जाने हो भने त केही वर्षपछि गाउँमा डोको बुन्ने मानिस पनि पाइने छैनन् ।”   पछिल्लो समय एकातिर ग्रामीण मौलिक सामग्रीको प्रयोग कम हुँदै गएको छ भने अर्कोतर्फ कच्चापदार्थ समेत अभाव हुन थालेको उहाँहरुको गुनासो छ । “आजभोलि त पहिले–पहिलेको जस्तो चोया पनि प्रशस्त पाइँदैन, वनजंगल धाउनुपर्छ, चोया हुने हो भने दिनमा ५/७ वटा डोका बुन्न सकिन्छ” विकले भन्नुभयो ।   आफ्नो बाउ बाजेले बुनेको देखेर आफूले पनि सिकेको भन्दै अहिलेका युवा पुस्ताले यसप्रति चासो नदेखाएको उहाँले बताउनुभयो । आफूहरुको पुस्तापछि परम्परागत रुपमा बुनिँदै आएका डालो, नाङ्लो लोप हुनसक्ने उहाँको भनाइ छ । अहिले पनि गाउँका थोरै मान्छेले मात्रै बुन्ने गरेका छन् ।   “हामी पछिका मान्छेहरुले त अब यस्ता बुन्ने काम गर्दैनन् होला, अहिले कसैले पनि सिक्ने चासो देखाउँदैनन्, हामीले त सानैदेखि डोको, नाङ्लो, पाथी, डालो बुन्न सिक्ने गरेका थियौँ” विकले भन्नुभयो ।     केही वर्षअघिसम्म फुर्सदको समयमा डालो, नाङ्ला बुनेर विक्री गरेपनि वर्षमा डेढ दुई लाख आम्दानी गर्ने गरेको सम्झदै विकले अहिले ती सबै कुराहरु सपनाजस्तै भएको सुनाउनुभयो 

काठमाण्डौँः  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ४०० ले बढेको हो ।    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ७०० थियो ।        त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २६५ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।  

हेटौंडा- बागमती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । बैठक सुरु भएलगत्तै नेकपा (एमाले)ले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको छ ।   सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदले उठेर विरोध जनाउनुभएको थियो । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दीपक निरौलालाई आफ्ना भनाइ राख्न समय उपलब्ध गराउनुभएको थियो ।   मुख्य सचेतक निरौलाले पशुपन्छी तथा मत्स्य विकास केन्द्रका तीन कर्मचारीलाई वर्तमान सरकारले आफू अनुकूल नभएकाले सरुवा गरेको भन्दै विरोध जनाउनुभयो । उहाँले घटनाको सत्यतथ्य छानबिन गर्न सर्वपक्षीय छानबिन समिति गठनको प्रक्रिया अघि नबढाउञ्जेल संसद्मा अवरोध कायमै राख्ने बताएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक १० मिनेटका लागि स्थगन गर्नुभएको हो ।   बैठक अझै चल्न सकेको छैन ।

काठमाडौं:  नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आइओसी) बाट इन्धनको नयाँ मूल्य सूची पठाएको छ ।   जसअनुसार पेट्रोलमा बढेर नयाँ मूल्य आएको छ भने डिजेल, खाना पकाउने ग्याँस र हवाइ इन्धनमा घटेर नयाँ मूल्य प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ ।   आईओसीले बुधबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ । डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ भने खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँले घटेको छ । यस्तै हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ ।   नयाँ मूल्य पछि पनि निगमलाई मासिक घाटा ६ अर्ब १५ रुपैयाँ पुग्ने पनि निगमको प्रक्षेपण छ ।   आईओसीलाई पहिलेकै वक्यौता ३२ अर्ब रहेको र अबको नयाँ मूल्य पछि जुन महिनामा निगमले ४७ अर्ब हारहारी रकम भुक्तानी गर्न बाँकी रहेको निगमले जनाएको छ । अर्थ मन्त्रालयले घटाएको करबारे निगमलाई हालसम्म कुनै जानकारी नभएकाले अहिलेलाई कुनै निर्णय नलिने निगमले जनाएको छ ।

पोखराः    पृथ्वीनारायण क्याम्पसको शिक्षा संकाय डिपार्टमा अनेरास्ववियुले तालाबन्दी गरेको छ ।     प्रात र दिवाकालिन दुवै समयमा पढाई हुनुपर्ने माग गर्दै आज तालबन्दी गरेको हो ।    करिब ४५ सय विद्यार्थीको हस्ताक्षर सकल गरि प्रशासनलाई बुझाएको बताउदै माग सुनुवाई नभएपछी  ताला लगाउन बाध्य भएको  अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस समितिका सदस्य कुसल लम्सालले बताए ।    एक वर्ष पनि नबित्दै सहमतिलाई कुचल्दै दिवामा मात्र अध्यापन गराउने गरेकोमा घोर भत्र्सना गर्दछौ, उनले भने दिवामा मात्र पठनपाठान गराउने निर्णय हामी गरिब तथा मध्यम वर्गीय विधार्थीहरुको हित विरुद्ध छ । त्यसैले दुवै समयमा पढाई हुनुपर्ने हाम्रो माग हो ।   उनले शिक्षा संकायलाई दिवा र प्रातकालिन समयमा अध्यापन गराउने निर्णय नगरे शिक्षा संकाय तथा सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चित कालिन तालाबन्दी जानकारी दिए ।    उनका अनुसार आन्दोलनको नेतृत्व अनेरास्ववियु शिक्षा संकाय कमिटीका अध्यक्ष सौगात तिमिल्सिनाले गर्दै आएका छन  ।

हुम्लाः   हुम्ला जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज एक कार्यक्रमकाबीच उक्त भवन उद्घाटन गर्नुभएको हो ।    उहाँले आफ्नै भवन भएपछि न्याय क्षेत्रमा नागरिकका लागि सहज वातावरण बनेको बताउनुभयो । उहाँले हरेक नेपाली न्यायको पक्षमा भइरहने हुँदा न्याय पाउने स्थान नागरिकको सहज पहुँचमा रहनुपर्ने बताउनुभयो ।    कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले न्याय क्षेत्र नागरिकको प्राथमिकताको विषय भएकाले यसमा कानुन व्यबसायी सदैव गम्भीर हुनुपर्ने बताउनुभयो ।    प्रमुख जिल्ला अधिकारी सीता परियार र जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले जिल्ला अदालतको भवन निर्माण सम्पन्न भएकोमा खुसी ब्यक्त गर्नुभयो ।    भवन निर्माणका लागि रु दुई करोड ६२ लाख २५ हजार खर्चिएको अदालतका श्रेस्तेदार कमलकुमार आर्चायले जानकारी दिनुभयो ।