पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

सुर्खेत :        उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीहरुबाट अनिवार्य शुल्क नलिन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र पुनमसिंह चन्दको संयुक्त इजलासले निवेदनको अन्तिम टुङ्गो नलागेसम्म समाजसेवी, दान दातव्य दिई धर्म गर्न चाहने स्थानीयवासी, बक्सिस, पुरस्कारलगायत रकमबाहेक विद्यार्थीबाट शुल्क नलिन आदेश दिएको हो ।       अदालतले वैशाख २३ गते अन्तरकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई जेठ १० गते बोलाएको थियो । दुवै पक्षको बहस सुनेपछि सोमबार अदालतले विद्यार्थीबाट कुनै प्रकारका शुल्क नलिन आदेश सुनाएको हो । आदेशमा भनिएको छ, “आमनेपाली नागरिकका सन्तानले आठ कक्षासम्म अनिवार्य निःशुल्क पढ्नु पढाउनुपर्ने र कक्षा नौदेखि १२ सम्म निःशुल्क पढ्न पाउने हक सुनिश्चित हुनुपर्ने विषयलाई नजरअन्दाज गर्न मिल्दैन ।”      सुर्खेत उपत्यकाका सामुदायिक विद्यालयहरुले नेपालको संविधानले प्रत्याभूत गरेको निःशुल्क शिक्षा पाउने हक विपरीत विद्यार्थीबाट मनोमानी शुल्क असुल गर्ने गरेको भन्दै अधिवक्ता खेमराज जैशी तिवारीले रिट निवेदन दर्ता गर्नुभएको थियो ।      रिट निवेदकका पक्षमा निवेदक स्वयं, अधिवक्ता खगेन्द्रबहादुर खनाल र लोकबहादुर ढकाल तथा विपक्षीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तर्फबाट मुख्य न्यायाधिवक्ता धु्रवकुमार श्रेष्ठ, वीरेन्द्रनगर नगरपालिकाको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमालले बहस गर्नुभएको थियो । कृष्ण संस्कृत तथा साधारण मावि इत्रामको तर्फबाट अधिवक्ता उत्तमप्रसाद आचार्य, अमरज्योति मावि र जनज्योति माविको तर्फबाट अधिवक्ता वीरेन्द्रकुमार थापा, भैरव मावि, त्रिपुरेश्वर मावि, नेपाल राष्ट्रिय माविको तर्फबाट अधिवक्ता नन्दबहादुर भण्डारी, शिव मावि लाटीकोइली र शिव मावि धुलियाबिटको तर्फबाट अधिवक्ता विद्याभूषण मानन्धरले बहस गर्नुभएको थियो ।       अदालतको अन्तरिम आदेशपछि सुर्खेत उपत्यकाका सामुदायिक विद्यालयले यसअघि लिने गरेका भर्ना शुल्क, खेलकुद शुल्क, परीक्षा शुल्कलगायतका विभिन्न शीर्षकमा विद्यार्थीबाट रकम असुल गर्न पाउने छैनन् ।

पोखरा:     गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखराको दीपमा गुरुङ मातृभाषा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।    तमु प्ये ल्हु संघ केन्द्रीय समितिको सहकार्यमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरीशरण आचार्यले गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री आचार्यले आफ्नो मातृभाषाको महत्व ठुलो हुने भएकोले सबै मिलेर मातृभाषालाई जोगाउनुपर्ने बताउनुभयो ।    गण्डकी प्रज्ञा प्रतिष्ठानले अभियानकै रुपमा मातृभाषालाई संरक्षण गर्न गण्डकी प्रदेशका विभिन्न ठाउँमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।  यस्ता कार्यक्रमले मातृभाषा संरक्षणमा सकारात्मक सहयोग पुग्ने उहाँको विश्वास थियो ।   तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, सदस्य सचिव मनकुमार श्रेष्ठ, प्राज्ञ कृष्ण प्रसाद पौडेल, तमु प्ये ल्हु संघ कास्कीका अध्यक्ष निम बहादुर गुरुङ, ओम बहादुर गुरुङ, हर्क गुरुङ लगायतले मातृभाषा प्रशिक्षण कार्यक्रमको आवश्यकताको बारेमा बोल्नुभएको थियो ।   कुल २७ जना प्रशिक्षार्थीको सहभागीता रहेको प्रशिक्षण कार्यक्रमकोे सहजिकरण ओम बहादुर गुरुङले गर्नुहुनेछ । क्होलादीप तमु समाज भवनमा आयोजित प्रशिक्षण कार्यक्रम एक महिना सम्म चल्नेछ ।   गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा स्थापित जाती विस्तापित भाषा नाम दिएर प्रशिक्षण कार्यक्रम आयोजना निरन्तर भईरहेको छ । जस अनुसार तामाङ, दुरा  र नेवारी भाषाको प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छ । आगामी आर्थिक वर्षमा समेत मातृभाषा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको गण्डकी प्रज्ञा प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले आगामी असार १० गतेदेखि १२ गतेसम्म ‘प्रज्ञा उत्सव’ नामक बृहत कार्यक्रम आयोजना गर्ने तयारी समेत गरेको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जनाउनुभयो ।  

 नेपालगञ्जः     प्रहरीले एकैपटक नेपालगञ्जका सात क्यासिनोमा छापा मारेको छ । क्यासिनोमा नेपालीका लागि प्रवेश निषेध गरे पनि क्यासिनोमा प्रवशे गरी जुवा खेलाउने कार्य भएको उजुरी आएकाले छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।    प्रहरीले क्यासिनोमा छापा मार्दा नेपालगञ्जस्थित धम्बोझी चोक नजिक रहेको होटल सिटी प्यालेसभित्र सञ्चालनमा रहेको सिटीइ गेमिङ क्लब क्यासिनोबाट पुनः छ जना नेपालीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।  उनीहरूलाई कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।    प्रहरीका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । यसअघि पनि आइतबार होटल सिटी प्यालेसभित्र सञ्चालित सिटीइ गेमिङ क्लब क्यासिनोबाट नेपालगञ्जका सात नेपाली युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नेपालको कुनै पनि क्यासिनोमा विदेशीबाहेक नेपालीलाई प्रवेश गर्न निषेध छ । तर नेपालगञ्जका क्यासिनोहरूले निर्वाधरूपमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने काम गरिरहेका छन् ।   यसैबीच प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कोइली भन्ने शिवकुमार वढईलाई जमुनाह नाकाबाट पक्राउ गरेको छ । उनले नेपालगञ्ज–१८ कारकाँदोस्थित पसलमा समान किन्ने बहानामा गएर ७० वर्षीया लीलावती गुप्तालाई कुटपिट गरेको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । गुप्ताको मृत्युपछि वढई फरार थिए । 

काठमाण्डौः     नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव तथा मध्यपश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव छ ।   उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बली भई प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका​ थोरै स्थानमा वर्षा भइरहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदल रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।   प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ । आज काठमाडौँको अधिकतम २८ र न्यूनतम २० डिग्री सेल्सियस छ ।

मकवानपुरः   मकवानपुरको मनहरी गाउँपालिका–६ हिलेदमारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा स्थानीय ३७ वर्षीया जमुनामाया मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।   प्रनाउ कार्कीका अनुसार सोमबार साँझ साढे ६ बजेको समयमा वर्षासँगै आएको चट्याङ लागेर मोक्तानको घटनास्थलमै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको जनाइएको छ ।

तनहुँ:    तनहुँको भिमाद नगरपालिका–५ झकासघाटस्थित सेती नदी किनारबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गर्दा प्रहरीले चार टिपर र एक एक्साभेटर नियन्त्रणमा लिएको छ ।  आज दिउँसो अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोलीले ती सवारी साधन नियन्त्रणमा लिएको हो ।      लु१क ३८३७, लु१क ३८३८, लु१क ३८३९, लु१क ४०६६ नंको टिपर र अल्फाबेट नखुलेको ५९८ नंको एक्साभेटर नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भिमाद नगरपालिकाको कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

पोखराः     गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हालको विज्ञापन बजारलाई व्यवस्थित गर्नु जरुरी रहेको बताउनुभएको छ ।    विज्ञापन बोर्ड नेपालले आज पोखरामा आयोजना गरेको विज्ञापन आचारसंहिता एवं विज्ञापन राष्ट्रिय नीतिसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले विज्ञापनबिना सञ्चार क्षेत्र अघि बढ्न नसक्ने भएकाले आवश्यक कानुन बनाएर विज्ञापन बजारलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।   उहाँले भन्नुभयो, “राज्यको दायित्व सञ्चार जगतलाई टेवा दिने र सक्षम बनाउने हो, विज्ञापन भएन भने सञ्चार क्षेत्र राम्रोसँग अघि बढ्न सक्दैन । राज्य वा सरकारले सञ्चार माध्यमलाई कसरी सक्षम र सवलीकरण गर्ने भन्ने पाटो महत्वपूर्ण हो, आवश्यक कानुन बनाएर विज्ञापन बोर्डमार्फत व्यवस्थित गर्नु जरुरी छ ।”   मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले प्रदेशभित्रका सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराएर सोका माध्यमबाट हातेमालो गर्दै सहकार्यको प्रयत्न गरेको बताउनुभयो । सञ्चार, विज्ञापन क्षेत्र र विज्ञापन बोर्डका बीचमा त्रिकोणात्मक सम्बन्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।    प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले गण्डकी प्रदेशमा विज्ञापन क्षेत्रको नियमनका लागि आवश्यक कानुन निर्माण गरिने बताउनुभयो । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले सरकार विज्ञापनदाता र नियमनकारी दुवै निकाय रहेको बताउँदै संविधानले सङ्घ, प्रदेश र स्थानीय सरकारले विज्ञापन कानुन बनाउन सक्ने व्यवस्था गरेको उल्लेख गर्नुभयो । उहाँले स्थानीयस्तरको विज्ञापन स्थानीय सञ्चार माध्यममा नै प्रकाशन÷प्रसारणको व्यवस्था सरकारी निकायलाई आग्रहसमेत गर्नुभयो ।    कार्यक्रममा विज्ञापन नियमन गर्ने ऐन, विज्ञापन आचारसंहिता, होर्डिङ बोर्ड र त्यसको नियमन तथा अनुगमन र विज्ञापनको राष्ट्रिय नीतिमा समावेश गरिनुपर्ने विषयलगायतबारे छलफल भएको थियो । कार्यक्रममा प्रदेश र विभिन्न स्थानीय सरकारका प्रतिनिधि, विज्ञापन व्यवसायी, उद्योगी तथा सञ्चारकर्मी सहभागी थिए । 

झापाः     गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुर बस्ने १७ वर्षीय रोहितसिंह गनगाईको करेन्ट लागेर आज मृत्यु भएको छ ।   छिमेकीको विवाहमा जेनेरटरको तार खोल्ने क्रममा करेन्ट लागेर गनगाई घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो ।   उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । 

मनाङः    मृगौला रोगी अस्पताल पुग्दा जिल्ला अस्पताल मनाङमा डाक्टर नभेटेको भन्दै स्थानिय विरोध गर्दा प्रहरी र स्थानिय विच मनाङ सदरमुकाम चामेमा झडप भएको छ । झडपमा प्रहरीको गाडीमा सामान्य क्षती समेत भएको जनाईएको छ ।   स्थानीय बासिन्दाहरुले अहेवको भरमा जिल्ला अस्पताल छोड्दा अस्पतालमा आउने सेवाग्राहीले सेवा लिन नपाएको र समयमा नै उपचार नपाउँदा कतिपयको ज्यानसमेत गएको गुनासो गरेका छन् । आफन्तको उपचारको आशमा जिल्ला अस्पताल पुगेका एक स्थानियले गुनासो गर्दै भने, “अस्पतालमा चिकित्सकको दरवन्दी मात्र छ, तर चिकित्सक भने उपलब्ध हुँदैनन ।   “केहीदिन अघिमात्र मनाङ्गमा नेपाल प्रहरीका हवल्दारको अकस्मात लडेर मृत्यु भएको थियो भने सशस्त्र प्रहरीका जवानको समेत भिरबाट लडेर मृत्यु भएको थियो । समयमै डाक्टरको उपचार र सल्लाह सुझाव प्राप्त गर्न सकेको भए राष्ट्र सेवक प्रहरी कर्मचारीहरूको समेत ज्यान बचाउन सकिन्थ्यो कि” ति स्थानियले भने ।   सदरमुकाम समेत रहेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेका अनुसार आफूहरु स्थानीय जनताहरूको नजिकको जनप्रतिनिधि भएकोले गर्दा जनताका हरेक समस्याहरु आफूहरुसम्म आइपुग्ने र प्रदेश र केन्द्र तहबाट उचित पहल नहुँदा स्थानीयको जीवनमाथि नै खेलबाड भैईरहेको महसुस गरेको बताए । उनले थपे , ‘मनाङ जिल्ला अस्पताल प्रदेश सरकारले सन्चालन गरिरहेको अस्पताल रहेको र अस्पतालमा ३ जना डाक्टरको दरबन्दी छ भन्ने सुनेको हो, तर जनता र राष्ट्रसेवक कर्मचारीलाई समेत आवश्यक पर्दा एक जना पनि डाक्टर उपलब्ध नहुँदा विकटका जनताको स्वास्थ्य  प्रती सरकार गैरजिम्मेवार रहेको प्रष्ट हुन्छ’ ।   जिल्ला प्रशासन कार्यालय मनाङ स्रोतका अनुसार भने जिल्ला अस्पतालमा कोभिड दरबन्दीमा डाक्टर रहेको र हाल एकजना मात्र डाक्टर रहेको हुनाले नागरिकले खोजेको बेलामा डाक्टरको उपलब्धता नभएको हुन सक्ने जनाएको छ । एक जना डाक्टर विदामा गएका बेला वा अन्य काममा भएका बेला जिल्ला अस्पतालमा डाक्टर नहुनु स्वभाविक रहेको कार्यालय स्रोतले बतायो ।   गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराको वेभसाईटबाट अरु जिल्लाका विवरणहरु देखिँदा मनाङ जिल्लामा रहेका स्वास्थ्य संस्थाहरू र तीनमा कार्यारत स्वास्थ सेवाका कर्माचारिहरुको कुनै विवरण नै देखिँदैन ।