अर्घाखाँची- सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सम्राट नेपालीको विहीबार चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो । भगवती आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत ती बालक मामाघर बस्दै आएका थिए । खेल्न गएका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाले घरभन्दा करिब एक किमी टाढा लगेर बालकलाई मारेको अवस्थामा स्थानीयवासीले फेला पारेपछि प्रहरीलाई खबर गरेको प्रनाउ थापाले बताउनुभयो ।
काठमाडौं: प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले कुनै पनि विषयलाई सम्बोधन गर्न नसकेको आरोप लगाउनुभएको छ । यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि आजदेखि सुरु भएको छलफलमा भाग लिँदै उहाँले यसले मुलुकको कुनै पनि समस्याको सम्बोधन गर्न नसकेको बताउनुभयो । उहाँले आफ्नो सरकारले अगाडि सारेका नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको भन्दै प्रसन्नता प्रकट गर्नुभयो । ओलीले आफूले स्थापित गरेको सुखी नेपाली र समृद्ध नेपालको नारा हटाइएकामा भने आपत्ति प्रकट गर्नुभयो । आफूहरु सामाजिक सद्भाव, न्याय, समानताको पक्षमा रहेको भन्दै उहाँले राष्ट्रिय हितमा अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले नेपाल र भारतका सरकारका प्रतिनिधि सम्मिलित प्रबुद्ध व्यक्तिको समूह (इपीजी)ले तयार पारेको प्रतिवेदन नेपाल सरकारले बुझ्न र संसद्लाई जानकारी गराउन आग्रह गर्नुभयो । संवादहिनतामा राखेर आफूहरुलाई सरकारले पेलेको, राष्ट्रिय महत्वका विषयमा प्रतिपक्षीसँग संवाद नगरिएकामा समेत ओलीले सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम स्वादविहीन भएको टिप्पणी गर्नुभयो । ओलीले कार्यक्रममा अधिकांश विषय अमूर्त रहेको, राज्य संयन्त्रप्रति अविश्वास व्यक्त गरिएको आरोप लगाउनुभयो । उहाँले परराष्ट्र नीतिलाई आवेगपूर्ण र सत्तास्वार्थमा सङ्कुचित बनाइएको आक्षेप पनि उहाँले लगाउनुभयो । नेता ओलीले यो नीति तथा कार्यक्रमले अघिल्ला सरकारले अगाडि सारेका सकारात्मक कामलाई समावेश नगरेको र राष्ट्रिय आवश्यकतालाई ख्याल नगरेको बताउनुभयो ।
पोखरा: पोखरा महानगरपालिकाको नवनिर्वाचित मेयर धनराज आचार्यले हामी भन्ने भावना राखेर काम गर्नुुपर्ने बताएका छन् । मुुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा महानगरपालिकाद्वारा पोखरामाम आज आयोेजित नवनिर्वाचित पदाधिकारीहरुको घोषणा सभा, प्रमाण पत्र तथा सपथग्रहण समारोहमा सपथ ग्रहणपश्चात बोल्दै आचार्यले यस्तो अभिव्यक्ति दिएका हुुन् । उनले कूनै पार्टीबाट निर्वाचित भएपनि अब नागरिकको साझा जनप्रतिनिधि भएको उल्लेख तर्क राखे । ‘म भन्ने कुुरा भन्दा माथि उठेर हामी भन्ने कुुरामा रहेर काम र कारवाही गरौं । आमसभाबाट निर्वाचित भएर अब हामी तपाईहरु सबैको साझा प्रतिनिधि भएर आइसकेका छौ । अब हामीले हामी भन्ने भावनामा रहि तपाइहरुको समस्या समाधान गर्नेछौं, उनले भने, ‘हाम्रो पहिलो मिसन ‘मिसन पोखरा’ हुुने छ । पोखरालाई स्वच्छ, सुुन्दर पोखरामा परिवर्तन गर्नेछौ ।’ नगर प्रमुख आचार्यले आफुलाई अमुुल्य मत दिएर जिताएको भन्दै आम पोखरेली नागरिकलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।
कास्की: पेट्रोलियम पदार्थको मुल्य वृद्वि भएसँगै पोखरामा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ । वृद्वि मुल्य फिर्ताको माग गर्दै पोखरामा डेढ दर्जन सरकारी सवारी साधनलाई नियन्त्रणमा लिएको अनेरास्ववियुका केन्द्रीय सदस्य तथा कास्की सहइन्चार्ज महेन्द्र उपाध्याय ‘मन्नु’ ले सुनगाभा न्यूजलाई जानकारी दिए । उनका अनुसार जिरोबाट ५, महेन्द्रपुलबाट १ मोटरसाईकल सहित ३, पृथ्वीचोकबाट गण्डकी प्रदेशका पूर्व कानूनमन्त्री हरि चुमानले प्रयोग गरको स्कोर्पियो तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको ४ वटा गाडी, पिएन क्याम्पस गेटबाट ५ वटा, बाग्लुङ बसपार्क र सभागृहमा समान १÷१ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिइएको छ । ‘हामीले नै चाँबी लिएका छैनौ जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई बुझाएका छौ । बेलुकी ५ बजे हाम्रै उपस्थितिमा चाँबी फिर्ता गर्ने सहमति भएको छ, उनले भने, ‘आज शान्तिपूर्ण विरोध जनाएका छौ । यसलाई सरकारले बेवास्ता गर्याे भने भोलीदेखि कडा आन्दोलन थाल्छौ ।’ विहान १० बजे पृथ्वीनारायण क्याम्पसदेखि सुरु गरेको सवारी साधन नियन्त्रण कार्यक्रम ३५ जना बढिको उपस्थितिमा पोखराको विभिन्न चोकहरुमा गरिरहेको उनले बताए । उनका अनुसार ७७ वटै जिल्लामा एकसाथ सरकारी सवारी साधन नियन्त्रण गरि विरोध जनाउने कार्यक्रम जारी छ । गत ९ गतेदखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाइएको थियो । प्रतिलिटरमा १० रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ निर्धारण भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैया बढाउदै प्रतिसिलिण्डर १ हजार ८ सय पुगेको छ । आयल निगमले नोक्सानी व्यहोर्न परेको भन्दै इन्धनको मूल्य बढाएको हो ।
पोखरा महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख मञ्जुदेवी गुरुङलाई प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराई ।
पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराई ।
मनाङः हिमाली जिल्ला मनाङका ६० जनाको आँखाको शल्यक्रिया गरिएको छ । तेजकोलिन एन्ड रोहित फाउन्डेसन र जिल्लास्थित सामुदायिक आँखा अस्पतालको आयोजनामा सदरमुकाम चामेमा सञ्चालित शिविरमा ६० जनाको शल्यक्रिया गरिएको हो । विकट क्षेत्रका यहाँका बासिन्दालाई आँखाको उपचारमा सहयोग पु्र्याउने उद्देश्यले शिविर आयोजना गरिएको तिलगङ्गा आँखा अस्पतालका बाह्य कार्यक्रम अधिकृत खेम लामाले बताउनुभयो । उहाँका अनुसार विकट तथा ग्रामीण क्षेत्रका बालबालिका र ज्येष्ठ नागरिकलाई आँखाको उपचारका लागि सम्बन्धित स्थलसम्म पुग्न कठिन भएकाले उनीहरुको सुविधाका लागि शिविर सञ्चालन गरिएको हो । तिलगङ्गा अस्पतालका नेत्र रोग विशेषज्ञ डा सन्दुक रोहितको संयोजकत्वमा आठ चकित्सक टोलीले शल्यक्रियासहितको सेवा प्रवाह गरेकोे थियो । हालसम्म पनि सडक सञ्जालसँग नजोडिएको नार्पाभूमि गाउँपालिकाको नार र फु गाउँका ज्येष्ठ नागरिक तथा बालबालिका शिविरमा सहभागी थिए । आँखामा जालो बसेको, मोतियाबिन्दु भएका बिरामीको आँखाको शल्यक्रिया गरिएको डा रोहितले बताउनुभयो । बिरामीको आँखाको परीक्षणसँगै शल्यक्रिया निःशुल्करुपमा गरिएको उहाँको भनाइ थियो । गाउँघरमै आँखा परीक्षणको व्यवस्था भएकामा मनाङवासी हर्षित भएका थिए । नार्पाभूमि गाउँपालिका नार गाउँका ८४ वर्षीय फुन्जो ओङ्जेन लामाको आँखामा समस्या भएर उपचार गराउन कठिन भइरहेको अवस्थामा नजिकै उपचार गराउन पाएकामा खुसी लागेको बताउनुभयो । “गाउँबाट आँखा जचाउन चामे आएको थिएँ, काठमाडौँ वा पोखरालगायत ठाउँमा जानुपर्ने बेला यहीँ उपचार पाउने भएपछि गाउँबाट चामे झरेको हुँ”, उहाँले भन्नुभयो, “सजिलो भयो, यही आँखाको शल्यक्रिया गरिएको र चिकित्सकले ठीक हुने बताएका छन् ।”
पाल्पा: पेट्रोलियम पदार्थको मुल्य वृद्विको विरोधमा उत्रिएका एमाले निकट विद्यार्थी तथा युवा संगठनका ६ जना कार्यकर्तालाई पाल्पा प्रहरीले पक्राउ गरेको छ । तानसेन नगरपालिका स्थित आन्दोलन चोकमा चक्का जाम गर्न खोज्ने युवा र विद्यार्थी संगठनका ६ कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा युवा संघ नेपालका केन्द्रीय सदस्य दिपक विश्वकर्मा, जिल्ला कोषाध्यक्ष सुधिर भट्टराई, तानसेन नगर अध्यक्ष राजेश भट्टराई, अनेरास्वयवियुका जिल्ला अध्यक्ष हिरा कुल कुवँर, युवा संघका जिल्ला सदस्य कृष्ण बस्याल र शिशिर बस्याल रहेका छन् । पक्राउ परेका उनीहरुले सवारीसाधन आवतजावतमा अवरुद्ध गर्न लागेका थिए ।
दैलेख- मुगुबाट नेपालगञ्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठवीस नगरपालिका वडा नं. २ को सिस्नेमा भएको दूर्घटनामा परी चार जनाको मृत्यु भएको छ । तीनजनाको घटनास्थलमै र एकजनाको राती उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेहरुमा दैलेखको दुल्लु नगरपालिका २ का प्रेम सुनार र काँशिराम पाण्डे रहेका छन् भने कालिकोट जिल्ला पलाता गाउँपालिका ३ का ज्ञान बहादुर वम र धनकलाशाही रहेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले जानकारी दिनुभयो । दुर्घटनामा ३९ जना घाईते भएका छन् । घाइतेलाई रातभर उद्धार गरि थपउपचारका लागि सुर्खेत कालागाउँ अस्पतालमा पुर्याइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिएका छन् । घटना लगत्तै दैलेखको आठवीस नगरपालिका दैलेखका पूर्व नगर प्रमुख खड्गराज उपाध्याय, राकमको प्रहरी टोली घटनास्थलमा पुगेर घाईतेको उद्धारको काम सुरु गरिएको थियो । उद्धार भएकाहरुलाई कोहीलाई एम्बुलेन्स त कोहीलाई अन्य बसहरुमा सुर्खेत पठाईएको छ । दुर्घटना भएको बस सडक भन्दा ५० मिटर तल कर्णाली नदिको तिरमा खसेको छ । बसमा करिव ५० जनाभन्दा बढी यात्रा गरेको र तीब्र गतिका कारण बस दुर्घटना हुन सक्ने प्रहरीले पुर्वानुमान गरेको छ ।

