दमौलीः व्यास नगरपालिका ५ तल्लो गुणादीमा सडक दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । ग २० प ६३३६ नम्बरको स्कुटरलाई पोखराबाट विराटनगर जाँदै गरेको ना ४ ख ८४४५ नम्बरको बसले ठक्कर दिँदा भिमाद नगरपालिका २ का ४० वर्षिया पवित्रा थापाको ज्यान गएको हो । ज्यान गुमाएकी थापाको दमौली अस्पतालमा उपचारको क्रममा ज्यान गएको बताइएको छ । स्कुटर चालक उनका २० वर्षिया छोरा सुशिर थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनलाई थप उपचारको लागि पोखरा पठाइएको छ ।
भरतपुर: भरतपुर महानगरपालिकाको प्रमुख पदमा पुनःनिर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताउनुभएको छ । अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उहाँले महानगरवासीलाई निराश हुन नदिने बताउनुभयो । स्थानीय तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै उहाँले महानगरका अधुरा काम पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“देशकै ध्यान यो महानगरमा रहेकाले आफू जित्नु सुखद भए पनि जनताको भावना बुझेर काम गर्छु”, उहाँले भन्नुभयो,“स्थानीय सरकार भनेको राजनीति गर्ने ठाउँ होइन, विकास निर्माण गर्ने हो, त्यतै तर्फ लाग्छु ।” पहिलो पटकको कार्यकालमा महानगरमा आफूले गरेको पहिलो निर्णय अहिले धेरै पालिकाले सुरु गरेकाले त्यो जनताबाट अनुमोदित भएको उहाँले बताउनुभयो । पहिलो पटक उहाँ निर्वाचित भएसँगै पहिलो निर्णय भरतपुर अस्पतालमा महिलाका लागि बहिरङग सेवाको टिकट निःशुल्क गरिएको थियो । पाँच दलीय गठबन्धन शान्ति र प्रगतिको लागि भएकाले यो लामो समयसम्म जाने बताउँदै उहाँले यो भत्किहाल्ने, टुटिहाल्ने जस्तो केही पनि नहुने बताउनुभयो । निर्वाचन अघि सार्वजनिक गरेको प्रतिबद्धता अनुरुप नै आफू अबको पाँच वर्ष उही गतिमा काम गर्ने उहाँले दोहोर्याउनुभयो । उहाँले भन्नुभयो “महानगरभित्र पूरा गर्न बाँकी योजना, आयोजना यो कार्यकालभित्रै सम्पन्न गर्ने तर्फ विशेष ध्यान जान्छ ।” भरतपुरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार केही काम अगाडि बढेपनि पूर्ण नभएकाले त्यसमा बढी ध्यान जाने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो “भरतपुरमा मुख्य गरेर रोजगारीको समस्या विकराल बन्दै गएको छ । त्यसको समाधान तर्फ पनि विशेष ध्यान दिने छु ।” शिक्षा, स्वास्थ्य, पूर्वाधार, विकास, फोहर तथा ढल व्यवस्थापनमा जोड दिने भन्दै उहाँले आफूले गरेको कामको अनुमोदन जनताले गरिदिएकोमा खुसी प्रकट गर्नुभयो । गठबन्धनभित्र चुनौती भए पनि गठबन्धनभित्रका दलले इमान्दारिता प्रकट गरेकाले जित भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “विपक्षीहरुले हराउनका लागि ठूलो योजना बुने तर पनि असफल भएका छन् । अब हामी मतदाताले दिएको जिम्मेवारी पूरा गर्न तर्फ लाग्छाै ।”
अछाम । एमबीबीएस डाक्टरभन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मंगलसेन नगरपालिका–२ मिस्तुरु निवासी २९ वर्षीय चक्रबहादुर विश्वकर्मालाई न्यूरोसर्जन भएको भन्दै ठगी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको अछाम प्रहरी प्रमुख रविराज थपलियाले जानकारी दिनुभयो । विश्वकर्माले सरकारी, गैरसरकारी निकायमा र प्रहरीमा समेत आफू वीर अस्पताल र शिक्षण अस्पतालमा न्यूरो सर्जन डाक्टर भएको नक्कली परिचयपत्र बनाएर अनुचित फाइदा लिएको सूचनाको आधारमा पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा वीर अस्पताल र शिक्षण अस्पतालको डाक्टर भनेपछि उहाँलाई पक्राउ गरिएको अछाम प्रहरी प्रमुख थपलियाले जानकारी दिनुभयो । प्रहरीले विश्कर्माको साथबाट डाक्टर दीपक विसीको नक्कली परिचयपत्र, दीपककै नाममा काटिएका सहयोग रसिद, बैंकका भौचर र हवाइजहाजको बोर्डिङ पास, चक्रबहादुर नामको मतदाता परिचयपत्र फेला परेको छ । डाक्टर दीपक भनेर विभिन्न व्यक्तिसँग अनुचित लाभ लिनका लागि ढाँटेको भनेर प्रहरीमा स्वीकारेको बताइएको छ । पक्राउमा परेका विश्वकर्माको बारेमा थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ ।
पोखरा: पोखरा महानगरपालिकाको मतगणनाको दौरान वडा नम्बर १८ को ९ मत हराएको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ । सोही कारण हाल मतगणना स्थगित भएको छ । हालसम्मको मतगणना अनुसार गठबन्धनका उम्मेदवार धनराज आचार्य महानगरको मेयरमा सुनिश्चित भएका छन् । ‘वेटिङ मेयर’ आचार्यले हालसम्म ५६ हजार ३ सय ३८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्दी थापाले ५१ हजार ३ सय ५१ मत पाएका छन् । आचार्य भन्दा थापा ४ हजार ९ सय ८७ मतले पछि छन् । आचार्यको जितको औपचारिक घोषणा भने हुन बाँकी छ । पोखरा महानगरको उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ दोहोरिने निश्चित देखिएको छ । उनले ५८ हजार ७ सय ४६ मत पाएकी छिन् । भने रानाभाटले ५४ हजार ७ सय १४ मत प्राप्त गरेकी छिन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी कोपिला रानाभाट भन्दा गुरुङ ४ हजार ३२ मतले अघि छिन् । पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो । सो मध्ये ४ हजार ६ सय २ मतगणना हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा महानगरपालिकाले जनाएको छ ।
काठमाडौँ- आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न सङ्घीय संसद्को बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । संवैधानिक व्यवस्था अनुसार हरेक वर्षको जेठ १५ गते संघीय सरकारको आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ । त्यसको एक साता अगाडि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै आएको छ । नीति तथा कार्यक्रमका बारेमा छलफल गर्न गठबन्धन दलहरुबीच गत शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो ।
काठमाडौं: प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले तत्काल सौन्दर्य प्रतियोगिता 'ब्युटी पेजेन्ट' गर्न नदिन सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले शीघ्र नीतिगत स्पष्टता कायम गराएर मात्र ब्युटि पेजेन्टलगायतका मनोरञ्जनात्मक प्रतिस्पर्धा संचालन गर्न दिन गृह मन्त्रालयलाई निर्देशन दिएको हो । ‘विभिन्न नाममा हुने सुन्दरता, मोडलिङ सम्बद्ध प्रतियोगिताहरु र मनोरञ्जन क्षेत्रमा संलग्न विविध वर्ग र प्रवर्ग (उमेर, जात, योग्यतामा आधारित कुनैपनि प्रकारका सौन्दर्यता सम्बद्ध प्रतिस्पर्धात्मक कार्यक्रम सम्बन्धमा विस्तृत छलफल गरी शीघ्र नीतिगत स्पष्टता कायम गराएर मात्र संचालन गर्न दिन समितिको यो बैठक नेपाल सरकार गृह मन्त्रालयलाई निर्देश गर्दछ’ निर्णयमा भनिएको छ । ब्युटी पेजेन्टको नाममा एक युवतीमाथि बलात्कारको आरोप लागेपछि समितिले गम्भीर ध्यानाकर्षण जनाउँदै यस्तो निर्णय गरेको हो। समितिले यौन हिंसा, बलात्कार तथा यौन दुर्व्यवहारको घटना भएको थाहा पाएर पनि सम्बन्धित निकायमा उजुरी नदिने, उजुरी दिन दुरुत्साहन गर्ने, पीडकलाई लुकाउने, संरक्षण दिने व्यक्ति पनि अपराधका मतियार भएको ठहर गरेको छ । मतियारले घटना घटाउनका लागि वा घटना भइसकेपछि पीडितलाई न्याय नदिन, वा न्यायको पहुँचमा बाधा अड्चन पुर्याउन सहयोग गर्ने भएकाले यस्ता मतियारलाई प्रचलित कानून बमोजिम कानूनी कारवाहीको दायरामा ल्याउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ । महिला हिंसा विरुद्धका उजुरी तथा मुद्दाहरूलाई उच्च प्राथमिकता दिई द्रुतमार्ग मार्फत् शीघ्र न्याय प्राप्ति हुने अवस्था सृजना गर्न, पीडितलाई संरक्षण एवं मनोपरामर्श उपलब्ध गराउन पनि समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई निर्देश गरेको छ ।
पोखराः पोखरा महानगरपालिका १७ को वडा अध्यक्षमा निर्वाचित हुँदै नेकपा एमालेकी राधिकाकुमारी शाही एकमात्र महिला वडा अध्यक्ष बनेकी छिन् । शाहीले नेपाली कांग्रेसका देवराज आचार्यलाई पराजित गर्दै पोखराका महानगरपालिकाकै एकमात्र महिला वडा अध्यक्ष बनेकी हुन् । नेकपा एमालेको प्यानल विजयी बनेको उक्त टिमको सदस्यमा विक्रम गुरुङ र शिवराम भण्डारी विजयी भए । यसैगरि महिला सदस्यमा विष्णुकुमारी थापा र दलित महिला सदस्यमा तारा परियार विजयी भएकी छिन् ।
वीरगञ्ज, पर्सा प्रहरीले १२ बोरको घरेलु बन्दुकसहित २७ वर्षीय युवकलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना मुद्दा चलाएको छ। पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ बस्ने २७ वर्षीय मनोज भन्ने शिवु माझी मुसहरलाई १२ बोरको एकनाले बन्दुकसहित नियन्त्रणमा लिएर हातहतियार तथा खरखजाना मुद्दा चलाएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार शनिबार साँझ ७ बजे इलाका प्रहरी कार्यालय एकटाङ्गा र प्रहरी चौकी मनवाको संयुक्त टोलीले तेलिया टोल जाने बाटो भएर १२ बोरको एक नाले घरेलु बन्दुक बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको थियो। पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइ मुद्दा प्रक्रिया अगाडि बढाइएको र अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो।
काठमाडौं, स्थानीय तह सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेकाे अवस्थामा ७५३ पालिकामध्ये विवादका कारण स्थगित दुई पालिकाको मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन । बाजुराको बुढीगङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना रोकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उदयपुरको त्रियुगा नगरपालिकामा मतदान चल्दाचल्दै विवाद भएर मतदान प्रक्रिया नै रोकिएको थियो । बाजुराको बुढीगङ्गाा गाउपालिकामा भने मतगणना कार्यमा विवाद भएको थियो । निर्वाचन आयोगमा यी घटनाको बारेमा उजुरी आएको उहाँको भनाइ छ । आयोगले अव छिट्टै यस विषयमा आवश्यक निर्णय गर्ने प्रवक्ता शर्माले बताउनुभयो । केही दिनमा यी दुई पालिकाको विषयमा आयोगले निर्णय गर्ने उहाँले बताउनुभयो । ‘मतदान र मतगणना रोकिएका यी दुई पालिकाबाट आयोगमा उजुरी आएको छ । आयोगले यी विवादलाई समाधान गरेर चाँडै समाधान गर्नको लागि वातावरण बनाउने कोसिस गर्दैछ,’उहाँले भन्नुभयो ।

