फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

काठमाडौं:    प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रुपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रुपमा उत्पत्ति हुनुभएको वर्णन विभिन्न ग्रन्थमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएको थियो । पितृ आज्ञा पालना गर्न राम वनवास जाँदा सँगै जानुभएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको कथा पुराणमा उल्लेख छ । रावणलगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी सीताले महारानीको पद त्याग गरेर गर्भिणी भए पनि वनवास हिँडेकाले आदर्श नारीका रुपमा सम्झना गरिन्छ । अयोध्या त्याग गरे पनि मन, वचन र कर्मले पति रामप्रति समर्पित रहेको, लव, कुश दुई छोरालाई वाल्मीकि आश्रममा राखेर शिक्षा दीक्षाले निपुण बनाइ अयोध्या फर्काएका कारण पनि सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको धर्मशास्त्रविद् भट्टराई बताउनुहुन्छ । अयोध्यामा आएका लव, कुशले रामायणको कथा एवं सीता निर्दोष भएर पनि वनमा बस्नुपरेको करुण गीत सुनाएपछि प्रजाको मागअनुसार सीतालाई ऋषि वाल्मीकिसहित दरबारमा बोलाइएको थियो । दरबार आएकी सीताको धेरै अयोध्यावासीले स्वागत गरे पनि केहीले पवित्रताको विषयमा प्रश्न उठाएपछि सीताले ‘म पवित्र छु भने हे धर्तीमाता मलाई आफ्नो कोखमा लिनुस्’ भनी आह्वान गरी पृथ्वीभित्र लोप हुनुभएको वर्णन वैदिक ग्रन्थमा गरिएको छ । प्रश्न उठाउने प्रजाले सीतासँग माफी मागे पनि उहाँ धर्तीको कोखमा लुप्त हुनुभएको प्रसङ्ग रामायणलगायत धर्म ग्रन्थमा उल्लेख गरिएको छ । यसरी माटोबाट उत्पत्ति हुनुभएकी सीता माटोमै लुप्त हुनुभएको थियो । सीता उत्पत्ति हुनुभएको भए पनि आजको दिनलाई सीता जयन्तीका रुपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ । यसैगरी जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गरेको छ । सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई स्मरण गर्दै सरकारले उहाँलाई राष्ट्रिय विभूतिका रुपमा सम्मान दिएको छ ।

पोखरा:   नेकपा एमाले निकट अनेरास्ववियुले सरकारले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने निर्णय गरेको भन्दै विरोध गरेको छ ।  राज्यकोषबाट रकम बाँड्ने निर्णय फिर्ता लिन माग गर्दै अनेरास्ववियुले आज शुक्रबार पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध नाराजुलुस गर्दै विरोध गरेको हो ।  प्रधानमन्त्री प्रचण्ड विरुद्ध नाराजुलुस गर्दै अनेरास्ववियुले नालायक सरकार राजीनामा दे, प्रचण्डे चोर देश छोड्,अयोग्य लडाकुलाई राहत दिने निर्णय खारेज गर लगायतका नारासमेत लगाए ।    विरोध प्रदर्शन पश्चात कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस समितिका अध्यक्ष विष्णु पोखरेलले अयोग्य लडाकुलाई कहिले सम्म सरकारले अयोग्य बनाएर रकम बाँड्ने हो भनेर प्रश्न समेत गरे ? उनले सरकारले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताए । अनेरास्ववियुले पोखरामा सरकारको यो निर्णय विरुद्ध कालो ब्यानरसमेत प्रदर्शन गरेको थियो ।  सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७९ बाट पूर्व लडाकुलाई सरकारले जनही दुई लाख रूपैयाँ रकम उपलब्ध गराउन लागेको भन्दै अनेरास्ववियुले पोखरामा विरोध गरिएको हो ।

काठमाडौं:    सङ्घीय संसदको चालु अधिवेशन आज (शुक्रबार) राति १२ बजेबाट अन्त्य हुने भएको छ। सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले  अधिवेशन अन्त्य सम्बन्धी पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको जानकारी दिनुभयो। सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार संघीय संसदको चालु अधिवेशन आज राति १२ बजेपछि अन्त्य हुनेछ। चालु अधिवेशन २०७९ पुस २५ गतेबाट सुरु भएको थियो। आगामी जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गर्नुपर्ने भएकाले चालु दुवै अधिवेशन अन्त्य गरिएको हो। केही दिनभित्रै बजेट अधिवेशनका रुपमा सङ्घीय संसदको बजेट अधिवेशन आह्वान हुनेछ।  कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले दुवै अधिवेशन अन्त्य भएको जनकारी पत्रमार्फत् सभामुखलाई जानकारी गराउनुभएको हो । 

पोखरा:   आजबाट प्रदर्शन भएको चलचित्र ‘प्रसाद २’ सत्ता लोभ र जातीय विभेदको कथामा आधारित रहेको कलाकार अर्पण थापाले बताएका छन् । बिहीबार चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै कलाकार थापाले चलचित्र ‘प्रसाद २’ ले सामाजिक मनोभावनालाई प्रस्तुत गरेको बताएका हुन् ।  ‘प्रसाद २ तपाई हाम्रै समाजमा भएको कथा हो । समाजमा राजनीतिलाई कति सम्म दुर्गन्धित बनाइएको छ भन्ने विषयलाई उठान गरिएको छ । जातीय विभेदका कारण भोग्नुपर्ने समस्यालाई देखाउन खोजिएको छ । व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नहुँदा नागरिकका अधिकार पिल्सिएको कथावस्तु प्रस्तुत गरिएको छ ।’, उनले भने ।  कलाकार थापाले चलचित्रमा कन्टेन्ट नै हिरो हुनुपर्ने धारणा राखेका छन् । फितलो कन्टेन्टलाई दर्शकले रुचाउन छोडेको भनाई उनको छ । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका लागि सुखद रहेको बताउँदै कन्टेन्ट राम्रो भए नेपाली चलचित्र क्षेत्रको विकास र स्तरउन्नतिमा सुधार हुँदै जाने उनले बताए ।  चलचित्र पत्रकार संघ कास्कीको नयाँ वर्ष २०८० सालको भित्तेपात्रो विमोचन गर्दै नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिमल्सिना पंगेनीले काठमाडौं भन्दा बाहिर मोफसलमा विषयगत पत्रकारिता गर्न सकस रहेको उल्लेख गरिन् । विषयगत पत्रकारितामा अप्ठ्यारो स्थिति हुँदाहुँदै चलचित्र पत्रकार संघ कास्कीको सक्रियता भने प्रशंसनिय रहेको भनाई उनको छ ।  चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संस्थाको स्थापनाका विषयमा जानकारी गराए । उनले पोखरामा चलचित्र सम्बन्धि गतिविधि बढ्दै गएको र संस्थाले उक्त गतिवधिलाई बढाउन उल्लेखनिय काम गर्दै आएको बताए ।  नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले चलचित्र पत्रकार संघ कास्कीको नयाँ नेतृत्व  आइसकेपछि क्रियाशिलता बढ्दै गएको उल्लेख गरे । एक पछि अर्को कार्यक्रम गरी पोखरामा मनोरञ्जन सम्बन्धि गतिविधिलाई संघले बढ्वा दिएको भनाई उनको छ । उनले नेपाली चलचित्रले समाजको कथावस्तुलाई मसिनो गरि केलाई त्यसको उजागर गर्न तर्फ लाग्नुपर्ने धारणा राखेका छन् ।  चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका संस्थापक सदस्य एवम् नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बराल र कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । संघको भित्तेपात्रो विमोचन कार्यक्रम संघका उपाध्यक्ष अर्पण तिवारीको संयोजनमा भएको थियो । 

पोखरा:   राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद शिव नेपालीले पोखराको हङकङ बजारलाई ४ सय बढी कर बढाएर बोलपत्र आह्वान गरेको विरोधमा संसदमा आवाज उठाएका छन् ।   प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद नेपालीले फुटपाथमा व्यापार गर्दै आएका व्यापारीले एक दशकदेखि व्यापार गर्दै आएको कम्पनीको जग्गामा ४ सय प्रतिशत कर बढाएर बोलपत्र आह्वान गरिएको भन्दै विरोध गरेका हुन् ।  ‘पोखराको पृथ्वीचोकस्थित फुटपाथ व्यापारीलाई हङकङ बजार नामाकरण गरी एउटै छानामुनी व्यापार गर्दै गर्दा कृषि साम्रगी कम्पनीले ४ सय प्रतिशत कर वृद्धि गरेर बोलपत्र आह्वान गरेर व्यापारीहरुलाई आतङ्कीत बनाएको छ, यसको सरकारको ध्यान जाओस’ सांसद नेपालीले भने ।  उनले मूल्य वृद्धि भएको समयमा एउटै छानामुनी बजार सञ्चालन गरेका व्यवसायीहरुलाई आतङ्कीत बनाउने गरी आह्वान भएको बोलपत्रमा सरकारको ध्यानाकर्षण  गराएका हुन् ।  ‘देशमा भएको अर्थतन्त्रको खस्कदो अवस्थाले देश आज चरममन्दीमा पुगेको छ, उनले भने ,‘मूल्यवृद्धि राज्यको बढ्दो कर, शिक्षा स्वास्थ्यको खर्चिलो र महङ्गीले गरिव तथा मध्यम वर्गीय परिवारले बाँच्न पाउने अधिकारमा प्रश्न चिह्न खडा भएको छ ।’  उनले गरिवका लागि सरकार कहिले गम्भिर हुने भनेर प्रश्न समेत गरेका छन् ।  उनले २२ अर्व खर्च गरेर निर्माण गरिएको पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट पोखरेलीले पर्यटक कुरेर बसेरको भन्दै अन्र्तराष्ट्रिय उडानमा ध्यान दिन समेत आग्रह गरे ।  कृषि साम्रगी कम्पनीको सामित्वमा रहेको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजारमा नघट्ने गरी सिलबन्दी बोलपत्र आह्वान गरेपछि अहिलेको भन्दा ४ सय प्रतिशत कर बढाएर  बोलपत्र आह्वान गरेको भन्दै व्यवसायीले पोखरा महानगरपालिका र कृषि सामग्री प्रादेशिक कार्यालयमा दुईदिन सम्म धर्ना समेत दिएका छन् ।  उक्त जग्गामा एक दशकयता पोखरामा छरिएर रहेका फुटपाथ व्यवसायीहरुले ४ सय बढी सटरमा व्यापारव्यवसाय गर्दै आएका छन् ।   

दाङ:   बिहीबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चयन भएका डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । लुम्बिनीका मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन ।  लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका चौधरी हिजो मुख्यमन्त्रीमा नियुक्त भएका हुन ।  चौधरीलाई कांग्रेस, माओवादीसहित नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ ।  

काठमाडौं:   वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित दुईजना प्रतिनिधिसभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथग्रहण गरेका छन् । चितवन-२ बाट निर्वाचित लामिछाने र तनहुँ-१ बाट निर्वाचित वाग्लेले आज (शुक्रबार) शपथग्रहण गरेका हुन् ।  निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गराए । बारा-२ बाट निर्वाचित उपेन्द्र यादवको शपथग्रहण भने आज हुन सकेन । गत मङ्सिर ४ मा भएको निर्वाचनबाट तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो । साथै बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि र चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पदमुक्त भएकाले उपनिर्वाचन भएको थियो । उपनिर्वाचनबाट लामिछाने पुनः सांसद चुनिएका हुन ।

पोखरा:  बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्रीमा चयन भएका सुरेन्द्र पाण्डेले आज पद तथा गोपनियताको शपथ लिएका छन्।    शपथ लगत्तै मुख्यमन्त्री पाण्डेले सरस्वती तिवारी अर्याल र सुशीला सिम्खडालाई मन्त्रीमा नियुक्त गरेका छन् । मन्त्रीमण्डल विस्तार बाँकी नै रहेकाले मन्त्रीद्वयलाई मन्त्रालय तोकिएको छैन् ।    नियुक्त भएका मन्त्रीमा अर्याल नेपाली कांग्रेस र सिम्खडा नेकपा माओवादी केन्द्रबाट विनाविभागीय मन्त्रीमा नियुक्त भएका हुन् ।   नेकपा माओवादी र एकिकृत समाजवादी सहित ३५ सांसदको  समर्थनमा पाण्डे हिजो (बिहीबार) मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  मुख्यमन्त्रीमा नियुक्त भएपश्चात पाण्डेले सातवटै मन्त्रालयलाई नै कायम गर्ने बताएका छन् ।   

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले स्कुटरको डिक्कीमा रहेको पैसा चोरी गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको  छ ।   कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार विकका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका ९ शान्तिवन बस्दै आएका २३ वर्षीया वर्षा कामी रहेकी छिन् ।    पक्राउ परेकी वर्षाले बुधबार पोखरा –९ लखनचोकस्थित राष्ट्रिय बाणिज्य बैंक अगाडी पार्किङमा रहेको  सराङकोटका आत्मा बहादुर थापाको स्कुटरको डिक्कीमा रहेको नगद रु ८० हजार चोरेर फरार भएकी थिइन् ।   उक्त सुचनापश्चात वडा प्रहरी कार्यालय बैदाम र सिआरभी लखनचोकबाट खटिएको प्रहरीको टोलीले ती युवतीको हुलिया र सिसिटिभी फुटेजको आधारमा पक्राउ गरिएको डिएसपी बिकले जानकारी दिए ।    उनका अनुसार ति युवतीलाई शान्तिवनस्थित आफ्नै घरमा लुकेर बसिरहेको अवस्थामा नगदसहित फेला पारेको थियो ।    पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिन म्याद थप गरिएको कास्की प्रहरीले जनाएको छ ।