काठमाडौं: हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभाग केही स्थानमा मेघगर्जन(चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन(चट्याङसहित हल्का(क्षणिक वर्षाको सम्भावना छ । शनिबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन(चट्याङसहित हल्का(क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री र अधिकमत तापक्रम २७ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।
पोखरा: पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतीलाल तिम्सिना र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार महानगरपालिकाको कार्यालयमा भएको भेटवार्तामा तिम्सिना र राजदूत थम्पसन बिच द्विपक्षीय सहयोग आदानप्रदानका विषयमा छलफल भएको हो । भेटवार्ताका क्रममा कार्यवाहक प्रमुख तिम्सिनाले पर्यटन प्रवर्द्धन र कनेक्टिभिटीमा सहयोगका लागि कूटनीतिक पहल गरिदिन राजदूत थमसनसँग आग्रह गर्नुभयो । ूपोखरा महानगरपालिकाका पर्यटकीय दृष्टिकोणले महत्त्व बोकेको महानगरपालिका हो, तिम्सिनाले भन्नुभयो, अन्तर्राष्ट्रिय सहरसँग जोड्ने गरी हालै मात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएको छ, यहाँबाट अन्तराष्ट्रिय हवाई सेवा समेत सञ्चालन गर्न सकिने अवस्था छ ।ू यहाँ अझ धेरै पर्यटन पूर्वाधारहरू निर्माण गर्नुपर्ने आवश्यकता भएकाले अमेरिकी सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो । पोखराको विकासमा फ्रन्टलाइनर भएर सहकार्य गर्न आग्रह गरिएको पनि तिम्सिनाले बताउनुभयो । महानगरपालिकाको शिक्षा, स्वास्थ्य र आर्थिक विकासका विभिन्न कार्यक्रममा अमेरिकाले सहयोग गर्न सक्ने उहाँले बताउनुभयो । राजदूत थम्पसनले पोखराको दिगो पर्यटन विकासमा सहकार्य गर्न अमेरिका तयार रहेको बताउनुभयो । व्यवस्थित ई(लाइब्रेरी स्थापनाका लागि समेत आफूले विशेष पहल गर्ने उहाँले बताउनुभयो । बुधवार पोखरा आउनु भएका राजदूत थमसन शुक्रवार काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।
काठमाडौं: एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ । समूह ‘ए’को अन्तिम खेलमा बिहीबार नेपालले कतारलाई र समूह ‘बी’ को अन्तिम खेलमा कुवेतले हङकङलाई हराएपछि सेमिफाइनल समिकरण पूरा भएको हो । सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ को विजेता संयुक्त अरब इमिरेट्स ९युएई०ले समूह ‘ए’ को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्नेछ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा नेपालले कतारलाई ६८ रनले हराउँदै समूह विजेता बनेको हो । मुलपानी मैदानमा बिहीबारनै भएको समूह ‘बी’ को अन्तिम खेलमा कुवेतले हङकङलाई ३० रनले हरायो । जितका लागि दुई सय ७३ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४२ रन मात्र बनाउन सक्यो । यसअघि कुवेतले निर्धारित ओभरमा आठ विकेटको क्षतिमा दुई सय ७२ रन बनाएको थियो । जितसँगै कुवेतले चारखेलबाट ६ अङ्क बनायो । उपविजेता युएईले ६ अङ्क जोडेको छ । कुवेतसँग हारेसँगै हङकङ प्रतियोगिताबाट बाहिरिएको छ । पाँच अङ्क बनाएको हङकङका लागि अन्तिम खेल दुःखद् बन्यो । समूह ‘बी’ बाट बहराइन र सिंगापुर बाहिरिसकेका छन् । सेमिफाइनल वैशाख १६ र फाइनल खेल १८ गते कीर्तिपुरमा हुनेछ । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ । शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।
पोखरा: गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । गोरखा क्षेत्र नम्बर २ (२) प्रदेश सभा सदस्य चुनिएका पाण्डेले नेपाली कांग्रेससहित, माओवादी केन्द्र र स्वतन्त्र सांसद हाल एकिकृत समाजवादी प्रवेश गरेका दिपक मनाङ्गेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । हालै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका सुरेन्द्र पाण्डेले पद गोपनियताको सपथ भोलि (शुक्रबार) लिने प्रदेश प्रमुख कार्यालयले जनाएको छ । कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ सहित ३५ सांसदको हस्ताक्षरसहित पाण्डे गण्डकीको मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दावी गरिएको थियो । गत पुस २५ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीले वैशाख ९ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन हुन लागेको हो । केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीले समर्थन फिर्ता लिएपछि अधिकारीले विश्वासको मत गुमाएका थिए । त्यसपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आज दिउँसो ४ बजेभित्र दावी पेश गर्न समयसीमा दिएका थिए । ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ । गण्डकीमा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीका ७ (सभामुख) बाहेक, राप्रपाका २ र स्वतन्त्र हाल एकिकृत समाजवादी प्रवेश गरेका एक सांसद रहेका छन् ।
काठमाडौं: स्पिनर सन्दिप लामिछानेको अलराउन्ड प्रदर्शनमा एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ । कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमा अलआउट भयो । कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेटमा सबै विकेट गुमाएर १५७ रन जोडेको थियो । नेपालका दशौं नम्बरमा आएका सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए । ५८ बलको सामना गरेका उनले ६ चौका हानेका थिए । उनी नै बिहीबारको खेलको प्लेयर अफ दि म्याच बने । कप्तान रोहितकुमार पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्र सिंह ऐरीले १२, सोमपाल कमी र आरिफ शेखले ११÷११ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेका थिएनन् । कतारका अमिर फारुकले ४ विकेट लिंदा ओवाइस अहमदले तीन विकेट आफ्नो नाममा लेखाएका थिए ।
पाेखरा: यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन हुने सवारी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको छ। बिहीबार एक सूचना जारी गर्दै विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। यो व्यवस्थासँगै अब विदेशबाट पार्टपूर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन: दर्ता र नामसारी लगायतका प्रयोजनका लागि प्रज्ञापनपत्र आवश्यक पर्ने छैन। त्यस्तै, नेपालमा जडान हुने वा उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुन: दर्ता र नामसारी लयातका कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक र प्रचलित कानुन बमोजिम अन्तः शुल्क तिरेको प्रमाण पेश गर्नुपर्ने हुन्छ। विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११.१ अन्तर्गत नयाँ बुँदा ११.१.९ थप गरेको हो। यसभन्दा अघि उक्त निर्देशिकाले सवारी दर्ताका लागि सक्कल भन्सार प्रज्ञापनपत्र र भन्सार महसुल तिरेको रसिद अनिवार्य बुझाउनुपर्ने व्यवस्था गरेको थियो। यसै कारण नेपालमै पहिलो पटक विद्युतीय मोटसाइकलको व्यावसायिक उत्पादन गरिरहेको यात्री मोटरसाइकल दर्ता हुन सकिरहेको थिएन। अब भने नेपालमै बनेका सवारी साधनले प्रज्ञापनपत्र बिना पनि दर्ता गर्न सक्ने बाटो खुलेको छ। यसभन्दा अघि सोमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ ले नेपालमा उत्पादित सवारी साधन दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता हल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको थियो। उनले यातायात व्यवस्था कार्यविधि निर्देशिका २०६० मा आवश्यक संशोधन गरी नेपालमा उत्पादित सवारीसाधन दर्ता गर्नका लागि मन्त्रालयलाई तीन दिनभित्र आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको थियो।
गुल्मी: गुल्मीको मालिका गाउँपालिका -२ दर्लिङ्गको दुनाममा गएराती दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । मृत्यु हुनेमा सह-चालक बागलुङको बडिगाड गाउँपालिका -९ बल्गास बस्ने १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गएराती करिब ११ः४० बजे दर्लिङ्गदेखि बागलुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को डबल क्याब जिप दुर्घटना भएको हो । यसैगरी सोही ठाउँका चालक २१ वर्षीय प्रेम केसी घाइते भएका छन् । घाइते केसीको अवस्था मध्यम रहेकोले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपको एक्कासि ब्रेक फेल भएर सडकभन्दा करिब १५० मिटर तल खसेको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि ७७ वटै जिल्लामा पाठ्यपुस्तक पु¥याएको छ। सबै जिल्लामा पाठ्यपुस्तक पुगे पनि वितरणको काम भइरहेकाले केही विद्यालयमा सहज रूपमा पुग्न अझै केही समय लाग्ने केन्द्रले जनाएको छ। केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाका अनुसार करिब ९० प्रतिशत पाठ्यपुस्तक वितरण भइसकेको छ। केन्द्रलाई कक्षा ६–१२ सम्मका लागि एक करोड ५० लाख थान पुस्तक छाप्ने जिम्मा दिइएको थियो। बुधबारसम्ममा एक करोड ३३ लाख ९५ हजार सात सय थान पाठ्यपुस्तक वितरण भइसकेको छ। केन्द्रको विराटनगर कार्यालयबाट १६ लाख ५४ हजार चार सय, जनकपुर कार्यालयबाट १५ लाख ८० हजार तथा भरतपुर कार्यालयबाट १४ लाख १५ हजार थान पुस्तक वितरण भएको छ। त्यस्तै बुटवल कार्यालयबाट १४ लाख २५ हजार, पोखरा कार्यालयबाट ११ लाख ७४ हजार पाँच सय, नेपालगञ्ज कार्यालयबाट १५ लाख ४४ हजार, सुर्खेत कार्यालयबाट आठ लाख १६ हजार चार सय, धनगढी कार्यालयबाट १८ लाख ९० हजार तथा भक्तपुरको सानोमिठीस्थित केन्द्रीय कार्यालयबाट १८ लाख ९६ हजार चार सय थान पाठ्यपुस्तक वितरण भएको छ। बाँकी केही पाठ्यपुस्तक केन्द्रमै जगेडा राखिएको छ भने केही वितरणकै क्रममा छ। केन्द्रको क्षेत्रीय कार्यालयबाट वितरण भइरहेका पुस्तक सम्बन्धित जिल्लाका स्थानीय विक्रेतामार्फत विद्यालयमा पु(याउने काम भइरहेको छ। यस वर्ष केन्द्र समयमै पाठ्यपुस्तक छपाइ तथा वितरण गर्न सक्षम भएका कारण झन्डै एक दशकपछि सामुदायिक विद्यालयका विद्यार्थीले भर्नासँगै पाठ्यपुस्तक पाएका छन्। सरकारले वैशाख ३ गतेदेखि नयाँ शैक्षिक सत्रसँगै भर्ना अभियान पनि सुरु गरेको थियो। अभियान वैशाख १५ गतेसम्म सञ्चालन हुनेछ। मुलुकभर पाठ्यपुस्तक वितरण गर्न केन्द्रले एक हजार २६७ वटा स्थानीय विक्रेता तोकेको छ। केन्द्रले पुस्तक विक्रेतालाई कमिसनबापत नौ प्रतिशत र ढुवानीका लागि पुस्तकको मूल्यको अधिकतम ६८ प्रतिशतसम्म रकम दिने गरेको छ। केन्द्रका प्रबन्ध सञ्चालक झाले समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्नुमा समयमै कागज खरिद, कर्मचारीको सही परिचालन तथा केन्द्र परिसरमा रहेका सबै छपाइ मेसिनको प्रयोग गर्नु मुख्य उपलब्धि भएको बताउनुभयो। केन्द्रले गत वर्ष कक्षा ५ देखि १० सम्मको पाठ्यपुस्तक छापेको थियो। साथै त्यति बेला कागज खरिद प्रक्रिया लम्बिएका कारण पाठ्यपुस्तक छपाइमा समस्या हुने गरेको थियो। जसको असर विद्यार्थीको पढाइमा पुग्दथ्यो। यस पटक कागज खरिदमा सरकारले सहजीकरण गरिदिएको र जनक शिक्षालाई पाठ्यपुस्तक छपाइको जिम्मा पनि कक्षा ६ देखि १० सम्मका लागि मात्रै दिएकाले सहज भएको केन्द्रले जनाएको छ। “आउने दिनमा पनि यस्तै अवस्था रह्यो भने अहिले निजी मुद्रण संस्थालाई छाप्न दिएको पुस्तक पनि हामी नै छाप्छौँ। जसबाट केन्द्रको आम्दानी पनि वृद्धि हुनेछ,” केन्द्रका प्रबन्ध सञ्चालक झाले भन्नुभयो। उहाँले यस पटक पुस्तक छाप्ने कागज खरिदका लागि केन्द्रले विभिन्न बैङ्कबाट ८५ करोड रुपियाँ ऋण लिएको र उक्त ऋणमध्ये ४० करोडभन्दा बढी पाठ्यपुस्तक छापेर आएको आम्दानीबाट तिरिसकेको जानकारी दिनुभयो। कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको निजी मुद्रण संस्थाले पनि सम्पूर्ण पुस्तक छापेर वितरण गरिसकिएको जनाएको छ। यी पाठ्यपुस्तक छपाइका लागि १३ वटा मुद्रण संस्था छानिएका छन्।
पोखराः पोखरा महानगरपालिका ९ स्थित हङकङ बजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले आफ्नो समस्या समाधान नभएको भन्दै ३ बुँदे मागसहित आन्दोलनको घोषणा गरेका छन् । कृषि सामग्री कम्पनी र नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा विगत १० वर्षदेखि व्यवसाय गर्दै आएपनि हङकङ बजारलाई टेण्डरमार्फत विस्थापन गर्न लागेको भन्दै पत्रकार सम्मेलन गरी ३ बुँदे मागसहित आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । पोखराका सडकलाई फुटपाथ व्यवसायी मुक्त बनाउन २०६९ सालमा स्थापना गरिएको हङकङ बजारलाई ठेकेदारलाई फाइदा पुग्ने मनसायले बोलपत्र आह्वान गरिएको भन्दै आन्दोलनको घोषणा गरेको समितिका अध्यक्ष कृष्णकुमारी गुरुङले बताइन् । ‘विगत १० वर्षदेखि कृषि सामाग्री कम्पनी र नगर विकास समति पोखराको स्वामित्वमा रहेको जग्गामा हङकङ बजारमा व्यवसाय सञ्चालन गर्दै आएका छौं, गुरुङले भनिन्, ‘उक्त स्थानमा व्यवसाय गरेवापत (६/९ र ९/९ को) सटरको मासिक भाडा बुझाउँदै आएपनि अहिले टेण्डरमार्फत व्यवसायीहरुलाई विस्थापन गर्न खोजिएको छ ।’ उनले फुटपाथ व्यवसायीहरुलाई हङकङ बजारमा व्यवस्थापन गरेपनि अहिले टेण्डरमार्फत भाडामा लगाउँदा राज्यलाई नभएर ठेकेदारलाई फाइदा पुग्ने भन्दै आन्दोलनको घोषणा गर्न बाध्य भएको बताईन । कृषि साम्रगी कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजार भाडा दिन सिलबन्दी बोलपत्र आह्वान गरेपछि अहिलेको भन्दा ४ सय प्रतिशत बढाएर बोलपत्र आह्वान गरेको व्यवसायीको गुनासो छ । ७ रोपनी क्षेत्रफलमा फैलिएको कृषि साम्रगी कम्पनीको जग्गा यसअगाडि नन्दप्रसाद तिवारीका छोरा मिलनप्रसाद तिवारीबाट कम्पनीले मासिक रुपमा २ लाख ४४ हजार ५ सय १० बुझ्दै आएपनि ०७८ माघ २९ गतेबाट मिलनसँगको करार अवधि सकिएपछि नयाँ करारका लागि चैत्र २१ गते गोरखापत्र दैनिकमा ३१ दिने अवधिको बोलपत्र कम्पनीले आह्वान गरेको हो । व्यवसायीको ३ बुँदै माग हङकङ बजार व्यवस्थापन समितिले अस्वाभाविक भाडा वृद्धि गरि आह्वान गरेको टेण्डर खारेज गरि उचित भाडादर कायम गरी सिधै कृषि साम्रगी लिमिटेडले बजार व्यवस्थापन समितिसँग बुझ्ने व्यवस्था गर्न माग गरेको छ । समितिले अहिले तिरिरहेको सामान्य भाडादर भन्दा अस्वाभाविक रुपमा वृद्धि गरि आह्वान गरिएको टेण्डरमा प्रक्रियामा कसैलाई पनि सहभागि नहुनसमेत अनुरोध गर्दै, सहभागि भएर बजारमा भाडा उठाउन आए व्यसायीहरुले भाडा बुझाउन नसक्ने समितिले जनाएको छ । टेण्डर प्रक्रियामा सहभागि हुनुभन्दा पहिलो बजार व्यवस्थापन समितिसँग सरसल्लाह र छलफल गर्न दुवै पक्षलाई अनुरोधसमेत गरेको छ । माग सहजिकरण गर्न समिितले स्थानीय, प्रदेश र केन्द्र सरकारसँगै प्रहरी प्रशासन र सम्बन्धित कार्यालयमा अपिल गरेको छ । व्यवसायीहरुले ३ बुँदे मागलाई सम्बोधन नगरी न्यूनतम भाडा दर १२ लाख १५ हजारलाई कायम गरी टेण्डर प्रक्रियामा गए सम्पूर्ण व्यवसायीहरु पुन: फुटपाथमै व्यवसाय गर्ने चेतावनीसमेत दिएका छन् । समितिले वैशाख १४ गते बिहान १० देखि १२ बजेसम्म पोखरा महानगरपालिकाको कार्यालय र १५ गते कृषि साम्रगी कम्पनीको प्रादेशिक कार्यालयमा बिहान १० देखि १२ बजेसम्म धर्ना दिने कार्यक्रम रहेको समितिले जनाएको छ ।

