पोखरा: पोखरा महानगरपालिका वडा नम्बर १५ र पोखरा कम्युनिटी सेण्टरको संयुक्त सहयोगमा पोखरा–१५ का विपन्न मजदुरहरुलाई स्वास्थ्य बीमा कार्ड वितरण गरिएको छ । बिहीबार आयोजित एक कार्यक्रमकाबीच त्यहाँका ६१ मजदुर र उनीहरुको परिवारलाई स्वास्थ्य बीमाकार्ड वितरण गरिएको हो । यो मध्ये ३६ जनाको वडाले तथा २५ जनाको कम्युनिटी सेण्टरले बीमा गराएको हो । मजदुरहरुलाई बिमा कार्ड वितरण गर्दै वडाध्यक्ष तोरणबहादुर बानियाँले पछिल्लो समय स्वास्थ्य सेवा महंगो हुँदै गएको अवस्थामा स्वास्थ्य बिमाको महत्व झनै बढ्दै गएको बताए । कार्यक्रममा सहयोगी संस्था पोखरा कम्युनिटी सेण्टरका निर्देशकद्वय पार्क र जोन तथा व्यवस्थापक निर्मला भण्डारीले पनि मजदुरहरुलाई बीमा कार्ड वितरण गरेका थिए । स्वास्थ्य बीमाकर्ता पवित्रा पौडेलले बीमा सेवाको बारेमा जानकारी गराएकी थिइन् । कार्ड प्राप्त गरेकाहरुले एक वर्ष सम्म विभिन्न १ हजार १ सय ३७ प्रकारका औषधी निःशुल्क रुपमा प्राप्त गर्ने उनले जनाइन् । कार्यक्रममा शहरी स्वास्थ्य केन्द्र वडा १५ का प्रमुख कृष्ण बाँस्तोलाले केन्द्रले दिएको सेवा तथा हाल सञ्चालन भइरहेको खोप र भिटामिन कार्यक्रमका बारेमा अवगत गराए । त्यस्तै वडा सदस्य आशिष भण्डारीले केहि दिन यता छिमेकी मुलुकहरुमा कोभिडको संक्रमण बढ्दै गएकोमा सचेत बन्नुपर्नेमा जोड दिएका थिए ।
तनहुँ: राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको समयमा आचार संहिता उल्लंघन गरेको भन्दै कारबाहीको माग गरेको छ । रास्वपाका जिल्ला उपसंयोजक सूर्यमणि पौडेलले प्रचण्डले निर्वचन आचार संहिता उल्लंघन गरेकाले कारबाहीको दायरमा ल्याउन माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईको प्रचारप्रसार र समर्थनका लागि प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी वैशाख ६ गते तनहुँको बन्दीपुर डुम्रे बजारमा भएको चुनावी सभामा सम्बोधन गर्न आएका थिए । सम्बोधनका क्रममा उनले गठबन्धनका उम्मेदवारलाई जिताएर पठाएमा नेताहरुलाई मन्त्री, प्रदेशमन्त्री, मुख्यमन्त्री बनाउने आश्वसन दिई आम मतदातालाई अनुचित प्रभाव पारेको रास्वपाको ध्यानाकर्षण पत्रमा उल्लेख छ । प्रधानमन्त्रीको उक्त कार्य निर्वाचन सम्बन्धी कसुर भएकाले सत्यतथ्य छानबिन गरी निर्वाचन आचारसंहिता २०७९ को दफा ३ विपरीत भएकोले निर्वाचन कसूर तथा सजाय ऐन २०७३ तथा निर्वाचन कसूर तथा सजाय निर्देशिका २०७९ बमोजिम कारबाही हुनु पर्ने रास्वपाको माग छ ।
धरान: सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेरि वडाध्यक्षहरूको राजीनामा मागेका छन् । बिहीबार एक विज्ञप्तिमार्फत मेयर साम्पाङले वडाध्यक्षहरूको राजीनामा मागेका हुन् । वडाध्यक्षहरूले पटकपटक कार्यापालिका बैठक बहिष्कार गरेपछि आफू राजीनामा माग्न बाध्य भएको मेयर साम्पाङको भनाइ छ । "कसैले 'म बैठक बस्दिनँ' भन्न पाइँदैन त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आम धरानवासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ," उनले भनेका छन् । मेयर साम्पाङले वडाध्यक्षहरूलाई आफूले गरेका काम कारबाही तुरुन्तै सार्वजनिक गर्न पनि निर्देशन दिएका छन् । "वडाहरूमा के कस्ता योजना तथा कार्यक्रमहरू सम्पन्न भए भन्ने जानकारी मागेको भन्ने कुरालाई लिएर असहमति राखिरहनपर्ने कुनै कारण नभएको तर उल्टै संविधानको धारा २७ मा उल्लेखित सूचना पाउने नागरिकको मौलिक हक दिन नमानेको देखिएकोले वडाहरूमा के कस्ता, के कति काम भएका छन् तुरुन्तै सार्वजनिक गर्न यही विज्ञप्तिमार्फत निर्देशन दिन्छु," उनले भनेका छन् । यसअघि उनले गएको पुस १ मा पनि वडाध्यक्षहरू राजीनामा मागेका थिए ।
जाजरकोट: जाजरकोटमा निर्माणाधीन मोटरेबल पुल भाँच्चिदा घाइते भएकामध्ये २ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका अनुसार पुलमा काम गरिरहेका श्रमिकमध्ये २ जनाको मृत्यु भएको हो। भारतको बहराइच जिल्लाका धर्मेन्द्र गौतम र पुरूषोत्तम गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रमुख नवराज भट्टराईले जानकारी दिए। बिहीबार दिउँसोतिर जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत निर्माण भइरहेको बेलिब्रिज भाँच्चिएको थियो। रूकुमको आठविसकोट नगरपालिकामा पर्ने गोतामकोट र जाजरकोटको नलगाड नगरपालिकाको तल्लु बगर जोड्नेगरी ठूलीभेरी नदीमाथि बनिरहेको उक्त पुल भाँच्चिएको हो। घटनामा सात जना घाइते भएका छन्। तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको रूकुमका प्रहरी प्रमुख डिएसपी भट्टराईले जानकारी दिए। घाइते हुनेहरूमा एक जना नवलपरासीका क्रेन चालक निरजकुमार चौधरी रहेका छन्। अरू ६ जना भारतीय रहेका छन्। प्रहरीका अनुसार बहराइच जिल्लाका गोरख नाथ, मैतु गौतम, सञ्जय गौतम, सोनु चमार, गोपाल चमार र राजकुमार हरिवन चमार घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि जाजरकोटको नलगाड नगरपालिकास्थित दल्ली स्वास्थ्य चौकीमा राखिएको थियो। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ। क्रेन चालकसहित चार जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गरेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा आत्मघाती गोल मदतमा थ्रीस्टारले ३ अंक जोडेको हो । हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्टले पेनाल्टी चुकाउँदा अंक खोस्ने अवसर गुमायो । खेलको १३औं मिनेटमा हिमालयन शेर्पाका सन्जित राईले गरेको आत्मघाती गोल गर्दा थ्रीस्टारले अग्रता लिएको थियो । थ्रीस्टारका लाकेन लिम्बुको प्रहार सन्जितको खुट्टामा लागेर गोल भएको थियो । दोस्रो हाफमा हिमालयनले बराबरी गर्ने अवसर गुमायो । ४८औं मिनेटमा प्राप्त पेनाल्टीमा हिमालयन विश्वासको प्रहार पोष्ट माथिबाट बाहिर गएको थियो । जितपछि थ्रीस्टार १० खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । आजै सातदोबाटो युथ क्लबले चर्च ब्वाइज युनाइटेडसँग खेल्दैछ र उक्त खेलमा जितेमा सातदोबाटो पुन: दोस्रो स्थानमा फर्कनेछ । हिमालयन शेर्पा क्लब १० खेलबाट ९ अंकसहित १३औं स्थानमै छ ।
पोखरा: जागृती बाल तथा युवा सरकोकार नेपाल किशोरी समुहले गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा थापा मगरलाई ध्यानाकर्षण पत्र बुझाएको छ । पोखरामा सम्पन्न तीन दिने सामाजिक तथा व्यवहारिक परिवर्तन तथा नेतृत्व विकास कार्यक्रमको समापन समारोहकाबीच महिला तथा बालबालिको संरक्षण र अधिकार कार्यान्यवन गर्नुपर्ने १७ बुँदे मागसहित ध्यानाकर्षणपत्र बुझाएको हो । बालिका सशक्तिकरणको अभियानमा रहेका किशोरीहरुको समुहको ध्यानाकर्षणपत्र बुझ्दै कानूनमन्त्री गाहामगरले आफ्नो तर्फबाट माग सम्बोधन गर्न सक्दो पहल गर्ने बताउनुभयो । मन्त्री गाहामगरले बालबालिका तथा युवाहरु राष्ट्रिय गौरव रहेको उल्लेख गर्नुहुदै मन्त्री गाहामगरले किशोरीलाई सशक्तिकरण, बालमैत्री, पोषणमैत्री, युवामैत्री तथा कानूनले व्यवस्था गरेको बालअधिकारको संरक्षण गर्न आफु सधै लाग्ने बताउनुभयो । उहाँले किशोरी समुहले प्रदान गरेको पत्रलाई मंत्रालयमा दर्ता गराएर यथोचित सम्बोधन गर्न तदारुपताकासाथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सो समुहले बुझाएको ध्यानाकर्षणपत्रमा प्रदेशको बालबालिका सम्बन्धि ऐनको व्यवस्था स्वीकार्य रहेकाले कार्यान्वयनका लागि स्थानीय तहसम्म नै विभिन्न समितिहरु र संयन्त्रको व्यवस्था गर्न माग गरिएको छ । यस्तै बालबालिकालाई राष्ट्रिय गौरव हो भन्ने नारालाई आत्मसाथ गरी बालबालिकामा लगानीको सुनिश्चितता गर्न माग तथा विद्यालय, तथा स्वास्थ्य संस्थाहरुमा बालिका तथा किशोरी सरोकार समुहको गठनका साथै प्रत्येक विद्यालयमा स्टाफ नर्स, स्वास्थ्यकर्मी र मनोविमर्शकर्ताको व्यवस्था गर्नुपर्ने माग उल्लेख छ । यस्तै बाल विवाह र अन्य हानिकारक अभ्यासको अन्त्यका लागि प्रदेश सरकारको रणनैतिक कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने किशोरी समुहको माग छ । किशोरीहरुका लागि देवचुली नगरपालिका र कावासोती नगरपालिकाको समन्वयमा जागृती बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्याण्डसँगको साझेदारीमा किशोरी स्रोत तथा सिकाई केन्द्र स्थापना भएकाले यस प्रदेश भित्रका अन्य स्थानीय तहमा पनि स्थापना गर्न पहल गर्न माग राखेका छन् । सो कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मनमाया पंगेनी र समाजसेवी राम प्रसाद सुवेदीले बाल तथा महिला अधिकारका बारेमा बोल्नुभएको थियो । नवलपुरका करिब ३५ जना किशोरीहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन तिलोत्तन पौडेले गरेका थिए ।
सुर्खेत: जाजरकोट र रुकुम पश्चिमको बीचमा पर्ने भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिएको घटनामा परेका अधिकांश त्यहाँ कार्यरत मजदुरहरू रहेको बुझिएको छ । रुकुम पश्चिम प्रहरीका अनुसार घाइते नौ जना नै मजदुरहरू हुन् । त्यसमा केहीको अवस्था चिन्ताजनक रहेको र केहीको मृत्यु भइसकेको अनुमान प्रहरीको छ । उक्त बेलिब्रिजले भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लुबजार र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको गोतामकोट जोड्दछ ।
पाल्पा: तानसेन नगरपालिकाले हिजो (बुधबार) बाट सुरु गरेको पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोक्न उच्च अदालत तुलसीपुर बुटवलले आदेश जारी गरेको छ । पाल्पा दरबार परिसरका संरचना सम्बन्धमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले छलफलका लागि बोलाएसँगै नगरपालिकाले संरचना भत्काउने कार्य रोकेको हो । तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले दरबार क्षेत्रलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने योजनाकासाथ अगाडि बढाएको संरचना भत्काउने कार्य सम्बन्धमा निषेधाज्ञा उत्प्रेषण परमादेशका लागि निवेदन परेकाले तत्कालका लागि संरचना भत्काउने काम रोकिएको बताउनुभयो । उच्च अदालतले म्याद तामेल भई छलफलका लागि बोलाएकाले दरबार क्षेत्र भत्काउने कार्य तत्कालका लागि स्थगित गरिएको छ । यसैगरी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले तानसेन नगरपालिकाको कार्यालयलाई विपक्षी बनाई पेस भएको निषेधाज्ञा उत्प्रेषण परमादेश रिट निवेदनको ६ गते ४ बजे म्याद तामेल भई ७ गते छलफलका लागि बोलाइएकाले सो समय पश्चात् हाललाई संरचना भत्काउने कार्य स्थगन गरिएको जानकारी दिनुभयो । पाल्पा दरबार सङ्ग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२ वटा, घरेलु शिल्पकला बिक्री भण्डार कक्षका १३, रेडक्रस सोसाइटी पाल्पा शाखाका तीन, नेपाल बाल सङ्गठनको एक, कर्मचारी मिलन केन्द्रका तीन वटा घर टहरा रहेका थिए ।
कास्कीः गण्डकी प्रदेशअन्तरगत लोकसेवा आयोगल प्रदेश वन सेवामा वन रक्षककालागि इच्छुकलाई दरखास्त आव्हान गरिएको छ । प्रदेशले उक्त पदमा १ सय जना स्थायी पदपूर्ति गर्न यही वैशाख ६ गते विज्ञापन खुलाएको छ । विज्ञापनमा दरखास्त बुझाउन न्यूनतम ८ कक्षा पास भएको हुनुपर्ने उल्लेख छ । आयोगले जनाएअनुरुप प्रतियोगितात्मक परीक्षा खुल्ला तथा समावेशी ढाँचामा हुनेछ । जहाँ शारीरिक तन्दुरुस्ती परीक्षण, लिखित र अन्तर्वार्ता हुनेछ । निवेदन दिन वैशाख २६ गतेसम्म समयावधि छ भने दोब्बर दस्तुर तिरेर जेठ २ गतेसम्म समय थपिएको छ । विज्ञापनको सम्पूर्ण विवरणः

