आफन्तको नाममा हल्कारालाई चिठ्ठी  लेखन प्रतियोगिता घोषणा, प्रथम हुनेले ५० हजार पुरस्कार पाउने

काठमाडाैं | बैशाख १०, २०८०

आफन्तको नाममा हल्कारालाई चिठ्ठी  लेखन प्रतियोगिता घोषणा, प्रथम हुनेले ५० हजार पुरस्कार पाउने

काठमाडौं:     बैशाख २९ गते रिलिज हुने नेपाली चलचित्र ‘हल्कारा’ले चिठ्ठी लेखन प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा सहभागि हुन आफ्नो जीवनबाट टाढा भईसकेका, आफुले अत्यन्तै चाहेका, आफुले चाहेर पनि नपाएका अथवा आफुले सँधै सम्झिरहने व्यक्तिलाई पत्र लेख्नुपर्नेछ । उत्कृष्ट पत्र लेख्ने ३ जनाले  पुरस्कार प्राप्त गर्ने निमार्ण पक्षले जनाएको छ ।


चिठ्ठी लेखन प्रतियोगिताको प्रथम हुनेले ५० हजार द्वितीय हुनेले ३० हजार  र तृतीय हुनेले २० हजार पुरस्कार प्राप्त गर्ने छन् ।  पत्र चलनचल्तिको सेतो कागजको ए ४ साइजको पानामा लेखिएको हुनुपर्नेछ र नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्नेछ । पत्र औपचारिक शैलीमा लेखिएको हुनुपर्नेछ । अभिवादन र समापन समावेश गर्नुपर्नेछ । एकभन्दा बढी पाना आवश्यक परेमा प्रयोग गर्न सकिनेछ । पत्र कम्तीमा ५०० देखि बढीमा १००० शब्दमा लेखिएको हुनुपर्नेछ । 


पत्र नेपालभर वा विदेशबाट जो कोही नेपालीले पठाउन सक्नेछन् । खाम तथा चिठ्ठीमा आफ्नो कुनैपनि सरकारी परिचयपत्रमा भएको नाम हुनुपर्नेछ। प्रेषकमा आफ्नो नाम र ठेगाना प्रष्ट लेखिएको हुनुपर्नेछ भने प्रापकमा ‘नेपाली चलचित्र हल्कारा परिवार’ लेखि ठेगाना काठमाडौँ, नेपाल, पोस्ट बक्स नम्बर १४१४ लेखि पठाउनु पर्नेछ । चिठ्ठीको अन्तिममा यूट्युबमा रहेको चलचित्र ‘हल्कारा’को ट्रेलर हेरी आफुलाई बुझेको कथा लेख्नुपर्नेछ। चिठ्ठीमा आफ्नो नाम र ठेगानासँगै सम्पर्क फोन नम्बर लेखेको हुनुपर्नेछ। विदेशबाट प्रेषित हुने चिठ्ठीमा आफ्नो नेपालमा हुने निकटतम व्यक्तिको परिचय समेत लेख्नुपर्नेछ ।

यस प्रतियोगिताको निर्णायकहरुमा विप्लब प्रतिक कवि तथा साहित्यकार, मनोजबाबु पन्त  चलचित्रकर्मी  र महेश त्रिपाठी अभिनेता रहेका छन् । प्रतियोगिताको मापदण्डमा रहेका पत्रहरुको रचनात्मकता, मौलिकता, विषयवस्तुको पालना, व्याकरण र हिज्जे र समग्र प्रभावलाई समीक्षा गरी उत्कृष्टता मापन हुनेछ ।


पत्र पठाउँदा २०८० बैशाख १० गतेदेखि चलचित्र ‘हल्कारा’ रिलिजको मिति बैशाख २९ गते भन्दा ९ दिन अगाडी बैशाख २० गते सम्म पठाइसकेको र बैशाख २५ गते सम्म पोस्ट बक्समा प्राप्त भैसकेको हुनुपर्नेछ । ‘हल्कारा’ रिलिजको मिति बैशाख २९ गतेभन्दा २ दिन अगाडी बैशाख २७ गते पुरस्कार घोषणा हुनेछ ।


आफ्ना भावनाहरू र तपाईंको हृदयले व्यक्त गर्न चाहेका अलिखित कुराहरुलाई व्यक्त गर्ने माध्यमको रुप हुनसक्छ भन्ने पत्र लेखन प्रतियोगिताको प्रमुख उद्देश्य रहेको चलचित्रका निर्देशक बिक्रम सापकोटाले बताए । सापकोटाले भने, “हामी तपाईंका पत्रहरु पढ्नको लागि पर्खिरहेका छौँ । उत्कृष्ट पत्र लेख्न सक्ने ३ जनालाई पुरस्कार पनि प्रदान गर्दैछौँ ।”


 गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई यस चलचित्रले प्रस्तुत गर्छ । चलचित्रमा अभिनेता महेश त्रिपाठीले हल्कारा अर्थात् हुलाकीको चरित्र निर्वाह गरेका छन् । यो चलचित्रलाई कालीपार स्टुडियोले निर्माण गरेको हो भने आइसफल प्रोडक्सनको सहकार्य रहेको छ । यो चलचित्रले विभिन्न प्रतिष्ठित अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागिता जनाई उत्कृष्ट अभिनेता, सिनेमाटोग्राफी एवं उत्कृष्ट चलचित्र बनिसकेको छ ।


महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह९लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।


यो चलचित्र पूर्णरुपमा ‘कमर्शियल’ तथा मनोरञ्नात्मक कथानक चलचित्र रहेको निर्देशक सापकोटाले बताए । “यो चलचित्रलाई हामीले पूर्ण ‘मेनस्ट्रिम’मा रहेर बनाएका छौँ । यसको कथा भन्ने क्रममा पूर्ण मनोरञ्जनात्मक र व्यावसायिक दृष्टिकोणबाट बनाएका छौँ”, निर्देशकले भने ।


यो चलचित्रले सबैभन्दा पुराना फेस्टिवलहरु मध्ये एक ‘वल्र्डफेस्ट ह्युस्टन फिल्म फेस्टिवल २०२२’मा सर्वश्रेष्ठ चलचित्रको अवार्ड ‘प्लेटिनम रेमी’ प्राप्त गरेको छ भने सोहि फेस्तिवलमा महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड प्राप्त गरेका छन् । साथै, ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२’मा उत्कृष्ट ‘लङ्ग न्यारेटिभ फिल्म ‘फ्लिकर्स रोड आइल्याण्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२२’मा सेमिफाइनलिस्ट र यूकेको ‘कार्मार्थेन बे फिल्म फेस्टिवल २०२२’मा सेलेक्सनमा परेको थियो । 

बझाङ:   बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा ८ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहसहित ८ उम्मेदवारको जमानत जफत भएको हो ।  ...

थप पढ्नुहोस्

भोजपुर:     भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान १ ज २६१७ नम्बरको बोलेरो दूधकोसी नदी किनारमा...

थप पढ्नुहोस्

काठमाडौंः   जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित भएको छ ।    पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा हालै बसेको बैठकले विभिन्न पा...

थप पढ्नुहोस्