पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

जनकपुरधाम:   महोत्तरीमा सवारी दुर्घटनामा परी एकै घरका तीनजनाको मृत्यु भएको छ ।   बुधबार दिउँसो गौशाला नगरपालिका–१ रामनगरमा निर्माणाधीन रहेको रेल्वे ट्रयाकको २०० मिटर उत्तरपट्टि बसले मोटरसाइकललाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको हो ।   मधेस प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई सम्सीबाट जनकपुरधाम आउँदै गरेको बा ३ ख २३९६ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजनाको मृत्यु भएको महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।   उनका अनुसार दुर्घटनामा परेर सिरहाको कल्याणपुर नगरपालिका–१० बस्ने २६ वर्षीय अमृत मण्डल, उनको श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजि ६ वर्षीया अन्सु मण्डलको मृत्यु भएको हो ।   बस चालक फरार भएकाले उनको खोजी भइरहेको छ ।

काठमाडौं:    पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४५०  नमूनामध्‍ये ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा कोरोना सक्रमण देखिएको हो ।     यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३८६ जना पुगेको छ भने संस्थागत आइसोलेशनमा २१ जना, आईसीयूमा ७ र भेन्टिलेटरमा ३ जना उपचाररत छन्।   संक्रमण बढेसँगै  स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ ।

काठमाडौँ:   सेवा निवृत्त भएका करिब २२ हजार शिक्षकहरूले निवृत्तिभरण (पेन्सन) नपाएको पाइएको छ ।  राज्यसँग पैसा नहुँदा ५२ हजार पूर्व शिक्षकहरूमध्ये २२ हजार शिक्षकले पेन्सन पाउन नसकेका हुन् । उनीहरूले चैत र वैशाख महिनाको पेन्सन पाएका छैनन् । पेन्सन नपाएपछि शिक्षकहरूले विरोध समेत गर्दै आएका छन् । उनीहरूले राज्यको ध्यानाकर्षण समेत गराएका छन् ।    उनीहरूले नियमित पाइरहेको निवृत्तिभरण अकस्मात् रोकिएपछि तत्काल निकासा गर्न माग गर्दै आएका छन् । सेवा निवृत्त शिक्षकहरूको संस्था सेवा निवृत्त शिक्षक समाजले निवृत्तिभरणको भरमा बाँचिरहेका ज्येष्ठ नागरिक शिक्षकहरू प्रभावित भएको जनाएको छ ।    समाजमा महासचिव ईश्वरबहादुर श्रेष्ठले ३० हजार शिक्षकले पाए पनि अझै २२ हजार शिक्षकले नपाएको बताए ।  ‘चैत र वैशाखको पाएका छैनौँ । पैसा नहुँदा अहिलेसम्म नहालेको भन्ने जानकारी दिनुभएको छ । यो महिनामा अन्तिमसम्ममा पैसा हाल्ने कुरा छ,’ उनले भने ।    विगतमा नियमित रूपमा प्राप्त भइरहेको निवृत्ति भरण आर्थिक वर्ष २०७९/८० मा अनियमित भइरहेको छ । जसले गर्दा हजारौँ सेवा निवृत्त शिक्षकहरू प्रभावित हुन पुगेका छन् ।   

गोरखा:   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुम श्याग्या शताब्दी महोत्सव उद्घाटन गरेका छन्। गोरखाको चुमनुब्री गाउँपालिका छेकम्पार पुगेर बुधबार प्रधानमन्त्री प्रचण्डले महोत्सव उद्घाटन गरेका हुन्।   अहिंसा क्षेत्र घोषणा गरेको १०० वर्ष पुगेको अवसरमा चुमनुब्री छेकम्पारमा महोत्सव आयोजना गरिएको छ। आजदेखि वैशाख ९ गतेसम्म महोत्सव चल्नेछ।   आयोजक चुम श्याग्या शताब्दी मुल समारोह समितिका संयोजकसमेत रहेका चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले अहिंसा क्षेत्रको विश्वमाझ चिनारी गर्ने उद्देश्यले महोत्सव गरिएको बताए।   महोत्सवको सहआयोजकमा चुमनुब्री गाउँपालिका, मनास्लु संरक्षण क्षेत्र आयोजना, चुम कल्याण समिति, चुम श्याग्या संरक्षण समिति, राजेन गुम्बा, सिप्रेड, डब्लुडब्लुएफ नेपाल, नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेश रहेको छ।   करिब एक करोड खर्च गरेर महोत्सव आयोजना गरिएको हो।     तस्बिरहरू/ प्रदीपराज वन्त

नवलपुर:  गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा थापा मगरले नवलपुरको देवचुली नगरपालिका ६ किर्तिपुरस्थित देउसत खेलामा निर्मित झोलुङ्गे पुल र चुहार गाउँमा निर्मित खानेपानीको उद्घाटन गर्नुभएको छ ।   गण्डकी प्रदेश सरकारद्वारा ६५ लाखमा निर्मित किर्तिपुर–चुहार गाउँ जोड्ने झोलुङ्गे पुलसँगै चुहारगाउँमा सहमती संस्थाद्वारा निर्मित स्वामिघाट खानेपानीको मंगलबार मन्त्री गाहामगरले उद्घाटन गर्नुभएको हो ।   सो अवसरमा बोल्नुहुदै मन्त्री गाहामगरले पुल र खानेपानीको  निर्माणपछि चुहारबासीको केही समस्या हल भएको धारणा व्यक्त गर्नुभयो ।    उहाँले चुहार गाउँमा कम बस्ती भएतापनि स्थानीयको समस्यालाई प्राथमिकताकामा राखेर पुल निर्माण गरिएको बताउनुभयो ।    मन्त्री गाहामगरले पुल निर्माणभएपछि वर्षायामको समयमा चुहरबासी र विद्यार्थीहरुले सास्ती भोग्न नपर्ने विश्वास व्यक्त गर्नुभयो । ‘यो देउसत खोलामा पुल नहुदा चुहारका विद्यार्थी भाईबहिनीहरुले वर्षायाममा पढ्न नपाइने अवस्था थियो, मन्त्री गाहामगरले भन्नुभयो, ‘त्यही समस्यालाई मध्यनजर गरेर पुल सम्पन्न भइसकेको छ । अब विद्यार्थीहरुले सास्ती खेप्न नपर्ने विश्वास लिएको छु ।’   उहाँले सहमती संस्था र डब्लु डब्लु एफले निर्माण गरेको खानेपानीले अब चुहार बासीको दैनिकी  अर्थउपार्जनमा परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।     मन्त्री गाहामगरले मगर समुदायको बस्ती रहेको सो गाउँमा सडक, खानेपानी तथा पुलको व्यवस्था भइसकेको बताउनुहुदै यहि वर्षमा विद्युतको पहुँच पुग्ने बताउनुभयो ।    यस्तै देवचुली नगरपालिका ६ का वडाध्यक्ष मिन बहादुर सोतीमगरले प्रदेश सरकारमा रहेर पिच सडक, झोलुङ्गे पुलका लागि भूमिका खेलेको भन्दै आन्तरिक मामिला तथा कानूनमन्त्रीप्रति आभार प्रकट गरे । ‘यो ठाउँको विकासका लागि हाम्रो अग्रज अहिलेको आन्तरिक मामिलामन्त्री रोशन गाहामगरको ठुलो योगदान छ, सोतीमगरले भन्नुभयो, ‘किर्तिपुर आउने सडक कालोपत्रे, पुल निर्माण लगायत विभिन्न क्षेत्रमा उहाँको योगदान छ । त्यसैले हामी उहाँप्रति एकमदमै आभारी छौ ।’    वडाध्यक्ष सोतीमगरका अनुसार सो पुल प्रदेश सरकारको करिब ६५ लाख बजेटमा निर्माण गरिएको हो भने स्वामिघाट खानेपानी योजनामा सहमति संस्थाले करिब १२ लाख र स्थानीयले ४ लाखसहित श्रमदान दिएका थिए ।   सो पुल तथा स्वामिघाट खानेपानीको समुद्घाटन कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने, उपप्रमुख पार्वता तिवारी, सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदी, सहमति संस्थाका इन्जिनियर तेज प्रसाद ओझा, सहमति संस्थाका कार्यक्रम संयोजक दिनेश बास्ताकोटी, देवचुली नगरपालिकाका प्रवक्ता तिल प्रसाद काफ्ले, जिल्ला खानेपानी संस्थाका अध्यक्ष खिमानन्द भुषाल, लगायतले बोलेका थिए ।    स्वामीघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मञ्जरी सिंजालीमगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन स्थानीय तिलक सोतीमगरले गरेका थिए ।     

काठमाडौं:    भारतको नयाँ दिल्लीमा रहेको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ । उहाँलाई बुधवार बिहान श्री एअरको एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्य र डाक्टरले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा सङ्क्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र सात जना डाक्टरको टोली छ ।

हेटौँडा:    कवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका १५ सएफुटस्थित चुरियामाई सामुदायिक वनमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । बुधबार बिहान घरबाट करिब दुई सय मिटर पर रहेको चुरियामाई सामुदायिक वनमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बाघको आक्रमण परी घाइते हुनेमा हेटौँडा १५ का वर्ष १७ का सुमन घलान र वर्ष ६५ का कृष्णबहादुर थिङ रहनुभएको हो । घलानको दाहिने कुम, ढाडको बायाँ साइड र छातीमा टोकेको र अवस्था मध्यम रहेको छ ।  यस्तै, थिङको घाँटीमा गहिरो चोट लागेको र अवस्था गम्भीर छ । दुवै जनाको हेटौँडा अस्पताल मकवानपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान ६ घण्टा उडान र अवतरण अवरुद्ध हुने भएको छ । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म अवरुद्ध हुने भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढीकरणका लागि विमानस्थलमा सेवा अवरुद्ध हुने भएको हो । विमानस्थलमा विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान गरिने भएकाले सेवा अवरुद्ध हुने महाप्रबन्धक तिवारीले सूचना जारी गरेर जनाएका छन् । उक्त समयमा यात्राको कार्यतालिका रहेका यात्रुलाई विमानस्थलले सम्बन्धित विमान सेवा कम्पनीसँग सम्पर्क गरी आवश्यकताअनुसारको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

पोखरा:    पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका १०० वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता गरिएको छ । पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैङ्क लिमिटेडका बिचमा महानगर क्षेत्रमा १०० नयाँ व्यवस्थित घर निर्माण गर्ने सम्झौता गरिएको हो ।  सम्झौतामा महानगरपालिकाका प्रमुख धनराज आचार्य, लुमन्ति आवासको लागि सहयोग समूहको तर्फबाट कार्यकारी निर्देशक लजना मानन्धर र कामना सेवा विकास बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हस्ताक्षर गर्नुभएको छ । न्यून आय भएका व्यक्तिहरूको आवास निर्माण तथा आय आर्जनका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराई उनीहरूको आर्थिक स्तर वृद्धि गर्ने उद्देश्य सम्झौताले लिएको छ ।  पोखरा महानगरपालिका क्षेत्रभित्र रहेका सुरक्षित आवासको व्यवस्था नभएका तथा न्यून आय भएका वर्गलाई लक्षित गरी त्रिपक्षीय सहकार्यमा यो योजना लागु गरिएको हो । महानगरपालिकाले निर्धारण गरेको मापदण्ड भित्र सिफारिस भई आए बमोजिम कामना सेवा विकास बैकले नयाँ घर निर्माण तथा मर्मत सुधारका लागि अधिकतम रु.७ लाखसम्म न्यून लागत आवास कर्जा प्रवाह गर्नेछ ।  लाभग्राहीले पाउने न्यून लागत आवास कर्जाको सात लाख मध्ये लुमन्तिले ४० प्रतिशत, पोखरा महानगरपालिकाले १० प्रतिशत र ५० प्रतिशत कामना सेवा विकास बैकले लगानी गर्नेछ । उक्त कर्जामा वार्षिक ९.९९ प्रतिशत ब्याज लाग्ने भने यस बाहेक सेवा शुल्क भने लिइने छैन । सम्झौताको कुल रकम रु.७ करोड रहेको छ । प्रत्येक लाभग्राहीलाई ७ लाखका दरले वार्षिक ९.९९ प्रतिशत ब्याजदरमा सात वर्षभित्र रु.११ हजार ६१७ का दरले ८४ किस्तामा तिर्ने गरी न्यून लागत आवास कर्जा उपलब्ध गराइने छ । सम्झौता अनुसार १ वर्ष भित्र १०० वटा घर बनाउने कार्य सम्पन्न गरिनेछ ।  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिका भित्र आफ्नै जमिन भएका तर, कमजोर आर्थिक अवस्थाका कारण आवास विहीन भई बस्नु परेका नागरिकका लागि यो सहुलियतपूर्ण सहायता निकै महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । “महानगर भित्र हाल १९ हजार ८ बढी भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको आँकडा रहेको छ, हामी अहिले उनीहरूलाई निस्सा वितरण गरिरहेका छौँ, प्रमुख आचार्यले भन्नुभयो, सुरक्षित आवास नागरिकको मौलिक अधिकार भन्ने विषयमा हामी सचेत छौँ, यसबिचमा न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका सुरक्षित आवास निर्माणको सम्झौता भएको छ, यसले घर नहुनेहरूलाई घरको मालिक बनाउने छ ।” आफ्नो कार्यकाल भित्रमा यस प्रकृतिका एक हजार घरहरू निर्माण गर्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।  लुमन्तिकी कार्यकारी अधिकृत लजना मानन्धरले गरिबी न्यूनीकरण, सामाजिक परिचालन तथा सामाजिक विकास तथा सुशासन प्रबद्र्धनमा आफूहरू लागि रहेको बताउनुभयो । पोखरा महानगरपालिका, लुमन्तिको सहयोग र कामना  सेवा विकास बैङ्कको सहयोगमा हाल सम्म १०३७ घर निर्माण तथा मर्मत र बाँसको घर ४५ तथा गन्धर्व बस्तीमा ६ वटा नयाँ गरी १०८८ घरहरू निर्माण गरिएका जानकारी दिनुभयो । यस परियोजनाले कम लागतमा भूकम्प प्रतिरोधात्मक घरहरू निर्माण र गरिबी न्यूनीकरणमा सहयोग पुगेको मानन्धरले बताउनुभयो । मुलुकका विभिन्न स्थानहरूमा नयाँ निर्माण, पुनर्निर्माण र स्थानान्तरण लगायतका कामहरू भइरहेका उहाँले जानकारी दिनुभयो ।  सम्झौताको तेस्रो पक्ष कामना सेवा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत विनय दाहालले लुमन्ती र पोखरा महानगरपालिकासगँको सहकार्यमा आवास विहीनहरूको आवास निर्माण कार्यमा साझेदार बन्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । स्थानीय सरकारको सहकार्यमा आवास निर्माण जस्तो महत्वपूर्ण क्षेत्रमा थप लगानीका लागि आफूहरू तयार रहेको उहाँले बताउनुभयो ।  आवास निर्माण क्लष्टरबेस तर्फ २ वटा मोडल बनाउँदा उपयुक्त हुने लुमन्तिले जनाएको छ । उसका अनुसार २५ लाख सम्मको घरजग्गा र ४५ लाख सम्मको घर जग्गा गरी २ वटा मोडल उपयुक्त हुनेछन् । यसलाई उसले भावी योजनाका रूपमा अगाडी सारेको छ । ७० करोडको ऋण सहायतामा आगामी पाँच वर्षमा १००० वटा घर निर्माण गर्ने ती मध्ये १०० वटा घरहरू क्लस्टरबेसमा निर्माण गर्ने योजना छ ।