काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताउनुभएको छ। आइतबार दिउँसो सिंहदरबारमा किसान संगठनका प्रतिनिधिसँगको संयुक्त भेटमा प्रधानमन्त्रीले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल हुने भएकाले सरकारले सोहीअनुसार तयारी गरिरहेको बताउनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ। यसपटकको नीति, कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सिर्जनाका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेका छौँ। तपाईंहरूले दिनुभएको ध्यानाकर्षण पत्रले पनि सरकारलाई नयाँ ढंगले सोच्न सहयोग पुग्ने ठानेको छु। उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन।’’ प्रधानमन्त्री प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलन किसान आन्दोलनको जगमा उभिएको बताउनुभएको छ। प्रजातान्त्रिक आन्दोलनको जग पनि किसान आन्दोलन भएको उहाँले भनाइ छ। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘आजको परिस्थितिमा उत्पादन पद्धतिमा फेरबदल आएको छ। वैदेशिक रोजगारीले कृषिप्रतिको आकर्षक घटेको छ। तर, आज पनि अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि नै हो। यसलाई व्यवस्थित गर्नेतर्फ मेरो जोड छ।’’ सरकारले चार महिनामा राम्रो काम गरे पनि कतिपयले त्यो नदेखेको गुनासोसमेत प्रधानमन्त्रीले गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘चार महिनामा निकै राम्रा काम भएका छन्। लक्ष्यअनुसार नभए पनि राजस्व संकलनमा राम्रो सुधार आएको छ। विदेशी मुद्राको वञ्चिति उत्साहवर्द्धक रूपमा बढेको छ। पर्यटक आउने क्रममा सुधार आएको छ। अर्थतन्त्रका अधिकांश सूचकमा सकारात्मक सुधार आएको छ। म सम्पूर्ण रूपले अर्थतन्त्रमा सुधार ल्याउन छलफल र अन्तरक्रियामा छु। केही समयमा सकारात्मक नतिजा देखिन्छ ।’’ लघुवित्त र सहकारीलाई श्रम र उत्पादनमा केन्द्रित गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘‘लघुवित्त र सहकारी वित्तीय कारोबारमा संलग्न हुँदा एकातर्फ वित्तीय अराजकता र नियमनमा समस्या देखिएको छ, अर्कोतर्फ उत्पादनको क्षेत्र ओझेल परेको छ। यिनीहरूलाई श्रम र उत्पादनको क्षेत्रमा केन्द्रित गर्नुपर्छ। नीतिमा नै आवश्यक व्यवस्था गरेर यससम्बन्धी समस्या समाधान गर्छौं।’’ किसान संगठनमा आवद्ध किसान मोर्चाका नेताहरूले कृषि क्षेत्रलाई प्राथमिकता र किसानको सम्मानमा सरकारले ध्यान दिनुपर्ने बताउँदै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पेश गर्नुभएको छ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले वैशाख २१ गते विश्वासको मत लिने भएका छन् । वैशाख १४ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले २१ गते दिउँसो २ बजे विश्वास मत लिने तयारी गरेका हुन् । कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘प्रदेश प्रमुख पृथ्वीमान गुरुङज्यूद्वारा गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेशसभाको अधिवेशन प्रदेशसभा भवन, नदीपुरमा संवत् २०८० साल वैशाख २१ गते बिहीबार १४ः०० बजेदेखि आरम्भ हुने गरी आह्वान गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
काठमाडौं: काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भएको हत्या काण्डमा संलग्न विनोद विश्वकर्मालाई प्रहरीले सार्वजनिक गरेको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार पत्रकार सम्मेलनमार्फत विश्वकर्मालाई शनिबार राति १० बजे झापाबाट पक्राउ गरेको जानकारी दिएको हो। विश्वकर्मा भक्तपुरको लोकन्थली वडा नम्बर १ मा साथीको कोठामा करिब एक हप्तादेखि बस्दै आएको र वैशाख ७ गते बिहान १०, ११ बजेतिर चाबहिल आएको अनुसन्धानमा खुलेको छ। त्यसपछि निरा पाण्डे आचार्यको पसलमा दिउँसो २ बजेतिर भाँडा किन्ने बाहानामा पसल प्रवेश गरेको जनाइएको छ। एटीएम कार्ड लिन भनी सामान त्यही राखेर बाहिर निस्केको र करिब २ः४४ तिर पुनः प्रवेश गरेर भाँडा देखाउने क्रममा निरालाई पछाडिबाट प्रहार गरेको र पसलमा भएको छुरा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं: भारतमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेल आज नेपाल फर्किनुहुने भएको छ । वैशाख ६ गते उपचारका लागि भारत जानुभएका पौडेल आज दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)बाट डिस्चार्जपछि स्वदेश फर्किन लाग्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार उहाँ आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किन लाग्नु भएको हो । प्रवक्ता आचार्यले राष्ट्रपतिलाई चिकित्सकले केही हप्ता आराम गर्न सुझाव दिएको जानकारी दिनुभयो ।
दिल्ली: पञ्जाब राज्यको लुधियाना जिल्लास्थित एक कारखानमा आइतबार बिहान ग्यास चुहिँदा नौ जनाको मृत्यु भएको छ । कारखानामा ग्यास चुहिँदा ११ जना अचेत अवस्थामा फेला परेका छन् । उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । राष्ट्रिय विपद् प्रतिकार्य बल ९एनडिआरएफ०को एक समूह घटनास्थल पुगेको छ भने दमकल र चिकित्सकको टोली पनि त्यहाँ पुगेको छ । एनडिआरएफ टोली युद्धस्तरमा उद्धारमा जुटेको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीका एक अधिकारीले ग्यास चुहिएर दुर्घटना भएको बताए पनि त्यससम्बन्धमा विस्तृत विवरण दिएका छैनन् । अनुसन्धान जारी छ । रासस
पोखरा: खोरामुख फुटबल स्पोर्टस् ब्रदर्शले कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा खोरामुखमा सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । खोरामुख फुटबल स्पोर्टस् ब्रदर्शले आगामी वैशाख २२ र २३ गते माछापुच्छ्रे गाउँपालिका अन्तर क्लबस्तरीय सेभेन ए साइड पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको खेलकुद संयोजक पारसमान गुरुङले जानकारी दिए । उनका अनुसार माछापुच्छ्रे गाउँपालिका–६ भिडाबारीको बराह माविको खेल मैदानमा दुई दिन प्रतियोगिता सञ्चालन हुनेछ । सो प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेता टिमले १५ हजार र सान्त्वना स्थान हाँसिल गर्ने समूहले ८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिल्डफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकलाई आकर्षक पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
काठमाडौं: डोल्पामा मादक पदार्थ सेवन गरेको भन्दै एक प्रहरी निरीक्षकले आफू माहतहतका हवल्दारलाई चोडपटक लाग्नेगरी कुटपिट गरेका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार हरि आरसीमाथि शनिबार कुटपिट गरेका हुन् । कुटपिटपछि ३७ वर्षीय हवल्दारको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ । शनिबार हवल्दार आरसी बिदामा थिए । उनले बिदाको दिन आफूले साथीहरूसँग मिलेर मादक पदार्थ सेवन गरेका थिए । जिल्ला कारागार डोल्पामा कार्यरत हवल्दार आरसीलाई पनि चापागाईले प्रहरी कार्यालयमै बोलाएर कुटपिट गरेको पीडित हवल्दारले बताएका छन् । हवल्दार आरसीको जिल्ला अस्पताल डोल्पामा सामान्य उपचार गरिएको छ। थप उपचारका लागि आइतबार उनी बाँकेको नेपालगञ्ज जाने तयारीमा छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक बुढाथोकीले भने आफू कार्यालयभन्दा बाहिर रहेको बेला घटना घटेकोले यसबारे अनुसन्धान भइरहेको बताए।
पोखरा: लेकसाईड मदिरा व्यवसायी समितिले विशेष गजल वाचन कार्यक्रमसहित नयाँ वर्ष २०७८ को भित्तेपात्रो विमोचन गरेको छ । विभिन्न श्रष्टाहरुको गजल बाचनसहित उक्त अवसरमा जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशी, लेकसाइड मदिरा व्यवसायी समितिका अध्यक्ष रोशन देवकोटा लगायतले नयाँ वर्षको भित्तेपात्रो बिमोचन गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले लेकसाइड क्षेत्रमा रहेका मदिरा व्यवसायीहरुको हकहित र व्यवसायीहरुलाई कानून कार्यान्वयन सँगै व्यवसायीक आचार संहिताको बारेमा संघले सहजिकरण गर्नुपर्नेमा जोड दिए । त्यसैगरी संस्थाको आचार संहिता विपरित काम गर्ने व्यवसायीहरुलाई कानूनी दायरामा ल्याई सचेत गराउदै व्यवसायीलाई सुदृढ गर्नका लागि व्यवसाय कर, व्यवसायिक संस्थाको नवीकरणको बारेमा आफ्ना सदस्यहरुलाई अभिमुखीकरण गराई संस्थालाई अगाडि बढाउन आग्रह गर्दै बरालले सामाजिक उत्तरदायित्व बहन गर्ने गरी काम गर्नसमेत आग्रह गरे । त्यस्तै वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले पर्यटकीय क्षेत्र लेकसाइड संग सुरक्षाको सम्पूर्ण कुराहरु जोडिने भएकाले सम्पूर्ण व्यवसायीहरुले आ¬–आफ्नो जिम्मेवारी बहन गरी पर्यटकीय शहरलाई व्यवस्थित गराउनुपर्नेमा जोड दिए । सो अवसरमा वरिष्ठ संगीतकार तथा गजलकार नवराज बराल, गजलकार नवराज बराल (निशान्त), गजलकार धु्रव बराल (विपश्वी), गजलकार अमृता पोखरेल लगायतले गलज प्रस्तुत गरेका थिए । लेकसाईड मदिरा व्यवसायी समितिका अध्यक्ष रोशन देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष दिनदयाल पाण्डेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव बालहरि बरालले गरेका थिए ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गर्नुभएको छ । आइतबार (आज) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा लामिछाने र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो । उपनिर्वाचनबाट पुनः प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद लामिछानेले सरकारलाई दिएको समर्थन र अबको पार्टीको निर्णयका बारेमा छलफल भएको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई बधाई दिनुभएको थियो ।

