पोखरा: पोखरा महानगरपालिका १७ पावसहाउसस्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका १५ नयाँगाउँका १५ वर्षीय रोनिश गुरुङ रहेका छन् । अन्य दुई साथीसहित पौडी खेल्न पुगेका गुरुङ शनिबार दिउँसो साढे ३ बजे डुबेर बेपत्ता भएको उद्धारमा खटिएको एक प्रहरी अधिकृतले बताए । ‘हामीलाई मान्छे डुब्यो भनेर खबर पुग्ने बित्तिकै टोली घटनास्थलमा पुगेर खोजीगर्दा भित्र कुनामा डुबिरहेको अवस्थामा फेला पारेका थियौ, ति प्रहरी अधिकृतले भने, ‘उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । पछि डाक्टरले मृत घोषणा गर्नुभएछ ।’ बेपत्ता किशोरको उद्धार गर्न वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको नेतृत्वमा १० सदस्यीय उद्धार टोली खटिएको थियो । यसअघि पनि फुस्रेखोलमा धेरैले ज्यान गुमाइसेका छन् ।
काठमाडौं: नेपाल र युएई काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल प्रवेश गरेका छन् । नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह बिजेता भई सेमिफाइनल प्रवेश गरेका आधारमा सोझै फाइनलमा पुगेको छ भने युएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो । युएई २ रनले विजयी हुँदै फाइनल पुगेको हो । त्रिवि मैदानमा नेपाल र कुवेतबीचको खेल वर्षाका कारण प्रभावित भयो । वर्षाका कारण ओभर घटाइएको खेलमा नेपालले डीएलएस प्रणालीका आधारमा २८१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको कुवेतले ८।३ ओभरमा ६ विकेट गुमाएर ३७ रन जोड्दा खेल वर्षाका कारण पुनस् रोकिएको थियो । कुवेतले २० ओभरसम्म नखेलेका कारण डीएल प्रणालीबाट नतिजा दिन नमिल्ने भएका कारण कुवेत र नेपालबीचको खेल अर्थहीन रह्यो । नेपाल एसीसी प्रिमियर कपमा समूह विजेता भएर सेमिफाइनल प्रवेश गरेका आधारमा फाइनलमा पुगेको हो । उता युएईले भने डीएल प्रणालीका आधारमा ओमानलाई २ रनले पराजित गर्यो । युएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो । अब फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमानले तेस्रो स्थानका लागि आइतबार खेल्नेछन् ।
काठमाडौं: सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने सरकारको प्रस्ताव स्वीकार्य नहुने बताएका छन् । सरकारले संसदमा पेस गरेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा प्रस्ताव गरिएको पाँच वर्षे हदम्याद आफूहरुलाई स्वीकार्य नहुने उनले बताएका हुन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले त्यो प्रस्ताव सिङ्गै देशलाई मान्य नहुने पनि बताए । महामन्त्री शर्माले भ्रष्टहरुलाई उन्मुक्ति दिने गरी हदम्यादको कुरा राख्न नहुने पनि पटकपटक दोहो¥याए । उनले भ्रष्टाचारीलाई कडा भन्दा कडा ढंगले कानुनी र आर्थिक कारबाही गर्न पनि सरकारलाई सचेत गराए । महामन्त्री शर्माले भने, ‘भ्रष्टाचार गरेको मान्छेले पाँच वर्ष सजायको घेरामा पर्ने नाममा उन्मुक्ति पाउनुपर्ने । राख्ने नै हो भने हदम्याद २५ वर्षको राखौं । तर कडिकडाउसँग भ्रष्टाचार गरेको मान्छेलाई कठघरामा ल्याएर उसलाई कानुनी कारबाही देखि आर्थिक कारबाहीसम्म राज्यले गर्नुपर्छ । मैले सार्वजनिक रुपमा पनि के भन्न चाहन्छु भने सरकारलाई यो भ्रष्टाचार निवारण ऐनमा जुन राखिदै गरिएको अवस्था छ । पाँच वर्षे हदम्याद जो राखिने कुरा गरिएको छ । यो हामीलाई स्विकार्य छैन । यो देशले स्विकार गर्दैन । कडिकडाउनका साथ यसमा जानु पर्छ राज्य ।’ महामन्त्री शर्माले भौतिक पूर्वाधारको विकासमा भन्दा पनि मानव संशाधनको विकासमा जोड दिन सरकारलाई सुझाव दिए । उनले देशको शैक्षिक क्षेत्रको विकासका लागि सरकारले लगानी बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याए ।
तनहुँ: तनहुँको व्यास नगरपालिका ५ चुँदेरमा प्रथम चुँदेर कप साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘सामाजिक कामः चुँदेर युवा क्लबको अर्को नाम’ भन्ने मुल नारासहित तनहुँको व्यासनगरपालिका ५ स्थित चुँदेर युवा क्लबले प्रथम चुँदेर कप साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । क्लबका अध्यक्ष सुकबहादुर थापाले आपसी भाइचारको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागिएको बताए । ‘नयाँवर्षको आगमनसँगै भलिबल प्रतियोगिता आयोजना गर्न लागेका छौं, अध्यक्ष थापामगरले भने,‘यस प्रतियोगिताले साबिक वडाका दाजुभाईहरुको सम्बन्धलौई सुमधुर बनाउने विश्वास लिएका छौ ।’ अध्यक्ष थापामगरका अनुसार ‘आगामी वैशाख २२ देखि २४ सम्म सञ्चालन हुने साविक वडा स्तरीय पुरुष भलिबलको प्रतियोगिता आयोजना गरिने जानकारी दिए । सो प्रतियोगिताको विजेताले ट्रफी, प्रमाणपत्रसहित नगद रु ३३ हजार ३ सय ३३ रुपैयाँ, दोस्रो हुने समूहले ट्रफी, प्रमाणपत्रसहित नगद २२ हजार २ सय २२ र तेस्रो हुने समूहले ११ हजार १ सय ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक कुशल थापाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउन ३ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरले जर्सी र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
गोरखा: गोरखाको गण्डकी गाउँपालिका वडा नम्वर १ मकैसिंका सुकबहादुर चेपाङले ७२ वर्षको उमेरमा नागरिकता पाएका छन् । वडा कार्यालयबाट भएको सिफारिस लगायतका कागजातका आधारमा जिल्ला प्रशासन कार्यालयले शुक्रवार उनलाई नागरिकता प्रदान गरेको हो । नागरिकतामा जन्ममिति २००८ साल असार १० गते उल्लेख गरिएको छ । ‘बल हुँदासम्म चितवनका विभिन्न ठाउँमा अरुकै घरमा काम गरेर बस्यो, अब बृद्धावस्थामा सहाराको खोजी गर्दै गाउँ फर्केपछि भत्ताको पनि कुरा आयो’ वडा सदस्य कमानसिं प्रजाले भने, ‘बुवा, आमा, श्रीमती, छोराछोरी कोही पनि छैनन् त्यही भएर पनि उतिबेला नागरिकताको चासो भएन, अहिले भत्ताकै लागि नागरिकता चाहिने भयो ।’ वंशजको आधारमा नागरिकता प्राप्त गर्नका लागि आवश्यक पर्ने बलियो कागजात जुटाउन समय लाग्दा यसअघि ३ पटकसम्म प्रशासन कार्यालय पुगेर फर्किनु परेको वडा सदस्य कमानसिंले बताए । ‘उनको नाताहरु पुष्टि नभएपछि वडाको सर्जमिन, प्रहरीको मुचुल्का, बुवा आमाको मृत्यु भएको पुष्टि हुने कागजात तयार गर्यौं’ कमानसिंले भने ‘४÷५ दिन दुःख पाइयो, सिडियो र सहायक सिडिओले धेरै सहयोग गर्नुभयो, हामीले पनि सबै यथार्थ कुरा भनिदियौं म पनि साक्षी बसें अनि नागरिकता बन्यो ।’ नागरिकता प्राप्तिका लागि भतिजा रामबहादुर चेपाङले सनाखत गरे । चेपाङ समुदायमा असाध्यै खाँचो परेपछि मात्रै सरकारी कागजातको खोजी गर्ने क्रम अझै पनि रहेको गाऊँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले बताए । ‘नागरिकता भएको भए २ वर्ष पहिलेदेखिनै बृद्धभत्ता पाउनुहुन्थ्यो, ढिलै भए पनि एउटा प्रक्रिया पूरा भएको छ, अब हामी भत्ताका लागि छिट्टै प्रक्रिया पूरा गर्छौं ।’ परिवार र घरबारबिहिन सुकबहादुरलाई अब आफूले पालनपोषण गर्ने भतिजा रामबहादुरले बताए । ‘दुई छाक भातको भरमा चितवनमा अरुको घरमा काम गरेर बस्यो, अहिले बुढेसकालमा न ज्यान छ न धन छ’ उनले भने, ‘महिनाको चार हजार भत्ताले उसको उपचार र दुई छाक खान पुगिहाल्ला ।’ सुकबहादुरले लामो समय अरुको घरमा काम गरेवापतको श्रमको मूल्य दिलाउन पहल गर्ने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले बताए ‘एउटा विपन्न वर्गको मान्छेलाई वर्षौंसम्म बिना ज्याला काम लगाए, चितवन प्रशासनको समन्वयमा उनले कहाँ कहाँ कति कति वर्ष काम गरे भन्ने पत्ता लगाएर न्यूनतम भए पनि ज्याला दिलाउन पहल गरेका छौं’ भुषालले भने । श्रमको ज्याला प्राप्त हुन सकेमा बैङ्कमा जम्मा गर्दिएर त्यसैबाट घरखर्च चलाउन सजिलो हुने उनले बताए ।
काठमाडौं: एसिसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलको खेलमा नेपालले कुवेतलाई २८२ रनको लक्ष्य दिएको छ। वर्षाले प्रभावित भएका कारण ४२ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २८१ रन जोड्यो। नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे। उनले ९४ रन जोडे। ९५ बल खेलेका रोहितले ७ चौका र ३ छक्का प्रहार गरे। कुशल मल्लले पनि अर्धशतक प्रहार गर्न सफल भए। कुशलले ४४ बलमा समान ४/४ चौका र छक्का हिर्काउँदै ५७ रन जोडे। ओपनरद्वय कुशल भुर्तेलले ४३ रन र आसिफ शेखले ३१ रन जोडे। दुईबीच १०.५ ओभरमा ७७ रनको साझेदारी गरे। भीम सार्की १ रनमा आउट भए भने आरिफ शेख १९ रनमा रनआउट भए। सन्दीप लामिछानले ५ रनमै आउट भए। करण केसी ६ बलमा ७ रन जोडेर आउट हुँदा सोमपाल कामीले नटआउट १३ रन र ललित राजवंशीले नटआउट २ रन जोडे। बलिङमा कुवेतका मोहमद अस्लाम र एडनान इड्रेसले ३/३ विकेट लिए। अर्को सेमिफाइनलमा मुलपानीमा ओमान र युएईबीच खेल भइरहेको छ। प्रतियोगिताको फाइनल आगामी सोमबार कीर्तिपुर मैदानमा हुनेछ।
कैलाली: कैलालीमा एक बुबाले आफ्नै जवान छोराको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका –६ मटियारीका ४७ वर्षीय महेशकुमार चौधरीले २१ वर्षीय छोरा अर्जुनको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार महेशले आज मध्यान्ह घरदेखि १५० मिटर टाढा जङ्गलमा ईटाले छोराको टाउकोमा हानेका थिए । ईटा प्रहारबाट उनका छोरा अर्जुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । छोराको हत्या गर्ने बुबालाई वडा प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।
काठमाडौं: वर्षाका कारण एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेतबीचको खेल रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाउदा रोकिएको हो। नेपालका लागि रोहित पौडेल ३० रन र कुशल मुल्ल ३२ रन बनाएर खेलिरहेका छन्। ओपनरद्वय कुशल भुर्तेल ४३ रन र आसिफ शेख ३१ रन बनाएर आउट भए। यस्तै भीम सार्कीले एक रन मात्र जोड्न सके।
पोखरा: कास्की प्रहरीले लागुऔषधसहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको प्रहरीको टोलीले लागु औषधसहित पोखरा –१९ लामाचौर जिमिरे बस्ने सन्तु घर्ती मगरलाई पक्राउ गरेको हो । कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार बिकका अनुसार पक्राउ परेका घर्तीमगरको साथाबाट डाईजापाम ४५ एम्पुल, फेनारगन ४९ एम्पुल र नुर्फिन ३७ एम्पुल गरी जम्मा १३१ एम्पुल लागुऔषध बरामद गरिएको थियो । पक्राउ परेका घर्तीमगरमाथि लागुऔषध सम्बन्धी मुद्धामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले कार्यालयले जनाएको छ ।

