पोखरा: नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सस्तो लोकप्रियताको लागि छोटे राजालाई प्रधानमन्त्रीको अफर एमालेले नगर्ने बताएका छन् । प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता बस्नेतले सस्तो लोकप्रियताका लागि कसैलाई एमालेले प्रधानमन्त्रीको अफर नगर्ने र एमालेको प्रचार विभागले कुनै सिरियल निर्माण गर्ने त्यसमा प्रधानमन्त्रीको रोल दिन सक्ने बताएका हुन् । केही दिन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीचको भेटवार्तामा लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको हो भन्ने प्रश्नमा नेता बस्नेतले यस्तो प्रतिक्रिया दिए । ‘नेकपा एमाले त्यस्तो सस्तो लोकप्रियताका लागि कसैलाई प्रधानमन्त्रीको अफर गर्दैन, स्तरहीन र राजनीतिक चेतना नभएका कसैलाई एमालेले प्रधानमन्त्रीको अफर ग¥यो भन्नु हास्यापद हो, उनले भने, ‘एमालेको प्रचार विभागले कुनै सिरियल बनाए त्यसमा प्रधानमन्त्रीको रोल चाँहि दिन सकिएला, मुलुकको प्रधानमन्त्रीको अफर एमालेले कसैलाई गरेको छैन ।’ उनले सामाजिक सञ्जालमा लोकप्रियता कमाएकालाई एमालेले नभएर फेसबुक र सामाजिक सञ्जालले प्रधानमन्त्री बनाउने भन्दै व्यङ्ग्य गरे । ‘नयाँ उदय भएका राजनीतिक पार्टीहरुको पनि प्रधानमन्त्री बन्ने चाहना छ, प्रधानमन्त्री पनि कस्तो भन्दा फिल्मको नायक जस्तो, २४ घण्टा, १ सय दिन दिनुहोस् देखाइदिन्छौं भन्ने, उनले भने, ‘मैले अरुको बारेमा धेरै टिका टिप्पणी गर्दिन, सस्तो लोकप्रियताको लागि नेकपा एमालेले कसैलाई प्रधानमन्त्रीको अफर गर्दैन ।’ उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३२ सिट हुँदा पनि च्याखे दाउ थापेर प्रधानमन्त्रीको जुँवा खेलीरहेको र त्यसमा दाउ लागेकोसमेत बताए । यस्तै उनले नक्कली शरणार्थी प्रकरण छानविनमा नेकपा एमालेले सहयोग गर्ने समेत बताएका छन् ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ स्थित रुप्से झरनामा अवलोकन गर्ने क्रममा चिप्लिएर शनिबार बिहान एक जना पर्यटकको ज्यान गएको छ । बेनी जोमसोम सडकअन्तर्गत पर्ने पर्यटकीय स्थल रुप्से झरनाको अवलोकन गर्न पुग्नुभएका काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय बसन्त भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक किरण लामाका अनुसार झरना अवलोकन गर्दा ढुङ्गाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका भण्डारीको बेनी अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
पोखरा: सातौ संस्करणको पोखरा स्पोर्टस अवार्ड अन्तरगत वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट सागरराज तिमिल्सिना सम्मानित भएका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको स्पोट्र्स अवार्डमा उनलाई नगद ३५ हजार रुपैयाँ सहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको हो । तिमिल्सिना पोखरामा रहेर लामो समय देखी निरन्तर रुपमा पत्रकारीतामा आबद्ध रहेका छन् । लाइफ टाइम अचिभमेन्टबाट विद्या मर्सानी सम्मानित खेलकुद पत्रकार मञ्च गण्डकीले लाइफ टाइम अचिमेन्ट अवार्डबाट बक्सिङका पूर्व खेलाडी विद्या मर्सानीलाई सम्मान गरेको छ । लामो समयदेखी बक्सिङमा आबद्ध उनलाई उनको योगदानको कदर गर्दै मञ्चले चादीँको करुवा, सम्मानपत्र र दोसल्ला आढाएर सम्मान गरेको हो ।
पोखरा: राष्ट्रिय क्रीकेट खेलाडी करण केसीलाई पोखरा स्पोट्र्स अवार्ड प्रदान गरिएको छ । बागलुुङका केसी कास्कीमा क्रीकेट सुरु गर्दै राष्ट्रिय टिमबाट खेलिरहेका छन् । अलराउन्डर केसीलाई इलेक्ट्रिक स्कुटर सहित ट्रफि प्रदान गरिएको हो । हालै नेपालमै सम्पन्न एसीसी प्रिमियर कपको उपाधि जित्दा उनलको मूमिका पनि महत्वपूर्ण रह्यो । नेपालले विश्वकप छनोटमा सोझै स्थान बनाएको छ ।
पोखरा: गण्डकीका प्रदेशको पाँचौ मुख्यमन्त्रीका रुपमा नियुक्त भएका सुरेन्द्रराज पाण्डेले अझै मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । बैशाख १४ गते नेपाली कांग्रेस, माओवादी र एकिकृत समाजवादीसहित ३५ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तमा भएका पाण्डेले केही दिनमै मन्त्रालयलाई पूर्णणा दिने बचन दिएपनि हालसम्म गण्डकी प्रदेशमा मन्त्रिपरिषद्को टुंगो लाग्न सकेको छैन । पाण्डे नेतृत्वको सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्नुकौ मुख्य कारण गठबन्धन रहेको कांग्रेसका एक सांसदको बुझाई छ । ‘कुनै पनि दलको स्पष्ट बहुमत नभएपछि मिलेमतोमा बनेको सरकार त हो, ति सांसदले भने, ‘केही दिनमै कुन दलबाट कुन मन्त्री बन्ने टुंगो लाग्ला ।’ मुख्यमन्त्री पाण्डेले पद तथा गोपनियताको शपथ ग्रहण लगत्तै कांग्रेसबाट सरस्वती तिवारी अर्याल र माओवादी केन्द्रबाट सुशिला सिम्खडालाई विना विभागीय मन्त्रीमा नियुक्त गरे । वैशाख १५ गते पदभार ग्रहण गरेको पाण्डेले २१ गते विश्वासको मत लिएपछि पत्रकारहरुले मन्त्रालयले कहिले पूर्णता पाउँछ भन्ने प्रश्नमा केही दिनमा पूर्णता दिने बताएका थिए । तर आफु नियुक्त भएको हप्ता दिन बित्दासमेत मन्त्रिपरिषद्को टुंगो नलाग्नु दुखद पक्ष हो । तर गण्डकी प्रदेशका विनाविभागीय मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता सरस्वती तिवारी अर्यालले गठबन्धनमा आन्तरिक सहमति भइसकेको बताउदै केही दिनमा मन्त्रालयले पूर्णता पाउने सुनाइन् । ‘गण्डकीमा कसले कति मन्त्रालय लिने भन्ने विषयमा गठबन्धनभित्र आन्तरिक सहमति भएको छ, मन्त्रालयले केही दिनमा पूर्णता पाउँछ, प्रवक्ता तिवारीले भनिन् ‘राष्ट्रिय सहमतिमा सरकार बनेकाले त्यसै अनुसार नै मन्त्रालयमा भागबण्डा भएको छ ।’ कुन दलले कति र कुन–कुन मन्त्रालय लिने भन्ने सवालमा भागबण्डा मिलेपनि कांग्रेसलाईनै मन्त्री छान्न नै सकस परेको छ । ‘बाँकी २५ जना नै मन्त्रालय सम्हाल्न सक्षम छन् पार्टीको कुरो हो कसलाई पठाउँछ भन्न सकिदैन,’ कांग्रेसका एक सांसदले भने । पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले १२ मन्त्रालयलाई घटाएर ७ मन्त्रालय बनाएका थिए । अहिलेका मुख्यमन्त्री पाण्डेले पनि ७ मन्त्रालयलाई नै कायम गर्ने प्रतिबद्धता जनाएका थिए ।
चितवन: पोल्ट्री व्यवसायी शंकर कँडेल मृत भेटिएको घटना तत्काल छानबिन गरी दोषीलाई पक्राउ गर्न माग गरी आज चितवन बन्द गरिएको छ । बन्दको प्रभाव पूर्व–पश्चिमको मुख्य राजमार्ग क्षेत्रमा नै परेको छ । पूर्व(पश्चिम आउने जाने गाडी र यात्रु बीच बाटोमै रोकिएका छन् । चितवनसँग जोडिएका क्षेत्र गैँडाकोट, लोथर, मुग्लिनलगायतका ठाउँमा गाडी रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द गरिएको हो । नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका ठाउँमा बन्दकर्ता जम्मा भएर गाडी चलाउन रोकेका छन् । पश्चिमबाट आएका धेरै गाडी गैंडाकोटमा रोकिएका छन् । पुल्चोकमा बन्दकर्ताले अत्यावश्यक बाहेकका गाडी चल्न नदिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको मंगलबार आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।
काठमाडौं: सुडानबाट नेपाल फर्किएका १३ जना नेपाली स्वदेश आइपुगेका छन्। इजिप्टस्थित कायरो दूतावासको सम्पर्कमा ३१ जना आएका थिए। उद्धार भएका १९ मध्ये छ जना रोजगारदाता कम्पनीको दुबई शाखामा स्थानान्तरण भएर काम थालेका छन्। चिनियाँ कम्पनीमा कार्यरत एक जना नेपालीलाई पनि चीन सरकारको सहयोगमा उद्धार भएको छ। बाँकी १२ जनामध्ये थप नौ जना भारत सरकारको सहयोगमा पोर्ट सुडानको हवाईमार्ग हुँदै भारतको अहमदावाद उडेका छन्। तीन जनामध्ये एक जना स्वेच्छाले पोर्ट सुडानमा र दुई जना सुडान–इजिप्टको सीमानजिकको स्थानमा सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा कार्यरत नेपाली सैनिक तथा प्रहरीको यसअघि उद्धार गरी सुरक्षित स्थानमा लगिइसकेको छ। सुडानमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्यमा परराष्ट्र मन्त्रालय तथा कायरो, रियाद र जेद्दास्थित नेपाली नियोगबाट सक्रिय रूपमा समन्वय र सहजीकरण भइरहेको मन्त्रालयले जानकारी दिएको छ। उद्धार प्रक्रियामा सहयोग पु(याउने छिमेकी मित्रराष्ट्र भारत, चीन र मित्रराष्ट्र साउदी अरेबिया सरकारको कार्यको नेपाल सरकारले सराहना गरेको छ।
तनहुँ: डिभिजन वन कार्यालय तनहुँले चितुवा आतङ्क बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि बनाएको (खोर) पासो प्रभावकारी बन्दै गएको छ । फलाम र परम्परागतरुपमा काठको खोर पासोको रुपमा राख्ने गरिएको हो । चितुवा आक्रमणबाट प्रभावित १८ स्थानमा पासो राखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । चितुवाले जनमानसमा त्रास बढाएकोले यसको नियन्त्रण गरी सुरक्षित किसिमले वन्यजन्तु संरक्षण क्षेत्रमा पठाउन पासो थाप्ने काम गरिएको उहाँले बताउनुभयो । एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः पटक–पटक आक्रमण गर्ने सम्भावना बढी हुने भएकाले यसलाई नियन्त्रणमा लिन सोही ठाउँ आसपासमा पासो राख्ने गरिएको उहाँले बताउनुभयो । पानीको पोखरी बनाएपछि विगतको तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी आएको बताइएको छ । खोला खोल्सीका पानी बस्तीमा लैजाँदा प्यास मेटाउन वन्यजन्तु बस्तीमा पस्दा मानवीय क्षति हुने गरेकाले पोखरी निर्माणलाई प्राथमिकता दिइएको हो । चितुवाको आक्रमणमा परी छ वर्षमा तनहुँमा १४ बालबालिकाको मृत्यु र १७ जना चितुवाको आक्रमणबाट घाइते भए । जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायतका पालिकामा चितुवाले सताएको थियो । चितुवाबाट भानु नगरपालिका धेरै प्रभावित बनेकोमा अहिले बन्दीपुर गाउँपालिकामा त्रास बढ्ेको छ । जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी दश बालक र चार बालिकाको मृत्यु भएको वन कार्यालय तनहुँका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा आज शुक्रवार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको एक जना सांसदले जानकारी दिएका छन् । आजको बैठकमा बोल्ने धेरैजसो केन्द्रीय सदस्य र सांसदहरूले अहिले धेरै दल मिलेर बनेको सरकारमा दुईरचार वटा मन्त्रालय लिएर जाँदा काम गर्न अप्ठेरो हुने र पार्टीप्रतिको लोकप्रियता कम हुने धारणा राखेका थिए । सरकारमा गएमा गठबन्धन बचाउनका लागि प्रचण्ड नेतृत्वको सरकारले गर्ने गलत निर्णय र कदमलाई समेत समर्थन गर्नुपर्ने बाध्यता आउने भन्दै उनीहरूले बेलैमा सचेत हुनुपर्ने पनि बताएका छन् । पार्टीले अब प्रतिपक्षमा बसेर नागरिकका आवाज बुलन्द गर्ने र सरकारका गलत कामको विरोध गर्ने जनाएको छ । गएको पुस १० गते अप्रत्याशितरूपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा पनि गएको थियो । एमाले र माओवादीको गठबन्धन भत्किएर मन्त्रिपरिषद् पुनगर्ठन भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीसँग २१ जना सांसद रहेका छन् ।

