पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

काठमाडौं:     राष्ट्रपति रामचन्द्र पौडेलले उभौली पर्वले देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।      राष्ट्रपति पौडेलले उभौली पर्व २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वले सबै समुदायका नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सांस्कृतिक ऐक्यबद्धताको भावना थप सुदृढ पार्न अभिप्रेरित गर्दै सभ्य, समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।       शुभकामना सन्देशमा भनिएको छ, “किरात समुदायको महान् पर्व उभौलीको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।” वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँत समुदायले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्तिहरू नआउन् भनेर भूमि, बाली र पितृ पूजा गर्ने गर्दछन् ।       त्यसका साथै विभिन्न परम्परागत नृत्य गर्दै र मिष्ठान्न परिकार खाएर आपसमा सुख, शान्ति, सुस्वास्थ्यको आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा रहेको छ । किराँत समुदायको बाहुल्यता भएको नेपालका पूर्वी जिल्लाहरू र उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायहरूमा यो पर्वलाई भव्यरूपमा मनाउने गरिन्छ । 

काठमाडौं:     शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।   प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ९मुत्यु० वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।   बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।  यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बन्नुभयो । उनान्तीस वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्कनुभयो ।

काठमाडौं:    प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँधौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।  बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार दुमी राईले राससलाई जानकारी दिनुभयो । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँधौली रहेको हो ।  वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेती पाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको उहाँले सुनाउनुभयो । यस पर्वका अवसरमा चण्डी नाच नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।  किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ । किराँत समुदायमा पनि एकथरीले उँधौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उँधौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् । यो पर्व किराँत राई समुदायको महत्त्वपूर्ण पर्व हो ।

काठमाडौं:       सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायत देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ। न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले बिहीबार उक्त आदेश गरेको हो। अदालतले उक्त विषयमा चार बुँदे निर्देशनसमेत दिएको छ। “नेपालमा पैठारी हुने तरकारी तथा फलफूलमा प्रयोग हुने सबै किसिमका विषादी(परीक्षण भन्सार बिन्दुमा नै गरेर मात्र पैठारी गर्ने सम्बन्धी मिति २०७६-३-२ को निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा भन्सार विन्दुहरूमा प्रयोगशाला स्थापना गर्नू”, आदेशमा भनिएको छ, “त्यसरी स्थापित प्रयोगशालामा सबै किसिमको विषादी परीक्षण हुनसक्ने अन्तर्राष्ट्रियस्तरको आधुनिक उपकरण र दक्ष जनशक्ति उपलब्ध गराउनू।” उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट विष्णुप्रसाद तिमल्सिनाले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि उक्त आदेश गरेको हो। “विषादीको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून एवं मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न के(कस्तो योजना बनेको छ रु कुनै योजना बनेको भए सो योजना कार्यान्वयनका लागि के(कस्तो तयारी भएको छ रु”, आदेशमा भनिएको छ, “योजना नबनेको भए आम उपभोक्ताले विषादी परीक्षण नगरी पैठारी गरिएका र अनियन्त्रित मात्रामा विषादी प्रयोग गरिएका तरकारी तथा फलफूल खान बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गरी जनस्वास्थ्य र वातावरणमा गुणात्मक सुधार ल्याउन गर्नुपर्ने निर्णय तथा क्रियाकलापको सूचीसहित सम्बन्धित जिम्मेवार अधिकारीसमेत तोक्नुपर्ने देखिन्छ।” मानवको जीउ(ज्यान तथा स्वास्थ्य र वातावरणमा हानी पुर्‍याउने विषादीयुक्त वस्तुको बिक्री वितरणबाट सुरक्षित हुन पाउने नेपाली नागरिकको मौलिक हकको संरक्षणको सुनिश्चितताका लागि नेपालमा पैठारी हुने तरकारी तथा फलफूल विषादी परीक्षण गरेर मात्र पैठारी गर्ने भनी सूचना प्रकाशित भएको झन्डै चार वर्ष पुग्न लागेको छ। आदेशमा भनिएको छ, “यो अवधिमा के(कस्तो योजना तथा मापदण्ड बनी के(कसरी कार्यान्वयन भएको छ रु योजना कार्यान्वयनमा के(कति प्रगति भएको छ, अदालतमा त्यसको जवाफ पेस गर्नू।” स्पष्ट र कार्यान्वयनयोग्य कार्ययोजना बनाई यो आदेश प्राप्त भएको मितिले दुई महिनाभित्र अन्य विपक्षी एवं सरोकारवालाहरूसँग समेत आवश्यक समन्वय गर्नसमेत आदेशमा भनिएको छ। आदेशमा २०७६ साल असार २ को निर्णयबमोजिम पैठारी हुने तरकारी र ताजा फलफूलमा विषादीको अवशेष परीक्षण गरेर मात्र नेपाल भित्र्याइने भनी गरिएको निर्णय के(कति अवधिमा पूर्णरूपमा कार्यान्वयन हुने हो रु भनी सरकारलाई प्रश्न गरिएको छ।

पोखरा:  हिमालयन एक्स्ट्राई ट्रायथलनको दोश्रो संस्करण शनिबार पोखरामा हुने भएको छ ।    हिमालयन एक्स्ट्राई नेपालको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा हुन लागेको उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा सहभागिता जनाउन २२ देशका ३६ खेलाडी र उनीहरुको क्रु-मेम्वर सहित ६५ जना पोखरा आइपुगको हिमालयन एक्स्ट्राई नेपालका रेस डाइरेक्टर रिक्की योन्जनले जनाएका छन् ।  प्रतियोगितामा बेलायत, अमेरिका, अस्ट्रेलिया, नेदरल्याण्ड, ग्रिस, रसिया, चेक रिपब्लिक, इस्टोनिया, बंगलादेश, भारत लगायतका मुलुकहरुका ५ महिलासहित ३१ जना पुरुष गरी कुल ३६ खेलाडीहरु सहभागिता रहेको योन्जनले जानकारी दिए । “धेरै खेलाडीहरु पहिलो पटक पोखरा आएका छन्” उनले भने–“गत वर्ष तेश्रो स्थान हासिल गरेका एक मात्र खेलाडी दोश्रो पटक सहभागिताका लागि आएका छन् ।” गत वर्ष चेक रिपब्लिकका पिटर भाव्रोशोक तेश्रो स्थान प्राप्त गरेका थिए ।  प्रतियोगिता शनिबार फेवातालमा पौडीबाट सुरु हुनेछ । बिहान साढे ३ बजे सहभागिहरु ३.८ किमि पौडीको प्रतिस्पर्धा गर्नेछन् । त्यस लगतै १७५ किमि साइकल दौड सुरु हुनेछ । पोखरा लेकसाईडबाट सुरु हुने साइकल दौड सराङकोट-पर्वतको कुस्मा-बागलुङ कालिका हुँदै पुनः फर्किएर कास्कीको काँडेमा पुगेर सम्पन्न हुनेछ । त्यस लगतै ४३ किमि लामो दौड सुरु हुनेछ । उक्त दौड काँडे हुँदै ४ हजार मिटरमा रहेको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै माछापुच्छ्रे गाउँ पालिकाको ल्वाङमा पुगेर सम्पन्न हुने रेस डाइरेक्टर योन्जनले बताए । प्रतियोगिता पुरा गर्न करिव १८ देखि २२ घन्टा लाग्न सक्ने आयोजकले अनुमान गरेको छ ।  प्रतियोगिता सम्पन्न गर्न करिव १ करोड खर्च लाग्ने रेस डाइरेक्टर योन्जनले जनाएका छन् । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, सिभिक क्लिनिकलगायतको सहयोग रहेको छ । पोखरालाई खेलकुद मार्फत विश्वमा चिनाउन यो प्रतियोगिताले भूमिका खेल्ने बताउँदै रेस डाइरेक्टर योन्जनले यो वर्ष प्रतियोगितालाई वातावरण मैत्री बनाउने प्रयास गरिएको जनाए ।     

कास्की:  जिल्ला प्रशासन कार्यालय कास्कीले भोलि (शुक्रबार) सार्वजनिक विदा भएपनि अत्यावश्यक सम्बन्धि सेवा दिने भएको छ ।   आज एक सूचना जारी गर्दै नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र सम्बन्धि सेवा दिने जानकारी दिएको हो ।     सिडिओ कार्यालय कास्कीद्वारा जारी सूचनामा भनिएको छ, ‘भोलि मिति २०८०/०१/२२ गते शुक्रबारका दिन बुद्ध जयन्तीको अवसरमा नेपाल सरकारद्वारा सार्वजनिक विदा घोषणा भएतापनि यस जिल्ला प्रशासन कार्यालय कास्कीबाट देहायका सार्वजनिक सेवा प्रवाह हुने भएको हुँदा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।’    

पोखरा:     गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेल विश्वासको मत पाएका छन् । मुख्यमन्त्री पाण्डेले नेपाली कांग्रेसको २७, माओवादी केन्द्रका ७ र  र नेकपा एकिकृत समाजवादीका १ गरी ३५ सांसदको मत पाएका छन् ।    यस्तै नेकपा एमाले २२ सांसदले पाण्डेको विपक्षमा मतदान गरे भने  राप्रपाका २ सांसद तटस्थ बसे । ६० जना सदस्य रहेको गण्डकी प्रदेश सभामा बहुमत जुटाउन ३१ जना सांसदको समर्थन चाहिन्छ। वैशाख १४ गते ३५ सांसदको समर्थनमा नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।   विश्वासको मत पाएपछि मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषदलाई पूर्णता दिने र मन्त्रीहरूको कार्यविभाजन गर्ने बताएका छन्।

पोखरा:    गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा प्रदेशका नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले सुशासन भाषणमा नभएर व्यवहारमा हुनुपर्ने बताएका छन् ।  गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत माग्ने प्रस्तावमाथि बोल्दै उनले नेताहरु सबैतिरबाट कैद भएकाले चर्को भाषणमा नभएर व्यवहारमा सुशासन हुनुपर्ने बताएका हुन् ।  ‘मेरो नेतृत्वमा सरकार हुँदा केही भिडियो टेलिभिजनमा आयो, धन्यवाद, सुशासन भाषणमा नभएर व्यवहारमा देखाउन पर्छ नेता लगायत सम्पूर्ण नागरिक सबैतीरबाट सुशासन पालनाका निम्ति कैद भएका छन् ।’ नेता अधिकारीले भने ।  उनले प्रदेश सभामा कुनै पनि राजनीतिक दलको बहुमत नआउँदा मौखिक र लिखित रुपमा आधाआधा सरकार गर्ने भनेर सहमति गर्नु जनताको भावना विपरित भएकोसमेत बताए ।  ‘प्रदेश सभामा कुनैपनि राजनीतिक दलको बहुमत छैन, संविधान अनुसार सरकार गठन पर्ने हुन्छ । म मुख्यमन्त्री हुँदै गर्दा पुरै पाँच वर्षनै मुख्यमन्त्री बन्छु भनेर आएको थिए । सम्भव भएन, उनले भने, ‘अहिले तपाईले आधाआधा कार्यकाल भनेर प्रदेश सरकारमा अस्थिरता निम्ताउन खोज्नुभएको छ ।’ नेकपा एमालेका संसदीय दलका नेता अधिकारीले प्रदेश सरकार आलोपालो गरेर अस्थिरता पक्षमा गएर त्यसको भार जनतालाई बोकाउने पक्षमा नभएको समेत दाबी गरे ।  उनले संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकार गठन हुनुपर्ने भए पनि उपधारा २ मै गोलचक्कर लगाएर बसेको बताउँदै दुई÷दुई महिनामा सरकार परिवर्तन हुँदा प्रदेश सरकारप्रति जनतामा कस्तो प्रश्न उब्जिएको छ भनेर प्रश्न समेत गरेका थिए ।

पोखरा:  गण्डकी प्रदेशका निवर्तमान सामाजिक विकास तथा स्वास्थ्यमन्त्री प्रदेश सभा सदस्य पन्चराज गुरुङले गण्डकी प्रदेश सरकामा म्याच फिक्सिङ भएको बताएका छन् ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने बैठकलाई सम्बोधन गर्दै राप्रपाका संसदीय दलका नेता गुरुङले प्रदेशको सत्ता साझेदारीमा रहेको माओवादी केन्द्रले म्याच फिक्सिङ गर्दै कांग्रेसलाई जिताएको बताएका हुन् ।    गुरुङले कांग्रेस नेतृत्वको गण्डकी सरकारमाथि अब म्याच फिक्सिङ नर्गन समेत शुभकामना व्यक्त गरे ।   उनले नेकपा माओवादी केन्द्रले सत्ता केन्द्रित राजनीति सधै दिगो नहुने भन्दै बफादार हुनुपर्ने धारणा राखे । ‘कुशल राजनीतिक खेलाडीको रुपमा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी नेतृत्व सरकारले राम्रो काम गर्दै गर्दा कुनै राजनीतिक पार्टीले सत्ता केन्द्रित राजनीति गर्दा गोल हुन सकेन, गण्डकीमा म्याच फिक्सिङ भयो, उनले भने, ‘अबको सरकारमाथि म्याच फिक्सिन नगर्नुस् हार्दिक शुभकामना ।’   उनले वर्तमान राजनीतिक परिस्थितीकै कारण गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिन नसक्ने बताए । यद्यपी पाण्डे नेतृत्वको सरकारको सकरात्मक कार्यमा भने साथ दिने धारणा राखेका थिए ।